विकासन्युज

कृषि विकास बैंकको १७औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । कृषि विकास बैंकको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा १७औं वार्षिक साधारण सभा सम्पन्न भएको प्रवक्ता हिमलाल पौडेलले जानकारी दिए । बैंकको वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७९÷८० को सञ्चालक समिति र लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित गरेको छ । साथै, आर्थिक वर्ष २०८०÷८१ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको पौडेलले बताए । यस्तै, बैंकको सहायक कम्पनीहरू कोष व्यवस्थापन कम्पनी तथा गोबर ग्यास कम्पनीको गत आवको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गरेको छ । बैंकले २८२ वटा शाखामार्फत देशैभर आधुनिक बैकिङ्ग सेवा पु्रयाइरहेको छ । वाणिज्य बैंकहरूमध्ये कृषिमा सबैभन्दा बढी लगानी कृषि विकास बैंकले गरेको बैंकको दाबी छ । साधारण सभामा संचालक समितिका सदस्य महेश आचार्य, डा.राजेन्द्र प्रसाद मिश्र, गोविन्द प्रसाद भट्टराई, संजिव पौडेल, विनोद कुमार गुरागाँई र रीता सुवेदीको उपस्थिती थियो भने साधरण सभा संचालन कम्पनी सचिव समते रहेका प्रवक्ता पौडेलले गरेका थिए ।

सेबोनको अध्यक्ष बन्न चापागाईंसहित १९ जनाको आवेदन

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष बन्नका लागि १९ जनाले आवेदन दिएका छन् । बुधबार अन्तिम दिनसम्म तत्कालिन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंसहित १९ जनाले आवेदन दिएका हुन् । आवेदन दिनेमा धितोपत्र बोर्डका निमित्त प्रमुख डा. नवराज अधिकारी, कार्यकारी निर्देशक कृष्णराज पोख्रेल, कार्यकारी निर्देशन मुक्तिनाथ श्रेष्ठ रहेका छन् । यस्तै, नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण बहादुर कार्की, नेपाल बैंकका पूर्व सीईओ कृष्ण बहादुर अधिकारी, राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट, बोर्डका पूर्व कार्यकारी निर्देशक नीरज गिरी, डा।केशब प्रसाद श्रेष्ठ, मुक्ति अर्याल, नेप्सेका पूर्व सीईओ सिताराम थपलिया, बिमल तिवारि, प्रविण पन्दाक, रघु काफ्ले लगायतले आवेदन दिइएका हुन् । सन्तोष नारायण श्रेष्ठ, सुर्य प्रसाद अधिकारी, रामदेव यादव, राम कृष्ण खतिवडा र खगेन्द्र कटुवालले पनि धितोपत्र बोर्डको अध्यक्ष बन्न आवेदन दिएका छन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला सदस्य रहेको सिफारिस समिति छ । यस समितिले आवेदन दिएकामध्ये ५ जनाको नाम सर्ट लिष्ट गर्नेछ । ५ जनाको प्रस्तुती र अन्तवार्तापछि ३ जनाको नाम मन्त्रीपरिषदमा सिफारिस गर्नेछ । गत फागुन १६ गते धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको थियो ।

बैंकहरूको नाफा साढे ३५ अर्ब, नबिलसँग प्रतिस्पर्धा गर्दै राष्ट्रिय वाणिज्य बैंक

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को ७ महिनामा वाणिज्य बैंकहरूले साढे ३५ अर्ब रुपैयाँ बराबरको नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार माघसम्म २० वटा वाणिज्य बैंकहरूले ३५ अर्ब ४९ करोड २४ लाख रुपैयाँ बराबर खुद नाफा गरेका हुन् । समीक्षा अवधिमा सबैभन्दा धेरै नाफा नबिल बैंकले झण्डै ४ अर्ब गरेको छ । यस बैंकले ७ महिनामा ३ अर्ब ९८ करोड ६५ लाख रुपैयाँ नाफा गरेको हो । यस्तै, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ६८ करोड ३० लाख रुपैयाँ नाफा गरेर दोस्रो स्थानमा छ । ग्लोबल आइएमई बैंकले २ अर्ब ६८ करोड २९ लाख रुपैयाँ, प्राइम बैंकले २ अर्ब ५४ करोड ६९ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ३८ करोड रुपैयाँ, एनआईसी एशिया बैंकले २ अर्ब १४ करोड ३० लाख रुपैयाँ नाफा गरेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । यस्तै, एभरेष्ट बैंकले १ अर्ब ९८ करोड ९९ लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ९४ करोड १७ लाख रुपैयाँ, हिमालयन बैंकले १ अर्ब ८३ करोड ७४ लाख रुपैयाँ, एनएमबि बैंकले १ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ५७ करोड ३३ लाख रुपैयाँ नाफा गरेका हुन् । सिद्धार्थ बैंकले १ अर्ब ४१ करोड ८३ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १ अर्ब ४० करोड ८७ लाख रुपैयाँ, सानिमा बैंकले १ अर्ब ४० करोड १२ लाख रुपैयाँ, कुमारी बैंकले १ अर्ब १२ करोड १९ लाख रुपैयाँ नाफा गरेका हुन् । राष्ट्र बैंकको तथ्याङ्क अनुसार सिटिजन्स बैंकले ९९ करोड ७८ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ९८ करोड ४ लाख रुपैयाँ, नेपाल बैंकले ९५ करोड ९१ लाख रुपैयाँ, प्रभु बैंकले ९२ करोड ७६ लाख रुपैयाँ र नेपाल एसबिआई बैंकले ८५ करोड २४ लाख रुपैयाँ नाफा गरेका छन् ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ११ प्रतिशत लाभांश पारित, सञ्चालकमा ६ जना चयन

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सञ्चालकमा ६ जना सञ्चालक चयन भएका छन् । बुधबार सम्पन्न ३०औं वार्षिक साधारण सभाबाट कम्पनीको सञ्चालकमा ६ जना र्निविरोध निर्वाचित भएका हुन् । कम्पनीका अनुसार संस्थापक सेयरधनीहरूको प्रतिनिधित्व गर्दै सुरेश लाल श्रेष्ठ, पवन कुमार अग्रवाल, राहुल अग्रवाल, राजन कृष्ण श्रेष्ठ सञ्चालकमा निर्वाचित भएका हुन् । यस्तै, सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सुमित कुमार केडिया र प्रभु कृष्ण श्रेष्ठ निर्वाचित भएका हुन् । सञ्चालकमा चयन भएकाहरू आगामी ४ वर्षसम्म सो पदमा कायम रहने छन् । साथै, कम्पनीको साधारण सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरूलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षसुरेश लाल श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरेका थिए ।

महासंघ अध्यक्ष ढकालको युएई र मंगोलियाका राजदूतसँग भेट, नेपालमा लगानी गर्न आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स र मंगोलियाका राजदूतसँग भेटवार्ता गरेका छन् । बुधबार युएईका राजदूत अब्दुल्ला अल शम्सी र नेपालका लागि मान्यता प्राप्त भारतका लागि मंगोलियाका राजदूत गानबोल्ड डम्बाजाभसँग भएको उक्त भेटवार्तामा अध्यक्ष ढकालले नेपालमा लगानी प्रवर्धन गर्न आग्रह गरे । उनीहरूबीच नेपाल र यी दुई राष्ट्रबीचको द्विपक्षीय व्यापार र लगानी सम्बन्धलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो । यही वैशाख २८ र २९ गते काठमाडौंमा आयोजना हुने नेपाल लगानी सम्मेलनमा सहभागी हुन सम्बन्धित देशलाई अध्यक्ष ढकालले आग्रह गरे । युएईका राजदूतसँगको भेटमा अध्यक्ष ढकालले दुवै देशका दूतावासको सहयोगमा नोभेम्बरमा दुबईमा आयोजना भएको नेपाल दुबई बिजनेस समिटको सफलताको लागि धन्यवाद दिए । उनले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको पनि राजदूतलाई जानकारी गराए । भेटमा राजदूत अब्दुल्ला अल शम्सीले नेपाल र युएईबीच द्विपक्षीय लगानी सम्झौता को सम्भावनाका बारेमा पनि कुरा राखे । त्यसैगरी मंगोलियाका राजदूतसँगको भेटमा अध्यक्ष ढकालले आपसी व्यापार र लगानीका अवसरका विषयमा कुराकानी गरेका थिए । अध्यक्ष ढकालले नेपालमा जलविद्युत र पर्यटन क्षेत्रमा लगानीका सम्भावनाका बारेमा जानकारी गराए । उनले नेपालको बाह्य क्षेत्रको स्थिरताबारे पनि राजदूतलाई अवगत गराए ।

बीमा कम्पनीहरूले तोकिएको सीमाभन्दा बाहिर गएर सर्भे गरे कारबाही हुने

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा सर्भेयरले जुन क्षेत्रमा विज्ञता छ, सोही क्षेत्रमा काम गर्नुपर्ने र सर्भे प्रतिवेदनको ढाँचा एउटै हुनुपर्ने बताएका छन् । बुधबार प्राधिकरणद्वारा वीरगञ्जमा मधेश प्रदेशमा रहेका बीमा सर्भेयरहरूसँग समसामयिक विषयमा आयोजित अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बीमा कम्पनीहरूले स्थानअनुसार बीमा सर्भेयरको सूची बनाउनुपर्ने र सर्भेका लागि सोही स्थानका सर्भेयरलाई खटाउनुपर्ने बताए । ‘बीमा सर्भेयर संघले बीमा सर्भेयरको आचारसंहिता बनाउनुपर्छ, सर्भेयरले समयमैं प्रतिवेदन बुझाउनुपर्छ, दुई तीन वर्षसम्म पनि प्रतिवेदन नबुझाउने सर्भेयरलाई कारबाही हुन्छ,’ अध्यक्ष सिलवालले भने । अध्यक्ष सिलवालले बीमा कम्पनीहरूले तोकिएको सीमाभन्दा बाहिर गएर सर्भे गर्न नपाउने स्पष्ट पारे । कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै प्राधिकरणका निर्देशक दिनेशकुमार लालले बीमा सर्भेयरको इजाजतपत्र नपाएकाहरूले सर्भेयरको काम गरेमा कारबाही हुने बताए । कार्यक्रममा सहभागी बीमा सर्भेयरहरूले मधेश प्रदेशमा कति सर्भेयर छन् भन्ने थाहा नभएको, इजाजतपत्र लिएको दुई वर्षसम्म पनि बीमा कम्पनीहरूले काम नदिएको, सर्भेयरको वर्गीकरणबाट पुराना सर्भेयरलाई मर्का पर्ने अवस्था रहेको, कम्पनीहरूमा सर्भेयरको सूचीकरणमा एकरूपता नभएको, कम्पनी आफैले र इजाजतपत्र नलिएकाहरूले पनि सर्भेयरको काम गर्ने गरेको लगायतका धारणा राखेका थिए । कार्यक्रममा मधेश प्रदेशमा रहेका बीमा सर्भेयरहरूको सहभागिता रहेको थियो ।

टेलिकमको नाफा ८१ प्रतिशतले घट्यो, २ करोड ग्राहक घट्दा ४ कम्पनी बन्द

काठमाडौं । विश्वमा नै अत्यधिक नाफामुलक मानिएको सूचना प्रविधिमा आधारित सेवा क्षेत्र नेपालमा भने धराशायी भएको छ । ६ वर्षमा टेलिकम क्षेत्रमा ४२ प्रतिशतले ग्राहक घटेका छन् । नाफा ८१ प्रतिशतले घटेको छ । ६ मध्ये ४ वटा अर्थात ६६ प्रतिशत टेलिकम कम्पनीहरू बन्द भएका छन् । २०६० सालसम्म दुरसञ्चार क्षेत्रमा काम गर्ने नेपाल टेलिकम एकमात्र कम्पनी थियो । २०७० सालसम्ममा एनसेल, यूटिएल, स्मार्टसेल, हेलो नेपाल र सीजी टेलिकम सञ्चालमा आए । २०८० सम्म पुग्दा यूटिएल, स्मार्टसेल, हेलो नेपाल र सीजी टेलिकम बन्द भए । २०६० को दशकमा जसरी दुरसञ्चार क्षेत्र चम्कियो, २०७० को दशकमा त्यसरी नै निभ्दै गएको छ । अब नेपाल टेलिकम र एनसेलमात्र बाँकी छन् । एक दशकमा ६ गुणा कम्पनी थपिए । अर्को दशकमा ६६.६६ प्रतिशत कम्पनी बन्द भए । एनसेल र यूटिलले सेवा दिनुअघि सिम किन्न वा एक सेट टेलिफोन लिन कि मन्त्रीस्तरीय पावर लगाउनुपर्थ्याे, कि घुस खुवाउनुपर्थ्याे, कि महिनौ कुर्नुपर्थ्याे । धेरै कम्पनी आइसकेपछि २०७० दशकमा उपभोक्ताले राम्रो सुविधा पाए । सिम किन्दा १०० रुपैयाँ बोनस पनि पाए । कल मोबाइलमा पैसा छैन भन्नु परेन, सेवा प्रदायकले तत्काल ऋण सापटीको सुविधा पनि दिए । भैंसी किन्दा पाडो सित्तैमा भनेजस्तै टेलिकम कम्पनीहरूले ग्राहकलाई भ्वाइस प्याक किन्दा डाटा प्याक सित्तैमा पनि दिए । नेपाल दुरसञ्चार प्राधिकरणका अनुसार २०७६ साल पुस मसान्तमा सबै कम्पनीका मोबाइल, सिडिएमए वा ल्याण्डलाइन गरी सबै प्रकारका ग्राहकको कुल संख्या ४ करोड ४० लाख ६० हजार ६८० पुगेको थियो । २०८० असोज मसान्तमा सबै कम्पनीको सक्रिय कुल ग्राहक संख्या २ करोड ५२ लाख २२ हजार ३४३ मा झरेको छ । चार वर्षमा टेलिकमका ग्राहक संख्या १ करोड ८८ लाख ३८ हजार ३३७ अर्थात ४२ दशमलव ७५ प्रतिशतले कम भएको छ । कम्पनीको संख्या र ग्राहकको संख्या जसरी घट्दै गएको छ त्यसरी नै टेलिकम क्षेत्रको आम्दानी, नाफा र यस क्षेत्रले सरकारलाई बुझाउने कर पनि घट्दै गएको छ । आर्थिक वर्ष २०७३/७४ मा नेपाल टेलिकम र एनसेलको कुल ९७ अर्ब ३० करोड रुपैयाँ मूल्यको सेवा बेचेका थिए । आर्थिक वर्ष २०७९/८० मा ७३ अर्ब १४ करोड रुपैयाँ मूल्यको सेवा बेचे । ६ वर्षको अवधिमा दुई कम्पनीको व्यापार २४ अर्ब १६ करोड रुपैयाँले कम भयो । अबको ५ वर्षमा यस्तो व्यापार थप १६ अर्बले घटेर ५६ अर्बमा सीमित हुने प्रक्षेपण गरिएको छ । आर्थिक वर्ष २०७३/७४ मा दुई कम्पनीले सरकारलाई १० अर्ब ८८ करोड राजस्व बुझाएका थिए । आर्थिक वर्ष २०७९/८० मा ५ अर्ब ८३ करोड रुपैयाँमात्र बुझाएका छन् । ६ वर्षअघि दुई कम्पनीको करपछिको नाफा २९ अर्ब ६४ करोड थियो । गत आर्थिक वर्ष दुई कम्पनीले ५ अर्ब ५६ करोड रुपैयाँमात्र कमाए । ६ वर्षपछि २ कम्पनीको नाफा २४ अर्ब ७ करोड अर्थात ८१ प्रतिशतले घटेको छ । लगानीको प्रतिफल ६ वर्षअघि ३० प्रतिशत रहेको थियो । गत वर्ष ८ प्रतिशतमा झरेको छ र आगामी पाँच वर्षपछि यस्तो प्रतिफल ४ प्रतिशतमा झर्ने प्रक्षेपण गरिएको छ । खस्कदै गुणस्तर पछिल्लो समय मोबाइल कलमा समस्या बढ्दै गएको छ । फोन सम्पर्क हुन नसक्ने, कुरा गर्दागर्दै काटिने, नेटवर्क नटिप्ने समस्या एकातिर छ भने अर्कोतिर मोबाइल अर्थात इन्टरनेट सेवा पनि ज्यादै कमजोर हुँदै गएको छ । वेब नै नखुल्ने वा ढिला खुल्ने, भिडियो रोकिने समस्या बढ्दै गएको छ । सबै उपभोक्ताले यस्तो अनुभव गरेका छन् । सम्बद्ध जानकारहरूका अनुसार टेलिकम कम्पनीले सूचना प्रविधिका आधुनिक उपकरणहरूमा लगानी घटाउँदा उनीहरूको सेवाको गुणस्तर पनि खस्किएको छ । नेपाल टेलिकम र एनसेलले दुरसञ्चार प्राधिकरणलाई बुझाएको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७३/७४ मा पूर्वाधार विकास (प्राविधिक सामान खरिद र जडान) मा ५९ अर्ब ६७ करोड रुपैयाँ लगानी गरेका थिए । यस्तो लगानी कम्पनीहरूले घटाउँदै लगेका छन् । आर्थिक वर्ष २०७९/८० मा ती दुई कम्पनीले पूर्वाधार विकासमा जम्मा ३५ अर्ब ३१ करोड लगानी गरेका छन् । कम्पनीहरूले नाफा घट्दै गएपछि टेलिकम पूर्वाधार स्तरवृद्धिमा लगानी घटाउँदै गएको र त्यसले मोबाइल सेवाको गुणस्तर खस्किदै गएको जानकारहरू बताउँछन् । नीतिगत अस्थीरता र असमानता सरकारको नीतिगत अस्थीरता र असमानपूर्ण नीतिको प्रभावले टेलिकम कम्पनीहरू रुग्ण बन्दै गएका यसका सञ्चालकहरूको बुझाई छ । इन्टरनेट सेवा प्रदायकहरूलाई सरकारले संरक्षण गरेको तर टेलिकम कम्पनीहरूलाई अतिरिक्त कर लगाएर निरुत्साहित गरेको उनीहरूको आराेप छ । विगत ६ वर्षमा भएको नीतिगत परिवर्तनको असरले वार्षिक १३ अर्ब रुपैयाँ टेलिकम कम्पनीहरूको आम्दानी गुमेको सञ्चालकहरूको दाबी छ । सरकारले टिककट बन्द गराउँदामात्र टेलिकम क्षेत्रले वार्षिक १ अर्ब ४४ करोड रुपैयाँ आम्दानी गुमाएको उनीहरूको दाबी छ । अडियो तथा भिडियो कल गर्न म्यासेन्जर, भाइबर, ह्वाटस्एपजस्ता एपहरूको बढ्दो प्रयोगले टेलिकम कम्पनीहरूको व्यापार उल्लेख्यरूपमा घट्दै गएको छ । स्पेक्ट्रम (फ्रिक्वन्सी)को स्तरवृद्धिमा सरकारले काम नगरेको, भएको फ्रिक्वन्सी पनि पूर्णरूपमा उपभोगमा नआएकाले पनि टेलिकम कम्पनीहरूको सेवा स्तरवृद्धि तथा विस्तारमा समस्या हुन गएको देखिएको छ । सरकारले अनुकूल वातावरण नबनाइदिने, लगानीकर्ताले थप लगानी नगर्ने र प्रविधिमा स्तरवृद्धि नहुने हो भने भविष्यमा नेपालको टेलिकम क्षेत्र गुणस्तरहीन बन्ने विश्लेषण हुन थालेको छ । यसले उपभोक्तामा आक्रोश र वितृष्णा त जन्माउने नै छ, समाज र अर्थतन्त्रमा बहुआयामित नकारात्मक असर पार्ने विश्लेषण हुन थालेको छ । आधुनिक अर्थतन्त्रमा टेलिकम्यूनिकेसन क्षेत्र अत्यान्तै महत्वपूर्ण पूर्वाधार हो भन्ने तथ्यलाई बुझेर सरोकारवालाहरूले तत्काल आवश्यक निर्णय लिनुपर्ने जानकारहरू बताउँछन् ।

राष्ट्रपतिद्वारा राजदूतलाई शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले क्यानडाका लागि नेपालका आवासीय राजदूत भरतराज पौडेललाई राजदूत पदको पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालय, महाराजगञ्जमा आज आयोजित समारोहमा नवनियुक्त राजदूत पौडेललाई शपथ गराइएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको विज्ञप्तिमा उल्लेख छ ।