वरिष्ठ साहित्यकार सुवेदीको निधन
सुन्दरहरैँचा । वरिष्ठ साहित्यकार तथा प्राज्ञ दधिराज सुवेदीको निधन भएको छ । उनको ७८ वर्षको उमेरमा बुधबार बिहान मोरङको विराट मेडिकल कलेज एन्ड टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको हो । विसं २००३ मा भोजपुरको दिङ्लामा जन्मिनुभएका साहित्यकार सुवेदी क्यान्सर रोगबाट पीडित थिए । पूर्वाञ्चल विश्वविद्यालयमा १२ वर्षसम्म सूचना अधिकृतको रूपमा काम गरेका उनका एक दर्जन मौलिक कृति प्रकाशित छन् । नेपालीमा स्नातकोत्तर गरेका साहित्यकार सुवेदीले पूर्वाञ्चल साहित्य प्रतिष्ठानको सदस्य सचिव तथा प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरको अध्यक्ष भइ नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएका थिए । साहित्यकार सुवेदी विराटनगरलाई कर्मभूमि बनाएर नेपाली भाषा र साहित्यमा सक्रिय थिए । उनका ‘साधनाको अभिरेखाङ्कन’, ‘मातृकाका कथा’, ‘उनको कथाशिल्प’, ‘प्रतिभा र प्रस्तुति’, ‘नेपाली साहित्यका मुस्कानहरु’लगायत कृति लोकप्रिय छन् । सुवेदीका नाममा उनका छोराहरुले २०७३ सालमा ‘दधिराज पुरस्कार प्रतिष्ठान’ स्थापना गरेका छन् । सो प्रतिष्ठानमार्फत २०७३ सालदेखि बर्सेनि दुई स्रष्टालाई सम्मान गरिँदैआएको साहित्यकार तथा पत्रकार कृष्णविनोद लम्सालले जानकारी दिए । सुवेदीको विराटनगरस्थित परोपकार घाटमा दाहसंस्कार गरिएको उनको पारिवारिक स्रोतले जनाएको छ । सुवेदीका दुई छोरा, एक छोरी र श्रीमती छन् । रासस
कर्णालीमा एसइई दिने विद्यार्थी घटे
काँक्रेविहार । बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कर्णाली प्रदेशबाट सहभागी हुने विद्यार्थीको सङ्ख्या अघिल्लो वर्षको तुलनामा घटेको छ । यस वर्ष ३५ हजार आठ सय आठजना विद्यार्थीले एसइई परीक्षामा सहभागी हुने भएका छन् । गत वर्ष ३८ हजार नौ सय ७० जना विद्यार्थीले एसइई दिएका थिए । गत वर्षको तुलनामा यो वर्ष तीन हजार एक ६२ जनाले घटेको हो । प्रदेश शिक्षा विकास निर्देशनालयका अनुसार यो वर्ष एसइईमा सहभागी हुने परीक्षार्थीमध्ये १७ हजार छ सय २३ छात्र र १८ हजार एक सय ५८ छात्रा छन् । परीक्षाका लागि प्रदेशभर एक सय ८६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । जिल्लागत विवरणअनुसार सबैभन्दा धेरै सुर्खेतबाट आठ हजार तीन सय ४८ विद्यार्थीले एसइई दिँदैछन् । यहाँ ३३ वटा परीक्षा केन्द्र तोकिएको छ । रुकुम पश्चिममा २३ वटा परीक्षा केन्द्र छन्भने तीन हजार पाँच सय ९३ परीक्षार्थी छन् । चार हजार पाँच सय ८२ परीक्षार्थी रहेको सल्यानमा २५ वटा परीक्षा केन्द्र तोकिएको छ । हिमाली जिल्लामा विद्यार्थीको सङ्ख्या निकै न्यून रहेको छ । सबैभन्दा कम डोल्पामा जम्मा सात सय ३३ विद्यार्थीले एसइई दिँदैछन् । यहाँ चार वटा मात्रै परीक्षा केन्द्र तोकिएको छ । जाजरकोटमा २२ परीक्षा केन्द्रमा चार हजार छ सय ९४ परीक्षार्थी, दैलेखमा २५ परीक्षा केन्द्रमा पाँच हजार दुई सय ५७ परीक्षार्थीले एसइई दिँदैछन् । हुम्लामा छवटा परीक्षा केन्द्र छन् । परीक्षार्थी एक हजार एक सय ९५ छन् । मुगुमा आठवटा परीक्षा केन्द्र र एक हजार एक सय १३ परीक्षार्थी छन् । यस्तै, २४ वटा परीक्षा केन्द्र रहेको कालीकोटमा तीन हजार सात सय ३६ परीक्षार्थी छन् । जुम्लामा दुई हजार पाँच सय ५७ परीक्षार्थीका लागि १६ परीक्षा केन्द्र तोकिएको छ । शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक दीपा हमालले कर्णालीमा एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिइन् । रासस
जापानिज ब्राण्ड पानासोनिकको एयर कन्डिसनरमा ३२ हजार छुट
काठमाडौं । जापानिज ब्रान्ड पानासोनिकले एयरकन्डिसनरमा छुटको अफर ल्याएको छ । नेपालका लागि पानासोनिक एयर कन्डिसनरको अधिकृत वितरक त्रिवेणी ग्रुपले ३२ हजार रुपैयाँ छुटको अफर ल्याएको हो । उक्त छुट योजना १ टन क्षमताको इन्भर्टर टाइप एयर कन्डिसनरमा लागू हुने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार १ लाख १३ हजार रुपैयाँ पर्ने उक्त एयर कन्डिसनर यो अफरअन्तर्गत ८० हजार ९९० रुपैयाँमै पाइने छ । भारी छुटका अतिरिक्त कम्पनीले ग्राहकलाई अन्य सुविधा पनि दिएको छ । जसअन्तर्गत निःशुल्क जडान, निःशुल्क डेलिभरि र १२ मिटर कपर पाइन निःशुल्क पाइनेछ । ऊर्जा किफयती तथा वातावरणमैत्री उक्त एयरकन्डिसनरमा १० वर्षको कम्प्रेसर वारेन्टी दिइएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । यो एयर कन्डिसनर जगदम्बा हायर पर्चेजबाट शून्य प्रतिशत किस्ताबन्दीमा पनि खरिद गर्न सकिने बताइएको छ ।
एभरेष्ट बैंकले सम्पन्न गर्यो वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं । एभरेष्ट बैंकले ग्लोबल मनी वीक २०२४ कार्यक्रम सम्पन्न गरेको छ । नेपाल राष्ट बैंकको संयोजनमा बिगत वर्षहरुजस्तै यस वर्ष पनी एभरेष्ट बैंकले चैत ५ गतेदेखी सप्ताव्यापी अभियान अन्तर्गत ग्लोबल मनी वीक २०२४ को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ । उक्त कार्यक्रम अन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखा मार्फत विभिन्न स्कुल/क्याम्पसहरुमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३ हजार भन्दा बढी विधार्थीहरुमा वित्तीय शिक्षाको महत्व जागरण गरायो । ‘प्रोटेक्ट योर मनी, सेक्युर योर फ्युचर’ भन्ने नाराका साथ सम्पन्न गरिएको उक्त कार्यक्रममा युवाहरुमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, बैंकहरुले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीका विषयमा सचेतना गराइयो ।
अदुवा खेतीले बढायो इलामका किसानको आम्दानी
फिक्कल । पछिल्लो समय इलाममा अदुवाखेती विस्तार हुँदै गएको छ । अदुवाखेतीले यहाँका किसानको जीवनस्तरमा परिवर्तन ल्याउन थालेपछि खेती विस्तार भएको हो । किसानले व्यावसायिकरुपमा अदुवाखेती गरी मनग्य आम्दानी गर्न सफल भएका छन् । परम्परागत शैलीको अदुवाखेतीबाट आधुनिकीकरण हुन थालेपछि उत्पादन र आम्दानीमा वृद्धि भएको किसानको भनाइ छ । इलामको फाकफोकथुम गाउँपालिका–४ फुएतप्पाका रत्न लिम्बूले गत वर्ष अदुवा बेचेर रू १२ लाख आम्दानी गरे । अदुवा (बच्चा) प्रतिमन (४० किलो) रू आठ हजारका दरले एक सय ५० मन बेचेका थिए । ‘गत वर्ष अदुवाको मूल्य राम्रो पाइयो, त्यसैले आम्दानी पनि मनग्य भयो’, उनले भने, ‘अदुवाको बजार र माग प्रशस्त भएकाले बिक्री गर्न समस्या छैन ।’ उनले गत वर्ष १० रोपनी जमिनमा अदुवाखेती गर्दा दुई सय १० मन उत्पादन भएको जानकारी दिए । करिब ६० मन बीउका लागि राखेर एक सय ५० मन बिक्री गरेको लिम्बूले बताए । यस वर्ष पनि खेती विस्तार गरेकाले उत्पादन पनि वृद्धि भएको उनको भनाइ छ । पन्ध्र रोपनीमा ६० मन बीउ राप्दा करिब तीन सय ५० मन उत्पादन भएको उनले बताए । ‘यस वर्ष तीन सय ५० मन उत्पादन भएको छ । अहिलेसम्म बिक्री भने गरेको छैन’, लिम्बूले भने, ‘अझ भाउ बढ्ने आशामा नबेची राखेको छु, गत वर्षकै भाउ चल्यो भने रू २८ लाख हाराहारी आम्दानी हुनेछ ।’ उनले अदुवा बिक्रीबाट आएको आम्दानीले आफ्नो दैनिक घरव्यवहार खर्चका साथै छोराछोरीको पढाइ खर्च व्यवस्थापन गर्दै आएको बताए । ‘पाँचजना परिवारको घरखर्च र छोराछोरीको पढाइ यहीँ अदुवाखेतीले धानेको छ’, उनले भने । फुएतप्पाकै किसान रामु गिरीले अदुवाखेतीबाट वार्षिक रू १२ लाख आम्दानी गर्दै आएको बताए । एक सय ५० देखि दुई सय मनसम्म अदुवा उत्पादन गर्दै आएका गिरीले पछिल्लो समय भाउ राम्रो आएकाले आम्दानी बढेको बताए । ‘विगत तीन वर्षयता अदुवाले भाउ राम्रै पाइरहेको छ,’ उनले भने, ‘यही भाउ स्थिर रहिरहने हो भने किसानको आम्दानीको मुख्य स्रोत अदुवा बन्न सक्छ ।’ माङसेबुङ गाउँपालिका–२ का उदय सङबाङफेले यस वर्ष अदुवा बेचेर रू तीन लाख ३३ हजार हात परेको बताए । पछिल्लो वर्ष व्यावसायिक अदुवाखेती गर्दै आएका उनले अदुवाको बजार र माग राम्रो भएकाले विदेश जान छोडेर व्यावसायिक अदुवाखेतीमा जुटेको बताए । यस वर्ष मुख्य उत्पादनको सुरुदेखि नै अदुवाले राम्रो भाउ पाएपछि किसान उत्साहित भएका छन् । जिल्लामा उत्पादित अदुवा झापाको धुलाबारीमा अहिले प्रतिमन रू सात हजारदेखि रू आठ हजार सम्ममा बिक्री भइरहेको छ । इलाममा प्रतिमन रू छ हजारको दरमा किनबेच भइरहेको इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौडेलले बताए । ‘अहिले यहाँ अदुवाको सरदर मूल्य रू छ हजार छ । यो मूल्य विगत तीन वर्षकै उच्च हो,’ उनले भने, ‘सिजनको अन्त्यमा सधैँ नै भाउ राम्रो आउँछ, यो वर्ष पनि बढ्न सक्छ । भाउ बढेपछि किसान अदुवाखेतीप्रति आकर्षित हुन थालेका छन् ।’ जिल्लाका किसानले १० मनदेखि दुई सय मनसम्म अदुवा रोप्ने गरेका छन् । अदुवा बढी उत्पादन हुने क्षेत्रका किसानले धान र अन्य खेती छाडेर यसलाई बढाएका पौडेलको भनाइ छन् । अरू खेतीको दाँजोमा अदुवाखेतीबाट नाफा बढी हुने भएकाले किसान यसप्रति आकर्षित भएका उनले बताए । माउ अदुवाको मुख्य उत्पादन कात्तिकको पहिलो सातादेखि सुरु हुन्छ । मुख्य उत्पादनको बिक्री जेठसम्म हुने गर्दछ । जिल्लाको व्यापारिक केन्द्रहरु इलामसँगै बिब्ल्याँटे, मङ्गलबारे, गजुरमुखी, चतुरे, माङसेबुङ, फिक्कल, पशुपतिनगर, तीनघरे, बोल्बुङ, हर्कटे, दानाबारीलगायत बजारमा बढी मात्रामा अदुवा किनबेच हुने गर्दछ । जिल्लाको मुख्य नगदेबालीका रुपमा गरिने अदुवाखेती इलामका प्रायः सबै पालिकाका किसानले गर्दै आएका जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । समुद्र समतबाट नौ सयबाट एक हजार पाँच सय मिटरसम्म अदुवाखेती गर्न उपयुक्त मानिने केन्द्रका निमित्त प्रमुख रामजुगल यादवले बताए । उनका अनुसार यहाँका किसानले ठूलो (भैँसे), मझौला र साना गरी तीन किसिमका अदुवाखेती गर्ने गरेका छन् । इलाममा तीन हजार दुई सय २५ हेक्टर क्षेत्रमा व्यावसायिक अदुवाखेती हुँदै आएको केन्द्रका निमित्त प्रमुख यादवले जानकारी दिए । उनका अनुसार गत वर्ष जिल्लामा ५० हजार नौ सय ५५ मेट्रिक टन अदुवा उत्पादन भएको केन्द्रसँग तथ्याङ्क छ । मसलाका रुपमा प्रयोगमा आउने यसको खपत पूर्णरुपमा भारतीय बजारमा हुने गरेको छ । पूर्वी नाका काँकडभिट्टा हुँदै भारत पश्चिम बङ्गालको नकसल पुर्याएर व्यापारीहरुले अदुवा बेच्ने गरेका छन् । अदुवाको मूल्य बढेसँगै गाउँगाउँमा पुगेर किन्ने व्यापारी बढेका छन् । ती साना व्यापारीहरुले गाउँमा नै गएर किनेको अदुवा जिल्लाको ठूला व्यापारीमार्फत झापाको धुलाबारी पुर्याएर बेच्ने गरेका किसान बताउँछन् । रासस
बिहीबारदेखि सुरु हुने एसइईको सम्पूर्ण तयारी पूरा, परीक्षाका लागि खटिदै जनशक्ति
फाइल फाेटाे भक्तपुर । बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पुरा भएको छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको अन्तिम तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष प्रा डा महाश्रम शर्माले भालिदेखि सञ्चालन हुने परीषाको सम्पूर्ण तयारी पूरा भएको भन्दै प्रश्नपत्र र उत्तरपुस्तिका जिल्लाजिल्ला पुर्याइएको जानकारी दिए । उनले परीक्षालाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न सबैलाई आह्वान पनि गरे । ‘भोलिदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सम्पूर्ण तयारी पुरा भएको छ । भयरहित भएर ढुक्कसँग परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई आह्वान गर्दछु’, शर्माले भने, ‘साथै परीक्षालाई शान्तिपूर्ण, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नरगराउने विद्यार्थी, शिक्षक, अभिभावक र सबै नागरिकमा आह्वान गर्दछौँ ।’ उनका अनुसार चैत १५ गते बिहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुने परीक्षा चैत २७ गते सम्पन्न हुनेछ । पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । एसइईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्षलगायत जनशक्तिलाई अभिमुखीकरण गरिएको बोर्डले जनाएको छ । परीक्षा दिने पाँच लाख बढी बोर्डले चैत १५ गतेदेखि सुरु हुने परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने कक्षा १० परीक्षा नियन्त्रण कार्यालयका एसइर्ई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । उनका अनुसार कूल परीक्षार्थीमध्ये पाँच सय छ विद्यालयका १५ हजार सात सय ४९ जना परीक्षार्थी प्राविधिक धारतर्फका छन् । परीक्षामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका १५ जना परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए। उनका अनुसार बाँके, चितवन, दाङ, गोरखा, इलाम, खोटाङ, सुर्खेतबाट एकरएक, पर्सा र सप्तरीबाट दुईरदुई, रुपन्देहीबाट चार जना छन् । परीक्षाका लागि कार्यालयले दुई हजार ६४ परीक्षा केन्द्र निर्धारण गरेको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए । उनका अनुसार सबैभन्दा कम मनाङ, मुस्ताङमा एक/एक र सबैभन्दा बढी काठमाडौँमा एक सय २७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । जापानमा एक परीक्षा केन्द्र यस वर्षको एसइई परीषमा जापानबाट २३ जना सहभागी हुने परीक्षा नियन्त्रक पौडेलले बताए । उनका अनुसार जापानमा रहेको एभरेष्ट स्कूलमा एक परीक्षा केन्द्रबाट १५ छात्रा र आठ छात्र गरी २३ विद्यार्थीले परीक्षा दिने भएका छन् । प्रश्न पत्र र उत्तरपुस्तिका जिल्लाजिल्लामा परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र र उत्तर पुस्तिकालगायतका सम्पूर्ण सामग्री बोर्डले सम्बन्धित जिल्ला पुर्याएको छ । बोर्डले यसवर्ष पाँच लाख प्रश्नपत्र छापेको जनाएको छ । परीक्षा नियन्त्रक पौडेलले परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र बोर्डले देशभरका ७७ जिल्लाका प्रहरी कार्यालयमा पठाइसकेको जानकारी दिए । उनका अनुसार प्रत्येक विषयको परीक्षाका दिन परीक्षा सुरु हुनु केही समय अगाडि मात्रै प्रहरी सुरक्षाका साथ सम्बन्धित परीक्षा केन्द्रमा प्रश्न पत्र पठाइने छ । उत्तरपुस्तिका एवम् अन्य सामग्री कार्यालयले सातै प्रदेशबाट जिल्लाजिल्ला पठाइसकेको जानकारी दिँदै पौडेलले परीक्षाका लागि प्रदेश र जिल्लाले गर्ने तयारी पनि पुरा भएको जानकारी आएको बताए । परीक्षा सञ्चालनका लागि आवश्यक बजेट भने सातवटै प्रदेशका प्रदेश सरकार, सामाजिक सुरक्षा मन्त्रालयले व्यवस्थापन गर्नेछ । जापानको परीक्षा केन्द्रको जापानस्थित नेपाली दूतावासले परीक्षाको अनुगमन गर्ने भएको छ । जापानमा केन्द्र रहेको स्कूलको प्रिन्सिपललाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ । हुलाकमार्फतमा उत्तर पुस्तिका पठाइएको जापानमा परीक्षा सुरु हुनु अगाडि इमेलमार्फत प्रश्नपत्र पठाइने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए । परीक्षाका लागि खटिदै जनशक्ति बोर्डका अनुसार एसइर्ई परीक्षाका लागि प्रत्यक्षरुपमा ७७ हजार चार सय ८५ जना जनशक्ति परिचालन हुने भएका छन् । प्रति केन्द्र एक जनाका दरले केन्द्राध्यक्ष खटाइनेछ । देशभर दुई हजार ६४ परीक्षा केन्द्र तोकिएका छन् । त्यस्तै एक सय ५० विद्यार्थी बराबर एक जनाका दरले चार हजार एक सय २८ जना सहायक केन्द्राध्यक्ष, प्रति २० विद्यार्थी बराबर एक जनाका दरले २५ हजार दुई सय २२ निरीक्षक खटाइएको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए । त्यसैगरी एक सय परीक्षार्थी बराबर एक जनाका दरले पाँच हजार ५४ परीक्षा सहायक खटाइनेछ भने ५० परीक्षार्थी बराबर एक जनाका दरले १० हजार ८१ कार्यालय सहयोगी खटाइने भएको छ । प्रत्येक परीक्षा केन्द्रमा १५ जनाका दरले ३० हजार नौ सय ६० सुरक्षाकर्मी परिचालन गरिने छ । परीक्षा केन्द्रको आवश्यकताअनुसार सुरक्षाकर्मीको सङ्ख्या थप हुन सक्ने पौडेलको भनाइ छ । उनका अनुसार सुरक्षाकर्मीदेखि कर्मचारी परिचालनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला परीक्षा समन्वय समितिले थप गर्न सक्नेछ । परीक्षा उतीर्ण हुन ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट विसं २०७८ पुस ७ गते ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ जारी गरेपनि कार्यान्वयनमा आउन सकेको थिएन । यसवर्षको परीक्षामा भने बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ लागू गरेको छ । विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने प्रावधान रहेकामा बोर्डले यसवर्ष पहिलो पटक निर्देशिका कार्यान्वयनमा ल्याएसँगै एसइर्ई परीक्षाको नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनै पर्ने भएको छ । परीक्षा नियन्त्रक पौडेलले परीक्षार्थीले कम्तीमा सैद्धान्तिक विषयमा ३५ अङ्क र प्रयोगात्मकमा ४० अङ्क ल्याउनै पर्ने बताउँदै एक सय पूर्णाङ्क रहेको विषयमा ३५ र ७५ पूर्णाङ्क रहेको विषयमा २७ अङ्क ल्याउनु पर्ने जानकारी दिए । परीक्षा नियन्त्रक पौडेलले ३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनुपर्ने प्रावधान रहेको बताए । उनका अनुसार ३५ अङ्क ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छन् । रासस
के ‘ग्लोबल बिजनेस हब’ हङकङको अन्त्य नजिक छ ?
काठमाडौं । आजकल हङकङमा बसोबास गर्ने मानिसहरूले आफ्नो सहरको खस्किँदै गएको स्थितिको मजाक उडाइरहेका छन् । कुनै समय ‘ग्लोबल बिजनेस हब’ का लागि उपयुक्त ठाँउ मानिएको सहर युनेस्कोको नयाँ विश्व सम्पदा स्थल बनेको छ । यसको कारण भनेको कडा सुरक्षा कानुन हो जसलाई धारा २३ नाम दिइएको छ । यो कानुन यसै साताको अन्त्यबाट लागु भएको छ । यसले हङकङको चिन्ता बढाएको छ । यो कानुनले सहरलाई सुरक्षा र स्थायित्व दिने अधिकारीहरू बताउँछन् । जबकि, आलोचकहरू भन्छन् कि यसले असहमतिलाई दबाउने काम गर्छ । किनभने, यसको कार्यान्वयनपछि बन्द ढोकाभित्र मुद्दा चलाइने छ, विद्रोह र देशद्रोह जस्ता धेरै अपराधहरूमा मृत्युदण्ड दिन सकिन्छ । हङकङमा चीनको पकड बलियो बन्दै गएको बेला यो कानुन ल्याइएको हो । साथै, यसबाट अमेरिका र चीनबीचको तनाव पनि बढ्दै गएको छ । यस्तो परिस्थितिका कारण चीनबाट लगानी बाहिर सर्दैछ । घरजग्गा सर्वेक्षणकर्ता चान (नाम परिवर्तन गरिएको) भन्छन्– ‘अब उद्योगीहरू ‘चीनबाहेक जहाँ पनि’ लगानी गर्न तयार छन् ।’ उनी भन्छन्, ‘पहिले हङकङलाई चीनभन्दा छुट्टै मानिन्थ्यो र लगानीकर्ताहरू यहाँ लगानी गर्न चाहन्थे, तर अब चाहँदैनन् ।’ धारा २३ र त्यसपछि… चीनको हालैका नीतिहरूमा राष्ट्रिय सुरक्षा र विदेशी शक्तिहरूबाट देशलाई हुने खतरालाई ठूलो महत्त्व दिइएको छ । यसले हङकङमा विदेशी पुँजी र व्यवसायका लागि जोखिम बढाएको छ । चीनको सरकारी बैंकमा काम गर्ने एक अधिकारी विगत दुई वर्षदेखि यहाँको व्यापार खराब भएको बताउँछन् । उनका अनुसार उनको कम्पनीले जुन महिनामा आफ्ना १० प्रतिशत कर्मचारीलाई निकालेको थियो । गत साता पाँच प्रतिशत कर्मचारीलाई निकालिएको थियो । बाँकी कर्मचारीको पालो कहिले आउँछ कसैलाई थाहा छैन । जर्मन चेम्बर अफ कमर्सका अध्यक्ष जोहानेस ह्याक धारा २३ ले यहाँको व्यवसायमा कति प्रभाव पार्छ भन्ने कुराको छिटै मूल्यांकन हुने बताउँछन् । तर, यसको विषयवस्तु र उल्लंघनका लागि तोकिएको सजायलाई हेर्दा यसले व्यवसाय गर्न जटिल बन्ने देखिन्छ । उद्योगीहरूले आफ्नो व्यवसायको लागतमा उल्लेख्य वृद्धि हुने विश्वास गर्छन् । हङकङ सरकारले बीबीसीलाई दिएको वक्तव्यमा धारा २३ ले सहरलाई स्थायित्वबाट समृद्धितर्फ लैजाने र ‘सामान्य’ व्यवसायमा कुनै असर नपर्ने बताएको छ । यसले हङकङलाई मात्रै खडा गर्न नसकिने बताएको छ । विश्वका सबै देशको आ-आफ्नो सुरक्षा कानुन छ । हङकङको धारा २३ ले राष्ट्रिय सुरक्षा नीतिमा विस्तार गरेको छ । चीनले सन् २०२० मा राष्ट्रिय सुरक्षा नीति लागु गरेको थियो । धारा २३ यस्तो समयमा आएको हो, जब सहर प्रशासनले विश्वलाई यो अझै शक्तिशाली वित्तीय केन्द्र हो भनी विश्वस्त गराउन खोजिरहेको छ । हङकङको जनरल चेम्बर अफ कमर्सको तर्क छ कि यस लेखले हङकङलाई स्थानीय र विदेशी व्यवसाय र यहाँ काम गर्ने पेसेवरहरूका लागि सुरक्षित स्थान बनाउने छ । उही समयमा हङकङका प्रमुख कार्यकारी जोन लीले सहरको प्रशासनले राष्ट्रिय सुरक्षाबारे मात्र सोच्ने तर्कलाई अस्वीकार गरेका छन् । उनले धारा २३ को विषयमा चिन्ता व्यक्त गर्नेहरूले एक प्रकारले ‘नरम प्रतिरोध’को मनोवृत्ति अपनाइरहेको बताए । २०१९ मा हङकङमा प्रजातन्त्र समर्थक प्रदर्शन र शून्य-कोभिड नीतिबारे चीनको कठोरतापछि अर्थव्यवस्था गिरावटमा छ । व्यापारिक स्थल र खुद्रा पसलको भाडा घटेको छ । कार्यालय र पसल खाली छन् । हङकङ आउने पर्यटक संख्या पनि घटेको छ । गत वर्ष कोभिडअघि आउने पर्यटक संख्या ६० प्रतिशत मात्रै थियो । हङकङको गौरव मानिने ह्याङ सेङ इन्डेक्सको मूल्य सन् २०१९ यता ४० प्रतिशतभन्दा बढीले घटेको छ । जनवरीमा भारतको सेयर बजारले यसलाई उछिनेर विश्वको चौथो ठूलो बजार बन्यो । हङकङभन्दा सिंगापुर बलियो वित्तीय केन्द्रका रूपमा उभिएको छ। अन्तर्राष्ट्रिय बैंकहरूले हङकङ र चीनमा कर्मचारीहरूलाई निकाल्दैछन् । यहाँको वृद्धिदर घटेको र लगानीकर्ताको विश्वास पनि घटेको यी बैंकहरूको भनाइ छ । हङकङबाट पुँजी र मानिसहरूको पलायन भइरहेका छन् । हालै, मोर्गन स्टेनलीको एसिया प्रमुखले एक पत्रिकाको स्तम्भमा लेखे, ‘हङकङ समाप्त भयो ।’ दिग्गज लगानीकर्ता लाम याट-मिङले एक आर्थिक पत्रिकामा लेखेका छन्, ‘लगानीकर्ताहरूले आफ्नो जीवनको आनन्द लिनुपर्छ, उनीहरूले हङकङको सेयर बजारबाट आफूलाई टाढा राख्नुपर्छ ।’ अर्का व्यावसायिक व्यक्ति हाइक हङकङ बाहिर यसप्रतिको धारणा परिवर्तन भएको बताउँछन् । उनी भन्छन्, ‘यो सहर अझै पनि मेनल्यान्ड (चीन) भन्दा फरक देखिन्छ, तर सुरक्षा नीतिमा धेरै जोड गर्दा यसले हङकङको विशेषतालाई मेटाउन सक्छ ।’ एक देश, दुई व्यवस्था सन् १९९७ मा हङकङ चीनलाई सुम्पिएपछि ‘एक देश, दुई व्यवस्था’ अन्तर्गत यो पूर्व बेलायती उपनिवेशको प्रशासन चलिरहेको थियो । चीनले हङकङमा मानवअधिकारको संरक्षण गर्ने वाचा गरेको थियो । तर, आलोचकहरू चीन आफ्नो वाचाबाट पछि हट्न थालेको बताउँछन् । चीन प्रजातन्त्र पक्षधर आन्दोलनकारीलाई दमन गर्न व्यस्त छ । चीनले यहाँ २०२० मा राष्ट्रिय सुरक्षा कानुन लागु गरेको थियो । यसअन्तर्गत पूर्व सांसदसहित २ सय ६० जना पक्राउ परेका थिए । अधिकारीहरूले यस कदमको बचाउ गरे । उनीहरूले यसलाई ‘अराजकताबाट सुशासन’ परिवर्तनको विषय भएको बताए । एक स्थानीय कानुन सहरको ‘मिनी संविधान’ अन्तर्गत रहेको छ जसलाई सधैं लागु गराउने योजना थियो । सन् २००३ मा पहिलो पटक यो कानुन लागु गराउने प्रयास भए पनि सफल हुन सकेको थिएन । त्यसपछि करिब ५० लाख मानिस सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका थिए । तर, यसपटक धारा २३ लागु भएको दुई साताभित्र पारित भएको छ । हङकङ ब्याप्टिस्ट युनिभर्सिटीका राजनीतिशास्त्री केनेथ चान सी जिनपिङको नेतृत्वमा चीनले राष्ट्रिय सुरक्षालाई धेरै महत्त्व दिएको बताउँछन् । लगानी गर्ने या नगर्ने ? अनुसन्धान फर्म ओरिएन्टिसका प्रमुख अर्थशास्त्री केभिन सुई भन्छन् कि यस सहरको महत्त्वलाई बेवास्ता गर्नु हुँदैन । हङकङले आफ्नो क्षमताको सदुपयोग गर्नुपर्छ । यहाँ एक सरल, कम कर दर प्रणाली छ । यो एकमात्र चिनियाँ सहर हो जहाँ विदेशी मुद्रामा कुनै नियन्त्रण छैन । हङकङ डलर अमेरिकी डलरसँग जोडिएको छ । जसले आर्थिक स्थायित्व ल्याउँछ । उनी भन्छन्, ‘यो सत्य हो कि हङकङ एक चिनियाँ सहर हो । तर, यो पनि सत्य हो कि विदेशीहरू चीनसँग व्यापार गर्न चाहन्छन् ।’ हङकङमा व्यापार गर्ने आत्मविश्वास घटेको छ । तर, यो पनि किनभने चिनियाँ अर्थतन्त्रले गिरावटको असर भोगिरहेको छ । चीन अहिले ऋण र सम्पत्ति बजार संकटसँग जुधिरहेको छ । चीन (मेनल्यान्ड) हङकङको सबैभन्दा ठूलो व्यापार साझेदार र दोस्रो ठूलो लगानी स्रोतको सहर हो । हङकङको सेयर बजारमा सूचीकृत २ हजार ६ सय कम्पनी चीनका छन् । तर, गत वर्षदेखि लागु भएको नियम अनुसार चिनियाँ कम्पनीले यहाँ बाहिर धितोपत्र बजारमा सूचीकृत हुन सरकारको स्वीकृति लिनुपर्ने एक बैंकरले नाम नछाप्ने सर्तमा बताए । यसले प्रक्रियालाई जटिल बनाएको छ । उनी भन्छन्, ‘हामी यसको लागि मात्र पर्खन सक्छौं । यो कानुन कुन चरणमा छ हामीलाई थाहा छैन । यदि कम्पनी डाटा सुरक्षा वा आनुवंशिक प्रविधि जस्ता संवेदनशील उद्योगमा संलग्न छ भने सूचीकरण प्रक्रिया धेरै सुस्त हुनेछ।’ हङकङ विगत १५ वर्षदेखि सात वटा आईपीओका लागि रुचाइएको गन्तव्यको रूपमा शीर्षमा रहेको छ । तर, अहिले आठौं स्थानमा छ । ती बैंकरले भने, ‘चीनले निजी कम्पनीले विदेशबाट लगानी जुटाएर देशको अर्थतन्त्रलाई संकटबाट निकाल्न चाहन्छ ।’ तर, सूचीकृत भएपछि यी कम्पनीहरू आफ्नो नियन्त्रणमा नआउनेमा उनी चिन्तित छन् । ‘उनीहरू सबै कुरा नियन्त्रण गर्न चाहन्छन्, तर यसले अन्ततः वित्तीय बजारलाई मार्ने छ,’ उनी भन्छन् । बीबीसी हिन्दी