एनएमबी बैंकको ५२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
काठमाडौं । एनएमबी बैंक लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ । बैंकले एक सूचना जारी गर्दै बैंकको विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ५२ हजार १७२ कित्ता संस्थापक सेयर शुक्रबारदेखि बिक्रीमामा राखिएको जानकारी दिएकाे हाे । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनी तथा अन्य व्यक्ति तथा कम्पनीहरुले आवेदन दिन सक्नेछन् । बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ निर्धारण गरिएको छ । लगानीकर्ताले चैत २२ गतेभित्र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा आईपुगने गरी आवेदन दिनुपर्नेछ ।
मौसम बदली कायमै, आइतबारसम्म चट्याङसहित पानी पर्ने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ। जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । अहिले बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । शुक्रबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी भूभागका एक/दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। राति देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भूभागका एक/दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । शनिबार पनि देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहने छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
उडान प्रभावित हुँदा लुक्लामा हवाई पर्यटक अलपत्र
सल्लेरी । प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित हुँदा सगरमाथा क्षेत्र भ्रमणमा निस्किएका पर्यटकहरू मर्कामा परेका छन् । पछिल्लो दुई दिनयता मौसममा आएको परिवर्तनले तेन्जिङ हिलारी विमानस्थल लुक्लामा उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा परेका हुन् । पर्यटकीय याम भएका खुम्बु भ्रमणमा आउने अधिकांश पर्यटक जहाजमार्फत लुक्ला हुँदै उकालो लाग्ने गर्छन् । तर मौसम प्रतिकूल हुँदा तालिका अनुसार जहाज उडान हुन नसक्दा रामेछापको मन्थलीमा नै पर्यटक रोकिएको पर्यटन व्यवसायी फूर्वा शेर्पाले बताए । नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख उमेश पन्थीका अनुसार बिहीबार काठमाडौं र मन्थलीबाट लुक्लामा ४० उडान तालिका भए पनि मौसमका कारण अधिकांश रद्द भएको हो । मन्थलीबाट बिहान पर्यटक लिएर लुक्ला आएको चार वटा विमान मौसमका कारण लुक्लामा नै रोकिएको प्रमुख पन्थीको भनाइ छ । ‘बिहान मौसम अलिक खुलेकाले विमान आयो तर फर्किन सकेन, भिजिभिलिटी नपुगेकाले जहाज यही रोकिएको छ,’ उनले भने । बुधबार पनि मौसमले साथ नदिँदा लुक्लाको अधिकांश उडान स्थगित गरिएको नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ । सगरमाथा क्षेत्रबाट काठमाडौं फर्किन चहाने १०० जना भन्दाबढी पर्यटकहरू अहिले लुक्लामा रोकिएको तारा एयरलाइन्स लुक्लाका प्रमुख अमृत मगरले बताए । मौसम तत्काल खुल्ने सम्भावना नभएपछि कतिपय पर्यटक हिँडेर थामडाँडा पुगेरर त्यहाँबाट गाडीमार्फत सल्लेरी हुँदै काठमाडौं फर्किएका छन् । रामेछापको मन्थलीमा दुईभन्दा धेरै पर्यटकहरु लुक्ला जानका लागि मौसम अनुकुलताको पर्खाइमा रहेको स्थानीयवासी जगत थापाले बताए । उनका अनुसार काठमाडौंबाट सगरमाथा क्षेत्र भ्रमणमा निस्किएका स्वदेशी तथा विदेशी पर्यटक उडान प्रभावित हुँदा मन्थलीमै रोकिएका पुगेका हुन् । ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाल बताए । उनका अनुसार एयर चाइनाको जहाज ‘डाइभर्ट’ भएको छ भने अन्य जहाज आकाशमा फन्को लगाउने (होल्ड) भएका छन् ।
एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन
काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको ‘बिराट गोल्ड कप फुटबल’ लाई मुख्य प्रायोजन गर्ने गरी आयोजक बिराट गोल्ड कप फुटबल ट्रष्टसँग सम्झौता गरेको छ । सो सम्झौतापत्रमा बैंकका तर्फबाट ब्राण्डिङ एण्ड कर्पोरेट कम्युनिकेसन प्रमुख सरोज भट्टराई र आयोजकका तर्फबाट ट्रष्टका अध्यक्ष किशोर बहादुर शाहीले हस्ताक्षर गरेका हुन् । चैत १५ देखि २४ गतेसम्म विराटनगरस्थित सहिद रंगशाला सञ्चालन हुन गई रहेको उक्त प्रतियोगितामा संकटा क्लब, नेपाल सशस्त्र प्रहरी बल, मोरङ-११, त्रिभुवन आर्मी क्लब, चर्च बोइज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, थ्री स्टार क्लब, नेपाल पुलिस, सुनसरी-११, भुटानबाट भुटान एफसी, भारतबाट दिल्ली एफसी, माने भञ्ज्याङ दार्जिलिङ, कोलकत्ता-११ र पञ्जाब पुलिस टिम सहभागी हुनेछन् । कोशी प्रदेशमा रहेका नव खेलाडीहरुलाई हौसला प्रदान गर्ने हेतुले आयोजना हुन गइरहेको यस प्रतियोगिताका बिजेताले नगद रु। ११ लाख, उपबिजेताले रु। ५ लाख ५० हजार लगायत ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुहुनेछ । साथै, सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षक तथा उत्कृष्ट गोलरक्षकलाई जनही रु। २१ हजार र उत्कृष्ट खेलाडीलाई रु। २१ हजार प्रदान गरिनेछ । फुटबल खेललाई थप उचाइमा पुर्याउन बैंकले गरेको यो सहकार्यले विशेष योगदान पुग्ने बैंकले विश्वास लिएको छ । यस बैंकले एकता, टिमवर्क र उत्कृष्टताको भावनालाई बढावा दिँदै आएको अवस्थामा खेल जीवनमा समेत सो कुरा चरितार्थ हुँदै आएको छ । बैंकले यस्ता प्रतियोगिताहरूमा सहकार्य गरेर खेल जीवनलाई प्रवर्द्धन गर्ने मात्र नभई राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्न लालाहित युवा खेलाडीहरूलाई उत्कृष्ट मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने बैंकको नारालाई चरितार्थ गर्न समेत खेल क्षेत्रसँगको सहकार्यले ठोस टेवा दिने समेत बैंकको विश्वास रहेको छ । एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११६ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।
यी २३ चर्चित घटनाको सफल अनुसन्धान, बैंकिङ कसुरका १३ हजार २७७ मुद्दा दर्ता
काठमाडौं । नेपाल प्रहरीले एक वर्षका अवधिमा २३ चर्चित घटनाको सफल अनुसन्धान गरेको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले गत वर्षको चैत १० गते महानिरीक्षकको कार्यभार सम्हालेपछि २३ चर्चित घटनाको सफल अनुसन्धान सम्पन्न भएको जानकारी दिएका हुन् । पत्रकार सम्मेलनमा केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले एक वर्षमा ललिता निवास जग्गा प्रकरण, ६० किलोग्राम सुन, बालयौन शोषण गरेको कसुरमा रामबहादुर बमजम पक्राउलगायतका विभिन्न घटनाको सफल अनुसन्धान गरेको जानकारी दिए । उनले देउराली सहकारी, हुण्डी कारोबारी पक्राउ, शिवशिखर सहकारी ठगी प्रकरण, २ किलोग्राम ६ सय ग्राम कोकिन बरामद, नक्कली भूटानी शरणार्थी प्रकरण, गैरीगाउँ सामुहिक हत्या, पेट्रोल छर्कि आगो लगाई कर्तव्य ज्यानलगायतका घटनामा सफल अनुसन्धान गरिएको बताए । प्रवक्ता ढकालले एक वर्षको अवधिमा प्रहरीमा देशभर विभिन्न कसुरमा ५९ हजार ६१ मुद्दा दर्ता भएको बताए । दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी बैंकिङ कसुरमा १३ हजार २७७, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा १० हजार ८६३ रहेका छन् । यस्तै, आत्महत्या ७ हजार १९४, लागूऔषध ४ हजार २८४, चोरी ३ हजार ७२५ लगायत रहेका छन् । मुद्दा दर्ता भएकामध्ये सबैभन्दा धेरै काठमाडौँ उपत्यकामा १७ हजार ३९७ रहेको छ भने सबैभन्दा थोरै कर्णाली प्रदेशमा १ हजार ९६५ रहेको छ । प्रहरीले फैसला कार्यान्वयनतर्फ एक वर्षको अवधिमा १३ हजार १२२ फरार अपराधिलाई नियन्त्रणमा लिँदा जरिवनावापत १ अर्ब ९७ करोड ९६ लाख १६ हजार ५३८ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । प्रहरीले सो अवधिमा विभिन्न मितिमा अपराध गरी विदेश गई लुकेका १३ फरार अपराधिलाई इन्टरपोलको सहायतामार्फत नेपाल ल्याएको छ । एक वर्षको अवधिमा विपद्का घटनामा प्रहरीले ४६ हजार २५९ प्रहरी परिचालित गरेको छ भने बन्द, हड्ताल र विरोध नियन्त्रणका लागि १ लाख ४८ हजार प्रहरी परिचालन गरेको छ । सोही अवधिमा ४४४ प्रहरी घाइते हुँदा १९० प्रदर्शनकारी घाइते र ३ प्रदर्शनकारीको मृत्यु भएको प्रवक्ता ढकालले बताए । प्रहरीले एक वर्षमा अवैध सुनचाँदी, अदालती फैसला कार्यान्वयन, अवैध मुद्रा, हुण्डी कारोबारी, अवैध मालसामान, अवैध काठ, ट्राफिक कारबाहीलगायतका शीर्षकबाट ६ अर्ब ६३ करोड ३९ लाख ३२ हजार १७८ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । प्रहरीमा हाल ७९ हजार ५४१ दरबन्दी रहेपनि ३ हजार २८९ दरबन्दी खाली हुँदा काम कारबाहीमा समस्या परेको छ । नागरिकको इच्छा, आकांक्षालाई सम्बोधन गरी अपराध नियन्त्रण गर्न २५ हजार प्रहरी जनशक्तिको थप गर्नुपर्ने आवश्यकता रहेको प्रवक्ता ढकालले बताए ।
सरकारले तोक्यो चैते धानको मूल्य
काठमाडौं । सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले चालु आर्थिक वर्ष २०८०/८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल २ हजार ७०७.८ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको हो । साथै १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १ हजार २०० ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतम् समर्थन मूल्य कायम गर्ने निर्णय भएको छ । बैठकले आव २०८१/८२ को लागि प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँटको ढाँचा र हिस्सा बमोजिम अनुमानित राजस्व ७ प्रदेशको लागि ७७ अर्ब ५० करोड रुपैयाँ र स्थानीय तहका लागि ७७ अर्ब ५० करोड रुपैयाँ स्वीकृत गर्ने निर्णय गरेको छ । यस्तै वित्तीय समानीकरण अनुदानको परिमाण सात प्रदेशको लागि ६० अर्ब रुपैयाँ र स्थानीय तहको लागि ८८ अर्ब रुपैयाँ स्वीकृत गर्ने निर्णय गरेको छ ।
पर्यटन बोर्डको कार्यकारी समितिमा लामासहित ३ जना नियुक्त
काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा राजेन्द्र बहादुर लामासहित ३ जनालाई नियुक्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त ३ सदस्यमा काभ्रेका राजेन्द्रबहादुर लामा, पोखराका ऋषिराम भण्डारी र धादिङका रामप्रसाद सापकोटालाई मनोनयन गर्ने निर्णय गरेको हो । लामा साढे २ दशकदेखि ट्रेकिङ क्षेत्रमा आवद्ध छन् । यस्तै, भण्डारी ३ दशकदेखि पर्वतारोहण क्षेत्रमा आवद्ध छन् भने सापकोटा होटल व्यवसायी हुन् । विगत २ महिनादेखि पर्यटन बोर्डको कार्यकारी समितिमा ३ सदस्य रिक्त रहेका थिए । स्रोतका अनुसार सरकारले नियुक्त गरेको तीनै जना माओवादी केन्द्र निकट हुन् । साथै, बिहीबार बसेको मन्त्रीपरिषद बैठकले सहसचिव डा.हरिप्रसाद लम्साललाई सचिव नियुक्त गरेको छ । नेपाल प्रशासन सेवतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा सुदूरपश्चिम प्रदेश सरकारका कायमुकायम (कामु) प्रमुख सचिवको जिम्मेवारीमा रहेका लम्साललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
चीन र भारत जोड्ने योजनाका २ पुल अलपत्र पार्ने गणपति निर्माण सेवा कालोसूचीमा
काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको मोटरेबल पुुल अलपत्र बनाउने निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको छ । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरबेनी–जोमसोम–कोरला सडक योजनाको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले कैकुखोला र लार्जुङखोलाको पुल अलपत्र बनाउने निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो । कार्यालयले बुधबार सार्वजनिक सूचना जारी गरेर २ वटै पुल बनाउने ठेक्का लिएको गणपति निर्माण सेवालाई २ वर्षका लागि कालोसूचीमा राखेको जनाएको छ । २०/२० मिटरको दुरीका दुईवटै पुल निर्माणको लागि विसं २०७५ मा गणपति निर्माण कम्पनीले बेनी–जोमसोम–कोरला सडक आयोजनासँग ठेक्का सम्झौता गरेको थियो । आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंका अनुसार पटक–पटक ताकेता गर्दासमेत सन्तोषजनक काम गर्न नसकेर पुल अलपत्र बनाएपछि गत असोज अन्तिम हप्ता निर्माण कम्पनीसँगको ठेक्का तोडेर कालोसूचीमा राख्न सिफारिस गरिएको थियो । जमानत बसेको बैंकमार्फत धरौटी जफत गरिएको छ । सार्वजनिक खरिद ऐनको व्यवस्था अनुसार बाँकी निर्माण कार्यको लागत पनि सोही ठेकेदार कम्पनीमार्फत असुल उपर गरिने भएको छ । पुरानो ठेक्का तोडेर अलपत्र पुललाई पूर्णता दिन नयाँ ठेक्का प्रक्रिया अघि बढाउने आयोजनाको तयारी छ । कैकुखोलामा बीस मिटर लामो मोटरेबल पुल बनाउन ३ करोड २५ लाख रुपैयाँ र लार्जुङ खोलाको पुलको ३ करोड २९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । ५०/५० प्रतिशत भौतिक प्रगति भएको दुईवटै पुलको पिल्लर ठड्याउने काम सकिएको छ । साँघुरो पुलबाट सवारीसाधन आवतजावत गर्ने लार्जुङ खोलामा ३ वर्षयता पुल निर्माणको कुनै पनि काम नभएको स्थानीयवासीले बताएका छन् । कैकु खोलामा बर्खामा बाढी आउँदा सवारीसाधन आवतजावत प्रभावित हुने गरेको छ । त्यहाँ अस्थायी पुलमा जोखिम मोलेर सवारी साधन वारपार गराइन्छ । गत असार महिनायता पुल निर्माणको काम नगरेका ठेकेदार कम्पनीका सञ्चालक सम्पर्कमा नआएपछि ठेक्का तोडिएको हो । पर्वतको मालढुुङ्गादेखि म्याग्दी हुँदै मुुस्ताङस्थित चीनको सिमाना कोरला नाका जोड्ने २०२ किलोमिटर दुुरीको बेनी–जोमसोम–कोरला सडक योजनामार्फत १३ वटा पक्की पुल र ३ वटा बेलिब्रिज निर्माण सकिएका छन् । थप एक वटा मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । सात वटा मोटरेबल पुल निर्माणाधीन छन् । थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताव गरिएको छ । यो सडकलाई गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको छ । सडकले पूर्वाधार, आर्थिक, ब्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।