ढाका बुन्ने सीपले आत्मनिर्भर बन्दै महिला
ढोरपाटन । ताराखोला गाउँपालिकाका महिला सामूहिकरूपमा उद्यममा लागेका छन् । ताराखोला –२ अर्गलका महिलाले गाउँमै उद्यमी बन्ने उद्देश्यले ढाका उद्योग सञ्चालनमा ल्याएका छन् । अघिल्लो वर्ष एकमहिने तालिम लिएपछि अर्गलका महिलाले सामूहिकरूपमा ढाका उत्पादनमा लागेका हुन् । गतवर्ष फागुनमा एक महिना तालिम लिएपछि सात लाख रुपैयाँ लगानीमा ताराखोला होजियारी लघुउद्यमी समूहमार्फत ढाकाका सामान उत्पादनमा लागेकाको समूहकी अध्यक्ष दिलकुमारी घर्तीमगरले बताइन् । उद्योग सातजना महिलाले सञ्चालन गरेको उनको भनाइ छ । उद्योगबाट ढाकाका विद्यालय पोशाक, स्वीटर, मफलर, आउटर, ट्राउजर, टोपी र गलबन्दीलगायत सामग्री उत्पादन गर्दै आएको अध्यक्ष घर्तीमगरले बताइन् । ताराखोला गाउँपालिकाको ७५ र उद्यमी महिलाको २५ प्रतिशत लगानीमा उद्यम सुरु गरिएको भन्दै उत्पादन गरेको सामग्री गाउँमै राम्रो खपत भइरहेको उनले बताइन्। उनले भनिन्, ‘उद्योग सञ्चालन गर्न गाउँपालिकाले धेरै सहयोग गरेको छ, हामीले पनि मेहनत गरिरहेका छौँ, छोटो समयमा पनि निकै राम्रो भएको छ, हामीहरूले उत्पादन गरेका सामग्री बिक्री भएन भनेर पिर गर्ने अवस्था छैन, यहीँबाट खपत भइरहेको छ, सिक्दै काम गर्दै गर्दा पनि धेरैतिरबाट हौसला मिलेको छ”, उद्योगलाई थप व्यवस्थित बनाउँदै जाने योजनामा छौँ, गाउँमा पनि केही गर्न सकिने रहेछ भन्ने लागेको छ ।’ ताराखोला गाउँपालिकाकी उद्यम विकास सहजकर्ता निरु घर्तीले महिला उद्यमीले उत्पादन गरेका सामग्रीले बजार पाइराखेको बताइन् । प्रचारप्रसारका लागि समय–समयमा मेला महोत्सवमा लगेर प्रद्धर्शनसमेत गर्ने गरेको भन्दै पछिल्लो समय ग्राहक उद्योगमै आएर लैजाने गरेको उनको भनाइ छ । एकमहिने तालिमले यहाँका महिलाको दैनिकी नै बदलिएको भन्दै पहिले घरको चुलोचौकामा सीमित हुने महिला अहिले उद्यमी बन्न थालेको घर्तीले बताइन् । गाउँपालिकाले उद्यमीका लागि निरन्तर सहयोग गर्दै आएको उनको भनाइ छ । ‘यहाँका महिला दिदीबहिनी निकै उत्साहित भएर काम गर्नुभएको छ, उहाँहरूले सञ्चालन गरेको उद्योगमा गाउँपालिकाले पनि सहयोग गर्दै आएको छ, सुरुमा तालिम लिने बेला त्यत्ति उत्साह देखिएन तर अहिले धेरैले चासो दिनुभएको छ,’ सहजकर्ता घर्तीले भनिन्, ‘उद्यम र सीपले यहाँका महिलालाई आत्मनिर्भर बनाउन थालेको छ, बजारको कुनै समस्या नभएको हुँदा उत्पादन पनि निरन्तर गरिराख्नुभएको छ, गाउँपालिकाले गर्ने प्राविधिकदेखि विभिन्न किसिमका सहयोग गर्दै आएको छ ।’
प्रधानाध्यापक, शिक्षक र कर्मचारीले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने
फाइल फोटो तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाअन्तर्गतका विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेका छन् । गाउँपालिका भित्रका विद्यालयका प्रधानाध्यापकको बैठकले आगामी शैक्षिकसत्रदेखि प्रधानाध्यापक, शिक्षक र कर्मचारीले आफ्ना छोराछोरीलाई अनिवार्यरूपमा सामुदायिक विद्यालयमै पढाउनुपर्ने निर्णय गरेको हो । गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयको शैक्षिकस्तर वृद्धि र सकारात्मक सन्देश दिनका लागि सो निर्णय भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख निर्मला कुँवरले जानकारी दिइन् । उनले भनिन्, ‘नयाँ शैक्षिकसत्रदेखि यो निर्णय लागू हुनेछ ।’ गाउँपालिकाका जनप्रतिनिधिले विसं २०७९ को शैक्षिकसत्रदेखि सामुदायिक विद्यालयमा भर्ना गर्ने अभियान सुरु गरेका थिए । जनप्रतिनिधिको अभियानलाई साथ दिन प्रधानाध्यापक तथा शिक्षकहरूले उक्त निर्णय गरेको उनले बताइन्। गाउँपालिकाले सुरु गरेको शैक्षिक सुधार अभियानमा शिक्षकहरूले सहयोग गरेर आफूलाई थप हौसला मिलेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । उनले भने, ‘जनप्रतिनिधिले अघिल्लो शैक्षिकसत्रमै छोराछोरी सामुदायिक विद्यालयमा पढाइसकेका छन् । शिक्षकहरूले पनि यो कदमलाई साथ दिनुभएको छ । यो ऐतिहासिक काम हो ।’ गाउँपालिकाले विसं २०८० लाई सामुदायिक विद्यालयको शिक्षा रूपान्तरणको अभियानका रूपमा अगाडि बढाएको छ । सामुदायिक विद्यालयको सुधारका निम्ति सुविधासम्पन्न भौतिक पूर्वाधारको व्यवस्थापन, पूर्ण दरबन्दीको व्यवस्थापन, सिकाइ गुणस्तर अभिवृद्धिलगायतका कार्यक्रम सञ्चालन गरिने अध्यक्ष चुमानको भनाइ छ । आँबुखैरेनी गाउँपालिकाका ६ वटा वडामा ३५ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा करिब चार सय विद्यार्थी अध्ययनरत छन् । गाउँपालिकाले सामुदायिक विद्यालयमा पढाउने परिवारलाई कर छुट दिने नीतिसमेत ल्याएको छ । त्यस्तै सामुदायिक विद्यालयमा छोराछोरी पढाउने वडा नं ४, ५ र ६ का परिवारका लागि पालिकाले निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिने उनले बताए । ‘सामुदायिक विद्यालयमा आकर्षण वृद्धि गर्ने उद्देश्यसहित कर छुट, स्वास्थ्य बीमाको योजना ल्याइएको हो,’ अध्यक्ष चुमानले भने । गाउँपालिकाले सामुदायिक विद्यालयमा अनुदानमा बस वितरणको तयारीसमेत थालेको छ । पहिलो चरणमा तीनदेखि पाँचवटा विद्यालयलाई बस हस्तान्तरण गरिने जनाइएको । गाउँपालिकाले आमा समूह भवनका लागि बजेट विनियोजन गर्नुभन्दा उक्त बजेट विद्यालयको सुधारमा खर्च गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज, दाहाल र शर्माबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं । मंगलबार राष्ट्रिय सभा अध्यक्षका लागि मतदात हुँदैछ । बिहान ११ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा सभाको अध्यक्षका लागि निर्वाचनको कार्यतालिका तय गरिएको छ। राष्ट्रिय सभाको अध्यक्षता उपाध्यक्ष उर्मिला अर्यालले गर्नेछिन् । फागुन २१ गतेदेखि रिक्त रहेको अध्यक्ष पदका लागि सत्ता गठबन्धनको तर्फबाट नारायण दाहाल र प्रतिपक्षी दल नेपाली काँग्रेसको तर्फबाट युवराज शर्माले उम्मेदवारी दिएका छन् । राष्ट्रिय सभा नियमावली २०७५ को नियम ७ बमोजिम अध्यक्षको निर्वाचन मिति तोकिएपछि सोही नियमावलीको नियम ७ को उपनियम १ अनुसार आइतबार नै संसद् सचिवालयले निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशन गरेको थियो। निर्वतमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना यही फागुन २० गते कार्यकाल सकेर बिदा भएपछि यो पदमा चुनाव हुन लागेको हो । ५९ सदस्यीय राष्ट्रिय सभामा एकजना मनोनित गर्न बाँकी छ । जसबाट ५८ सदस्यको बहुमत अर्थात् ३० जनाको समर्थन भए अध्यक्षमा निर्वाचित भएको मानिने छ ।
संस्थापक सेयर बिक्री गर्दै मितेरी डेभलपमेन्ट बैंक
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनी सुनिल श्रेष्ठको नाममा रहेको ३ लाख २५ हजार कित्ता र सेयर बिक्री गर्न लागेको हो । कम्पनीका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले उक्त सेयर बिक्रीका लागि प्रक्रिया अघि बढाएको हो । उक्त सेयर खरिद गर्न चाहने विद्यमान संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र दरखास्त दिन सक्नेछन् ।
ट्रकमा लागेको आगोले कर्णाली पुलमा आवागमन बन्द, १४ ‘सपोट’ डोरीमा क्षति
कैलाली । सोमबार भएको आगलागीबाट आंशिकरूपमा क्षति भएपछि कर्णाली पुलमा सवारीसाधन आवागमन बन्द गरिएको छ । प्राविधकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेरमात्र सवारी आवागमन सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ । आगलागीबाट पुलको १४ ‘सपोट’ डोरीमा आंशिक क्षति पुगेको छ । पुलमा तत्कालका आगि यातायात आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय नेपालगञ्जका इन्जिनियर नीरज शाक्यले जानकारी दिएका छन् । उनले भने, ‘हामी घटनास्थलमा राति नै पुगिसकेका छौँ । आज बिहान अर्को प्राविधिकको विशेषज्ञ टोली आउँदैछ । पुलको परीक्षण नहुँदासम्म पुलमाथि सवारी आवागमन बन्द गरेका छौँ ।’ कर्णाली पुलबाट सवारी आवागमन बन्द गरिएपछि सुदूरपश्चिमका विभिन्न जिल्लाबाट सङ्घीय राजधानी काठमाडौं तथा अन्य प्रदेशमा जाने सवारीसाधन लम्की, टीकापुर हुँदै सत्ति पुलबाट बर्दिया तथा नेपालगञ्जको मार्ग प्रयोग गर्न सबैलाई अग्रह गरिएको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक हरिराम डाँगीले बताए । काठमाडौं तथा अन्य जिल्लाबाट सुदूरपश्चिम प्रदेश भित्रिने सवारीसाधनलाई नेपालगञ्ज र बर्दिया हुँदै टीकापुरको मार्ग प्रयोग गर्न उनले बताए । कर्णालीको पुलमा गुड्दै गरेको अवस्थामा सोमबार अपराह्न पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख ५२९७ नम्बरको ट्रकमा पछाडिबाट एक्कासी आगलागी भएको थियो । लम्कीचुहा, टीकापुर, घोडाघोडी र बर्दियाबाट आएको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो चार घण्टापछि राति ९ बजे पूर्णरूपमा नियन्त्रणमा आएको प्रहरी निरीक्षक डाँगीले बताए । आगो नियन्त्रणपछि जलेको ट्रकसमेत राति नै लम्कीचुहा नगरपालिकाको डोजर प्रयोग गरी हटाइएको छ । आइतबार अपराह्न वीरगञ्जबाट एक हजार एक सय कार्टुन लाइटर लिएर हिँडेको ट्रक सोमबार सोमबार अपराह्न कर्णाली पुलमा पुगेको कञ्चनपुर कृष्णपुरका ३६ वर्षीय ट्रकचालक जगनाथ जोशीले बताए । उनले भने, ‘हामी अपराह्न बर्दिया राष्ट्रिय निकुञ्जको चिसापानी चेकपोष्टमा पुगेका थियौँ । त्यहाँ चिट दिएर अगाडि बढ्यौं। गाडीमा लोड भएकाले हामी ४०–५० को गतिमा नै गाडी चलाइरहेका थियौँ । पुलको नजिक पुग्दा गाडीको गति ८ देखि १० को मात्र थियो ।’ चालक जोशीले भने, ‘चेकपोष्टबाट केही समयमा कर्णाली पुलमा पुग्दा पुलमा भिडियो बनाइरहेका एक युवकले कराउँदै अंकल ट्रकमा आगो भन्दै चिच्याउँदा तल झरेर हेर्दा पछाडि आगो लागेको थाहा भयो, हामी आत्तियौँ ट्रक थोरै पछाडि लिए । पछाडि बस भएकाले पुल बाहिर निकाल्न सकिएन ।’ पर्साको न्यू बागेश्वरी ढुवानी सेवाले लोड गराएको तपन इन्टरप्राइजेजको एक हजार एक सय लाइटर कञ्चनपुरको शिवओम इन्टरप्राइजेजको भएको ट्रकचालक जोशीले बताए । आगलागी हुने क्रममा ट्रकमा चालक जोशी र सहचालक दार्चुला शैलेश्वरी–८ का २४ वर्षीय सहचालक धिरज जोशी रहेका थिए । दुवै जना सकुशल प्रहरीको नियन्त्रणमा छन् । आगलागी भएको ट्रक धनगढीका जयप्रकाश चौधरीको रहेको चालक जोशीले बताए । आगलागीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट एक करोड १५ लाख ६८ हजार रुपैयाँबराबरको ट्रकमा रहेको लाइटर जलेको छ । ट्रकसमेत पूर्णरूपमा जलेको छ । चालक जोशीले कपिलवस्तुबाट ताप्लेजुङमा सिइ हाइड्रो कन्ट्रक्सनको सामान ढुवानीबापत बुझेको नगद ५७ हजार रुपैयाँ पनि जलेको बताए । नगद र सामान गरी एक करोड १६ लाख २५ हजार रुपैयाँबराबरको क्षति भएको छ । क्षतिको अन्य विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ । एसियाकै नमूना पुलका रूपमा रहेको कर्णाली पुल पर्यटनको गन्तव्यस्थलका रूपमा समेत रहेको थियो । एक खम्बाको सहायताले मात्र रहेको पुल हेर्ने देश तथा छिमेकी मुलुक भारतबाट पर्यटक आउने गरेका लम्कीचुहा नगरपालिका–३ का वडाध्यक्ष लवबहादुर शाहीले बताए । रासस
सुदूरपश्चिम र कर्णाली प्रदेशमा पानी पर्ने
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । मंगलबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
सरकार र मिटरब्याज पीडितबीच चारबुँदे सहमति
काठमाडौं । सरकार र मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर सङ्घर्ष समितिबीच सोमबार चारबुँदे सहमति भएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको पहलमा गृह मन्त्रालयमा सोमबार भएको वार्ता सहमतिमा टुङ्गिएको छ भने सहमतिसँगै पीडितले आन्दोलन फिर्ता लिएका छन् । गृह मन्त्रालयमा आइतबार र सोमबार भएको वार्ता सहमतिमा टुङ्गिएसँगै समितिले आह्वान गरेको आन्दोलन पनि स्थगित गर्ने सहमति भएको गृहमन्त्री लामिछानेको सचिवालयले जानकारी दिएको छ । पीडितको समस्या दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने भएकाले जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम तीन महिनाभित्र प्रतिवेदन पेस गर्ने गरी अनुचित लेनदेन (मिटरब्याज) विरुद्ध जाँचबुझ आयोग गठन गर्ने गरी सहमति भएको छ । सहमतिपत्रमा आयोगको कार्यादेशअनुसार जाँचबुझ गरी सरकारसमक्ष प्रस्ताव पेस गर्ने, आर्थिक समस्याका कारण मिटरब्याजी साहु, महाजनका चङ्गुलमा पर्न नदिन शोषित उत्पीडित वर्गलाई आर्थिक सहायता, राहत र क्षतिपूर्तिका लागि आगामी बजेटमा आवश्यक व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई अनुरोध गर्ने र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिका तर्फबाट हाल चलिरहेको आन्दोलनका कार्यक्रम स्थगित गर्ने उल्लेख छ । झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट २३ दिन हिँडेर यही फागुन ९ गते काठमाडौं आइपुगेका मिटरब्याजपीडितले आन्दोलन र वार्ता सँगसँगै अघि बढाइरहेका थिए । आन्दोलन स्थगितसहितको सहमति गरेर अहिले आन्दोलनमा रहेकाहररूलाई सहमतिबारे जानकारी गराउने काम भइरहेको सङ्घर्ष समितिका प्रवक्ता निर्ग नवीनले जानकारी दिए ।
सिड्नीबाट उडेको विमानमा एक्कासि कम्पन, १२ जना यात्रु बिरामी
अष्ट्रेलिया । सिड्नीबाट अकल्याण्डका लागि उडेको लाटामको विमानमा प्राविधिक समस्या आएपछि एक्कासि कम्पन हुँदा बिरामी परेका १२ यात्रुलाई सोमबार अस्पताल भर्ना गरिएको विमान कम्पनी र सुरक्षाकर्मीले सोमबार एएफपीलाई जानकारी दिएका छन् । तस्मान सागरमा एलए ८०० विमानमा समस्या आएका कारण विमानमा कम्पन आउँदा कम्तीमा एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ । यात्रुहरूले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार विमानको उचाई एक्कासी गुमेको र सिटबेल्ट नभएकाहरू सीटमा उफ्रेका थिए । प्रत्यक्षदर्शी यात्रुले रेडियो नेटवर्क आरएनजेडसँग भने, ‘सिटबेल्ट नलगाएका कारण मानिसहरू सीटमा उफ्रिएका थिए ।’ आवाज थरथर काँपिरहेको अवस्थामा उनले भने, ‘केही मानिस गम्भीर घाइते भएका छन् । यात्रुहरू पनि साँच्चै डराएका थिए ।’ चिलीस्थित एयरलाइन्सका प्रवक्ताले उडानका क्रममा भएको प्राविधिक घटनाका कारण विमानमा ‘ठूलो हलचल’ भएको बताएका छन् । ‘विमान अकल्याण्ड विमानस्थलमा निर्धारित समयमा अवतरण गरेको थियो,’ उनले भने । तर घटनाको कारण भने खुल्न सकेको छैन । सेन्ट जोन न्युजिल्यान्ड एम्बुलेन्स सेवाका जेरार्ड क्याम्पबेलले विमान न्युजिल्यान्डको अकल्याण्ड सहरमा ओर्लिएपछि चिकित्सकलाई समस्याबारे जानकारी गराइएको बताए । घाइतेको उपचारका लागि एक दर्जनभन्दा बढी एम्बुलेन्स र अन्य मेडिकल गाडीको टोली विमानस्थलमा पुगेको थियो । क्याम्पबेलले भने, ‘हाम्रो एम्बुलेन्स चालक दलले लगभग ५० जना बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचार गरेको थियो, जसमा एक बिरामी गम्भीर अवस्थामा थिए र बाँकी मध्यम देखि सामान्य अवस्थामा थिए ।’ बिरामी सबै जनालाई अस्पताल पुर्याइएको उनले बताए । लाटामका अनुसार ‘बोइङ ७८७ ड्रीमलाइनर’ विमानमा उडानका क्रममा समस्या आएको हो । अमेरिकी विमान निर्माता कम्पनी बोइङले हालैका वर्षहरूमा घातक लायन एयर र इथियोपियन एयरलाइन्सका ७३७ म्याक्स विमानहरूमा दुर्घटनाग्रस्त भएकालगायत सुरक्षा समस्याहरूको शृङ्खलाको सामना गर्नुपरेको छ । एअरलाइन्सले भनेको छ, ‘यस परिस्थितिले निम्त्याएको असुविधाप्रति लाटाम गहिरो खेद प्रकट गर्दछ ।’ रासस/एएफपी