काँग्रेस सांसदले संसदीय समितिमा पनि मागे गृहमन्त्री लामिछानेको राजीनामा
काठमाडौं । नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सहकारी प्रकरणलाई निष्पक्ष रुपमा छानविन गर्न गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनु राम्रो हुने बताएका छन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद बडूले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेको पनि नाम जोडिएको भन्दै निष्पक्ष छानविनका लागि पद छोड्नु उपयुक्त हुने बताएका हुन् । उनले छानविनको निष्पक्षता र विश्वसनीयतालाई सुनिश्चित गर्न गृहमन्त्रीले स्वेच्छिक रुपमा जिम्मेवारीबाट बाहिरिनुपर्ने जानकारी दिए । उनले बाँसबारी छाला, जुत्ता कारखानाको जग्गा प्रकरणमा काँग्रेस सांसद विनोद चौधरीलाई छानविन गर्ने भनि सभामुखलाई प्रहरीले पत्र लेखेको प्रति असन्तुष्टि व्यक्त गरे । संविधानको कुन व्यवस्था अनुरुप सांसदको छानविन गरिँदैछ भनि पत्र लेखेको हो स्पष्ट पार्न माग गरे । सांसद चौधरीमाथि पूर्वाग्रहवश अनुसन्धान गरिएको हो कि भन्ने आशंका पैदा भएको बताए । ‘संविधानमा यो व्यवस्था छैन कि कसैमाथि छानविन हुँदैछ है भनेर पूर्वजानकारी गराइदिएर चिट्ठी लेख्नुपर्ने कारण के रहेछ ? कुन संविधानको व्यवस्था हो ? हामी बुझ्न सकिरहेका छैनौँ । त्यसकारण यो कसैलाई ह्यारेसमेन्ट गर्ने मात्रै उद्देश्य हो कि ? शंकाको ठाउँ छ । यसलाई स्पष्ट गरिदिनुपर्छ किन ? एउटा सांसद हो सबभन्दा पहिले । त्यसपछि व्यवसायी हो । कानूनभन्दा ठुलो कोही पनि हुन सक्दैन । तर त्यसको प्रयोग कसरी हुन्छ ? कति निष्पक्ष, स्वच्छ र विश्वसनीय ढंगले अगाडी बढिरहेका छौँ भन्नेकुरा जनताले अनुभुति गर्नेगरी हुनुपर्छ । किन चिट्ठी लेख्ने काम भयो र यसको जवाफ के दियो संसदले ? त्यो जानकारीमा आएको छैन’, उनले भने । सांसद बडूले सांसद विनोद चौधरीलाई अनुसन्धान गरेर ह्यारेसमेन्ट गर्न खोजिएको भनेर पनि प्रश्न गरे ।
नेपाली प्लाइउडको भारत निर्यात अवरोध हट्यो
बाँके । गुणस्तर प्रमाण चिह्नको अनिवार्य व्यवस्था गर्दै भारतद्वारा रोकिएको नेपाली प्लाइउडको भारत निकासी अवरोध हटेको छ । नेपालबाट उत्साहजनक रूपमा भारततर्फ निकासी हुन थालेको प्लाइउडको निर्यातमा केही वर्षयता भारतले गरेको अवरोध हटेपछि नेपाली प्लाइउड उद्योगीमा उत्साह छाएको छ । नेपालको पूर्वी नाकातिरबाट प्लाइउड निकासी जारी रहे पनि पश्चिम नेपालको नेपालगञ्ज नाकाबाट भने प्लाइउडको निर्यातमा भारतले रोक लगाएको थियो । भारत सरकारले प्लाइउड, बोर्ड र डोरमा एक वर्ष बिआइएस मापदण्डका लागि म्याद थप गर्ने निर्णय गरेका कारण अवरोध हटेको हो । भारत सरकारको उक्त निर्णयप्रति शिखर प्लाइउड उद्योगका सञ्चालक चम्पालाल बोथराले गुणस्तर प्रमाण चिह्न अनिवार्य गरिँदा रोकिएको निर्यात अब नियमित हुने विश्वास व्यक्त गरे । ‘भारतमा नेपाली प्लाइउडको माग उच्च छ, अब नेपाली प्लाइउड भारतमा निर्यात हुनका लागि सरकारले सहजीकरण गर्न अति नै आवश्यक छ’, सङ्घका पूर्वअध्यक्षसमेत रहेका चम्पालाल बोथराले भने, ‘शिखरले मात्रै गत वर्ष साढे रु दुई करोडको प्लाई नेपालगञ्ज नाकाबाट भारत निकासी गरेको थियो ।’ बाँकेको जानकी गाउँपालिका–८ इन्द्रपुरमा सञ्चालित मिडलाज इन्डस्ट्रिज प्लाइउड उद्योगका सञ्चालक रहमान मियाँले भारतले निर्यातका लागि बाटो खोले पनि गुणस्तरीय प्लाइउड उत्पादनका लागि थप लगानी लगाउन सकिने अवस्था नरहेको बताए । ‘प्लाइउड कम्पनीका लागि नेपाल सरकारले निकासीका लागि स्पष्ट नीति नल्याएसम्म अब थप लगानी लगाउन सकिने अवस्था छैन’, उनले भने ‘भारतले जम्मा एक वर्षका लागि मात्र निर्यातको बाटो खोलेको छ, लगानी लगाएर मेसिन थपेर प्लाइउड उत्पादन गर्दै गर्दा फेरि बन्द भयो भने त्यसको मर्का त हामीलाई नै पर्ने हो ।’ उक्त उद्योग तीन वर्ष अघि रु २० करोड लगानीमा सञ्चालन भएको थियो । हाल उक्त उद्योगमा ३० जना कामदार रहेका छन् । नेपाली प्लाइउड इन्डस्ट्रिजका लागि ठूलो राहतको निर्णय भएको जनाउँदै ओम प्लाइउड एन्ड फर्निचर प्रालिका सञ्चालक पशुपति दयाल मिश्रले यसले नेपाली प्लाइ उद्योगका लागि निकै ठूलो राहत दिएको बताए । ‘नेपाली प्लाइउडको भारत निकासी अवरोध हटाइएपछि प्लाइउडको निर्यातमा सहजता हुने र यसले नेपाली बजारको मूल्यमा प्रभाव पर्नेछ’, उनले भने, ‘भारत सरकारले गरेको यो निर्णय हाम्रा लागि खुसीको कुरा हो ।’ ओम प्लाईले मात्रै गत वर्ष रु चार करोड बढीको प्लाई भारत निकासी गरेको थियो । भारत सरकारले गत भदौ १४ गते राजपत्रमा सूचना प्रकाशित गर्दै आगामी फेबु्रअरी २८ पछि प्लाइउडमा बिआइएस प्रमाण अनिवार्य गरिएको जनाएको थियो । सोही सूचना रद्द गर्दै शुक्रबार एक वर्षका लागि म्याद थप्ने निर्णय गरिएको हो । सम्बद्ध उद्योग सञ्चालकका अनुसार भारतको वन मन्त्रालयले आगामी पाँच वर्षसम्म वन कटान नगर्ने र जङ्गल संरक्षण गर्ने नीति अघि सारेपछि नेपालबाट प्लाइउड आयात गरेर त्यहाँको माग धान्दै आएको छ । भारत सरकारको निर्णयसँगै नेपाल–भारत नाका पारी रुपैडिहास्थित भारतीय भन्सार कार्यालयले गुणस्तर प्रमाण चिह्नका नाममा अवरोध सृजना गरेपछि पश्चिमको सबैभन्दा ठूलो नाका नेपालगञ्जबाट प्लाइउडको निकासी मार्च १ तारिखदेखि रोकिएको थियो । नेपालबाट गत वर्ष पौने पाँच अर्बको प्लाइउड निकासी गरिएको थियो । नेपाल प्लाइउड सङ्घले यस वर्ष करिब रु आठ अर्बको प्लाइउड निकासी गर्ने लक्ष्य बाँकेका व्यवसायीको रहेको जनाएको छ । ओम प्लाइउड एन्ड फर्निचन उद्योग, योयो प्लाइउड उद्योग, मिडलाज इन्डस्ट्रिज प्लाइउड उद्योग, वागेश्वरी प्लाइउड उद्योग, शिखर प्लाइउड उद्योग र गणपति प्लाइउड उद्योग गरी छ प्लाइउडका उद्योग सञ्चालनमा रहेका छन् । रासस
हुन्डाईले विद्युतीय सवारी साधन निर्माणमा थप ५० अर्ब डलरभन्दा बढी लगानी गर्ने
सियोल । हुन्डाईले दक्षिण कोरियामा विद्युतीय कारको बजार प्रवद्र्धनका लागि सन् २०२६ सम्ममा ५० अर्ब डलरभन्दा बढी लगानी गर्ने योजना सार्वजनिक गरेको छ । कियासँगै हुन्डाई बिक्रीका आधारमा विश्वको तेस्रो ठूलो कार कम्पनी हो । तर इलोन मस्कको टेस्ला र चिनियाँ फर्म बीवाईडीपछि दक्षिण कोरियाली विशाल कम्पनी हुन्डाई विद्युतीय सवारी साधन उत्पादन क्षेत्रमा पछि परेको छ । हुन्डाईले सन् २०३० सम्ममा विद्युतीय कारको उत्पादन ३६ लाख युनिटभन्दा बढी पुर्याउने लक्ष्य राखेको भन्दै विश्वव्यापी विद्युतीय कारको पहिलो तीन स्थानभित्र पर्ने प्रयास गरिरहेको छ । हुन्डाई मोटर ग्रुपले बुधबार घोषणा गरेको ५०.५ अर्ब अमेरिकी डलर लगानीको साथ ‘निरन्तर परिवर्तन र नवीनताको माध्यमबाट अनिश्चित व्यावसायिक वातावरणमा भविष्यको वृद्धिका आधारहरू सुरक्षित गर्न’ चाहेको बताएको छ । भविष्यको गतिशील परियोजनाहरूसहित कम्पनीले सवारी उत्पादनमा कुल लगानीको ६३ प्रतिशत हिस्सा लगानी गर्न लागेको हो । यस योजना अन्तर्गत हुन्डाईले दक्षिण कोरियामा ८० हजार नयाँ रोजगारी सिर्जना गर्नुका साथै तीन वटा नयाँ विद्युतीय कार निर्माण कारखानाहरू स्थापना गर्नेछ । हुन्डाईले सन् २०३० सम्ममा दक्षिण कोरियामा वार्षिक विद्युतीय गाडी उत्पादन १५ लाख १० हजार युनिट पुर्याउने लक्ष्य लिएको छ । समूहको विद्युतीय सवारी साधन उत्पादन रणनीतिमा पूर्वाधार, सफ्टवेयर, ब्याट्री टेक्नोलोजी र स्वचालित ड्राइभिङमा लगानी पनि समावेश छ । हुण्डाईको किया मोडेलको कारले पछिल्लो एक दशकमा ‘एसयूभी’को बिक्रीमा १५० प्रतिशतभन्दा बढीको वृद्धि हासिल गरेको छ । एसयूभीले सेडानको तुलनामा करिब १२ प्रतिशत बढी कार्बन डाइअक्साइड उत्सर्जन गर्ने भन्दै हुन्डाईलाई एसयूभीको बिक्री घटाउन आग्रह गरेको छ । रिपोर्टका बारेमा सोधिएको प्रश्नमा हुण्डाईले कियाको ईभी-६ र इभी-९ सहित ‘पूर्ण विद्युतीय एसयूभी’ कारको बजार क्षेत्रलाई विस्तार गरिरहेको बताएको छ । रासस
बाँसबारी छालाजुत्ता कारखानाको जग्गा सरकारको नाममा आइसक्यो : गृहसचिव
काठमाडौं । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले बाँसबारी छाला, जुत्ता कारखानाको अतिक्रमित सार्वजनिक जग्गा नेपाल सरकारको नाममा आइसकेको बताएका छन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै सचिव अर्यालले बाँसबारी छाला, जुत्ता कारखानाको अतिक्रमित सार्वजनिक जग्गा नेपाल सरकारको नाममा आइसकेको जानकारी दिएका हुन् । उनले देशका विभिन्न भागमा अतिक्रमित भएका सार्वजनिक सरकारी जग्गाहरुको लगत संकलन गर्न सम्बन्धित निकायहरुसँग समन्वय गरी त्यस्ता जग्गाहरु साविककै अवस्थामा फर्काउन स्थानीय प्रशासनलाई निर्देशन गरिएको पनि बताए । उनले यस सम्बन्धी सूचना दिएर सहयोग गर्न सबै नागरिकहरुलाई अपील गरिएको पनि स्पष्ट पारे । मन्त्रालयले अपराध अनुसन्धान र अभियोजनलाई उच्च प्राथमिकतामा राखेको बतांए । यस सन्दर्भमा निष्पक्ष रुपमा काम गर्न प्रहरीलाई निर्देशन दिइएको पनि उनको भनाई छ । सुनको अवैध आयात, तस्करी नियन्त्रण जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनको चरणमा रहेको बताए । बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन अध्ययनको चरणमा रहेको उल्लेख गर्दै उनले अध्ययनपश्चात् कार्यान्वयनमा लगिने बताए । जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर राखिएको ५० प्रतिशत हतियार नविकरण नगरिएको प्रारम्भिक प्रतिवेदन आएको भन्दै मन्त्रालयले व्यक्तिहरुसँग गैरकानूनी रुपमा राखिएका हतियार नियन्त्रण गरी शुन्यमा झार्ने नीति अवलम्वन गरेको पनि जानकारी दिए । ‘मन्त्रालयले अपराध अनुसन्धान र अभियोजनलाई उच्च प्राथमिकतामा राखेको छ । यस कार्यमा निष्पक्ष रुपमा काम गर्न प्रहरीलाई निर्देशन दिइसकिएको छ । सुनको अवैध आयात, तस्करी नियन्त्रण जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनको चरणमा रहेको छ । अनुमति प्राप्त हतियारको गैरकानूनी प्रयोग नियन्त्रण गर्न गृह मन्त्रालयले जिल्लामा अनुमति प्राप्त हतियार र नविकरणको अवस्था बारे जानकारी माग गरेको थियो । मन्त्रालयले व्यक्तिहरुसँग गैरकानूनी रुपमा राखिएका हतियार नियन्त्रण गरी शुन्यमा झार्ने नीति अवलम्वन गरेको छ’, उनले भने । सचिव अर्यालले अहिले अपराधको विश्लेषण गर्दा आत्महत्या, बैंकिङ कसुर, ज्यानसम्बन्धी कसुरहरु, अभद्र व्यवहार, सार्वजनिक शान्ति विरुद्धको कसुर, लागुऔषध दुव्र्यसन, चोरी, जबर्जस्तीकरणी, बहुविवाह र ठगी जस्ता अपराधहरुको हिस्सा ठूलो देखिएको बताए । यस प्रकारका अपराधहरु सम्पूर्ण अपराधको ८० प्रतिशत भन्दा बढी रहेको जानकारी दिए ।
बीवाईडीले निकाल्यो ७० लाखौं न्यु इनर्जी भेइकल
काठमाडौं । बीवाईडीले ७० लाखौं न्यु इनर्जी भेइकल निकालेको छ । बीवाईडीका अनुसार मार्च २५ मा विश्वकै प्रमुख न्यु इनर्जी भेइकल र पावर ब्याट्री उत्पादक कम्पनी बीवाईडीले ७० लाखौ न्यु इनर्जी भेइकल, डेन्जा एन७ सार्वजनिक गरी यो लक्ष्य हासिल गर्ने पहिलो कम्पनी बनेको छ । कम्पनीको चीनस्थित जिनान फ्याक्ट्रीमा उत्पादित डेन्जा एन७ सार्वजनिक गरेर बीवाईडीले ब्रान्डको लागि सो ऐतिहासिक उपलब्धि हासिल गरेको बताएको छ । बीवाईडी अटोमोटिभ उद्योगमा सन् २००३ मा प्रवेश गरेको थियो र पहिलो न्यु इनर्जी भेइकल २००८ मा बिक्री गरेको थियो । अहिले भने यसले दर्जनौ मोडल बिक्री गर्दै आएको छ । बीवाईडीले सन् २०२१ को मे महिनामा १० लाख सवारी साधन उत्पादन गरेको थियो भने त्यसपछिको १८ महिनामै तीनगुणा पुर्याएको थियो । त्यसपछिको ९ महिनामा ५० लाख र फेरि ७ महिनामै ७० लाख उत्पादन पु¥याउन सफल भएको हो । कम्पनीका अनुसार सन् २०२३ मा बीवाईडीको वार्षिक बिक्री ३० लाख २० हजार युनिट भन्दा बढी पुगेर न्यु इनर्जी भेइकलको बजारमा ग्लोबल लिडर नै बन्न सफल भएको छ । विभिन्न ब्रान्ड पोर्टफोलियो अन्तर्गतका फरक फरक क्याटागोरीमा उपलब्ध फरक मोडलले यसरी बिक्री बढाउनमा भूमिका खेलेका छन् । यसैगरी यही वर्ष नै अन्तर्राष्ट्रिय बजारमा समेत २ लाख ४० हजार युनिट भन्दा बढी कार निर्यात गरी बीवाईडी न्यु इनर्जी भेइकल अन्तर्गत टप चाइनिज निर्यातकर्ता कम्पनी समेत बनेको छ । एक वर्षमै यो संख्या ३३७ प्रतिशतले बढेको हो । हाल विश्वका ६४ देश र क्षेत्रमा बीवाईडीका न्यु इनर्जी प्यासेन्जर गाडी बिक्री भइरहेका छन् । ती मध्ये थाइल्यान्ड, ब्राजिल, उज्वेकिस्तान र हंगेरीमा गाडी उत्पादन गर्ने कारखाना छन् । कम्पनीका अनुसार यही वर्ष देखि नै बीवाईडी युरो कपको समेत अफिसियल पार्टनर बनेर न्यु इनर्जी भेइकललाई वर्ल्ड स्टेजमा पुर्याउन सफल भएको छ । बीवाईडीले हाल इलेक्ट्रिक र प्लग इन हाइब्रिड सवारी साधन उत्पादनमा आफ्नो ध्यान केन्द्रित गरिरहेको छ र ब्याट्री तथा इलेक्ट्रिक मोटर लगायतका विभिन्न प्रविधिमा समेत कार्य गरिरहेको छ । डेन्जा बीवाईडी अन्तर्गतकै एक ब्रान्ड हो ।
यी २० सहकारी समस्याग्रस्त घोषणा, अर्बौं रकम फिर्ता पाइने पर्खाइमा बचतकर्ता
काठमाडौं । सरकारले २० वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले हालसम्म २० वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो । मंगलबार गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेसँगै समस्याग्रस्त घोषणा हुने संस्थाको संख्या २० वटा पुगेको हो । सहकारी विभागको सिफारिसमा मन्त्रालयले सहकारीलाई समस्याग्रस्त घोषणा गर्दै आएको छ । सहकारी संस्थाहरूले सहकारी ऐन, नियम, मूल्य र मान्यता विपरीत कार्य गरी बचतकर्ताको बचत फिर्ता नगरेकोपछि सहकारी ऐन अनुसार समस्याग्रस्त घोषणा गर्दै आएको छ । मन्त्रालयले सहकारी विभागका रजिष्ट्रारको प्रस्ताव सहितको सिफारिसमा सोही सहकारी ऐनको दफा १०४ को उपदफा (२) बमोजिम उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्ने गरेको छ । मन्त्रालयले सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेपछि संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाउने गरेको छ । समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म कुबेर बचत तथा ऋण सहकारी, स्ट्याण्डर्ड मल्टिपर्पोज को-अपरेटिभ, सोसाइटल बचत तथा ऋण सहकारी, प्रभु बचत तथा ऋण सहकारी, चार्टड सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, लुःनिभा बहुद्देश्यीय सहकारी, ओरेण्टल को-अपरेटिभलाई समस्याग्रस्त घोषणा गरेको छ । यस्तै, हालसम्म कञ्जुमर बचत तथा ऋण सहकारी, कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, भेगास बचत तथा ऋण सहकारी, पशुपती सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, तुलसी बहुमुखी सहकारी, शिवशिखर बहुउद्धेशिय सहकारी, हाम्रो नयाँ कृषी सहकारी, प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेण्ट को-अपरेटिभ, कृषि विकास बहुउद्देश्यीय सहकारी, कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी र श्री लालिगुराँस बहुउद्देश्यीय सहकारीलाई पनि समस्याग्रस्त घोषणा गरिसकेको छ । यी सहकारीको कुल ५ अर्ब बढी बचत रकम रहेको समितिले जानकारी दिएको छ ।
लुम्बिनी विकास बैंकले गर्यो विभिन्न विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं । लुम्बिनी विकास बैंकले सातै प्रदेशमा रहेका आफ्ना शाखा कार्यलयहरु मार्फत ग्लोबल मनी विक २०२४ को अवसरमा विभिन्न कार्यक्रम गरेकाे छ । बैंकले विद्यालयमा अध्ययनरत करिब एक हजार बिद्यार्थीहरुलाई वित्तीय साक्षरता अभिवृद्वि, वित्तीय ज्ञान, मनोवृत्ति विकास गराउने उद्देश्यका साथ युवा बिद्यार्थीहरुलाई बैंकले गर्ने कार्यहरु जस्तै बचत निक्षेप, कर्जा लगानी, विप्रेषण, डिजिटल बैंकिङ्ग लगायतका विषयहरु समेटि बिद्यालयहरुमा नै वित्तीय साक्षरता कक्षा सञ्चालन गरेको थियो । साथै, उक्त अवसरमा बैंकका शाखा कार्यालयहरुबाट वित्तीय जानकारी मुलक प्लेकार्डहरु प्रदर्शन गर्दै प्रभातफेरी कार्यक्रम समेत आयोजना गरेको थियो । ‘प्रोटेक्ट योर मनी, सेक्योर योर फ्युचर’ भन्ने नाराका साथ यो वर्ष १८ देखि २४ मार्चमा युवा विद्यार्थीहरुलाई लक्षित गरि बैंकले पनि सो कार्यक्रमहरु सम्पन्न गरको थियो । यसबाट बैंकिङ्ग प्रणली सुदृढ हुनुका साथै युवा विद्यार्थीहरुमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ । देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको विभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेको छ ।
सुनकोशीमा बेपता तीनमध्ये बालिकाको शव फेला
उदयपुर । होली खेलेर सुनकोशीमा नुहाउने क्रममा तीन दिनअघि बेपत्ता भएका त्रियुगा नगरपालिका–१४ साउनेकी रेखा मगरको शव बुधबार बिहान फेला परेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बुधबार बिहान साउनेको धाप्लाङदेखि ६ किलोमिटर तल सूर्यढुङ्गा भन्ने स्थानमा १२ वर्षीया रेखा मगरको शव फेला परेको प्रहरीले जनाएको छ । स्थानीय माछा मार्नेहरुले बेलुकी कोशीमा जाल थापेको र बिहान जाल हेर्न जाँदा मृतक मगरको शव पानीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । रेखाको शव शवपरीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख रमेश थापाले बतांए । मङ्गलबार मात्र बेपत्ता तीनमध्ये ८ वर्षीय रिदम मगरको शव पनि घटनास्थलदेखि एक हजार चार सय मिटर तल घिर्लिङ भन्ने स्थानमा फेला परेको थियो । तीन दिनअघि त्रिनपा–१४ साउनेका १२ वर्षीया रेखा मगर, १४ वर्षीय लोकबहादुर मगर र ८ वर्षीय रिदम मगर होली खेलेर सुनकोशीमा नुहाउन जाँदा नदीमा बेपत्ता भएका थिए । बेपत्ता बालबालिकाको प्रहरी र स्थानीयसहित सुनसरीको इटहरीबाट आएको सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी जारी राखेका छन् । हराएकामध्ये मङ्गलबार रिदम मगरको शव फेला परेको थियो । अर्का बेपत्ता १० वर्षीय लोकबहादुर मगरको शव फेला पर्न नसकेको पनि प्रहरीले जनाएको छ । रासस