विकासन्युज

गाउँबाट दुई सय रुपैयाँ लिएर चितवन झरेका गजुरेल करोडौंका मालिक

चितवन । पहाडबाट दुई सय रुपैयाँ लिएर चितवन झरेकाका रामप्रसाद गजुरेल तीन दशकको सङ्घर्षले करोडौँका मालिक भएका छन् । चितवन झरेर साइकलमा प्लास्टिक बेचेर सुरु भएको उनको सङ्घर्षले आज सफलताको शिखर चुमेको छ । अहिले गजुरेलको पाइप उद्योग, पानी ट्याङ्की उद्योग, सौराहामा होटल, नारायणगढको क्षेत्रपुरमा फिटनेस सेन्टर (जिम हाउस) लगायत थुप्रै ठाउँमा लगानी छ । यो सफलता त्यसै हात लागेको भने होइन । विसं २०२९ मा नुवाकोटको पीपलटारमा जन्मिएका गजुरेल बुबा गोपीचन्द्र र आमा पुतलीका जेठा छोरा हुन् । एक भाइ र तीन बहिनीसँगै परिवारको जिम्मेवारी उनको काँधमा थियो । निम्नवर्गीय किसान परिवारमा हुर्किएका गजुरेलको विद्यालयको पढाइ खर्च आफैँले तरकारी लगाएर नजिकैको सेनाको ब्यारेकका ठेकेदारलाई बेचेर चलाए । विसं २०४७ मा प्रवेशिका उत्तीर्णसँगै अध्ययन र उपार्जनका लागि उनी चितवन झरे । उनका साथी यहाँको नीलकमल प्लास्टिक उद्योगमा काम गर्थे । त्यही उद्योगमा उनले मासिक नौ सय रुपैयाँ पाउने गरी सहयोगीको जागिर पाए । चार महिना काम गर्दै गर्दा एक साँझ आफ्नो कामको पालो नपरेको बेला साथीले काम गरिरहेको हेर्ने क्रममा उनको हात मेसिनमा पुग्यो । दुईवटा औँला मेसिनले काट्यो । यो उनको जीवनको निकै सङ्घर्षको समय रह्यो । त्यसपछि उनी गाउँ फर्किए । केही महिनापछि फेरि चितवन झरे । साइकलमा प्लास्टिक बेचेको उनले देखे । त्यही उद्योगका सञ्चालकको प्लास्टिक पसल थियो । बिहान नारायणगढस्थित बालकुमारी क्याम्पस पढ्ने र दिउँसोमा साइकलमा पसल–पसलमा प्लास्टिक पुर्याएर बिक्री गर्ने काम उनले थाले । नवलपरासी र चितवनका सबै सहरी क्षेत्रमा उनी साइकलमै पुग्थे । बिदाको अघिल्लो दिन टाढाटाढा पुगेर त्यही रात बिताएर भोलिपल्ट फर्किन्थे । अठार वर्षको त्यो उमेरमा बिहानदेखि साँझ अबेरसम्म उनी साइकलमै खटिन्थे । विसं २०४८ माघदेखि आफैँले काठमाडौंबाट प्लास्टिक ल्याएर यहाँ बिक्री गर्न थाले । यतिबेला उनले दैनिक १२ हजार रुपैयाँसम्मको प्लास्टिक बिक्री गरे । यससँगै उहाँको जीवनयापन केही सहज बन्दै गयो । विसं २०४९ मा एक साथीसँग मिलेर नारायणगढको मेनरोडमा ३५ हजार रुपैयाँमा चितवन प्लास्टिक ट्रेडर्स पसल किने । पसल किन्न मामाघरको हजुरबुबाले १० हजार रुपैयाँ दिए । यो रकम उनको जीवनको व्यावसायिक यात्राका लागि महत्वपूर्ण बन्यो । इमान्दार भएकै कारण साहुहरुले उधारो पनि पत्याउन थाले । यतिबेला पनि उनी साइकलमा प्लास्टिक बिक्री गर्न छाडेका थिएनन् । विसं २०५३ मा उनले पसललाई बढाउँदै थोक बनाए । त्यहीँबाट गोरखा, धादिङ, तनहुँ प्लास्टिकजन्य सामग्री जान थाल्यो । उनले भने, ‘मैले निरन्तर १५ वर्ष बिहान ६ देखि राति १० बजेसम्म साइकलमा प्लास्टिक बेचेको छु ।’ थोक पसलमा कतिपटक त रातको समयमा समेत सुत्न नपाएको उनको स्मरण छ । राति अबेरसम्म सामान लोड गर्दै जाँदा बिहान ५ बजेको र त्यसपछि मुख धोएर निरन्तर काम गरेको उनी अनुभव सुनाउँछन् । विसं २०५४ मा विवाह गरेपछि उनलाई काममा साथ मिल्यो । विसं २०५८ सालमा उनले १८ लाख रुपैयाँमा लिलाचोकमा पुरानो घर किने । त्यही घरमा उनको पसल सुरु भयो । सुरुमा सँगै रहेका साझेदारलाई अर्को पसल खोलेर आफूले एक्लै व्यापार थाले । विसं २०६५ सालमा भारतको दिल्लीमा प्लास्टिक एक्स्पोमा उनी पुगे । त्यहाँ देखेपछि उनी नेपाल फर्किएर प्लास्टिकको पाइप उद्योग सुरु गरे । अर्को वर्षदेखि उनले चितवन पोलीपाइप उद्योग सुरु गरे । सो उद्योगमा पाइपसँगै प्लास्टिकका झोलालगायत सामग्री पनि उत्पादन हुने गर्दछ । भरतपुर महानगरपालिका–४ मा दुई वर्षअघि नै नौ कट्ठा जग्गा उनले किनेका थिए । त्यही जग्गामा उद्योग सुरु भयो । त्यसपछि २०७० सालमा आकाश प्लास्टिक उद्योग खोले भने २०७४ सालमा प्लास्टिकका ट्याङ्क उत्पादन गर्ने उद्योग सुरु भयो । पुरानो उद्योग नजिकै १५ कट्ठा जमिन लिएर उनले यो उद्योग सुरु गरेका हुन् । चितवन राइनो ट्याङ्कीका रुपमा उनको उत्पादन बजारमा छ । दुई वर्षपछि २०७६ भदौमा सौराहामा रोयल टाइगर लग्जरी रिसोर्ट उनले सुरु गरे । यसैगरी, भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा राइनो फिटनेस हव यही वर्षको मङ्सिरबाट सञ्चालनमा छ । यसबीचमै उनले जिल्लामा चलेको सञ्जु इलेक्ट्रोनिक पसल खरिद गरे । इलेक्ट्रोनिक्स, होटल र फिटनेस सेन्टर उहाँका २५ वर्षे छोरा आकाशले हेर्दै आएका छन् । उनीसँगै भाइ सुन्दर व्यावसायिक क्षेत्रमा सँगसँगै छन् । परिवारले दिएको साथ उनको सफलताको अर्को पक्ष हो । उनले गरेको आम्दानी र बैङ्कको साझेदारीमा उद्योग र व्यवसाय फस्टाएको उनी बताउँछन् । व्यावसायिक सफलतासँगै उनी सामाजिक क्षेत्रमा क्रियाशील हुन थालेका छन् । विसं २०७५ देखि २०७९ सम्म उनी प्लास्टिक व्यवसायी सङ्घ चितवनको अध्यक्ष हुन् भने उद्योग वाणिज्य सङ्घ चितवनको कार्यसमिति सदस्य समेत भएर काम गरे । इमान्दारीपूर्वक निरन्तरको सङ्घर्षले नै आफूलाई सफलता मिलेको उनको भनाइ छ । कामलाई सानोठूलो नभनी निरन्तर त्यसैमा लाग्यो भने एक दिन सफलता मिल्ने बताउँदै उनी भन्छन्, “मेरैजस्तै सङ्घर्ष र मिहेनत गर्न सके युवा विदेश पलायन हुनु पर्दैन । रासस

राजनीतिको अखडा बनेको बोर्ड नीति र नेतृत्वविहीन

काठमाडौं । नेपाल पर्यटन बोर्ड दुई महिनादेखि नेतृत्वविहीन छ । माघ तेस्रो साता पदावधि सकिएर बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट डा. धनञ्जय रेग्मी बाहिरिएसँगै बोर्ड नेतृत्वविहीन भएको हो । सरकारले पर्यटन बोर्ड सञ्चालक समितिमा रिक्त तीन सदस्य नियुक्त गर्न पनि सकेको छैन । यसरी सीईओ र सञ्चालक समिति सदस्यहरू नियुक्त गर्न नसक्दा पर्यटन बोर्डले दुई महिनादेखि अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धनका कुनै पनि गतिविधि तथा कार्यक्रम गर्न सकेको छैन । यसअघिका सीईओ रेग्मीले विभिन्न स्वार्थका कारण कार्यकाल एक वर्ष बाँकी हुँदादेखि नै अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनका कुनै पनि गतिविधि गरेका थिएनन् । जसको कारण अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन छवि धुमिल हुनुका साथै नकारात्मक सन्देश प्रवाह भएको थियो । निर्वतमान सीईओ रेग्मीले बेलायतको लन्डनमा आयोजित वर्ल्ड ट्राभल मार्टमा नेपालको सहभागिता नगराएपछि उनी थप विवादित भएका थिए । रेग्मीको उक्त कदमको विरोध गर्दै पर्यटन व्यवसायीहरूले पर्यटन बोर्ड छाडेर आफैं उक्त मार्टमा सहभागी भएका थिए । बोर्ड नेतृत्वविहीन भएपछि तत्कालीन पर्यटनमन्त्री सुदन किराँतीले नयाँ सीईओ नियुक्तिका लागि तयारी थालेका थिए । तर, त्यसको केही समयपछि नै सत्ता गठबन्धन परिवर्तन भयो । सरकार परिवर्तन भएसँगै हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बने । उनी मन्त्री भएको पनि महिना पुग्न लागिसकेको छ । तर, पर्यटन बोर्डका लागि सीईओ छनोट प्रक्रिया भने अझै अघि बढ्न सकेको छैन । एक महिनाअघि पर्यटन विभागका महानिर्देशक चक्रबहादुर बुढाको संयोजकत्वमा सीईओ नियुक्तिका लागि समिति गठन गरिएको थियो । तर, अहिलेसम्म पनि उक्त समितिले सीईओको आवेदन खुलाएको छैन । सीईओ छनोटका लागि मदन आचार्य, मिलन देवकोटा र महानिर्देशक बुढासहित तीन सदस्यीय समिति गठन गरिएको थियो । पर्यटन बोर्डमा पनि ‘चरम राजनीति’ घुसेका कारण नेतृत्वविहीन रहेको व्यवसायीहरू बताउँछन् । सीईओ नियुक्त नहुनु लज्जास्पद पर्यटन व्यवसायी प्रकाश श्रेष्ठ पर्यटन प्रवर्द्दनको क्षेत्र हेर्ने संस्था दुई महिनादेखि नेतृत्वविहीन हुनु यो क्षेत्रका लागि सुखद संकेत नभएको बताउँछन् । ‘नेतृव हाँक्ने लिडर नै नभएपछि संस्थाको अवस्था अस्तव्यस्त हुने नै भयो नि,’ उनी भन्छन्, ‘त्यहीमाथि पर्यटन बोर्डलाई राजनीतिले धेरै नै बिगार्यो ।’ बोर्डमा पर्यटनका विभिन्न निकायमा भएका विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने मान्छे हुनुपर्ने उनी बताउँछन् । पर्यटन बोर्डले गर्नुपर्ने र गर्न सक्ने धेरै विषय भएको उनको भनाइ छ । ‘पर्यटन बोर्डले खाली सेल्स र मार्केटिङ मात्रै नहेरेर प्रडक्ट डेभलपमेन्टतिर पनि हेर्नुपर्छ,’ उनी भन्छन्, ‘हाम्रो एयरपोर्टमा भिसा प्रोसेस गर्न पनि १ देखि २ घण्टासम्म लाग्छ, एयरपोर्टको सिनारियो र अवस्था हेर्दा कुनै पनि पर्यटक नआउने खालको छ अझै पनि, हामीले सुधार्नुपर्ने धेरै कुरा छन् ।’ कुनै पनि संस्थामा एउटा लिडरलाई काम गर्न दिइएन वा उसले कामै गर्न सकेन भन्ने विषयले महत्वपूर्ण भूमिका खेल्ने श्रेष्ठको भनाइ छ । ‘राइट मान्छे नेतृत्वमा आउनुपर्यो, उसलाई काम गर्ने वातावरण पनि सिर्जना गर्नुपर्यो,’ उनी भन्छन्, ‘त्यसैले बोर्डमा चाँडै नै सीईओ नियुक्ति गरेर नेपालको बिग्रेको छवि सुधार्न काम गरिहाल्नुपर्छ ।’ अर्का पर्यटन व्यवसायी विश्वेश श्रेष्ठ अहिले पर्यटन बोर्ड नेतृत्वविहीन हुँदै पूरै वेवारिसे अवस्थामा पुगेको बताउँछन् । पछिल्लो समय पर्यटन बोर्डले कुनै पनि प्रवर्द्धनका काम नै नगरेको उनको भनाइ छ । ‘५० लाख पर्यटक भित्र्याउने लक्ष्य राख्ने सरकारले पर्यटन बोर्डमा सीईओ नियुक्त गर्न नसक्नु लज्जाकै विषय हो,’ उनी भन्छन्, ‘नयाँ मन्त्री नियुक्त भए पनि पर्यटन क्षेत्रको अवस्था सकारात्मक भने छैन ।’ उनका अनुसार पर्यटन बोर्ड अहिले नेतृत्वविहीन भएको हो, तर योभन्दा अगाडि पर्यटन बोर्डको कार्यविधिका कारणले विदेशमा पर्यटन प्रवर्द्धनका प्रचारप्रसार गर्ने काम रोकिएको छ । ‘आजभन्दा एक वर्ष अगाडि पर्यटन बोर्डले पर्यटन प्रवर्द्धनमा केही काम गरेको छैन,’ उनी भन्छन्, ‘त्यसमा पनि नयाँ नेतृत्व आयो भने त्यो कार्यविधिलाई परिवर्तन गरेर काम गर्छ भन्ने व्यवसायीमा झिनो आशा छ ।’ होटलएसोसिएसन (हान) का अध्यक्ष विनायक शाह पर्यटन बोर्डमा बजेट भएको तर कार्यान्वयन गर्ने पक्ष नहुँदा विभिन्न कार्यक्रम प्रभावित भएको बताउँछन् । ‘अब त्यहाँ सञ्चालक समिति (बोर्ड) पनि कम्प्लिट छैन,’ उनी भन्छन्, ‘मुख्य कुरा कार्यकारी अधिकृत नै नभएपछि कसले लिने जिम्मेवारी ?’ के भन्छ पर्यटन बोर्ड ? पर्यटन बोर्डका निर्देशक मणि लामिछाने अहिले सीईओ नियुक्तिका लागि कुनै प्रक्रिया अगाडि नबढेको बताउँछन् । ‘सीईओ पद जनवरी १५ तारिखबाट खाली नै छ, अस्थायी रूपमा निमित्त कार्यकारी प्रमुख भनेर तोकिएको छ,’ उनी भन्छन्, ‘अहिले व्यवस्थापन समूहले चलाइरहेको छ, अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनका काम भने अहिले ठप्प नै भइरहेको हो, अस्तिको बोर्ड बैठकले पनि यसलाई हल्का खुलाइदिने काम गरेको छ, अब धमाधम काम हुन्छ ।’ अहिले बोर्डमा तीन जना सदस्यको पद खाली छ । ‘तत्कालीन पर्यटनमन्त्री किराँतीको कार्यकालमा बोर्ड सदस्य छान्नका लागि कमिटी गठन भएको थियो,’ उनी भन्छन्, ‘केही दिनमै सरकार परिवर्तन भइहाल्यो, अब नयाँ पर्यटनमन्त्रीले पनि पर्यटन प्रवर्द्धनका विषयमा चासो, चिन्ता राख्नुभएको छ, केही दिनमा अगाडि बढ्छ होला ।’ यस्तै, पर्यटन मन्त्रालयका प्रवक्ता हेमराज तामाङ भने सीईओ नियुक्तिको प्रक्रिया धमाधम अघि बढिरहेको बताउँछन् । ‘नियम अनुुसार सञ्चालक समिति गठन गरेर सञ्चालक समितिले बोर्डको सीईओ नियुक्ति गर्ने प्रक्रिया सिफारिस गर्ने भन्ने हुन्छ,’ उनले भने, ‘त्यो प्रक्रिया धमाधम अघि बढिरहेको छ ।’ सीईओ नियुक्त हुन कति समय लाग्छ भनेर यकिन भन्न भने नसकिने उनले बताए । पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच, नेपाल सरकारले मनोनित गर्ने पाँच जना र सीईओ गरी ११ जना सञ्चालक समिति रहने व्यवस्था छ ।

पूर्वाधार विस्तारमा लगानी बढाउन विद्युत प्राधिकरणबाट एआइआइबीलाई आग्रह

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत पूर्वाधार संरचना सुधार तथा विस्तारका परियोजनामा लगानी बढाउन एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)लाई आग्रह गरेको छ । एआइआइबी सञ्चालक समितिका सदस्य आर. एम. पी. रथनायके नेतृत्वमा नेपाल भ्रमणमा रहेको बैंक सञ्चालक समितिका सदस्यहरु सम्मिलित प्रतिनिधिमण्डलसँग सोमबार भएको भेटमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत प्रसारण र वितरणतर्फका पूर्वाधार सुधार तथा विस्तारमा सस्तो ब्याजदरमा लगानी बढाउन आग्रह गरे । नेपालको ऊर्जा क्षेत्रको रुपरेखा तथा लगानी आवश्यकता सम्बन्धी जानकारी प्रतिनिधिमण्डललाई गराउँदै कार्यकारी निर्देशक घिसिङले पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित विद्युत् आपूर्ति, छिमेकी देशहरुसँगको विद्युत् व्यापार विस्तारका लागि उत्पादन, प्रसारण र वितरणतर्फका संरचना निर्माण गर्न ठूलो लगानी आवश्यक रहेको बताए । ‘ऊर्जा मन्त्रालयले अगाडि बढाएको सन् २०३५ सम्मको ऊर्जा क्षेत्रको मार्गचित्र कार्यान्वयनका लागि विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरुका लागि झण्डै ६० अर्ब अमेरिकी डलर (निजी क्षेत्रलाईसहित) लगानी चाहिन्छ, यसका लागि एआइआइबीजस्ता बहुपक्षीय निकायहरुबाट सस्तो ब्याजदरमा सहुलितपूर्ण ऋण आवश्यक छ’, कार्यकारी निर्देशक घिसिङले भने । घिसिङले भरपर्दो तथा गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चिता, ऊर्जा सङ्क्रमण तथा दक्षता, विद्युत् निर्यात बृद्धि, मौसमी विद्युत् उत्पादनको असन्तुलन न्यूनिकरणका लागि जलाशययुक्त आयोजनाहरुको निर्माण, वितरण तथा प्रसारण सञ्चाल विस्तार तथा सुधारलगायतका क्षेत्रमा हाल काम भइरहेको एआइआइबीको प्रतिनिधिमण्डललाई जानकारी गराए । प्रतिनिधिमण्डले ऊर्जा क्षेत्रका लागि आवश्यक पर्ने लगानी गर्न बैंक इच्छुक रहेको बताएको थियो । प्रतिनिधिमण्डबाट हाल एआइआइबीको लगानीमा निर्माणाधीन आयोजनाहरुको प्रगति, वातावरणीय तथा सामाजिक सुरक्षणका विषयहरु, ऊर्जा क्षेत्रको पुर्नसंरचना, विद्युत निर्यातका लागि बजार सुनिश्चितालगायतका विषयमा जिज्ञासा राखिएको थियो । नेपालकोतर्फबाट एआइआइबी सञ्चालक समितिका सदस्य एवम् अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालले ऊर्जा क्षेत्रको विकासका लागि बैंककातर्फबाट सस्तो ब्याजदरमा सहुलितपूर्ण ऋण उपलब्ध गराइनु पर्नेमा जोड दिएका थिए । एआइआइबीले हाल विद्युत् वितरण प्रणाली सुधार तथा विस्तार परियोजना कार्यान्वयनका लागि ११ करोड २३ लाख डलर सहुलितपूर्ण ऋण नेपाललाई उपलब्ध गराएको छ । परियोजनामार्फत प्राप्त सहुलितपूर्ण ऋण लुम्बिनी प्रदेशका दाङ, बाँके बर्दिया तथा रोल्पा र कर्णाली प्रदेशका ८ जिल्लाको विद्युतीकरण तथा वितरण प्रणाली विस्तार र सुधारमा खर्च गरिंदैछ । परियोजनाबाट १९ वटा ३३/११ केभी वितरण सबस्टेसन, ३५० किलोमिटर ३३ केभी लाइन,१७९८ किलोमिटर ११ केभी लाइन, ३१५९ किलोमिटर एलटी लाइन निर्माण र १०४५ वटा वितरण ट्रान्सफर्मर जडान गरिने छ । उक्त परियोजना कार्यान्वयनका लागि ठेक्का सम्झौता र परियोजनाको डिजाइन सम्पन्न भइसकेका छन् । एआइआइबीले कोरियाली कम्पनीहरुको अगुवाइमा प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा ४ करोड डलर ऋण प्रवाह गरेको छ ।

नेपालगञ्जको वाटरपार्कमा आन्तरिक पर्यटकको चहलपहल

नेपालगञ्ज । बाँकेकाे धम्बोझीमा अवस्थित वाटरपार्क आन्तरिक पर्यटकको रोजाइमा परेको छ । तालको पुनःनिर्माणसँगै तयार भएको पूर्वाधार विकासले सर्वसाधारणलाई लोभ्याएको छ । वाटरपार्क सहरको बीच भागमा रहेकाले सर्वसाधारण सजिलै त्यहाँ पुगेर रमाउने गरेका छन् । वाटरपार्कको पुनःनिर्माणसँगै मोटरबोट सञ्चालन भएपछि त्यहाँ आन्तरिक पर्यटकको चहलपहल बढेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं १ का वडाध्यक्ष प्रमोद रिजालले बताए । ‘यो हाम्रो वडाको मात्रै नभएर जिल्लाकै प्रमुख पयर्टकीय क्षेत्रका रूपमा विकास हुँदै गएको छ,’ नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्तासमेत रहेका रिजालले भने, ‘वाटरपार्क पर्यटन प्रवर्द्धनसँगै उपमहानगरपालिकाको आन्तरिक स्रोत संकलनको माध्यम पनि बन्दै गएको छ ।’ नेपालगञ्जमा गर्मी सुरु भएसँगै वाटरपार्क घुम्न, साँझ शीतलमा रमाउन, दिनभरिको कामको बोझ र थकान मेटाउन आन्तरिक पर्यटक पुग्ने गरेका छन् । आसपासमा खुला चौर भएकाले पनि शीतल हावा आउँछ । चुच्चे आकारको फराकिलो वाटरपार्कको सौन्दर्यमा समय बितेको पत्तै नहुने स्थानीय प्रजुन गिरीले बताए । विसं २०६५ मा सुरु भएको वाटरपार्क योजनाअनुसार त्यहाँ आकर्षक फूलबारी, बाल उद्यान, व्यापारिक प्रयोजनका पसल कोठालगायत संरचना निर्माण गरिँदैछ । वरिपरि पक्की सडक निर्माण भइरहेको छ । पन्ध्र वर्ष पुरानो वाटरपार्क योजनाअन्तर्गत ६५ बिघा क्षेत्रफलमध्ये १० बिघामा तलाउ छभने बाँकीमा बसोबासको पूर्वाधारयुक्त आधुनिक बस्ती बसाउने योजना छ । उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टका अनुसार वाटरपार्क क्षेत्रभित्र छदेखि १८ मिटरसम्मको पक्की सडक निर्माण भएको छ । नेपालगञ्जको सुर्खेतरोडबाट बर्दियाको गुलरिया सडक जोड्ने २१ मिटर चौडाइको मुख्य सडकलाई पनि वाटरपार्कसँग जोड्ने योजना छ । वाटरपार्कमा सेवा प्रदायक कम्पनी बोटेबोराले मोटरबोट सेवा सञ्चालन गरेको छ । एक करोड आठ लाखको लागतमा व्यावसायिक सेवा सुरु गरेको कम्पनीले आगामी वैशाखदेखि औपचारिक रूपमै सञ्चालन गर्ने तयारी गरेको कम्पनीका सञ्चालक विष्णु ढकालले बताए । वाटरपार्कमा पानीको सतह कायम राख्न कम्पनीले नै बोरिङ गरेको छ । तालमा मोटरबोट चलाउन योग्य बनाउन करिब दुई महिना समय लागेको ढकालले जानकारी दिए । कम्पनीले वाटरपार्कमा मोटरबोट सञ्चालन गरेवापत नेपालगञ्ज उपमहानगरपालिकालाई वार्षिक रु २५ लाख बुझाउने सम्झौता भएको ढकालले बताए । पर्यटकले मोटरबोट चढ्न रु दुई सय ५० तिर्नुपर्छ । बाह्र सय वर्गमिटरको तालमा पर्यटकले मोटरबोटमा घुम्दै चार किलोमिटर शयर गर्न सक्नेछन् । वाटरपार्कमा जेटस्कि, पाँचवटा पावरस्पोर्ट्स, फ्लोटिङ रेष्टुरेण्ट, अपोजिट बन्जी, साइक्लिङ, जिपलाइनलगायत सेवा विस्तार गर्ने योजना रहेको ढकालले बताए । रासस

शिखर इन्स्योरेन्सको सञ्चालकमा चार जना निर्वाचित

काठमाडौं । शिखर इन्स्योरेन्सको सञ्चालकमा चार जना निर्वाचित भएका छन् । हालै सम्पन्न कम्पनीको १९औं वार्षिक साधारण सभाबाट चार जना सञ्चालक पदमा निर्वाचित भएका हुन् । जसमा गौरव अग्रवाल, बुद्ध एयरको तर्फबाट रमेश कुमार लुईटेल, डा. श्रुजना श्रेष्ठ र सौरभ ज.ब. राणा रहेका छन् । उनीहरु आगामी चार वर्षको कार्यकालको लागि निर्वाचित भएका हुन् ।

संकटमा मानविकी, रोजगारी नपाइने चिन्तामा न्यून आकर्षण

काठमाडौं । काठमाडौंको बुद्धनगरमा रहेको कादम्बरी मेमोरियल कलेज समाजिक कार्य (सोसल वर्क)मात्र पढाइ हुने कलेज हो । विगत १७ वर्षदेखि सञ्चालनमा रहेको कलेजमा अहिले विद्यार्थीको संख्या निकै कम छ । लामो समयदेखि ब्याच्लर्स इन सोसियल वर्क (बिएसडब्लू) कार्यक्रम सञ्चालन गर्दै आएको कलेजले केही वर्ष यतादेखि (एमएसडब्लू) कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । तर, विद्यार्थीको संख्या नहुँदा कलेज सञ्चालनमै अन्यौलको अवस्था सिर्जना भएको बुझिएको छ । कलेज प्रमुख प्रदिप्ता कादम्बरी सामाजिक विषय विद्यार्थीको रोजाइमा नै नपर्ने भएकाले कलेजलाई विद्यार्थी पाउन समस्या भइरहेको बताउँछिन् । ‘अहिले धेरै विद्यार्थीको रोजाइमा डाक्टर र इन्जिनियरलगायत अन्य प्राविधिक विषय पर्छन्,’ उनी भन्छिन्, ‘अभिभावकलाई पनि आफ्नो छोराछोरी डाक्टर, इन्जिनियर बनुन् भन्ने लाग्छ, सोसियल वर्क पढेर के हुन्छ ? भन्ने अभिभावक धेरै नै छन्, त्यसैले पनि यस्ता विषयमा विद्यार्थीको संख्या कम हुँदै आएको हो ।’ सोसियल साइन्स, मानविकी जस्ता विषय अहिले विद्यार्थीकोे प्राथमिकतामा पर्दैन । यस्ता विषय पढ्न नसक्ने, कमजोर विद्यार्थीले पढ्ने हो भन्ने भाष्य निर्माण गरिएको छ । तर, यो भाष्य नै गलत रहेका उनको भनाइ छ । कादम्बरीजस्तै मानविकी संकाय पढाइ हुने धेरै कलेजमा यो संकाय पढ्ने विद्यार्थीको संख्यामा कमी छ । यस्तै, देशकै पुरानो तथा ठूलो त्रिभुवन विश्वविद्यालयमा पनि विद्यार्थीको संख्या घट्दै गएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको मानविकी संकायमा पनि विद्यार्थीको संख्या घट्दै गएको छ । सो संकाय अन्तर्गत अर्थशास्त्र, मानवशास्त्र, राजनीतिशास्त्र, दर्शनशास्त्र, भूगोल, इतिहास, कला, साहित्य, भाषा, पत्रकारिता, संस्कृतिजस्ता विषय पर्दछन् । विश्वविद्यालयको मानवकीकी संकायका १६ वटा विभागमा अहिले कुल २ सय ४३ विद्यार्थी मात्र छन् । केन्द्रिय शिक्षाशास्त्र विभागका सूचना अधिकारी बैकुण्ठ अर्याल १६ वटा विभागमा एक हजार ३ सय ५० जना विद्यार्थी आवश्यक रहेकोमा २ सय ४३ जना मात्रै रहेको बताउँछन् । त्रिभुवनविश्व विद्यालयको भुगोल केन्द्रिय विभागमा यो वर्ष स्नातकोत्तरमा १६ जना विद्यार्थी भर्ना भएका छन् । गत वर्ष १९ विद्यार्थी भर्ना भएका थिए । विभागका साहयक प्रमुख ज्ञानुराजा महर्जनका अनुसार एमफिलमा यो वर्ष ४ जना विद्यार्थी भर्ना भएका छन् । गत वर्ष पाँच जना विद्यार्थी भर्ना भएका थिए । स्नातकोत्तर र एमफिलमा अध्ययन गर्न कम्तिमा पनि १० जना विद्यार्थी आवश्यक पर्छ । महर्जन भन्छन्, ‘जति विद्यार्थी आए पनि उनीहरूलाई पढाउने गरेका छौं, विद्यार्थीको निकै अभाव छ ।’ किन मानविकी तथा शिक्षाशास्त्र संकायमा विद्यार्थीको सख्या घट्दैछ भन्ने जिज्ञासामा सो संकायकी डिन कुशुम शाक्य अन्य संकायमा पनि विद्यार्थीको संख्या नै घटेको बताउँछिन् । ‘यो संकायमा विद्यार्थीको सख्या घटेको भन्ने हल्ला मात्र हो,’ भन्छिन्, ‘केही विषयमा विद्यार्थी घटेको होलान् तर, राजनीतिशास्त्र, समाजशास्त्र लगायतका विषमा विद्यार्थीको संख्या झन बढेको छ, यस्तो अवस्थामा विद्यार्थी घटे भन्न मिल्दैन ।’ विद्यार्थी आफूले मन परेको विषय पढ्ने भएकाले यो वा यही कारणले विद्यार्थी पढ्न छोडेको भन्न नमिल्ने बताउँछिन् । किन कम भए विद्यार्थी ? उच्च शिक्षा हासिल गर्नुको उद्देश्य नै रोजगारीका लागि हो । जुन विषय पढ्दा रोजगारीका सम्भावना धेरै हुन्छन्, विद्यार्थीको रोजाइ पनि त्यही विषय पर्छन् । मानविकी संकायका विषय र अहिलेको बजारको माग नमिलेको कारण मानविकीमा विद्यार्थीको आकर्षण घटेको जानकारहरू बताउँछन् । समाजशास्त्री टिकाराम गौतम अहिलेको बजार हेरेर विद्यार्थी विषय छनोट गर्ने गरेको बताउँछन् । ‘बजारमा के–को माग छ, त्यो अनुसार आफूले पढेर काम पाउँछु कि पाउँदैन पढ्नु भन्दा पहिले विषय छनोट गरिन्छ,’ उनी भन्छन्, ‘अहिले राजनीति, इतिहास, भुगोल पढेकालाई काम पाउन नै गाह्रो छ, त्यसैले पनि मानविकीमा विद्यार्थीको संख्या घटेको हुन सक्छ ।’ ब्रिटिस प्रोफेसर ट्पाइन बीले भनेका छन्, ‘समाजशास्त्र र इतिहास भनेका जुम्ल्याहा दिदीबहिनी हुन् ।’ समाजशास्त्री डा.दिलीप मल्ल शिक्षकले इतिहास र समाजशस्त्रको महत्व विद्यार्थीलाइ बुझाउन नसक्नु र यो विषयलाई सरकारले नै महत्व नदिनुले विद्यार्थीको सख्या घटिरहेको बताउँछन् । ‘विकासको लागि वा राज्यको रणनीतिको लागि समाजको अध्ययन गर्नुपर्ने हुन्छ, ‘हाम्रो समाजमा फराकिलो सामाजिक मनोविज्ञान छ, हामी एक गाउँबाट अर्को गाउँमा जाँदा त्यहाँको सामाजिक मनोविज्ञान फरक पाउँछौं, समाजको अध्ययन गर्ने शास्त्र समाजशास्त्र, समाजको मनोविज्ञान के छ ? हिजोको इतिहास कस्तो थियो भन्ने कुरा इतिहासले बताउँछ ।’ इतिहास र समाज अध्ययन गरेर यसको महत्व दर्शाउन सक्यो भने मात्र यसमा विद्यार्थीको सख्या बढ्ने उनको भनाइ छ । उनी यसको महत्व बुझाउन सकेन भने यो संकाय ठूलो संकटमा पर्ने बताउँछन् । ‘अबको बच्चालाई समाजशास्त्र, मानवशास्त्र, इतिहास , बुझाउन सक्नुपर्छ, यसका लागि राज्य संरचनामा पनि परिवर्तन गर्नुपर्छ र यसमा आवद्ध प्रोफेसर संस्थाबाट सामाजिक परामर्श गर्नुपर्ने आवश्यकता छ,’ उनले भने । समाजशास्त्री निर्मला ढकाल पढाइ, डिग्री राजगार, आर्थिक अवस्था र आर्थिक सुदृढिकरणसँग जोडिने बताउँछिन् । जसरी प्राविधिक धारमा पढिसकेपछि सजिलै रोजगारी पाइन्छ, त्यति यो विषयमा नपाइने भएकाले नै यो विषयमा पढ्ने विद्यार्थीको संख्या कमी आएको बताउँछिन् । ‘रोजगारीसँग यस्ता विषयहरू नजोडिएकाले विद्यार्थी यो क्षेत्रमा आकर्षण भएन,’ उनी भन्छिन्, ‘डिग्रीले मात्र खान लगाउन पुग्दैन, खानलाउन आफ्नो डिग्री कुनै रोजगारसँग ठोक्कीनु पर्ने भएकाले अहिलेको जुन प्रतिस्पर्धा छ, बजारमा दक्ष, प्राविधिक माग हुन्छ भन्ने विषय अध्ययन गरेर विद्यार्थी विषय रोज्छन् । ’ पाठ्यक्रममा नै विभेद कुनैपनि विद्यार्थीले सेकेण्डरी एजुकेसन इक्जामिनेशन (एसईई) दिइकेपछि आफू के विषय पढ्ने, कुन विषयमा आफ्नो भविष्य तय गर्ने योजना बनाउँछन् । प्राविधिक विषय लिएर पढ्ने वा कुनै विषय लिएर पढ्ने भन्ने उसको रोजाइ हुन्छ । तर, धेरै जसो विद्यार्थीले एसईई पास गरिसकेपछि नै मानविकी संकाय अन्तर्गतका विषय रोज्दैनन् । किनकी पाठ्यक्रम विकास केन्द्रले नै यो विषय कमजोर विद्यार्थीका लागि हो भन्दै छुट्टयाइ दिएको छ । एसईईमा आएको नम्बर अनुसार विद्यार्थीले संकाय छनोट गर्नुपर्ने हुन्छ । पाठ्यक्रम विकास केन्द्रको निर्देशिका अनुसार विज्ञान विषय पढ्न उच्च ग्रेड ल्याउनुपर्छ । तर, मानविकी संकायका विषय पढ्न जस्तोसुकै ग्रेड भएपनि हुने भनेको छ । एसईईपछि विद्यार्थी पढ्ने विषय उच्च ग्रेड र कम ग्रेडले छुट्याउँदा राम्रो विद्यार्थीका लागि विज्ञान र कमजोर विद्यार्थीका लागि अरू विषय भनेर छुट्टयाए जस्तो हुँदा एसइइपछि नै यो संकायमा विद्यार्थीको आकर्षण कम रहेको विज्ञहरू बताउँछन् । यस्तो व्यवस्थाले विद्यार्थीको मनोविज्ञान नै कमजोर हुने मानवशास्त्री शुरेस ढकालको भनाइ छ । कमजोर पढाइ मानवशास्त्री शुरेस ढकाल ह्युम्यानिटज र सोसल साइन्सेजको पढाइको स्तर मापन गर्ने तरिका नभएको बताउँछन् । यी संकायमा विद्यार्थी घट्नु आन्तरिक र बाह्य कारण रहेको बताउँदै उनी पढाइको गुणस्तर कमजोर हुनु, समसामयिक विषयवस्तु नहुनु, रोजगारीका लागि उत्तम क्षेत्र नभएकाले विद्यार्थीको संख्या घटेको बताउँछन् । ढकाल त्रिविको व्यवस्थापन नै कमजोर रहेको बताउँछन् । कुनै पनि विद्यार्थीलाई आकर्षण गर्न संस्था आकर्षित हुनुपर्छ,’ उनी भन्छन्, ‘विद्यार्थी यो संकाय घट्यो, यो संकायमा बढ्यो भन्ने मात्र कुरा हैन, त्रिविको जिम्मेवार निकाय को हो ? यो त्यसको जिम्मेवारी हो, कि यो सबै अधिकार विभागलाई दिनुपर्छ न भए जिम्मेवार निकाय जवाफदेखि हुनुपर्छ । ’ सम्पूर्ण अधिकार डिन अफिस अथवा केन्द्रले राख्ने नतिजा प्रकाशन गर्न ढिलो गर्ने लगायतका विभिन्न समस्या रहेको उनको धारणा छ ।

सेन्ट्रल फाइनान्सको स्वतन्त्र सञ्चालकमा पौडेल नियुक्त

काठमाडौं । सेन्ट्रल फाइनान्सको स्वतन्त्र सञ्चालकमा अशोककुमार पौडेल नियुक्त भएका छन् । चैत १२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले पौडेललाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि संस्थाको उक्त पद रिक्त रहेको थियो ।

डिशहोम फाइबर नेटको ‘क्याच द बिग अफर’ सार्वजनिक

काठमाडौं । डिशहोम फाइबरनेटले ‘क्याच द बिग अफर’ सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत, ग्राहकहरूले अब पत्याउन गाह्रो हुने मूल्यमा उत्कृष्ट सेवासहित उच्च गतिको इन्टरनेटको आनन्द लिन सक्ने कम्पनीको भनाई छ । डिशहोमले इन्टरनेट ल्यान्डस्केपलाई पुनः परिभाषित गर्ने साहसी कदम सुरु गरेको जनाएको छ । नयाँ योजनाअनुसार सय एमबीपीएस इन्टरनेट प्याकेज मात्र सात हजार ५२२ रूपैयाँमा ग्राहकहरूले १२ महिनाको लागि प्राप्त गर्न सक्छन्, जबकि दुई सय एमबीपीएस प्याकेजको मूल्य मात्र सात हजार ७८८ उही अवधिको लागि रहेको छ भने अझ छिटो गति खोज्नेहरूले मात्र नौ हजार ९१२ रूपैयाँमा १२ महिना कै लागि तीन सय एमबीपीएस प्याकेज रोज्न सक्छन् । यती मात्र नभएर डिशहोम फाइबरनेटले प्रत्येक प्याकेजको साथ निःशुल्क फाइभ-जी राउटर पनि प्रदान गर्दैछ । यो अफरको घोषणा नेपाल र आयरल्याण्ड वुल्भ्स बीचको उद्घाटन खेल सँगै कम्पनीले गरेको हो । बजेट अनुकूल मूल्यहरूमा प्रिमियम गुणस्तरको इन्टरनेट सेवाहरूमा क्रान्तिकारी परिवर्तन गर्ने आफूहरु सफल भएको भन्दै डिशहोमले यो गज्जबको अफर प्राप्त गर्न, इच्छुक व्यक्तिहरूले आफ्नो नजिकको डिशहोम फाईबरनेट डिलरकहाँ गएर वा ०१–५९७०३६५ मा सम्पर्क गरेर प्रक्रिया अघि बढाउन सक्छन् । डिशहोम फाइबरनेटको खेल–परिवर्तन गर्ने प्याकेजहरू आएसँगै, आईएसपी उद्योगमा मूल्य युद्धको युग समाप्त भएको सन्केत देखाएको, जसले सबैका लागि उच्च गति इन्टरनेट पहुँचको नयाँ युगको सुरुवात गरेको कम्पनीको भनाई छ ।