विकासन्युज

बोनस सेयरमा लाग्ने कर जम्मा गर्न हिमालयन लाइफको आग्रह

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई बोनस सेयरमा लाग्ने करवापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले मंगलबार सूचना जारी गर्दै साविकको गुँरास लाइफको आर्थिक वर्ष २०७७/७८ र साविकको यूनियन लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७७/७८ का लागि पारित क्रमश १३.२७ र ८.९७ प्रतिशत बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको हो । बुक क्लोज भएको मितिभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीले बोनस सेयरमा लागने कर बापतको रकम  केही सेयरधनीले अहिलेसम्म नतिरेकाले कम्पनीले उक्त रकम तिर्न आग्रह गरेको छ । सेयरधनीले उक्त रकम कम्पनीको खाता रहेको नेपाल इन्भेष्टमेष्ट बैंक वा कनेक्ट आइपीएसमार्फत जम्मा गर्न सक्नेछन् । कम्पनीका अनुसार रकम जम्मा गरेपछि मात्रै बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरिने छ ।

नेपाल फाइनान्सको साढे एक लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं। नेपाल फाइनान्स लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । कम्पनीले मंगलबार एक सूचना प्रकाशित गरी संस्थापक सेयरधनी निरज श्रेष्ठको नाममा रहेको १ लाख ४० हजार ९६३ कित्ता सेयर बिक्रीमा राखेको हो । यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालयमामा के कति कित्ता खरिद गर्ने सो को व्यहोरा खुलाई निवेदन पेस गर्नुपर्ने छ। तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुनबमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने कम्पनीले जनाएको छ ।

गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिँदै

काठमाडौं । सत्ता गठबन्धनका दलहरूले न्यूनतम साझा कार्यक्रम मंगलबार सार्वजनिक गर्ने भएका छन् । बिहान १० बजे सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयबाट कार्यक्रम सार्वजनिक गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि सोमबार सार्वजनिक गर्ने भनिएको थियो । नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका दुई–दुई जना नेता सदस्य रहेको कार्यदलले न्यूनतम साझा कार्यक्रम तयार गरेको थियो । उक्त कार्यक्रम शीर्ष नेताले अध्ययन गरेपछि आज सार्वजनिक गर्न लागिएको हो । गत फागुन २१ सत्ता साझेदार दलहरूले सरकारका साझा न्यूनतम कार्यक्रम तयार गर्न १० सदस्यीय कार्यदल गठन गरेका थिए । कार्यदलमा एमालेका उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादी केन्द्रबाट अर्थमन्त्री एवं उपमहासचिव वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र महासचिव मुकुल ढकाल सहभागी थिए । कार्यदलमा जनता समाजवादी पार्टी नेपालबाट केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठ र मनिष सुमन तथा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल थिए । कार्यदलले शुक्रबार साझा न्यूनतम कार्यक्रमलाई पूर्णता दिएर शनिबार बिहान प्रधानमन्त्रीका साथै शीर्ष नेताहरूलाई बुझाएको थियो ।

देशका पहाडी भू-भागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। दिउँसो मधेश प्रदेश र कोशी प्रदेश लगाएत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। महाशाखाका अनुसार राति कोशी प्रदेशमा आंशिक देखि साधारणतया बदली, मधेश प्रदेश सहित देशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

पुँजीगत खर्च वृद्धि गर्न अर्थमन्त्रीलाई चेम्बरको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले पुँजीगत खर्चमा वृद्धि गरी उत्पादन तथा रोजगारी सिर्जना गर्ने गरी नीतिगत व्यवस्था गर्न अर्थमन्त्री वर्षमान पुनसमक्ष आग्रह गरेको छ । चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वको टोलीले सोमबार अर्थमन्त्रीलाई भेटेर शिथिलताबाट गुज्रिएको अर्थतन्त्रलाई लयमा फर्काउनका लागि पुँजीगत खर्चमा वृद्धि गरी उत्पादन तथा रोजगारी सिर्जना गर्ने गरी नीतिगत व्यवस्था गर्न आग्रह गरेको हो । चेम्बरले नेपालमा आयात हुने वस्तुको भन्सार प्रयोजनका लागि सन्दर्भ मूल्यलाई खारेज गरी कारोबार मूल्यलाई मान्यता दिनुपर्ने, नेपाली वस्तुको निर्यात प्रवर्द्धन गर्नका लागि भन्सार नाकामा उच्चस्तरीय ‘क्वारेन्टिन’ ल्याब स्थापनासमेत आग्रह गरेको छ । ‘बजारमा लगानीयोग्य रकम अधिक तरलता भएर पनि लगानी आकर्षण हुन सकेको छैन, पुँजी चलायमान एवं आर्थिक गतिविधि विस्तार गर्ने खालको आगामी बजेट ल्याउन आवश्यक छ, उत्पादन वृद्धिमार्फत निर्यात प्रवद्र्धन एवं रोजगारी सिर्जना गर्ने बजेट अबको प्राथमिकतामा हुनुपर्छ,’ चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । भेटमा अध्यक्ष मल्लले नेपालमा सूचना प्रविधिसँग सम्बन्धित बहुराष्ट्रिय कम्पनीलाई आकर्षण गर्न सकिए युवाले रोजगारी प्राप्त गर्न सक्ने र यसले अर्थतन्त्रमा पनि टेवा पुग्ने बताए । मूल्य अभिवृद्धि करमा बहुदर प्रणाली लागू गरी आम उपभोग्य वस्तु र बिलासिताका वस्तुमा फरक दर कायम गर्न चेम्बरले अर्थमन्त्रीसमक्ष आग्रह गरेको छ । भेटका क्रममा अर्थमन्त्री पुनले निजी क्षेत्रको मनोबल खस्किन नदिने गरी काम गर्ने सरकारको नीति रहेको बताए । ‘अर्थतन्त्र शिथिलताबाट गुज्रिरहेको छ, यस्तो अवस्थामा निजी क्षेत्रलाई सँगै लिएर जान प्रधानमनन्त्रीको पनि निर्देशन छ, सोही अनुसार वातावरण बनाउने मेरो प्रयत्न रहनेछ,’ उनले भने । निजी क्षेत्रलाई आतंकित गर्ने गरी सरकारबाट कुनै पनि काम नहुने उनको भनाइ थियो । आर्थिक अपराधलाई छुट्टै कानुन बनाएर सम्बोधन गर्ने तयारी भइरहेको अर्थमन्त्री पुनले जानकारी दिएको विज्ञप्तिमा जनाइएको छ ।

नेपाल लाइफद्वारा एएमएल र सीएफटी सम्बन्धी तालिम सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०७५ को दफा १५ को नियम अनुसार सञ्चालक समितिका सदस्य तथा विभागीय प्रमुखहरूलाई एएमएल र सीएफटी सम्बन्धी तालिम प्रदान गरेको छ । शनिबार धुलिखेलस्थित सोल्टी वेस्टइन्ड रिसोर्टमा सम्पन्न भएको उक्त कार्यक्रममा सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय संस्थाबाट हुनसक्ने समस्या तथा त्यसका समाधानहरूको बारेमा प्रशिक्षण प्रदान गरिएको थियो । उक्त कार्यक्रममा पछिल्लो समय नेपालको पारस्परिक मूल्याकंन प्रतिवेदनले इन्स्योरेन्स क्षेत्रसँग सम्बन्धित उठान गरेका विषयहरू र अवलम्बन गर्नुपर्ने रणनितिको बारेमा प्रकाश पारिएको थियो । सम्पत्ति शुद्धिकरण ऐनले सञ्चालक समितिको काम कर्तव्य र अधिकारकोे बारेमा गरेको व्यवस्था प्रकाश पार्नुका साथसाथै त्यसलाई कार्यान्वयन गर्न कसरी अगाडि बढ्ने भन्ने विषयमा गम्भीरतापूर्वक छलफल गरिएको थियो । कम्पनीले एएमएल र सीएफटी सम्बन्धी संस्थामा चाल्नुपर्ने कदमहरु तथा त्यसलाई कार्यान्वयन गर्नका निम्ति अवलम्बन गर्नुपर्ने पद्धति, प्रक्रिया, नीति नियम तर्जुमा गरी त्यसलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्न संस्थाको के कस्तो भूमिका हुन्छ भन्ने बारेमा पनि प्रशिक्षकले प्रकाश पारेका थिए । सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसँग नेपालमा घटित कसुरका र उक्त कसुरहरुबाट प्राप्त भएका सिकाईहरूले आगामी दिनमा त्यस्ता घटनाहरु न्यूनीकरण गर्नका निम्ति कम्पनीलाई सहज हुनेमा कम्पनी विश्वस्त रहेको छ । सोही कार्यक्रममा सम्पत्ति शुद्धिकरण सम्बन्धमा अन्तर्राष्ट्रिय स्तरमा भएका असल अभ्यासहरू र त्यसबाट स्थापित अवधारणाहरूको आधारमा नेपालमा सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन तथा नियमहरू तर्जुमा गरिएको र त्यसको अक्षरस पालना गर्नका निम्ति र मुलुकलाई आपराधिक र आतंकवादी गतिविधिहरूबाट जोगाई एक समृद्ध समुन्नत राष्ट्र निर्माण गर्न हामी सबैको जिम्मेवारी रहेको र त्यो जिम्मेवारी बोध गर्दै अग्रपंक्तिमा लम्कन नेपाल लाइफ तयार रहेको कुरा यस कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोबिन्द लाल संघईले प्रतिबद्धता व्यक्त गरे । नेपालमा बनेका नीति नियमहरूको अक्षरस पालना गर्न सकिएमा वित्तीय अपराधहरू न्यूनीकरण हुनेमा आफू विश्वस्त रहेको र कानुनी प्रावधानहरूको बारेमा जानकारी प्रदान गर्ने अभिप्रायका साथ नै यस तालिमको आयोजना गरिएको व्यहोरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए ।

राष्ट्र बैंकका निर्देशक आचार्य बर्खास्त, भन्छन्- धेरै खुशी छु

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्देशक थानेश्वर आचार्यलाई पदबाट बर्खास्त गरेको छ । राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले आचार्यलाई बर्खास्त गरेको हाे । राष्ट्र बैंक स्रोतका अनुसार आचार्यलाई बर्खास्त गरेकाे निर्णय गभर्नरको कार्यालयलाई पठाएकाे छ । जनशक्ति विभागले निर्णय गरेर नै पठाएको हुँदा आजदेखी नै लागू हुने गरी आचार्यलाई बर्खास्त गरिएकाे हाे । भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको पत्रमा उल्लेख छ । पदबाट हटाइए पनि उनले पाउने सेवा सुविधा भने पाउने छन् । ‘अयोग्य नठहरिने गरी निर्णय भएकाले सेवा सुविधा पाउनु हुन्छ, नियमअनुसार पेन्सन लगायतका सुविधा पाउनु हुन्छ,’ राष्ट्र बैंक स्रोतले भन्यो । आफूलाई बर्खास्त गरेको हल्ला सुनेको थानेश्वर आचार्यले बताए । उनका अनुसार अहिलेसम्म उनले पत्र भने पाएका छैनन् । ‘आधिकारिक हेर्न र बुझ्न पाएको छैन, यदि त्यस्तो भएपनि म खुसी नै छु,’ उनले भने । गत पुस २७ गते राष्ट्र बैंकले नगरकोटस्थित एक होटलमा आयोजना गरेको कार्यक्रममा आचार्यले महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप छ ।

बाँसबारीको सम्पत्ति लिलामी प्रकृयाबाट लिएका हौं : बिनोद चौधरी

फाइल तस्बिर काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा उद्योगी बिनोद चौधरी पछिल्लो समयमा विवादित बनेको बाँसबारी छालाजुत्ताको जग्गा लिलामी प्रकृयाबाट लिएका लिएको बताएका छन् । उनले सोमबार प्रतिनिधिसभामा बोल्दै सो सम्पत्तिमा आफूलाई अनावश्यक विवादमा ताकेको टिप्पणी समेत गरेका छन् । ‘बाँसबारी छालाजुत्ता कारखाना लि. सँगै च्याम्पियन, फुटवेयर लि. मा कारखानाको नाममा रहेको २५ प्रतिशत शेयर समेत लिलामी मार्फत विक्री गर्ने तत्कालीन सरकारको निर्णयानुसार लिलामीको दोस्रो सूचनामा उत्कृष्ट प्रस्ताव पेश गर्ने प्रचलित निजीकरण सम्बन्धी कानून बमोजिम हस्तान्तरण गर्ने निर्णय राज्यबाट भएको हो’, यो सम्पत्तीसँग मेरो सरोकार नभएको कुरा पनि म यहाँ राख्न चाहान्छु’, चौधरीले भने । सरकार आफैले चलाईरहेका उद्योगहरूको संचालनमा व्यहोर्नु परेको आर्थिक भारलाई क्रमशः घटाउँदै लैजाने उद्देश्यले प्रथम चरणमा बाँसबारी छालाजुत्ता कारखाना, भृकुटी कागज कारखाना र हरिसिद्धि इटाटायल कारखाना गरी तीनवटा सरकारी उद्योगको निजीकरण गर्ने निर्णय सरकारले गरेको उनले बताए । चौधरीले आफू नेपाललाई आर्थिक रुपमा सम्पन्न बनाउने अभियानमा रहेको भन्दै नितान्त आर्थिक विषयलाई राजनीतिकरण गर्न खोजिएकोमा दुःख लागेको समेत बताएका छन् । ‘म विगत ४५ बर्षदेखि नेपाललाई आर्थिक रुपमा सम्पन्न बनाउने अभियानमा सक्रियतापूर्वक क्रियाशिल छु, नेपाललाई आर्थिक रूपमा सम्पन्न बनाई विश्वमा नेपालको गौरव बढाउन सकिन्छ भन्नेमा गहिरो विश्वासले गर्दा मलाई यो बाटोमा डोर्याइरहेको छ, म आफ्नो उद्यम व्यवसायका माध्यमद्वारा होस् वा निजी क्षेत्रका नेतृत्वदायी सस्था नेपाल उद्योग बाणिज्य महासंघ र नेपाल उद्योग परिसंघको अध्यक्षका रुपमा वा राजनीतिका माध्यमद्वारा, मेरो एकमात्र उदेश्य नेपाललाई आर्थिक रुपमा सम्पन्न मुलुकका रुपमा स्थापित गर्नु हो’, उनले भने, ‘मैले मेरो जीवनकाल विकास केन्द्रित अभियानमा विताएको छुँ । यस्तो नितान्त आर्थिक बिषय राजनीतिक बिषय बन्नु आफैमा दुःख लाग्लो बिषय भएको मैले अनुभव गरेको छु ।’