सामुदायिक विद्यालयमा भर्ना हुने छात्राको खातामा एक हजार
तनहुँ । आँबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयमा भर्ना हुने छात्राको बैंक खाता खोलिदिने भएको छ । आगामी शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमा भर्ना हुने सबै छात्राका नाममा गाउँपालिकाले न्यूनतम १ हजार मौज्दात भएको बैंक खाता खोल्न लागेको हो । सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण गर्दै गुणस्तर शिक्षाका लागि गाउँपालिकाले यस किसिमको अभियान अघि बढाएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । गाउँपालिकाले सामुदायिक विद्यालयमा छात्राको आकर्षण बढाउनका लागि छात्रा बचत खाता सञ्चालन कार्यक्रम ल्याउन लागिएको गाउँपालिका अध्यक्ष चुमानले जानकारी दिए । ‘शैक्षिक सत्र २०८१ बाट गाउँपालिकाले यो कार्यक्रम लागू गरिनेछ,’ उनले भने, ‘विशेष गरेर छात्राहरुको वर्तमान र भविष्यका लागि सहयोग पुर्याउने लक्ष्यअनुरूप यस किसिमको योजना ल्याइएको हो ।’ उक्त कार्यक्रमले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्नाका साथै छात्रामा सानैदेखि बचत गर्ने बानीको समेत विकास हुने विश्वास लिइएको उनले बताए । विद्यालयमा सञ्चालित शिक्षासँग उत्पादन कार्यक्रमबाट विद्यार्थीले गरेको आम्दानीलाई बचतमा जोड्ने लक्ष्य राखिएको छ । कार्यक्रमका लागि सुरुआती चरणमा करिब २५ लाख रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा ३५ सामुदायिक विद्यालय छन् । उक्त विद्यालयमा करिब दुई हजार बढी छात्रा अध्ययन छन् । यसैगरी, गाउँपालिकाभित्र कार्यरत सम्पूर्ण शिक्षक र विद्यालय कर्मचारीका आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा अनिवार्य पढाउने निर्णय गरेको छ । सामुदायिक विद्यालयका प्रधानाध्यापकको हालै बसेको बैठकले सामुदायिक विद्यालयको शिक्षा सुधारको अभियानमा साथ दिन सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गर्नुपर्ने निर्णय गरिएको हो । गाउँपालिकाका अनुसार आगामी शैक्षिक सत्रदेखि आफ्ना सन्तानलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा अध्ययन गराउनुपर्ने निर्णय गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक सुधारअन्तर्गत गाउँपालिकाका सबै जनप्रतिनिधिका छोराछोरी अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गरिएकामा यस वर्ष सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई अनिवार्य भर्ना गर्नुपर्ने निर्णय गरिएको हो । सामुदायिक विद्यालयमा लगानी गरे अनुरूपको प्रतिफल प्राप्त नभएकाले सुधारका लागि दबाब दिने उद्देश्यअनुरूप सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरिएको अध्यक्ष चुमानले बताए । शैक्षिक गुणस्तर वृद्धि गर्न र सामुदायिक विद्यालयप्रतिको जनविश्वास जगाउनका यस निर्णयले थप सहयोग पुग्ने विश्वास गरिएको उनले जानकारी दिए । गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुुणस्तर वृद्विका लागि जनप्रतिनिधि, कर्मचारी, शिक्षकलगायत छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्ने, विद्यालयमा गाडीको व्यवस्था, सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकको स्वास्थ्य बीमा, कर छुटका काम गर्दै आएको छ ।
दुई करोडमा ठमेलका सडक कालोपत्र
काठमाडौं । काठमाडौं महानगरपालिकाले दुई करोड ५० लाख रुपैयाँ लागतमा ठमेल क्षेत्रभित्रको सडक कालोपत्र गरेको छ । महानगरपालिको सहयोगमा कामपा–२६ ले ठमेल क्षेत्रको अमृत मार्ग, पर्यटन मार्ग, वैशाली मार्ग र भगवती मार्गका सडक कालोपत्र गरेको हो । मुलुकको सङ्घीय राजधानी काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेलका सडक कालोपत्र भएसँगै वसन्त ऋतुमा नेपाल घुम्न आएका विदेशी पर्यटकलाई समेत हिँड्डुलमा सहज भएको छ । वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले सुन्दर र समृद्ध ठमेल निर्माण गर्ने उद्देश्यका साथ महानगरपालिकाले ठमेल क्षेत्रभित्रका सडकमा कालोपत्र गर्ने काम सुरु गरेको जानकारी दिए । ‘ढल खन्दा र बिजुलीको तार ‘अन्डरग्राउन्ड’ गर्दा बाटो खनिएको हो, हामीले उक्त बाटोलाई पुरेर कालोपत्र गरेका छौँ’, उनले भने । पछिल्लो समय ठमेल क्षेत्रलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि ठमेल पर्यटन विकास परिषद् लागिरहेको छ । परिषद्ले विभिन्न निकायको सहकार्यमा ठमेलभित्र अव्यवस्थित रुपमा रहेका बिजुली तथा इन्टरनेटका तार हटाउने, ढललाई व्यवस्थित गर्ने, सिसी क्यामरा जडान गर्नेलगायतका काम गर्दै आएको परिषद्का अध्यक्ष भविश्वर शर्माले जानकारी दिए । ठमेलभित्र हाल दुई हजारभन्दा बढी घरधनी तथा व्यवसायी आबद्ध रहेका छन् ।
जापानी अन्तरिक्ष रकेट प्रक्षेपणको केही सेकेन्डमै विस्फोट
जापान । जापानी कम्पनीले बनाएको रकेटले स्याटेलाइटलाई कक्षमा स्थापित गर्ने प्रयास असफल भएपछि प्रक्षेपणको केही सेकेन्डमै विस्फोट भएको छ । टोकियोस्थित स्पेस वानको १८ मिटर (६० फिट) अग्लो काइरोस रकेट पश्चिमी जापानको तटीय वाकायामा क्षेत्रमा प्रक्षेपण गरिएको करिब पाँच सेकेन्डपछि इन्धनमा आगो सल्किएपछि विस्फोट भएको हो । विस्फोट हुनु पहिले सुदूर पहाडी क्षेत्रमा सेतो धुवाँ निस्किएको थियो । उक्त रकेट केही सेकेन्ड भित्रमा नैै विस्फोट भई जमिनमा भीषण ज्वालासहित खसेको थियो । ‘पहिलो काइरोस रकेटको प्रक्षेपण गरिएको थियो, तर प्रक्षेपणपछि प्रविधिक समस्या देखिएपछि यसलाई रद्द गरिएको छ’, स्पेस वानद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, ‘विस्तृत अनुसन्धान भइरहेको छ ।’ नजिकैको नदी किनारलगायत सार्वजनिक दृश्यावलोकन स्थलहरूमा भेला भएका सयौं युवा र वृद्ध दर्शकहरूले देखेका नाटकीय दृश्यहरूमा रकेटको पानी छर्किन प्रयोग गरिने यन्त्र (स्प्रिङ्कलर) ले पानी छ्याप्न थालेपछि जलिरहेको भग्नावशेष जमिनमा खसेको थियो । एक वृद्ध व्यक्तिले सार्वजनिक प्रसारक एनएचकेसँग भने, ‘मैले यो रकेट प्रक्षेपणबाट धेरै आशा गरेको थिएँ, सफलता मिल्न सकेन त्यसैले म निराश छु । के भयो अनुसन्धान भइरहेको बताइएको छ पछि थाहा हुने नै छ ।’ स्पेस वनले स्याटेलाइटलाई कक्षमा स्थापित गर्ने राष्ट्रको पहिलो निजी फर्म बन्ने आशा गरेको छ र यो आशा काइरोसबाट गरिएको थियो । प्राचीन ग्रीक भाषा अनुसार काइरोसको अर्थ ‘सही क्षण’ हो । उडानको लगभग ५१ मिनेटपछि उक्त सही क्षण आउने अपेक्षा कम्पनी र अन्तरिक्षविद्हरूले गरेका थिए । पार्टपुर्जाको अभाव र अन्य समस्याका कारण स्पेस वानले बुधबारको प्रयासअघि कैरोसको प्रक्षेपण पाँच पटक स्थगित गरेको थियो । रासस
रानीतलाउको पूर्वाधार निमार्णसँगै स्तरोन्नति गरिँदै
खजुरा । आन्तरिक पर्यटकको बसिबियाँलो र रमाइलो गर्ने थलो नेपालगञ्जस्थित रानीतलाउ उद्यानको थप पूर्वाधार निर्माण र सेवा सुविधा विस्तारको कार्य प्रारम्भ भएको छ । लुम्बिनी प्रदेश सरकार पर्यटन डिभिजन कार्यालय बाँकेले रकम विनियोजन गरी निमार्णको काम सुरु गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्यमा उक्त उद्यानको भौतिक पूर्वाधार निर्माण र सेवा तथा सुविधा विस्तारका लागि ४० लाख बजेट विनियोजन गरिएको नगरप्रमुख प्रशान्त विष्टले जानकारी दिए । करिब साढे दुई दशक बन्दको अवस्थाबाट पुनः जीवन पाएको ऐतिहासिक रानीतलाउलाई लुम्बिनी प्रदेश सरकार र उपमहानगरपालिकाले आफ्नो प्राथमिकतामा राखेका छन् । तत्कालीन नगर प्रमुख डा धवलशम्शेर राणाले पाँच वर्षअघि जीर्णोद्धार गरी सञ्चालनमा ल्याएको ऐतिहासिक पृष्ठभूमिको रानीतलाउ उद्यानप्रति अहिलेका प्रमुख विष्टले पनि उत्तिकै महत्व दिएका छन् । नेपालगञ्ज भूगोलको मध्य भागमा अवस्थित यो उद्यानमा मूलतः त्यहाँ रहेको नौकाविहारले सबैलाई आकर्षित गरेको छ । उद्यानमा रमणीय बगैँचा, बालबालिकाका लागि पिङ, चिप्लेटी, चमेनागृह लगायतको व्यवस्था गरिएको छ । वडा नं ८ स्थित गोलाकार आकारको रानीतलाउ पर्यटन विकासमा कोसेढुङ्गा साबित हुँदै गएको छ । पछिल्लो समय रानीतलाउ उद्यानमा भारतीय पर्यटक आउन थालेका छन् । रानीतलाउलाई अहिले ठेक्कामा सञ्चालन गरिएको नगर प्रमुख विष्टले बताए । ‘उपमहानगरपालिकामा जनप्रतिनिधि भएर आएपछि मैले ऐतिहासिक रानीतलाउलाई पर्यटकीय क्षेत्रका रुपमा विस्तार गर्दै लैजान कुनै कसर बाँकी राखेको छैन’, विष्टले भने । रासस
गण्डकीमा ८५ पुल बने, ५३ निर्माणाधीन
गण्डकी । गण्डकी प्रदेश सरकारको लगानीमा पछिल्लो ६ वर्षमा ८५ पक्की पुल बनेका छन् । सडक पुल कार्यक्रमअन्तर्गत पुल निर्माण भइरहेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलका अनुसार प्रदेशभर ५३ पुल निर्माणाधीन अवस्थामा छन् । थप २३ पुलको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयारीको प्रक्रियामा रहेको उनले जानकारी दिए । ‘प्रदेश सरकार स्थापना भएयता ८५ पुल बनिसके, सम्झौता भएकामध्ये केही पुल निर्माणको अन्तिम चरणमा छन्,’ प्रवक्ता पौडेलले भने, ‘सडक सँगसँगै पुल निर्माणलाई मन्त्रालयले प्राथमिकता दिएको छ ।’ सडकको पहुँच पुगे पनि समयमा पुल निर्माण नहुँदा वर्षायाममा ग्रामीण भेगको यातायात सेवा प्रभावित हुँदै आएको थियो । पुल निर्माणले गति लिन थालेपछि प्रदेशस्तरका सडकमा बाह्रैमास यातायात सञ्चालनका लागि सहजता थपिँदै गएको प्रवक्ता पौडेलले बताए । पुलको ठेक्का लिएर समयमा काम नगर्ने निर्माण कम्पनीलाई सचेत गराइएको उनको भनाइ छ । प्रदेशको पूर्वाधार विकास निर्देशनालयका निमित्त प्रमुख डा. महेन्द्रबहादुर बानियाँले ३५ पुल बहुवर्षीय आयोजनामा समेटिएको जानकारी दिए । पुलका लागि चालु आवमा ३४ करोड १५ लाख रुपैयाँ विनियोजन गरिएको उनको भनाइ छ । ‘पैँतीस बहुवर्षीय योजनाका पुलका लागि १ अर्ब ९४ करोड ४७ हजार रुपयाँको स्रोत सुनिश्चित भएको छ,’ डा बानियाँले भने, ‘जिल्लास्थित पूर्वाधार कार्यालयमार्फत योजना कार्यान्वयन हुन्छ ।’ उनका अनुसार बहुवर्षीय आयोजनाअन्तर्गत चालु आवमा कास्कीमा तीन, स्याङ्जा, तनहुँ, लमजुङ र बागलुङमा पाँच÷पाँच, गोरखामा चार, नवलपुर, पर्वत, म्याग्दी र नवलपुरमा दुई/दुई र मनाङमा एक पुल निर्माण भइरहेको छ । यस वर्ष बहुवर्षीयमा गएकासहित कूल ५३ पुल निर्माणाधीन अवस्थामा रहेको निर्देशनालयले जनाएको छ । प्रदेशभित्र सडक, पक्की पुल र झोलुंगे पुल निर्माणको काम पूर्वाधार मन्त्रालयमार्फत हुँदै आएको छ । पछिल्लो छ वर्षयता प्रदेश सरकारको लगानीमा ६३ झोलुंगे पुल भएको मन्त्रालयले जनाएको छ । हाल १० झोलुंगे पुल निर्माणाधीन अवस्थामा रहेका र ५१ झोलुंगे पुल निमार्ण सुरु हुने चरणमा रहेको मन्त्रालयका प्रवक्ता पौडेलले जानकारी दिए । सडकतर्फ एक सय ६२ आयोजना बहुवर्षीय आयोजनाका रुपमा निर्माणाधीन अवस्थामा रहेको उनको भनाइ छ । प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत ३३ सडक आयोजनाको कूल दुई सय ७९ दशमलव ७१ किमी सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता भई कार्यान्वयनमा गइसकेको मन्त्रालयले जनाएको छ । प्रदेश सरकारको गौरवको आयोजनाका रुपमा रहेको स्थानीय तहको केन्द्र जोड्ने सडक निर्माण कार्यक्रमअन्तर्गत ११ सडक आयोजनाको कूल ८९ दशमलव ३७ किमी सडकको स्तरोन्नति भइरहेको प्रवक्ता पौडेलले जानकारी दिए । ‘‘क’ वर्गका १६ प्रादेशिक सडक आयोजनाहरूको एक सय २२ दशमलव ५५ किमी सडक स्तरोन्नति गर्ने कार्य अगाडि बढेको उनको भनाइ छ । गण्डकीमा गत आवसम्ममा ६ सय ७४ दशमलव शून्य ६ किमी पक्की र पाँच सय ६६ दशमलव ८५ कच्ची सडक बनेको मन्त्रालयले जनाएको छ ।
रुसमा विमान दुर्घटना, १५ जनाको मृत्यु
मस्को । द न्युयोर्क पोस्टले रिपोर्ट गरे अनुसार मङ्लबार मस्कोको उत्तरपूर्वी इभानोभो क्षेत्रको कब्रिस्तान नजिकै रूसी सैन्य कार्गो विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । न्युयोर्क पोस्टले रुसको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै उडानपछि विमानको एउटा इन्जिनमा आगो लागेपछि आइएल–७६ विमान जङ्लमा खसेको जनाएको छ । सैन्य कार्गो विमान दुर्घटना हुँदा जहाजमा आठ जना चालक दलका सदस्य र सात यात्रु सहित १५ जना थिए । अझैसम्म यात्रुहरूको परिचय तथा गन्तव्य भने स्पष्ट हुन सकेको छैन । न्युयोर्क पोस्टले टेलिग्राम च्यानल–११२ मा सप्रेषण गरिएको फुटेजमा विमानको एउटा इन्जिनमा आगो लागेको र तीव्र गतिमा उचाइ गुमाएको देखाइएको रिपोर्ट गरेको छ । अनलाइन समाचार माध्यामहरूले दुर्घटनामा पर्ने सबैको मृत्यु भएको रिपोर्ट गरेका छन् । मस्कोको स्थानीय समयअनुसार दिउसो एक बजे एक आइएल–७६ सैन्य यातायात विमान इभानोवो क्षेत्रमा निर्धारित उडानको लागि टेकअफ गर्दा दुर्घटनाग्रस्त भएको राज्यद्वारा सञ्चालित तास समाचार एजेन्सीले उद्धृत गरेको छ । इन्जिनमा आगलागी लागेका कारण दुर्घटनाको भएको मन्त्रालयले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ । ‘सेभर्नी’ शिविरबाट विमानले उडान भरेलगत्तै इन्जिनमा आगो लागेको विज्ञप्तिमा उल्लेख छ । चालकहरूले आपतकालीन अवतरणका लागि एयरफिल्डमा फर्कने प्रयास गरे पनि उनीहरूको उक्त प्रयास सफल नभएको मन्त्रालयले जनाएको छ । टेलिग्राम च्यानल–११२ ले जनाएअनुसार बोगोरोड्स्को गाउँ बाहिरको चिहान नजिकैको जङ्लमा दुर्घटना हुनुअघि जलिरहेको विमानलाई आवासीय क्षेत्रभन्दा बाहिर निकाल्न चालकदल सक्षम भएको थियो । यो दुर्घटना यो वर्षको दोस्रो आईएल– ७६ दुर्घटना हो । सन् २०२४ को जनवरी २४ मा युक्रेनी सशस्त्र बलले ६५ युक्रेनी युद्धबन्दीसहित ७४ जना यात्रु बोकेको विमान खसाल्दा सबैको मृत्यु भएको रूसी समाचार संस्था तासले जनाएको छ । एजेन्सी
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नाडाबीच छलफल
काठमाडौं । सवारी आयातकर्ता तथा बिक्रेता अटोमोबाइल व्यवसायीहरुले २० प्रतिशतको मार्जिन व्यवस्था खारेज गर्न सरकारसँग माग गरेका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का प्रतिनिधिहरुले बुधबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तिर्थराज चिलुवालाई भेटी यस्तो माग गरेका हुन् । सवारी आयातको महँगो भन्सारदर, अन्तःशुल्क, सडक शुल्कसहित २५० देखि ३५० प्रतिशतसम्म कर लाग्ने गरेको तर सवारी आयातदेखि बिक्रेता डिलर कमिसन, कर्मचारी खर्च लगायतको खर्च गरेर जम्मा २० प्रतिशतको मार्जिन (नाफा) मा काम गर्न गाह्रो परेको नाडाका प्रतिनिधि मण्डलले महानिर्देशक चिलुवालाई जानकारी गराए । मुनाफा र छुटका सम्बन्धी व्यवस्थाको उपनियम (ढ) मा उपभोक्तासँग लिने नाफा खण्ड (क) को बढीमा २० प्रतिशत तथा (ण) मा डिलरका लागि छुट सहितको मुनाफा (ढ ) को ३० प्रतिशत भन्ने उल्लेख भए अनुसार यो मुनाफाको समीकरणले अधिकतम खुद्रा मूल्य (एमआरपी) मा कारोबार गर्दा लागत खर्च उठ्न सक्ने प्रश्न नै नभएको नाडाले जनाएको छ । यस्तै, उक्त भेटका क्रममा नाडाले २०८० फागुन २५ गतेको राजपत्रमा प्रकाशित एजेन्सी दर्ता, दस्तुर र धरौटीका सम्बन्धमा समेत विशेष चासो राख्दै नाडाका प्रतिनिधि मण्डलले एजेन्सी दर्ता दस्तुर शीर्षक फर्म वा कम्पनीको पुँजीको आधारमा व्याख्या गरिनु गलत भएको तर्क गरेको छ । एक हजार देखि एक लाख मध्ये एजेन्सी नवीकरण गर्दा पनि सोही दस्तुर लाग्ने हो वा एक पटक मात्र लाग्ने हो व्यवस्थामा प्रष्ट नगरिएको उनीहरुको भनाइ छ । सोही व्यवस्थाको उपनियम (१) मा चुक्ता पूजीको ०.५ प्रतिशत रकम धरौटी शीर्षक बापत बैंक दाखिला गर्नुपर्ने उल्लेख गरिएको छ । यसो गर्दा नगद फ्रिज हून जाने नाडाको तर्क छ । यसले गर्दा कम्पनीको कस्ट अफ डुईङ विजनेश पनि बढ्न जाने उनीहरुको भनाइ छ । कुनै कम्पनीले १० वटा एजेन्सी एउटै कम्पनीमा दर्ता गरेमा कम्पनीको ०.५ प्रतिशतले १० कम्पनीको जोडेर ५ प्रतिशत सम्म दिनु पर्ने हुन्छ । यसले यो नियम व्यवहारिक नभएको नाडाको तर्क छ । प्रतिउत्तरमा विभागका महानिर्देशक चिलुवालले यस विषयमा देखिएका समस्याहरुको समाधानका लागि आफूले आवश्यक पहल गर्ने बताउँदै त्यस सम्बन्धमा थप वर्कआउटगरी दुवै पक्ष बिच पुनः छलफल गर्ने बताए । यसै अवसरमा महानिर्देशक चिलुवाले विभागले कुनै एकपक्षको समस्या नहेरी विभागले उपभोक्ताहरुको अधिकार र व्यवसायीहरुको हित दुबैलाई ख्याल गर्ने समेत बताए । छलफलमा अध्यक्ष करण चौधरीको नेतृत्वमा नाडाका पदाधिकारी तथा व्यवसायीहरुको सहभागिता रहेको थियो ।
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १५७ मत खस्दा विपक्षमा ११०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभाका कूल एक सय ५७ सांसदको मतसहित प्रचण्डले प्रधानमन्त्रीमा तेस्रो पटक विश्वासको मत पाएका हुन् ।प्रतिनिधिसभामा प्रधानमन्त्रीले आफ्नो पक्षमा बहुमत देखाउन कम्तीमा १३८ जनाको समर्थन जुटाउनुपर्थ्यो । बुधबार प्रधानमन्त्रीले विश्वासको मत माग्दा प्रतिनिधिसभाका २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरेका थिए । प्रस्तावको पक्षमा १५७ जनाले मत दिए भने ११० जनाले विपक्षमा मतदान गरे । एक जना भने तटस्थ रहे । प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्तावमा पाएको मत प्रतिनिधिसभाको बहुमत भएकाो भन्दै सभामुख देवराज घिमिरेले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएको घोषणा गरे । उनलाई विश्वासको मत दिन नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीको संसदीय दलले ह्वीप जारी गरेको थियो । केही स्वतन्त्र सांसदले पनि प्रचण्डलाइ मत दिएका छन् । नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलगायतले विपक्षमा मतदान गरे । प्रधानमन्त्री प्रचण्डले बुधबार प्रतिनिधिसभाबाट संविधानको धारा १०० को उपधारा २ बमोजिम संसदबाद विश्वासको मत प्राप्त गरेका हुन् । २०७९ मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनपश्चात झण्डै सम्पूर्ण दलको समर्थनमा पुस १० गते प्रधानमन्त्रीमा निर्वाचित भएका प्रचण्डले सरकारको राजनीतिक गठबन्धनमा फेरबदल गरेर तेस्रोपटक प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन् । २०६९ साल पुस १० गते २ सय ६८ सांसदको समर्थन सहित प्रधानमन्त्रीमा निर्वाचित भएका उनले पछि नेपाली कांग्रेससहितको गठबन्धनमा मात्रै सरकारको पुर्नगठन गर्दा भने १७२ मत प्राप्त गरेका थिए । सरकार निर्माणको क्रममा निरन्तर गठबन्धन परिवर्तन गर्दै आएका प्रचण्डले प्रतिनिधिसभामा विगतमा प्राप्त गरेको विश्वासको मतको अवस्था पछिल्लो समयमा कायम राख्न सकेका छैनन् । विसं २०६४ मा सम्पन्न संविधानसभा सदस्य निर्वाचनमा सबैभन्दा ठूलो दलको अध्यक्षको हैसियतमा तथा २०७३ साउनमा नेपाली कांग्रेसको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएका थिए । उनी विसं २०६५ को साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। यस्तै, २०७३ साउन १९ गते दोस्रो पटक प्रधानमन्त्री बनेका उनी २०७४ जेठ २३ गतेसम्म कार्यकारी प्रमुखका रूपमा रहेका थिए ।