विकासन्युज

प्रधानमन्त्री शाह नेपाल अर्ग्यानिक संघका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक कृषि तथा व्यवसाय प्रवर्द्धनका विषयमा नेपाल अर्ग्यानिक संघका पदाधिकारी र व्यवसायीसँग आज छलफल गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे हुने छलफलमा नेपाल अर्ग्यानिक संघका अध्यक्ष दीपक बास्कोटा, उपाध्यक्ष प्रेम लामा, गोर्खा टि इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन सांग्रिला टि फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली तथा अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्रीका अध्यक्ष परशुराम आचार्य सहभागी हुने कार्यक्रम छ । छलफलमा नेपालमा जैविक (अर्ग्यानिक) कृषि उत्पादन, प्रशोधन, बजारीकरण, व्यापार तथा उपभोग प्रवर्द्धनका विषयमा केन्द्रित भएर छलफल हुने जनाइएको छ । नेपाल अर्ग्यानिक संघ अर्ग्यानिक कृषि उत्पादन, प्रशोधन, व्यापार र उपभोगको प्रवर्द्धनका लागि क्रियाशील संस्था हो ।  प्रधानमन्त्री शाहले उद्योग तथा व्यवसायको विकासका लागि विभिन्न क्षेत्रका उद्योगी–व्यवसायीसँग नियमित संवाद गर्दै उनीहरूका जायज माग र सुझाव सम्बोधन गर्ने प्रयास गर्दै आएका छन् । 

करोडौँ खर्चेर बनेका लेदो प्रशोधन केन्द्र पूर्ण रूपमा चल्न सकेन

झापा । मेचीनगर नगरपालिकाले करोडौँ रुपैयाँको लगानीमा निर्माण गरेका दुईवटा दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । नीतिगत कमजोरी, निजी सेफ्टी ट्याङ्करको कमजोर नियमन तथा पर्याप्त लेदो सङ्कलन हुन नसक्दा केन्द्रहरू अपेक्षाअनुसार सञ्चालन हुन नसकेका हुन् । एसियाली विकास बैंक र बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको आर्थिक सहयोग तथा खानेपानी मन्त्रालय र स्थानीय तहको लागत साझेदारीमा सात वर्षअघि मेचीनगर–१४ दुहागढी र वडा नं ७ भान्सा खोलामा प्रशोधन केन्द्र निर्माण गरिएको थियो । दुहागढीस्थित केन्द्रले दैनिक २७ घनमिटर र भान्सा खोलास्थित केन्द्रले दैनिक १२ घनमिटरसम्म दिसाजन्य लेदो प्रशोधन गर्नसक्ने क्षमता राख्छन् । प्रशोधनपछि लेदोलाई कम्पोस्ट मल र सुरक्षित पानीमा रूपान्तरण गर्ने उद्देश्य राखिएको छ । चारआली साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव प्रेमराज घिमिरेले आवश्यक पूर्वाधार, ट्याङ्कर र जनशक्ति भए पनि सबै लेदो प्रशोधन केन्द्रमै ल्याउने व्यवस्था नहुँदा केन्द्र सञ्चालनमा समस्या भएको बताए । उनका अनुसार सेवा शुल्कबाट उठ्ने आम्दानीले सञ्चालन खर्चसमेत धान्न सकेको छैन । काँकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका कार्यालय प्रमुख दीपकप्रसाद पोखरेलले पनि केन्द्र बन्द नभए पनि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको र सञ्चालन खर्च आम्दानीभन्दा बढी रहेको जानकारी दिए। मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले निजी सेफ्टी ट्याङ्करलाई अनिवार्य रूपमा नगरपालिकामा दर्ता गर्ने, जथाभाबी लेदो विसर्जन गर्नेलाई जरिवाना तथा कानुनी कारबाही गर्ने नीति ल्याइने बताए। उनका अनुसार नगरपालिकाले सरसफाइ तथा दिशाजन्य लेदो व्यवस्थापनसम्बन्धी ऐन र कार्यविधि कार्यान्वयन गर्दै प्रशोधन केन्द्रलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी गरेको छ । सरसफाइ क्षेत्रका विज्ञहरूले सेप्टिक ट्याङ्कीबाट निस्कने दिसाजन्य लेदोको सुरक्षित व्यवस्थापन हुन नसके वातावरण प्रदूषणसँगै जनस्वास्थ्यमा समेत गम्भीर असर पर्ने चेतावनी दिएका छन् । रासस

बजार जानुअघि हेर्नुहोस्, आज कुन तरकारीको भाउ कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४८, आलु रातो (गोलो) प्रतिकिलो रु ४७, आलु रातो (मुढे) प्रतिकिलो रु ४८, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, आलु सेतो प्रतिकिलो रु ३४, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५७ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ११०, गाजर (तराई) प्रतिकिलो रु ९०, बन्दा (लोकल) प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु ९०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ५० र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ । समितिका अनुसार बोडी तने प्रतिकिलो रु १२०, मकै बोडी प्रतिकिलो रु ८०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १३०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १४०, टाटे सिमी प्रतिकिलो रु ९०, भटमास कोसा प्रतिकिलो रु १००, तीते करेला प्रतिकिलो रु ७०, लौका प्रतिकिलो रु ७०, परवर (लोकल) प्रतिकिलो रु ५०, परवर (तराई) प्रतिकिलो रु ५०, चिचिण्डो प्रतिकिलो रु ४०, घिरौँला प्रतिकिलो रु ८०, झिगुनी प्रतिकिलो रु ९०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ७०, भिन्डी प्रतिकिलो रु ७०, पिँडालु प्रतिकिलो रु १०० र इस्कुस प्रतिकिलो रु ७० कायम भएको छ । रायोसाग प्रतिकिलो रु १५०, पालुङ्गो प्रतिकिलो रु १२०, तोरीको साग प्रतिकिलो रु १००, प्याज (हरियो) रु १००, च्याउ (कन्य) प्रतिकिलो रु २६०, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकिलो रु ३२० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ । कुरिलो प्रतिकिलो रु ४००, निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु १२०, चुकन्दर प्रतिकेजी रु ७०, रातो बन्दा प्रतिकिलो रु ४०, जिरीको साग प्रतिकिलो रु १००, सेलरी प्रतिकिलो रु ४००, पार्सले प्रतिकिलो रु ५००, सौफको साग प्रतिकिलो रु १००, पुदिना प्रतिकिलो रु ३००, गान्टेमूला प्रतिकिलो रु १००, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ । स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन ३००, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु २००, अनार प्रतिकिलो रु ५००, आँप (मालदह) प्रतिकिलो रु १८०, आँप (दशहरी) प्रतिकिलो रु १८०, तरबुजा (हरियो) प्रतिकिलो रु ७०, जुनार प्रतिकिलो रु ३००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ५०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ५०, रूखकटहर प्रतिकिलो रु ५०, नास्पाती (लोकल) प्रतिकिलो रु १२०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, नरिवल (काँचो) प्रतिकिलो रु ८० र नरिवल (हरियो) प्रतिकिलो रु १७० तोकिएको छ । अदुवा प्रतिकिलो रु २३०, सुकेको खुर्सानी प्रतिकिलो रु ५००, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ५०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु २००, भेडे खुर्सानी प्रतिकिलो रु ६०, लसुन हरियो प्रतिकिलो रु १००, हरियो धनियाँ प्रतिकिलो रु २५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २४०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण भएको छ । 

आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलर १५४ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ १९ पैसा र बिक्रीदर २०७ रुपैयाँ, स्विस फ्र्याङ्क एकको खरिददर १८९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९० रुपैयाँ ५२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ८६ पैसा र बिक्रीदर १०८ रुपैयाँ २८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३९ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८९ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७७ पैसा र बिक्रीदर २२ रुपैयाँ ८६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ४१ रुपैयाँ २५ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ३० पैसा र बिक्रीदर ४२ रुपैयाँ ४७ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५६ पैसा र बिक्रीदर चार रुपैयाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४२ रुपैयाँ १५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८८ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ४१ पैसा र बिक्रीदर १० रुपैयाँ ४५ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५ रुपैयाँ ९४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५३ पैसा र बिक्रीदर २३ रुपैयाँ ६२ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ६७ पैसा र बिक्रीदर १९ रुपैयाँ ७५ पैसा, कुवेती दिनार एकको खरिददर ५०१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ५०२ रुपैयाँ ९६ पैसा, बहराइन दिनार एकको खरिददर ४०८ रुपैयाँ ९९ पैसा बिक्रीदर ४१० रुपैयाँ ५८ पैसा, ओमनी रियाल एकको खरिददर ४०० रुपैयाँ ५५ पैसा र बिक्रीदर ४०२ रुपैयाँ १० पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।  

निफ्राको नाफा ९८ करोड ७३ लाख रुपैयाँ, २५.९६ प्रतिशत बढ्यो कर्जा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा खुद नाफा १९.९८ प्रतिशत घटेर ९८ करोड ७३ लाख ९५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब २३ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  गत आवको असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी २३.८९ प्रतिशत घटेर १ अर्ब ४४ करोड ६६ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको चौथो त्रैमासमा बैंकले १ अर्ब ९० करोड ८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।  असार मसान्तसम्म बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ५ करोड ८० लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १ अर्ब ५० करोड ४ लाख रुपैयाँ र सञ्चालन नाफा १ अर्ब ४१ करोड ६८ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २ करोड १० लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १ अर्ब ९२ करोड १९ लाख रुपैयाँ र सञ्चालन नाफा १ अर्ब ७६ करोड ६५ लाख रुपैयाँ थियो ।  २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ७१ करोड ८७ लाख रुपैयाँ रहेको छ ।  समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ५.७१ रुपैयाँबाट घटेर ४.५७ रुपैयाँमा झरेको छ । यस्तै बैंकको मूल्य आम्दानी अनुपात ५३.७३ गुणा छ भने प्रतिसेयर नेटवर्थ ११७.२२ रुपैयाँ रहेको छ ।   गत असारसम्म बैंकको निक्षेप १.९४ प्रतिशत बढेर ७ अर्ब ८३ करोड ९१ लाख रुपैयाँ र कर्जा २५.९६ प्रतिशत बढेर ३१ अर्ब ४२ करोड ४२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षसम्म बैंकको निक्षेप ७ अर्ब ६८ करोड ९८ लाख रुपैयाँ र कर्जा २४ अर्ब ९४ करोड ७९ लाख रुपैयाँ थियो । 

पोखरा विमानस्थलमा छुट दिएसँगै विदेशी पर्यटकको संख्या बढ्ने

काठमाडौं । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट दिने निर्णय गरेपछि पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि वायुसेवा कम्पनी आकर्षित हुने विश्वास गरिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई लक्ष्य गरी वि.सं २०८५ भदौ मसान्तसम्मका लागि विमानस्थलमा ‘पार्किङ’, ‘ल्यान्डिङ’ र ‘नेभिगेसन’ शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको थियो । यस्तै, ‘ग्राउन्ड ह्यान्डलिङ’ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय सरकारले गरेको छ ।  पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सरकारले गरेको उक्त निर्णयले पोखरा–दुबईलगायत अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान विस्तार गर्न तथा नयाँ वायुसेवा कम्पनीलाई भित्र्याउन सहज वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरे ।  ‘पर्यटन प्रवर्द्धन, हवाई पहुँच विस्तार तथा समग्र आर्थिक गतिविधिका लागि यसबाट महत्वपूर्ण टेवा पुग्नेछ,’ उनले भने ।  फ्लाइ दुबईले आगामी असोज ७ गतेदेखि पोखरा-दुबई सीधा उडान सेवा सुरु गर्दैछ । विश्वव्यापी हवाई ‘ट्रान्जिट हब’ दुबईसम्मको सिधा उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्ने छ । सञ्चालनमा आएको तीन वर्ष बितिसक्दा समेत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्देशीय उडान हुन सकेको थिएन । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले दुबई-पोखरा-दुबईको उडान तालिका स्वीकृत भएसँगै फ्लाई दुबईले टिकट बुकिङ खुला गरिसकेको बताए । यो उडानले पोखरादेखि दुबई भएर युरोप, अमेरिकालगायत विभिन्न गन्तव्य मुलुकमा जाने यात्रुलाई सहजता थपिने र यात्रा अवधि छोटिँदा खर्च पनि घट्ने उनको भनाइ छ । पर्यटकीय राजधानीसमेत रहेको पोखरासहित यहाँका पर्यटकीय क्षेत्रको घुमफिरका लागि विदेशी पर्यटकहरू सिधै पोखरा आउन सक्नेछन् । वैदेशिक रोजगारी, अध्ययन, घुमफिर आदिका लागि अरब मुलुकसहित अन्य देशमा जाने यात्रु तथा सर्वसाधारणका लागि पोखरा–दुबई उडान सेवा लाभदायी हुने देखिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठ महिनामा फ्लाई दुबईलाई दुबई–पोखरा–दुबई दैनिक उडानका लागि अनुमति दिएको थियो । यसबीचमा फ्लाई दुबईले उडान तालिका सार्वजनिक गरिसकेको छ । सरकारले चालु आव २०८३/८४ को नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाई दुबईले उडान अनुमति पाएको थियो । हालसम्म छिमेकी केही देशमा ‘चार्टर’ उडानबाहेक पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । झण्डै २२ अर्ब रुपैयाँ ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ ।

११ जनाले तिरेनन् नगरपालिकाको ऋण, ३५ दिने अल्टिमेटम

काठमाडौं । वीरेन्द्रनगर नगरपालिकाले ऋण चुक्ता गर्न ताकेता गरेको छ । महिला स्वरोजगार कार्यक्रम अन्तर्गत सहुलियतपूर्ण ऋणमा अटो प्राप्त गरे पनि ११ जनाले रकम चुक्ता नगरेपछि ऋण तिर्न नगरपालिकाले ताकेता गरेको हो ।  नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा वितरण गरिएको सहुलियतपूर्ण ऋण सम्झौताअनुसार पटक-पटक मौखिक तथा लिखित रूपमा ताकेता गर्दा पनि लाभग्राहीहरूले रकम नतिरेपछि सार्वजनिक सूचना जारी गरेको जनाएको छ । लाभग्राहीहरूले ३५ दिनभित्र नगरपालिकामा सम्पर्क गरी बाँकी ऋण रकम बुझाउनुपर्नेछ । अन्यथा ऋण सम्झौता तथा प्रचलित कानुनबमोजिम असुलउपर, कानुनी कारबाही र अन्य आवश्यक प्रक्रिया अघि बढाइने नगरपालिकाले चेतावनी दिएको छ । सार्वजनिक गरिएको सूचीमा वीरेन्द्रनगरका विभिन्न वडाका ११ जना लाभग्राही रहेका छन् । उनीहरूले फिर्ता गर्न बाँकी रकम १८ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म रहेको उल्लेख गरिएको छ । नगरपालिकाका अनुसार मञ्जु सुनार, निर्मला सेढाई, सिता बिक, यामकुमारी सार्कीले समान १ लाख रुपैयाँ १ लाख रुपैयाँ फिर्ता गर्नुपर्नेछ । यस्तै, कौशिला नेपालीले ६९ हजार ८१६ रुपैयाँ, शुष्मिता बिकले ६५ हजार ८७९ रुपैयाँ, सिर्जना गुरुङले ३८ हजार ५३२ रुपैयाँ, सबिना पुनले ५५ हजार १७८ रुपैयाँ, कल्पना सिंहले ६७ हजार ६४३ रुपैयाँ, यसुदा सापकोटाले ८१ हजार ७४८ रुपैयाँ र धनकुमारी सिजापतीले १८ हजार रुपैयाँ फिर्ता गर्न बाँकी रहेको नगरपालिकाले जनाएको छ । 

२६ आयोजनाको इआईए स्वीकृत, कुन-कुनले पाए ?

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले एक वर्षको अवधिमा २६ वटा आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) प्रतिवेदन स्वीकृत गरेको छ । मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ३२ वटा आयोजनाको क्षेत्र निर्धारण प्रतिवेदन स्वीकृत भएको छ । यस अवधिमा २६ वटा इआइए प्रतिवेदन र ६ वटा पूरक इआइए प्रतिवेदन स्वीकृत भएका छन् । त्यसैगरी, ९ वटा परिमार्जित वातावरणीय व्यवस्थापन योजना स्वीकृत भएका छन् भने ७ वटा आयोजनालाई वातावरणीय व्यवस्थापन योजना परिमार्जनका लागि सहमति दिइएको छ । १५ वटा आयोजनाले पूरक अध्ययनको सहमति प्राप्त गरेका छन् । ५ आयोजनाको म्याद थप गरिएको छ भने ६ आयोजनालाई जरिवाना गरिएको छ । इआइए स्वीकृत भएका आयोजनामध्ये अधिकांश जलविद्युत् आयोजना छन् । मन्त्रालयले एक वर्षको अवधिमा ९० मेगावाट क्षमताको मस्र्याङ्दी अर्धजलाशययुक्त जलविद्युत् आयोजना र २७० मेगावाट क्षमताको भेरी-१ अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको इआइए स्वीकृत गरेको छ । यसैगरी, ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना, ९१.१५ मेगावाट क्षमताको बूढीगण्डकी नदी जलविद्युत् आयोजना तथा ३५ मेगावाट क्षमताको माथिल्लो अप्सुखोला जलविद्युत् आयोजनाको पनि इआइए स्वीकृत भएको छ । मन्त्रालयका अनुसार ८८ मेगावाट क्षमताको रोल्वालिङ, ३० मेगावाट क्षमताको माथिल्लो दूधखोला जलविद्युत् आयोजना तथा ३४.३९ मेगावाट क्षमताको सुपर बूढीगण्डकी जलविद्युत् आयोजनाको पनि इआइए स्वीकृत भएको छ । पूरक इआइए स्वीकृत भएका आयोजनामध्ये पनि अधिकांश जलविद्युत् आयोजना छन् । तीमध्ये सङ्खुवा खोला जलविद्युत् आयोजना, सिम्बुवा खोला जलविद्युत् आयोजना र मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजना छन् । परिमार्जित वातावरणीय व्यवस्थापन योजना स्वीकृत भएका आयोजनामध्ये पनि जलविद्युत् आयोजनाको सङ्ख्या बढी छ । तीमध्ये सुपर तमोर, माथिल्लो बलेफी, तिनाउ खोला, रोल्वालिङ खोला, बलेफी खोला तथा कालीगण्डकी गर्ज जलविद्युत् आयोजना रहेका छन् । विद्युत् प्रसारण लाइनतर्फ लप्सीफेदी-रातामाटे, रातामाटे-न्यू हेटौंडा, रातामाटे-न्यू दमौली, न्यू दमौली-न्यू बुटवल तथा न्यू बुटवल-नेपाल-भारत सीमा ४०० केभी डबल सर्किट प्रसारण लाइनका साथै रातामाटे, न्यू दमौली र न्यू बुटवल ४०० केभी सबस्टेशनको परिमार्जित वातावरणीय व्यवस्थापन योजना पनि स्वीकृत भएको छ । यी प्रसारण लाइन र सबस्टेसन अमेरिकी सहयोग परियोजना एमसिए-नेपालमार्फत निर्माण भइरहेका छन् । त्यस्तै, २०१ मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी जलविद्युत् आयोजनाको परिमार्जित वातावरणीय व्यवस्थापन योजना पनि मन्त्रालयले स्वीकृत गरेको छ । वातावरणीय व्यवस्थापन योजना परिमार्जनका लागि सहमति दिइएका आयोजनामध्ये पनि अधिकांश जलविद्युत् आयोजना छन् ।  त्यसमा रोल्वालिङ खोला, कालिका कालीगण्डकी, तमोर खोला-५, कालीगण्डकी गर्ज र मध्य तादी खोला जलविद्युत् आयोजना छन् ।