अब दुर्गाले बैंक विरुद्धको अराजक अभियान छोड्लान् ?
काठमाडौं । सर्वोच्च अदालतको आदेशले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएसँगै उनलाई राहात मिल्ने भएको छ । यसअघि विभिन्न शक्तिकेन्द्र धाउँदै अनुमति नपाएर बरालिँदै सडकमा उत्रिएका प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिइएसँगै अब उनलाई राहात मिल्ने देखिएको हो । झापाको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजको सम्पूर्ण भौतिक संरचना निर्माण भएपनि पठनपाठनका लागि सम्बन्धन नपाएका प्रसाईं आफ्नो अर्बौंको सम्पत्ति डुब्ने चिन्तामा थिए । अदालतले बुधबार प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएपछि उनलाई अब कलेज सञ्चालनका लागि बाटो खुलेको हो । सबै पूर्वाधार तयार गर्दा पनि आफ्नो मेडिकल कलेजले सम्बन्धन नपाएको भन्दै प्रसाईले काठमाडौँ विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग लगायतका निकायलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । प्रसाईंले मेडिकल कलेज सञ्चालन गर्न नदिएको भन्दै केही समयअघि सबै भौतिक संरचना भत्काइदिने चेतावनी समेत दिएका थिए । उनले सोही मेडिकल सञ्चालनका लागि बैंकहरुबाट अर्बौं ऋण समेत लिएका छन् । सो कलेज सञ्चालनपछि मात्रै किस्ता तिर्ने सहमतिअनुसार उनले ऋण लिएका थिए । तर, सरकारले सो मेडिकल कलेजलाई सम्बन्धन नदिएपछि उनले बैंकबाट लिएको ऋणको साँवा ब्याज समेत तिरेका थिएनन् । बैंकहरूले बारम्बार ऋण तिर्न ताकेता गरेपछि उनी बैंक तथा वित्तीय संस्थाविरूद्द नै सडकमा उत्रिएका छन् । मेडिकल कलेजको सम्बन्धन पाउनका लागि उनले विभिन्न राजनीतिक दल तथा नेताहरूलाई गुहारे पनि । सुरुमा नेकपा माओवादी केन्द्र र सो दलका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नजिक रहेर काम गरेका उनी पछि सो पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेका थिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सँगै राखेर मार्सी चामलको भात खुवाएर पनि उनी चर्चामा आएका थिए । धेरैले उनलाई ‘मार्सी चामल’ उपनामले चिन्छन् । ओली र प्रचण्डसँग नजिक रहेर काम गर्दा पनि मेडिकल कलेजको सम्बन्धन नपाएपछि उनले उनीहरूको आलोचना गर्दै पार्टी परित्याग गरेका थिए । पछिल्लो समय प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानको नाममा बैंक र लघुवित्तविरुद्ध अभियान चलाउँदै आएका छन् । उनले बैंक तथा लघुवित्तको ऋण तिर्न नहुने भन्दै अराजक अभियान अगाडि बढाएका छन् । मेडिकल कलेजकै सम्बन्धन नपाएर अराजक अभियान अगाडि सारेका उनकाे मेडिकल कलेजलाई अदालतले सम्बन्धन दिने आदेश दिएसँगै सो अभियानलाई उनी छोड्छन् या थप अगाडि बढ्छन् भन्ने विषय हेर्न बाँकी नै छ । तर, यो बिचमा उनले बैंकरहरूमाथि कालोमोसो दल्नेदेखि बैंक घेराउ गर्नेसम्मका अराजक गतिविधि पनि गरे । उनले सार्वजनिक रूपमा बैंकरलाई ‘जहाँ भेट्यो त्यही पिट्ने’, ऋण नतिर्ने र बैंकर टाई लगाएका गुण्डा लगायत अभिव्यक्ति दिँदै समाजमा एक किसिमको बिचलन उत्पन्न गराएका छन् । उनको यो सबै अभिव्यक्ति र गतिविधि पछाडि उनको मेडिकल कलेजको सम्बन्धन थियो । अब उनले आफूले चाहेको माग प्राप्त गरेका छन् । २०७६ सालमा चिकित्सा आयोगमा बी एन्ड सी सम्बन्धनका लागि गएको थियो । तर, २०७३ सालदेखि आशयपत्र नवीकरण नगरेको र काठमाडौं विश्वविद्यालयको सहमति नलिएको भन्दै आयोगले सम्बन्धन दिन अस्वीकार गरेको थियो ।
मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले जिते महामूर्खको उपाधी
काठमाडौं । यस वर्षको महामूर्ख सम्मेलनमा मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डललाई महामूर्खको उपाधीले सम्मानित गरिएको छ । जनकपुरधामको मिथिला नाट्यकला परिषद्ले प्रत्येक वर्ष आयोजना गर्दै आएको महामूर्ख सम्मेलनमा होली पर्वको अवसरमा मिनापले प्रत्येक वर्ष हास्य ठिठोलीको उद्देश्यले महामूर्ख सम्मेलनको आयोजना गर्दै आइरहेको छ । महामूर्खको उपाधी पाएपछि सभामुख मण्डलको अनुहारमा अनौठो मुस्कान समेत देखियो । उनलाई प्रशस्ती पत्र, तरुलको माला तथा टोपीले सम्मान गरिएको छ । मधेस प्रदेशको अर्थ मन्त्रालयका सचिव सुभाषचन्द्र शिवाकोटीलाई पटमूर्ख, मैथिली साहित्यकार सभाका सभापाल प्रेम विदेह ललनलाई मूर्ख महामण्डलेश्वर, गोगलप्रसाद उच्च माविका प्रधानाध्यापक महावीर दासलाई सदावहार मूर्ख, रामजानकी अन्तर्राष्ट्रिय रंगशालाका अभियन्ता दिनेश पूर्वेलाई वैशाखनन्दन, संचारकर्मी नित्यानन्द मण्डललाई खेसारी लाल, ई. सुभाषचन्द्र साहलाई स्थायी मूर्ख, मैथिली कला क्षेत्रमा काम गर्दै आएको संस्था युवा नाट्य कला परिषद्लाई निर्विकल्प मूर्ख, पिपरा गाउँपालिकाको उपाध्यक्ष वन्दना पाण्डेलाई दिलतोरियाको उपाधीले सम्मान गरियो । त्यस्तै मिथिला चित्रकार सुधिकार कर्णलाई हरिप्रिया, मधेस क्रिकेट टिमका क्याप्टेन हरिशंकर साहलाई लोढाशंख, योगगुरु विमल पण्डितलाई बुरिराज, मूर्तिकार योगेन्द्र पण्डितलाई बज्रकिट र अनिकेत गोइनकालाई सोटाचन्दको उपाधीले सम्मानित गरिएको छ ।
राष्ट्रपति शैक्षिक सुधारको बजेट जाजरकोटका ७०० विद्यालय पुनःनिर्माणमा रकमान्तर गरिदै
काठमाडौं । अर्थ मन्त्रालयले जाजरकोट भूकम्पका कारण भत्किएका विद्यालय भवन पुनःनिर्माणका लागि आवश्यक रकम व्यवस्थापन गर्ने भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेटलाई शैक्षिक संस्थाका भवन पुनःनिर्माणका लागि अर्थले रकमान्तर गर्न लागेको हो । अर्थमन्त्री वर्षमान पुन र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठसहित दुवै मन्त्रालयका प्रशासनिक नेतृत्वबीच सोमबार अर्थ मन्त्रालयमा भएको छलफलपछि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेट विद्यालय भवन निर्माणका लागि खर्चिने सहमति भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ । छलफललगत्तै अर्थमन्त्री पुनले चालु आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विनियोजन भएर खर्च हुन बाँकी रहेको रकम विद्यालय भवन पुनःनिर्माणमा खर्च गर्न निर्देशन दिएका छन् । यस्तै, दुई मन्त्रालयबीच आगामी आर्थिक वर्ष २०८१/८२ देखि राष्ट्रपति शैक्षिक सुधार शीर्षकमा बजेट बिनियोजन नगर्ने सहमति भएको छ । आगामी आर्थिक वर्षमा नवप्रवर्तन शीर्षकमा भने बजेट वृद्धि गरिने अर्थमन्त्री पुनले बताए । ‘परिणाम नदिने खालका कार्यक्रम हटाएर नवप्रवर्तनलगायत नयाँ कार्यक्रममा बजेट बढाउने नीति लिइनेछ’, उनले भने । जाजरकोटको बारेकोट गाउँपालिका-१ लामिडाँडा केन्द्रबिन्दु भएर गत कात्तिक १७ गते छ दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो । सो भूकम्पका कारण जाजरकोट, रुकुमपश्चिम, बझाङलगायत जिल्ला सात सयभन्दा बढी विद्यालय भवन भत्किएका थिए । रासस
भाजपाले लोकसेवा चुनावमा उम्मेदवार बनाएको अभिनेत्री कंगना रनौतको सम्पत्ति कति छ ?
काठमाडौं । सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले बलिउड अभिनेत्री कंगना रनौतलाई आगामी लोकसभा चुनावका लागि उम्मेदवार बनाएको छ । कंगनालाई आफ्नो गृहनगर हिमाञ्चल प्रदेशस्थित मन्डी निर्वाचन क्षेत्रबाट टिकट दिइएको छ । आफ्नो दमदार अभिनयले दर्शकको मनमा अमिट छाप छोडेकी कंगनालाई बलिउडकी महारानी भनिन्छ । उनले सन् २००६ मा अनुराग बासुको फिल्म ग्याङ्स्टरबाट बलिउडमा डेब्यु गरेकी थिइन् । आफ्नो १८ वर्ष लामो करियरमा उनले वो लम्हे, फेशन, राज २, वन्स अपन अ टाइम इन मुम्बई, क्वीन, तनु वेड्स मनु, मणिकर्णिका र पंगाजस्ता धेरै फिल्म दिएकी छिन् । स्पष्टवक्ता र आफ्नो बोल्ड स्टाइलका लागि चर्चित कंगनाको जन्म २३ मार्च १९८७ मा हिमाचलको मण्डी जिल्लामा भएको थियो । उनकी आमा स्कुल शिक्षिका र बुबा व्यवसायी हुन् । कंगनाको परिवार पहिलेदेखि नै राजनीतिसँग जोडिएको छ । उनका हजुरबुवा सरजु सिंह रनौत विधायक थिए । कंगनाले चण्डीगढको डीएभी स्कूलबाट अध्ययन गरेकी छिन् । उनको परिवार उनलाई डाक्टर बनाउन चाहन्थे तर कंगनाले एआईपीएमटी (अहिले नीट) को परीक्षा दिइनन् । उनको सपना अर्कै थियो । यही सपना पूरा गर्न उनी १६ वर्षको उमेरमा घरबाट भागिन् । उनले बिना गडफादर बलिउडमा आफ्नो पहिचान बनाएकी छन् । सुरुमा निकै संघर्ष गर्नुपर्यो तर आफ्नो प्रतिभाको आधारमा उनले ठूलो सफलता हासिल गरिन् । कति छ उनको सम्पत्ति ? मिडिया रिपोर्टका अनुसार कंगनाको कुल सम्पत्ति करिब ९० करोड भारु रहेको छ । उनले हरेक फिल्मका लागि २१ देखि २५ करोड भारु लिन्छिन् र बलिउडकी सबैभन्दा महँगो अभिनेत्रीमा गनिन्छिन् । कंगनालाई कार निकै मन पर्छ । उनीसँग एक बीएमडब्ल्यू–७, मर्सिडीज बेन्ज जीएलई एसयूवी, औडी क्यू३ र मर्सिडीज मेब्याक एस–क्लास (मूल्य ७५ लाख) छ । कंगना विलासी जीवन बिताउँछिन् । उनको हिमाचल प्रदेशको मनालीमा ३० करोड भारुको आलिशान बंगला छ । उनीसँग मुम्बईमा पाँच बेडरूमको अपार्टमेन्ट पनि छ जसको मूल्य २० करोड भारु छ । साथै, उनको मुम्बईको पाली हिल क्षेत्रमा ४८ करोड भारुको अफिस छ । मिडिया रिपोर्टका अनुसार उनले फिल्म थलाइवीका लागि २१ करोड भारु पारिश्रमिक लिएकी थिइन् । यसरी उनी बलिउडकी सबैभन्दा महँगो अभिनेत्री बनिन् । टिकट पाएपछि कंगनाले भाजपाप्रति आभार व्यक्त गरेकी छिन् । कंगनाले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘आज भाजपाको राष्ट्रिय नेतृत्वले मलाई मेरो जन्मभूमि हिमाचल प्रदेश मण्डीबाट लोकसभा उम्मेदवार घोषणा गरेको छ । लोकसभा चुनाव लड्ने उच्च कमाण्डको निर्णयलाई म स्वीकार गर्दछु । आधिकारिकरूपमा पार्टीमा सामेल हुन पाउँदा गर्व र उत्साहित महसुस गर्छु । म एक कार्यकर्ता र सार्वजनिक सेवकको रूपमा काम गर्न तत्पर छु ।’ एजेन्सी
सिटिजन्स बैंकले गर्यो सातवटै प्रदेशमा विभिन्न वित्तिय साक्षरताका कार्यक्रम
काठमाडौं । सिटिजन्स बैंकले ग्लोबल मनि विकको उपलक्ष्यमा सातवटै प्रदेशमा विभिन्न वित्तिय साक्षरताका कार्यक्रम सम्पन्न गरेको छ । ‘प्रोटेक्ट योर मनि, सेक्योर योर फ्यूचर’ भन्ने मूल नाराका साथ गत चैत्र ५ देखी ११ सम्म संचालन भएको ग्लोबल मनि विकमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ७ वाटै प्रदेशमा रहेका अफ्ना २५ शाखा कार्यालयहरु बाट विभिन्न वित्तीय साक्षरता कार्यक्रम संचालन गरेर सम्पन्न गरेको छ । यस अन्तर्गत बैंकले कोशी प्रदेशको विराटनगर, विर्तामोड, हल्दिबारी र महेन्द्र चोक , मधेश प्रदेशको विद्यापतिचोक, वीरगन्ज, कृष्णप्रणामी र राजविराज, बाग्मती प्रदेशको थापाथली, थली, भरतपुर, हेटौंडा र सिनामंगल, गण्डकी प्रदेशको अमरापुरी र दमौली, लुम्बिनी प्रदेशको भुताहा र बढैयाताल र कर्णाली प्रदेशको सुर्खेत, जुम्ला, डोल्पा र सिमीकोटमा तथा सुदूरपश्चिम प्रदेशको महेन्द्रनगर, धनगढी, बझाङ र अत्तरियामा विभिन्न वित्तिय साक्षरताका कार्यक्रमको आयोजना गरी वित्तीय ज्ञान प्र्रदान गर्ने कार्य गरेको छ । यस कार्यक्रम्रमा उपस्थित युवा तथा विद्यार्र्थीवर्गमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा विस्तृत प्रकाश पारिएको छ । यस सँंगै वित्तीय साक्षरताको अवस्था र विद्युतीय बैंकिङ्गको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराईएको थियो । नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बैंकिङ्ग प्रणालीकै प्रयोग गर्न समेत उक्त कार्यक्रमबाट आग्रह गरिएको छ । यसबाट बैंकिङ्ग प्रणाली मजवुत हुने साथसाथै युवा र विद्यार्थीमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ ।
समृद्धि फाइनान्सद्वारा वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं । समृद्धि फाइनान्सले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । ग्लोबल मनी वीक २०२४ अन्तर्गत समृद्धि फाइनान्सको पोखरा शाखा, मधुवन शाखा, गैर शाखा र हेटौंडा शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हाे । ‘प्रोटेक्ट योर मनी, सेक्युर योर फीयुचर’ भन्ने मूल नाराका साथ पोखरा शाखा बाट गुरुङ्ग महिला समुहका ४० जना महिलालाई, मधुवन शाखाबाट स्थानीय ८० जना किसान तथा युवाहरुलाई, गैर शाखाबाट स्थानीय रैथाने विपन्न बडी समुदायका ३५ जना र हेटौंडा शाखाबाट २५ स्थानीय युवालार्ई वित्तिय साक्षरता दिईएको थियो । सबै शाखा क्षेत्रहरुमा रेमिटान्स मुख्य आय भएकोले बैदेशिक रोजगारीबाट प्राप्त रेमिटान्सलाई बचतमा परिणत गरि उज्वल भविष्य निर्माण गर्न मद्दत पुग्छ साथै अनावश्यक खर्चहरुलाई कटौती गरेर बचतको बानी बसाल्न सके भविष्यको जीवनयापन सहज बनाउन सकिने तथा विभिन्न डिजिटल बैंकिङ कारोबार तथा यसका अवसर र चुनौतीको विषमा प्रस्तुतीकरण गरिएको थियो । ग्लोबल मनी वीक २०२४ को अवसरमा फाइनान्सले आफ्ना सम्पूर्ण शाखाहरु बाट विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको र आगामी दिनमा पनि यस्तै कार्यक्रमहरु लाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
मैलुङ खोलाको सेयर कारोबार फुकुवा, गल्ती नदोहोर्याउने कम्पनीको प्रतिवद्धता
काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको सेयर कारोबार फुकुवा भएको छ । लाभांश घोषणा सम्बन्धी जानकारी समयमा नगरेको भन्दै नेप्सेले रोकिदिएको कम्पनीको सेयर कारोबार सोमबार फुकुवा भएको हो । नेप्सेलाई समयमा जानकारी नगराएको भन्दै नेप्सेले कारणसहितको स्पष्टिकरण तीन दिनभित्र पेश गर्न निर्देशन दिएको थियो । उक्त निर्देशनअनुसार कम्पनीले नोटसमा सूचना अपलोड गर्दा समस्या आएको र समयमा जानकारी गराउन नसकिएको बताएको छ । साथै, कम्पनीले पत्रमार्फत आगामी दिनमा सजग भई यस्तो गल्ती नदोहोराउने प्रतिवद्धता समेत गरेको नेप्सेले बताएको छ । कम्पनीको चैत ७ गते दिउँसो साढे ३ बजे बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई २.२२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । तर, कम्पनीले उक्त सूचना नेप्सेलाई चैत ८ गते बिहान ११ बजेर १७ मिनेट अर्थात नियमित कारोबारको समयमा जानकारी गराएको थियो । यससँगै धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनिमय २२९१० मा भएको व्यवस्था बमोजिम धितोपत्रको मूल्यमा प्रभाव पार्ने निर्णय वा सूचना नेप्सेलाई जानकारी सोहि दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि नै सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने उल्लेख छ । तर कम्पनीले त्यसको विपरित काम गरेको भन्दै नेप्सेले कम्पनीको कारोबार स्थगन गरिदिएको थियो ।
दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चले दियो आदेश
काठमाडौं । सर्वोच्च अदालतले झापामा रहेको बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ । बी एन्ड सी मा मेडिकल कलेज सञ्चालन गर्न पाउनुपर्ने माग राखी दायर गरेको मुद्दामा सर्वोच्चले दुर्गा प्रसाईंको पक्षमा फैसला गरेको हो । चिकित्सा शिक्षा आयोगले बीएन्डसी कलेजलाई मेडिकल कलेजको मान्यता नदिएपछि कलेजका तर्फबाट प्रसाईंले २०७७ असार २१ र २०७७ असोज ३० गते आयोगविरुद्ध रिट दायर गरेका थिए। न्यायाधीशहरू डा. कुमार चुडाँल र सारङ्गा सुवेदीको संयुक्त इजलासले प्रक्रिया पुर्याएको भए बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो ।