विकासन्युज

नेपाल हाम्रो उच्च प्राथमिकतामा छ : एआईआईबी

काठमाडौं । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) ले नेपाल आफ्नो उच्च प्राथमिकतामा रहेको जनाएको छ । नेपाल भ्रमणमा रहेको एआईआईबीको उच्चस्तरीय प्रतिनिधि मण्डलले सोमबार अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेको थियो । त्यस क्रममा मन्त्री पुनले पूर्वाधार विकाससहित अन्य आयोजनामा लगानी बढाउन आग्रह गरेका थिए । जवाफमा प्रतिनिधि मण्डलको नेतृत्व गरेका एआईआईबी निर्देशक आरएमपी रथनायकेसहितले टोलीका सदस्यहरूले नेपाल बैंकको उच्च प्राथमिकतामा रहेको बताए । रथनायकेले नेपालको नीतिगत सुधार तथा विकास प्रयास सराहनीय रहेको उल्लेख गरे । उनले नेपाललाई एआईआईबीले प्राथमिकतामा राखेको भन्दै आगामी दिनमा उपलब्धताका आधारमा नेपालमा लगानी बढाउँदै लैजाने नीति लिइएको जानकारी गराए । ५० प्रतिशत पुँजी निजी क्षेत्रको साझेदारीमा परिचालन गर्ने एआईआईबीको नीतिअनुसार नेपालको निजी क्षेत्रसँगको साझेदारीमा काम गर्न मन्त्री पुनले आग्रह गरेका थिए । मन्त्री पुनको उक्त आग्रहका लागि धन्यवाद दिँदै रथनायेकेले बहुवर्षीय आयोजनाहरूको छनोट गरी निजी क्षेत्रसँग सहकार्य गर्न सकिने औंल्याए । मन्त्री पुनले आगामी वैशाखमा हुने तेश्रो लगानी सम्मेलनमा सहभागिताका लागि निम्ता दिए । रथनायेकेले सम्मेलनमा उच्चस्तरबाट सहभागिता जनाइने जानकारी दिए । मन्त्री पुनले नेपालसहित मध्यम आर्थिक अवस्था भएका विकासोन्मुख मुलुकका लागि सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्न टोलीसँग आग्रह गरेका छन् । एआईआईबीको ब्याजदर तुलनात्मक रूपमा महंगो भएकाले नेपालले अपेक्षितरूपमा ऋण लिन नसकेको उनको भनाइ थियो । मन्त्री पुनले नेपाल एआईआईबीको संस्थापक सदस्य भए पनि महंगो ब्याजदरका कारण सोचेजति लाभ लिन नसकेको स्पष्ट गरे । नेपालमा पूर्वाधार विकासमा धेरै काम गर्न काँकी रहेकाले सहुलियतपूर्ण ऋण जरुरी हुने मन्त्री पुनले बताए । सरकारले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेको भन्दै आन्तरिक श्रोतको सीमितताका कारण बाह्य श्रोत जुटाउन आवश्यक रहेको उनले स्पष्ट गरे । पुनले पूर्वाधार विकाससहित जलविद्युत, पर्यटन र सूचना प्रविधिजस्ता तुलनात्मक लाभका क्षेत्रमा लगानी गर्न टोलीलाई आग्रह गरे । जलविद्युतका लागि क्षेत्रीय बजारको सुनिश्चितता भएकाले उक्त क्षेत्र लगानीका लागि आकर्षक रहेको पुनले औंल्याए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणका क्रममा भारतसँग १० हजार मेगावाट विद्युत निर्यात गर्ने सहमति भएको जानकारी दिँदै उनले बजारको समस्या नरहेको स्पष्ट गरे । यस्तै बंगलादेशसँग पनि विद्युत व्यापार सम्झौता भएको र ४० मेगावाट बिजुली छिट्टै बंगलादेश निर्यात गर्न लागिएको बताए । आगामी सन् २०२६ मा नेपालले सहश्राब्दी विकास लक्ष्य हासिल गर्नैपर्ने भन्दै उनले उक्त लक्ष्य छुन नेपालमा लगानी विविधिकरण गर्न उनको आग्रह थियो । यस्तै नेपालले विकास आयोजनामा जलवायु वित्तको परिचालन गर्ने सोच बनाइएकाले त्यसका लागि समेत सहयोग गर्न मन्त्री पुनले आग्रह गरे । देशभित्र र बाहिरको समेत निजी क्षेत्रलाई लगानीका लागि थप विश्वासको वातावरण निर्माण गर्न विद्यमान कानूनमा सुधार गर्दै लैजाने प्रतिबद्धता मन्त्री पुनको थियो । एआईआईबीको दक्षिण कोरियाली कम्पनी प्रमुख लगानीकर्ता रहेको २ सय १६ मेगावाटको निर्माणाधीन माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनामा ४० मिलियन अमेरिकी डलर बराबरको लगानी छ । यस्तै लुम्बिनी र कर्णाली प्रदेशमा निर्माणाधीन केही विद्युत प्रसारण लाइनमा पनि एआईआईबीले लगानी गरेको छ ।

पाउभाजी बेचेर २२ रेस्टुरेन्ट र तारे होटलका मालिक बनेका सुरेश

काठमाडौं । यदि तपाईं केही गर्न दृढ हुनुहुन्छ भने जतिसुकै समस्या आए पनि आफ्नो लक्ष्य प्राप्त गर्नुहुन्छ । भारतका सुरेश पुजारीले कर्नाटकको सानो गाउँबाट आएर २२ वटा रेस्टुरेन्टको मालिक बन्छु भनेर कहिल्यै सोचेका थिएनन् । परिवारिक अवस्था सुरेशको पढाइलाई निरन्तरता दिन सक्ने थिएन । उनले बाल्यकालमै काम गर्न थाल्नुपर्यो । उनले १० वर्षको उमेरमा मजदुरका रूपमा काम गर्न थाले । गाउँमा धेरै विकल्प नभएपछि मजदुरी गर्न उनी मुम्बई आए । मुम्बई नयाँ सहर थियो, उनलाई चिन्ने जान्ने त्यहाँ कोही थिएनन् । उनीसँग काम थिएन र पनि उनी हार नमान्न कटिबद्ध थिए । रेलवे स्टेसनको छेउमा एउटा सानो ढाबामा काम पाए उनले । त्यहाँ दिनभरि काम गरेबापत महिनाको चार रुपैयाँ पाउने गरी काम गर्न थाले । त्यहाँ उनले चार रुपैयाँ तलबमा दुई वर्ष काम गरे । पछि उनलाई चिनेका आफन्तले जुस पसलमा जागिर लगाइदिए । त्यहाँ पनि उनको तलब खासै बढेन, तर उनले त्यहाँको काम राम्रोसँग सिके । जुस पसलमा काम गर्न थालेको केही दिनमै उनले एउटा क्यान्टिनमा जागिर पाए । उनको तलब बढेर ६ रुपैयाँ पुग्यो । शिक्षा विना प्रगति गर्न गाह्रो छ भन्ने उनले राम्ररी बुझेका थिए । त्यसपछि दिनको १८–१८ घण्टा काम गरेर सुरेश राति स्कुल जान थाले । सुरेशलाई पढ्न मनपर्ने भएकाले उनले पढाइलाई निरन्तरता दिए । ९ कक्षासम्म पढेपछि उनले अगाडि पढ्न सकेनन् । अलिकति पैसा जोगाएर गिरगाउँ चौपाटी नजिकै एउटा सानो पाउभाजी पसल खोले सुरेशले । पाउभाजीको स्वाद यस्तो थियो कि उनको पसल चल्न थाल्यो । तत्कालीन ट्रेड युनियनका अध्यक्ष र दिग्गज नेता जर्ज फर्नान्डिसले एकपटक उनको पसलमा पाउभाजी खाएका थिए । उनलाई स्वाद यति मन पर्यो कि उनी त्यहाँ बारम्बार आउन थाले । जर्ज फर्नान्डिस र सुरेश साथी बने । उनको पाउभाजी पसल राम्रै चल्न थाल्यो । बिस्तारै उनले व्यवसाय विस्तार गर्न थाले । केही वर्षमै उनको पसल देशका धेरै ठाउँमा पुग्यो । अहिले ‘सुख–सागर’ को भारतमा २२ भन्दा बढी रेस्टुरेन्ट शाखाहरू छन् । उनको रेस्टुरेन्ट साउथ इन्डियन, पाउभाजी, पञ्जाबी खानाका लागि प्रसिद्ध छ । उनी आइसक्रिम पार्लर, सपिङ मल र तीन तारे होटलको मालिक बनेका छन् । सुख–सागर रेस्टुरेन्ट भारतबाहेक मध्यपूर्वी देशहरूमा समेत पुगेको छ । अमिताभ बच्चनसहित धेरै स्टारले उनको रेस्टुरेन्टमा खाना खाइसकेका छन् । सबै कठिनाइका बाबजुद सुरेशले सफलता हासिल गरे । एजेन्सी

फर्स्ट माइक्रोफाइनान्सको डेढ लाख कित्ता सेयर बिक्रीमा राख्यो प्रभु बैंकले

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखिएको छ । संस्थाले मंगलबार सूचना जारी गर्दै संस्थापक सेयरधनी प्रभु बैंक लिमिटेडको स्वामित्वमा रहेको संस्थाको १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएकाे जनाएकाे छ । यो सेयर जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूले खरिद गर्न आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले आगामी चैत १५ गतेभित्र नक्सालमा रहेको मुक्तिनाथ क्यापिटलको कार्यालयमा आवेदन दिनुपर्नेछ । सेयर खरिदका लागि न्यूनतम १५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

यूनाइटेड अजोडको एक लाख कित्ता सेयर बेच्दै खेतान र चाचान

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडबाट संस्थापक सेयरधनी सन्दिप खेतान र जुलि चाचान बाहिरिने भएका छन् । उनीहरूले आफ्नो स्वामित्वमा रहेको १ लाख कित्ता बढी संस्थापक सेयर बिक्री गर्न लागेका हुन् । मंगलबार कम्पनीले सूचना जारी गर्दै खेतानको नाममा रहेको ९९ हजार ४११ कित्ता र चाचानको नाममा रहेको ४९ हजार ७०५ कित्ता गरी कुल १ लाख ४९ हजार ११६ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको जनाएको छ । यो सेयर कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २७० रुपैयाँ निर्धारण गरिएको छ । विद्यमान संस्थापकहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र सुन्धारामा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ । निर्धारित मितिभित्र कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीसलाई सेयर बिक्रीको प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

माउन्टेन इनर्जीको साधारण सभा आज, १५ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको १०औं वार्षिक साधारण सभा मंगलबार आयोजना हुँदैछ । कम्पनीको फागुन २० गते बसेको सञ्चालक समिति बैठकको निर्णयअनुसार कम्पनीको साधारण सभा आयोजना हुन लागेको हो । उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित १५ प्रतिशत लाभांश बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ । सभामा गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको सम्पूर्ण वित्तीय विवरणहरू पारित गरिनेछ । यस्तै सभामा चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ । कम्पनीले साधारण सभाको प्रयोजनार्थ फागुन ३० गते बुक क्लोज गरेको थियो । त्यसकारण फागुन २९ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीको साधारण सभामा भाग लिन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् ।

सिँचाइको व्यवस्थासँगै भरतपुरका जमिन चैते धानले हराभरा

चितवन । केही वर्षअघिसम्म पश्चिम चितवनका जमिन आकासे खेतीमा निर्भर थिए । कतिपय क्षेत्रमा सिँचाइ नहुँदा ती स्थान बाँझै हुन्थे जुन ‘लाखु टाँडी’ भनेर चिनिन्थे । भरतपुर–२५ का छविलाल न्यौपाने उहिलेको लाखु टाँडीमा अहिले चैते धान रोप्न थालेको बताउँछन् । उनले भने, ‘पहिले यहाँ तीन बिघा जमिन हुने, एक कठ्ठा घोल खेत हुनेभन्दा गरिब गनिन्थे ।’ कतिपयले त विवाह गरेर छोरी दिनुपर्दा टाँडी जमिन हुनेलाई दिनसमेत हिच्किचाउने गरेको उनी बताउँछन् । उनले भने, ‘कुनै बेला सिँचाइ अभावमा खेती नहुने पश्चिम चितवनका टाँडीमा बोरिङसँगै खेती हराभरा हुन थालेको छ ।’ भरतपुर महानगरपालिका–२७ नयाँपटिहानीका जीवन महतो आइतबार मध्याह्न खेतमा पानी पटाउन तल्लीन थिए । उनले करिब दुई बिघा क्षेत्रफलमा लगाएको धानखेतीलाई सिँचाइका लागि बोरिङ सञ्चालन गरेर पानी पटाउँदै थिए । उनले भने, ‘सिँचाइका कारण अहिले हाम्रो जीवनमा नै परिवर्तन आएको महसुस गरेका छौँ ।’ सिँचाइ भएसँगै यस क्षेत्रमा बिगौँबिघा धानखेती गर्न किसान आकर्षित भएको उनले बताए । स्थानीय किसान हठन महतो पहिला दुई बाली मात्रै लगाइने आफ्नो जमिनमा तीन बाली खेती गर्न थालेको बताउँछन् । सिँचाइको समस्या हुँदा आकासे पानीको भरमा धान, मकै, तोरीजस्ता बाली लगाउँदै आएको बताउने उनी अहिले आफ्नो १० कठ्ठा जग्गामा चैते धानखेती गरिरहेका छन् । विगत केही वर्षदेखि सिँचाइको व्यवस्था गरेर चैते धान लगाउन थालेको उनले बताए । सिँचाइ सुविधा भएपछि यस क्षेत्रका किसानले धानसँगै तरकारीखेती गर्न थालेको उनले बताए । उनले भने, ‘सिँचाइले गर्दा हाम्रो आयआर्जनमा सहयोग पुगेको छ ।’ स्थानीय किसान महतो अहिले दुई बाली धान र एक बाली तोरी र फापर लगाउने गरेको बताउँछन् । सुक्खा क्षेत्रका रूपमा रहेको यस क्षेत्रमा सिँचाइको व्यवस्थासँगै पश्चिम चितवनको भरतपुर महानगरपालिकाका बासिन्दामा उत्साह थपिएको उनले बताए । भरतपुर महानगरपालिका, चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालगायतले सिँचाइको व्यवस्था गरेपछि यहाँको खेती प्रणाली नै फेरिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आफू पहिलोपटक प्रमुख भएपछि थालिएको पहिलो महत्त्वपूर्ण काम सिँचाइ भएको बताउँछिन् । पश्चिम चितवनका कतिपय टाँडी भूभागमा किसानलाई सिँचाइ अभाव भएको गुनासो आएपछि निरन्तर सिँचाइ अभियानमा जुटेसँगै यहाँको कृषि प्रणालीमा परिवर्तन ल्याउन सकेको उनी बताउँछिन् । आफू प्रमुख भएर आएपछि सात हजार बिघामा थप सिँचाइ भएको उनको दाबी छ । भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना आफ्नै पहलबाट भरतपुरमा आएको भन्दै उनले तत्कालीन समयमा चितवन र झापाबाट सो कार्यालयले काम सुरु गरेको बताइन् । उनले भनिन् ‘म पहिलोपटक निर्वाचनमा उम्मेदवार हुँदा पश्चिम चितवनका सुक्खा क्षेत्रका मतदाताले सिँचाइ माग गर्नुभएको थियो । त्यो क्रमशः पूरा हुँदै गएको छ ।’ यकिन तथ्यांक नभए पनि नेपालमा छोटो समयमा धेरै क्षेत्रमा भूमिगत सिँचाइ भरतपुरमै भएको महानगरप्रमुख दाहालले बताइन् । हिउँदमा पनि सिँचाइ गर्न नारायणी लिफ्ट आयोजनामा २९ करोडभन्दा बढी खर्च गरेर पम्प थप्ने काम भइरहेको उनले जानकारी दिइन् । महानगरले विगत तीन आर्थिक वर्षमा साना सिँचाइका लागि चार सय ७८ वटा बोरिङ र मझौला सिँचाइका लागि ५५ वटा बोरिङ किसानलाई वितरण गरेको छ । यसबाट किसान प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाले जिल्लामा दुई हजार तीन सय ९१ हेक्टर क्षेत्रफल सिँचाइ गरेको छ । कार्यालयका सूचना अधिकारी अमरसिंह राईका अनुसार भरतपुर महानगरपालिकामा मात्रै एक हजार पाँच सय ८७ हेक्टर क्षेत्रफल सिञ्चित हुने आयोजना सञ्चालनमा आइसकेका छन् ।

कालीगण्डकी कोरिडोर : १५ महिनापछि बेनी-मालढुंगा सडक निर्माणमा प्रगति

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुंगा सडक कालोपत्रका लागि सञ्चालित योजनाको कामले १५ महिनापछि गति लिएको छ । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको, कालीगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–१ मालढुंगाबाट जलजला गाउँपालिका–८, ७, ४ र ३ नं वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक कालोपत्र गर्न सञ्चालित आयोजनाले गति लिएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाको बेनी–मालढुङ्गा खण्डका इन्जिनियर अच्युतविलास पन्तले चालु आर्थिक वर्षभित्र नै पाँच किलोमिटरमा अक्सफाल्ट प्रविधिको कालोपत्र र थप पाँच किलोमिटरमा ग्राभेल गरी आगामी २०८१ असोजसम्म पूरै १३ किलोमिटर कालोपत्र गरिसक्ने समय तालिका बनाएर निर्माणलाई तीव्रता दिएको जानकारी दिए । ‘नदीजन्य निर्माण सामग्रीको अभावले २०७९ कात्तिकदेखि करिब १५ महिना निर्माण सुस्ताएको थियो,’ उनले भने, ‘निर्माण व्यवसायीलाई ताकेता र वैकल्पिक स्रोतबाट नदीजन्य सामग्रीको व्यवस्थापन गर्न सहजीकरण भएपछि निर्माणले तीव्रता पाएको छ ।’ सडक फराकिलो, पानीको निकासका लागि नाली र पर्खाल निर्माण धमाधम भइरहेको तथा मालढुंगाबाट फर्सेसम्मको पाँच किलोमिटर दूरीमा कालोपत्र गर्न सबबेस बिछ्याउन थालिएको इन्जिनियर पन्तले बताए । यो खण्डमा चालु आर्थिक वर्षभित्र नै कालोपत्र गरिसक्ने लक्ष्य छ । विभिन्न ठाउँमा करिब एक किलोमिटर ढलान र खोल्सामा कल्भर्ट निर्माण गरिएको छ । सडक फराकिलो बनाउने, नाली र पर्खाल निर्माण भइरहेको फर्सेबाट लामाखेत खण्डमा पनि यस वर्ष ग्राभेल गर्ने तयारी भएको निर्माण कम्पनीका प्रतिनिधिले बताएका छन् । सडकको छेउछाउमा रहेका घरटहरा भत्काउनका लागि केही दिनमा सूचना निकालेर क्षतिपूर्ति वितरण गरिने आयोजनाका प्रमुख ध्रुव झाले बताए । १३ किलोमिटर लामो मालढुंगा–बेनी सडक स्तरोन्नतिका लागि २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । एपेक्स–खड्का–कृष्णको सहायक ठेकेदार ओमकारेश्वर कन्स्ट्रक्सनले ढुंगा, गिट्टी, बालुवा र रोडा अभाव भएको जनाउँदै २०७९ कात्तिकदेखि सुस्त गतिमा काम गरेको थियो । कालीगण्डकीबाट नदीजन्य पदार्थ उत्खनन गर्न २०७८ असारमा सर्वोच्च अदालतले रोक लगाएको थियो । विसं २०८० असोजमा म्याद सकिएको यस सडक योजनाको हालसम्मको भौतिक प्रगति २५ प्रतिशत रहेको बेनी-जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । आगामी २०८१ असोजसम्मका लागि ठेक्काको म्याद थपिएको छ । सडक निर्माणमा ढिलाइ हुँदा यातायातका साधन सञ्चालन र यात्रुलाई आवतजावतमा समस्या भएको छ । खाल्डाखुल्डी, धुलो, हिलोका कारण यात्रा गर्न सास्ती भएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताए । ‘सामान्य अवस्थामा २० मिनेटमा बेनीबाट मालढुंगा पुगिन्थ्यो, अहिले एक घण्टा लाग्छ,’ उनले भने, ‘धुलो, हिलो र साँघुरो भएकाले बेनी–बागलुङ–मालढुंगाको वैकल्पिक सडक प्रयोग गर्नुपर्दा गाडी र ढुवानी भाडा बढेको छ ।’ यो सडकबाट म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् । बेनी–मालढुंगा, बेनी–जोमसोमलगायत म्याग्दीका दूरगामी महत्वका सडक र विकास आयोजना निर्माणमा देखिएको समस्याका विषयमा संघीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, निजी क्षेत्र, नागरिक समाजले सहजीकरण र माथिल्लो निकायमा समन्वय गरेका छन् । ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा खुलेको मालढुंगा–बेनी सडक २०६८ सालमा कालोपत्र गरिएको थियो । मुस्ताङको कोरलानाकाबाट दक्षिणको सुनौलीसम्म जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत यो सडकलाई ११ मिटर फराकिलो पारेर कालोपत्र गर्न लागिएको हो ।

पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। मंगलबार बिहान कोशी र मधेश प्रदेशमा साधारणतया बदलीको अवस्था रहेको महाशाखाले जनाएको छ । बाँकी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराई भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । हाल कोशी प्रदेशका केही स्थानहरूमा, मधेस प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेशको एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। मंगलबार दिउँसो कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ । कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जनर/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति देशभर आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।