४४ फरार प्रतिवादी पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका ४४ जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषा प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार आज साउन ६ गते एकै दिन विभिन्न स्थानबाट ४४ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको हो । पक्राउ परेका प्रतिवादीलाई खोजतलासका क्रममा जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी एकाइले नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए । पक्राउ परेकामध्ये सबैभन्दा बढी लागुऔषधसम्बन्धी मुद्दाका प्रतिवादी रहेका छन् । त्यस्तै चोरी, मोटरसाइकल चोरी, बहुविवाह, सवारी ज्यान, कर्तव्य ज्यान, अपहरण तथा शरीर बन्धक, लुटपाट, कुटपिट, गाली बेइज्जती र सवारी अङ्गभङ्गलगायत विभिन्न मुद्दाका फरार प्रतिवादी पनि पक्राउ परेको प्रहरी उपरीक्षक न्यौपाने बताए । पक्राउ परेका अदालतबाट छ दिनदेखि चार वर्षसम्म कैद सजाय तथा ५०० देखि एक लाख ५० हजारसम्म जरिवाना तोकिएको थियो । अदालतको फैसला कार्यान्वयन अभियानअन्तर्गत फरार प्रतिवादीलाई निरन्तर खोजी गरी पक्राउ गर्ने अभियान जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रहरी नायब उपरीक्षक न्यौपानेको भनाइ छ ।
कंगाेमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको संख्या ९९९ पुग्यो
काठमाडौं । कंगोमा फैलिएको इबोला प्रकोपबाट मृत्यु हुनेको संख्या करिब एक हजार पुगेको छ । बुधबार सार्वजनिक गरिएको आधिकारिक तथ्यांकअनुसार यस प्रकोपमा हालसम्म कम्तीमा ९९९ जनाको मृत्यु भएको छ । कंगोको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्म देशमा दुई हजार ४७३ जना संक्रमित भएका छन् भने ७३७ जना बिरामी आइसोलेसन र अस्पतालमा उपचाररत छन् । गत मे १५ मा घोषणा गरिएको यो इबोला प्रकोप हालसम्मकै तीव्र गतिमा फैलिएकोमध्ये एक भएको अधिकारीले बताएका छन् । यसपटक फैलिएको ‘बुन्डिबुग्यो’ भाइरसविरुद्ध हालसम्म स्वीकृत खोप वा उपचार विधि उपलब्ध छैन । स्वास्थ्य अधिकारीका अनुसार यस प्रकोपले विगतका ठूला इबोला प्रकोपको तुलनामा छोटो समयमै ठूलो मानवीय क्षति पु¥याएको छ । सन् २०१३/२०१६ मा पश्चिम अफ्रिकामा फैलिएको इबोला प्रकोपमा ११ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो, तर मृत्यु संख्या एक हजार पुग्न करिब आठ महिना लागेको थियो । इबोला अत्यधिक संक्रामक रोग हो, जुन संक्रमित व्यक्तिको रगत, शारीरिक तरल पदार्थलगायतको सम्पर्कबाट सर्न सक्छ । यो रोग गम्भीर प्रकृतिको हुने र धेरै अवस्थामा ज्यान जोखिममा पार्ने स्वास्थ्य विज्ञले बताएका छन् । अधिकारीले नयाँ संक्रमितमध्ये करिब ८० प्रतिशतमा संक्रमणको स्रोत अझै पहिचान हुन नसकेको बताएका छन् । यसले संक्रमण नियन्त्रण र निगरानीकार्य थप चुनौतीपूर्ण बनेको उनीहरूको भनाइ छ । प्रकोपको केन्द्रविन्दु रहेको इतुरी प्रान्तसहित प्रभावित अन्य क्षेत्रमा स्वास्थ्य टोलीले नियन्त्रण तथा उपचार प्रयास तीव्र बनाएका छन् । तर, स्वास्थ्य केन्द्र र प्रतिकार्य टोलीमाथि भएका आक्रमण तथा केही स्वास्थ्यकर्मीको आन्दोलनका कारण अभियान प्रभावित भएको छ । अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी) का महानिर्देशक डा. जीन कासेयाले घानामा आयोजित स्वास्थ्य सम्मेलनमा प्रकोप नियन्त्रणका लागि तत्काल थप प्रयास आवश्यक रहेको बताए ।
सुदूरपश्चिम रोयल्स र मार्भल टेक्नोप्लास्ट बीचको सहकार्यले पायो निरन्तरता
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र मार्भल टेक्नोप्लास्ट बीचको सहकार्यले निरन्तरता पाएको छ । मार्भल टेक्नोप्लास्ट लगातार दोस्रो वर्ष पनि टोलीको एक्सिलेन्स पार्टनर का रूपमा आबद्ध भएको हो । बुधबार आयोजित कार्यक्रममा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्का र मार्भल टेक्नोप्लास्टका उपाध्यक्ष पवन कुमार सन्चेतीले साझेदारी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापछि प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्काले दोस्रो वर्ष पनि सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताए । उनले यस साझेदारीलाई अझ सुदृढ बनाउँदै ब्रान्डिङ, बजार विस्तार तथा व्यावसायिक प्रवद्र्धनका क्षेत्रमा थप प्रभावकारी रूपमा सहकार्य गरिने विश्वास व्यक्त गरे । उनले भने, ‘मार्भल टेक्नोप्लास्टजस्ता प्रतिष्ठित ब्रान्डहरूले नेपाली क्रिकेटमा निरन्तर लगानी गरिरहेको देख्नु अत्यन्त सकारात्मक पक्ष हो । यस्ता सहकार्यले नेपाल प्रिमियर लिगलाई मात्र होइन, समग्र नेपाली क्रिकेटको विकास, व्यावसायिकता र दीर्घकालीन उन्नयनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिएका छौं ।’ मार्भल टेक्नोप्लास्टका उपाध्यक्ष पवन कुमार सन्चेतीले सुदूरपश्चिम रोयल्ससँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताउँदै टोलीलाई आगामी प्रतियोगिताका लागि शुभकामना दिए । उनले भने, ‘हामी सुदूरपश्चिम रोयल्ससँग जोडिन पाउँदा गर्व महसुस गर्छौं । टोलीलाई आगामी प्रतियोगिताका लागि सफलताको शुभकामना दिन चाहन्छौं । साथै, नेपाली क्रिकेटको समग्र विकास र सफलताको पनि कामना गर्दछौं । नेपाल प्रिमियर लिगजस्तो प्रतियोगिताले देशलाई खेलमार्फत एकताबद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्ने हाम्रो विश्वास छ । यो साझेदारीले दुवै संस्थालाई नयाँ ऊर्जा प्रदान गर्नुका साथै नेपाली खेलकुद र राष्ट्रको विकासमा समेत सकारात्मक योगदान पु¥याउनेछ ।’ एनपीएलको तेस्रो संस्करणको तयारीमा रहेको सुदूरपश्चिम रोयल्सले यसअघि पनि विभिन्न व्यावसायिक साझेदारसँगको सहकार्यलाई निरन्तर विस्तार गर्दै आएको छ । नेपाल प्रिमियर लिगका पहिलो दुई संस्करणमा उपविजेता बनेको सुदूरपश्चिम रोयल्स प्रतियोगिताकै सबैभन्दा ठूलो समर्थक (फ्यानबेस) भएको टोलीका रूपमा परिचित छ ।
स्वास्थ्यसम्बन्धी तीन महत्त्वपूर्ण ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण ऐन संशोधनका लागि तयार पारिएका विधेयकहरूको मस्यौदामा सर्वसाधारण तथा सरोकारवालासँग राय/सुझाव मागेको छ । मन्त्रालयको बुधबारको मन्त्रीस्तरीय निर्णयअनुसार आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (विक्री वितरण) नियन्त्रण ऐन,२०४९ लाई संशोधन गर्न तयार बनेको विधेयक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन,२०६६ लाई संशोधन गर्न तयार बनेको विधेयक तथा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन,२०७५ लाई संशोधन गर्न तयार बनेको विधेयकको मस्यौदा सार्वजनिक गरिएको हो । मन्त्रालयले इच्छुक व्यक्ति,स्वास्थ्यकर्मी,स्वास्थ्य संस्था तथा सम्बन्धित सरोकारवालालाई साउन १२ गतेभित्र मन्त्रालयको कानून शाखाको इमेल [email protected] मा तोकिएको ढाँचाअनुसार राय तथा सुझाव पठाउन आग्रह गरेको छ । आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (विक्री वितरण) नियन्त्रण ऐन संशोधनको मस्यौदामा स्तनपानको संरक्षण तथा प्रवर्द्धनलाई थप प्रभावकारी बनाउने व्यवस्था प्रस्ताव गरिएको छ । स्वास्थ्यकर्मीले निश्चित विशेष अवस्थाबाहेक आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु सिफारिस गर्न नपाउने,सरकारले स्तनपान व्यवस्थापन केन्द्र सञ्चालन गर्न सक्ने,प्रदेश र स्थानीय तहमा स्तनपान संरक्षण तथा सम्बर्द्धन समिति गठन गर्ने तथा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको विज्ञापन,प्रवर्द्धन र क्रस/प्रमोशनमाथि थप नियमन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । ऐन उल्लंघन गर्ने व्यक्ति वा संस्थाका लागि कैद,जरिवाना तथा क्षतिपूर्तिसम्बन्धी व्यवस्थालाई समेत थप स्पष्ट बनाइएको छ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन संशोधनको मस्यौदामा स्वास्थ्यसम्बन्धी परिषद्मा दर्ता हुने विषय अध्ययन गरिरहेका विद्यार्थीलाई पनि ऐनको संरक्षणको दायरामा समेट्ने,स्वास्थ्य संस्थामा हतियारसहित आपराधिक बल प्रदर्शन गर्न नपाइने तथा कार्यरत स्वास्थ्यकर्मीसँगै अध्ययनरत विद्यार्थीमाथि हुने हिंसा वा अवाञ्छित गतिविधिलाई कानुनी रूपमा सम्बोधन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । साथै ऐन कार्यान्वयनका लागि मन्त्रालयलाई आवश्यक निर्देशिका,कार्यविधि तथा मापदण्ड बनाउन सक्ने अधिकार दिने व्यवस्था पनि प्रस्ताव गरिएको छ । त्यसैगरी सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधनको मस्यौदामा प्रसूति सेवा दिने स्वास्थ्य संस्थाले दक्ष स्वास्थ्यकर्मी वा तालिमप्राप्त प्रसूतिकर्मीको व्यवस्था गर्नुपर्ने,सम्मानजनक प्रसूति सेवा सुनिश्चित गर्नुपर्ने तथा गर्भवती र सुत्केरी महिलामाथि हुने शारीरिक वा मानसिक हिंसालाई कानुनी रूपमा निषेध गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । मस्यौदाले प्रसूति बिदा कम्तीमा ९८ दिनबाट छ महिनासम्म पुर्याउने,सुरक्षित गर्भपतन सेवासम्बन्धी व्यवस्थालाई थप व्यवस्थित बनाउने तथा विपद्को समयमा सुरक्षित मातृत्व,आकस्मिक प्रसूति,नवजात शिशुको अत्यावश्यक सेवा,परिवार नियोजन र सुरक्षित गर्भपतन सेवालाई प्राथमिकताका साथ उपलब्ध गराउनुपर्ने व्यवस्था पनि प्रस्ताव गरेको छ । मन्त्रालयले प्राप्त राय/सुझावका आधारमा तीनै विधेयकका मस्यौदालाई आवश्यक परिमार्जन गरी थप कानुनी प्रक्रियामा अघि बढाइने जनाएको छ।
नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाले लिए शपथ
काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. भीमप्रसाद खतिवडाले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले शिक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा खतिवडालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन शाहले बुधबार (आज) खतिवडालाई उपकुलपतिमा नियुक्त गरेका थिए । मन्त्रालयका अनुसार नेपाल संस्कृत विश्वविद्यालयको रिक्त उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव पदका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा कार्यविधि, २०८३ बमोजिम खतिवडालाई उपकुलपतिमा नियुक्त गरिएको हो । नाट्य विद्यामा विद्यावारिधि गरेका खतिवडा लामो समयदेखि संस्कृत साहित्य, अध्यापन र अनुसन्धानमा सक्रिय रहँदै आएका छन् । उनी यसअघि विश्वविद्यालयको निमित्त उपकुलपति तथा शिक्षाध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । झापामा जन्मिएका खतिवडाले सुनसरीको धरानलाई कर्मथलो बनाउँदै पिण्डेश्वर विद्यापीठ तथा नेपाल संस्कृत विश्वविद्यालयको शैक्षिक विकासमा योगदान पु¥याएका छन् । संस्कृत साहित्यमा स्वर्णपदक प्राप्त उनले नेपाली विद्वान्हरूद्वारा लिखित संस्कृत कृतिमाथि अनुसन्धान गर्दै ‘दुःखान्त नाटकको दुःखान्तता सिद्धि’ विषयमा विद्यावारिधि गरेका हुन् । शपथपछि खतिवडाले विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, संस्थागत सम्पदाको संरक्षण तथा व्यवस्थापन, साथै कला, साहित्य, संस्कृति र धर्मसम्बन्धी अध्ययन-अनुसन्धानलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे । नेपाल संस्कृत विश्वविद्यालय मुलुकको दोस्रो पुरानो विश्वविद्यालयका रूपमा परिचित छ । विश्वविद्यालयमा संस्कृत भाषा, साहित्य, दर्शन, संस्कृति तथा धर्मसम्बन्धी विषयमा स्नातकदेखि विद्यावारिधिसम्म अध्ययन–अध्यापन र अनुसन्धान हुँदै आएको छ ।
पल्सर स्पोर्टस् अवार्ड भदौ १८ गते, ५ विजेतालाई बजाज मोटरसाइकल
काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना गर्ने ‘एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०८२’ को मिति घोषणा भएको छ । बुधबार मञ्चले काठमाडौंमा एक कार्यक्रम गर्दै अवार्डको २३औं संस्करण भदौ १८ गते नेपाल पुलिस क्लबको ‘द ब्लु पवेलियन’मा गर्ने घोषणा गरेको हो । अवार्डका लागि मञ्चले मुख्य प्रायोजक गोल्छा ग्रुपसँग सम्झौता पनि गरेको छ । गोल्छा ग्रुप लगातार १९औँ पटक अवार्डसँग जोडिएको हो । दुईबिच अघिल्लो वर्ष नै पाँच वर्षका लागि सम्झौता भएको थियो । जुन दोस्रो वर्षमा चलिरहेको छ । सम्झौतापत्रमा मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गरे । हस्ताक्षरपछि निर्देशक गोल्छाले लगातार अवार्डसँग जोडिन पाउँदा खुसी भएको बताउँदै नेपाली खेलकुदको स्तरवृद्धि गर्न आफूहरू निरन्तर लागिपरेको जानकारी गराए । उनले भने, ‘मञ्चसँग हामी लगातार १९ वर्ष जोडिन पाउँदा गर्व गर्छौँ । हामी खेलकुदमा लगातारसँगै हिँडिरहेका छौँ । तर, मञ्चसँगको सम्बन्ध फरक भैसकेको छ । मञ्चलाई सफलताको लागि शुभकामना ।’ मञ्चका अध्यक्ष अधिकारीले गोल्छा ग्रुपसँग लगातार हातेमालो गर्दा अवार्डलाई झनै व्यवस्थित र निरन्तरता दिन सहज भएको बताउँदै गोल्छा ग्रुपलाई धन्यवाद दिए । मञ्चका महासचिव अञ्जन खड्काले पल्सर स्पोर्टस् अवार्ड २०८२ मा नाै विधामा अवार्ड प्रदान गरिने जानकारी गराएका छन् । त्यसमा वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड रहेको छ । वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने पनि महासचिव खड्काले जानकारी गराए । यसका लागि मञ्चको खेलाडी छनोट समितिले तयारी सुरु गरिसकेको छ । मनोनयनमा पाँच–पाँचजना रहने प्रावधान छ । लाइफटाइम, स्पेसल, पारा एथलिट र एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड विधाको विजेताको घोषणा अवार्डकै दिन हुनेछ । भोटिङमार्फत हुने भएकाले पिपल्स च्वाइस विधाको मनोनयन चाँडै सार्वजनिक गरिने महासचिव खड्काले जानकारी गराएका छन् । वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा विधाका विजेतालाई पल्सर मोटरसाइकल प्रदान गरिनेछ । अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिलाई जनही एक लाख रुपैयाँ प्रदान गरिनेछ । यसैगरी, पल्सर स्पोर्टस् अवार्ड २०८२ लाई सफल बनाउन मञ्चका अध्यक्ष निरञ्जन अधिकारीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ । साथै अवार्ड कार्यक्रमका लागि विभिन्न उपसमिति गठन गरिएको छ । गत वर्ष पुरुषतर्फ क्रिकेटका दीपेन्द्रसिंह ऐरी, महिलातर्फ कराँतेकी एरिका गुरुङ, युवातर्फ क्रिकेटकी पूजा महतो र प्रशिक्षकतर्फ पारा तेक्वान्दोका कविराज नेगी लामाले अवार्ड जितेका थिए । सर्वाधिक मत ल्याएर पिपल्स च्वाइसको अवार्ड भलिबलका हिमाल सुनारीले जितेका थिए । स्पेसल अवार्डबाट तेक्वान्दोका तुलसीकुमार गुरुङ, पारा एथलिट सम्मानबाट प्रभा आङदेम्बे, एसियन स्पोर्टस् जर्नालिस्ट अवार्डबाट बंगलादेशका पत्रकार राना हसन र लाइफटाइम एचिभमेन्ट अवार्डबाट खड्ग रानाभाटलाई सम्मानित गरिएको थियो ।
मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित
काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीलाई फिफा विश्वकप २०२६ को उत्कृष्ट खेलाडी घोषित गरेको छ । विश्वभरका १२१ देशका ४७२ खेल पत्रकारको सहभागितामा गरेको मतदानको आधारमा मेस्सीले उत्कृष्ट खेलाडी घोषित भएको एआईपीएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले बताए । जसमा मेस्सीले कुल एक हजार १७९ अंक प्राप्त गर्दै फ्रान्सका किलियन एम्बाप्पे (७१७ अंक) र इङ्ल्यान्डका जुड बेलिंघम (४७० अंक) लाई पछि पारेका थिए । एआईपीएसले आयोजना गरेको मतदानमा एआईपीएस कार्डधारी खेल पत्रकारहरू तथा एआईपीएस विश्वकप हटलाइन कार्यक्रममा सहभागी विश्वभरका पत्रकारहरू मतदाता रहेका थिए। उनीहरूले विश्वकपका उत्कृष्ट तीन खेलाडीलाई प्राथमिकताको आधारमा छनोट गरेका हुन् । मतदान प्रणालीअनुसार पहिलो स्थानका खेलाडीले पाँच अंक, दोस्रो स्थानले तीन अंक र तेस्रो स्थानले एक अंक प्राप्त गरेका थिए। जुलाई १३ मा सार्वजनिक गरिएको अन्तिम सूचीमा २० खेलाडी समावेश थिए । विश्वभरका खेल पत्रकारहरूको मतका आधारमा लियोनल मेस्सीलाई फिफा विश्वकप २०२६ को एआईपीएस उत्कृष्ट खेलाडी घोषित गरिएको हो । लियोनल मेस्सी उनन्चालीस वर्षीय मेस्सी विश्वकपको इतिहासमा ६ संस्करण खेल्ने तीन खेलाडीमध्ये एक बन्दै २०२६ को विश्वकपमा सहभागी भएका थिए । लगातार दोस्रो विश्वकप उपाधिबाट उनी एक जितले मात्र टाढा रहे पनि उनले आफ्नो उमेरलाई चुनौती दिने अद्भुत प्रदर्शनमार्फत विश्व फुटबललाई फेरि एकपटक मोहित बनाउन सफल भए । विश्वकपको फाइनलमा स्पेनसँगको हारपछि मेस्सी निकै भावुक बनेका थिए । अर्जेन्टिनी समर्थकहरूले उनको नाम गुञ्जाइरहँदा उनी आँसुमा डुबेका थिए । उनले सोमबार इन्स्टाग्राममार्फत भनेका थिए, ‘यो पीडा असाध्यै ठूलो छ । यो घाउ निको हुन समय लाग्नेछ । तर हामीले अन्तिमसम्म दिएको संघर्ष, असम्भवजस्ता खेललाई जितमा बदल्दै सिर्जना गरेका अविस्मरणीय क्षणहरूलाई म सधैँ सम्झिरहनेछु ।’ सन् २०२६ को विश्वकपमा अर्जेन्टिनी टोलीका प्रशिक्षक लियोनेल स्कालोनीको टोलीका लागि मेस्सी वास्तविक धड्कन बने। विशेषगरी निर्णायक क्षणहरूमा उनले टोलीलाई नेतृत्व प्रदान गरे । आठ खेलमा आठ गोल र चार असिस्ट गर्दै उनले अर्जेन्टिनालाई फाइनलसम्म पु¥याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । अर्जेन्टिनाले प्रतियोगिताभर कठिन अवस्थाबाट खेललाई आफ्नो पक्षमा पार्ने र अतिरिक्त समयमा संघर्ष गरेर जित निकाल्ने कला प्रदर्शन गरेको थियो, जसको केन्द्रमा मेस्सी नै थिए । ऐतिहासिक कीर्तिमानहरू मेस्सीले २०२६ को विश्वकपपछि आफ्नो नाममा अनेकौँ कीर्तिमान थपेका छन् । पुरुष र महिला दुवै विश्वकपलाई समेट्दा उनी विश्वकप इतिहासका दोस्रो सर्वाधिक गोलकर्ता बनेका छन् । विश्वकपमा उनको कूल गोल संख्या २१ पुगेको छ भने किलियन एम्बाप्पेको २२ गोल रहेको छ । त्यस्तै विश्वकप इतिहासमा सर्वाधिक १२ असिस्ट गर्ने खेलाडी पनि उनी नै हुन् । उनको नाममा थुप्रै कीर्तिमानहरू पनि छन् । उनी विश्वकपमा सर्वाधिक ३४ खेल खेल्ने, विश्वकपमा सर्वाधिक २३ खेल जित्ने, नकआउट चरणमा सर्वाधिक १७ खेल खेल्ने, लगातार नौ विश्वकप खेलमा गोल गर्ने कीर्तिमान तथा किशोरावस्था २० र ३० को दशकमा विश्वकपमा गोल गर्ने एकमात्र खेलाडी हुन् । ६ पटकको विश्वकप यात्रामा मेस्सीले अर्जेन्टिनालाई तीन पटक फाइनलमा पुर्याएका छन् । अर्जेन्टिनाले सन् २०२२ मा विश्वकप जित्दा मेस्सीले उत्कृष्ट खेल प्रर्दशन गरेका थिए । विश्वकपमा एकभन्दा बढी पटक गोल्डेन बल जित्ने उनी एकमात्र खेलाडी हुन् । यस पटक (२०२६) को विश्वकपमा उनले सिल्भर बल पुरस्कार प्राप्त गरेका थिए । किलियन एम्बाप्पे सत्ताइस वर्षीय फ्रान्सेली कप्तान किलियन एम्बाप्पेले फ्रान्सलाई लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेले । उनले प्रतियोगितामा १० गोल गर्दै तीन विश्वकपमा आफ्नो कूल गोल संख्या २२ पुर्याए र विश्वकप इतिहासको सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाए । सन् २०१८ को विश्व च्याम्पियन तथा २०२२ को उपविजेता फ्रान्सले यस पटक पदकविहीन रूपमा प्रतियोगिता समाप्त गर्यो । विश्वकपमा इङ्ल्यान्डसँगको रोमाञ्चक तेस्रो स्थानको खेलमा फ्रान्स ६–४ ले पराजित भएको थियो । यद्यपि उक्त खेलमा दुई गोल गरेका एम्बाप्पेले लगातार दोस्रो पटक गोल्डेन बुट जित्दै विश्वकप इतिहासमा दुई पटक सर्वाधिक गोलकर्ता बन्ने पहिलो खेलाडीको कीर्तिमान कायम गरे । उनले आफूलाई विश्व फुटबलका महान् स्ट्राइकरहरूमध्ये एकका रूपमा थप स्थापित गरेका छन् । जुड बेलिंघम विश्व फुटबलका उत्कृष्ट मिडफिल्डरमध्ये एक मानिने जुड बेलिंघम २०२६ को विश्वकपमा इङ्ल्यान्डका नायक बने । उनले सात गोल गर्दै आफ्नो टोलीलाई तेस्रो स्थान दिलाए। विश्वकप इतिहासमा कुनै मिडफिल्डरले गरेको यो सर्वाधिक गोल हो । २३ वर्षीय बेलिंघमले एकै विश्वकप संस्करणमा सर्वाधिक गोल गर्ने बेलायती खेलाडीको कीर्तिमान पनि आफ्नो नाममा लेखाएका छन् । अन्तिम १६ मा मेक्सिकोविरुद्ध तथा क्वार्टरफाइनलमा नर्वेविरुद्ध दुई/दुई गोल गर्दै उनले सन् १९८६ मा डिएगो म्याराडोनापछि लगातार दुई नकआउट खेलमा दुई गोल गर्ने पहिलो खेलाडी बन्ने कीर्तिमान बनाए ।
घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु
काठमाडौं । झापाको दमकमा घरायसी विवादका क्रममा श्रीमान्को खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी श्रीमतीको मृत्यु भएको छ भने आक्रमणपछि आत्महत्याको प्रयास गरेका श्रीमान्को पनि उपचारका क्रममा ज्यान गएको छ । दमक नगरपालिका-१ श्रीपाली चोकका ४२ वर्षीय धनबहादुर दर्जी र उनकी ४२ वर्षीया श्रीमती विजयकुमारी दर्जीको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार आज दिउँसो करिब २ः०० बजे श्रीमान्-श्रीमतीबीच सामान्य विषयमा विवाद भएको थियो । सोही विवाद बढ्दै जाँदा धनबहादुरले श्रीमती विजयकुमारीमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरीको चोटबाट विजयकुमारीको टाउको र बायाँ हातमा गम्भीर क्षती पुगेको थियो । श्रीमतीमाथि ज्यानै लिने गरी आक्रमण गरेलगत्तै धनबहादुरले घरको अर्को कोठामा गएर सिलिङ पङ्खामा सलको पासो लगाई आत्महत्याको प्रयास गरेका थिए । सोही क्रममा उनकी २५ वर्षीया छोरीले बुबालाई झुण्डिएको अवस्थामा देखेपछि तत्काल पासो काटेर भुइँमा झारेकी थिइन् । घटनाबारे जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक प्रमोद खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको प्रहरी नायब उपरीक्षक अवाले जानकारी दिए । प्रहरीले घाइते दुवै जनालाई तत्काल उद्धार गरी उपचारका लागि दमक अस्पताल पठाएकामा उपचारकै क्रममा दुवैको मृत्यु भएको हो । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।