विकासन्युज

आरम्भ चौतारी लघुवित्तले लाभांश नदिने

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले पनि लाभांश नदिने भएको छ । संस्थाले आर्थिक वर्ष २०७९/८० को लाभांश वितरण नगर्ने निर्णय गरेको हो । फागुन २८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको हो । त्यस्तै, संस्थाले कम्पनीको नाफा नोक्सान, हिसाव र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने लगायतका वित्तीय विवरणहरु अनुमोदनको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने छ । उक्त विवरणहरु स्वीकृत भएपछि संस्थाको साधारण सभाले पारित गर्ने छ ।

गतवर्ष कर्णालीबाट ३२ सय क्विन्टल जडीबुटी निकासी

भेरीगङ्गा । कर्णाली प्रदेशबाट गत आर्थिक वर्ष २०७९/८० मा ३२ हजार केजी जडीबुटी निकासी भएको छ । प्रदेश वन निर्देशनालयका अनुसार जडीबुटी निर्यातबाट दुई करोड ९४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । प्रदेशका हिमाली जिल्लाबाट धेरै जडीबुटी निर्यात हुने गरेको निर्देशक ललितकुमार कर्णले जानकारी दिए । ‘कर्णालीको हिमाली जिल्लामा पाइने यार्सागुम्बा, जटामसी, सिलाजितलगायतका जडीबुटी निर्यात भइरहेको छ’, उनले भने, ‘कर्णालीमा ७९ प्रकारका विभिन्न बहुमूल्य जडीबुटी पाइन्छन्, यसको उचित प्रयोग अब आवश्यक छ ।’ जडीबुटीबाहेक वन क्षेत्रका काठ–दाउरा बिक्रीमार्फत पनि राजस्व आम्दानी हुने गरेको प्रदेश वन निर्देशनालयको तथ्याङ्क छ । कर्णालीमा पाइने जडीबुटीको उपयोग भने हुन नसकेको सरोकारवालाहरूले बताउँदै आएका छन् । औषधिजन्य जडीबुटीको प्रशोधन, अध्ययन तथा अनुसन्धान गरेर उत्पादित औषधिबाट बिरामीको उपचार गर्ने उद्देश्यले आयुर्वेद अस्पताल, आयुर्वेद स्वास्थ्य केन्द्र, आयुर्वेद औषधालयहरू सञ्चालन गरेका छन् । तर दक्ष जनशक्ति, पूर्वाधारको अभाव र जीर्ण बन्दै गएको औषधि बनाउने मेसिन प्रयोग गर्दै प्रदेश आयुर्वेद अस्पताल तथा अनुसान्धन केन्द्रले सेवा दिँदै आएको छ । जडीबुटी बिक्री गरी आम्दानी गर्ने जिल्लामा सबैभन्दा अगाडि हुम्ला रहेको जनाइएको छ । उनले कर्णाली प्रदेशमा जडीबुटी सङ्कलन र भण्डार केन्द्र नहुँदा समस्या भएको बताए । निर्देशक कर्णले ‘यहाँ प्रशोधन गर्ने उद्योग छैन, हामीले यस्तो बहुमूल्य जडीबुटी सस्तोमा बेच्नुपर्ने बाध्यता छ । प्रशोधन उद्योग स्थापनाका लागि प्रदेश र केन्द्र सरकारले सोच्नुपर्छ ।’ कर्णाली प्रदेशबाट निर्यात हुने जडीबुटीबाट मनग्य आम्दानी लिनेगरी नीति बन्न आवश्यक रहेको उनले औँल्याए । रासस

प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाद्वारा ह्वीप जारी

फाइल तस्बिर काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदहरुलाई ह्वीप जारी गरेको छ । मंगलबार बिहान बसेको रास्वपा संसदीय दलको बैठकले सो निर्णय गरेको हो । पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले सबै सांसदहरुलाई अनिवार्य उपस्थित भएर प्रधानमन्त्रीलाई मत दिन ह्वीप जारी गरिएको बताएका छन् । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदको लागि तेस्रो पटक प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रम रहेको छ । पुरानो गठबन्धन भत्किएर पुर्नगठन भएको सरकारमा रास्वपा ४ मन्त्रालयसहित सहभागी भएको छ ।

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिका–१ स्थित पिपलचोकमा गए राति मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–२ की ७८ वर्षीया चन्द्रकुमारी बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । कोशी राजमार्गमा धरानबाट इटहरीतर्फ आउँदै गरेको प्र१–०२–०४०प ४४८३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा वृद्धाको मृत्यु भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी बोहोराको उपचारका क्रममा विराट टिचिङ अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ । पैदलयात्री वृद्धाको तीव्रगतिमा रहेको मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सोही मोटरसाइकलकको ठक्करले ५८ वर्षीय गोविन्दबहादुर बोहोरा घाइते भएका छन् । उनको उपचार भइरहेको छ । मोटरसाइकल चालक तत्काल फरार रहेकाले खोजतलास भइरहेको र घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

भोट माग्दा गरेको वाचा पूरा गर्न सकेको छैन

राज्य सञ्चालनको मुख्य औजारका रूपमा रहेका कानुनहरू बनाउने सर्वोच्च ठाउँ संसद्मा पुग्न पाउँदा खुसी लागेको छ । आफूलाई सांसद बनाउने नेपाल कम्युनिष्ट पार्टी एमाले र आफूले प्रतिनिधित्व गरेको ठाउँ रौतहटमा केही राम्रो काम गरेर देखाउने तीव्र इच्छा छ । तर सांसद भएको डेढ वर्ष बितिसक्यो, कानुन बनाउनेतर्फ खासै काम गर्न सकिएको छैन । बनाउनुपर्ने कानुन धेरै छन् । संविधान अनुकूलका कानुन पनि बनाउन धेरै बाँकी छ । कानुनको अभावमा धेरै काम प्रभावकारी तरिकाले हुनसकेका छैनन् । संसद्मा विधेयक सरकारले ल्याउने हो । सरकारले कानुन बनाउने कुरामा बढी ध्यान दिनुपर्ने हो । विगतमा एमाले प्रतिपक्षमा रहेका कारण पनि धेरै कानुन बनाउने कुरामा निर्णायक भूमिका थिएन । अब पार्टी सरकारमा गएको छ । अब संविधानअनुकूलका बनाउनुपर्ने कानुन छिट्टै बन्छन् भन्ने मलाई विश्वास छ । तराईमा अहिले पनि दाइजोका कारण महिलाको हत्या भइरहेको छ, प्रताडित भइरहेका छन् । विभिन्न कुसंस्कार र कुरीति छन् । त्यो पनि कानुनले नै नियन्त्रण गर्नुपर्छ । मिटरब्याज पीडितका समस्या छन् । उखु किसानले उखुको भुक्तानी नपाएर दुःख पाइरहेका छन् । सिँचाइको अभावमा किसानले राम्रोसँग खेतीबाली लगाउन सकेका छैनन् । यस्ता अनेक समस्याबाट रौतहटसहित तराईका जिल्लाहरू ग्रसित छन् । विगतमा तराई मधेसमा महिलालाई राजनीतिमा सहभागी र सक्रिय हुन निकै कठिन थियो । अहिले केही सहज भएको छ । केही प्रगति मधेसमा महिलाको पनि भएको छ । बुझेको मान्छेलाई बुझाउन निकै गाह्रो रहेछ । बरु केही नबुझेको मान्छेलाई बुझाउन सकिन्छ । मधेसमा महिलालाई सशक्तीकरण गर्नैपर्ने जरुरी छ । केही ठाउँमा, केही समुदायमा धार्मिक, सांस्कृतिक रुढीवादी परम्परा पनि हाबी छ । यद्यपि छोरीलाई पढाउन, बुहारीलाई काममा पठाउनेतर्फ केही सुधार आएको छ । तर सोचेअनुरुप सुधार आउन सकेको छैन । त्यसका लागि बुझाउने र सचेतना जगाउने काम गरिरहेकी छु । सांसद भनेको जनताको प्रतिनिधि हो । जनप्रतिनिधिमाथि संसद्मा राष्ट्रिय विषयमा छलफल गर्ने र आफ्ना निर्वाचन क्षेत्रमा विकास निर्माणका कार्यमा सहभागिता जनाउने दुवै दायित्व हुन्छ । जनताको अपेक्षा पनि यही हुन्छ । स–साना विकासका कार्यहरू र बजेट व्यवस्था खासमा स्थानीय सरकारले गर्नुपर्ने हो, तर हामीले पनि हेर्नुपर्छ । मधेस प्रदेशमा शिक्षा, स्वास्थ्य र खानेपानीको निकै ठूलो समस्या छ । मलाई धेरै हिसाबले रौतहट जिल्ला पछि परेको जस्तो लाग्छ । शिक्षामा धेरै पछाडि छ । स्वास्थ्यमा पनि उपचार गर्नका लागि एउटा ठूलो अस्पताल छैन । एउटा राम्रो अस्पताल भएमा केही राहत हुने थियो । पहल गरिरहेकी छु । स्वच्छ खानेपानी नहुँदा धरै मानिस रोगको सिकार भएका छन् । त्यसका लागि सरकारले पनि ध्यान दिनुपर्ने हो । मेरो जिल्ला रौतहटमा शिक्षा, स्वास्थ्य र खानेपानीकै विषयमा के गर्न सकिन्छ भन्ने सोचिरहेको छु । पार्टीले मलाई सांसद बनाएपछि जनताले के गर्छ भनेर हेरिरहेका छन् । हामीले भोट माग्दा शिक्षा, स्वास्थ्य र खानेपानीका क्षेत्रमा देखिनेगरी परिवर्तन ल्याउँछौँ भनेर वचन दिएको थिएँ । जनतासँग गरेको वाचा पूरा गर्न सकिएको छैन । धेरै काम गर्न बाँकी छ । अहिले त जनतामा जान पनि अप्ठ्यारो लाग्छ । जनतालाई यो–यो काम गर्छु भनेर दिएको वचन पूरा गर्न सकेको छैन । तर म प्रयासरत छु । सांसद हुँदा र नहुँदा सधैँ जनताकै साथमा हुनेछु । रासस

कफी खेतीबाट वार्षिक १३ लाख आम्दानी

इलाम । इलामको माङसेबुङ गाउँपालिका–१ जगरमुखीका याम कार्की ‘कृषि कर्म गरेर पनि मनग्य कमाउन सकिन्छ’ भन्ने प्रेरणाका स्रोत बनेका छ्न् । उनी बिहानदेखि बेलुकासम्म नै कृषि काममा व्यस्त देखिन्छन् । उनले ६० रोपनी क्षेत्रमा कफीको बिरुवा लगाएका छन् । विगत छ वर्षदेखि व्यावसायिक कफीखेती सुरु गरेका हुन् । व्यवसायी कार्कीले सबै जग्गामा कफीखेती विस्तार गरेका छन् । उनको बगानमा अहिले छ हजार कफीका बोट छन् । कफीका अधिकांश बोटले आम्दानी दिन थालेको छ । उनले कफीखेतीबाट वार्षिकरूपमा रु १३ लाखसम्म आम्दानी गर्दै आएका छन् । कफीको चेरी र बिरुवा बिक्रीबाट छुट्टाछुट्टैरूपमा आम्दानी लिँदै आएको उनको अनुभव छ । विसं २०७४ देखि ‘इलाम एग्रो फार्म’ दर्ता गरी उनले व्यावसायिक कफीखेती गर्दै आएका छन् ।  ‘विगत छ वर्षदेखि मैले आफ्नै निजी जग्गामा व्यावसायिक कफीखेती गर्दै आएको छु, अहिले अधिकांश बोटले आम्दानीसमेत दिन थालिसकेको छ,’ उनले भने, ‘फ्रेस चेरी ए ग्रेड कफी प्रतिकिलो रु एक सय पाँच सम्ममा बिक्ने गरेको छ, सरदरमा वार्षिक सात लाख रूपैयाँसम्म आम्दानी भइरहेको छ ।’ ‘अरविका’ नामक कफीखेती विस्तार गरेका व्यवसायी कार्कीले बिरुवाबाट समेत मनग्य आम्दानी गरिरहेका छन् । उनले याममा बिरुवा बिक्रीबाट छ लाखसम्म आम्दानी हुने गरेको जानकारी दिए । ‘मेरो नर्सरीमा वर्षमा १५ देखि २० हजार बिरुवा उत्पादन हुन्छ, प्रतिबिरुवा ३० कार दरले नर्सरीबाटै बिक्री हुन्छ,’ उनले भने, ‘बिरूवाबाट मात्र करिब छ लाख हात पार्ने गरेको छु ।’ बिरुवा विभिन्न पालिका, वडा कार्यालय एवं फार्मले खरिद गरी लैजाने गरेको उनले बताए । कफीखेतीका लागि प्रशस्त जमिन र उपयुक्त वातावरण भएकाले यसतर्फ किसानको मोह बढेको उनले भने । ‘वनजङ्गलको आडैमा प्रशस्त खाली जमिनमा लगाइएका कफीका बिरुवाले हरभरा देखिन थालेका छन्,’ उनले भने, ‘यसलाई हामी सामुदायिक अवधारणामा विभिन्न सङ्घसंस्था र वडा कार्यालयसँग समन्वय गरी गाउँपालिकाभरि विस्तार गर्ने योजना छ ।’ कफीको मूल्य राम्रो पाइने र बिक्रीका लागि समस्या पनि नभएकाले किसानले अन्य पेसा छाडेर कफीखेतीतर्फ लागेको उनले बताए । उनले कफीसँगै व्यावसायिकरूपमा बाख्रापालन गर्दै आएका छन् । कफीखेतीका लागि चाहिने मल बाख्रापालनबाटै उपलब्ध हुने भएकाले दुवै व्यवसाय सँगसँगै लगेको उनको भनाइ छ । माङसेबुङ गाउँपालिका–२ इभाङका किसान गणेश लिम्बूले पनि राम्रै अन्नबाली उत्पादन हुने जग्गामा व्यावसायिक कफीखेती विस्तार गरेको छ । उनले २५ रोपनी जग्गामा दुई हजार पाँच सय बोट कफी लगाएका छन् । लगानी धेरै नपर्ने र मेहनत पनि खासै नपर्ने भएकाले चार वर्षदेखि व्यावसायिक कफीखेती सुरु गरेको उनले बताए । ‘चार वर्षदेखि कफीखेती सुरु गरेको मेरो बगानमा अहिले दुई हजार पाँच सय बोट पुगेको छ, यसलाई अझ विस्तार गरी १० हजार पुर्याउने लक्ष्य छ,’ उनले भने, ‘पहिलो लटको बिरुवाले उत्पादन सुरु गरेको छ, यो वर्ष चार क्विन्टल उत्पादन भयो, आउँदो सालदेखि आम्दानी राम्रै हुने आशा बढेको छ ।’ केटाकेटीले समेत काम गर्न सक्ने तथा दक्ष कामदार नचाहिने भएकाले अन्य खेतीभन्दा कफीखेती गर्न सहज हुने उनको अनुभव छ । माङसेबुङ गाउँपालिका–१ तोभाङका छत्र कार्कीले चार वर्षदेखि कफीखेती गर्दै आएका छन् । व्यावसायिकरूपमा आफ्नै पाखा पखेरामा करिब पाँच सय कफीका बिरुवा लगाउनुभएका उहाँले राम्रो आम्दानी गरेको बताए । ‘मलजल र स्याहारसुसार पुग्यो भने रोपेको दुई वर्षदेखि नै आम्दानी दिन थाल्दोरहेछ, यो वर्ष ७० हजार रुपैयाँजति आम्दनी भयो,’ उनले भने, ‘यो सालदेखि अझ विस्तार गर्ने योजनामा छु ।’  पहाडी क्षेत्रमा विगतमा भन्दा यो वर्ष कफीखेती राम्रो रहेको र किसान यस खेतीबाट सन्तुष्ट भएको उनको भनाइ छ । माङसेबुङ गाउँपालिका–२ काब्राबोटेका पृथीमान जवेगूले पनि पाँच सय कफीका बिरुवा रोपेर व्यावसायिक कफीखेती सुरु गरेका छन् । पहाडी क्षेत्रको चिसो ठाउँमा कफी लगाउन सकिने र कफीबाट किसानले मनग्य आम्दानी लिन सफल भएपछि आगामी वर्ष आफूले कफीखेती विस्तार गर्ने योजना रहेको उनको भनाइ छ । माङसेबुङ गाउँपालिका–१ का गजुरमुखी, नाङरुङ, तोभाङ र वडा नं २ का इभाङ, डाँडागाउँ, काब्राबोटे गाउँका तीन सय ५० जना किसानले व्यावसायिक कफीखेती गर्दै आएका छन् । पहाडी भेगका गाउँमा कफीखेती गर्ने किसान बढ्दै गएका छन् । उनीहरूले खेतबारीमा अन्नबाली लगाउन छाडेर कफी रोपेका छन् । सामान्य कफीखेतीबाट सुरु गरेका किसानले अहिले व्यावसायिक कफीखेती सुरु गर्न थालेका छन् । उत्पादन राम्रो हुँदै गएकाले किसान कफीखेतीतर्फ दिनप्रतिदिन आकर्षित बन्दै गएका हुन् । माङेबुङ गाउँपालिकाभर छ हजार क्षेत्रमा ६० हजार कफीको बिरूवा रोपिएको गाउँपालिकाको तथ्याङ्क छ । कम मेहनत र थोरै लगानीमा नै मनग्य आम्दानी हुन थालेपछि किसान व्यावसायिक कफीखेतीमा आकर्षित भएका हुन् । खेतबारीमा अन्नबाली लगाउने जनशक्ति अभाव र लगाएको अन्नबाली पनि बाँदरले खाइदिने समस्याले अधिकांश किसानले व्यावसायिक कफीखेती सुरु गरेका छन् । बाँझो पाखा पखेरामा समेत हुने भएपछि किसानले व्यावसायिक कफीखेती सुरु गरेका हुन् । उनीहरूले व्यावसायिक कफीखेती गरी लाखौँ आम्दानी लिइरहेका छन् । उनीहरूले खेतीयोग्य जमिन मासेरसमेत व्यावसायिक कफीखेती गर्दै आएका हुन् । यहाँका किसानले ‘अरविका’ जातका कफीखेती गर्दै आएका छन् । किसानलाई अहिले बजार र यातायातको पनि कुनै समस्या छैन । घरैबाट सहजैरूपमा बिक्री गर्न पाउँछन् । घरघरमा गएर व्यापारीले कफी किन्ने गरेका छन् । बगानमै मोलतोल गरेर व्यापारीले किन्ने गरेकाले किसानलाई उत्पादन बजारसम्म पुर्याउने झन्झट छैन ।  स्थानीयस्तरमा नै कफी प्रशोधन उद्योग स्थापना भएपछि किसानले कफीको मूल्य राम्रै पाएका छन् । त्यस क्षेत्रका किसानले उत्पादन गरेको कफी व्यापारीमार्फत काठमाडौँमा जाने गरेको छ । कफी प्रशोधन उद्योगले बजारीकरणमा सहज गाउँमा व्यावसायिक कफीखेती विस्तार भएसँगै माङसेबुङ गाउँपालिका–१ का किसान याम कार्कीले गाउँमै कफी प्रशोधन उद्योग स्थापना गरेका छन् । उनले ‘इलाम एग्रो फार्म’मार्फत उद्योग स्थापना गरेपछि किसानलाई सहज भएको छ। उत्पादित कफीको बजारीकरण उद्योगले नै गर्ने भएपछि किसानले बजारीकरणको समस्या भोग्नुपरेको छैन। स्थानीयस्तरमै प्रशोधन भएर बजारीकरण हुने भएकाले किसानले कफीको मूल्यसमेत राम्रो पाएका छन् । बजारीकरणका लागि अन्तरराष्ट्रिय सञ्जालमा जोडिएकाले किसानको घरघरमा आउने र बजारीकरणको सुनिश्चित रहेको कार्कीले बताए । ‘कफीको बिरूवाका लागि आफैं नर्सरी गरेर बिक्रीवितरण गर्ने गरेको छु, उत्पादित दाना सङ्कलन गरेर बजारीकरणमा सहयोग गर्ने गरेको छु,’ उनले भने, ‘किसानले उत्पादन गरेको कफी नबिक्ने चिन्ता छैन, काठमाडौँ र पोखरालगायत ठूला सहरबाट माग आउने गरेको छ, अहिले माग पनि पुर्याउन सकिएको छैन, जति उत्पादन भए पनि हामी उठाउँछौं ।’ किसानलाई अनलाइनमार्फत् नै भुक्तानीको व्यवस्था गरिएकाले थप सहज भएको उनको भनाइ छ । उनको फार्ममा दुई स्थायी र छजना सिजनेबल कामदारले रोजगारी पाएका छन्  । आफू र आफ्नो परिवारका सदस्यबाहेक आठजना कामदारलाई रोजगारी दिएको उनले बताए । ‘फार्ममा हामी आफैं पनि खट्ने गरेका छौं, त्यसबाहेक दुई स्थायी र छजनालाई सिजनेबल कामदारका रूपमा रोजगारी दिएको छु,’ उनले भने ‘आफू स्वरोजगार भई अरुलाई समेत रोजगारी दिन पाउँदा खुसी लागेको छ ।’ बेरोजगार युवा विदेशिने क्रम रोक्न र गाउँघरमा नै बसेर भए पनि स्वरोजगार बन्न कृषि व्यवसाय प्रवर्द्धन गर्ने लक्ष्यका साथ कृषि व्यवसायमा लागेको उनको भनाइ छ ।  जिल्लाका अधिकांश क्षेत्रमा ‘अरविका’ जातको कफी लगाइएको छ । कफीको पाकेको दाना (चेरी) किसानबाट प्रतिकिलो एक सय पाँच, प्रशोधन गरिएको (पार्चमेन) प्रतिकिलो पाँच सयदेखि छ सयसम्ममा कारोबार हुने गरेको छ । पूर्ण प्रशोधन वा धुलो बनाउन बाँकी रहेको कफी प्रतिकिलो एक हजार आठ सयका दरले बिक्री हुने गरेको छ । धुलो बनाउँदा प्रतिकिलो रु दुई हजार दुई सय ५० का दरले कफी बिक्री हुने गरेको छ । व्यावसायिक कफीखेती गर्ने किसानलाई प्रवर्द्धन गर्न माङसेबुङ गाउँपालिकाले अनुदान दिन थालेको छ । गाउँपालिकाले अनुदान दिन थालेपछि व्यावसायिक कफीखेती विस्तारमा किसान आकर्षित भएका छन् । कफी उत्पादनमा वृद्धि गराउने उद्देश्यले माङसेबुङले कफीखेती किसानलाई सोझै अनुदान रकम दिन थालेको हो । माङसेबुङ गाउँपालिकाले ५० किलो वा सोभन्दा धेरै कफीको पाकेको दाना (चेरी) उत्पादन गरेका किसानलाई प्रतिकिलो २० का दरले अनुदान उपलब्ध गराउँदै आएको छ । किसानले जति धेरै उत्पादन गर्छ, त्यति नै धेरै प्रोत्साहन अनुदान पाउने व्यवस्था गरिएको माङेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए । माङसेबुङ गाउँपालिकाले गत वर्ष कफीमा ३४ जना किसानले एक लाख १६ हजार आठ सय ९० प्रोत्साहनबापत अनुदान पाएको गाउँपालिकाले जनाएको छ । रासस

अडानी समूहले विमानस्थल व्यवसायमा थप ६ खर्ब लगानी गर्ने, यस्तो छ पूरा योजना

काठमाडौं । भारतीय व्यावसायिक घराना अडानी समूहले विमानस्थल (एयरपोर्ट) व्यवसायमा वृहत् लगानी गर्ने योजना बनाएको छ । आगामी १० वर्षमा अर्बपति व्यवसायी गौतम अडानीको नेतृत्वमा रहेको समूहले एयरपोर्टसँग सम्बन्धित व्यवसाय विस्तार गर्न ६ खर्ब रुपैयाँ लगानी गर्ने योजना बनाएको छ । समूहले भारतमा सञ्चालित सात विमानस्थलको आम्दानी थप वृद्धि गर्न यो ठूलो लगानी गर्न लागेको बताइएको छ । यो रकमको करिब आधा अर्थात् ३ खर्ब पाँच वर्षमा विमानस्थल टर्मिनल र धावनमार्ग सुधार गर्न खर्च हुनेछ । बाँकी ३ खर्ब रुपैयाँ आगामी १० वर्षमा विमानस्थल वरिपरिका सहरहरूमा पूर्वाधार विकास गर्न प्रयोग गरिने छ । समूहले कुल ६ खर्ब रुपैयाँ खर्च गर्ने योजना बनाएको छ । यद्यपि, न्यु मुम्बई एयरपोर्टको पहिलो चरणका लागि पहिले नै विनियोजन गरिएको १८ खर्ब रुपैयाँ योबाट अलग छ । यो विमानस्थल मार्च २०२५ सम्ममा सञ्चालनमा आउने अपेक्षा गरिएको छ । अडानी एयरपोर्ट होल्डिङ्स लिमिटेड (एएएचएल) का प्रमुख कार्यकारी अधिकृत अरुण बंशलले कम्पनीले आफ्नो नाफाबाट यो परियोजना सम्पन्न गर्ने बताए । लखनऊ एयरपोर्टको नयाँ टर्मिनलको प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेपछि भारतीय सञ्चारकर्मीसँग कुरा गर्दै अरुण बंशलले भने, ‘यो ठूलो रकम हो, तर अडानी इन्टरप्राइजेज लिमिटेड (एईएल) ले आफ्नो नाफाबाट यसलाई पूरा गर्न मद्दत गर्नेछ । हामी अझै प्रारम्भिक चरणमा छौं र अदानी इन्टरप्राइजेज लिमिटेड हाम्रो मूल कम्पनी हो, त्यसले नै फन्डिङ गर्ने छ ।’ हाल देशका ६ विमानस्थल अडानी समूहको व्यवस्थापनमा छन् । ती विमानस्थलमा लखनऊ, अहमदाबाद, जयपुर, गुवाहाटी, तिरुवनन्थपुरम र मंगलुरु पर्छन् । सन् २०२१ मा जीवेके ग्रुपबाट मुम्बई एयरपोर्ट लिएर न्यु मुम्बई एयरपोर्ट खरिद गरेपछि यो संख्या बढेर सात पुगेको छ । सन् २०४० सम्ममा विमानस्थलको यात्रु क्षमता २५ देखि ३० करोड हुने अनुमान छ । एजेन्सी

मेलाबाट भएको आम्दानीबाट पर्यटकीय पूर्वाधार निर्माण

म्याग्दी । मेला सञ्चालन गरेर भएको आम्दानी, दाताको सहयोग र श्रमदान जुटाएर म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिममा पर्यटकीय पूर्वाधार निर्माण भएको छ । मच्छिमको भूमे युवा क्लबले गत वर्ष श्रीपञ्चमी पर्वका अवसरमा आयोजना गरेको मेलाबाट भएको आम्दानीले मच्छिमको डाँडामा पर्यटकीय पूर्वाधार निर्माण गरेको हो । क्लबका पूर्वअध्यक्ष मिलन छन्त्याल (शेरबहादुर) ले मच्छिमको डाँडामा दृश्यावलोकनस्थल, सार्वजनिक शौचालय र प्रतिक्षालय निर्माण गरिएको जानकारी दिए । ‘मेला सञ्चालन गरेर भएको आम्दानी, दाताको सहयोग र श्रमदान जुटाएर मच्छिम भ्यू स्टेशनमा पूर्वाधार बनाएका हौँ,’ उनले भने, ‘पूर्वाधार निर्माणमा श्रमदानबाहेक करिब रु नौ लाख खर्च भएको छ ।’ मच्छिमको दृश्यावलोकनस्थलबाट मच्छिम र छिमेकी गाउँ, नागबेली परेर बगेको म्याग्दी नदी, धवलागिरि, गुर्जालगायत हिमालको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । त्यहाँ जानकारी र सूचनामूलक बोर्ड राखिएको छ । गर्मीमा शीतल र चिसोमा घाम ताप्दै दृश्यावलोकन गर्न सकिने भएको छ । पानी पर्दा, हावाहुरी चल्दा प्रतिक्षालयमा आश्रय लिन सकिन्छ । यसैगरी शवदाहस्थल बनाएको, खेलमैदान र खानेपानी आयोजना मर्मत गरिएको छन्त्यालले जानकारी दिए । हेम नमूना आवासीय मावि, काफलडाँडा, मच्छिमको भूमे आधारभूत, फलियागाउँको धनजनता माविलाई शैक्षिक सामग्री सहयोग गरिएको छ । गाउँका विपन्नलाई दाल, चामल सहयोग गरिएको छन्त्यालले बताए । युवाहरूलाई फुर्सदको समयमा सामाजिक काम र खेलकुद गतिविधिमा सहभागी गराउँदै आएको छ । मच्छिम गाउँमा एक सय २० घरधुरीको बसोबास छ । अल्पसङ्ख्यक छन्त्याल, दलित, थकाली, क्षत्री र मगर समुदायको बसोबास रहेको छ । गाउँपालिकाको केन्द्र मुना जोड्ने मूल सडकमा पर्ने मच्छिमगाउँ ‘गुरिल्ला’ पदमार्गमा पर्छ ।