यी हुन् लगानी सम्मेलनमा निजी क्षेत्रबाट सोकेस गरिने ३१ परियोजना, कुन क्षेत्रबाट कति ?
काठमाडौं । तेस्रो लगानी सम्मेलनमा निजी क्षेत्रबाट ३१ परियोजना राखिने भएको छ । वैशाख १६ र १७ गते काठमाडौंमा हुन लागेको सम्मेलनमा निजी क्षेत्रका छाता संगठनहरूले परियोजनाहरू प्रस्तुत गर्न लागेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल उद्योग परिसंघ (सीएनआई), नेपाल नेम्बर अफ कमर्स (एनसीसी), स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान), होटेल संघ नेपाल (हान) सहित निजी क्षेत्रका छाता संगठनले परियोजनाहरू प्रस्ताव गरेका हुन् । लगानी बोर्डका अनुसार प्रस्ताव पेस भएकामध्ये सबैभन्दा बढी १९ वटा ऊर्जा क्षेत्रका परियोजना पेस गर्ने तयारी गरिएको छ । बोर्डका प्रवक्ता प्रद्युम्न उपाध्यायले ऊर्जा क्षेत्रमा धेरै अध्ययन भएको देखिएको बताए । ‘अहिले ऊर्जाकै धेरै सम्भावना छ, अन्य परियोजनाभन्दा ऊर्जाका परियोजनाको अध्ययन पनि धेरै भएको रहेछ,’ उनले भने । कसरी प्रस्तुत हुनेछन् परियोजना ? लगानी बोर्डका अनुसार सम्मेलनमा सम्बन्धित छाता संगठनहरूले विज्ञ प्रतिनिधिहरू खटाउनेछन् । उनीहरूका लागि बोर्डले स्टलनहरू उपलब्ध गराएको छ । ‘हामीले स्टलहरू उपलब्ध गराएका छौँ । उहाँहरूले परियोजनासँग सम्बन्धित विज्ञ व्यक्तिहरू परिचालन गर्नुहुन्छ । अनि लगानीकर्ताहरूले राखेको जिज्ञासाको जवाज दिनुहुन्छ,’ बोर्डका प्रवक्ता उपाध्यायले विकास न्युजसँग भने । निजी क्षेत्रबाट महाकाली सेती क्यासकेड जलविद्युत्, सिक्लेस अन्नपूर्ण केबलकार, जाल्पादेवी केबलकार, भरतपुर आइसल्यान्ड रिसोर्ट, मध्य कालीगण्डकी जलविद्युत्, टिपल्याङ कालीगण्डकी जलविद्युत्, आईएमई सिमेन्ट, काठमाडौं टेक्निकल स्कुल, पोडवेमा आधारित चुनढुंगा उत्खनन तथा वितरण, हेप्पी ल्यान्ड फन पार्क एन्ड रिसोर्ट परियोजना पेस गरिँदै छ । यसगरी, नेचुरल एग्रिकल्चर फार्म, कम्पोस्ट मल परियोजना, रिभल्बिङ पार्किङ, अपर सानी भेरी जलविद्युत्, पेल्मा खोला अर्धजलाशय जलविद्युत्, दाना खोला जलविद्युत्, माथिल्लो बुढीगण्डकी जलविद्युत्, मुगु कर्णाली जलविद्युत्, ल्याद्रुक मोदी जलविद्युत्, बलेफी खोला जलविद्युत्, नरखोला जलविद्युत्, चुवा खोला क्यासकेड जलविद्युत्, अपर चुवा लुरुप्या जलविद्युत्, अपर अप्सुवा जलविद्युत्, अपर भेरी जलविद्युत्, सुर्के दुधकोशी जलविद्युत्, अपर मस्र्याङ्दी–१ जलविद्युत्, अप्सुवा खोला-१ जलविद्युत्, सगरमाथाको ट्रेलमा १० लक्जरी होटेल स्थापना र गोपीकृष्ण सेन्ट्रल प्लाजा परियोजना निजी क्षेत्रबाट सोकेस गर्न लागिएको छ । यसअघि, दोस्रो लगानी सम्मेलन-२०१९ मा सरकारी र निजी क्षेत्र गरी ७७ वटा परियोजना सोकेस गरिएको थियो । त्यतिबेला पनि निजी क्षेत्रबाट ऊर्जा क्षेत्र नै हाबी थियो ।
राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग आग्रह गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा आज उनीसँग भएको द्विपक्षीय भेटवार्ताका अवसरमा राष्ट्रपति पौडेलले सो आग्रह गरे । कतारी अमिर राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार अपराह्न यहाँ आएका हुन्। राष्ट्रपति पौडेलले आफूहरूका लागि विपिनको रिहाइ महत्वपूर्ण चासोको विषय रहेको बताए । रिहाइका लागि कतारका अमिरलाई पहल गरिदिन आग्रह गरेकाे राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । गत ७ अक्टोबर २०२३ मा हमासको आक्रमणमा परी विपिन जोशी बेपत्ता छन् । सो अवसरमा कतारका अमिरले यसबारेमा विगतमा पनि चासो लिएर पहल गरेको र यसबारेमा थप पहल गर्ने पनि बताएका थिए ।
नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र रुसबीचको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गरी व्यापार तथा लगानी सहकार्यलाई सुदृढ गर्न महत्वपूर्ण रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र रुसी संघको उद्योग वाणिज्य संघबीच मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा भएको भेटवार्तामा ढकालले सो बताएका हुन् । रुसी संघको चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजको प्रतिनिधिमण्डलको नेतृत्व यसका अध्यक्ष सर्गेई कातरिनले गरेका थिए । भेटमा ढकालले नेपाल उद्योग वाणिज्य महासंघ स्थापना भएदेखि नै द्विपक्षीय व्यापारिक सम्पर्क र अन्तर्राष्ट्रिय व्यापार सहकार्यलाई अगाडि बढाउने र सहजीकरण गर्दै आएको बताए । उनले नेपाल उद्योग वाणिज्य महासंघ र रुसी संघको चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजबीच २०११ जुलाई २५ मा मस्कोमा सहयोग सम्झौतामा हस्ताक्षर गरी औपचारिक सम्बन्ध स्थापना भएको १३ वर्ष पूरा भएको बताए । ढकालले मंगलबारको भेटले नेपाल र रुसबीचको सम्बन्धलाई थप निरन्तरता दिनुका साथै व्यापार तथा लगानी सम्बन्धलाई प्रवद्र्धन गर्न मद्दत पुग्ने बताए । उनले यो साझेदारीले दुवै देशको आर्थिक वृद्धि र विकासका नयाँ बाटो खोल्ने विश्वास व्यक्त गरे । भेलालाई ढकालले नेपाल र रुसबीचको कूटनीतिक सम्बन्धको लामो इतिहासबारे जानकारी दिँदै तत्कालीन सोभियत संघले नेपाललाई महत्वपूर्ण, आर्थिक र विकास सहयोग पुर्याएको र नेपालको आधुनिकीकरणको प्रक्रियालाई तीव्रता दिन योगदान दिएको बताए । उनले रुसी प्रतिनिधिमण्डललाई नेपालमा लगानीको प्रचुर सम्भावना रहेको बताए । साथै, यस सहकार्यले नेपाली व्यवसायहरूलाई आफ्ना उत्पादन र सेवाहरू रुसको बजारमा निर्यात गर्न मद्दत गर्न सक्ने उनले बताए । यसैबीच ढकालले रुसी प्रतिनिधिमण्डललाई नेपालमा लगानीको राम्रो वातावरण बनाउन नेपाल सरकारले १२ वटा ऐन नियम परिमार्जन गरेको जानकारी दिए । उनले सरकारले द्विपक्षीय लगानी सम्झौताको रूपरेखा पनि तयार गरिसकेको जानकारी दिए । उनले यो बहुमूल्य अवसरलाई सदुपयोग गर्न र आपसी हितका लागि आकर्षक क्षेत्रमा लगानी गर्न रुसी व्यवसायीहरुलाई आग्रह गरे । उनले नेपालमा लगानीका लागि सम्भावित क्षेत्रहरु पर्यटन र पर्यटन पूर्वाधार, कृषि प्रशोधन, जलविद्युत आयोजना तथा पूर्वाधार, आईसीटी, उत्पादनमूलक क्षेत्र मात्रै रहेको बताए । यसैबीच, अग्रता क्रममा मन्त्रीको पद पाएका रुसी संघको चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजका अध्यक्ष सर्गेई काटिरिनले रुसी लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको बताए । उनले थप रुसी व्यवसायीलाई नेपालमा लगानीका अवसरबारे जानकारी गराउन पहल गर्ने बताए । उनले रुस ठूलो बजार भएकाले नेपाली व्यवसायीलाई आफ्ना उत्पादन रसिया निर्यात गर्न सहयोग गर्ने बताए । कार्यक्रममा सेन्ट-पिटर्सबर्गको चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज र लिपेटस्क क्षेत्रको चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजले पनि प्रस्तुतिहरू राखेका थिए। त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्ण अवस्थीले रुसी प्रतिनिधिमण्डललाई नेपाल उद्योग वाणिज्य महासंघले नेपालको व्यापारिक वातावरण सुधार गर्न चालेका पहलका बारेमा जानकारी गराएका थिए । ढकालले आगामी बैशाख १६ र १७ गते हुने नेपाल लगानी सम्मेलनमा सहभागी हुने रुसी संघको उद्योग वाणिज्य संघ र रुसी लगानीकर्तालाई धन्यवाद पनि दिए ।
टीभीएसले ल्यायो लाईफ टाईम ब्याट्री एस्योरेन्स भएको ईलेक्ट्रिक स्कुटर, मूल्य कति ?
काठमाडौं । जगदम्बा मोटर्स र टीभीएस मोटर कम्पनीले लाईफ टाईम व्याट्रि एस्योरेन्सको साथ टिभिएस आईक्यूब ईलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ । नेपालमा दिगो यात्रा प्रवर्द्धन गर्ने प्रतिवद्धताका साथ कम्पनीले उक्त स्कुटर सार्वजनिक गरेको हो । ब्याट्रीको टिकाउपन, वारेन्टी र लागतलाई सम्बोधन गर्दै टीभीएसले आईक्यूब मार्फत नेपालमा ईलेक्ट्रिक स्कुटरलाई प्रयोगमा ल्याउने उद्देश्य राखेको छ । ब्याट्री एस्योरेन्स कार्यक्रमको सदस्यता लिने टीभीएस आईक्यूबका ग्राहकले ७० प्रतिशत एसओएच (स्टेट अफ हेल्थ) सम्मको ब्याट्री लाइफ प्राप्त गर्ने छन् । नेपालमा टीभीएस आईक्यूब र टीभीएस आईक्यूब एस गरी टिभिएस आईक्यूबका दुई मोडलहरु उपलब्ध हुनेछ । कम्पनीका अनुसार ग्राहकले २ लाख ९९ हजार ९०० रुपैयाँमा टीभीएस आईक्यूब खरिद गर्न पाउने छन् । टीभीएस आईक्यूवका दुई पाङग्रे सवारी साधनहरुले नेपालमा ४ लाख ११ हजार किलोमिटर यात्रा तय गरेर १० हजार २७५ लिटर इन्धन बचत गरेको छ भने वातावरणमा २३ हजार ७६२ किलो कार्वन उत्सर्जन हुन रोकेको छ । विश्वमा टीभीएस आईक्यूबका करिब ३ लाख ग्राहकहरुले करिब १.९ अर्ब किलोमिटर यात्रा तय गर्दै ४७ करोड लिटर इन्धनको बचत गर्न सफल भएका छन् भने ६९ हजार ५९० टन कार्बन उत्सर्जन हुनबाट रोकेका छन् ।
कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता सुरु भएको छ । अपराह्न कतारका अमिर राष्ट्रपति निवास शीतल निवास पुग्दा राष्ट्रपति पौडेलले उनलाई स्वागत गरेका थिए । शीतल निवासको गण्डकी हलमा सुरु भएको भेटवार्तामा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, सवारी व्यवस्थापनको जिम्मेवारीमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्तेतलगायत विशिष्ट पदाधिकारीहरु संलग्न छन् । उनीहरुबीच द्विपक्षीय हित र चासोसहित कूटनीतिक सम्बन्धका विषयमा छलफल हुने बताइएको छ । कतारका अमिर अल थानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै शीतल निवास पुगेका थिए । यसअघि, विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विशिष्ट पदाधिकारीहरुले अमिर अल थानीलाई स्वागत गरेका थिए । अमिर थानीको सम्मानमा राष्ट्रपति पौडेलले आजै रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ । कतारका अमिर अल थानी र प्रधानमन्त्री दाहालबीच भोलि बुधबार द्विपक्षीय वार्ता हुने कार्यक्रम छ । राष्ट्रपति पौडेलको निमन्त्रणामा कतारका अमिर अल थानी आजै नेपालको दुई दिने राजकीय भ्रमणमा काठमाडौं आएका हुन् ।
नेपाल लाइफले सार्वजनिक गर्यो केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना
काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक गरेको छ । यो योजना वैशाख ११ गते कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले उक्त बीमा योजनाको अनावरण गर्दै सो योजना सार्वजनिक गरिएको हो । अनिश्चितताले भरिएको संसारमा, आफ्ना बालबालिकाहरूको लागि स्थिर र समृद्ध भविष्य सुनिश्चित गर्नु सर्वोपरि हुने भएकोले सो आवश्यकता परिपूर्ति गर्नको लागि व्यापक कभरेज प्रदान गर्न नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना कम्पनीले सार्वजनिक गरेको हो । यो योजना मार्फत आमाबाबुले आफ्नो बच्चाको सुनौलो भविष्य, गुणस्तरीय शिक्षा सुरक्षित छ भनी सुनिश्चित गर्न सक्ने र शैक्षिक खर्चदेखि लिएर बलियो आर्थिक सुरक्षा यस बीमा योजनाले प्रदान गर्ने बताइएको छ । ‘सुनिश्चित शिक्षा, सुरक्षित भविष्य’ भन्ने नाराका साथ सार्वजनिक गरिएको नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना बालबालिका सम्बन्धी सावधिक जीवन बीमा (मुनाफामा सरिक हुने) हो जस्मा बीमित बालबालिकाको प्रवेश उमेर १ महिना (३० दिन पछि) देखि १७ वर्ष सम्म रहने र प्रस्तावकको प्रवेश उमेर २१ वर्ष देखि ६५ वर्ष सम्म रहने छ । न्यूनतम बीमाशुल्क भुक्तानी अवधि ५ वर्ष देखि अधिकतम बीमाशुल्क भुक्तानी अवधि २५ वर्ष सम्म हुनेछ । यो योजनाको न्यूनतम बीमाङ्क रकम २५ हजार रुपैयाँ तथा अधिकतम बीमाङ्क रकम आयश्रोतको आधारमा निर्धारण गर्न सकिनेछ । यस योजनामा प्रस्तावकको बीमा प्रारम्भ भएको मिति देखि जोखिम प्रारम्भ हुनेछ भने बालबालिकाको बीमा प्रारम्भ भएको मितिले २ वर्ष पछि वा बच्चाको उमेर पाँच वर्ष पूरा भए पछिको बीमालेखको वार्षिकोत्सव वा जुन अगाडी आउँछ सोही देखि जोखिम प्रारम्भ हुनेछ । यस योजना अन्तर्गत बीमालेख चालु रहेको अवस्थामा बीमाङ्क भुक्तानी परिपक्वता सुविधा अन्तर्गत बीमा अवधि समाप्ती मिति सम्म बीमित प्रस्तावक तथा बीमित बालबालिका जीवित रहेमा शर्तहरुको अधिनमा रही बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम र आर्जित बोनस बीमा अवधि समाप्तिमा एकमुष्ठ भुक्तानी दिइने छ । बीमा अवधि भित्र जोखिम प्रारम्भ नहुँदै प्रस्तावक भन्दा अगाडि बीमित बालबालिकाको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमित बालबालिकाको मृत्यु हुनुभन्दा अघिसम्म भुक्तानी गरिएको बीमाशुल्क (पुरक करार तथा अतिरिक्त बापतको बीमा शुल्क बाहेक) भुक्तानी गरिने छ भने बीमा जोखिम प्रारम्भ पछि बीमा अवधि भित्र बीमित बालबालिकाको मृत्यु भएमा बीमाङ्क रकमको २५ प्रतिशत तथा आर्जित बोनस वा बीमितले भुक्तानी गरेको बीमाशुल्क रकम (पुरक करार तथा अतिरिक्त बापतको बीमा शुल्क बाहेक) जुन रकम बढी हुन्छ सो रकम भुक्तानी गरिनेछ र बीमालेख स्वत: अन्त्य हुनेछ । त्यस्तै, बीमा अवधि भित्र जुनसुकै समयमा बालबालिका छदै प्रस्तावकको मृत्यु भएमा बाँकी अवधिको बीमाशुल्क मिनाहा गरी बीमालेखलाई निरन्तरता दिईनेछ । मासिक आय सुविधा बीमाङ्कको १ प्रतिशत बराबरको रकम बीमित बालबालिकालाई भुक्तानी गरिनेछ र यस्तो रकम घटना घटे पश्चात बीमा अवधि समाप्ति सम्म वा बालबालिकाको मृत्यु जुन अघि हुन्छ सो समय सम्मका लागि प्रदान गरिनेछ र बीमा अवधि समाप्तिमा बीमाङ्क रकम र बीमा अवधि समाप्ति सम्मको आर्जित बोनस समेत एकमुष्ठ भुक्तानी गरिनेछ । बीमा अवधिभित्र बीमित बालबालिका तथा प्रस्तावकको एकै साथ मृत्यु भएमा प्रस्तावकको मृत्यु वापत बीमाङ्क रकम र आर्जित बोनस तथा बीमित बालबालिकाको मृत्यु वापत बीमाङ्क रकमको २५ प्रतिशत रकम भुक्तानी गरिनेछ र बीमालेख स्वत: अन्त्य हुनेछ । बीमा अवधिभित्र प्रस्तावकको मृत्यु भएपश्चात बीमित बालबालिकाको समेत मृत्यु भएमा बीमाङ्कको २५ प्रतिशत तथा बीमित बालबालिका जीवित रहुन्जेल सम्मको आर्जित बोनस वा बीमितले भुक्तानी गरेको बीमाशुल्क रकम (पुरक करार तथा अतिरिक्त बापतको बीमाशुल्क बाहेक) मध्ये जुन रकम बढी हुन्छ सो रकम भुक्तानी गरिनेछ र बीमालेख स्वत: अन्त्य हुनेछ । यस योजनामा वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भए पश्चात सर्मपण मुल्य प्राप्त गर्न सकिनेछ । सर्मपण मूल्यको गणना नेपाल बीमा प्राधिकरणको स्वीकृत विधि अनुरुप कम्पनीले गर्नेछ । सर्मपण मूल्य प्राप्त भएको बीमालेखमा सर्मपण मूल्यको ९० प्रतिशत वा बीमाङ्क रकमको २५ प्रतिशत रकम तथा आर्जित बोनसमध्ये जुन रकम कम हुन्छ सो रकम ऋणको रुपमा प्राप्त गर्न सकिनेछ । बीमा अवधिभित्र बीमित बालबालिका तथा प्रस्तावकको एकै साथ मृत्यु भएमा ऋण सुविधा बापत दिइएको रकम कटाई बाँकी रकम भुक्तानी गरिनेछ । यस योजनामा २१ वर्ष देखिका बीमित प्रस्तावकले अतिरिक्त बीमाशुल्क तिरेर ऐच्छिक पुरक करार सुविधाहरु दुर्घटना मृत्यु लाभ सुविधा, दुर्घटनाबाट हुने अपाङ्ग अशक्त बीमाशुल्क छुट सुविधा तथा घातक रोग सुबिधा लिन सकिने छ । बीमाशुल्क भुक्तानी वार्षिक, अर्धवार्षिक, त्रैमासिक, मासिक तथा एकल गरी ५ तरिकाबाट गर्न सकिने कम्पनीले जनाएको छ । कार्यक्रममा बोल्दै यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यो योजना सार्वजनिक गर्न पाउँदा खुशीको आभास भएको बताए । यो योजना सबै सरोकारवालाहरुको हितमा रहेको र यसको फाइदा उठाउन सबैमा आग्रह गरे ।
कतारमा बोतल पानी निर्यातको अवसर, वार्षिक चार करोड डलरको बजार
काठमाडौं । नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने सम्भावना खोजिरहेका बेलामा कतार पनि पानी निर्यातको राम्रो गन्तव्य हुनसक्नेमा सरोकारवालाहरुले बताएका छन् । नेपालको खानेपानीले अन्तर्राष्ट्रिय बजारमा व्यापारिक सम्भावना खोजिरहेको बेलमा कतार पनि मुख्य गन्तव्य हुनसक्ने उनीहरुको भनाइ छ । पछिल्लो समय जलवायु परिवर्तनको असरका कारण विश्वमा पानीको स्रोत सुक्दै गइरहेको भन्दै यसबारे विश्वव्यापी छलफल सुरु भइसकेको छ । कतारलगायतका खाडीमुलुक पनि पानीको सङ्कटग्रस्त क्षेत्र मानिन्छ । कतारमा पानी निर्यातक्रम बढिरहेको अध्ययनले देखाएको छ । विभिन्न देशमा स्वच्छ खानेपानीको अभाव बढ्दो रहेको अवस्थामा हिमालको पानीको माग उच्च हुनसक्ने उनीहरुको आकलन छ । एक प्रतिवेदनअनुसार कतारमा हाल वार्षिक चार करोड डलरभन्दा बढी बोतलको पानीको व्यवसाय छ । यो प्रत्येक वर्ष बढ्दो छ । यस्तो अवस्थामा नेपालले हिमालको पानी कतारमा पुर्याएर आम्दानी गर्न सक्ने सरोकारवालाको भनाइ छ । नेपालबाट पनि बोतल बन्द पानी कतारमा निर्यात गर्न सके त्यसबाट राम्रो आम्दानी गर्न सक्ने सम्भावना छ । लगानी सम्मेलनको पूर्वसन्ध्यामा राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल भ्रमणमा आएका छन् । कतारी अमिरको भ्रमणले नेपालको स्वदेशी वस्तुहरुको निर्यात प्रवद्र्धनका लागि पहल गर्ने सुनौलो अवसरका रुपमा लिन सकिने उनीहरुको बुझाइ छ । व्यापार तथा निकासी प्रवर्दन केन्द्रको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको चैतसम्म विश्वका दुई वटा मुलुकमा नेपालको पानी निर्यात भएको छ । तथ्याङ्कअनुसार यस अवधिमा १५ लाख २१ मूल्य बराबरको पानी भारत निर्यात भएको छ भने २० लाख ९० हजार रुपैयाँ बराबरको पानी जापान निर्यात भएको छ । भन्सार विभागका अनुसार आव २०७८/७९ मा नेपालले १८ हजार चार सय तीन लिटर पानी कतार निर्यात गरेको थियो । जसबाट नेपालले २५ लाख ४४ हजार आम्दानी गरेको थियो । तर त्यसपछिका वर्षमा कतारमा पानी निर्यात हुन सकेको छैन । अब त्यसलाई निरन्तरता दिन सके कतार पानी निर्यातको राम्रो गन्तव्य बन्न सक्ने देखिएको छ । केन्द्रकाअनुसार अघिल्लो वर्ष जर्मनी, जापान, भारत, अष्टे«लियामा खानेपानी निर्यात भएको थियो । केन्द्रका शाखा अधिकृत कृष्णराज बज्राचार्यले पानी व्यापार पनि मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण आधार भएको भन्दै पानी निर्यात प्रवद्र्धनलाई जोड दिनुपर्ने बताएका छन् । खानेपानी मन्त्रालयका सहसचिव माधव अधिकारीले कतारमा खानेपानी निर्यातको राम्रो सम्भावना रहेको बताए । ‘हाम्रो हिमाली क्षेत्रको स्वच्छ खानेपानीको विज्ञापन गर्नसकेमा कतार पनि पानी निर्यातको राम्रो सम्भावना भएको मुलुक बन्न सक्छ’, उनले भने, ‘अहिलेसम्म केही निजी क्षेत्रहरुले पिउने पानी निर्यात गर्न थालेका छन् । अव यसलाई अझै व्यापाक प्रचार प्रसार गर्दै कतारलगायतका खाडी मुलुकमा पनि व्यापारको गन्तव्य खोजिनुपर्छ ।’ लगानी सम्मेलन र कतारी राजाको भ्रमणका अवसरमा नेपालको पानीको निर्यात प्रवद्र्धनका लागि पहल गरिर्नुपर्नेमा उनले जोड दिएका छन् । उनका अनुसार पानी निर्यातसम्बन्धी ऐन नभएको भन्दै ऐन बनाउन पहल पनि थालिनुपर्नेमा जोड दिएका छन् । ‘अहिले उद्योग विभागले निर्यातका लागि केही काम गरिरहेको छ । अब अन्तरसरकारी निकायबीच समन्वय बढाएर पानी निर्यातको नीतिगत व्यवस्था गर्न जरुरी छ’, अधिकारीले भने, ‘स्वदेशी पानी विश्वबजारमा बेच्नसकेमा स्वदेशी वस्तुको निर्यात प्रवद्र्धन हुने र मुलुकको आर्थिक समृद्धि सम्भव छ ।’ बीना मगर खानेपानी मन्त्री भएको समयमा नेपालको पानी विदेश निर्यात गर्ने विषयमा छलफल सुरु गरेकी थिइन् । खानेपानी मन्त्रालयले यसैको निरन्तरता दिँदै छलफल चलाइरहेको छ । कतार वातावरण तथा ऊर्जा अनुसन्धान संस्थानले गरेको एक सर्वेक्षणअनुसार कतारको ३० प्रतिशत जनसङ्ख्याले मात्र दैनिक धाराको पानी पिउँछन् । अधिकांशको रोजाइ बोतलको पानीमा छ । खानेपानीको बढ्दो मागबीच ती क्षेत्रमा बोतलको पानीको उद्यम वार्षिक आठ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । बढ्दो जनसङ्ख्या, उच्च खपत उपभोग्य आय, सहज बजार पहुँच, स्वास्थ्यमा बढ्दो जनचेतनालगायतका कारण त्यहाँका जनता धाराको पानीको साटो ‘मिनिरल वाटर’को खपत बढेको अध्ययनले देखाएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वअध्यक्ष भवन भट्टले पनि लगानी सम्मेलनको पूर्वसन्धामा कतारी राजा नेपाल भ्रमणमा आएको मौकामा खानेपानी निर्यातका लागि पहल गरेमा मुलुकको अर्थतन्त्र सुधार हुने बताएका छन् । ‘कतारको समृद्धिका लागि हाम्रा नेपाली कामदारहरुले गर्नुभएको योगदान महत्वपूर्ण छ’, उनले भने, ‘अब कतारले पनि हाम्रो मुलुकको समृद्धिका लागि खानेपानीलगायत स्वदेशी वस्तु आयात गरिदिन कतारलाई आग्रह गर्नुपर्छ ।’ नेपालको पैठारी व्यापारमा प्रमुख मुलुकमा भारत, चीन, युएई, युक्रेन, मलेसिया, संयुक्तराज्य अमेरिका, फ्रान्स, अष्टे«लिया, इण्डोनेसिया, अर्जेन्टिना, थाल्याण्ड, संयुक्त अधिराज्य, साउदी अरेयिबा र ओमान प्रमुखरुपमा रहेको उद्योग मन्त्रालयको भनाइ छ । चालु आर्थिक वर्ष २०८०/८१ प्रथम आठ महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा व्यापारघाटामा दुई दशमलव पाँच प्रतिशतले ह्रास आई कूल व्यापारघाटा नौ खर्ब २९ अर्ब ६१ करोडमा सीमित भएको मन्त्रालयको तथ्याङ्क छ । कतारमा पानी निर्यातको गन्तव्य बनाउनसकेमा मुलुकको व्यापार घाटा कम गर्न सकिने विज्ञहरुको भनाइ छ । नेपाल खानेपानी सरसफाइ तथा स्वच्छता नीति २०८० अनुसार पनि खानेपानी निर्यात मुलुकको अवसर रहेको छ । ‘विदेशमा समेत खानेपानी निर्यात गर्न यस क्षेत्रका अवसरका रूपमा रहेको छ’, नीतिमा उल्लेख छ । समुदायस्तरमा आयोजना पहिचान, तर्जुमा र कार्यान्वयनबाट उत्तरदायित्व वृद्धि हुने, जीवनशैलीमा आएको सुधारसँगै गुणस्तरयुक्त खानेपानी र सरसफाइ सेवाको बढ्दो माग, नदीनाला, तालतलैया तथा जलाशयलगायत अन्य वातावरणीय स्वच्छताका विषयमा जनचेतनामा आएको नकारात्मक अभिवृद्धि, सामुदायिक, गैरसरकारी तथा विकास साझेदारको सहयोग र सहभागिता, पर्यटकीय क्रियाकलापको अभिवृद्धि तथा पर्यटकलाई आकर्षण गर्न सकिने नीतिमा उल्लेख छ । नीतिनिर्माणको आवश्यकता पहिचान संविधान प्रदत्त स्वच्छ खानेपानी सेवामा पहुँच तथा स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हकको परिपूर्ति, संरक्षण, सम्वद्र्धन गरी दिगोरूपमा उपभोग गर्नका लागि दिशानिर्देश गर्न, विद्यमान ग्रामीण खानेपानी तथा सरसफाइ नीति र सहरी खानेपानी तथा सरसफाइ नीतिलाई एकीकृत गरी संधीय संरचना अनुकूल बृहत्तर राष्ट्रिय नीति निर्माण गर्न, यस क्षेत्रमा रहेका वर्तमान समस्या तथा चुनौतीलाई सम्बोधन गर्न र भविष्यमा उत्पन्न हुनसक्ने समस्याहरूलाई न्यूनीकरण गनै आवश्यक रहेको पनि नीतिमा उल्लेख छ । रासस