विकासन्युज

सेयर बजारमा बम्पर आम्दानी गर्न लगानीकर्तालाई वारेन बफेटका टिप्स

काठमाडौं । पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको चाप बढेको छ । मानिसहरू सेयर बजारमा राम्रो पैसा कमाउन आउँछन् तर सही जानकारी नहुँदा ठूलो नोक्सानी बेहोरिरहेका छन् । बजारमा धेरै लगानीकर्ताहरू छन् जसले धेरै पैसा गुमाएका छन् । यदि तपाईं सेयर बजारमा राम्रो नाफा कमाउन चाहनुहुन्छ भने विश्वका अग्रणी लगानीकर्ता वारेन बफेटका यी सुझावहरू पालना गर्न सक्नुहुन्छ । सेयर बजारमा पैसा लगानी गर्ने मान्छे वारेन बफेटलाई नचिनेका सायदै होलान् । बफेटले सन् १९९४ मा वर्कशायर ह्याथवेको वार्षिक बैठकमा भनेका थिए, ‘नाईलाई कहिल्यै सोध्नु हुँदैन, कपाल काटौं कि नकाटौं भनेर ।’ तपाईंले आज पनि लगानीकर्ताहरूबीच बफेटको यो सल्लाहको बारेमा छलफल सुन्नुहुन्छ। यस्ता छन् वारेन बफेटका ठूलो लगानी टिप्स लगानी गर्नुअघि अनुसन्धान गर्नुहोस् बफेटका अनुसार लगानीका विषयमा विशेषज्ञ वा एजेन्टको आफ्नै स्वार्थ हुन्छ । तसर्थ, तपाईंले लगानी गर्नुअघि सधैं आफ्नो अनुसन्धान गर्नुपर्छ । वारेन बफेट भन्छन् कि-कुनै पनि कम्पनीको काम वा यसको नतिजामा आँखा चिम्लिएर विश्वास गर्नु आवश्यक छैन । उनी भन्छन्, ‘खोलाको किनारमा बसेर दुवै खुट्टा पानीमा राखेर गहिराइ नाप्ने प्रयास गरेमा डुबिन्छ । यसका लागि एउटा हातले किनारलाई बलियो समातेर एउटा खुट्टाले आफूलाई सन्तुलनमा राखेर अर्को खुट्टाले नदी नाप्नु जरुरी छ ।’ यसरी गर्नुहोस् बचत बफेट तपाईंले हरेक महिना आफ्नो तलबबाट बचत गर्ने बानी बसाल्नुपर्ने बताउँछन् । बफेटका अनुसार यदि तपाईको तलब १० हजार रुपैयाँ छ भने तपाईंले प्रत्येक महिना २ हजार रुपैयाँ बचत गर्नुपर्छ । यो पैसा तपाईंलाई आपतकालीन अवस्थामा धेरै उपयोगी हुन सक्छ । यसरी तपाईंले ६ महिनाको आफ्नो घरायसी खर्च अनुसार आपतकालीन कोष पनि बनाउनुपर्छ । जब सबै डराउँछन्, तब लोभी बन्नुहोस् बफेटका अनुसार जब बजारमा सबै कुरा राम्ररी चलिरहेको छ, शंकालु हुनुहोस् । जब अरू लोभी हुन्छन्, डराउनुहोस् र जब अरू सबै डराउँछन्, लोभी बन्नुहोस् । लगानीकर्ता सधैं अवसरहरूको खोजीमा हुनुपर्छ । जब तपाईं यसलाई फेला पार्नुहुन्छ, यसलाई नछुटाउनुहोस् । यी अवसरहरू प्रयोग गर्ने मानिसहरू सधैं सफल हुन्छन् । एजेन्सी

सुरु भयो एसईई (फोटो फिचर)

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । आज बिहान ८ बजेदेखि सुरु भएको परीक्षा २७ गतेसम्म चल्नेछ । राष्ट्रिय परीक्षा बोर्डको तथ्यांकअनुसार यस वर्ष ५ लाख ४ हजार ४१४ विद्यार्थी परीक्षा दिन फारम भरेका छन् ।

विश्वभर दैनिक १ अर्ब डलरको खाना खेर फालिन्छ

काठमाडौं । विश्वभरका परिवारले सन् २०२२ मा प्रत्येक दिन एक अर्ब डलरको खाना खेर फालेका छन् । यसलाई संयुक्त राष्ट्रसंघले बुधबार खानाको नोक्सानीलाई ‘विश्वव्यापी त्रासदी’ भनेको छ । करिब ८० करोड मानिस भोकै बसेको यस्तो समयमा घर र व्यवसायहरूले १० खर्ब डलरभन्दा धेरै मूल्यको खाना थन्क्याएर राखेको राष्ट्रसंघको पछिल्लो फुड वेस्ट इन्डेक्स रिपोर्टमा उल्लेख छ । रिपोर्टअनुसार सन् २०२२ मा बजारमा उपलब्ध सबै उत्पादनहरूको करिब २० प्रतिशत अर्थात एक अर्ब टनभन्दा बढी खाना खेर गएको थियो । यसमा अधिकांश घरहरूबाट खेर गएका हुन् । राष्ट्रसंघीय पर्यावरण कार्यक्रम (युएनइपी) का कार्यकारी निर्देशक इन्गर एन्डरसनले विज्ञप्तिमा भनेका छन्, ‘खानाको नोक्सानी विश्वव्यापी त्रासदी हो, विश्वभरमा खानाको नोक्सानीका कारण आज मानिसहरू भोकै बस्नेछन् ।’ रिपोर्टमा यस्तो प्रकारको नोक्सानी नैतिकमात्र नभएर ‘पर्यावरणीय असफलता’ भएको उल्लेख छ । खानाको नोक्सानीले उड्डयन क्षेत्रको पृथ्वीको तापक्रम बढाउने उत्सर्जनको पाँच गुणा उत्पन्न गर्दछ र यस्ता कहिल्यै नखाइने बालीहरू उब्जाउनका लागि भूमिको विशाल भागलाई परिवर्तन गर्न आवश्यक छ । गैरनाफामूलक सङ्गठन डब्ल्युआरएपीसँग सहलेखन गरिएको उक्त रिपोर्ट राष्ट्रसंघले संकलन गरेको विश्वव्यापी खाद्य नोक्सानीमाथि दोस्रो हो र यसले अहिलेसम्मको सबैभन्दा पूर्णतस्बिर प्रदान गर्दछ । ‘डाटा संकलनमा सुधार हुँदै गर्दा समस्याको यथार्थस्तर अत्यन्त स्पष्ट भएको छ,’ युएनइपीका क्लेमेन्टाइन ओ’कनरले भने, ‘तपाईंले जति धेरै खानाको नोक्सानी खोज्नुहुन्छ, त्यति नै धेरै प्राप्त हुनेछ ।’ एजेन्सी

मैलुङ खोला जलविद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम मौका

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । १०औं वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले शुक्रबार बुक क्लोज गर्दै छ । कम्पनीको सभाले चुक्ता पुँजीको २.२२११ प्रतिशतले हुन आउने रकम ८१ लाख ७६ हजार ८२४.१७ रुपैयाँ बोनस सेयर र ०.११६९ प्रतिशतले हुन आउने रकम ४ लाख ३० हजार ३५९.१७ रुपैयाँको नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव पारित गर्नेछ । प्रस्तावित लाभांश पारित गर्न कम्पनीको सभा चैत्र २९ गते बिहीबार लैनचौर ब्यांक्वेट काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुने कम्पनीले जनाएकाे छ ।

बराहक्षेत्र कुम्भमेलामा ३० लाख पर्यटक भित्र्याउने लक्ष्य

धरान । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित चतराधाममा यही चैत्र २७ गतेदेखि वैशाख २८ गतेसम्म महाकुम्भ मेला आयोजना हुने भएको छ । पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिले बुधबार पत्रकार सम्मेलन गरेर यसपटकको मेलामा ३० लाख पर्यटक आउने आंकलन गरेर सोहीअनुरूप व्यवस्थापन थालिएको जनाएको छ । आयोजक समितिका सहअध्यक्ष तथा बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले आन्तरिक तथा बाह्य पर्यटक गरी ३० लाख आउने अपेक्षा गरेर व्यवस्थापनका लागि विभिन्न २६ वटा उपसमिति गठन गरिएको बताए । कुम्भमेला प्रारम्भ हुनुपाँचदिन अघिदेखि मेला सम्पन्न भएको पाँचदिन पछिसम्म चतरा बजार क्षेत्रमा मदिरा र माछामासु बिक्रीमा प्रतिबन्ध लगाइने उनले बताए । उनले भने, ‘१२ वर्षमा लाग्ने पूर्णमहाकुम्भ मेलालाई सफल बनाउन कुम्भ क्षेत्रमा मदिरा र माछामासु नबेच्न अनुरोध गरेका छौँ ।’ उनले मेला अवधिभर घरआँगन सफा राख्न पुष्पयुक्त गमलाले पाहुनाको स्वागत गर्न प्रत्येक घरमुलीलाई अनुरोध गरेको तथा सम्भव भएसम्म ‘होमस्टे’का रूपमा आफ्ना निवासलाई तयार गर्न आग्रह गरिएको बताए । मेला मूल आयोजक समितिका उपाध्यक्ष बराहक्षेत्र– २ का वडाध्यक्ष होमप्रसाद गौतमले मेला तयारीसम्बन्धी ८० प्रतिशत काम सम्पन्न भएको जानकारी दिए । उनले कुम्भमेलाले बराहक्षेत्र र धरान तथा आसपासका क्षेत्रको धार्मिक पर्यटन विकासमा सहयोग पुग्ने बताए । हरेक १२ वर्षमा लाग्ने पूर्णमहाकुम्भ मेलाका बेला धरानको विजयपुरमा अवस्थित पिण्डेश्वर महादेवको दर्शन गर्न समितिले आग्रह गरेको छ । भारतका चार स्थान इलाहावाद (उत्तर प्रदेश), उज्जैन (मध्य प्रदेश), नासीक (महाराष्ट्र) र हरिद्वार (उत्तराखण्ड)मा लामो समयदेखि कुम्भमेला आयोजना हुँदै आएको छ । बराहक्षेत्रमा भने २०५९ सालदेखि कुम्भमेला आयोजना हुन थालेको हो । यहाँ प्रत्येक ६ वर्षमा अर्धकुम्भ र १२ वर्षमा पूर्णमहाकुम्भ मेला लाग्ने गरेको छ । सप्तकोशी नदी किनारमा अवस्थित बराहक्षेत्र र धरानको पिण्डेश्वर धाम कुम्भमेलासँग जोडिएकाले यो क्षेत्रमा कुम्भमेला आयोजना हुँदै आएको बताइएको छ । रासस

८ डिएसपीको एसपीमा बढुवा गर्न सिफारिस (सूची)

काठमाडौं । नेपाल प्रहरीका आठ जना डिएसपीको एसपीमा बढुवा सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयको बढुवा समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले सूचना प्रकाशन गरी जनपद प्रहरी समूहतर्फ ८ जना डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरिएको जानकारी दिएका हुन् । यी हुन् नेपाल प्रहरीको एसपीमा बढुवा सिफारिस भएकाहरूः

कोशी, बाग्मती र गण्डकी प्रदेशमा पानी पर्ने

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । बिहीबार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा बाँकी भूभागका एक/दुई स्थानमा वर्षाको सम्भावना रहेको छ। यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा उच्च पहाडी र हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आजदेखि एसईई परीक्षा, पास हुन ३५ अंक ल्याउनै पर्ने

काठमाडौं । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) बिहीबारबाट सुरु हुँदैछ । बिहान ८ बजेदेखि सुरु हुने परीक्षा २७ गतेसम्म चल्नेछ । देशभर एकैसाथ सुरु हुने परिक्षामा सहभागी विद्यार्थीलाई ढुक्क भएर परीक्षा दिन राष्ट्रिय परीक्षा बोर्डले आग्रह गरेको छ । परीक्षाको लागि २ हजार ६४ परिक्षा केन्द्र छन् भने जापानबाट २३ जना परिक्षा सहभागी हुने भएका छन् । जसअन्तर्गत कोशी प्रदेशमा ३७८, मधेशमा, २९५, बागमती ४४१, गण्डकीमा २१४, लुम्बिनीमा ३३८, कर्णालीमा १८६, सुदुरपश्चिममा २११ र जापानमा १ परीक्षा केन्द्र कायम गरिएको छ । यो वर्ष सामुदायिक र संस्थागत गरी १० हजार ८ सय ६ विद्यालयका ५ लाख ४ हजार ४ सय १४ परिक्षार्थीले परिक्षा दिँदैछन् । जसमा दुई लाख ५० हजार ७ सय ७२ छात्रा र दुई लाख ५३ हजार ६ सय २७ छात्र र अन्य १५ जनाले परिक्षा दिने भएका छन् । परीक्षार्थीमध्ये १५ हजार ७ सय ४९ जना परक्षिार्थी प्राविधिकतर्फका छन् । ७७ हजार बढी जनशक्ति परिचालन एसईई परिक्षाका लागि ७७ हजार ४ सय ८५ जना जनशक्ति परिचालन हुने भएका छन् । प्रति केन्द्र एक जनाका दरले केन्द्राध्यक्ष खटाइनेछ । ४ हजार एक सय २८ जना सहायक केन्द्राध्यक्ष र २५ हजार दुई सय २२ निरीक्षक परिक्षाका लागि खटाइने भएका छन् । यस्तै, पाँच हजार ५४ परीक्षा सहायक खटाइनेछ भने ५० परीक्षार्थी बराबर एक जनाका दरले १० हजार ८१ कार्यालय सहयोगी खटाइने भएको छ । प्रत्येक परीक्षा केन्द्रमा १५ जनाका दरले ३० हजार नौ सय ६० सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ । पास हुन ३५ अंक ल्याउनै पर्ने यो वर्षको एसईई परीक्षामा परिक्षार्थीले पास हुन ३५ अंक ल्याउनै पर्नेछ । राष्ट्रिय परिक्षा बोर्डका अनुसार यो वर्षदेखि ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ लागू हुने भएको छ । ३५ अंक ल्याउन नसक्ने विद्यार्थीलाई माथिल्लो कक्षामा सहभागी नगराइने अर्थात् अब कक्षा ११ मा भर्ना हुन ३५ प्रतिशत अंक ल्याउनैपर्छ । विगतका वर्षहरूमा सैद्धान्तिक र प्रयोगात्मक जोडेर ३५ अंक ल्याए हुन्थ्यो भने यो वर्षदेखि सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अंक ल्याउनुपर्ने भएको छ । दुई विषयमा ३५ अंकभन्दा कम ल्याएमा मौका परीक्षा दिनु पर्नेछ ।