पहिलो कारोबारमै १० प्रतिशतले बढ्यो सर्वोत्तम सिमेन्टको सेयर मूल्य, प्रतिकित्ता कति ?
काठमाडौं । मंगलबार सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । दोश्रो बजारमा कारोबार शुरु भएको पहिलो दिनमै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको हो । मंगलबारको नियमित कारोबार खुल्न नपाउँदै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६११.६० रुपैयाँ पुगेको छ । जुन नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले तोकिदिएको अधिकतम मूल्यको तुलनामा प्रतिकित्ता ५५.६० रुपैयाँ बढी हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता १८५.३६ रुपैयाँ र अधिकतम ५५६.०८ रुपैयाँ तोकेको थियो । यससँगै कम्पनीको पहिलो कारोबार अधिकतम मूल्यबाट सुरु भएको थियो । हालै आईपीओ निष्काशन गरी बाँडफाँड गरेको कम्पनीको सेयर हिजो अर्थात चैत ५ गतेमात्रै नेप्सेमा सूचीकृत भएको थियो । कम्पनीको संस्थापक र साधारण गरी कूल ४ करोड ६५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । दोश्रो बजारमा सेयर कारोबारको लागि कम्पनीको सिम्बोल ‘एसएआरबीटीएम’ दिइएको छ ।
मंगलबार प्रतितोला ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला सात सय रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख २५ हजार दुई सय रुपैयाँ कायम भएको छ । सोमबार छापावाला सुन प्रतितोला एक लाख २४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजावी सुन पनि प्रतितोला सात सय रुपैयाँले बृद्धि भएको छ । महासङ्घले आजका लागि तेजावी सुन प्रतितोला एक लाख २४ हजार छ सय रुपैयाँ कायम गरेको छ । सोमबार तेजावी सुन प्रतितोला एक लाख २३ हजार नौ सय रुपैयाँ मूल्यमा कारोबार भएको थियो । यसैगरी, चाँदीको मूल्यमा सामान्य बृद्धि भएको छ । सोमबार प्रतितोला एक हजार पाँच सय २० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि एक हजार पाँच सय २५ रुपैयाँ निर्धारण भएको छ ।
स्वदेशी जुत्ताचप्पल बजार हिस्सा ७० बाट ४५ प्रतिशतमा ओर्लियो, यसरी हुँदैछ धराशायी
काठमाडौं । स्वदेशी जुत्ताचप्पल उद्योगले बिस्तारै उचाइ लिइरहेका बेला पछिल्लो समय यो क्षेत्रमा खासै सुखद संकेत देखिएका छैनन् । कोरोना महामारीपछि घिटिघिटी चलिरहेको जुत्ताचप्पल उद्योगमा पछिल्लो समय अर्को कालो बादल मडारिइरहेको छ । यसबाट उद्योगी तथा व्यवसायी चिन्तित हुनु स्वाभाविक हो, तर ठूलो परिमाणमा गरिएको लगानी डुब्ला भन्ने ठूलो चिन्ताले उनीहरूको मनमा घर गरिरहेको छ । आखिर स्वदेशी जुत्ताचप्पल उद्योगमा त्यस्तो के आपत आइलाग्यो जसले सबै क्षेत्र नै धराशयी हुने अवस्था सिर्जना भयो त ? जुत्ताचप्पल उद्योगलाई धेरै रोजगारी सिर्जना गर्ने क्षेत्रमध्ये एक मानिन्छ । तर, पछिल्लो पटक सस्तो कच्चापदार्थ प्रयोग गरी उत्पादन गरिएका सस्ता विदेशी जुत्ता र चोरीपैठारी गरी ल्याइएका जुत्ताचप्पलले स्वदेशी उत्पादन आधाभन्दा बढी कब्जा गरिसकेको छ । यसबारे तथ्यांकसहित चर्चा गरौं । हाल नेपालमा १ हजार ५ सयभन्दा बढी जुत्ताचप्पल उद्योग सञ्चालनमा छन् । यी सबै उद्योगमा ३० अर्ब रुपैयाँभन्दा धेरै लगानी रहेको नेपाल जुत्ता उत्पादक संघले जनाएको छ । संघका अनुसार यी उद्योगको वार्षिक करिब १५ करोड जोर जुत्ताचप्पल उत्पादन गर्ने क्षमता छ । तर, यी उद्योगले मागको आधा मात्रै उत्पादन गर्छन् । हाल नेपालमा जुत्ताको कुल माग ९ करोड जोर छ, तर उत्पादन भने साढे ६ करोड जोर मात्रै हुन्छ । आगामी वर्षसम्म यो माग बढेर वार्षिक ११ करोड जोर पुग्ने देखिन्छ । साढे ४ करोड आयातित जुत्ता खपत हुन्छन् । जुत्ता उत्पादक संघको बजार अनुसन्धान अनुसार कोभिड महामारीअघि औसत नेपालीले वर्षमा २.७ जोर जुत्ता किन्ने गरेको थिए । संघले गरेको सर्वेक्षणअनुसार बजारमा बस्ने महिलाले १०/१२ जोर जुत्ताचप्पल वर्षमा लगाउँछन् । पुरुषले ५ देखि ६ जोर लगाउँछन् । २ देखि ३ जोर जुत्ता पहाडमा लगाइन्छ । औसतमा एक जनाले ३.४५ जोर जुत्ता लगाउँछन् । कोभिडपछि नेपाली युवाको विदेश पलायनले जुत्ता व्यवसायीका ग्राहक घटे र पछिल्लो समय तस्करी र कम लागतका उत्पादन बढेको तथा तस्करी भएकाले पनि जुत्ता बजार खस्किँदै गएको व्यवसायीहरू बताउँछन् । २०७२ को भूकम्पअघि जुत्ता उद्योगको यस्तो अवस्था नभएको व्यवसायीहरूको अनुभव छ । त्यतिबेलासम्म जुत्ताचप्पल व्यवसायले ७० प्रतिशतसम्म बजार हिस्सा ओगटेको थियो भने निर्यात पनि बढ्दै गइरहेको थियो । तर, भूकम्पछि उद्योगहरूको अवस्था कमजोर बन्दै गइरहेको छ । त्यसलगत्तै पनि विभिन्न विपत्ति आइपरे । नाकाबन्दी, भारतीय नोटबन्दी तथा कोरोना भाइरस महामारीले पनि व्यवसाय खस्काउँदै लग्यो । अहिले भने बढेको चोरीपैठारीले यो क्षेत्रको अवस्था नाजुक बनाएको छ । वर्तमान अवस्थामा त उद्योगहरूलाई पहिलाको उत्पादन कायम राख्नसमेत गाह्रो छ । अहिले ७० प्रतिशत बजार हिस्साबाट खस्किँदै गएर ४५ प्रतिशतमा झरेको छ । नेपालमा जुत्ताचप्पल बनाउनका लागि पनि कच्चापदार्थ सिंगापुर, चीन, मलेसिया र भारतबाट आयात हुने गरेको छ । नेपालमा बनेका जुत्ताचप्पल खाडीलगायत युरोपका १९ देशमा निर्यात हुन्छन् । जुत्ताचप्पल उद्योगको सरकारी तथ्यांक भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७९/८० मा ९० करोड रुपैयाँको जुत्ताचप्पल आयात भएको थियो भने ५ करोड रुपैयाँको निर्यात भयो । यस्तै २०७८/७९ मा ८ अर्ब ६९ करोड रुपैयाँको आयात हुँदा १ अर्ब १३ करोड रुपैयाँको निर्यात भएको छ । २०७७/७८ मा ६ अर्ब ७७ करोड रुपैयाँको जुत्ताचप्पल आयात हुँदा ८० करोडको निर्यात भएको छ । यसैगरी २०७६/७७ मा ५ अर्ब ५७ करोड रुपैयाँको आयात भएको छ भने ८० करोडको निर्यात भएको छ र २०७५/७६ मा ७ अर्ब ८४ करोडको जुत्ताचप्पल आयात हुँदा ९४ करोड रुपैयाँको निर्यात भएको थियो । चोरीपैठारीले कसरी पारिरहेको छ समस्या ? जुत्ता उत्पादक संघका उपाध्यक्ष रुद्र न्यौपाने वार्षिक साढे दुई करोड जोर जुत्ताचप्पल चोरीपैठारीबाट भित्रिने बताउँछन् । यसको अर्थ ५० प्रतिशत जुत्ताचप्पल चोरी पैठारीबाट स्वदेश छिरिरहेका छन् । यसबाट करिब ६ अर्ब रुपैयाँबराबर राजस्व गुमेको उनी बताउँछन् । उनका अनुसार १ करोड ७५ लाख जोर भन्सारबाट आउँछ । क्षमताका हिसाबले उद्योग चले भने स्वदेशी उद्योगहरूले नै यो माग धान्न सक्छन् । ‘देशको माग धान्न सक्ने गरी नेपालमा जुत्ताचप्पल उत्पादन गर्न सक्ने क्षमता विकास भइसकेको छ,’ उनी भन्छन्, ‘अनियन्त्रितरूपमा खुला सीमाबाट चोरीपैठारीका कारण नेपाली व्यवसायी मारमा परेका छन् ।’ नेपाली जुत्ताचप्पल व्यवसायलाई चोरीपैठारीले आक्रान्त पारेको उनी बताउँछन् । ‘अहिले पनि हामी धेरै मिहिनेत गरेर ६० देखि ७० प्रतिशत आत्मनिर्भर बन्न पुगेका छौं,’ उनी भन्छन्, ‘चोरी पैठारीले गर्दा ७० मा पुगेका हामी ४० मा ओर्लन्छौं, रोइकराई गरेर सरकार गुहारेपछि केही नियन्त्रणमा आयो भने पनि केही समयपछि त्यही अवस्थामा पुग्छौं ।’ आजभन्दा ७/८ वर्ष अगाडि ८० देखि ९० प्रतिशत आयातित कच्चापदार्थबाट जुत्ता उत्पादनको काम गरिन्थ्यो । अहिले अधिकांश सोल नेपालमै बन्ने गरेको उनी बताउँछन् । ‘अहिले ४० प्रतिशत कच्चापदार्थ नेपाली नै खपत हुन्छ,’ उनी भन्छन्, ‘६० प्रतिशत भने अझै पनि विदेशी खपत गर्नुपर्ने बाध्यता छ, यसलाई हामीले घटाउने कोसिस गरिरहेका छौं । यसका लागि अझै २–३ वर्ष लाग्छ ।’ नेपाली उत्पादन बढ्दो क्रममा हुनुपर्नेमा घट्दो क्रममा रहेको तर चोरी पठारी बढ्दो क्रममा रहेको उपाध्यक्ष न्यौपाने बताउँछन् । ‘जुत्ता चप्पपलकै मात्र कुरा नगरी अन्य वस्तुकै पनि चोरीपैठारी बढिरहेको छ,’ उनी भन्छन्, ‘सरकारले यसमा पूर्णरूपमै बेवास्ता गरेको छ, यसका लागि हामीले गृह मन्त्रालयमा पनि फलोअप गरिरहेका छौं, अब यो घट्दै जानेछ भन्ने आशा मरिसकेको छैन ।’ स्वदेशी उद्योगबीच प्रतिस्पर्धा, लगानी र रोजगारी फुटवेयरको युग प्रतिस्पर्धी युग हो । नेपालमै पनि उद्योगीहरू प्रतिस्पर्धा गरिरहेका छन् । ‘यो प्रतिस्पर्धा चाहे गुणस्तरमा होस्, चाहे फेसन, मोडेल वा मूल्यमा होस्,’ संघका उपाध्यक्ष न्यौपाने भन्छन्, ‘प्राक्टिकल्ली हेर्ने हो भने नेपाली ब्रान्डका जुत्ताहरू विदेशीभन्दा धेरै सस्ता छन्, तर चोरीपैठारीबाट आएका जुत्ता जुन हेर्दा उस्तै देखिन्छन्, तर ती एकदमै कमसल हुन्छन्, नेपाली उत्पादनसँग उपभोक्ता धेरै खुसी छन् ।’ न्यौपाने रन सुज उद्योगका सञ्चालक पनि हुन् । रन सुजले २ सय बढीलाई रोजगारी दिएको छ । ‘हामी अत्यन्तै च्यालेन्जिङ प्रतिस्पर्धामा छौं,’ उनी भन्छन्, ‘गुणतरीय कच्चापदार्थ प्रयोग गरेर गुणस्तरीय सेवा दिनुपर्छ भन्नेमा रन सुज विश्वास गर्छ ।’ उनको कम्पनीले अहिलेको बजारको माग पूरा गर्ने गरी नयाँ डिजाइन उत्पादन गर्दै आएको छ । ट्रेकिङ जुत्ता र सेतो जुत्ताको माग बढी भएकाले त्यसअनुसार नै उत्पादन गरिरहेको उनी बताउँछन् । पहिलेजस्तो रन सुजको उत्पादन छैन । रन सुजले मासिक १ हजार जोर जुत्ता र १ हजार ५ सयदेखि १ हजार ७ सय जोर चप्पल उत्पादन गर्ने न्यौपाने बताउँछन् । यो उत्पादन भने केही वर्षअघिको तुलनामा २५ प्रतिशतले घटी हो । रन सुजको चप्पलको मूल्य ५ सयबाट सुरु हुन्छ भने जुत्ताको ६ सयबाट सुरु भएर ४ हजार ५ सय रुपैयाँसम्म पर्छ । यस्तै जुत्ता ब्रान्डमा अग्रणी शिखर सुज पनि खस्किँदै गइरहेको छ । शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईं यही अवस्था भइरहने हो भने उद्योग बन्द गर्नुपर्ने अवस्था आउने बताउँछन् । शिखर सुजले लकडाउनको अवधिमा २ करोड रुपैयाँ घाटा बेहोरेको थियो । अहिले पनि उद्योग उकास्न समस्या परिरहेको सञ्चालक प्रसाईं बताउँछन् । ‘अवस्था नाजुक नै छ,’ उनी भन्छन्, ‘तै पनि बजार बढाउन सक्दो प्रयास गरिरहेका छौं, तर नभइरहेको अवस्था छ ।’ केही वर्ष पहिले शिखर सुजमा ७ सय कर्मचारीहरू थिए । अहिले त्यो जनशक्ति घटेर ५० जना भएको छ । उत्पादन क्षमता पनि २० प्रतिशतमा झरेको प्रसाईं बताउँछन् । उनका अनुसार ब्रान्डको माग नघटेको भए पनि बजारमा अस्वस्थ प्रतिस्पर्धा र पुँजी अभावका कारण समस्या भइरहेको उनको भनाइ छ । अर्को प्रतिस्पर्धी ब्रान्ड बिएफ डियर हिलका सञ्चालक होमनाथ उपाध्याय वर्तमान अवस्थामा जुत्ता बजार सुस्त भएकाले व्यवसायीहरू पीडित भएको बताउँछन् । ‘नबिकेको भनौं भने पनि सामान उधारोमा गइरहेको छ, तर नगदमा पैसा आएको छैन, पैसा उठाउन गाह्रो भइरहेको छ,’ उनी भन्छन्, ‘पब्लिक डिमान्ड पनि एकदमै कम छ, हामीले मेला आयोजना गरेर भए पनि केही बिक्री गरिरहेका छौं ।’ बिएफ डियर हिलको दैनिक जुत्ता उत्पादन क्षमता २ हजार जोरभन्दा बढी हो, तर अहिले महिनामा ३–४ हजार जोर मात्रै उत्पादन गरिरहेको उपाध्याय बताउँछन् । ‘बजारमा सिजनअनुसार माग हुन्छ,’ उनी भन्छन्, ‘अहिले धेरै महँगो जुत्ता नबिकेको अवस्था छ, अब बजार चलायमान नभएपछि आम्दानी बढेको छैन, ग्राहक पनि अहिले धेरै खर्च गर्न नसक्ने अवस्थामा छन् ।’ नेपाली जुत्ता बजारमा चोरीपैठारी प्रमुख चुनौती बनेको उपाध्याय बताउँछन् । ‘चोरीपैठारी नियन्त्रण नभएसम्म स्वदेशी उद्योग फस्टाउने अवस्था छैन, तराईका बजारमा नेपाली जुत्ता नै जाँदैनन्, चोरीपैठारीकै जुत्ताचप्पल बिक्री भइरहेका छन्,’ उनी भन्छन्, ‘हामीले जति भन्सार तिर्छौं त्यति नै मात्रामा चोरीपैठारी गरेर आएका जुत्ता छ्याप्छ्याप्ती बजारमा पाइन्छन् ।’ जुत्ता बनाउनका लागि कच्चापदार्थ चीन र भारतबाट ल्याउने उनले बताए । जुत्ताको सोल बनाउन भने नेपाली कच्चापदार्थ नै प्रयोग हुने उनको भनाइ छ ।
४० करोडको राजस्व छली, ७९ करोड मागदाबीसहित मुद्दा
काठमाडौं । राजस्व अनुसन्धान विभागले भन्सार छली गरी झण्डै ४० करोड रुपैयाँ बराबरको मालवस्तुको चोरी पैठारी गरेको आरोपमा विभिन्न फर्म तथा व्यवसायीहरूविरुद्ध मुद्दा दायर गरेको छ । विभागले उनीहरुविरुद्ध बिगो असुल गरी बिगो बराबरको ७९ करोड रुपैयाँभन्दा बढी रकम असुल गरी हदैसम्मको कैद सजाय माग दाबीसहित उच्च अदालतमा मुद्दा दर्ता गरिएको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार सन्दीप ट्रेडर्सका मुख्य कारोबारी दयाशङ्कर चौधरी र उक्त फर्मका प्रोपाइटर विमलावती चौधरीले सबैभन्दा बढी राजस्व छली गरेको पाइएको छ । उनीहरूविरुद्ध बिगो मूल्याङ्कन गर्दा १२ करोड ८५ लाख रुपैयाँभन्दा बढी बिगोबराबरको राजस्व छली गरेको निष्कर्ष निकाल्दै बिगोबराबरको जरिवाना र हदैसम्मको कैद सजाय माग गरी सोमबार मुद्दा दर्ता गरिएको हो । उक्त ट्रेडर्सको कारोबारसम्बन्धी कागजात तथा विरणहरुको विश्लेषण गर्दा विसं २०७९ भदौ देखि २०८० भदौसम्ममा भिसिटिएस प्रणालीमा प्रविष्टी गरेको विवरणमा छ लाख ४९ हजार चार सय रुपैयाँबराबरको मालवस्तु खरिद गरेको देखिएको तर भन्सार प्रज्ञापनपत्रलगायतका अन्य विश्वसनीय स्रोत बिना नै करोडौँका मालवस्तु बिक्री गरेको देखिएको अधिकारीले बताए । उक्त ट्रेडर्सले भन्सार चोरीपैठारी गरी राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण ऐन० २०५२ को दफा ३ ले निषेध गरेको कार्य गरेको पाइएको विभागले बताएको छ । यस्तै अन्य प्रतिवादीहरु गुरु इम्पेक्सका प्रोपाइटर सीताराम रौनयार, शुभश्री इन्टरप्राइजेजका रिजवान अन्सारी, न्यु कञ्चन इन्टरप्राइजेजका मीराकुमारी श्रीवास्तव, एसपी कन्सर्नका प्रभुशङ्कर रौनियार न्यु एसकुमार इन्टरनेशनलका रामछत्री कलवारले गरेको कारोबारका सम्बन्धमा छानबिन गर्दा राहुल दुवेदीसहितका ती फर्मका प्रोपाइटरहरु तथा भारतीय नागरिकसमेतको मिलेमतो र संलग्नतामा ठूलो परिमाणको मालवस्तु भन्सार छली मालवस्तु नेपाल भित्र्याइ चोरीपैठारी गरेको पाइएको विभागको निष्कर्ष छ । विभागले प्रयोगमा ल्याएको भिसिटिएस प्रणालीमा राहुलकुमार दुवेदीले प्रविष्ट गरेको विवरण र आन्तरिक राजस्व विभागले सञ्चालन गरेको प्रणालीमा प्रविष्ट गरेको विवरणबाट प्राप्त भ्याट रिटर्न अनुसन्धान तथा विष्लेषणमा विभागले उक्त तथ्य पत्ता लगाएको हो । भन्सार छली तथा मालवस्तु चोरी पैठारीको आरोपमा विभागले राहुलकुमार दुवेदीको हकमा १७ करोड ३८ लाख रुपैयाँ, सीताराम रौनियारको हकमा एक करोड ८२ लाख रुपैयाँ, रिजवान अन्सारीको हकमा दुई करोड ११ लाख रुपैयाँ, मीराकुमारी श्रीवास्तवको हकमा दुई करोड ११ लाख रुपैयाँ, प्रभुशङ्कर रौनियारको हकमा एक करोड ७८ लाख रुपैयाँ र रामछत्री कलवारको हकमा एक करोड ७७ लाख रुपैयाँ बिगो बराबरको भन्सार छली गरेको निष्कर्षसहित मुद्दा दर्ता गरिएको विभागले जनाएको छ । रासस
उपाध्यक्ष महरा पक्राउको विषयमा माओवादी पदाधिकारी बैठकमा छलफल
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पार्टी पदाधिकारी बैठकमा पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेको विषयमा छलफल भएको छ । मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा उपाध्यक्ष महरा पक्राउ परेको सम्बन्धमा छलफल भएको हो । छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले उपाध्यक्ष महरा पक्राउ परेको विषयमा पदाधिकारी बैठकमा छलफल भएको र पार्टीले पुनः बैठक बसेर निर्णय गर्ने बताए । सुन प्रकरणमा सोमबार भैरहवाबाट उपाध्यक्ष महरालाई प्रहरीले पक्राउ गरेको थियो । काठमाडौं जिल्ला अदालतले महरालाई ४ दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति समेत दिइसकेको छ । उनले भने, ‘तपाईहरुले जान्न खोज्नुभएको उपाध्यक्ष कमरेड कृष्णबहादुर महराको बारेमा छ । हाम्रो धेरै राम्रोसँग छलफल भइरहेको छ । यसका हरेक पाटा पक्षमा हामीले गम्भीरतापूर्वक छलफल गरेका छौँ । छलफल जारी छ । छिटो भन्दा छिटो निस्कर्षमा पुग्छौँ ।’ उनले महरा पक्राउ परेको सम्बन्धमा विविध पक्षबाट छलफल भएको र पार्टीको अर्को पदाधिकारी बैठकले महराको विषयमा आधिकारिक रुपमा टुंगो लगाउने बताए ।
विद्यालयमा कृषि विकास बैंकको साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । कृषि विकास बैंकले ग्लोबल मनी वीकको पहिलो दिन वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । वागमती प्रदेश कार्यालय, गौशालाको संयोजनमा शाखा कार्यालय पाँचखालले पाँचखाल नगरपालीकामा रहेको सर्वमंगला माध्यमिक विद्यालयमा कार्यक्रम गरेको हो । कार्यक्रममा बैंकका उप महाप्रबन्धक यज्ञ प्रकाश न्यौपानेले वित्तीय साक्षताका सम्बन्धमा बैंक, बैंकका सेवाहरु, विद्युतिय बैंकिंग सेवा, कर्जा, निक्षेप, एजेन्सि सेवा लगायत अन्य विषयका सम्वन्धमा प्रकाश पारे । विद्यालयका विभिन्न कक्षामा अध्ययनरत विद्यार्थिहरुलाई बैंक खाताको महत्व, खाताबाट कारोवार गर्दा हुने फाईदा, विद्युतिय कारोवार गर्दा अपनाउनु पर्ने सावधानी, पारिवारीक खर्चको लेखापालन जस्ता विषयका सम्बन्धमा जानकारी प्रदान गरे । सन् २०१२ देखी संचालन हुदै आएको कार्याक्रमबाट सन् २०२३ मा मात्र विश्वभरीका १७६ मुलुकका ४० हजार संस्थाहरुको सम्लग्नता मार्फत १२ करोड जनसंख्या यस कार्यक्रमबाट लाभान्वित भएका छन् । बैंक तथा वित्तीय संस्था मार्फत कारोवार गरी नगद रहित समाजको सृजना गर्दै हरित मुद्राका माध्यमबाट वातावारण संरक्षणमा योगदान दिने यस कार्यक्रमको उद्धेश्य रहेको छ । कार्यक्रम सर्वमंगला माध्यमीक विद्यालयका प्रधानाध्यापक जयराम अधिकारीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा बैंकका प्रदेश निर्देशक गिरिधारी पौडेल, पाँचखाल नगरपालीका शिक्षा शाखा प्रमुख उदय प्रसाद कोइराला लगायतले बैंक मार्फत कारोवार गर्नुको फाइदाका सम्बन्धमा प्रकाश पारेका थिए ।
कुमारी बैंकले सुरु गर्याे रिकरिङ्ग निक्षेप गोल क्याल्कुलेटर
काठमाडौं । कुमारी बैंकले, आफ्नो नवीनतम डिजिटल उपकरण, रिकरिङ्ग निक्षेप क्याल्कुलेटर आफ्नो वेबसाइटमा उपलब्ध भएको घोषणा गरेको छ । कुमारी बैंकले ग्लोबल मनी वीकको १२ औँ संस्करणको अवसरमा यो सेवा सुचारु गर्न लागेको जनाएको छ । ग्लोबल मनी वीक एक विश्वव्यापी वार्षिक चेतना जगाउने अभियान हो जसले युवाहरुलाई सानै उमेर देखी आर्थिक रूपमा सचेत गराउने र वित्तीय चुनौतीहरुको पहिचान र सो समाधानका उपायहरु सिकाउने गर्दछ भने कुमारी बैंक लिमिटेड पनि यस अभियानमा जोडिएको छ । प्रयोगकर्ता अनुकूल रहेको क्याल्कुलेटरले ग्राहकहरूलाई निश्चित रिकरिङ्ग निक्षेप लगानीबाट सम्भावित प्रतिफल अनुमान गर्न र वित्तीय योजनामा अझ बढी स्पष्टताको साथ सशक्त बनाउन सहयोग गर्दछ । यस क्याल्कुलेटरले उन्नत एल्गोरिदमहरू प्रयोग गर्दछ जसको प्रयोगबाट बचतकर्ताले निक्षेपको समयावधी र रकम मात्र राखेर यसबाट निश्चित भविस्यमा जम्मा हुन सक्ने बचत, सो बचत बाट आउन सक्ने प्रतिफल र समग्र बचत वृद्धिका सम्भावनाहरु अनुमान गर्न सक्दछन् । बैंकले रिकरिङ्ग निक्षेप योजनामा जोडिन प्रोत्साहन गर्दै आएको छ भने, बैंकको वेबसाइटमा अन्य धेरै डिजिटल उपकरणहरु जस्तै इएमआइ क्याल्कुलेटरहरु पनि उपलब्ध भएको बताएको छ । रिकरिङ्ग निक्षेप क्याल्कुलेटर निः शुल्क प्रयोग गर्न तत्कालको लागी कुमारी बैंकको वेबसाइटमा जान सकिन्छ भने मोबाइल एपमा पनि यो सुविधा छिटै उपलब्ध हुने बैंकले जनाएको छ । बैंकले आफ्ना देशव्यापी ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ६५ शाखारहित बैंकिङ्ग ईकाई तथा ५१ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।
ग्लोबल मनी वीकको अवसरमा कामना सेवाको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । विश्व वित्तीय सप्ताहको अवसरमा कामना सेवा विकास बैंकले सोमबार वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने ओइसीडिीको संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने गरिन्छ । उक्त सप्ताह सोमबारदेखी सुरुवात भएको हो । नेपाल राष्ट्र बैंक द्धारा आयोजित ग्लोबल मनी वीक २०२४ अन्तर्गत कामना सेवा विकास बैंकले हल्दीबारी गाउँपालिका, झापाका लघु, उद्यमी तथा नगदेबाली उत्पादक कृषकहरुलाई लक्षित गरि वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकका कोशी प्रदेशको प्रमुख मोहन दत्त खनालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा हल्दीबारी गाउँपालिकाका अध्यक्ष, रविन्द्र प्रसाद लिङदेनको प्रमुख आतित्यथा रहेको थियो । गाउँपालिकाका उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, विभिन्न वडाका वडाध्यक्षहरुको समेत उपस्थिती रहेको उक्त कार्यक्रममा बैंकको बुधबारे शाखा प्रमुख मोदनाथ गुरागाँईले प्रस्तुतिकरण दिएका थिए । स–साना रुपमा छरिएर रहेका रकमलाई एकत्रित गरि पुँजी निर्माण गर्न सकिने, वचतको विकासले गर्दा दैनिक जिवनयापन सहज वनाउन सकिने तथा विभिन्न डिजिटल कारोवारहरु तथा यसका अवसर र चुनौतीका विषयमा प्रस्तुतिकरण गरिएको थियो । उक्त कार्यक्रममा झापा जिल्लामा विभिन्न किसीमका नगदेवाली उत्पादन सँग सम्वन्धीत १०० जना भन्दा बढी महानुभावहरुको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा वोल्दै गाउँपालिकाका अध्यक्ष लिङदेनले बैंकहरुले यस्ता वित्तीय साक्षरता कार्यक्रम गर्नाले कृषकहरुले वचत, ऋण तथा बैंकिङ कारोवारको वारेमा थप जानकारी प्राप्त गर्न सकेकोले यस्ता कार्यक्रमहरुको निरन्तरता दिनुपर्नेमा जोड दिए । हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।