माइक्रोसफ्ट विन्डोजको प्रमुख बने आईआईटी मद्रासका विद्यार्थी पवन दाभुलुरी
काठमाडौं । आईआईटी मद्रासका पूर्व छात्र पवन दाभुलुरीलाई माइक्रोसफ्ट विन्डोज र सर्फेसको नयाँ प्रमुखको रूपमा नियुक्त गरिएको छ। टेक न्यूज पोर्टल द भर्जले दावलुरीले सर्फेस सिलिकन र डिभाइसहरूको जिम्मेवारी लिएको बताएको छ । अघिल्लो प्रमुख मिखाइल पारखिनले विन्डोज र वेब अनुभवहरूमा केन्द्रित नयाँ टोलीको नेतृत्व गरेका छन् । अब विन्डोज र सर्फेस दुबैको कमाण्ड दाभुलुरीको हातमा छ । किनभने, पराखिनले नयाँ भूमिका खोज्ने निर्णय गरेका छन् । पीसी र एक्सबक्स हार्डवेयर, सतह, विन्डोज, र सिलिकनमा काम गर्ने २३ वर्षीय माइक्रोसफ्टका दिग्गज डाभुलुरीले उत्पादन टोलीहरूको नेतृत्व गरेका छन् र सफ्टवेयर र हार्डवेयर प्लेबुकहरूमा काम गरेका छन् । मिडिया रिपोर्टका अनुसार पवन दाभुलुरीले आईआईटी मद्रासबाट स्नातक गरेका छन् । त्यसपछि उनले मेरील्याण्ड विश्वविद्यालयबाट स्नातकोत्तर गरे र माइक्रोसफ्टमा प्रवेश गरे । उनी विगत २३ वर्षदेखि माइक्रोसफ्टसँग काम गर्दै छन् । पवनको भारतसँग विशेष सम्बन्ध छ । पवन अब नेतृत्व समूहमा सामेल भएका छन् जहाँ केही भारतीय मात्र अमेरिकी कम्पनीहरूमा नेतृत्व भूमिकामा छन् । यसमा सत्य नडेला र सुन्दर पिचाईजस्ता नामहरू सामेल छन् । माइक्रोसफ्टको विन्डोज र सर्फेसको प्रमुख बनेपछि पवनले कति पारिश्रमिक पाउने भन्नेबारेमा अहिलेसम्म कुनै जानकारी दिइएको छैन ।
जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका दुईको मृत्यु, १०० जनाभन्दा बढी अस्पताल भर्ना
जापान । जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ ९औषधीय आहार० का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी अस्पताल भर्ना भएका छन् । जापानी औषधि निर्माता कम्पनी कोबायाशी फर्मास्युटिकल्सले ग्राहकको मृगौलासम्बन्धी गुनासोपछि बजारबाट उक्त औषधि फिर्ता मागेको थियो भने अधिकारीहरूले गुनासोलाई सम्बोधन गर्न अनुसन्धान सुरू गरिसकेका छन् । कम्पनीले औषधिका तीन वटा ब्रान्ड ‘बेनी, कोजी, कोलेस्टे हेल्प’ र कोलेस्टेरोल कम गर्ने विश्वास गरिने रातो चामलबाट बनेको ‘बेनी र कोजी’ नामक दुई अन्य उत्पादनलाई फिर्ता बोलाएको छ । चिकित्सा अध्ययनहरूले उच्च कोलेस्टेरोल कम गर्नका लागि प्रयोग गरिने ‘स्ट्याटिन’को विकल्पको रूपमा रातो चामलबाट बनेको उक्त आहार दिइने बताएका छन् तर यस उत्पादनमा प्रयोग गरिएको रासायनले अङ्गमा क्षतिको जोखिम ल्याउने उनीहरूले चेतावनी दिएका छन् । सरकारका प्रवक्ता योशिमासा हयाशीले पत्रकारहरूसँग भने, ‘शंकास्पद मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ भने उक्त आहार सेवन गरेका विरामी परेको भनी अस्पताल भर्ना भएका १०६ जनाको उपचार भइरहेको जानकारी प्राप्त भएको छ ।’ कोबायाशी फार्मास्युटिकल्सले जापानमा टेलिभिजन विज्ञापनहरू मार्फत प्रवद्र्धन गरिएका स्वास्थ्यसम्बन्धी धेरै उत्पादनहरूलाई बजारमा प्रवद्र्धन गर्दछ । कम्पनीले सञ्चारमाध्यममार्फत सार्वजनिक भएका स्वास्थ्य समस्याहरू र उत्पादनहरूबारे अध्ययन गरिरहेको तर निष्कर्षमा नपुगिएको बताएको छ । ओसाकास्थित उक्त कम्पनीले जापानका करिब ५० र ताइवानका दुई कम्पनीलाई पनि रातो चामलबाट तयार पारिएको औषधीय आहार उपलब्ध गराएको जनाएको छ । कोबायाशीका अधिकारीले एएफपीसँग कुरा गर्दै आफूहरूले स्वेच्छिक रूपमा उत्पादनलाई शुक्रबार फिर्ता बोलाएको र आहारका कारण दुई जनाको मृत्यु भएकोबारे तत्काल थप टिप्पणी गर्न अस्वीकार गरेका छन् । कोबायाशी फर्मास्युटिकल्सले उपलब्ध गराएको बेनी कोजी प्रयोग गर्ने दर्जनौं जापानी कम्पनीले पनि यसलाई बजारबाट फिर्ता ल्याउने घोषणा गरेका छन् । प्रभावित उत्पादनहरूमा विभिन्न स्वास्थ्य ट्याब्लेटहरू, साथै गुलाब–रंगको पेय पदार्थ, सलादको लागि तयार पारिने अचार, पाउरोटी र ‘मिसो पेस्ट’ धेरै परम्परागत व्यञ्जनहरूमा प्रयोग गरिन्छ । सरकारले कोबायाशी फार्मास्युटिकल्सलाई स्थितिको बारेमा ‘तत्काल जानकारी उपलब्ध गराउन’ भनेको स्वास्थ्य मन्त्री केइजो ताकेमीले बताए । उनले भने, ‘स्वास्थ्य मन्त्रालयले स्वास्थ्य क्षतिको बारेमा जानकारी सङ्कलन गर्न राष्ट्रव्यापी रूपमा स्थानीय अधिकारीहरूलाई निर्देशन दिएको छ ।’ बुधबार कोबायाशी फर्मास्युटिकल्सको शेयर मूल्य चार प्रतिशतले घटेको छ । यसअघि, उत्पादक कम्पनीले मृत रिपोर्ट गरिएको पहिलो व्यक्तिले फिर्ता बोलाइएका उत्पादनहरू मध्ये एक आहारलाई लगभग तीन वर्ष नियमित रूपमा खरीद गरेको पुष्टि गरेको थियो । कम्पनीले आहार र ती व्यक्तिको स्वास्थ्य रिपोर्टहरूको अनुसन्धान भइरहेको बताएको छ । कम्पनीले यसै हप्ता सार्वजनिक गरेको रिपोर्टमा भनेको छ, ‘उत्पादनहरूमा ‘हामीले समावेश गर्न नचाहेका सामग्रीहरू’ भएको सम्भावना फेला पारेको छ । तर यसको अध्ययनले रातो चामलबाट उत्पादित विषाक्त र मृगौलालाई क्षति पुर्याउने कुनै पनि ‘सिट्रिनिन’ देखाएन ।’ ब्रिटिस मेडिकल जर्नलमा सन् २०१९ मा प्रकाशित एक शोधपत्रअनुसार कोलेस्टेरोलको मात्रा घटाउन प्रयोग हुने रातो चामलमा ‘मोनाकोलिन के’ को मात्रा पाइन्छ र यसलाई कोलेस्टेरोल बढी भएका बिरामीको उपचारका लागि प्रयोग गर्न जापानमा अनुमति दिइएको छ । रासस
क्यान्सरको औषधी निःशुल्क उपलब्ध गराउँदै डब्लुएचओ
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) तथा सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च इन्सिच्युटबीच बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि निःशुल्क औषधी उपलब्ध गराउने सहमति भएको छ । बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा स्वास्थ्य सचिव डा. रोशन पोखरेल र डब्लुएचओ नेपालका प्रमुख डा राजेश संभाजीराव पाण्डवबीच सोसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । स्वास्थ्य सचिव डा. पोखरेलले समझदारीले नेपालमा क्यान्सरबाट पीडित बालबालिकाको उपचारमा सुधार ल्याउन ठूलो योगदान पुर्याउने बताए । उनले सुरुमा सो निःशुल्क औषधी विभिन्न चारवटा सरकारी अस्पतालमा उपलब्ध गराइने भए पनि पछि आवश्यकताका आधारमा अन्य अस्पतालमा पनि विस्तार गरिने जानकारी दिए । डब्लुएचओका नेपाल प्रमुख डा. पाण्डवले क्यान्सर भएका बालबालिकाको अत्यावश्यक औषधीमा पहुँच सुनिश्चित गर्नुका साथै क्यान्सर पीडित बालबालिकाको परिवारमा पर्ने आर्थिक भार कम गर्न यो कार्यक्रमले मद्दत गर्ने बताए । ‘नेपालमा हरेक वर्ष करिब नौ सय बालबालिकामा क्यान्सर पहिचान हुने गरेको छ । यद्यपि, उपचार तथा सेवामा सीमित पहुँच र स्रोतको अभावले गर्दा, क्यान्सर भएका बालबालिकामध्ये एक तिहाइले मात्र उपचार पाउने गरेका छन् । यसबाट हुने मृत्यु पनि बढ्दै गएको छ’, उनले भने, ‘समझदारीले औषधी उपलब्धतासँगै क्यान्सरको उपचारमा पहुँच बढाउन मद्दत गर्नेछ ।’ मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेललले समझदारीमा अनुसार नेपालले बालबालिकामा हुने क्यान्सरका ३५ प्रकारका औषधी निःशुल्क प्राप्त गर्नेछ । समझदारीअनुसार नेपालले आगामी चार वर्षसम्म क्यान्सरको निःशुल्क औषधी पाउने छ । उनका अनुसार आगामी सेप्टेम्बरदेखि उक्त औषधी नेपाल आउने क्रम सुरु हुनेछ । समझदारीअनुसार सरकारी अस्पताल भक्तपुर क्यान्सर अस्पताल, विपी कोइराला क्यान्सर अस्पताल भरतपुर, कान्ति बाल अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्ने बालबालिकाले निःशुल्क क्यान्सरको औषधी प्राप्त गर्नेछन् । नेपाल ग्लोबल इनिसिएटिभ फर चाइल्डहुड क्यान्सरका लागि विशेष राष्ट्रको रूपमा सन् २०२० मा छनोट भएको थियो । हाल क्यान्सर भएका बालबालिकामा निको भई बाँच्नेदर न्यून र मध्यम आय भएका देशमा मात्र २० देखि ३० प्रतिशत रहेको छ भने उच्च आय भएका देशहरूमा ८० प्रतिशतभन्दा बढी रहेको छ । बालबालिकामा देखिने क्यान्सर नेपालजस्तो अल्पविकसित देशमा निको हुने दर कम रहेको छ । करिब २० देखि ३० प्रतिशत मात्र बालबालिका निको भई बाँच्ने दर रहेको छ । विकसित देशमा भने ८० देखि ९० प्रतिशत बाल क्यान्सर रोग निको पार्न सकिन्छ । नेपालले सन् २०३० सम्ममा क्यान्सर भएका बालबालिकाको बाँच्ने दर कम्तीमा ६० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ । कान्ति बाल अस्पतालका वरिष्ठ बाल क्यान्सर रोग विशेषज्ञ डा. सनि सिपाइले नेपालमा आर्थिक अभावका कारणले अझै पनि बालबालिका उपचारमा नआएको बताए । उनले बालबालिकालाई समयमा नै क्यान्सर रोगको उपचार गरे निको हुने सम्भावना बढी हुने बताए । उनले नेपालमा नै बालबालिकामा हुने रक्त क्यान्सर ९० प्रतिशत निको पारिरहेको बताए । उनका अनुसार नेपालमा बालबालिकालाई रगत, आँखा, कलेजो, हड्डी र मांसपेशीको क्यान्सर हुने गर्दछ । बालबालिकामा १० प्रतिशत वंशाणुगत गुण र ९० प्रतिशत जिनको खराबीले गर्दा क्यान्सर हुने गर्दछ । जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई बढी मात्रामा क्यान्सर हुने गरेको छ । रासस
परम्परागत होइन उत्पादन र रोजगार केन्द्रित बजेटको तयारी गर्नुस् : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत ढाँचाको नभएर उत्पादन र रोजगारीलाई लक्षित गरी बजेट निर्माणको तयारी गर्न निर्देशन दिएका छन् । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित आर्थिक वर्ष २०८१/०८२ को बजेटको स्रोत अनुमान सम्बन्धी बैठकमा बोल्दै प्रधानमन्त्रीले जनतामा आशा जगाउने गरी उत्पादन र रोजगारकेन्द्रित बजेटको तयारी गर्न निर्देशन दिएका हुन् । बैठकमा प्रधानमन्त्रीले भने, ‘नीति तथा कार्यक्रम र बजेट निर्माणमा दुईथरि ‘स्कुल अफ थट’ छन् एउटा दृष्टिकोण छ- अर्थतन्त्र दवावमा छ, धान्न सक्ने परम्परागत ढाँचाकै बजेट बनाएर जाउँ । चुनौतीभित्र नै केही गरेर देखाउने र परिणाम दिने अवसर पनि हुन्छ। त्यसैले नीति तथा कार्यक्रम र बजेटमार्फत् केही नयाँ गरौं । देशमा केही हुँदैन भन्ने भाष्य व्यवहारबाट चिरौँ । म चाहिँ केही नयाँ गरौँ भन्नेमा दृढ छु ।’ छलफलमा प्रधानमन्त्रीले सङ्कटको बेला राज्यले हस्तक्षेप गरेरै भए पनि अभिभावकीय भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले भने, ‘सङ्कटको बेला नै राज्य चाहिन्छ। राज्यप्रति जनताको विश्वास बढ्ने पनि यस्तै बेला हो । त्यसैले बजेटलाई नयाँपन दिउँ। उनीहरूमा सकारात्मक आशा जागोस्। जनतामा आशा जगाएर मात्रै हरेक देशले प्रगति गर्न सक्छ ।’ सो क्रममा राजश्व बढाउन नयाँ कार्ययोजनासहित अगाडि बढ्न प्रधानमन्त्रीले निर्देशन दिए । उनले भने, ‘राजश्व संकलनलाई प्रभावकारी बनाउन जोड दिनुस् । राजश्वको दायरा बढाउने र चुहावट रोक्ने काममा केन्द्रित हुनुस् । पुँजीगत खर्चको सामर्थ्य बढाउन विशेष रूपले अग्रसर हुनुस् । पुँजीगत खर्च नबढ्नुको प्रमुख कारण खर्च गर्न नसक्ने र अनावश्यक ठाउँमा बजेट फस्नु हो । यसपटक निर्मम भएर आयोजनाको प्राथमिकीकरण गर्नुस्। राम्रो गरिरहेका योजनामा बजेट थपेर अनावश्यक ठाउँको बजेट घटाइदिनुस् ।’ बैठकमा अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र दवावमै रहेकाले परिणाम दिने ठाउँमा लगानी केन्द्रित गर्दै अर्थतन्त्रलाई गति दिनुपर्ने बताए । छलफलमा अर्थमन्त्री पुन, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ, राष्ट्रिय वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, मुख्यसचिव डा बैकुण्ठ अर्याल, नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिवहरू, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगका अधिकारीहरू उपस्थित थिए ।
कुमारी बैंकको मोबाइल बैंकिङ एपबाटै मुद्वती निक्षेप कर्जा लिन सकिने
काठमाडौं । कुमारी बैंकको मोबाइल बैंकिङ एपद्वारा मुद्वती निक्षेपबाट कर्जा लिन सकिने भएको छ । अब कुमारी बैंकमा मुद्वती निक्षेप र रिकरीङ निक्षेप भएका बचतकर्ताले कुमारी बैंकको मोबाइल बैंकिङ एपद्वारा निक्षेपको ९० प्रतिशतसम्म कर्जा सुबिधा सजिलै र तुरुन्तै लिन सकिने बैंकले जनाएको छ । हालसम्म यो सेवा लिनको लागी बचतकर्ता स्वयम् बैंकको शाखामा उपस्थित हुनुपर्ने अवस्था थियो भने बैंकले आफ्नो एपको पछिल्लो संस्करणमा बचतकर्ताको समयको महत्वलाई मध्यनजर गर्दै अब देखी सो सेवा घर बसेर नै लिन सकिने व्यवस्था गरेको छ । मोबाइल बैंकिङ एपद्वारा कर्जा लिँदा व्याजदरमा ०.२५ प्रतिशत छुट पनि रहेको छ भने यस्तो प्रकारको कर्जा लिनको लागी कुनै पनि किसिमको कागजी प्रकृयाहरु नहुने र मोबाइल बैंकिङ एप मार्फत यो सुबिधा चौबिसै घण्टा उपलब्ध रहने व्यहोरा बैंकले सार्वजनिक गरेको छ । निक्षेपकर्तालाई आवस्यकता परेका अवस्थामा निक्षेपकर्ताले आफ्नो मुद्वती निक्षेपलाई रद्व नगरी, मोबाइल बैंकिङ एपमार्फत सामान्य केहि क्लिकहरु गरेको आधारमै आफ्नो बैंक खातामा तुरुन्तै कर्जाको रकम प्राप्त गर्न सक्नेछन् । कुमारी बैंकले पछिल्लो समयमा यस प्रकारका धेरै डिजिटल सुविधाहरु उपलब्ध गराउँदै आएको छ जसले नेपालको बैंकिङ तथा डिजिटल क्षेत्र प्रबर्धन गर्न ठुलो योगदान पुर्याएको बैंकले जनाएको छ ।
बागलुङमा प्रहरी चौकीका आफ्नै भवन छैनन्
ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुङ्गाहरुले प्लास्टिक अठ्याइएको छ । यो दृश्य मालढुङ्गा प्रहरी चौकीको हो । बागलुङ जिल्ला प्रवेशद्वार छेउमै रहेको यो प्रहरी चौकी निकै साँघुरो र जीर्ण छ । पानी पर्दा चहिने र हावाहुरी चल्दा छानो नै उडाउने समस्याले यहाँ बस्ने प्रहरी आजित बनेका छन् । जिल्लाको मुख्य नाकाका रुपमा रहेको मालढुङ्गा सुरक्षाको हिसाबले निकै संवेदनशील क्षेत्र हो । संवेदनशील क्षेत्रमै प्रहरी चौकीको अवस्था निकै दयनीय छ । यहाँ बस्ने सुरक्षाकर्मी आफैँ असुरक्षित छन् । मालढुङ्गा नाकाबाट दैनिक सयौँ सवारी साधान र हजारौँ यात्रु ओहोरदोहोर गर्दछन् । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने मालढुङ्गा बागलुङ मात्रै नभई म्याग्दी, मुस्ताङसहित पश्चिम नेपालकै प्रवेशद्वार हो । यी प्रवेशद्वारबाट रुकुम, जाजरकोट हुँदै पश्चिम नेपालका विभिन्न जिल्लामा सवारी साधन गुड्छन् । आपराधिक गतिविधि गर्नेदेखि सबै थरीका मानिस यात्रा गर्ने मुख्य नाका भए पनि प्रहरी चौकीको अवस्था जीर्ण र असुरक्षित छ । बस्ने, खाना खाने ठाउँ पर्याप्त नहुँदा यहाँ बस्ने सुरक्षाकर्मीले सास्ती खेप्नु परेको बताउँछन् । विसं २०६३ पुसमा स्थापना भएको उक्त प्रहरी चौकीको आफ्नै भवन र जग्गा पनि छैन । हाल प्रहरी चौकी रहेको जग्गा बागलुङ भगवती गुठीको हो । जिल्लाभर २८ स्थानमा प्रहरी चौकी रहेका जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । तीमध्ये १३ चौकीको आफ्नै जग्गा र भवन छभने आठवटाको जग्गा भए पनि भवन निर्माण हुन सकेको छैन । सात चौकीको जग्गा र भवन केही नभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताए । उनका अनुसार केही चौकीको आफ्नै भवन भए पनि कच्ची र पुराना छन्भने केही भाडाका घरबाट सञ्चालित छन् । नागरिकको सुरक्षामा खटिने प्रहरीनै असुरक्षित घरमा बस्दै आएका छन् । जीर्ण भवनमा बस्दा कति बेला के घटना हुने हो भन्ने जोखिम रहेको मालढुङ्गा प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक राजेन्द्र भुजेलले बताए । उनले साँघुरो घरमा बसेर काम गर्दा धेरै समस्या पर्ने गरेको सुनाए । ‘ठाउँ निकै साँघुरो छ । १८ घण्टासम्म ड्युटी पर्छ, बस्ने ब्यारेक छैन, खाना खाने ठाउँ गतिलो छैन, शौचालय गतिलो छैन । निकै अप्ठ्यारोमा गुजारा चलाएका छौँ । यो मुख्य नाका हो, यहाँबाट धेरै ठाउँमा गाडीहरु आउजाउ गर्छन्,’ भुजेलले भने, ‘कहिलेकाहीँ आपराधिक क्रियाकलापमा संलग्न भएका व्यक्तिलाई समाएर होल्ड गर्ने ठाउँ पनि छैन । घर पनि भत्किन थालेको छ । कति बेला के घटना हुन्छ भन्ने थाहै हुँदैन । जसोतसो मिलेर बस्दै आएका छौँ, माथिल्लो निकायमा पनि बारम्बार जानकारी दिएका छौँ ।’ निसीखोला गाउँपालिका–५ निसीमा रहेको प्रहरी चौकीको अवस्था पनि निकै दयनीय छ । निसी प्रहरी चौकी निसीखोला किनार छेउमै रहेको सयौँ वर्ष पुरानो भवनबाट सञ्चालित छ । दुई तले ढुङ्गा माटोले बनेको उक्त घर जीर्ण बनेको छ । द्वन्द्वकालमा यस प्रहरी चौकी विस्थापित भएको थियो । शान्ति सम्झौतापछि पुनःस्थापित भएको थियो । यस क्षेत्रमा केही वर्ष अगाडिसम्म लडाइँ, झगडालगायत अन्य नकारात्मक गतिविधिहरु निकै हुने गरेको स्थानीय बताउँछन् । द्वन्द्वकालमा कैयौँ पटक प्रहरीमाथि कुटपिट हुनाका साथै चौकी नै कब्जा भएको थियो । पछिल्लो समय समुदायमा जनचेतना वृद्धि भएपछि यहाँ नकारात्मक गतिविधि हुन छोडेका प्रहरी चौकी प्रमुख एवं प्रहरी सहायक निरीक्षक भोजबहादुर गुरुङले बताए । ‘खोला छेउमा रहेको चौकीमा कार्यरत प्रहरीहरु वर्षातको समयमा प्रयाजसो जागराम बस्ने गर्छन् । निसीखोला उर्लेर आयो भने चौकीको छेउमा भल आउँछ । केही वर्ष अघि स्थानीयले तटबन्धन गरे पनि निसीखोलामा बाढी आउँदा बाँधले छेक्न सक्दैन’, उनले भने । हिउँदको समयमा समस्या नपरे पनि वर्षातमा निकै दुःख भोग्नु पर्ने प्रहरी सहायक निरीक्षक गुरुङले बताए । उनले ठूलो पानी परेमा घर चुहिने हुँदा त्रिपाल हालेर बस्नुपर्ने अवस्था रहेको बताए । हिउँदको समयमा समस्या नभएको भन्दै वर्षातमा ज्यानै जोखिममा पर्ने खतरा रहेको उनको भनाइ छ । ‘यो घर दुई/तीन सय वर्ष पुरानो रहेछ, मर्मत सम्भार गर्न सक्ने स्थिति पनि छैन । ठूलो पानी पर्ना साथ चुहिने गर्छ, त्रिपाल नहाली बस्नै सकिँदैन’, प्रहरी सहायक निरीक्षक गुरुङले भने, ‘बर्खामा खोलाले ठूला–ठूलो ढुङ्गामुढा बगाएर ल्याउँछन्, ती ढुङ्गामुढा भित्रै आउँछ कि भन्ने डरले रातभर उठेर बस्नु पर्छ, दुई तलाको माटोले बनेको घर पुरानो भएर होला धुलो खसी रहन्छ । माथिल्लो निकायबाट सहयोग भए त भवन बन्ने थियो, अहिलेसम्म जग्गाको प्रक्रियामा छौँ ।’ उनका अनुसार प्रहरी चौकीका लागि वडा नं ५ को मधुबाङमा जग्गा व्यवस्थापन भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक कँडेलले जिल्लाको धेरै ठाउँमा रहेका चौकीको आफ्नै भवन नभएको बताए । मालढुङ्गा प्रहरी चौकी बढी संवेदनशील ठाउँमा भएकाले यसको व्यवस्थापनका लागि बागलुङ नगरपालिका र बागलुङ कालिका भगवति गुठी व्यवस्थापन समितिसँग छलफल भइरहेको उनले जानकारी दिए । प्रहरी चौकीको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या हुने भन्दै जग्गा व्यवस्थापन र भवनका लागि पहल भइरहेको उनको भनाइ छ । ‘भवन बनाउनका लागि निश्चिम मापदण्डको जग्गा आवश्यक पर्दछ । मापदण्ड विपरीतको जग्गामा कुनै पनि सरकारी भवन बनाउन नमिल्ने हुँदा अहिले जिल्ला प्रहरी कार्यालय मातहतका धेरै चौकीको आफ्नै भवन र जग्गा छैन । त्यसको व्यवस्थापनमा लागिरहेका छौँ’, प्रहरी उपरीक्षक कँडेलले भने, ‘मालढुङ्गा चौकीका लागि नगरपालिका र गुठी व्यवस्थापनसँग समन्वय गरिरहेका छौँ । यहाँ व्यवस्थित चेक पोस्ट र सिसी टिभी राख्ने योजना पनि बनाएका छौँ ।’ रासस
‘आधुनिक हतियार’को अनुसन्धान दायरामा दुर्गा प्रसाईं
काठमाडौं । सर्वोच्च अदालतले मेडिकल कलेजलाई सम्बन्धन दिन भनेर आदेश दिएपछि त्राण पाएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं व्यक्तिगत सुरक्षाको नाममा लाइसेन्स लिएर बोकेको आधुनिक हतियारको अनुसन्धानकाे दायरामा आएका छन् । अहिले प्रसाईंले बोकेको हतियारको विषयलाई लिएर अनुसन्धान भइरहेको गृह मन्त्रालयले जनाएको छ । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रसाईंले बोकेको हतियारको विषयमा सांसदहरुले प्रश्न उठाएपछि गृहमन्त्री, गृहसचिव र प्रहरी महानिरीक्षकले जवाफ दिँदै सो हतियारको विषयमा थप अनुसन्धान भइरहेको बताएका हुन् । समितिको बैठकमा नेकपा (एमाले)का सांसद रघुजी पन्त र कृष्णगोपाल श्रेष्ठले प्रसाईंले बोकेको आधुनिक हतियार व्यक्तिगत सुरक्षा प्रयोजनका लागि बोक्न पाइने हतियार हो ? भनेर गृहमन्त्री सहितका अधिकारीलाई प्रश्न गरेका थिए । साथै उनीहरुले सो हतियार बोक्न पाइने कानुनी व्यवस्था र अहिले नेपालमा त्यस्ता कति हतियार छन् भनेर तथ्याङ्क माग गरेका थिए । सांसदहरुको प्रश्नमा गृहमन्त्री लामिछानेले दुर्गा प्रसाईंले बोकेको हतियार प्रारम्भिक रुपमा हेर्दा एउटाको नाममा भएको र अर्कोले बोकेको पाइएकोले थप अनुसन्धान भइरहेको बताए । ‘दुर्गा प्रसाईंले बोकेको हतियारको सन्दर्भमा कानुनले दिएको अधिकार भन्दा बाहिर देखिन्छ, हतियार एकजनाको नाममा र चलाउने व्यक्ति अर्कै भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ’, उनले भने । त्यस्तै, गृहसचिव एकनारायण अर्यालले प्रसाईंले बोकेको हतियार व्यक्तिगत सुरक्षा प्रयोजनका लागि बोक्न नपाइने र घरको कम्पाउन्डबाहिर निकाल्न नपाइने बताए । प्रसाईंले बोकेको हतियार झापा जिल्लाबाट नवीकरण भएको तर जारी अन्यत्रैबाट भएको उनकाे भनाइ छ । सांसद कृष्णगोपाल श्रेष्ठले ‘त्यो हतियार व्यक्तिगत सुरक्षाका लागि बोक्न मिल्छ ?’ भनेर प्रतिप्रश्न गर्दा सचिव अर्यालले ‘पाईंदैन’ भन्ने जवाफ दिए । प्रसाईंका दुईजना व्यक्तिगत सुरक्षा गार्ड चैत ५ मा सर्वोच्च अदालत परिसरबाट जर्मन स्पोर्ट गन ‘जिएसजी-५’ सहित पक्राउ परेका थिए । त्यसबारे छानबिन गर्न मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनीलकुमार पोखरेलले आदेश पनि दिइसकेका छन् । प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतले चैत १२ गते मात्रै चिकित्सा शिक्षा आयोगको नाममा आदेश जारी गरेको थियो । हातहतियार खरखजाना ऐन-२०१९ (संशोधित २०७४)मा व्यक्तिले पनि इजाजत लिएर हतियार बोक्न पाइने व्यवस्था छ । तर, गृहमन्त्री र अर्थसचिवको भनाइअनुसार प्रसाईंका सुरक्षा गार्डले बोकेको हतियार शंकास्पद देखिएको छ । गृहसचिवले त्यो स्तरको हतियार नेपालको कानूनअनुसार व्यक्तिगत सुरक्षाको लागि बोक्न नपाइने देखि घरको कम्पाउन्डभित्रै राख्नुपर्ने स्तरको भनेर सांसदहरुलाई जवाफ दिएपछि सो हतियारको लाइसेन्स र आयात अनुमति सम्मको विषय अनुसन्धानमा तानिने देखिएको छ । जसले गर्दा व्यवसायी प्रसाईं थप विवादमा तानिन सक्ने सम्भावना छ ।
चीनको औद्योगिक मुनाफामा १०.२ प्रतिशत वृद्धि
चीन । चीनको प्रमुख औद्योगिक कम्पनीहरूको नाफा यस वर्षको पहिलो दुई महिनामा अघिल्लो बर्षको सोही अवधिको तुलनामा १०.२ प्रतिशतले बढेको बुधवार सार्वजनिक ‘नेसनल ब्युरो अफ स्ट्याटिस्टिक्स (एनबीएस)’ को तथ्याङ्कले देखाएको छ । तथ्याङ्कले सन् २०२३ मा दर्ता भएको २.३ प्रतिशतको गिरावटलाई उल्टाएको एनबीएसले जनाएको छ । करिब दुई करोड युआन २० लाख ८२ हजार (अमेरिकी डलर) को मुख्य वार्षिक व्यापार राजस्व भएका औद्योगिक कम्पनीको यस अवधिमा संयुक्त नाफा नौ खर्ब १४ अर्ब ६० लाख युआन पुगेको जनाइएको छ । एनबीएसद्वारा अनुगमन गरिएका ४१ वटा औद्योगिक वर्गीकरणमध्ये २९ वटाको नाफामा वृद्धि भएको छ । उपकरण निर्माण क्षेत्रको नाफा जनवरीदेखि फेबु्रअरीको अवधिमा तीव्र गतिमा बढ्दै गएको तथ्याङ्कले देखाएको छ । यस क्षेत्रको संयुक्त मुनाफा वर्षमा २८.९ प्रतिशतले बढेको छ । जुन अघिल्लो वर्षको वृद्धि दरको तुलनामा २४.८ प्रतिशत बढी हो । यस वृद्धिले देशको औद्योगिक नाफामा ६.७ प्रतिशत योगदान गरेको छ । जसले उपकरण निर्माण क्षेत्रलाई सबैभन्दा ठूलो योगदानकर्ता बनाएको एनबीएसले जनाएको छ । देश र विदेश दुबै क्षेत्रबाट मागमा वृद्धि भएको उपभोग्य वस्तु निर्माण उद्योगका लागि नाफाले वर्षको पहिलो दुई महिनामा द्रूत तथा अपेक्षाकृत वृद्धि रेकर्ड गरेको छ । गत वर्ष दर्ता गरिएको १.१ प्रतिशतको गिरावटलाई उल्ट्याउँदै यस अवधिमा उद्योगको नाफा १२.९ प्रतिशतले बढेको हो । प्रमुख औद्योगिक उद्यमहरूको संयुक्त परिचालन राजस्व वर्षमा ४.५ प्रतिशतले वृद्धि भएको छ । जुन अघिल्लो वर्षको वार्षिक राजस्व वृद्धिको तुलनामा ३.४ प्रतिशतले बढी हो । रासस