कानुन क्षेत्रमा योगदान पुर्याउनेलाई ‘स्व. सुरेन्द्र बहादुर बस्नेत सम्मान पुरस्कार’ प्रदान गरिने
काठमाडौं । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्ना संस्थापक अध्यक्षको स्मृतिमा पुरस्कार स्थापना गरेको छ । कम्पनीले कानुन तथा न्यायका क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई ‘स्व सुरेन्द्रबहादुर बस्नेत पुरस्कार’ प्रदान गर्ने भएको छ । हरेक दुई वर्षमा नेपालमा कानुन तथा न्यायका क्षेत्रमा सुधार, अन्वेषणलगायत विशिष्ट योगदान पुर्याउने व्यक्तिलाई पुरस्कार प्रदान गरिने बुद्ध एयरले विज्ञप्तिमार्फत जनाएको छ । उक्त प्रयोजनका निम्ति बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत तथा सर्वोच्च अदालत बार एसोसिएसनका सचिव अधिवक्ता श्यामकुमार खत्रीले बुधबार सम्झौतामा हस्ताक्षर गरेका छन् । पुरस्कारका लागि बुद्ध एयरले २५ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेको छ । कोषबाट प्राप्त हुने ब्याजबाट हरेक दुई वर्षमा एक जनालाई सम्मान गरिने कम्पनीले जनाएको छ । बुद्ध एयरले पहिलो वर्षका लागि थप पाँच लाख रकम पनि प्रदान गरेको छ । सुरेन्द्रबहादुर बस्नेत बुद्ध एयरका संस्थापक अध्यक्षका साथै सर्वोच्च अदालतका पूर्वन्यायाधीश थिए । उनी निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त तथा नेपाल प्रेस काउन्सिलको संस्थापक अध्यक्ष थिए । उनले विभिन्न समयमा नेपाल सरकारको मन्त्री तथा विभिन्न आयोगको अध्यक्ष भएर पनि सेवा पुर्याएको थिए ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सञ्चालकमा सुमित केडिया नियुक्त
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सञ्चालकमा सुमित केडिया नियुक्त भएका छन् । कम्पनीको बुधबार सम्पन्न ३०औं वार्षिक साधारण सभाबाट केडिया सञ्चालकमा निर्विरोध निर्वाचित भएका हुन् । केडिया सर्वसाधारण सेयरधनीहरूको प्रतिनिधित्व गर्दै सञ्चालकमा चयन भएका हुन् । विगत लामो समयदेखि यस कम्पनी र केडिया समूहका अन्य संस्थाहरूको विभिन्न पदमा रही नेपाली अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन् । उनी कम्पनीका सञ्चालकमा नियुक्त भएसँगै सिद्धार्थ प्रिमियरले व्यवसाय विस्तारमा थप मद्दत पुग्ने अपेक्षा लिइएको छ ।
ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर सरस्वती क्याम्पसमा, ६७ काउन्टर पुगे
काठमाडौं । ग्लोबल आइएमई बैंकले काठमाडौं महानगरपालिका वडा २६ लेखनाथ मार्ग, ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो । यो काउन्टर सञ्चालनमा आएसँगै बैंकका एक्सटेन्सन तथा राजश्व संकलन काउन्टरहरूको संख्या ६७ पुगेको छ । नयाँ एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन बैंकिङ्ग सेवा, रेमिट्यान्सको सुविधा लगायत सबै किसिमका साधारण बैंकिङ्ग सेवाहरु उपलब्ध हुनेछन् । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १ सयभन्दा बढि सेवा केन्द्र रहेका छन । ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
कृषि विकास बैंकको १७औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । कृषि विकास बैंकको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा १७औं वार्षिक साधारण सभा सम्पन्न भएको प्रवक्ता हिमलाल पौडेलले जानकारी दिए । बैंकको वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७९÷८० को सञ्चालक समिति र लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित गरेको छ । साथै, आर्थिक वर्ष २०८०÷८१ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको पौडेलले बताए । यस्तै, बैंकको सहायक कम्पनीहरू कोष व्यवस्थापन कम्पनी तथा गोबर ग्यास कम्पनीको गत आवको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गरेको छ । बैंकले २८२ वटा शाखामार्फत देशैभर आधुनिक बैकिङ्ग सेवा पु्रयाइरहेको छ । वाणिज्य बैंकहरूमध्ये कृषिमा सबैभन्दा बढी लगानी कृषि विकास बैंकले गरेको बैंकको दाबी छ । साधारण सभामा संचालक समितिका सदस्य महेश आचार्य, डा.राजेन्द्र प्रसाद मिश्र, गोविन्द प्रसाद भट्टराई, संजिव पौडेल, विनोद कुमार गुरागाँई र रीता सुवेदीको उपस्थिती थियो भने साधरण सभा संचालन कम्पनी सचिव समते रहेका प्रवक्ता पौडेलले गरेका थिए ।
सेबोनको अध्यक्ष बन्न चापागाईंसहित १९ जनाको आवेदन
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष बन्नका लागि १९ जनाले आवेदन दिएका छन् । बुधबार अन्तिम दिनसम्म तत्कालिन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंसहित १९ जनाले आवेदन दिएका हुन् । आवेदन दिनेमा धितोपत्र बोर्डका निमित्त प्रमुख डा. नवराज अधिकारी, कार्यकारी निर्देशक कृष्णराज पोख्रेल, कार्यकारी निर्देशन मुक्तिनाथ श्रेष्ठ रहेका छन् । यस्तै, नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण बहादुर कार्की, नेपाल बैंकका पूर्व सीईओ कृष्ण बहादुर अधिकारी, राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट, बोर्डका पूर्व कार्यकारी निर्देशक नीरज गिरी, डा।केशब प्रसाद श्रेष्ठ, मुक्ति अर्याल, नेप्सेका पूर्व सीईओ सिताराम थपलिया, बिमल तिवारि, प्रविण पन्दाक, रघु काफ्ले लगायतले आवेदन दिइएका हुन् । सन्तोष नारायण श्रेष्ठ, सुर्य प्रसाद अधिकारी, रामदेव यादव, राम कृष्ण खतिवडा र खगेन्द्र कटुवालले पनि धितोपत्र बोर्डको अध्यक्ष बन्न आवेदन दिएका छन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला सदस्य रहेको सिफारिस समिति छ । यस समितिले आवेदन दिएकामध्ये ५ जनाको नाम सर्ट लिष्ट गर्नेछ । ५ जनाको प्रस्तुती र अन्तवार्तापछि ३ जनाको नाम मन्त्रीपरिषदमा सिफारिस गर्नेछ । गत फागुन १६ गते धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको थियो ।
बैंकहरूको नाफा साढे ३५ अर्ब, नबिलसँग प्रतिस्पर्धा गर्दै राष्ट्रिय वाणिज्य बैंक
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को ७ महिनामा वाणिज्य बैंकहरूले साढे ३५ अर्ब रुपैयाँ बराबरको नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार माघसम्म २० वटा वाणिज्य बैंकहरूले ३५ अर्ब ४९ करोड २४ लाख रुपैयाँ बराबर खुद नाफा गरेका हुन् । समीक्षा अवधिमा सबैभन्दा धेरै नाफा नबिल बैंकले झण्डै ४ अर्ब गरेको छ । यस बैंकले ७ महिनामा ३ अर्ब ९८ करोड ६५ लाख रुपैयाँ नाफा गरेको हो । यस्तै, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ६८ करोड ३० लाख रुपैयाँ नाफा गरेर दोस्रो स्थानमा छ । ग्लोबल आइएमई बैंकले २ अर्ब ६८ करोड २९ लाख रुपैयाँ, प्राइम बैंकले २ अर्ब ५४ करोड ६९ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ३८ करोड रुपैयाँ, एनआईसी एशिया बैंकले २ अर्ब १४ करोड ३० लाख रुपैयाँ नाफा गरेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । यस्तै, एभरेष्ट बैंकले १ अर्ब ९८ करोड ९९ लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ९४ करोड १७ लाख रुपैयाँ, हिमालयन बैंकले १ अर्ब ८३ करोड ७४ लाख रुपैयाँ, एनएमबि बैंकले १ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ५७ करोड ३३ लाख रुपैयाँ नाफा गरेका हुन् । सिद्धार्थ बैंकले १ अर्ब ४१ करोड ८३ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १ अर्ब ४० करोड ८७ लाख रुपैयाँ, सानिमा बैंकले १ अर्ब ४० करोड १२ लाख रुपैयाँ, कुमारी बैंकले १ अर्ब १२ करोड १९ लाख रुपैयाँ नाफा गरेका हुन् । राष्ट्र बैंकको तथ्याङ्क अनुसार सिटिजन्स बैंकले ९९ करोड ७८ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ९८ करोड ४ लाख रुपैयाँ, नेपाल बैंकले ९५ करोड ९१ लाख रुपैयाँ, प्रभु बैंकले ९२ करोड ७६ लाख रुपैयाँ र नेपाल एसबिआई बैंकले ८५ करोड २४ लाख रुपैयाँ नाफा गरेका छन् ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ११ प्रतिशत लाभांश पारित, सञ्चालकमा ६ जना चयन
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सञ्चालकमा ६ जना सञ्चालक चयन भएका छन् । बुधबार सम्पन्न ३०औं वार्षिक साधारण सभाबाट कम्पनीको सञ्चालकमा ६ जना र्निविरोध निर्वाचित भएका हुन् । कम्पनीका अनुसार संस्थापक सेयरधनीहरूको प्रतिनिधित्व गर्दै सुरेश लाल श्रेष्ठ, पवन कुमार अग्रवाल, राहुल अग्रवाल, राजन कृष्ण श्रेष्ठ सञ्चालकमा निर्वाचित भएका हुन् । यस्तै, सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सुमित कुमार केडिया र प्रभु कृष्ण श्रेष्ठ निर्वाचित भएका हुन् । सञ्चालकमा चयन भएकाहरू आगामी ४ वर्षसम्म सो पदमा कायम रहने छन् । साथै, कम्पनीको साधारण सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरूलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षसुरेश लाल श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरेका थिए ।
महासंघ अध्यक्ष ढकालको युएई र मंगोलियाका राजदूतसँग भेट, नेपालमा लगानी गर्न आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स र मंगोलियाका राजदूतसँग भेटवार्ता गरेका छन् । बुधबार युएईका राजदूत अब्दुल्ला अल शम्सी र नेपालका लागि मान्यता प्राप्त भारतका लागि मंगोलियाका राजदूत गानबोल्ड डम्बाजाभसँग भएको उक्त भेटवार्तामा अध्यक्ष ढकालले नेपालमा लगानी प्रवर्धन गर्न आग्रह गरे । उनीहरूबीच नेपाल र यी दुई राष्ट्रबीचको द्विपक्षीय व्यापार र लगानी सम्बन्धलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो । यही वैशाख २८ र २९ गते काठमाडौंमा आयोजना हुने नेपाल लगानी सम्मेलनमा सहभागी हुन सम्बन्धित देशलाई अध्यक्ष ढकालले आग्रह गरे । युएईका राजदूतसँगको भेटमा अध्यक्ष ढकालले दुवै देशका दूतावासको सहयोगमा नोभेम्बरमा दुबईमा आयोजना भएको नेपाल दुबई बिजनेस समिटको सफलताको लागि धन्यवाद दिए । उनले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको पनि राजदूतलाई जानकारी गराए । भेटमा राजदूत अब्दुल्ला अल शम्सीले नेपाल र युएईबीच द्विपक्षीय लगानी सम्झौता को सम्भावनाका बारेमा पनि कुरा राखे । त्यसैगरी मंगोलियाका राजदूतसँगको भेटमा अध्यक्ष ढकालले आपसी व्यापार र लगानीका अवसरका विषयमा कुराकानी गरेका थिए । अध्यक्ष ढकालले नेपालमा जलविद्युत र पर्यटन क्षेत्रमा लगानीका सम्भावनाका बारेमा जानकारी गराए । उनले नेपालको बाह्य क्षेत्रको स्थिरताबारे पनि राजदूतलाई अवगत गराए ।