होण्डाले ल्यायो नयाँ वर्षको अफर, गाडि खरिद गर्ने ग्राहकलाई नगद छुट
काठमाडौं । हेण्डाले नयाँ वर्षको अफर सार्वजनिक गरेको छ । स्याकार ट्रेडिङ कम्पनि प्रालि अन्तर्गत होण्डाकारले २०८१ नयाँ वर्षको उपलक्ष्यमा होण्डाको गाडि खरिद गर्ने ग्राहकहरुलाई नगद छुट तथा अन्य सुविधा सहित स्किम निकालेको छ । जस अन्तर्गत २० प्रतिशत डाउनपेमेन्ट, १०.४९ प्रतिशत ब्याजदर, एक आर्थिक वर्षको टयाक्स फ्रि, एक वर्षको फुल इन्स्योरेन्स र आकर्षक नगद छुट सहित ग्राहकको सुविधालाई ध्यानमा राखि रोड साईड असिस्ट पनि फ्रि दिने घोषणा गरेको छ । यो अफर मिति २०८०/१२/१ गते बाट लागु गरिएको छ भने उक्त्त अफर २०८१ साल बैशाख ३१ गते सम्मका लागि हुने कम्पनीले जनाएको छ ।
नेपालमा अन्तर्राष्ट्रिय लगानी आउने वातावरण बनेको छ : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण बनेको बताएका छन् । शिष्टाचार भेटका लागि बिहीबार सिंहदरबारस्थित मन्त्रालय आएकी नेपालका लागि फिनल्याण्डकी राजदूत रिना–रिक्का हेइक्कासँगको भेटमा मन्त्री पुनले नेपालमा लगानीको वातावरण बन्दै गएको बताए । मन्त्री पुनले लगानी वातावरण बनाउन सरकारले एक दर्जन बढी विद्यमान कानूनमा संशोधन प्रक्रिया अघि बढाएको जानकारी दिए । लगानीको सुरक्षा गर्न सरकार प्रतिबद्ध रहेको उनको थियो । मन्त्री पुनले आगामी वैशाख १६ र १७ मा काठमाडौँमा हुने लगानी सम्मेलनमा बढीभन्दा बढी अन्तर्राष्ट्रिय लगानीकर्ता ल्याउन लागिपरेको भन्दै त्यसमा सहयोग गर्न राजदूत हेइक्कासँग आग्रह गरे । नेपालमा जलविद्युत, ऊर्जा, पूर्वाधार र सूचना प्रविधि क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई मन्त्री पुनले आग्रह गरे । फरक प्रसंगमा उनले १० वर्षअघि नेपालमा महिलाको राजनीतिक अधिकार प्राप्तिको एजेण्डा प्रमुख रहेको स्मरण गर्र्दै हाल नेतृत्व क्षमता विकास तथा आर्थिक सामाजिक पहुँच वृद्धिलाई प्राथमिकतामा राखिएको जनाए । मन्त्री पुनले दौत्य सम्बन्धको अर्धवार्षिकी पार हुनै लाग्दा फिनल्याण्डले नेपालको शिक्षा, स्वास्थ्य र स्वच्छ खानेपानीका क्षेत्रमा गर्दै आएको निरन्तर सहयोगका लागि नेपाल र नेपालीका तर्फबाट धन्यवाद दिए । त्यस क्रममा राजदूत हेइक्काले लगानी सम्मेलनअघि नै युरोपेली संघ (ईयू) को नोकिया बिजनेश कम्पनीको उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आउने जानकारी दिइन् । विगतमा मोबाइल कम्पनी सञ्चालन गरेको नोकियाले पछिल्लो समय सूचना प्रविधि र सफट्बेयरको क्षेत्रमा लगानी गर्दै आएको छ । फिनल्याण्डको शुद्ध पिउनेपानीको वितरण प्रणाली उच्चस्तरको रहेको भन्दे राजदूतले हेइक्काले त्यस क्षेत्रमा मिलेर काम गर्ने चाहना राखिन् । कर्णाली र मधेसमा स्वच्छ पिउने पानीका लागि फिनिस सरकारको सहयोगमा आयोजना सञ्चालनमा रहेको बताइन् ।
नाइजेरियाको केन्द्रिय बैंकले २४.७५ प्रतिशत ब्याजदर बढायो
काठमाडौं । नाइजेरियाको केन्द्रिय बैंकले बढ्दो मुद्रास्फीतिको बीचमा मौद्रिक नीति दर २ सय आधार बिन्दुले २४७५ प्रतिशतमा बढाएको छ । हालको मुद्रास्फीतिको दबाब र मुद्रास्फीतिको अपेक्षालाई आत्मसाथ गर्नुका साथै दिगो विनिमय दर स्थिरता सुनिश्चित गर्ने आवश्यकतालाई ध्यानमा राखेर ब्याजदर २२.७५ प्रतिशतमा पुर्याएको बताइएको हो । ब्याजदर बढाउने निर्णयले अर्थतन्त्रका विभिन्न क्षेत्रहरूमा व्यापक प्रभाव पार्ने अपेक्षा गरिएको छ । नाइजेरियाको हेडलाइन मुद्रास्फीति फेब्रअरीमा २९.९० प्रतिशतबाट ३१.७० प्रतिशतमा बढेर खाद्य मूल्यहरूमा निरन्तर वृद्धि भएको छ ।
एमडीएमएसमा भ्रष्टाचार: एनटीएका दुई पूर्वअध्यक्ष सहित २० जनाविरुद्ध मुद्दा, ९२ करोड बिगो दाबी
नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष पुरुषोतम खनाल काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व दुई अध्यक्ष सहित २० जनाविरुद्ध मुद्दा दायर गरेको हो । बिहीवार नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र तत्कालीन अध्यक्ष पुरुषोतम खनाल, पूर्ववरिष्ठ निर्देशक आनन्दराज खनाल लगायतलाई प्रतिवादी बनाइ मुद्दा दर्ता गराएको हो । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र अर्का तत्कालीन अध्यक्ष पुरुषोत्तमप्रसाद खनाल र वरिष्ठ निर्देशक आनन्दराज खनालसहितका २० जनालाई विपक्षी बनाएर आरोप पत्र दर्ता भएको बताए । उनले अन्य प्रतिवादीहरुमा दीपेश आचार्य, सुरेन्द्रलाल हाडा, मिनप्रसाद अर्याल, अच्युतानन्द मिश्र, रेवतीराम पन्त, सन्दीप अधिकारी, विनोदचन्द्र श्रेष्ठ, सूर्यप्रसाद लामिछाने, प्रतिक्षा पौडेल, विजयकुमार राय यादव, निराजन कोईराला, कविन्द्रराज मल्ल लगायतलाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएको बताए । उनकाअनुसार कुल बिगो ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ ३२ पैसा रहेको छ । बिगो भराउने सिलसिलामा र मागदाबी फरक फरक प्रतिवादीलाई फरक फरक माग दाबी लिएर आएको बताए । उनले तत्कालीन अध्यक्ष दिगम्बर झा लगायतकालाई कुल बिगो ९१ हजार नै रहेको र कैद जरिबाना गरी खर्च भएको देखिएको बिगो २३ करोड २० लाख ५९ हजार ३१४ रुपैयाँ ९४ पैसा रहेको बताए । उनले प्रतिवादी राष्ट्रसेवकको हकमा एक खालको दाबी छ र अरु सरोकारवाला कम्पनीहरुको हकमा फरक दाबी रहेको पनि बताए । नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा लगायतले आफ्नो पदको दुरुपयोग गरी खरिद प्रक्रियामा संलग्न भएको मुद्दा रहेको बताए । विशेष अदालतमा दायर गरिएको मुद्दाबारे अख्तियारद्वारा जारी विज्ञप्ति [pdf id=472729]
सिद्धि हाइड्रोले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले सिटिजन्स क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटललाई नियुक्त गरेको हो । बिहीबार एक कार्यक्रमबीच भएको सम्झौतापत्रमा सिद्धि हाइड्रोका तर्फबाट प्रबन्ध निर्देशक सन्तोषराज नेपाल र सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार सिटिजन्स क्यापिटलले सिद्धि हाइड्रोको सार्वजनिक निष्कासनका लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ । सिद्धि हाइड्रोले निर्माण गरिरहेको आयोजना ‘सिद्धि खोला जलविद्युत आयोजना’ इलाम जिल्लामा अवस्थित रहेको छ । यो आयोजना १० मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।
वित्तीय सूचकमा अब्बल बन्दै स्ट्याण्डर्ड चार्टर्ड बैंक, पाँचौं पटक पायो त्रिपल ए रेटिङ
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले पाँचौं पटक त्रिपल ए रेटिङ पाएको छ । इक्रा नेपालले बैंकलाई लगातार पाँचौं वर्ष पनि बैंकलाई ‘इक्राएनपी-आईआर त्रिपल ए’ को रेटिङ पुनः पुष्टि गरिदिएको हो । यो रेटिङले बैंकले समयमै वित्तीय दायित्वहरु पुरा गर्न सक्ने र कम्पनी उच्चतम स्तरको सुरक्षित रहेको बुझाउँछ । इक्रा नेपालले बैंकका विभिन्न वित्तीय सूचकलाई आधारमानेर उक्त उच्च स्तरको रेटिङ दिएको बताएको छ । जसमा बैंकको सीआरएआर, निष्कृय कर्जा (एनपीएल) लगायतका विभिन्न वित्तीय सूचकहरु छन् । हाल स्ट्याण्डर्ड चार्टर्ड बैंकको एनपीएल १.६० प्रतिशत मात्रै छ । जुन अन्य वाणिज्य बैंकको तुलनामा सबैभन्दा कम हो । हाल अन्य वाणिज्य बैंकहरुको औषत एनपीएल नै ३.६३ प्रतिशत रहेको छ । साथै, बैंकको वित्तीय अवस्था पनि अन्य बैंकको तुलनामा बलियो, सुरक्षित र वित्तीय सबलतामा अब्बल रहेको इक्रा नेपालको दावी छ । लगातार पाँच वर्षसम्म त्रिपल रेटिङको पुनः पुष्टि पाएसँगै स्ट्याण्डर्ड चार्टर्ड बैंकका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तिदारले यसले बैंक तथा बैंकका सबै सरोकारवालाहरुप्रतिको प्रतिबद्धताको बलियो प्रमाणीकरण रहेको बताएका छन् ।
हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले पर्यटन क्षेत्र निरुत्साहित भयो : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल सरकारले लगाएको हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले नेपालको पर्यटन क्षेत्रलाई निरुत्साहित गरेको बताएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । अध्यक्ष ढकालले हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो भएकाले नेपालमा यात्रा गर्ने विदेशीहरु कम भएकाले पर्यटन व्यवसायमा नकारात्मक असर परेको दाबी गरे । उनले सरकारले हवाई टिकटमा गत वर्षको बजेटमार्फत सरकारले व्यवस्था गरेको १३ प्रतिशत अतिरिक्त कर करेक्शन गर्न आवश्यक रहेको बताए । सरकारले रोयल्टीमा ५ प्रतिशत शुल्क लगाउने नीतिले नेपालमा गुणस्तरीय अन्तर्राष्ट्रिय होटलमा लगानी आउन र सञ्चालनमा समेत कठिन भएको बताए । भारतीय र गैरआवासीय भारतीय नागरिकहरुको विवाहको इभेन्ट भारत भन्दा बाहिर गर्ने प्रचलन रहेको भन्दै उक्त इभेन्ट नेपालमा गर्नसक्ने गरी नीतिगत रुपमा व्यवस्था गर्न आवश्यक रहेको जानकारी दिए । उनले उक्त विवाहका इभेन्ट नेपालमा ल्याउनसके नेपालले धेरै लाभ लिनसक्ने अवस्था रहेको बताए । अध्यक्ष ढकालले सीमामा पर्यटनसँग सम्बन्धित सबै कुराहरु सहज बनाउन आवश्यक रहेको जानकारी दिए । ‘पाँच तारे होटलका ५ प्रतिशत सर्भिस चार्जको कारणले गुणस्तरीय विदेशी ब्राण्ड नेपालमा आउनको लागि असजिलो भइरहेको छ । भारतीय र गैरआवासीय भारतीय नागरिकहरुको विवाहको इभेन्ट भारत भन्दा बाहिर गर्ने प्रचलन रहेछ । उनीहरु थाइल्याण्ड, फिलिफिन्स, इण्डोनेसिया, दुबईमा गइरहनुभएको छ । यो इभेन्टहरु धेरै सख्यामा भइरहेको छ । सरकारले विमानस्थल तत्काल सञ्चालनमा ल्याउनुपर्छ । तत्काल सञ्चालनमा ल्याउन सकियो भने नेपालमा पर्यटनको धेरै सम्भावना रहेको छ’, उनले भने । उनले पर्यटन बोर्डलाई प्रभावकारी बनाउनको लागि निजी क्षेत्रको समेत सहभागिता गराउन माग गरे । पर्यटन बोर्डमा निजी क्षेत्रको सहभागिताले मात्रै पर्यटन प्रवद्र्धन थप प्रभावकारी बनाउन सकिने बताए । अध्यक्ष ढकालले सरकारले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलहरु तत्काल सञ्चालनमा ल्याउन आवश्यक रहेको भन्दै विमानस्थल सञ्चालनमा ल्याउन सक्दा मात्रै नेपालमा पर्यटनको धेरै सम्भावना देखिएको जानकारी दिए ।
याडियाको जि-६ विद्युतीय स्कुटर सार्वजनिक, मूल्य कति ?
काठमाडौं । बजारमा याडियाको जि-६ विद्युतीय स्कुटर सार्वजनिक भएको छ । याडिया इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारीक बिक्रेता कम्पनी कुजु नेपालले जी-६ मोडल नेपाल भित्र्याएको हो । कम्पनीका अनुसार याडिया जि-६ मा ३ किलोवाटको मोटर र २.७३ किलोवाट आवरको ग्राफिन ब्याट्री छ । यसले सिंगल चार्जमा १५० किलोमिटर रेन्ज दिन्छ । यसलाई ६ देखि ७ घण्टामा फुल चार्ज गर्न सकिन्छ । याडियाको जि-६ मा फुल चार्ज हुँदा १५० किलोमिटर गुड्ने बताइएको छ । फ्रन्ट तथा रियर डिस्क ब्रेक उपलब्ध सो इलेक्ट्रिक स्कुटरको ग्राउण्ड क्लियरेन्स १७० एमएम छ । फराकिलो फ्लोर बोर्ड, अल एलईडी सेटअप, १२ इन्चको आल्मुनियम ह्विल, ३० लिटरको बुट स्पेस लगायतका विभिन्न विशेषता छन् । कम्पनीले ब्याट्री र मोटरमा २ वर्ष वा २० हजार किलोमिटर गुड्दा सम्मको वारेन्टी दिएको छ । याडिया जि-६ को मूल्य २ लाख ६० हजार रुपैयाँ तोकिएको छ ।