वैदशिक रोजगारीमा बढ्यो ठगी धन्दा, आफन्त नै विचौलिया
काठमाडौं । आफन्तहरू नै विचौलिया बन्दा मोरङमा वैदेशिक रोजगारीमा जानेहरू ठगिने क्रम बढेको छ । म्यानपावरको सट्टा एजेन्टको माध्यमबाट वैदेशिक रोजगारीको प्रक्रिया अघि बढाउँदा मोरङमा ठगिने क्रम बढेको हो । सरकारले मान्यता नदिएका म्यानपावर तथा विचौलियाको माध्यमबाट वैदेशिक रोजगारको प्रक्रिया अघि बढाउँदा मोरङमा ठगिने क्रम बढ्दै गएको आप्रवासी स्रोत केन्द्र विराटनगरले जनाएको छ । केन्द्रका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को माघ मसान्तसम्म मात्रै मोरङमा वैदेशिक रोजगारीमा जाने एक सय ६ जना ठगिएका छन् । ठगिएकाहरूले मोेरङ प्रशासन तथा आप्रवासी स्रोत केन्द्रमा उजुरीसमेत दिएका छन् । जसमा हालसम्म मात्र १७ जनाले न्याय पाउँदा प्रमाणको अभावमा धेरै पीडितहरूले न्याय पाउन सकेका छैनन् । आप्रवासी श्रोत केन्द्र, मोरङका संयोजक दीपक राउतले चालु आर्थिक वर्ष २०८०/०८१ को माघ मसान्तसम्म ठगी सम्बन्धी १०६ वटा केस प्राप्त भएको बताए । उनले १७ वटा समाधान भएको र त्यसबाट प्राप्त रकम १ करोड १३ लाख ४३ हजार ५ सय रहेको बताए । वैदेशिक रोजगारीमा जानेहरूलाई उचित परामर्शका लागि नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आप्रवासी स्रोत केन्द्र स्थापना गरेको छ । प्रत्येक जिल्ला प्रशासन कार्यालयमा केन्द्रको सहायता कक्ष राखिएको छ । सहायता कक्षबाट वैदेशिक रोजगारीमा जानेहरूलाई निःशुल्क परामर्श, आवश्यक कानूनी सहायता र सीपमुलक तालिमसमेत उपलब्ध गराउने गरिएको छ । यद्यपि, आफन्त तथा विचौलियाको लहलहैमा लागेर ठगिने क्रम बढेको परामर्शकर्ताहरू बताउँछन् । आप्रवासी केन्द्र मोरङका परामर्श कर्ता सरोजकुमार खनालले वैदेशिक रोजगारीमा ठगीमा पर्ने र विदेश गइसकेपछि ठगीमा पर्नेहरुलाई पनि केन्द्रले सहजीकरण गरेर घर फर्काउने काम गरेको बताए । वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई केन्द्रले निःशुल्क सीप तालिम दिने गरेको बताए । अघिल्ला वर्षहरूमा खाडी मुलुकसँग सम्बन्धित ठगिएका घटनाहरू बढी आउने गरेका थिए । तर पछिल्लो समय युरोपियन मुलुकहरूमा पठाउनेहरूबाट पनि ठगी भएको भन्दै उजुरी प्राप्त हुन थालेको छ । मलेसिया, साउदी, दुबई, माल्टा र रोमानियाका साथै पछिल्लो समय क्यानाडा, अस्ट्रेलिया, पोल्याण्ड र जापान पठाउनेहरूले पनि ठगी गर्ने गरेको घटना बाहिर आउन थालेको मोरङ प्रशासनले जनाएको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले अहिले धेरै नै युवापुस्ताहरु ठगिएको बताए । उनले अहिले जापान पठाइदिन्छु भनेर उतै बसेको मानिसले नेपालमा एजेण्टमार्फत पैसा लिएर ठग्ने गरेको पाइएको बताए । वैदेशिक रोजगारीमा जानेहरू ठगिने क्रम बढेपछि मोरङ प्रशासनले सरकारद्वारा मान्यताप्राप्त म्यानपावरबाट मात्रै प्रक्रिया अघि बढाउन आग्रह गरेको छ । म्यानपावर र वैदेशिक रोजगारीसँग सम्बन्धित सम्पूर्ण जानकारी वैदेशिक रोजगार विभागको वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ ।
पर्वतको पैंयुँ गाउँपालिकाले बाँदर धपाउन कर्मचारी नियुक्त गर्ने
पर्वत । जिल्लाका केही भागमा बाँदर आतङ्क बढेपछि दक्षिण पर्वतको पैंयुँ गाउँपालिकाले बाँदर धपाउन कर्मचारी नियुक्त गर्ने भएको छ । गाउँपालिकाका सातवटै वडामा बाँदरको आतङ्क बढेपछि कर्मचारी नै नियुक्त गरेर बाली जोगाउन प्रयास थालिएको हो । पैंयुँ गाउँपालिकाको सोमबार सम्पन्न १३औँ गाउँसभाले सातवटै वडामा बाँदर हेरालु कर्मचारी नियुक्त गर्ने निर्णय पारित गरेको प्रमुख प्रशासकीय अधिकृत राजीव रिमालले जानकारी दिए । उनका अनुसार अहिलेलाई यति नै सङ्ख्यामा कर्मचारी नियुक्त गर्ने भन्ने निर्णय नभए पनि न्यूनतम पाँच–पाँच जनाका दरले कर्मचारी राख्ने तयारी भएको छ । हरेक वडामा पाँच जनाका दरले ३५ कर्मचारी नियुक्त गर्ने, उनीहरूलाई सेवासुविधा के–कति निर्धारण गर्ने भन्ने विषयमा कार्यपालिकाको बैठकले निर्णय गर्नेछ । केही वर्षअघिदेखि बाँदर नियन्त्रणका लागि सबै वडाका खेतीयोग्य जमिन र बस्ती वरिपरिका रुख कटान अभियान थालिएको भए पनि नियन्त्रण हुन नसकेपछि कर्मचारी नै नियुक्त गरेर बाँदर धपाइने गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिए । बाँदर नियन्त्रण योजना कार्यान्वयन गर्न चालु आर्थिक वर्षमा पालिकाले सात लाख रुपैयाँ विनियोजन गरेको छ । तेह्रौँ गाउँसभाले बाँदर नियन्त्रणसँगै राँगा पाल्ने किसानलाई जनही २० लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको छ । पछिल्लो समय रैथाने जातका लिमे र पाराकोटे भैँसी लोप हुँदै गएपछि राँगा पाल्न प्रेरित गर्ने उद्देश्यले अनुदान दिने निर्णय भएको अध्यक्ष ठकुरीले बताए । यसैगरी सरकारले कक्षा ५ सम्म दिने दिवाखाजा कार्यक्रमलाई पैंयुँ गाउँपालिकाले कक्षा ६ सम्म विस्तार गर्ने निर्णय गरेको छभने पालिकास्तरीय चिस्यान केन्द्र सञ्चालन गरिने भएको छ । कक्षा ८ को पालिकास्तरीय परीक्षालाई ‘एसइई’ ढाँचामा सञ्चालन गर्ने निर्णय भएको छ । रासस
नेपाल प्रहरीले दुई जना भारतीयलाई हान्यो गोली
काठमाडौं । नेपाल प्रहरीले दुई भारतीय नागरीक .माथि गोली प्रहार गरेको छ । मोस्टवान्टेड सूचीमा रहेका दुई जना भारतीय नागरिकलाई सर्लाही प्रहरीले गोली हानेर पक्राउ गरेको हो । बरहथवा नगरपालिका- ६ मा डेरा गरी बसिरहेका भारत बिहार सीतामढी सैयाराग्राम बस्ने २८ वर्षीय सन्नीकुमार सिंह र मोतीहारी गंगापिपरा बस्ने २४ वर्षीय जितेन्द्र राउतलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट ९ एमएम प्रिस्टन एक राउन्ड फायर र म्यागजिन पनि बरामद भएको प्रहरीले जनाएको छ । गोली लागेर घाइते जितेन्द्रको उपचार प्रादेशिक अस्पताल मलंगवामा भइरहेको छ । उनका दुबै खुट्टामा गोली लागेको छ । प्रहरी स्रोतका अनुसार भारतमा उनीहरु कयौं हत्या र चोरी लगायत अपराधमा संलग्न रहेको बुझिएको छ ।
एमाले कञ्चनपुर अध्यक्षमा लक्ष्मी बुढा सर्वसम्मत
महेन्द्रनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनबाट लक्ष्मी बुढा अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् । यसअघि कार्यवाहक अध्यक्ष रहेका बुढालाई नवौँ अधिवेशले सर्वसम्मत अध्यक्ष बनाएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा अध्यक्षसहित पदाधिकारीहरूले सोमबार राति पद तथा गोपनियताको शपथ लिएका छन् । निर्वाचनका बेला बनाइएको अध्यक्षमण्डलले पदाधिकारीमा आकाङ्क्षी सबै उम्मेदरवारसित छलफल गरेर जिल्ला नेतृत्वसहित पदाधिकारी सर्वसम्मत निर्वाचित गरेको हो । त्यस अवसरमा अध्यक्ष ओलीले पार्टीको ‘मिसन–८४’ का लागि जिल्ला नेतृत्वलाई केन्द्रित गर्न निर्देशन दिए । सबैले पार्टीलाई बलियो बनाउन जोड दिनुपर्ने बताउँदै उनले गुटबन्दीबाट मुक्तभएरक काम गर्न आग्रह गरे । गत बिहीबार नवौँ जिल्ला अधिवेशन अध्यक्ष ओलीले नै उद्घाटन गरेका थिए ।
डेङ्गुविरुद्ध सचेतना : ‘खोज र नष्ट गर’ अभियान
दमौली । तनहुँको व्यास नगरपालिकाले डेङ्गुबारेमा स्थानीयलाई सचेत तुल्याउँदै लागि ‘खोज र नष्ट गर’ अभियान थालनी गर्न लागेको छ । गर्मी याम सुरु भएसँगै डेङ्गुको फैलने भएकाले नगरपालिकाले खोज र नष्ट गर अभियान सुरु गर्न लागेको हो । नगरपालिकाको स्वास्थ्य शाखाले १४ वटै वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक तथा संस्थागत विद्यालय, टोल विकास संस्थालाई परिपत्र गर्दै अभियान सञ्चालनका लागि निर्देशन दिएको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले राससलाई जानकारी दिए । गत वर्ष नगरभित्रका सबै वडाका क्षेत्रमा डेङ्गु ज्वरोको सङ्क्रमण फैली जनस्वास्थ्य समस्याको रूपमा रहेको विदितै रहेकाले यस वर्ष पूर्वतयारी अपनाउन आवश्यक रहेको सोतीले बताए । जनधनको समेत क्षति भयो । वर्षायाम सुरु हुनु अगावै सजगता अपनाउनुपर्ने भएकाले डेङ्गु ज्वरो लाग्न नदिन पूर्वतयारी, रोकथाम तथा लामखुट्टे नियन्त्रणमा प्रभावकारी कार्य समयमा सञ्चालन गरी नागरिकको स्वास्थ्य सुरक्षाका लागि प्राथमिकतामा राख्नुपर्ने अहिलेको आवश्यकता रहेको सोतीको भनाइ छ । सोतीले भने, ‘यस रोगको रोकथाम, नियन्त्रण र न्यूनीकरणका लागि सरोकारवालासँग समन्वय गरी जनस्तरसम्म सचेतनाका क्रियाकलाप गरी लामखुट्टेको बासस्थान र फूल पार्ने ठाउँ खोजी गरी लार्भा नष्ट गर्न खोज र नष्ट गर अभियान सञ्चालन गरिनेछ ।’ अभियानका क्रममा आ–आफ्नो घर वरपर सरसफाइ गरी पानी जम्न नदिने, खाडल पुर्ने र टिनका डब्बा, टायर, गमला, फूलदानी, बाल्टीमा पानी जम्न नदिने अभियान सञ्चालन गरिने सोतीले जानकारी दिए । त्यस्तै बिहान र साँझपख यो रोगको लामखुट्टे बढी सक्रिय हुने र टोक्ने हुँदा सकेसम्म घरबाहिर खेतबारी, हाँस, सुङ्गुर, बङ्गुर फार्ममा ननिस्कन आग्रह गरिएको छ । स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले गत गर्मी महिनाको डेङ्क्रमणको अवस्थालाई ध्यानमा राखेर सबै स्थानीय तहले पूर्वतयारी थाल्नुपर्ने बताए । एक्कासी तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसको साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांशपेसी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण हुन् । रासस
शुक्लाफाँटाका बेरोजगारलाई सय दिनको रोजगारी
कञ्चनपुर । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत शुक्लाफाँटा नगरपालिकामा ५९ जनालाई सय दिनको रोजगारी उपलब्ध गराइएको छ । कार्यक्रमअन्तर्गत रोजगारीका लागि तीन सय ९० महिला र ७३ पुरुष गरी चार सय ६३ जना सूचीकृत भएका छन् । सूचीकृत भएकामध्ये ५९ जनालाई रोजगारीमा संलग्न गराइएको हो । नगरपालिकाको रोजगार शाखाका प्रमुख कृष्ण भट्टका अनुसार युवा रोजगारीका लागि रुपान्तरण पहलअन्तर्गत ३४ र कामका लागि परिश्रममा आधारित सामुदायिक आयोजनाअन्तर्गत २५ जनालाई रोजगारी उपलब्ध गराइएको छ । रोजगारीमा संलग्न ५९ जनामा ९५ प्रतिशत महिला छन् । चालु आर्थिक वर्षका स्वीकृत ६० वटा आयोजनामध्ये १८ आयोजनालाई कार्यान्वयनमा ल्याई नगरपालिकाका बेरोजगारहरूलाई रोजगारीमा संलग्न गराइएको शाखा प्रमुख भट्टले बताए । ‘कार्यक्रमको मापदण्डअनुरुप दैनिक ६ सय २८ रुपैयाँ न्यूनतम पारिश्रमिक दिने गरी सय दिनको रोजगारी उपलब्ध गराएका छौँ,’ उनले भने, ‘रोजगारीका लागि सूचीकृत भएकामध्ये दलित, आदिवासी जनजाति, गरिबीको रेखामुनि रहेका व्यक्तिलाई छनोट गरी रोजगारीमा संलग्न गराएका छौँ ।’ रोजगारीमा संलग्नलाई सम्बन्धित वडा कार्यालयको साझेदारीमा भू क्षय हुँदै गरेका क्षेत्रमा जैविक तटबन्ध निर्माण, बगैँचा निर्माण तथा वृक्षरोपण, नाली सरसफाइ तथा खोदान र नयाँ सडकको ट्रयाक खोल्ने कार्यमा लगाइएको नगरपालिकाको रोजगार शाखाका प्राविधिक सहायक धिरज ऐरले बताए । ‘आर्थिक अवस्था कमजोर हुँदा मजदुरी खोज्दै हिँडनुपर्ने अवस्था थियो,’ नगरपालिकाको वडा नं ९ का दुर्गादेवी तिरुवाले भनिन्, ‘नगरपालिकाका बेरोजगारलाई सूचीकृत गर्न सूचना टाँस गरिएको देखेपछि निवेदन दियौँ, सूचीकृत भएको जानकारी पायौँ, त्यसको केही महिनामा रोजगारीमा छनोट भएको जानकारी पाइयो ।’ अहिले सय दिनको रोजगारीमा संलग्न भई काम गर्दै आएकाले अरु क्षेत्रमा मजदुरी खोज्न जानु नपरेको उनले बताइन् । ‘बाह्य क्षेत्रमा कामदारलाई दैनिक ज्यालाबापत रु पाँच सयमात्रै उपलब्ध हुने गरेको छ,’ उनले भनिन्, ‘महिला भएपछि सबैले मजदुरी दिँदैनन्, सहजरूपमा कार्यक्रमअन्तर्गत दैनिक ज्याला रु छ सय २८ पाइन थालेको छ, रोजगारी पाउँदा घरखर्च सहजरूपमा चल्न थालेपछि निकै खुसी छौँ ।’ गत आर्थिक वर्षमा नगरपालिकामा पाँच सय ७७ जना प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएकामा ८९ जनालाई छनोट गरी रोजगारीमा संलग्न गराइएको थियो ।
सामुदायिक विद्यालयका शिक्षकहरूको सरुवा रोक्का
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । हालैको मन्त्रीस्तरीय निर्णयबाट शिक्षक सरुवालाई व्यवस्थित, प्रभावकारी र वैज्ञानिक बनाउन मापदण्ड तयार गरी र आयोगका हाल जारी परीक्षा सम्पन्न भएपछि मात्रै अन्तरजिल्ला सरुवा फुकुवा गर्ने निर्णय भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिए । रासस
कथाकार परशु प्रधानको निधन
काठमाडौं । साहित्यकार तथा कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ । उनको हिजो राति आफ्नै निवासमा निधन भएको उनका छोरा प्रतीक प्रधानले जानकारी दिए । स्वर्गीय प्रधानका दुई छोरा र दुई छोरी छन् । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ । स्वर्गीय प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविताबाट साहित्यिक यात्रा आरम्भ गरेका थिए । उनका ‘वक्ररेखा, फेरी आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरू, यौटा क्रान्तिपुरुषको जन्म, कथा र रचनागर्भ, उत्तरार्द्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्रधानका उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनिया’ कथा सङ्ग्रह प्रकाशित कृति हुन् ।