विकासन्युज

सिड्नीबाट उडेको विमानमा एक्कासि कम्पन, १२ जना यात्रु बिरामी

अष्ट्रेलिया । सिड्नीबाट अकल्याण्डका लागि उडेको लाटामको विमानमा प्राविधिक समस्या आएपछि एक्कासि कम्पन हुँदा बिरामी परेका १२ यात्रुलाई सोमबार अस्पताल भर्ना गरिएको विमान कम्पनी र सुरक्षाकर्मीले सोमबार एएफपीलाई जानकारी दिएका छन् । तस्मान सागरमा एलए ८०० विमानमा समस्या आएका कारण विमानमा कम्पन आउँदा कम्तीमा एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ । यात्रुहरूले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार विमानको उचाई एक्कासी गुमेको र सिटबेल्ट नभएकाहरू सीटमा उफ्रेका थिए । प्रत्यक्षदर्शी यात्रुले रेडियो नेटवर्क आरएनजेडसँग भने, ‘सिटबेल्ट नलगाएका कारण मानिसहरू सीटमा उफ्रिएका थिए ।’ आवाज थरथर काँपिरहेको अवस्थामा उनले भने, ‘केही मानिस गम्भीर घाइते भएका छन् । यात्रुहरू पनि साँच्चै डराएका थिए ।’ चिलीस्थित एयरलाइन्सका प्रवक्ताले उडानका क्रममा भएको प्राविधिक घटनाका कारण विमानमा ‘ठूलो हलचल’ भएको बताएका छन् । ‘विमान अकल्याण्ड विमानस्थलमा निर्धारित समयमा अवतरण गरेको थियो,’ उनले भने । तर घटनाको कारण भने खुल्न सकेको छैन । सेन्ट जोन न्युजिल्यान्ड एम्बुलेन्स सेवाका जेरार्ड क्याम्पबेलले विमान न्युजिल्यान्डको अकल्याण्ड सहरमा ओर्लिएपछि चिकित्सकलाई समस्याबारे जानकारी गराइएको बताए । घाइतेको उपचारका लागि एक दर्जनभन्दा बढी एम्बुलेन्स र अन्य मेडिकल गाडीको टोली विमानस्थलमा पुगेको थियो । क्याम्पबेलले भने, ‘हाम्रो एम्बुलेन्स चालक दलले लगभग ५० जना बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचार गरेको थियो, जसमा एक बिरामी गम्भीर अवस्थामा थिए र बाँकी मध्यम देखि सामान्य अवस्थामा थिए ।’ बिरामी सबै जनालाई अस्पताल पुर्याइएको उनले बताए । लाटामका अनुसार ‘बोइङ ७८७ ड्रीमलाइनर’ विमानमा उडानका क्रममा समस्या आएको हो । अमेरिकी विमान निर्माता कम्पनी बोइङले हालैका वर्षहरूमा घातक लायन एयर र इथियोपियन एयरलाइन्सका ७३७ म्याक्स विमानहरूमा दुर्घटनाग्रस्त भएकालगायत सुरक्षा समस्याहरूको शृङ्खलाको सामना गर्नुपरेको छ । एअरलाइन्सले भनेको छ, ‘यस परिस्थितिले निम्त्याएको असुविधाप्रति लाटाम गहिरो खेद प्रकट गर्दछ ।’ रासस/एएफपी

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौं । सरकारले तीन प्रदेश प्रमुखहरुलाई पदमुक्त गरी नयाँ व्यक्तिहरुलाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मधेश प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गरी सो ठाउँमा नयाँ व्यक्तिहरुलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो । बैठकले मधेस प्रदेशको प्रमुखमा सुमित्रा भण्डारी, गण्डकी प्रदेशको प्रमुखमा डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशको प्रमुखमा नजिर मियाँलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । त्यस्तै, मन्त्रिपरिषद्का विभिन्न समितिहरु समेत बनाइएको छ । मन्त्री शर्माले राजनीतिक समितिको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिइएको बताइन् । त्यस्तै आर्थिक पूर्वाधार समितिमा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, विधेयक समितिमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, प्रशासन समितिमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र सामाजिक समितिमा उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई समन्वय गर्ने जिम्मेवारी दिइएको उनले जानकारी दिइन् ।

सरकारले तीन प्रदेशका प्रमुखलाई हटायो, यी हुन् नयाँ प्रदेश प्रमुख

काठमाडाैं । सरकारले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेको छ । यसअघि काँग्रेसको कोटाबाट नियुक्त भएका प्रदेश प्रमुखलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले पदमुक्त गर्ने निर्णय गरेको हो । गण्डकीमा पृथ्वीमान सिंह गुरुङ, मधेशमा हरिशंकर मिश्र र सुदूरपश्चिममा देवराज जोशीलाई पदमुक्त गरिएकाे हाे । ती प्रदेशमा नयाँ प्रदेश प्रमुख पनि सिफारिस गरेको छ । जस अनुसार मधेशमा सुमित्रा भण्डारी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँ सिफारिस भएकाे सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । नयाँ नियुक्ति सिफारिस भएका तीनैजना प्रदेश प्रमुख नेकपा एमाले निकट हुन् ।

३७ लाख ९२ हजारले लगाए दादुरा-रुबेलाविरुद्धको खोप

काठमाडौं । सरकारले सञ्चालन गरेको दादुरा-रुबेलाविरुद्धको खोप अभियानअन्तर्गत मुलुकका चार सय १३ स्थानीय तहका सबै बालबालिकाले खोप लगाएका छन् । देशका २४ जिल्लाका ती स्थानीय तहमा सबै बालबालिकालाई खोप लगाइएको छ । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार ४३ जिल्लाका एक सय ८० स्थानीय तहमा खोप अभियान जारी छ । हालसम्म करिब ६६ प्रतिशत अर्थात् ३७ लाख ९२ हजार चार सय ६८ बालबालिकाले खोप लगाइसकेका छन् । शाखा प्रमुख डा गौतमले हिमाली भेगका आठ जिल्लाका एक सय २२ स्थानीय तहमा हिमपातका कारण खोप अभियान सञ्चालन हुन नसकेको बताए । यही फागुन १३ गतेदेखि दादुरा-रुबेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सरकारले पश्चिम रुकुम र जाजरकोट जिल्लाबाहेक ७५ जिल्लामा खोप अभियान सञ्चालन गरेको हो । ती जिल्लाका कूल ५७ लाख ४२ हजार नौ सय ९३ बालबालिकालाई खोप लगाउने लक्ष्य छ । भारतसँग सीमा जोडिएका दादुरा-रुबेलाबाट अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौं उपत्यकामा नौ महिनादेखि १५ वर्षमुनिका तथा ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई खोप लगाइँदै छ । खोप अभियानका लागि देशभरि ४८ हजार सात सय ९८ खोप केन्द्रको व्यवस्था गरिएको शाखा प्रमुख डा गौतमले जानकारी दिए । खोप अभियानका लागि ४९ हजार नौ सय ३७ स्वास्थ्यकर्मी र ५९ हजार नौ सय ६ स्वयम्सेवक परिचालन गरिएको छ । रासस

४ हजार डलरसम्म तलब खाने राजदूतलाई फिर्ता बोलाइँदै, महिनामै गुम्दै वर्षौंको लविङ

काठमाडौं । राजनीतिक समीकरणको बद्लावसँगै सरकारको गठबन्धन बद्लिएपछि सरकारको तर्फबाट विभिन्न देशमा नियुक्त भएका राजदूतहरू पनि फिर्ता गर्ने तयारी भएकाे छ । विगतमा पनि सरकारको नेतृत्व परिवर्तनसँगै आफ्नो अनुकुलको राजदूत नियुक्त गर्ने अभ्यास रहँदै आएकोमा यस पटक पनि सत्ता गठबन्धन नयाँ बनेसँगै राजदूत पनि नयाँ नियुक्त गर्नका लागि सरकारले तयारी थालेकाे हाे । यसअघि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र लगायत राजनीतिक दलको गठबन्धन थियो । तर, अहिले काँग्रेस गठबन्धनबाट बाहिरिएर नेकपा एमाले गठबन्धनमा समाहित भइसकेको छ । नयाँ बनेको सरकारले काँग्रेस निकट राजदूतलाई फिर्ता बोलाउने तयारी थालेको हो । संसदीय सुनुवाइको प्रकृया पूरा गरेर गत माघ २६ गते राष्ट्रपतिबाट क्यानडा र पोर्चुगलको राजदूत नियुक्त गरिएकाे थियाे । भरतराज पौड्याल परराष्ट्र मन्त्रालयबाट अवकास लिएर क्यानडाको राजदूतमा नियुक्ति भएका थिए भने सनिल नेपाल नेपाली कांग्रेसको तर्फबाट सिफारिस भएर पोर्चुगलको राजदूतमा नियुक्त भएका थिए । सरकारबाट नेपाली काँग्रेस बाहिरिएकाले नवनियुक्त राजदूत सनिल नेपाल फिर्ता हुनसक्ने सम्भावना देखिएको छ । पहिले राजदूतावास नभएको पोर्चुगलमा कार्यालय स्थापनाको क्रम नसकिँदै राजदूत नेपाल फिर्ता आउन सक्ने सम्भावना देखिएको हाे । तत्कालीन केपी शर्मा ओलीको सरकारपछि शेरबहादुर देउबाको नेतृत्वमा बनेको सरकारले भारत, बेलायत र अमेरिकामा एकलौटी रूपमा राजदूत नियुक्त गरेको थियो । जसमा क्रमशः शंकर शर्मा, ज्ञानचन्द्र आचार्य र श्रीधर खत्री थिए । नयाँ गठबन्धनको सरकार बनेसँगै उनीहरूलाई सरकारले फिर्ता बाेलाउने तयारी थालेकाे हाे । त्यस्तै, नेपाली काँग्रेसको तर्फबाट सिफारिस भएर दक्षिण कोरियाको राजदूतमा नियुक्त भएकी ज्योति प्याकुरेल र इजरायलको राजदूतमा नियुक्त भएकी कान्ता रिजाललाई पनि सरकारले फिर्ता गर्ने स्राेतकाे भनाइ छ । तर, मलेसियाको लागि राजदूत डिल्लीराज पौडेल भने राष्ट्रपति रामचन्द्र पौडेल निकट भएकाले उनी भने फिर्ता नहुन सक्ने सम्भावना छ । चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, दक्षिण अफ्रिकाका लागि दानबहादुर तामाङ र श्रीलंकाका लागि बासुदेव मिश्र माओवादी कोटामा राजदूत भएका हुन् । राजनीतिक समीकरण पश्चातको गठबन्धन सरकारपनि उनीहरुको अनुकुल बनेको हुँदा उनीहरूको जिम्मेवारी यथावत रहने सम्भावना छ । अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाश पोख्रेल र रसियाका लागि मिलनराज तुलाधार नेकपा (एकीकृत समाजवादी) पार्टीको तर्फबाट बनेका हुन् जसले गर्दा उनीहरूको नयाँ राजनीतिक समीकरण पश्चात पनि जिम्मेवारी कायमै रहने देखिन्छ । राजनीतिक समीकरणपश्चात् पनि नयाँ गठबन्धनको सरकारमा सहभागी भएकाले जनता समाजवादी पार्टीको तर्फबाट डेनमार्कको राजदूत भएका रामस्वार्थ राय र साउदी अरबको राजदूत रहेका नवराज सुवेदी कायमै रहने देखिएको छ । विगतमा सबै सरकारको पालामा पटक-पटक राजदूत हुन सफल भएकी स्पेनकी राजदूत पनि तत्काल फिर्ता हुनसक्ने सम्भावना कम देखिएको छ । किनकी विगतमा उनी एमाले, माओवादी र कांग्रेस तिनवटै नेतृत्वको सरकारले नियुक्तिमा पर्न सफल भएकी थिइन् । तर, परराष्ट्र सेवाको तर्फबाट विभिन्न राजदूतावासमा काम गर्दै आएका राजदूतहरूलाई भने सरकारले फिर्ता नगर्न सक्छ । पछिल्लो समयमा नेपालको विदेशस्थित राजदूतावासमा पोर्चुगलसमेत थपिँदा विभिन्न देशमा नेपालको तर्फबाट ३१ दूतावास, संयुक्त राष्ट्रसंघका लागि तीन वटा स्थायी नियोग र ६ वटा महावाणिज्य दूतावास गरी ४० कूटनीतिक कार्यालय रहेका छन् । केही राजदूतलाई फिर्ता बोलाउने तयारी भइरहँदा राजदूत बन्नका लागि केही व्यक्तिको लविङ पनि सुरु भइसकेको छ । राजदूतको प्रतिष्ठासँगै सेवा सुविधा पनि त्यही अनुसारके हुने भएपछि राजदूत बन्न चाहनेहरूको राजनीतिक लविङ निकै हुने गरेकाे छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार युरोपेली मुलुकमा खटिएका राजदूतहरुको मासिक तलब करिब ४ हजार डलरको हाराहारीमा हुन्छ । यसका अतिरिक्त आवास र सवारी सुविधा पाउने राजदूतहरुलाई थप ४० प्रतिशतसम्म पारिवारीक भत्ताको समेत व्यवस्था हुने गरेको छ । युरोप, अमेरिका, जापानलगायतका मुलुकका राजदूतहरुका पत्नी र पतिलाई १५ प्रतिशत भत्ता, दुई जना छोरा छोरीलाई २० प्रतिशत र राजदूतका बाबु आमामध्ये एक जनालाई ५ प्रतिशतका हाराहारीमा भत्ता उपलब्ध गराइन्छ ।

घूस रकमसहित पक्राउ परे दुई प्रहरी, थप अनुसन्धान हुँदै

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी चौकी, कान्तिबजार महोत्तरीका इञ्चार्ज र वरिष्ठ हबल्दारलाई घूस रकमसहित पक्राउ गरेको छ । व्यक्तिले ‘लिज’मा लिई भोगचलन गर्दै आएको जग्गामा खेतीपाती तथा व्यवसायमा बाधा-अवरोध गरेको विषयमा सेवाग्राहीसँग घूस माग्दै गरेको अवस्थामा आयोगले पक्राउ गरेको हो । महोत्तरी जिल्ला अदालतबाट भएको फैसला कार्यान्वयन नगर्नका लागि छलफल गराउने भनी सेवाग्राहीसँग प्रहरी सहायक निरीक्षक शर्माप्रसाद यादव र वरिष्ठ हबल्दार मन्जितकुमार झाले रु २० हजार लिँदै गरेको अवस्थामा आयोगको टोलीले पक्राउ गरेको थियो । गौशाखा नगरपालिका–१२ गौरीटोलबाट पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । रासस

गुडिरहेको ट्रकमा आगलागी, पुलमा पनि सल्कियो

तस्वीर : निखिल श्रेष्ठ धनगढी । कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगलागी भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलाली र बर्दिया जोड्ने चिसापानीको कर्णाली पुलमा गुडिरहेको एक ट्रकमाथि आगलागी भएको हो । उक्त आगो ट्रकबाट पुलमा समेत सल्किएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दका अनुसार लाइटर बोकेको ट्रकमा आगलागी भएको हो । प्रहरी र स्थानीय बासिन्दाले आगो निभाउने प्रयास गरिरहेका उनले बताए ।

इलाम २ को प्रतिनिधि सभा उपनिर्वाचनमा भाग लिने रास्वपाको निर्णय

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ । सोमबार पार्टी मुख्यालय बालाजुमा बसेको पार्टी केन्द्रिय समिति बैठकले आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा भाग लिने निर्णय गरेको हो । तर प्रदेश सभामा बझाङ १ को उपनिर्वाचनमा भने पार्टीले भाग नलिने निर्णय गरिएको पार्टीका महामन्त्री डा. मुकुल ढकालले जानकारी दिए । त्यसैगरी बैठकले सो उपनिर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ । बैठकले सरकारको कामबारे समिक्षा गर्न हरेक हप्ता पार्टीका उपसभापति डा.स्वर्णिम वाग्ले र महामन्त्री ढकालले पार्टीको मन्त्रीहरुसँग छलफल गरेर सरकारको कामको समिक्षा गर्ने निर्णय पनि गरेको छ । पार्टीलाई सरकार, संसद र संगठनमा बलियो बनाउन सहयोगी टिमहरु गठन गरेर अघि बढ्ने निर्णय पनि गरिएको महामन्त्री ढकालले बताए । ‘दुई मुख्य एजेण्डा थिए– एउटा सरकारमा सहभागी भईसकेपछि जुन राजनीतिक परिस्थितिको कुरा थियो । त्यो निर्णयलाई अनुमोदन गर्ने कुरा थियो । साथै सरकारको कार्य सम्पादनको आवधिक समिक्षा गर्ने र पार्टीका विविध मोर्चा सरकार, संसद, संगठनमा सल्लाहको आधारमा सहयोगी टिमहरु गठन गर्दै पार्टीलाई हरेक मोर्चामा सफल बनाउन हरसम्भव कार्य गर्ने निर्णय गरियो । त्यस्तै दोस्रो निर्णयमा हामीले इलामको उपनिर्वाचनमा भाग लिने, दल दर्ता गर्ने निर्णय गर्यौं भने प्रदेश सभाको निर्वाचन जुन बझाङको थियो । त्यसमा हामीले भाग नलिने निर्णय गरेका छौं’, उनले भने । राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ सत्तारुढ गठनमा आवद्ध भएर पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागिता जनाएको छ ।