गण्डकीमा ८५ पुल बने, ५३ निर्माणाधीन
गण्डकी । गण्डकी प्रदेश सरकारको लगानीमा पछिल्लो ६ वर्षमा ८५ पक्की पुल बनेका छन् । सडक पुल कार्यक्रमअन्तर्गत पुल निर्माण भइरहेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलका अनुसार प्रदेशभर ५३ पुल निर्माणाधीन अवस्थामा छन् । थप २३ पुलको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयारीको प्रक्रियामा रहेको उनले जानकारी दिए । ‘प्रदेश सरकार स्थापना भएयता ८५ पुल बनिसके, सम्झौता भएकामध्ये केही पुल निर्माणको अन्तिम चरणमा छन्,’ प्रवक्ता पौडेलले भने, ‘सडक सँगसँगै पुल निर्माणलाई मन्त्रालयले प्राथमिकता दिएको छ ।’ सडकको पहुँच पुगे पनि समयमा पुल निर्माण नहुँदा वर्षायाममा ग्रामीण भेगको यातायात सेवा प्रभावित हुँदै आएको थियो । पुल निर्माणले गति लिन थालेपछि प्रदेशस्तरका सडकमा बाह्रैमास यातायात सञ्चालनका लागि सहजता थपिँदै गएको प्रवक्ता पौडेलले बताए । पुलको ठेक्का लिएर समयमा काम नगर्ने निर्माण कम्पनीलाई सचेत गराइएको उनको भनाइ छ । प्रदेशको पूर्वाधार विकास निर्देशनालयका निमित्त प्रमुख डा. महेन्द्रबहादुर बानियाँले ३५ पुल बहुवर्षीय आयोजनामा समेटिएको जानकारी दिए । पुलका लागि चालु आवमा ३४ करोड १५ लाख रुपैयाँ विनियोजन गरिएको उनको भनाइ छ । ‘पैँतीस बहुवर्षीय योजनाका पुलका लागि १ अर्ब ९४ करोड ४७ हजार रुपयाँको स्रोत सुनिश्चित भएको छ,’ डा बानियाँले भने, ‘जिल्लास्थित पूर्वाधार कार्यालयमार्फत योजना कार्यान्वयन हुन्छ ।’ उनका अनुसार बहुवर्षीय आयोजनाअन्तर्गत चालु आवमा कास्कीमा तीन, स्याङ्जा, तनहुँ, लमजुङ र बागलुङमा पाँच÷पाँच, गोरखामा चार, नवलपुर, पर्वत, म्याग्दी र नवलपुरमा दुई/दुई र मनाङमा एक पुल निर्माण भइरहेको छ । यस वर्ष बहुवर्षीयमा गएकासहित कूल ५३ पुल निर्माणाधीन अवस्थामा रहेको निर्देशनालयले जनाएको छ । प्रदेशभित्र सडक, पक्की पुल र झोलुंगे पुल निर्माणको काम पूर्वाधार मन्त्रालयमार्फत हुँदै आएको छ । पछिल्लो छ वर्षयता प्रदेश सरकारको लगानीमा ६३ झोलुंगे पुल भएको मन्त्रालयले जनाएको छ । हाल १० झोलुंगे पुल निर्माणाधीन अवस्थामा रहेका र ५१ झोलुंगे पुल निमार्ण सुरु हुने चरणमा रहेको मन्त्रालयका प्रवक्ता पौडेलले जानकारी दिए । सडकतर्फ एक सय ६२ आयोजना बहुवर्षीय आयोजनाका रुपमा निर्माणाधीन अवस्थामा रहेको उनको भनाइ छ । प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत ३३ सडक आयोजनाको कूल दुई सय ७९ दशमलव ७१ किमी सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता भई कार्यान्वयनमा गइसकेको मन्त्रालयले जनाएको छ । प्रदेश सरकारको गौरवको आयोजनाका रुपमा रहेको स्थानीय तहको केन्द्र जोड्ने सडक निर्माण कार्यक्रमअन्तर्गत ११ सडक आयोजनाको कूल ८९ दशमलव ३७ किमी सडकको स्तरोन्नति भइरहेको प्रवक्ता पौडेलले जानकारी दिए । ‘‘क’ वर्गका १६ प्रादेशिक सडक आयोजनाहरूको एक सय २२ दशमलव ५५ किमी सडक स्तरोन्नति गर्ने कार्य अगाडि बढेको उनको भनाइ छ । गण्डकीमा गत आवसम्ममा ६ सय ७४ दशमलव शून्य ६ किमी पक्की र पाँच सय ६६ दशमलव ८५ कच्ची सडक बनेको मन्त्रालयले जनाएको छ ।
रुसमा विमान दुर्घटना, १५ जनाको मृत्यु
मस्को । द न्युयोर्क पोस्टले रिपोर्ट गरे अनुसार मङ्लबार मस्कोको उत्तरपूर्वी इभानोभो क्षेत्रको कब्रिस्तान नजिकै रूसी सैन्य कार्गो विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । न्युयोर्क पोस्टले रुसको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै उडानपछि विमानको एउटा इन्जिनमा आगो लागेपछि आइएल–७६ विमान जङ्लमा खसेको जनाएको छ । सैन्य कार्गो विमान दुर्घटना हुँदा जहाजमा आठ जना चालक दलका सदस्य र सात यात्रु सहित १५ जना थिए । अझैसम्म यात्रुहरूको परिचय तथा गन्तव्य भने स्पष्ट हुन सकेको छैन । न्युयोर्क पोस्टले टेलिग्राम च्यानल–११२ मा सप्रेषण गरिएको फुटेजमा विमानको एउटा इन्जिनमा आगो लागेको र तीव्र गतिमा उचाइ गुमाएको देखाइएको रिपोर्ट गरेको छ । अनलाइन समाचार माध्यामहरूले दुर्घटनामा पर्ने सबैको मृत्यु भएको रिपोर्ट गरेका छन् । मस्कोको स्थानीय समयअनुसार दिउसो एक बजे एक आइएल–७६ सैन्य यातायात विमान इभानोवो क्षेत्रमा निर्धारित उडानको लागि टेकअफ गर्दा दुर्घटनाग्रस्त भएको राज्यद्वारा सञ्चालित तास समाचार एजेन्सीले उद्धृत गरेको छ । इन्जिनमा आगलागी लागेका कारण दुर्घटनाको भएको मन्त्रालयले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ । ‘सेभर्नी’ शिविरबाट विमानले उडान भरेलगत्तै इन्जिनमा आगो लागेको विज्ञप्तिमा उल्लेख छ । चालकहरूले आपतकालीन अवतरणका लागि एयरफिल्डमा फर्कने प्रयास गरे पनि उनीहरूको उक्त प्रयास सफल नभएको मन्त्रालयले जनाएको छ । टेलिग्राम च्यानल–११२ ले जनाएअनुसार बोगोरोड्स्को गाउँ बाहिरको चिहान नजिकैको जङ्लमा दुर्घटना हुनुअघि जलिरहेको विमानलाई आवासीय क्षेत्रभन्दा बाहिर निकाल्न चालकदल सक्षम भएको थियो । यो दुर्घटना यो वर्षको दोस्रो आईएल– ७६ दुर्घटना हो । सन् २०२४ को जनवरी २४ मा युक्रेनी सशस्त्र बलले ६५ युक्रेनी युद्धबन्दीसहित ७४ जना यात्रु बोकेको विमान खसाल्दा सबैको मृत्यु भएको रूसी समाचार संस्था तासले जनाएको छ । एजेन्सी
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नाडाबीच छलफल
काठमाडौं । सवारी आयातकर्ता तथा बिक्रेता अटोमोबाइल व्यवसायीहरुले २० प्रतिशतको मार्जिन व्यवस्था खारेज गर्न सरकारसँग माग गरेका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का प्रतिनिधिहरुले बुधबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तिर्थराज चिलुवालाई भेटी यस्तो माग गरेका हुन् । सवारी आयातको महँगो भन्सारदर, अन्तःशुल्क, सडक शुल्कसहित २५० देखि ३५० प्रतिशतसम्म कर लाग्ने गरेको तर सवारी आयातदेखि बिक्रेता डिलर कमिसन, कर्मचारी खर्च लगायतको खर्च गरेर जम्मा २० प्रतिशतको मार्जिन (नाफा) मा काम गर्न गाह्रो परेको नाडाका प्रतिनिधि मण्डलले महानिर्देशक चिलुवालाई जानकारी गराए । मुनाफा र छुटका सम्बन्धी व्यवस्थाको उपनियम (ढ) मा उपभोक्तासँग लिने नाफा खण्ड (क) को बढीमा २० प्रतिशत तथा (ण) मा डिलरका लागि छुट सहितको मुनाफा (ढ ) को ३० प्रतिशत भन्ने उल्लेख भए अनुसार यो मुनाफाको समीकरणले अधिकतम खुद्रा मूल्य (एमआरपी) मा कारोबार गर्दा लागत खर्च उठ्न सक्ने प्रश्न नै नभएको नाडाले जनाएको छ । यस्तै, उक्त भेटका क्रममा नाडाले २०८० फागुन २५ गतेको राजपत्रमा प्रकाशित एजेन्सी दर्ता, दस्तुर र धरौटीका सम्बन्धमा समेत विशेष चासो राख्दै नाडाका प्रतिनिधि मण्डलले एजेन्सी दर्ता दस्तुर शीर्षक फर्म वा कम्पनीको पुँजीको आधारमा व्याख्या गरिनु गलत भएको तर्क गरेको छ । एक हजार देखि एक लाख मध्ये एजेन्सी नवीकरण गर्दा पनि सोही दस्तुर लाग्ने हो वा एक पटक मात्र लाग्ने हो व्यवस्थामा प्रष्ट नगरिएको उनीहरुको भनाइ छ । सोही व्यवस्थाको उपनियम (१) मा चुक्ता पूजीको ०.५ प्रतिशत रकम धरौटी शीर्षक बापत बैंक दाखिला गर्नुपर्ने उल्लेख गरिएको छ । यसो गर्दा नगद फ्रिज हून जाने नाडाको तर्क छ । यसले गर्दा कम्पनीको कस्ट अफ डुईङ विजनेश पनि बढ्न जाने उनीहरुको भनाइ छ । कुनै कम्पनीले १० वटा एजेन्सी एउटै कम्पनीमा दर्ता गरेमा कम्पनीको ०.५ प्रतिशतले १० कम्पनीको जोडेर ५ प्रतिशत सम्म दिनु पर्ने हुन्छ । यसले यो नियम व्यवहारिक नभएको नाडाको तर्क छ । प्रतिउत्तरमा विभागका महानिर्देशक चिलुवालले यस विषयमा देखिएका समस्याहरुको समाधानका लागि आफूले आवश्यक पहल गर्ने बताउँदै त्यस सम्बन्धमा थप वर्कआउटगरी दुवै पक्ष बिच पुनः छलफल गर्ने बताए । यसै अवसरमा महानिर्देशक चिलुवाले विभागले कुनै एकपक्षको समस्या नहेरी विभागले उपभोक्ताहरुको अधिकार र व्यवसायीहरुको हित दुबैलाई ख्याल गर्ने समेत बताए । छलफलमा अध्यक्ष करण चौधरीको नेतृत्वमा नाडाका पदाधिकारी तथा व्यवसायीहरुको सहभागिता रहेको थियो ।
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १५७ मत खस्दा विपक्षमा ११०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभाका कूल एक सय ५७ सांसदको मतसहित प्रचण्डले प्रधानमन्त्रीमा तेस्रो पटक विश्वासको मत पाएका हुन् ।प्रतिनिधिसभामा प्रधानमन्त्रीले आफ्नो पक्षमा बहुमत देखाउन कम्तीमा १३८ जनाको समर्थन जुटाउनुपर्थ्यो । बुधबार प्रधानमन्त्रीले विश्वासको मत माग्दा प्रतिनिधिसभाका २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरेका थिए । प्रस्तावको पक्षमा १५७ जनाले मत दिए भने ११० जनाले विपक्षमा मतदान गरे । एक जना भने तटस्थ रहे । प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्तावमा पाएको मत प्रतिनिधिसभाको बहुमत भएकाो भन्दै सभामुख देवराज घिमिरेले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएको घोषणा गरे । उनलाई विश्वासको मत दिन नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीको संसदीय दलले ह्वीप जारी गरेको थियो । केही स्वतन्त्र सांसदले पनि प्रचण्डलाइ मत दिएका छन् । नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलगायतले विपक्षमा मतदान गरे । प्रधानमन्त्री प्रचण्डले बुधबार प्रतिनिधिसभाबाट संविधानको धारा १०० को उपधारा २ बमोजिम संसदबाद विश्वासको मत प्राप्त गरेका हुन् । २०७९ मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनपश्चात झण्डै सम्पूर्ण दलको समर्थनमा पुस १० गते प्रधानमन्त्रीमा निर्वाचित भएका प्रचण्डले सरकारको राजनीतिक गठबन्धनमा फेरबदल गरेर तेस्रोपटक प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन् । २०६९ साल पुस १० गते २ सय ६८ सांसदको समर्थन सहित प्रधानमन्त्रीमा निर्वाचित भएका उनले पछि नेपाली कांग्रेससहितको गठबन्धनमा मात्रै सरकारको पुर्नगठन गर्दा भने १७२ मत प्राप्त गरेका थिए । सरकार निर्माणको क्रममा निरन्तर गठबन्धन परिवर्तन गर्दै आएका प्रचण्डले प्रतिनिधिसभामा विगतमा प्राप्त गरेको विश्वासको मतको अवस्था पछिल्लो समयमा कायम राख्न सकेका छैनन् । विसं २०६४ मा सम्पन्न संविधानसभा सदस्य निर्वाचनमा सबैभन्दा ठूलो दलको अध्यक्षको हैसियतमा तथा २०७३ साउनमा नेपाली कांग्रेसको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएका थिए । उनी विसं २०६५ को साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। यस्तै, २०७३ साउन १९ गते दोस्रो पटक प्रधानमन्त्री बनेका उनी २०७४ जेठ २३ गतेसम्म कार्यकारी प्रमुखका रूपमा रहेका थिए ।
सबै विकास बैंकको ब्याजदर एकल अंकमा झर्यो, कुनको कति ?
काठमाडौं । विकास बैंकहरूले चैत महिनाका लागि ब्याजदर घटाएका छन् । बैंकिङ क्षेत्रमा तरलता सहज हुँदै गएपछि विकास बैंकहरू पनि निरन्तर ब्याजदर घटाउँदै आएका छन् । निरन्तर घटिरहेको ब्याजदरलाई चैतमा पनि निरन्तरता दिएको हो । विकास बैंकहरूले घटाएको ब्याजदर चैत १ गतेदेखि लागू हुनेछ । तर, नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा संस्थागत र व्यक्तिगतको अन्तर १ प्रतिशत हुने व्यवस्था गरेपछि केही बैंकले संस्थागततर्फको ब्याजदर भने बढाएका छन् । विकासन्युजलाई प्राप्त तथ्यांकअनुसार १५ वटा विकास बैंकहरूले मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.४९ प्रतिशत घटाएका छन् भने संस्थागततर्फ भने ०.२२ प्रतिशतले ब्याजदर बढाएका छन् । चैतमा विकास बैंकहरूको औसत ब्याजदर व्यक्तिगतको ८.४२ प्रतिशत र संस्थागतको ७.१४ प्रतिशत रहेको छ । फागुनमा केही बैंकको ब्याजदर दोहोरो अंकमा रहेकोमा चैतमा भने सबै बैंकको ब्याजदर एकल अंकमा झरेको देखिन्छ । सांग्रिला, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र मुक्तिनाथ विकास बैंकले व्यक्तिगततर्फ ०.३५ प्रतिशत घटेर ८.०५ प्रतिशत र संस्थागततर्फ ०.६५ प्रतिशत बढेर ७.०५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् । सिन्धु विकास बैंकको व्यक्तिगततर्फ ०.५ प्रतिशत घटेर ८.५१ प्रतिशत र संस्थागततर्फ ०.२ प्रतिशत बढेर ७.२१ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको व्यक्तिगततर्फ ०.९५ प्रतिशत घटेर ९.०५ प्रतिशत र संस्थागततर्फ ०.०५ प्रतिशत बढेर ८.०५ प्रतिशत ब्याजदर तोकेका छन् । महालक्ष्मी विकास बैंकले ०.३५ प्रतिशत घटाएर व्यक्तिगततर्फ ८.०५ प्रतिशत र संस्थागततर्फ ६.०५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । कामना सेवा विकास बैंकले व्यक्तिगततर्फ ०.३५ प्रतिशत घटेर ८.१५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर तोकेको छ । मितेरी डेभलपमेन्ट बैंकको व्यक्तिगततर्फ ०.५ प्रतिशत घटेर ८.५ प्रतिशत र संस्थागततर्फ ०.५ प्रतिशत बढेर ७.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । एक्सल डेभलपमेन्ट बैंकको व्यक्तिगततर्फ ०.१ प्रतिशत घटेर ८.४० प्रतिशत र संस्थागततर्फ ०.९ प्रतिशत बढेर ७.४० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । कर्पाेरेट डेभलपमेन्ट बैंकको व्यक्तिगततर्फ ०.६४ प्रतिशत घटेर ९.११ प्रतिशत र संस्थागततर्फ ०.२६ प्रतिशत बढेर ८.११ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । लुम्बिनी विकास बैंकको व्यक्तिगततर्फ ०.३५ प्रतिशत घटेर ८.७५ प्रतिशत र संस्थागततर्फ ६.४० प्रतिशत ब्याजदर निर्धारण तोकेको छ । ग्रीन डेभलपमेन्ट बैंकले व्यक्तिगततर्फ ०.२५ प्रतिशत घटेर ८.७५ प्रतिशत र संस्थागततर्फ ०.७५ प्रतिशत बढेर ७.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । ज्योति विकास बैंकले ०.४५ प्रतिशत घटाएर व्यक्तिगततर्फ ८.०५ प्रतिशत र संस्थागततर्फ ६.०५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । गरिमा विकास बैंकले व्यक्तिगततर्फ ०.३५ प्रतिशत घटेर ८.०५ प्रतिशत र संस्थागततर्फ ६.६० प्रतिशत ब्याजदर तोकेको छ । कर्णाली डेभलपमेन्ट बैंकले व्यक्तिगततर्फ ९.५ प्रतिशत र संस्थागततर्फ १ प्रतिशत बढेर ८.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । नारायणी डेभलपमेन्ट बैंकको तथ्यांक प्राप्त भएको छैन ।
बजार ४ दिनपछि सामान्य अंकले घट्यो, विन नेपालमा सकारात्मक र तामाकोशीमा नकारात्मक सर्किट
काठमाडौं । पछिल्लो समय निरन्तर ४ दिन बढेको पुँजी बजार बुधबार भने सामान्य अंकले करेक्सन भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.४८ अंकले घटेर २ हजार १०८.७२ अंकमा बन्द भएको हो । आज दिनभरिमा ३१० कम्पनीको १ करोड ८ लाख ८९ हजार ६३४ कित्ता सेयर ७३ हजार ५०६ पटक खरिद बिक्री हुँदा ४ अर्ब २४ करोड ८५ लाख २३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । विकास बैंक समूह ०.३५ प्रतिशत, फाइनान्स समूह २.३२ प्रतिशत, जीवन बीमा समूह ०.०९ प्रतिशत, लघुवित्त समूह ०.४४ प्रतिशत, म्युचुअल फण्ड ०.४० प्रतिशत र अन्य समूह ०.४६ प्रतिशत बढेको छ । यस्तै, बैंकिङ समूह ०.१० प्रतिशत, होटल तथा पर्यटन समूह १.१४ प्रतिशत, जलविद्युत समूह १.०९ प्रतिशत, लगानी समूह ०.०७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.१४ प्रतिशत, निर्जीवन बीमा समूह ०.५५ प्रतिशत र ब्यापार समूह ०.११ प्रतिशत घटेको छ । बुधबार विन नेपाल लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । यस लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशत बढेर १ हजार ५१ रुपैयाँ पुगेको छ । यस्तै, उन्नति सहकार्य लघुवित्तको ९.५८ प्रतिशत बढेर १ हजार ५८९.९० रुपैयाँ, आत्मनिर्भर लघुवित्तको ९.२२ प्रतिशत बढेर २ हजार २३८ रुपैयाँ, समाज लघुवित्तको ९.०३ प्रतिशत बढेर १ हजार ९५७ रुपैयाँ र जनउत्थान सामुदायिक लघुवित्तको ७.८९ प्रतिशत बढेर १ हजार ७४ रुपैयाँ पुगेको छ । तर, बुधबार अपर तामाकोशी हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यस कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात् २०.४० रुपैयाँ घटेर १८३.६० रुपैयाँ झरेको छ । आज शिवम् सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । यस कम्पनीको २५ करोड ५३ लाख ८३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, सोनापुर मिनिरल्सको २० करोड ६९ लाख ८३ हजार रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको २० करोड ६३ लाख ३८ हजार रुपैयाँ, अपर तामाकोशीको १५ करोड ५४ लाख ४८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
चित्रबहादुर केसीले सांसदहरूलाई सुनाए माछाको कथा
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रातिनिधिसभाका सांसदहरूलाई माछाको कथा सुनाएका छन् । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री पदको लागि मागेको विश्वासको प्रस्तावमाथि बोल्दै अध्यक्ष केसीले माछाको कथा सुनाएका हुन् । यस्तो सुनाए अध्यक्ष केसीले सांसदहरुलाई माछाको कथा : ‘एक जना अलिक गरिब मान्छे एकजना घरमा खानपुग्ने दुई जना भएर माछा मार्न गएछन् । दुवालो दुवैजनाले थुने र माछा मारे, माछा एकै ठाउँ राखे । माछा खासमा धेरै मरेन । माछा धेरै नमरेपछि कमजोर मान्छेले के भन्यो भने तपाईंलाई पनि छाक नपुग्ने मलाई पनि छाक नपुग्ने यो माछा मलाई बेच्नुस । त्यसो भनेपछि अलि हुनेखानेले एक मोहोरमा त्यो माछा अर्को गरिवलाई उधारोमा बेचेछ । माछा त बेच्यो तर, त्यो गरिवले कहिल्यैपनि पैसा दिँदै दिँदैन । माछा बेचेकोले भन्दोरहेछ तिमी कति बेइमान हौ ? मैले त्यत्रो दुःख गरेर माछा मारेको उधारो लगेउ, पैसा त दिँदै दिन्नौ । त्यसपछि माछा लगेर खानेले के भन्दोरहेछ भने म जस्तो गरिवलाई माछा बेचेर मलाई ऋणमा पारेर जहाँपनि तिमीले पैसा माग्ने मेरो कति बेइज्जत भएको छ भनेर भन्दोरहेछ ।’
वीरेन्द्रनगर नगरपालिकाको डोजरमाथि स्थानीयको ढुंगामुढा
सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले संरचना हटाउने भन्दै डोजर चलाउँदा स्थानीयबासिन्दाले ढुंगामुढा गरेका छन् । नगरपालिकाले वीरेन्द्रनगर–६, को हङकङ बजार, हटियालाइन र गोदामलाइन क्षेत्रमा डोजर चलाएको छ । स्थानीयले हटिया लाइन क्षेत्रमा ढुंगामुढा गरेका हुन् । डोजरले संरचना भत्काउन थालेपछि व्यवसायीहरू एक्कासि ढुंगामुढामा उत्रिएका थिए । ढुंगामुढापछि झडपको स्थिति आउँदा भागदौडसमेत मच्चिएको छ । गत माघ १७ गते नगरपालिकाले व्यापारीहरूलाई आफ्ना संरचना भत्काएर हट्न अनुरोध गरेको थियो । त्यसविरुद्ध व्यवसायीहरू आन्दोलनमा उत्रिएका थिए । विकल्पै नदिइ हटाउन खोजिएको भन्दै व्यवसायीहरू विरोधमा उत्रिएका थिए ।