विकासन्युज

दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्न चन्द्रागिरिको प्रयास सराहनीय : दातृ निकाय

काठमाडौं । दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्न चन्द्रागिरि नगरपालिकाले अवलम्बन गरेका अभ्यासलाई नेपालस्थित प्रमुख दातृ निकायका प्रतिनिधिले सराहना गरेका छन् । विशेष गरी शिक्षा, स्वास्थ्य, लैंगिक समानता, खानेपानी तथा सरसफाइ, सुरक्षित, सुन्दर र सबैको पहुँचयोग्य सहर बनाउन नगरपालिकाले दिगो विकास लक्ष्यलाई मुख्य आधार बनाउँदै ततअनुरूप आफ्नो नीति योजनामा समावेश एवं कार्यान्वयनमा ल्याइरहेको जनाइएको छ । संयुक्त राष्ट्र संघीय मानव बसोबास कार्यक्रम (युएन ह्यबिट्याट), युरोपियन युनियन, विश्व बैंक, अमेरिकी विकास नियोग (युएसआइडी), परियोजना सेवाका लागि संयुक्त राष्ट्र संघीय कार्यालय (युएन ओपिस) का प्रतिनिधिले नगरपालिकाले दिगो विकास लक्ष्य प्राप्तिका लागि दिगो, समावेशी र उत्थानशील आर्थिक सामाजिक विकासका लागि गरिरहेको प्रयासलाई प्रशंसनीय रहेको जनाउँदै यसलाई निरन्तरता दिन सुझावसमेत दिएका छन् । ती निकायका प्रतिनिधिसँग बुधबार भएकोे छलफलमा नगरपालिकाले दिगो विकास लक्ष्य हासिल गर्न आफ्नो नीति योजनामा समावेश गरेका विषयवस्तु र सम्पादन गरिरहेका कामका बारेमा प्रस्तुतीकरण गरेको थियो । दिगो विकास लक्ष्यअन्तर्गत ‘सिटी फर वोमेन परियोजना’का लागि चन्द्रागिरि नगरपालिका छनोटसमेत भएको छ । छलफलमा चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरीले नगरपालिकाले स्थानीय स्वयंसेवी समीक्षा प्रतिवेदनको मस्यौदा तयार गरिसकेको, सार्वजनिक जग्गा संरक्षणमा प्राथमिकता, शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासमा समान प्राथमिकता दिँदै आएको जानकारी दिए । उनले भने, ‘नगरपालिकाले एक वडा एक उद्यान, एकवडा एक खुला स्थानको नीति लिएको छ । समुदाय तहदेखि योजना छनोट र कार्यान्वयनमा लैंगिक समानता, सबै वर्ग क्षेत्र र समुदायको सहभागिता गराइएको छ ।’ उपप्रमुख वसन्ती श्रेष्ठले दिगो विकासको स्थानीयकरण गर्न नगरपालिकाले प्राथमिकता दिँदै आएको जानकारी दिँदै महिला, बालबालिका, जनजाति, दलित अपांग तथा ज्येष्ठ नागरिकमैत्री नीति अवलम्बन गरिएको बताए । प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले नगरपालिकाको दिगो विकास लक्ष्य हासिल गर्न नगरपालिकाले आर्थिक र सामाजिक क्षेत्रमा गरिरहेका प्रयासका बारेमा प्रस्तुतीकरण गर्दै समावेशी, सुरक्षित, उत्थानशील समृद्ध सहर बनाउने ध्येय रहेको बताए । उनले भने, ‘सहरी क्षेत्रमा खुला क्षेत्र व्यवस्थापनमा चुनौती थपिँदो छ। यस्ता चुनौतीलाई सामना गर्न नगरपालिकाले नीति, योजना बनाई कार्यान्वयन गरिरहेको छ । स्थानीय योजना तर्जुमा प्रक्रियामा लैङ्गिक समानता र समावेशीकरणलाई मूलप्रवाहीकरण गरिएको छ ।’ छलफलमा चन्द्रागिरि–४ का वडाध्यक्ष एवं नगरप्रवक्ता कृष्णप्रसाद खड्गी, वडा १ का वडाध्यक्ष हरिश्याम रानामगर वडा नं १० का वडाध्यक्ष शिवकुमार महर्जन, वडा नं १५ का वडाध्यक्ष घनश्याम लुइँटेल, कार्यपालिका सदस्य चन्द्रकुमारी गिरी, सानुकान्छा परियारले आफूहरुले सम्पादन गरिरहेका काम एवं चुनौतीका बारेमा बोलेका थिए । छलफलमा युरोपियन युनियनका नेपाल प्रतिनिधि इलोइजा अस्टुडुलोले स्थानीय योजना तर्जुमा प्रक्रियामा लैंगिक समानता र समावेशीकरणका बारेमा जिज्ञासा राख्दै महिला, सीमान्तकृत वर्ग समुदायको आर्थिक एवं सामाजिक सशक्तीकरणमा ध्यान दिन सुझाव दिइन् । युएन ह्यबिट्याट एशिया प्रशान्त क्षेत्रीय कार्यालय जापानका प्रतिनिधि डा ओडिसा एङ्लो ब्यारियसले दिगो विकास लक्ष्यका शिक्षा, स्वास्थ्य, लैंगिक समानता, खानेपानी तथा सरसफाइ, सुरक्षित, सुन्दर र सबैको पहुँचयोग्य सहरजस्ता लक्ष्यलाई स्थानीयकरण गर्न चन्द्रागिरि नगरपालिकाले अवलम्बन गरेका अभ्यासको सराहना गरिन् । युएसआइडीका नेपाल प्रतिनिधि डेभिड म्यानले दिगो विकास लक्ष्य हासिल गर्न सामूहिक प्रयत्नको खाँचो औंल्याउँदै खुला क्षेत्र संरक्षण, निर्णय प्रक्रियामा अल्पसङ्ख्यक, सीमान्तकृत, तथा संकटासन्न समुदायको अर्थपूर्ण सहभागिता र स्थानीय विकास प्रक्रियालाई समावेशी बनाउन सुझाव दिए । युएन ओपिसका प्रतिनिधि इलिया ग्युविकले दिगो विकास लक्ष्यको स्थानीयकरण गर्न आवश्यक रहेको बताइन् । रासस

आज विश्व मिर्गौला दिवस, विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइँदै

काठमाडौं । आज विश्व मिर्गौला दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार यो दिवस मनाउँदै आइएको छ । यस वर्ष लागि ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने मूल नाराका साथ यो दिवस मनाउन लागिएको छ । विभिन्न स्वास्थ्यसँग सम्बन्धित सङ्घसंस्थाले बिहान रत्नपार्क, शान्ति बाटिका बाट मिर्गौला पदयात्राको सुरुवात गर्दैछन् । उक्त पदयात्रा दशरथ रङ्गशालामा पुगेर प्रत्यारोपित र अङ्गदाताको समूहसँग कलाकार, पत्रकार, समाजसेवी, चिकित्सक र कर्मचारीहरूबीच मैत्रीपूर्ण फुटबल खेल हुनेछ । प्रत्येक १० जना मध्ये एक जनालाई मिर्गौला रोग लाग्ने गरेको तथ्यांकले देखाउँछ । विश्वभरि नै मिर्गौला रोगको प्रकोप बढी रहेको परिप्रेक्षमा रोगको पहिचान तथा उपचार र रोकथामका महत्त्वपूर्ण उपायहरूबारे सबैलाई सचेत गराउने उद्देश्यले मिर्गौला दिवसको आयोजना हुने गरेको छ ।

विषादीमुक्त प्रदेश निर्माणको अभियानमा कर्णाली सरकार

कर्णाली । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कर्णालीलाई अर्गानिक प्रदेश बनाउने कार्यक्रमलाई निरन्तरता दिएको छ । यसका लागि प्रदेश सरकारले ‘कर्णालीले जे बिक्री गर्छ, मूल्यवान चिज बिक्री गर्छ’ भन्ने नारालाई अंगिकार गरेको छ । यहाँ उत्पादित सबै खालका अन्नबाली र लत्ताकपडा अर्गानिक उपज हुन् भन्ने कुरा ‘लोगो’ बाट पहिचान दिइएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले जानकारी दिए । अर्गानिक प्रदेश निर्माणमा विशेष जोड दिन संघ सरकारसँग अर्गानिक विषादी किन्न अनुदान दिन आग्रह गरिएको उनले बताए । ‘यहाँका कृषिउपजको अर्गानिक प्रमाणीकरण गर्न प्रदेश सरकारले पहल थालेको छ,’ उनले भने, ‘भर्खरै विषादी प्रयोगमुक्त सप्ताह पनि सम्पन्न गरिएको छ । यसले पनि प्रदेश सरकार अर्गानिक प्रदेश निर्माणलाई गति दिँदैछ भन्ने सन्देश गएको छ ।’ मन्त्रालयका सचिव डा। नरहरिप्रसाद घिमिरेले कर्णालीलाई अर्गानिक प्रदेशमा रूपान्तरण गर्ने अभियान विसं २०७४ बाटै थालनी गरिएको जानकारी दिए । ‘कर्णालीलाई अर्गानिक प्रदेश निर्माण गर्न प्रदेश सरकारले प्राङ्गारिक कृषि ऐन २०७६, कृषि व्यवसाय प्रबर्द्धन ऐन, नियमावली र कार्यविधिसमेत जारी गरिसकेको छ,’ उनले भने । सरकारले थालेको यो अभियानमा सबै सरोकारवालाले महत्वपूर्ण भूमिका खेल्नुपर्ने सचिव डा। घिमिरेको भनाइ छ । कृषि विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक चित्रबहादुर रोकायले प्रदेश सरकारको सुरुआती चरणदेखि अर्गानिक खेतीबारे पैरवी हुँदै आएको बताए। ‘अर्गानिक प्रदेश निर्माण सबै सरोकारवालाको साझा दायित्व हो। यसमा हामी सबै एकीकृत भएर जानुपर्दछ। विद्यालयस्तरबाट यो कार्यक्रम अगाडि बढाउँदा अझ बढी प्रभावकारी हुनसक्छ,’ उनले भने । एकीकृत कृषि प्रयोगशालाका प्रमुख पर्शुराम रावतले विश्व अब प्राकृतिक खेतीतर्फ फर्किन थालेको बताए । ‘यो प्रदेशमा पनि माथिल्लो कर्णालीका पाँच जिल्लामा चाहेर पनि त्यति धेरै विषादी प्रयोग भएको छैन,’ उनले भने, ‘यहाँको माटो सुधार हुन आवश्यक छ ।’ कर्णाली प्रदेश सरकारको अर्गानिक प्रदेश निर्माणको लक्ष्य पूरा गर्न प्रयोगशालाले महत्वपूर्ण भूमिका खेल्ने प्रमुख रावतको भनाइ थियो । एकीकृत कृषि प्रयोगशाला कर्णाली प्रदेश सुर्खेतले बुधबार विषादी प्रयोगमुक्त सप्ताहका साथै रासायनिक विषादी न्यूनीकरण विषयक एकदिने अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न गरेको छ । अन्तरक्रियामा सहभागी कृषक तथा व्यवसायीले रासायनिक विषादी प्रयोगबाट खेती गर्ने र जैविक विषादी प्रयोग गरी कृषि तथा पशुपन्छी उत्पादन गर्नेलाई छुट्टाछुट्टै कलस्टरमा राख्ने व्यवस्था सरकारले गर्नुपर्नेमा जोड दिए । कृषि व्यवसायी डिल्लीप्रसाद शर्माले अर्गानिक उत्पादन गर्ने कृषकलाई सरकारले अनुदानको व्यवस्था गर्नुपर्ने र उनीहरुलाई प्रोत्साहन मिल्ने कार्यक्रम ल्याउनुपर्ने सुझाव दिए । कृषक गीता तिमिल्सिनाले उत्पादित अर्गानिक वस्तुले बजार नपाउँदा किसानले सास्ती भोग्नपरेको र त्यसको बजारीकरणमा सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए। सरकार र कृषकबीचको दूरी नजिक हुनसके कर्णाली प्रदेशलाई आत्मनिर्भर बनाउन सकिने उनको भनाइ थियो । विसं २०७४ फागुन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले कर्णालीलाई अर्गानिक प्रदेश निर्माणको लागि अभियान थाल्ने निर्णय गरेको थियो । रासस

खोटाङमा डढेलोबाट २० लाख बढीको क्षति

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित खिसाकामा घर, गोठ र पशुचौपाया जलेर नष्ट हुँदा २० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । बतासेस्थित डुगुरडुम सामुदायिक वनमा लागेको डढेलो बुधबार अपराह्न गाउँ पस्दा जीवन राई, सुवास राई तथा ताराकुमार राईको घर नष्ट भएको थियो । गाउँका अन्य घरलाई स्थानीय बासिन्दाको प्रयासले आगोबाट जोगाउन सफल भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए । गाउँको चारैतिर फैलिएको सामुदायिक वनमा डढेलो लाग्दा खिसाका र ढाँडे बस्तीमा दिनभर समस्या भएको थियो । साँझ परेपछि हवारातिर डढेलो फैलिँदै गएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पिएस्पी चाम्लिङले जानकारी दिए । गाउँ पसेको डढेलो अस्थायी प्रहरीचौकी भँडारेघाट र प्रहरीचौकी दिप्रुङ चुइचुम्माबाट खटिएका प्रहरी, गाउँ प्रहरी र स्थानीय बासिन्दाले नियन्त्रणको प्रयास गरिरहेका छन् । सामुदायिक वनमा लागेको डढेलोले वनस्पति र जङ्गली जनावर नष्ट भइसकेको स्थानीय बासिन्दाले बताएका छन् । दिप्रुङ चुइचुम्मा गाउँपालिकासँगै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको नेर्पा, साकेला गाउँपालिकाको मात्तिम, खोटेहाङ गाउँपालिकाको खोटाङबजार र रावाबेँसी गाउँपालिकाको डुम्रेधारापानीमा रहेको सामुदायिक वनमा डढेलो लागिरहेको स्थानीय बासिन्दाले बताएका छन् । जिल्लाका विभिन्न सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणका लागि स्थानीय बासिन्दासँगै प्रहरीसमेत परिचालन गरिएको छ ।

रूपाताल संरक्षण क्षेत्रका बासिन्दाले जग्गाको मुआब्जाको माग गर्दै दिए निवेदन

गण्डकी । कास्कीमा सञ्चालित रूपाताल एकीकृत संरक्षण विकास परियोजना प्रभावित क्षेत्रका बासिन्दाले जग्गाको मुआब्जा र रोक्का रहेको जग्गा फुकुवाको माग गर्दै बुधबार प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएका छन्। अधिग्रहण गरेको जग्गाको उचित मुआब्जा र परियोजनालाई आवश्यक नपर्ने जग्गा फिर्ता पाउनुपर्ने माग आफूहरूको रहेको बाँध क्षेत्र समस्या समाधान समितिका संयोजक हरिप्रसाद अधिकारीले बताए। विसं २०६६ देखि स्थानीयवासीको १४ सय ७२ रोपनी जग्गा रोक्का रहेको उनको भनाइ छ । ‘अधिग्रहणमा परेका केहीले मुआब्जा पाए पनि अझै झण्डै तीन सय परिवार मुआब्जा पाउनबाट वञ्चित छौं,’ उनले भने, ‘पटकपटक आवाज उठाउँदा पनि परियोजना कार्यालय र स्थानीय प्रशासनबाट कुनै सुनुवाइ हुन सकेको छैन।’ रोक्का रहेको सबै जग्गा परियोजनाले लिने भएमा चलनचल्तीको मूल्यअनुसार मुआब्जा दिनुपर्ने स्थानीयवासीको माग छ। वर्षौंसम्म जग्गा रोक्का रहँदा अंशबण्डा, बेचबिखनसमेत गर्न नपाएको रुपाकोट गाउँपालिका–६ का सीता अधिकारीले बताए। जग्गाको उचित मुआब्जा निर्धारण र जग्गा फुकुवा नगरेसम्म आन्दोलन नरोकिने उनको भनाइ छ। परियोजनाका सूचना अधिकारी एवं इन्जिनियर कृष्ण विकले नौ सय ९५ रोपनी जग्गाको मुआब्जा वितरण गरिसकिएको जानकारी दिए । ‘८७ करोड मुआब्जा वितरण भइसकेको छ, रोक्का रहेकोमध्ये चार सय ७७ रोपनी अधिग्रहण गरेर मुआब्जा दिन बाँकी छ,’ उनले भने, ‘परियोजनालाई आवश्यक पर्नेबाहेकको जग्गा फुकुवा गरेर फिर्ता गर्छौं ।’ मुआब्जा र फुकुवाको निर्णय एकैपटक गर्न नमिल्ने भएकाले प्रक्रियागत ढिलाइ भएको सूचना अधिकारी विकले बताए। आन्दोलनरत स्थानीयवासीको माग पूरा गर्ने हिसाबले छलफल अगाडि बढेको उनको भनाइ छ । पोखरा महानगरपालिका र रुपाकोट गाउँपालिकाको सीमामा पर्ने रुपातालको संरक्षणसँगै पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्ने उद्देश्यले उक्त परियोजना सञ्चालित छ । बाँध बनेपछि तालको क्षेत्रफल एक सय ८० हेक्टरमा फैलिने परियोजनाका सूचना अधिकारी विकले जानकारी दिए। विसं २०८२ सम्ममा बाँध निर्माण र विसं २०८५ भित्र परियोजनाको सम्पूर्ण काम सक्ने लक्ष्य लिइएको उनको भनाइ छ । रासस

साल्ट ट्रेडिङले लाभांश पारित गर्न बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चैत २३ गते ५७औं वार्षिक साधारण सभा बोलाएको छ । बुधबार बसेकाे सञ्चालक समिति बैठकले वार्षिक साधारण सभा बोलाएको हाे । कर्पोरेसनले सभामा सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ । साथै, आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, नाफा नोक्सान र नगत प्रवाह लगायतका विषयमा छलफल हुनेछ । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत ९ गते बुक क्लोज गर्ने भएको छ । चैत ८ गतेसम्म कायम रहने सेयरधनीमात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।

अमेरिकी तल्लो सदनले पारित गर्‍यो टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक

काठमाडौं । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले बुधबार लोकप्रिय भिडियो एप टिकटक प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ । टिकटकको चिनियाँ मुल कम्पनी बाइटडान्सले ६ महिनाभित्र बहुमत सेयर अमेरिकी कम्पनीलाई नदिए सधैंका लागि अमेरिकामा टिकटक बन्द हुने विधेयकमा उल्लेख छ । टिकटकले अमेरिकालाई आफ्नो सेयर बेच्न चिनियाँ स्वीकृति लिनुपर्नेछ । चीनले यसलाई अस्वीकार गर्ने सम्भावना देखिँदैन । कम्पनीले यसअघि आफ्नो मूल्य २ खर्ब ६८ अर्ब डलर रहेको जनाएको थियो । अमेरिकी सांसदहरूले कम्पनीको हालको स्वामित्वको संरचनालाई राष्ट्रिय सुरक्षाका लागि खतरा भएको भन्दै यो कदम चालेका हुन् । तल्लो सदनबाट दुई तिहाई बहुमतले यो विधेयक पारित भए पनि यसलाई माथिल्लो सदन सिनेटले पारित गरेर राष्ट्रपतिले हस्ताक्षर गरेपछि लागू हुनेछ । तर, पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक प्रतिबन्ध लगाउने विषयमा बोली फेरेपछि सिनेटबाट यो पारित हुने–नहुनेमा शंका छ । यसअघि ट्रम्प नै राष्ट्रपति हुँदा अमेरिकामा टिकटक प्रतिबन्धमा परेको थियो, तर अदालतको आदेशका कारण यो निर्णय पूर्ण कार्यान्वयन हुन पाएको थिएन । तर, अहिले भने ट्रम्पले आफ्नै निर्णय विपरित टिकटक प्रतिबन्धको विरोध गरेका छन् । टिकटकले राष्ट्रिय सुरक्षा नै खतरामा पार्न सक्ने अमेरिकाले ठहर गरे पनि टिकटकले भने १५ करोड जना अमेरिकी प्रयोगकर्ताको कुनै पनि डेटा चीन सरकारको पहुँच भन्दा टाढा रहेको भन्दै आरोपको खण्डन गर्दै आएको छ । यस्तै, चीनले टिकटक प्रतिबन्ध लगाउने अमेरिकाकोे कदमले उसैलाई समस्यामा पार्ने चेतावनी पनि दिएको छ । विदेश मन्त्रालयले भनेको छ, ‘टिकटकले अमेरिकी राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने प्रमाण अमेरिकाले कहिल्यै फेला पारेको छैन, तर टिकटकलाई दबाउन पनि रोकिएको छैन, यसले उसैलाई समस्यामा पार्नेछ ।’ एजेन्सी 

स्थानीय वायु सक्रिय, यी स्थानमा वर्षा र हावाहुरीको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदलीको अवस्था छ । त्यस्तै, बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ। बिहीबार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा हावा–हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताएको छ ।