धार्मिक पर्यटनको आकर्षक गन्तव्य बन्दै तनहुँको छिम्केश्वरी
दमौली । समुद्र सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा अवस्थित तनहुँको छिम्केश्वरी मन्दिर क्रमशः धार्मिक पर्यटकीयस्थलका रूपमा विकास भइरहेको छ । आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा रहेको प्रसिद्ध धार्मिकस्थल छिम्केश्वरी माइ गाउँपालिकाकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यस्थल हो । पृथ्वीराजमार्गको आँबुखैरेनीदेखि लाब्दीसम्म १५ किलोमिटर जीप यात्रा र छोटो पदयात्रापछि छिम्केश्वरी पुगिन्छ । यहाँबाट देखिने अपि, सैपाल, धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमालका मनोरम दृ्श्यले जोकोहीलाई मोहित बनाउँछ । पछिल्लो समय छिम्केश्वरीमा पूजाआजा र दर्शनका लागि दैनिक भक्तजन तथा आन्तरिक पर्यटक आउने क्रम बढेको छ । छिम्केश्वरीमा दैनिक ५० देखि एक सयको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेका छन् । यहाँ विशेषगरी नयाँवर्ष र होलीका बेला भक्तजनको घुइँचो लाग्ने गरेको छ । यस वर्षको होलीमा गत आइतबार पाँच हजार भक्तजनले पूजाआजा गरेको छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष कृष्ण तामाङले जानकारी दिए । यो मन्दिरमा तनहुँका अतिरिक्त छिमेकी जिल्ला लमजुङ, गोरखा, चितवनबाट पनि भक्तजन आउने गरेका मन्दिरका पुजारी धनराज गुरुङ बताउछन् । उनका अनुसार एकादशी र औँसी बाहेकका दिनमा पूजाआजा हुने यस मन्दिरमा पशुवली दिने परम्परा पनि छ । गोरखा मनकामनाकी दिदीका रूपमा पुजिँदै आएकी छिम्केश्वरीमाईमा पूजा गरेपछि मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । गण्डकी प्रदेश सरकारले घोषणा गरेको एक सय दश पर्यटकीय गन्तव्यमा सूचीकृत छिम्केश्वरीमा रु ४५ लाखको लागतमा छिम्केश्वरी मन्दिर पुनर्निर्माण हालै पूरा भएको छ । प्रदेश सरकारको सहयोगमा पैदलमार्ग र रेलिङ निर्माण गरिएको छ । आर्थिक वर्ष ०७५(७६ मा रु ४१ लाख ६३ हजार सात सयको लागतमा चार सय ८६ मिटर ढुङ्गाको सिढी निर्माण सम्पन्न भएको छ भने आर्थिक वर्ष ०७६(७७ मा रु ३५ लाख ९९ हजार एक सय ४१ को लागतमा तीन सय पाँच मिटर ढुङ्गाको सिढी र रेलिङ निर्माण सम्पन्न भइसकेको छ । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले गाउँपालिकाले छिम्केश्वरीलाई प्राथमिकतामा राखेको बताए । उनले भने, ‘गाउँपालिकाकै सक्रियतामा मन्दिर पुनर्निर्माण भएको छ । यसको थप विकासका लागि योजना बनाउँदैछौ ।’ छिम्केश्वरीसम्म पुग्ने सडकमा कालोपत्र सुरु भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा यस खण्डमा कालोपत्र गर्न लागिएको हो । सडक कालोपत्रका लागि प्रदेश सरकारबाट रु आठ करोड ४७ लाख र सङ्घ सरकारबाट समपुरक कोष अन्तर्गत रु ८ करोड ४७ लाख बजेट विनियोजन भएको छ । सडक कालोपत्रको काम काठमाडौंस्थित शर्मा एण्ड काष्टमण्डप जेभीले ठेक्का पाएको छ । छिम्केश्वरी पुग्ने भक्तजनको सहजताका लागि छिम्केश्वरीको काखमा घरबास समेत सञ्चालन भएका छन् । आँबुखैरेनी गाउँपालिका–६ स्थित पर्यटकीय गाउँ हिलेखर्कमा स्थानीयवासीले घरबास सञ्चालन गरेका हुन् । गुरुङ समुदायको बाहुल्य रहेको यहाँका घरबासमा आउनेलाई कोदो तथा फापरको ढिँडो, फापर र कोदोको सेलरोटी, भुटेको भटमास, गुन्द्रुकको अचार दिइने गरेको घरबास व्यवस्थापन समितिका अध्यक्ष बाटुमाया गुरुङले जानकारी दिए । हिलेखर्कमा रहेका दुई वटा घुमाउने घरले पनि यहाँ पुग्ने सर्वसाधारणलाई लोभ्याउने गरेको छ । मन्दिर संरक्षण गर्न चन्दा संकलन छिम्केश्वरी पर्यटन विकास समितिले भक्तजनबाट चन्दा संकलन गरी छिम्केश्वरी मन्दिर संरक्षण गर्ने भएको छ । मन्दिरको समग्र विकासका लागि भक्तजनबाट चन्दा संकलन गरिने समितिले जनाएको छ । समितिले मन्दिर संरक्षण, पुजारी व्यवस्थापन, भक्तजन विश्रामस्थल एवं उनीहरूको सुरक्षा , सार्वजनिक शौचालय निर्माणलगायत अधिकभन्दा अधिक पर्यटक आकर्षित गर्न मन्दिर क्षेत्रमा आधारभूत भौतिक पूर्वाधार निर्माणको योजना बनाएको पालिका अध्यक्ष चुमानले बताए ।
बचत खाताअन्तर्गत एनआईसी एशिया बैंकले भुक्तानी गर्यो १ करोड २० लाखको बीमा रकम
काठमाडौं । एनआईसी एशिया बैंकले ल्याएको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत १ करोड २० लाख रुपैयाँ बीमा रकम भुक्तानी भएको छ । गत असार १८ देखि फागुन १४ सम्ममा घातक रोगको बीमा वापत सात जना र दुर्घटनामा पर्नु भएका पाँच जना गरी कुल १२ जना खातावालालाई प्रतिव्यक्ति १० लाखको दरले कूल १ करोड २० लाख बीमा रकम भुक्तानी भएको हो । उक्त भुक्तानी आईजीआई प्रुडेन्सियल र नेपाल इन्स्योरेन्स बीमा कम्पनीबाट प्राप्त गरी गरिएको बैंकले जानकारी गराएको छ । बैंकका विभिन्न शाखा कार्यालयहरूमा सर्वश्रेष्ठ बचत खाता खोलेका निज ग्राहक तथा परिवार सदस्यलाई बीमा कम्पनीहरुले प्रदान गरेको उक्त रकम बराबरको चेक बैंकले हस्तान्तरण गरेको हो । यस बैंकको काठमाडौंस्थित नागपोखरी शाखामा खाता खोलेकी रचना गौचन, दैलेखस्थित दैलेख शाखामा खाता खोलेका चक्र बहादुर कटुवाल, रुपन्देहीस्थित राम मन्दिर बुटबल शाखामा खाता खोलेकी पार्वती श्रेष्ठ, रुपन्देहीस्थित सउ फर्सटिकर शाखामा खाता खोलेका पुन्यप्रसाद ढकाल र कास्कीस्थित न्युरोड पोखरा शाखामा खाता खोलेका विजय कुमार गुरुङलाई दुर्घटना बीमा बापत जनही १० लाखको दरले भुक्तानी गरिएको हो । त्यस्तै, काठमाडौंस्थित कर्पोरेट अफिस शाखामा खाता खोलेकी एलिना न्यौपाने र काठमाडौंस्थित कालोपुल शाखामा खाता खोलेकी निर्मला चापागाँईलाई घातक रोग बीमा वापत जनही १० लाखको दरले रकम प्रदान गरिएको हो । निज लाभग्राहीहरूले आईजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँगको सहकार्यमा उक्त लाभ रकम प्राप्त भुक्तानी गरिएको हो । त्यसैगरी सिराहास्थित मिर्चैया शाखामा खाता खोलेका राधेश्याम रजक साफी, ललितपुरस्थित पुल्चोक शाखामा खाता खोलेका तेज बहादुर सुवेदी, चितवनस्थित चनौली शाखामा खाता खोलेका गणेश बहादुर गुरुङ, बर्दियास्थित मग्रागढी शाखामा खाता खोलेकी कुमारी रिता भुसाल र बारास्थित कलैया शाखामा खाता खोलेका कन्हैया लाल चौधरीले दुर्घटना बीमा वापत जनही १० लाख रुपैयाँ प्रतिव्यक्तिका दरले कुल ५० लाख रुपैयाँ नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा उक्त लाभ प्रदान गरिएको हो । यस बैंकको बीमा सहितको निक्षेप योजनाहरूअन्तर्गत हालसम्म ६ हजार ३ सय ६१ भन्दा बढीलाई १४ करोड ३८ लाख रुपैैंयाभन्दा बढी बीमा दाबी रकम हस्तान्तरण भइसकेको छ । जसमध्ये घातक रोग बीमा वापत ३३ बढीलाई ३ करोड ५० लाखभन्दा बढी, दुर्घटना बीमा वापत २६ बढीलाई २ करोड ६० लाख बढी र मेडिकल बीमा वापत ६ हजार ३ सय २ भन्दा बढीलाई ८ करोड २८ लाख १० हजारभन्दा बढी रकम प्रदान गरिएको छ । बैंकले निक्षेप रकममा अधिकतम प्रतिफल दिने उद्देश्यका साथमा ४ जनालाई ५ वर्षको लागि ८४ लाख रुपैयाँसम्मको बीमा फाइदा रहेको ‘सर्वश्रेष्ठ बचत योजना’ सञ्चालन गरिरहेको छ । जसअन्तर्गत आकर्षक ब्याजदर, ५ वर्षसम्म ८४ लाखसम्मका ३ बीमा, १८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू समावेश छन् । उक्त ८४ लाख रुपैयाँ बराबरको आकर्षक बीमा फाइदाअन्तर्गत ४० लाखको दुर्घटना बीमा, ४० लाखको घातक रोग बीमा र ४ लाखसम्मको औषधि उपचार बीमा उपलब्ध छन् भने अस्पताल भर्ना हुने बिरामीले ३ लाख २० हजारसम्म र ओपीडी उपचारको लागि ८० हजारसम्म बीमा लाभ लिन सक्नेछन् ।
द्विपक्षीय लगानी सम्झौतामा कतारी राजदूतको चासो, व्यापार प्रवर्द्धनलाई प्रोत्साहन गर्ने
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कतारका राजदूतसँगको भेटमा नेपालमा लगानी प्रवर्द्धन गर्न आग्रह गरेका छन् । ढकालले सोमबार नेपालका लागि कतारका राजदूत महामहिम मिसाल बिन मोहम्मद अल अन्सारीसँग भेटवार्ता गरेका थिए । सो भेटवाता दुई देशबीचको आर्थिक सहयोग अभिवृद्धि र व्यापार साझेदारीलाई बढावा दिने विषयमा केन्द्रित भएको थियो । भेटमा महासंघका अध्यक्ष ढकालले नेपालमा थप लगानी गर्नुपर्नेमा जोड दिए । उनले राजदूतलाई नेपाल एक बढ्दो अर्थतन्त्र भएको र नेपालमा लगानीका लागि प्रशस्त अवसर रहेको बताए । उनले लगानीमैत्री वातावरण बनाउन सरकारले कानुन र नियमावली परिमार्जन गर्न निजी क्षेत्रसँग सहकार्य गरिरहेको पनि बताए । महासंघ र कतार चेम्बरबीच एक संयुक्त व्यापार परिषद स्थापना गर्ने योजनाको छलफल पनि भएको थियो । संयुक्त व्यापार परिषद्ले नेपाल र कतारबीचको सहकार्य र सूचना आदानप्रदानलाई सहज बनाउने अपेक्षा गरिएको छ । काउन्सिलले एकअर्काको बजार विस्तार गर्न संयुक्त पहलका लागि प्लेटफर्म प्रदान गर्ने अपेक्षा गरिएको छ । यसैबीच, मिसाल बिन मोहम्मद अल अन्सारीले द्विपक्षीय लगानी सम्झौतामा गहिरो चासो व्यक्त गरे। उनले यस्तो सम्झौताले लगानी संरक्षण, व्यापार प्रवर्द्धन र आर्थिक सहयोगलाई प्रोत्साहन गर्ने ढाँचा उपलब्ध गराउने बताए । दुवै पक्षले सम्भावित फाइदाहरूबारे छलफल गरे र थप कदमहरू खोज्न सहमत भए । अन्त्यमा दुवै पक्षले आर्थिक सम्बन्धलाई मजबुत बनाउने प्रतिबद्धता दोहोराए । महासंघ र कतार चेम्बरले संयुक्त व्यापार परिषद् सम्झौतामा हस्ताक्षर गर्न र लगानीका अवसरहरूको विषयमा वार्ता जारी राख्ने समेत प्रतिबद्धता जनाए ।
८ महिनामा जीवन बीमा शुल्क १ खर्ब, ३ कम्पनीबीच कडा प्रतिस्पर्धा
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को ८ महिनामा जीवन बीमा कम्पनीहरूले झण्डै १ खर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार फागुन मसान्तसम्म जीवन बीमा कम्पनीहरूले ९८ अर्ब ५९ करोड ६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । प्राधिकरणका अनुसार यस अवधिमा तीन वटा लघुबीमासहित १७ वटा जीवन बीमा कम्पनीहरूले १ करोड ३८ लाख ७ हजार २४९ वटा बीमा लेख सक्रिय रहेका छन् । समिक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै व्यवसाय गरेको छ । यस कम्पनीले १२ लाख ९३ हजार २६० वटा बीमालेख बिक्री गरेवापत २६ अर्ब ३० करोड रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । यस्तै,समीक्षा अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेशन, नेशनल लाइफ र हिमालयन लाइफबीच कडा प्रतिस्पर्धा रहेको देखिन्छ । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपालले ६ लाख ८६ हजार ३९७ वटा बीमा लेख बिक्री गरेर ११ अर्ब ५७ करोड ७९ लाख रुपैयाँ, नेशनल लाइफले १५ लाख ९५ हजार ४५२ वटा बीमा लेख बिक्री गरेर ११ अर्ब ५३ करोड १८ हजार रुपैयाँ, हिमालयन लाइफले ३ लाख ८८ हजार ८८७ वटा बीमा पोलिसी बिक्री गरेर ११ अर्ब १८ करोड २ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । यस्तै, सूर्यज्योति लाइफले ९ लाख ५८ हजार ६८४ वटा बीमा लेख बिक्रीवापत ५ अर्ब ७० करोड ८२ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ५ लाख ७० हजार ३१८ वटा बीमालेख बिक्री गरेर ५ अर्ब २३ करोड ७ लाख रुपैयाँ संकलन गरेका छन् । एशियन लाइफले ६ लाख ४६ हजार ५८० बीमालेख बिक्री गरेर ५ अर्ब १५ करोड ८७ लाख रुपैयाँ, सानीमा रिलायन्स लाइफले ८ लाख ९१ हजार ६३३ बीमालेख वापत ३ अर्ब ८० करोड ३७ लाख रुपैयाँ, सिटिजन लाइफले १२ लाख २७ हजार ८०३ बीमालेख बिक्रीवापत ३ अर्ब ७२ करोड ८३ लाख रुपैयाँ, मेट लाइफले ८ लाख ५३ हजार ४४६ वटा बीमालेख बिक्री गरेर ३ अर्ब ६३ करोड ३७ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । आइएमई लाइफले ४ लाख ४९ हजार ६७१ वटा बीमालेख बिक्री गरेर २ अर्ब ८२ करोड ६५ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ लाख ६७ हजार ९६१ वटा बीमालेख बिक्री गरेवापत २ अर्ब ७१ करोड ८३ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ३१ लाख ८७ हजार १०८ वटा बीमालेख बिक्र गरेर २ अर्ब ६३ करोड २१ लाख रुपैयाँ र सन नेपाल लाइफले ८ लाख ६२ हजार ८०२ बीमालेख बिक्रीवापत २ अर्ब ४७ करोड १० लाख रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेका छन् । साथै, तीन वटा लघुबीमा कम्पनीले २७ हजार २४७ वटा बीमालेख बिक्री गरेवापत ५ करोड ५९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । जसमध्ये गार्डियन माइक्रोले ९ हजार ४१२ वटा बीमालेख बिक्री गरेर १ कोड ५९ लाख रुपैयाँ, क्रेष्ट माइक्रोले १६ हजार ४८ वटा बीमालेखवापत ३ करोड ६१ लाख रुपैयाँ र लिवर्टी माइक्रोले १ हजार ७८७ बीमालेख बिक्री गरेर ६९ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका हुन् ।
नेपालमा ओमोडा इ-फाइभको अर्डर डेलिभरि सुरू
काठमाडौं । एस.पी.जी. अटोमोबाइल्सले ओमोडा इ फाइभ गाडीको वितरण नेपालमा सुरु गरेको छ । गत सन् २०२४ को फेब्रुअरी २ मा नेपालमा सार्वजनिक गरिएको गाडीको औपचारिक बुकिङ्ग सोही दिनमै खुला गरिएको थियो । उक्त पहिलो चरणमा बुकिङ गर्ने ग्राहकको गाडी हस्तान्तरण यस महिनाबाट सुरु भएको हो । ओमोडा इ फाइभमा अत्याधुनिक प्रविधिलाई ध्यानमा राख्दै बनेको ६१ किलोवाटको उर्जा क्षमता (इनर्जी क्यापासिटी) भएको लिथियम आइरन फोसफेट ब्लेड ब्याट्री प्रयोग गरिएको छ । जसले गर्दा यसको डब्लुएलटिपी रेन्ज ४३० किलोमिटर रहेको छ । ओमोडा इ फाइभको फ्रन्ट-माउन्टेड विद्युतिय मोटरले ३४० एनएम टर्कको उर्जा उत्पन्न गर्दछ । नेपाली बजारमा सार्वजनिक भएको एक महिनाभित्रै एस.पी.जी. अटोमोबाइल्सले यस गाडीको ३ सयभन्दा बढी संख्यामा बुकिङ गरेको तथ्याङ्क रहेको छ । सुरुवाती मूल्य ५९ लाख ४९ हजार रुपैयाँ रहेको ओमोडा इ(फाइभ गाडीको प्रमुख आकर्षण, एल.इ.डी. प्रोजेक्टरयुक्त हेडल्याम्प, नेपाली सडकका निम्ति उपयुक्त उत्कृष्ट १८० (एमएम)को ग्राउण्ड क्लियरेन्स, १८ इन्चको एलोय ह्विल तथा लेदरका सिट रहेका छन् । ओमोडा इ फाइभले एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस) मा ५ स्टार एनक्याप रेटिङ्ग प्राप्त गरेको छ । गाडीमा उपलब्ध लेन डिपार्चर वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन, अडाप्टिभ क्रुज कन्ट्रोल र ६ वटा एयर ब्यागले गाडीमा सवार सबैको उच्चतम सुरक्षा सुनिश्चित गर्दछ । गाडीको बाहिरी एक्स्टेरियर भाग, ‘एक्स(सेप(आकार) फ्रन्ट फेस’ सहित ‘डाइनामिक फास्टब्याक सेप’ डिजाइनमा बनेको छ । भित्र इन्टेरियरको भागमा उच्चस्तरको एम्बिएन्ट लाइटिङ, सोनी प्रिमियम स्पिकर, तथा भेन्टिलेसनयुक्त सिटको सुविधा रहेको छ । साथै यसमा जडित फास्ट चार्जिङको सहायताले २८ मिनेटमा नै ३० प्रतिशतको ब्याट्रीलाई ८० प्रतिशत बनाउन सक्दछ । एस.पी.जी. अटोमोबाइल्स, ग्राहक तथा नयाँ गाडी किन्न इच्छुकले नजिकैको ओमोडा सोरुममा गई नयाँ ओमोडा इ(फाइभको बारेमा जानकारी लिन सक्नेछन् । एस.पी.जी. अटोमोबाइल्स नेपालमा ओमोडा र जेइको अटोमोबाइल्स कम्पनीको आधिकारिक वितरक हो ।
अब दुर्गाले बैंक विरुद्धको अराजक अभियान छोड्लान् ?
काठमाडौं । सर्वोच्च अदालतको आदेशले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएसँगै उनलाई राहात मिल्ने भएको छ । यसअघि विभिन्न शक्तिकेन्द्र धाउँदै अनुमति नपाएर बरालिँदै सडकमा उत्रिएका प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिइएसँगै अब उनलाई राहात मिल्ने देखिएको हो । झापाको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजको सम्पूर्ण भौतिक संरचना निर्माण भएपनि पठनपाठनका लागि सम्बन्धन नपाएका प्रसाईं आफ्नो अर्बौंको सम्पत्ति डुब्ने चिन्तामा थिए । अदालतले बुधबार प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएपछि उनलाई अब कलेज सञ्चालनका लागि बाटो खुलेको हो । सबै पूर्वाधार तयार गर्दा पनि आफ्नो मेडिकल कलेजले सम्बन्धन नपाएको भन्दै प्रसाईले काठमाडौँ विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग लगायतका निकायलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । प्रसाईंले मेडिकल कलेज सञ्चालन गर्न नदिएको भन्दै केही समयअघि सबै भौतिक संरचना भत्काइदिने चेतावनी समेत दिएका थिए । उनले सोही मेडिकल सञ्चालनका लागि बैंकहरुबाट अर्बौं ऋण समेत लिएका छन् । सो कलेज सञ्चालनपछि मात्रै किस्ता तिर्ने सहमतिअनुसार उनले ऋण लिएका थिए । तर, सरकारले सो मेडिकल कलेजलाई सम्बन्धन नदिएपछि उनले बैंकबाट लिएको ऋणको साँवा ब्याज समेत तिरेका थिएनन् । बैंकहरूले बारम्बार ऋण तिर्न ताकेता गरेपछि उनी बैंक तथा वित्तीय संस्थाविरूद्द नै सडकमा उत्रिएका छन् । मेडिकल कलेजको सम्बन्धन पाउनका लागि उनले विभिन्न राजनीतिक दल तथा नेताहरूलाई गुहारे पनि । सुरुमा नेकपा माओवादी केन्द्र र सो दलका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नजिक रहेर काम गरेका उनी पछि सो पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेका थिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सँगै राखेर मार्सी चामलको भात खुवाएर पनि उनी चर्चामा आएका थिए । धेरैले उनलाई ‘मार्सी चामल’ उपनामले चिन्छन् । ओली र प्रचण्डसँग नजिक रहेर काम गर्दा पनि मेडिकल कलेजको सम्बन्धन नपाएपछि उनले उनीहरूको आलोचना गर्दै पार्टी परित्याग गरेका थिए । पछिल्लो समय प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानको नाममा बैंक र लघुवित्तविरुद्ध अभियान चलाउँदै आएका छन् । उनले बैंक तथा लघुवित्तको ऋण तिर्न नहुने भन्दै अराजक अभियान अगाडि बढाएका छन् । मेडिकल कलेजकै सम्बन्धन नपाएर अराजक अभियान अगाडि सारेका उनकाे मेडिकल कलेजलाई अदालतले सम्बन्धन दिने आदेश दिएसँगै सो अभियानलाई उनी छोड्छन् या थप अगाडि बढ्छन् भन्ने विषय हेर्न बाँकी नै छ । तर, यो बिचमा उनले बैंकरहरूमाथि कालोमोसो दल्नेदेखि बैंक घेराउ गर्नेसम्मका अराजक गतिविधि पनि गरे । उनले सार्वजनिक रूपमा बैंकरलाई ‘जहाँ भेट्यो त्यही पिट्ने’, ऋण नतिर्ने र बैंकर टाई लगाएका गुण्डा लगायत अभिव्यक्ति दिँदै समाजमा एक किसिमको बिचलन उत्पन्न गराएका छन् । उनको यो सबै अभिव्यक्ति र गतिविधि पछाडि उनको मेडिकल कलेजको सम्बन्धन थियो । अब उनले आफूले चाहेको माग प्राप्त गरेका छन् । २०७६ सालमा चिकित्सा आयोगमा बी एन्ड सी सम्बन्धनका लागि गएको थियो । तर, २०७३ सालदेखि आशयपत्र नवीकरण नगरेको र काठमाडौं विश्वविद्यालयको सहमति नलिएको भन्दै आयोगले सम्बन्धन दिन अस्वीकार गरेको थियो ।
मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले जिते महामूर्खको उपाधी
काठमाडौं । यस वर्षको महामूर्ख सम्मेलनमा मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डललाई महामूर्खको उपाधीले सम्मानित गरिएको छ । जनकपुरधामको मिथिला नाट्यकला परिषद्ले प्रत्येक वर्ष आयोजना गर्दै आएको महामूर्ख सम्मेलनमा होली पर्वको अवसरमा मिनापले प्रत्येक वर्ष हास्य ठिठोलीको उद्देश्यले महामूर्ख सम्मेलनको आयोजना गर्दै आइरहेको छ । महामूर्खको उपाधी पाएपछि सभामुख मण्डलको अनुहारमा अनौठो मुस्कान समेत देखियो । उनलाई प्रशस्ती पत्र, तरुलको माला तथा टोपीले सम्मान गरिएको छ । मधेस प्रदेशको अर्थ मन्त्रालयका सचिव सुभाषचन्द्र शिवाकोटीलाई पटमूर्ख, मैथिली साहित्यकार सभाका सभापाल प्रेम विदेह ललनलाई मूर्ख महामण्डलेश्वर, गोगलप्रसाद उच्च माविका प्रधानाध्यापक महावीर दासलाई सदावहार मूर्ख, रामजानकी अन्तर्राष्ट्रिय रंगशालाका अभियन्ता दिनेश पूर्वेलाई वैशाखनन्दन, संचारकर्मी नित्यानन्द मण्डललाई खेसारी लाल, ई. सुभाषचन्द्र साहलाई स्थायी मूर्ख, मैथिली कला क्षेत्रमा काम गर्दै आएको संस्था युवा नाट्य कला परिषद्लाई निर्विकल्प मूर्ख, पिपरा गाउँपालिकाको उपाध्यक्ष वन्दना पाण्डेलाई दिलतोरियाको उपाधीले सम्मान गरियो । त्यस्तै मिथिला चित्रकार सुधिकार कर्णलाई हरिप्रिया, मधेस क्रिकेट टिमका क्याप्टेन हरिशंकर साहलाई लोढाशंख, योगगुरु विमल पण्डितलाई बुरिराज, मूर्तिकार योगेन्द्र पण्डितलाई बज्रकिट र अनिकेत गोइनकालाई सोटाचन्दको उपाधीले सम्मानित गरिएको छ ।
राष्ट्रपति शैक्षिक सुधारको बजेट जाजरकोटका ७०० विद्यालय पुनःनिर्माणमा रकमान्तर गरिदै
काठमाडौं । अर्थ मन्त्रालयले जाजरकोट भूकम्पका कारण भत्किएका विद्यालय भवन पुनःनिर्माणका लागि आवश्यक रकम व्यवस्थापन गर्ने भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेटलाई शैक्षिक संस्थाका भवन पुनःनिर्माणका लागि अर्थले रकमान्तर गर्न लागेको हो । अर्थमन्त्री वर्षमान पुन र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठसहित दुवै मन्त्रालयका प्रशासनिक नेतृत्वबीच सोमबार अर्थ मन्त्रालयमा भएको छलफलपछि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेट विद्यालय भवन निर्माणका लागि खर्चिने सहमति भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ । छलफललगत्तै अर्थमन्त्री पुनले चालु आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विनियोजन भएर खर्च हुन बाँकी रहेको रकम विद्यालय भवन पुनःनिर्माणमा खर्च गर्न निर्देशन दिएका छन् । यस्तै, दुई मन्त्रालयबीच आगामी आर्थिक वर्ष २०८१/८२ देखि राष्ट्रपति शैक्षिक सुधार शीर्षकमा बजेट बिनियोजन नगर्ने सहमति भएको छ । आगामी आर्थिक वर्षमा नवप्रवर्तन शीर्षकमा भने बजेट वृद्धि गरिने अर्थमन्त्री पुनले बताए । ‘परिणाम नदिने खालका कार्यक्रम हटाएर नवप्रवर्तनलगायत नयाँ कार्यक्रममा बजेट बढाउने नीति लिइनेछ’, उनले भने । जाजरकोटको बारेकोट गाउँपालिका-१ लामिडाँडा केन्द्रबिन्दु भएर गत कात्तिक १७ गते छ दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो । सो भूकम्पका कारण जाजरकोट, रुकुमपश्चिम, बझाङलगायत जिल्ला सात सयभन्दा बढी विद्यालय भवन भत्किएका थिए । रासस