विकासन्युज

ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ को तयारी पूरा

काठमाडौं । मेड इन नेपाल नारा सहित आगामी चैत अन्तिम साता हुने ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ को तयारी पुरा भएको छ । ललितपुरस्थित जावलाखेल फुटबल ग्राउण्डमा चैत २२ गतेदेखि २६ गतेसम्म आयोजना हुने इन्टरनेशनल ट्रेड एक्स्पोमा मेड इन नेपाल प्याभिलियनमा विशेष आकर्षण रहने आयोजकले ललितपुरमा आयोजित पत्रकार सम्मलनमार्फत जानकारी गराएको छ । ललितपुर चेम्बर अफ कमर्शको आयोजनामा सञ्चालन हुने इन्टरनेशनल ट्रेड एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका बंगलादेश, थाइलैण्ड, टर्की, मलेसिया, दक्षिण कोरियालगायतका देशहरुमा उत्पादित विविध वस्तु तथा सामग्री, मौलिक उत्पादन र सेवा सम्बन्धी सामनहरु इन्टरनेशनल ट्रेड एक्स्पोमा राखिने बताइएको छ । ललितपुर महानगरपालिका सहआयोजक, नेपाल चेम्बर अफ कमर्शको सहयोग, जावलाखेल युथ क्लबको सहयोगमा सञ्चालन हुने इन्टरनेशनल ट्रेड एक्स्पोमा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता–चप्पल, नक्कली गरगहनालगायतका सामग्री प्रदर्शनीमा राखिने ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्परत्न शाक्यले बताए । ललितपुर चेम्बर अफ कमर्सले इण्ट्ररडक्सन ट्रेड शो नेपाल प्रालिसँगका सहकार्यमा पहिलो पटक ललितपुरको मुख्यकेन्द्र बिन्दु जावलाखेल फुटबल ग्राउण्डमा आयोजना गर्न लागेको एक्स्पोमा मेड ईन ललितपुरको पेभिलिन रहने छ । जसमा ललितपुरमा उत्पादन हुने मौलिक निकासी योग्य समानहरु र दैनिक उपभोग्य सामानहरुका अतिरिक्त आफ्नो ब्राण्डको परिचित गराउने र ललितपुरको विभिन्न वडाहरुबाट उत्पादन हुने विभिन्न सामानहरुको प्रर्दशनी रहने अध्यक्ष शाक्यले जानकारी दिए । साथै महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकाको उद्यमी व्यवसायीहरुले पनि आफ्नो उत्पादनलाई प्रर्दशनी गराउने र आकर्षणको रुपमा अमूर्त संम्पदा र कला संस्कृतिको प्रर्दशनी, फेसन शो र बालबालिकाहरुको लागि किड जोन राख्नुको अतिरिक्त थप आकर्षणको रुपमा यस एक्स्पोमा सहभागी विभिन्न छिमेकि मित्र राष्ट्रहरुका प्रतिष्ठित व्यवसायीहरुको सहभागीता रहनेछ । एक्स्पोले सार्क राष्ट्रबीचको कला संस्कृति र रितीरिवाज आदान प्रदान गर्न उत्कृष्ट भुमिका खेल्न र आर्थिक गतिविधिमा सहयोग पुर्याउने अमूर्त सम्पदा र कला संस्कृतिको प्रस्तुतिमा कुमारी नाच, भैरव, योगिनी, सप्तलोचनी र ताराको नृत्य प्रस्तुत गरिने इन्ट्रोडक्सन ट्रेड शोका मेनेजीङ डाइरेक्टर सुमन महर्जनले बताए । पहिलो पटक ललितपुरमा आयोजना गर्न लागेको एक्स्पोमा सहभागी राष्ट्रका प्रतिष्ठित व्यापारीहरुको सहभागीता रहनेछ । एक्स्पोले आर्थिक गतिविधिलाई बढाउनुको अतिरिक्त दुबै मुलुकलाई समृद्धिको दिशामा अघि बढ्न पनि यस्ता मेलाहरु फलदायी हुने अपेक्षा रहेको छ । सार्क मुलुकमा निर्मित सामग्रीहरुले नेपाली बजार लिएको र नेपालका हस्तकलाका सामग्रीहरूले अन्य मुलुकमा प्रभाव जमाएको र मेलामार्फत सहभागी देशहरुको उत्पादनको प्रबद्धनमा सघाउ पुग्ने छ । मेलाले सहभागी मुलुकका व्यवसायीहरुलाई सामिप्यमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा रहेको छ । मेलाको आकर्षणको रुपमा खानाको विभिन्न देशका विभिन्न स्वादका फुड स्टल, साना बालबालिकाहरुका लागि गेमिङजोन, फोटो सुट, विविध सांस्कृतिक कार्यक्रमलगायत पाकिस्तान, भारत, थाइल्याण्ड, टर्कि, मलेसिया, बङ्गलादेश र नेपालका उत्कृष्ट उत्पादनको करिब १०० भन्दा बढि स्टलहरु रहने एक्स्पोका संयोजक सुनिल विष्टले जानकारी दिए । मेलाको आकर्षणको रुपमा ललितपुरमा उत्पादित काठ बाट बनाइएका कलाकृर्तिहरु, मूर्ति, कार्पेट र कपडाको जीवन्त प्रर्दशन गरिने छ ।

आइपीओ बेच्नेको घुइँचो, बजारप्रति टुट्दै विश्वास

नेपालगञ्ज । केही महिनादेखि ओरालो लागेको सेयर बजारमा प्राथमिक सेयर (आइपीओ) बेच्नेको घुइँचो लाग्न थालेको छ । बाँकेको नेपालगञ्जस्थित इम्पेरियल सेक्युरिटिज प्रालि (ब्रोकर कार्यालय) मा दोस्रो बजारबाट सेयर खरिद गर्नेभन्दा सर्वोत्तम सिमेन्टलगायतका कम्पनीको सेयर बेच्नका लागि खाता खोल्न लगानीकर्ताको घुइँचो लाग्ने गरेको सेक्युरिटिज प्रालि, नेपालगञ्जका प्रमुख उदय अधिकारीले जानकारी दिए । ‘अपवादका रुपमा केही लगानीकर्ताले दोस्रो बजार (सेकेण्डरी मार्केट) बाट कारोबार गरेका छन् । तर ट्रेडरहरु कम छन्’, उनले भने । अस्थिर राजनीति र व्यवसायीप्रति सरकारले हेर्ने दृष्टिकोण स्पष्ट नभएकाले सेयर बजार उकालो लाग्न नसकेको उल्लेख गर्दै प्रमुख अधिकारीले ठूलाठूला लगानीकर्ता बजारमा प्रवेश गर्न नसकेको धारणा व्यक्त गरे । ठूला घरानाका लगानीकर्ता सेयर बजारमा प्रवेश नगरेसम्म बजार उकालो लाग्न नसक्ने तर्क गर्दै उनले लगानीकर्ताको विश्वास बजारप्रति टुट्दै गएको बताए । ‘बजार चलायमान नभएका कारण सेयर बजारमा उत्साह आउन सकेको छैन । अहिले त सेयर खरिद गर्नेभन्दा बेच्ने नै बढी छन’, उनले भने । कतिपय लगानीकर्ताले घाटा खाएर पनि सेयर बेचेको जानकारी दिँदै त्यस्ता लगानीकर्ता करिब तीन सय भएको उल्लेख गरे । नियमित ट्रेड गर्ने ९० प्रतिशत लगानीकर्ताले घाटा खाएर नै सेयर बेचेको भन्दै उनले अन्य क्षेत्र चलायमान छैन भन्ने कुरा सेयर बजारले देखाइरहेको जिकिर गरे । उद्योगधन्दा, कलकारखानालगायत व्यवसाय राम्रोसँग सञ्चालन नहुँदा त्यसको असर यस क्षेत्रमा समेत परेको छ । ट्रेडरहरुले छोटो समयमा नै नाफा भए नभए पनि घाटा खाएर पनि बेचेका हुन्छन । उनीहरुले ‘स्टप लस’ गरेर नै सेयर बेचेका हुन्छन् । वित्तीय साक्षरताका विषयमा हुने विभिन्न कार्यक्रमले पनि शेयर बजार बढाउन सहयोग गर्न गरेको छ । असोज र कात्तिकमा कम्पनीका बोनसको लहर आएको थियो । तर ती सबै अधिकांश कम्पनीका बोनस सकिएका छन् । केही कम्पनीको बाँकी भएको बताइएको छ । सूचनाका हिसाबले अहिले सेयर बजारको अफ सिजन भएको बजारका जानकार बताउँछन् । अहिले ब्रोकर कार्यालयलाई पनि दैनिक कार्यालय सञ्चालन गर्न नै धौधौ हुने स्थिति आउन थालेको छ जुन चिन्ताको विषय भएको प्रमुख अधिकारीको भनाइ छ । नेपालगञ्जका लगानीकर्ता प्रशान्त लामिछानेले धेरै पटक घाटा खाएर सेयर बेच्न परेको उल्लेख गर्दै पुँजी बजारमा आर्थिकमन्दीको प्रभाव नहटेको बताए । अर्थतन्त्रमा पुँजी बजारको योगदानका विषयमा नीतिगत समस्याको पहिचान नहुँदा त्यसले बजार घटाउन मद्दत गरेको तर्क गर्दै उनले नीतिगत सुधारपछि मात्रै सेयर बजार चलायमान हुने उल्लेख गरे । अर्का लगानीकर्ता कुलप्रसाद शर्माले कम घाटा खाएर बजारको अवस्था हेरेर सेयर बेच्न बाध्य भएको जानकारी दिँदै बजारमा धैर्यता पनि आवश्यक भएको धारणा व्यक्त गरे । लगानीकर्ता विकास भट्टराईले सेयर बजारमा अहिले पर्ख र हेरको अवस्थामा लगानीकर्ता रहेको उल्लेख गर्दै बैंकसँगको अधिक तरलता, घट्दो ब्याजदर रहेको हुँदा अहिलेको समय दीर्घकालीन लगानीकर्ताका लागि लगानी गर्ने सुनौलो अवसर भएको बताए । इम्पेरियल सेक्युरिटिज प्रालिले नेपालगञ्जमा दैनिक एक करोडदेखि दुई करोड रुपैयाँको हाराहारीमा सेयर कारोबार गर्दै आएको छ । यसबाहेक नेपालगञ्जमा कालिका सेक्युरिटीजले पनि सेयर कारोबार गर्दै आएको छ । रासस

सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन, २६ करोड राजस्व आम्दानी

सौराहा । सौराहामा वर्षौंदेखि ट्याम्पु चलाउँदै आएका स्थानीय केशव सिलवाल कोभिड–१९ पछि सौराहामा पर्यटन आउने क्रम बढेसँगै आफ्नो आयआर्जनमा पनि वृद्धि भएकामा खुसी छन् । कोरानाकाल र त्यसपछिका दुई/तीन वर्षसम्म पनि पर्यटकको चहलपहल नहुँदा परिवार पाल्न नै धौधौ हुने गररेको स्मरण गर्दै उनी भन्छन्, ‘अहिले स्वदेशी र विदेशी पर्यटकको आगमन बढेसँगै आम्दानी पनि बढेको छ ।’ उनी पर्यापर्यटन नै आफूहरुको जीविकोपाजर्नको आधार भएको बताउँछन् । रत्ननगर नगरपालिका–६ सौराहाको रिभर साइडमा कोल्डस्टोरको व्यापार गर्दै आएकी सीता भट्ट पनि चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटक यहाँका वन्यजन्तु, नदी, ताल, वनजङ्गल हेर्न नै आउने भएकाले तिनको संरक्षणका लागि सरोकारवाला निकायसँगै स्थानीय सबै लाग्नुपर्ने बताउँछिन् । सो क्षेत्रका अधिकांश जनताको रोजगारी र आयको मुख्य स्रोत निकुञ्जको पर्यापर्यटन समेत बनेको उनको भनाइ छ । मुलुकको तेस्रो पर्यटकीय गन्तव्यको रुपमा स्थापित चितवन राष्ट्रिय निकुञ्ज संरक्षित क्षेत्रमध्ये राजस्व सङ्कलनमा अब्बल बन्दै आएको छ । अपार जैविक विविधताको धनी यो निकुञ्ज स्वदेशी तथा विदेशी पर्यटकको आकर्षकको केन्द्र हो । यो निकुञ्ज चितवन, पर्सा, मकवानपुर र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गरी चार जिल्लामा फैलिएर रहेको छ । निकुञ्जको राजस्व आम्दानीको प्रमुख स्रोत नै पर्यापर्यटन हो । संरक्षण क्षेत्रमा पर्यापर्यटन, काठ दाउरा र गैरकाष्ठ वन पैदावार बिक्री तथा न्यायिक दण्ड सजायलगायत शीर्षकमा राजस्व सङ्कलन गरिन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग तथा मातहतका संरक्षित क्षेत्रबाट आर्थिक वर्ष २०७९/८० मा ७५ करोड ७७ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो । त्यसमध्ये सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जबाट मात्र २८ करोड १३ लाख ७७ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार चालु आवमा निकुञ्जमा गत फागुनसम्म दुई लाख पर्यटक प्रवेश गरेको र २६ करोड रुपैयाँ हाराहारी राजस्व आम्दानी भएको छ । उनी भन्छन्, ‘पर्यटक प्रवेशबापतको राजस्व सानो अंश मात्र हो । योभन्दा कैयौँ गुणा अन्य विभिन्न लाभहरु छन्, यसले समग्र मुलुकको अर्थतन्त्रलाई नै चलायमान बनाएको छ, होटल, रेष्टुराँ, पर्यटन व्यवसाय, होमस्टे, यातायातका साधनको सञ्चालन तथा स्थानीय उत्पादनको खपतले ठूलो मात्रामा रोजगारी र आम्दानी समेत सिर्जना भएको छ ।’ विश्व सम्पदा सूचीमा रहेको यस निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, जङ्गली हात्ती, गोहीलगायत वन्यजन्तु, जीप सफारी, पैदलयात्रा, डुङ्गा विहार, हात्ती सफारी, दृश्यावलोकन, स्थानीय सांस्कृतिक भेषभूषा आदि पर्यटकका मुख्य आकर्षकका केन्द्र रहेको प्रमुख संरक्षण अधिकृत पुनको भनाइ छ । पर्यटकलाई आकर्षित गर्न वन्यजन्तु विचरन भइरहेको दृश्यावलोकनको लागि विभिन्न स्थानमा टावर निर्माण, जीप सफारी, पैदलयात्रा, डुङ्गा विहार, हात्ती सफारी आदि सेवा उपलब्ध गराइएका छन् । ‘यसबाहेक सौराहा सङ्ग्रहालय, गोही संरक्षण तथा प्रजनन् केन्द्र, हात्ती प्रजनन् केन्द्र, थारु सांस्कृतिक सूचना केन्द्रको स्थापना, होमस्टेको सुरुआत र सञ्चालनले पर्यापर्यटन व्यवसाय प्रवद्र्धनमा टेवा पुगेको छ’, उनी भन्छन् । एकसिङ्गे गैँडा, पाटेबाघ, गौरीगाई, जङ्गली हात्ती तथा घडियाल गोही यस निकुञ्जमा पाइने दुर्लभ वन्यजन्तु हुन् । दुर्लभ एकसिङ्गे गैँडा तथा पाटेबाघको मुख्य बासस्थानको रुपमा रहेको यो निकुञ्ज नेपालको पहिलो निकुञ्ज हो । निकुञ्जमा स्तनधारी, पन्छी, घस्रने, उभयचर, माछा, गौर, घडियाल गोहीलगायत विविध प्रजाति र वनस्पतिका साथै ठूला घाँसे मैदान, ताल र सिमसार छन् । निकुञ्जको करिब ७० प्रतिशत वन क्षेत्र सालको जङ्गलले ढाकेको छ । विसं २०३० असोज ४ गते स्थापना भएको यस निकुञ्जको क्षेत्रफल ९५२.६३ वर्ग किमी रहेको छ भने मध्यवर्ती क्षेत्रको क्षेत्रफल ७२९.३७ वर्ग किमी रहेको छ । क्षेत्रीय होटल सङ्घ नेपाल चितवनका अध्यक्ष गङ्गा गिरीका अनुसार सौराहा विभिन्न होटलमा चार हजार ८०० भन्दा बढीले रोजगारी पाएका छन् । ‘रोजगारी पाएका व्यक्तिका परिवारदेखि स्थानीय कृषि उत्पादन बिक्री वितरण र अन्य विभिन्न कार्यबाट थप हजारौँले रोजगारी पाएका छन्’, उनी भन्छन् । सौराहा क्षेत्रमा मात्रै १६८ पर्यटकीय होटल छन् । अध्यक्ष गिरी चितवनलाई विश्वले चिनेको कारण नै निकुञ्ज भएको बताउँदै यहाँ पर्यटकको मुख्य आकर्षक निकुञ्ज र यसमा रहेका वन्यजन्तु नै भएको उल्लेख गर्छन् । ‘यहाँको पर्यापर्यटन वन्यजन्तुसँग सम्बन्धित छ, संरक्षण गर्न वन्यजन्तुको बासस्थानको थप सुरक्षा र प्रवद्र्धन आवश्यक छ’, उनी भन्छन्, ‘चोरी शिकार नियन्त्रणका लागि सुरक्षा पोष्ट वृद्धि गर्नुपर्ने देखिएको छ । निकुञ्जको दिगो व्यवस्थापनका लागि स्थानीयमा जनचेतना र वैकल्पिक आयआर्जनका अवसर प्रदान गर्नुपर्छ ।’ पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रसँगै राज्यले पनि पर्यापर्यटन विविधिकरणका लागि लगानी बढाउनुपर्ने अध्यक्ष गिरीको सुझाव छ । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा कूल ७५२ गैँडा रहेकामा यस निकुञ्जमा सबैभन्दा धेरै छ सय ९४ रहेका छन्  । यस्तै नेपालमा कुल पाटे बाघको सङ्ख्या तीन सय ५५ रहेकामा यस निकुञ्जमा एक सय २८ वयस्क बाघ रहेको निकुञ्जको तथ्याङ्क छ । निकुञ्ज क्षेत्रभित्र एक सय नौ र मध्यवर्ती क्षेत्रमा २१ गरी एक सय ३० साना ठूला ताल र घोल छन् भने नारायणी, राप्ती र रीउ नदी तथा स–साना खोल्सा रहेका छन् । अनुपम भौगोलिक बनावट तथा अद्वितीय जैविक विविधताले भरिपूर्ण यो निकुञ्ज २०४१ सालमा विश्व सम्पदा सूचीमा सूचीकृत भएको थियो । सौराहाका स्थानीय सुनिमा चौधरी निकुञ्जको पर्यापर्यटनले गर्दा नै घरआँगनमै रोजगारीका अवसर प्राप्त भएको बताउँछिन् । ‘आफ्नो योग्यता र सीपअनुसारको आयआर्जन गर्ने अवसर सिर्जना भएको छ । अर्कोतिर कृषि उत्पादनले बजार पाएको छ । गाउँगाउँमा बजारीकरण भएको छ । यसले स्थानीय जनतामा निकुञ्जको संरक्षणप्रति अपनत्वको अनुभव समेत भएको छ’, उनी भन्छिन् । यस निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको संरक्षण तथा व्यवस्थापन कार्यअन्तर्गत जैविक विविधता संरक्षण, वन्यजन्तुको बासस्थान व्यवस्थापन, प्रजाति संरक्षण तथा व्यवस्थापन, पूर्वाधार विकास निर्माण, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, वन्यजन्तुको चोरी शिकार नियन्त्रण, स्थानीय समुदायको आर्थिक तथा सामाजिक विकास, पर्या–पर्यटन प्रवद्र्धन, मध्यवर्ती सामुदायिक वन व्यवस्थापन, प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षणलगायत गतिविधि सञ्चालन हुँदै आएका छन् । यसमा निकुञ्ज र सम्बन्धित कर्मचारी, नेपाली सेना, उपभोक्ता समिति, दातृ निकाय तथा साझेदार संस्था, संरक्षणकर्मी स्थानीयलगायत सरोकारवालाको योगदान छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रको संरक्षण एवं विकासका लागि विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोष, जिओलोजिकल सोसाइटी अफ लण्डन (जेडएसएल) नेपाल मुख्य साझेदारका रुपमा रहेका छन् । नेपाल सरकारले डब्लुडब्लुएफ नेपालको आर्थिक सहयोगमा तराई भू–परिधि कार्यक्रममार्फत विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । नेपालमा संरक्षित क्षेत्रहरु आन्तरिक तथा बाह्य पर्यटकको लागि प्रमुख गन्तव्य स्थानको रुपमा रहेका छन् । आव २०७९/८० मा संरक्षित क्षेत्रमा भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या नौ लाख ३२ हजार पाँच सय ३२ रहेको छ । चितवनमा मात्र दुई लाख ९२ हजार ३९२ पर्यटकले भ्रमण गरेका थिए । त्यसमध्ये नेपाली दुई लाख एक हजार आठ सय ८१, सार्क मुलुकका ३५ हजार सात सय ११ र विदेशी ५४ हजार आठ सय पर्यटक रहेका छन् । नेपालमा आउने पर्यटकको ६० प्रतिशत पर्यटकले संरक्षित क्षेत्रको भ्रमण गर्ने गरेका छन् । निकुञ्जको सौराहा, घटगाई, कसरा, वनकट्टा, मेघौली, कुजौली लौखानी र अमलटारी गरी नौ स्थानबाट पर्यटकलाई निकुञ्ज प्रवेश गर्ने सुविधा दिइएको छ । सौराहा प्रवेशद्वारबाट सबैभन्दा बढी ९०.८० प्रतिशत पर्यटक निकुञ्जभित्र प्रवेश गर्ने गरेका छन् । निकुञ्जको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका निवर्तमान अध्यक्ष वासु ढुङ्गाना निकुञ्जकै कारण यस क्षेत्रमा प्रत्यक्ष रोजगारीका साथै किसानले उत्पादन बिक्री गर्न पाएक बताउँछन् । ‘स्वरोगारका सम्भावना पनि बढेका छन् । यस क्षेत्रको ८०/९० प्रतिशत रोजगारीका सिर्जनाको आधार नै पर्यापर्यटन हो । नमूना जैविक विविधता नै पर्यटकको आकर्षणका आधार हुन्’, उनी भन्छन् । निकुञ्जको दिगो व्यवस्थापन लागि वातावरणमैत्री पूर्वाधार निर्माण आवश्यकतामा जोड दिँदै अध्यक्ष ढुङ्गाना यसका लागि तीनै तहका सरकारबीचको समन्वयमा दीर्घकालीन योजना बनाउनुपर्ने सुझाव दिन्छन् । यस निकुञ्जमा गैँडा, पाटेबाघ, सोस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंगे, बाँदर र लङ्गुरलगायत ६० भन्दा बढी किसिमका स्तनधारी जङ्गली जनावर पाइन्छन् । यसैगरी घडियाल गोही, मगर गोही, अजिङ्गरलगायत सरिसृप तथा उभयचर, बसाइसरी आएका र रैथाने गरी पाँच सय ४६ भन्दा बढी जातका चराचुरुङ्गी र विभिन्न किसिमका कीरा फट्याङ्ग्राले यस निकुञ्जलाई अझ धनी बनाएका छन् । रासस

गोर्खाज फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । गोखार्ज फाइनान्स लिमिटेडको ग्लोबल मनी वीक २०२४ को अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय संस्थाका सातै प्रदेशमा रहेका १८ शाखाहरुले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी झण्डै १००० विद्यार्थीहरुलाई वित्तीय ज्ञान, सीप र वित्तीय चेतना तथा बैंक वित्तीय संस्थाले दिने सेवा र यसमा ग्राहकले अपनाउनुपर्ने सावधानीको सम्बन्धमा जानकारी दिइएको छ । हाल २६ शाखा र १ एक्स्टेन्सन काउण्टर सहित सातै प्रदेशमा शाखा सञ्जाल रहेको वित्तीय संस्थाले आगामी दिनमा समेत वित्तीय चेतनालाई वृद्धि गर्दै समाजमा बैंक वित्तीय संस्थाप्रति विश्वास दिलाउन अन्य यस्तै प्रकारका कार्यक्रमहरु आयोजना गरिने प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरेले जानकारी दिए ।

टरवाइनको परीक्षण अन्तिम चरणमा, वार्षिक ६१ करोड युनिट विद्युत् उत्पादन हुने

रसुवा । उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन गर्ने मुख्य उपकरण टरवाइनको परीक्षण कार्य अन्तिम चरणमा पुगेको छ । स्वदेशी पुँजी तथा प्राविधिकको सक्रियतामा सन् २०१३ देखि निर्माण शुभारम्भ गरिएको एक सय ११ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाले निर्माण गरेका सुरूङलगायत सबै संरचना सफलतापूर्वक परीक्षणपश्चात विद्युत् उत्पादन गर्ने उपकरण रनर धुमाइ परीक्षण कार्य अन्तिम चरणमा पुगेको हो । तीनवटा युनिटमध्ये दुईको सफल परीक्षण सम्पन्न भइसकेको र बाँकी एकको परीक्षण कार्य अन्तिम चरणमा पुगेको बताइएको छ । रसुवागढी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत छवि गैरेका अनुसार रसुवागढी नजिक भोटेकोशीमा बाँध बाँध्ने कार्य, बालुवा थिग्रयाउने, तीन पोखरी तथा रेडरेस एवं पेनस्टक सुरुङ र विद्युत्गृहसमेतका संरचना सम्पन्न गरी जडान गरिएका सबै उपकरणको परीक्षणमा पूर्ण रूपको सफलता मिलेकाले हालसम्म कार्यरत प्राविधिक उत्साहित भएका छन् । सो हाइड्रोपावरले वार्षिक रूपमा ६१ करोड ३८ लाख ६० हजार युनिट विद्युत् उत्पादन हुने आयोजनाका प्रमुख सत्यराम ज्याख्वले बताए । उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गर्दा वर्षायाममा चार रुपैयाँ ८० पैसा र हिउँदको याममा आठ रुपैयाँ ४० पैसा प्रतियुनिट प्राप्त हुने बताइएको छ । निर्माण गर्नुपर्ने सम्पूर्ण संरचना पूरा भइकेकाले टावर निर्माण सम्पन्न हुनासाथ रसुवागढीको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा लैजाने तयारी भइसकेको प्राविधिकले बताएका छन् । राष्ट्रिय प्रसारण लाइन निर्माणका लागि प्राविधिक तथा मजदुर अहोरात्र खटिरहेका छन् । नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय प्रसारण लाइन महाशाखा प्रमुख थर्कबहादुर थापाका अनुसार टावर निर्माणकार्य द्रुत रूपमा अगाडि बढिरहेको छ । दैनिक रूपमा पाँच सय ५० मजदुर तथा दर्जनौँ प्राविधिकले रसुवाका डाँडापाखामा काम गरिरहेका छन् । उनका अनुसार समग्रमा टावर निर्माणको प्रगति ९५ प्रतिशत पूरा भइसकेको छ । अब एक महिनाभित्र रसुवागढीले उत्पादन दिने तर राष्ट्रिय प्रसारण लाइन भने कहिलेसम्म तयार हुन्छ भन्ने जानकारी प्राप्त भएको छैन । थाम्वुचेतबाट त्रिशूलीसम्म २८ किमी र त्रिशूलीबाट मातातीर्थसम्म ४८ किमी दूरी रहेको छ । निर्माण गर्नुपर्ने राष्ट्रिय प्रसारण लाइनका ७५ टावरमध्ये भौगोलिक विकटताका कारण अब निर्माण पूरा गर्न बाँकी १० वटा रहेका जनाइएको छ । ती टावरको काम यथाशक्य छिटो सम्पन्न गराउन प्रसारण महाशाखाका सम्पूर्ण प्राविधिक रसुवा केन्द्रित भइरहेको बताइएको छ । निर्माणको चरणमा  १३ अर्ब ६० करोड रूपैयाँको लागत अनुमानबाट सम्पन्न हुने सुरुको प्रक्षेपण गरिएको भए पनि भौगोलिक विकटता बाढीपहिरो सामान ढुवानीमा ढिलाइ, भूकम्प, कोभिड–१९ महामारीजस्ता विविध कारणले निर्माणमा ढिलाइ हुँदा वर्तमान अवस्थाको लागत ब्याजबाहेक १८ अर्ब ४७ करोड रूपैयाँको हाराहारीमा खर्च हुने जनाइएको छ । वातावरणीय प्रभाव मूल्याङ्कनको सामाजिक कार्यअन्तर्गत  रसुवागढी जलविद्युत् आयोजनाले थुप्रै काम सम्पादन गरेको छ । सम्पादित काममा टिमुरेको तल तातोपानी पोखरी र पाटी निर्माण, टिमुरे गाउँमा भित्री सडक तथा नाली निर्माण, टिमुरे–खैदी बाटो, तातोपानी–दालगाउँ सडक, रोङ्गा–थुमन सडक, थुमन गाउँमा गुम्बा,  फोहर व्यवस्थापन गर्न टिमुरेमा ल्याण्डफिल साइट, धुञ्चेस्थित लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयका लागि तीनतले कार्यालय भवन निर्माणलगायत आकस्मिक रूपमा परिआउने दर्जनौँ काम निर्माण सम्पन्न गरिसकेको र स्वास्थ्य तथा शिक्षा क्षेत्रमा समेत सहयोग गर्दै आएको स्थानीय बासिन्दाले बताएका छन् । वर्षायाममा स्याफ्रु–रसुवागढी खण्डको सडक दैनिक अवरुद्ध भइरहँदा आयोजना निर्माणको समयदेखि नै जिल्ला विपद् व्यवस्थापन समितिको अनुरोधमा रसुवागढी जलविद्युत् आयोजनाले सडकको अवरोध हटाएको थियो । नेपाल–चीनको आयात तथा निर्यात हुने मालसामान बोकेका कन्टेनर गुडाउन र स्थानीय बासिन्दाको आवतजावतमा सहज पारेर सडक यातायात सञ्चालनको सहजताले भन्सारको राजस्व असुलीमा सहयोग पुग्दै आएको गोसाइँकुण्ड गाउँपालिका–२ को कार्यालयले जनाएको छ । यस्तै रसुवाको आमाछोदिङ्मो गाउँपालिकामा निर्माणाधीन  माथिल्लो र तल्लो साञ्जेन–२ जलविद्युत् आयोजनामध्ये १४ दशमलव आठ मेगावाट क्षमताको माथिल्लो साञ्जेनबाट विद्युत् उत्पादन भई उत्पादित विद्युत् चिलिमे केन्द्रको हवबाट राष्ट्रिय प्रसारण लाइनमा पठाइसकिएको छ । यसैगरी ४२ दशमलव पाँच मेगावाटको तल्लो साञ्जेन जलविद्युत् आयोजनाको पनि निर्माण कार्य पूरा भई उपकरण तथा संरचना परीक्षण कार्य भइरहेका कारण सो आयोजनासमेत राष्ट्रिय प्रसारण लाइनको पर्खाइमा रहेको प्राविधिकले बताएका छन् । राष्ट्रिय प्रसारण लाइनको काम यति समयसम्म सकिन्छ भन्ने जिम्मेवार प्राविधिकले अझै टुङ्गो लगाउन सकेका छैनन् । अब निर्माणको चरणमा अगाडि बढेका आयोजनालाई निर्माण भइरहेको राष्ट्रिय प्रसारण लाइनले साञ्जेन र रसुवागढीका अलावा २० मेगावाट लाङ्टाङ खोला, एक सय २० मेगावाट भोटेकोशी, दुई सय १६ मेगावाट अपरत्रिशूली–१, छ मेगावाट सुपर मैलुङ, ७३ मेगावाट सालासुङ्गी, १४ दशमलव तीन मेगावाट माथिल्लो मैलुङ, २० मेगावाट फलाखु खोला, ३७ दशमलव तीन मेगावाट त्रिशूली थ्रीबीका विद्युत् एकीकृत रूपमा केन्द्रीकृत गरी राष्ट्रिय प्रसारण लाइनमा पठाउन सहज हुने प्राविधिकले बताएका छन् । यसभन्दा अगाडि निर्माण भएको २२ मेगावाट  चिलिमे, पाँच मेगावाटको मैलुङ दोभान, १४ दशमलव आठ मेगावाटको माथिल्लो साञ्जेन, २२ मेगावाटको चिलिमे विद्युत् स्याफ्रुबेँसी–माद्रेढुङ्गा ३८ किमी दूरीको राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् प्रवाह भइरहेको बताइएको छ । चिलिमेबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा लैजान निर्माण गरिएको लाइनलाई दीर्घकालीन सोचले बढी पावरको लाइन निर्माण हुन नसक्दा पछिल्लो समय उत्पादित बिजुली प्रसारण गर्न समस्या आएको बताइएको छ । रासस

ग्लोबल आइएमई र आईएफसीबीच जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र आईएफसीबीच सम्झौता भएको छ । बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त क्षेत्रमा आईएफसीले परामर्श सेवा प्रदान गर्ने गरी एक समझदारी पत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा आईएफसीको तर्फबाट दक्षिण एशिया क्षेत्रीय सल्लाहकार तथा अपस्ट्रीम प्रबन्धक मेहदी चेरकाउईबीच हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । यस सम्झौता बमोजिम आईएफसीले ग्लोबल आइएमई बैंकको कर्जा जोखिम, सञ्चालन जोखिम, बजार जोखिम तथा सम्पत्ति तथा दायित्व व्यवस्थापन ढाँचालाई सुदृढ पार्न परामर्श दिने, बैंकको जोखिम व्यवस्थापन नीतिलाई अन्तराष्ट्रिय स्तरमा कायम जोखिम व्यवस्थापन अभ्यास अनुरुप परिमार्जन गर्ने लगायतका विषयहरुमा परामर्श प्रदान गर्नेछ । आईएफसीले जलवायु वित्त क्षमता निर्माणको लागि आधारभूत जलवायु साक्षरता तथा लक्षित क्षमता निर्माण कार्यक्रमहरुमा दक्षता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नेछ । साथै आईएफसीले ग्लोबल आइएमई बैंकलाई स्वच्छ यातायात, जलवायु–स्मार्ट कृषि र सौर्य परियोजनाहरुलगायत अन्य विभिन्न क्षेत्रको जलवायु वित्तमा पहुँच बढाएर नेपालमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका प्रयासमा पनि विशेष परामर्श दिनेछ । आर्ईएफसीको यस सम्भौताअनुसारको परामर्शले नेपालमा जोखिम व्यवस्थापन, लैङ्गिक वित्त तथा जलवायु वित्त क्षेत्रमा नयाँ आयाम थपिनेमा बैंक विश्वस्त रहेको छ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन । ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

राजेश मेटल क्रयाफ्टको व्यापार ४८ प्रतिशतले घट्यो, दबाबमा साढे ५ अर्ब ऋण 

काठमाडौं । स्टील पाइप र सिटहरुको उत्पादन तथा बिक्री वितरण गर्दै आएको राजेश मेटल क्रयाफ्ट (आरएमसी) को व्यापार ४८ प्रतिशतले घटेको छ । विगत एक वर्षको तुलनामा सन् २०२३ मा कम्पनीको व्यापार ४७.९२ प्रतिशतले घटेको हो । उद्योगले सन् २०२२ मा ८ अर्ब ५७ करोड ९० लाख रुपैयाँ व्यापार गरेको थियो । तर २०२३ मा व्यापार घटेर ४ अर्ब ४६ करोड ८० लाख रुपैयाँमा खुम्चिएको छ । कोरोना महामारीपछि लय समातेको कम्पनीको व्यापारमा पुनः ब्रेक लागेको छ । २०१९ मा कम्पनीको व्यापार ७ अर्ब ८२ करोड ९१ लाख रुपैयाँ थियो । त्यसपछि २०२० मा झन् घटेर ५ अर्ब ५६ करोड ४३ लाख रुपैयाँमा झरेको थियो । र, २०२१ र २०२२ मा भने कम्पनीको व्यापार बढेर क्रमशः ७ अर्ब ५७ करोड ३९ लाख रुपैयाँ र ८ अर्ब ५७ करोड ९० लाख रुपैयाँ बराबरको पुगेको थियो । तर उक्त वृद्धिमा ब्रेक लागेर पुनः २०२३ मा कम्पनीको व्यापार खस्किएको छ । सन् १९९३ मा पब्लिक लिमिटेडको रुपमा स्थापना भएको राजेश मेटल क्राफ्ट उद्योग सन् २०१६ मा प्राइभेट लिमिटेडमा रुपान्तरण भएको थियो । पारिवारिक स्वामित्वमा रहेको यस उद्योगमा श्रवण अग्रवाल र उनका दुई छोराहरु (राजेश के. अग्रवाल र विष्णु के. अग्रवाल) को लगानी रहेको छ । स्टील पाइप र सिटहरुको उत्पादन तथा बिक्री वितरण गर्दै आएको आरएमसीले हट रोल क्वाइल्स (एचआरसी) को आयात गरेर यसलाई कोल्ड रोल क्वाइल्स (सीआसी)मा प्रशोधन गर्छ । त्यसपछि तयारी वस्तुको उत्पादन गर्छ । कम्पनीले कच्चा वस्तु भने भारतबाट आयात गर्दै आएको छ । यसअघि पनि ५ अर्ब ५० करोडको ऋणको लागि रेटिङ्ग गराएको कम्पनीले पुनः ५ अर्ब ५० करोडको ऋण रेटिङ्ग गराएको छ । कम्पनीले रेटिङ्ग एजेन्सी इक्रा नेपालमा दीर्घकालीन कर्जाको लागि एक अर्ब ५० करोड र अल्पकालीन कर्जाको लागि ४ अर्ब रुपैयाँ बराबरको रेटिङ्ग गराएको छ । तर इक्रा नेपालले दुबैलाई कर्जाको रेटिङ्गलाई ‘वाच विथ नेगेटिभ इम्प्लिकेशन’ मा राखेको छ । जसले क्रेडिट मूल्याङ्कनमा डाउनग्रेड हुने सम्भावना बढी रहेको बुझाउँछ । यससँगै कम्पनीको उक्त साढे ५ अर्बको ऋण दबाबमा रहेको देखिन्छ ।

भयावह बन्दै सडक दुर्घटना, पाँच वर्षमा ११ हजार बढीको मृत्यु

काठमाडौं । गत फागुन २३ गते बिहान ४:४० बजे सुलोचना सापकोटा पाठक गहिरो निद्रामा थिइन् । उनी आफ्नो १० वर्षको छोरालाई च्यापेर मस्त निदाइरहेकी थिइन् । नेपाल कलेज अफ म्यानेजमेन्टमा पढाउँदै आएकी पाठक बिहान ६ बजे उठेर कलेज पढाउन जाने तरखरमा थिइन् । एकबिहानै सुलोचनाका देवरले फोन गरे । धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीस्थित पृथ्वी राजमार्गमा लुम्बिनीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनाको खबर सुनेसँगै देवरले बुटवलबाट काठमाडौं आउँदै गरेका आफ्ना दाई प्रकाश पाठकको खबर सोध्न फोन गरेका रहेछन् । मध्यरातको २ बजे श्रीमान्सँग फोन सम्पर्क गरेर सुतेकी सुलोचना देवरको फोनसँगै आत्तिइन् । उनले श्रीमान्लाई पटकपटक फोन सम्पर्क गर्न खोजिन् तर श्रीमान्को फोन लागेन । त्यसपछि तत्काल सुलोचनाका देवर, जेठाजु र आफन्त गजुरी गए । सुलोचनाको भने जाने हिम्मत बनेन । उनी पछि मात्र त्यहाँ पुगिन् । प्रकाश पहिले पनि दुर्घटनामा परेका थिए । सो बस दुर्घटना हुँदा प्रकाशसहित १२ जनाको ज्यान गयो । स्थानीयवासी, आफन्तजन र प्रहरीको अथक प्रयासमा प्रकाशको शव दुर्घटना भएको ३६ घण्टापछि मात्र भेटिएको थियो । त्यो ३६ घण्टा सुलोचनाका लागि ज्यादै पीडादायी बन्यो । ‘प्रकाशको शवमा कुनै चोट लागेको थिएन, समयमा नै शव भेटिएको भए बचाउन सकिन्थ्यो भन्ने लाग्छ, छोराले बाबा कहिल्यै नआउने हो भनेर बेलाबेलामा सोधिरहन्छ’, सुलोचना भन्छिन् । वित्त विषयमा एमफिल पूरा गरेकी सुलोचना विद्यावारिधिको तयारीमा थिइन् । श्रीमान्को निधनसँगै उनको उक्त सपनासमेत तत्कालका लागि तुहिएको छ । नेपालको ट्रेड युनियन आन्दोलनमा सक्रिय प्रकाश नेपालमा उत्पादित खाद्यान्न र तरकारीलाई विदेशसम्म लैजाने योजनाका साथ अगाडि बढेका थिए । उनको निधनसँगै देशले पनि एक होनहार युवा व्यवसायी गुमाएको छ । लुम्बिनीबाट चालक दलका सदस्यसहित ५४ यात्रु बोकेर काठमाडौं आएको लु२ख २१२१ नम्बरको बस सडकबाट अन्दाजी १०० मिटर तल त्रिशूली नदीमा खस्दा १२ जनाले ज्यान गुमाएका छन् भने ४२ जना घाइते भएका छन् । उक्त दुर्घटना सडकको दुरावस्थाका कारण भएको प्रहरीले निस्कर्ष निकालेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख, प्रहरी उपरीक्षक गौतमकुमार केसी सडकको जीर्ण अवस्थाका कारण गजुरीमा दुर्घटना भएको बताउँछन् । ‘एकातिर जीर्ण सडक र अर्कातिर क्षमताभन्दा धेरै यात्रु भएको कारण खाल्डोमा गएर बसको टायर ठोकिएको र उफ्रेर अगाडि बढ्न खोज्दा बस पल्टन गएको अनुसन्धानमा देखिएको छ’, उनी भन्छन् । यस्तै गत चैत ५ गते सोमबार रुकुम पश्चिमबाट मध्यपहाडी राजमार्ग हुँदै काठमाडौं आउँदै गरेको यात्रुवाहक बस बागलुङमा दुर्घटना हुँदा रुकुमका पत्रकार विक्रम परियारसहित नौ जनाको मृत्यु भयो । पत्रकार परियार दलित पत्रकार सङ्घको राष्ट्रिय महाधिवेशनमा सहभागी हुन गाडी चढेर काठमाडौं आउँदै थिए । दलित पत्रकार सङ्घको महाधिवेशनबाट केन्द्रीय सदस्य बन्ने सपनाका साथ काठमाडौं आएका पत्रकार परियारको बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा भएको दुर्घटनामा मृत्यु भयो । पत्रकार परियार बुबा रनवीर र आमा रश्मीका कान्छो छोरा थिए । उनका जेठो दाइ अमृत परियार परिवारसँग दाङमा बस्दै आएका छन् । बुबाको पहिले नै मृत्यु भइसकेकाले आमाको हेरचाह गरेर परियार रुकुममा बस्दै आएका थिए । दुर्घटनामा विक्रमको मृत्युसँगै आमा रश्मीको साहारा गुमेको छ । बागमती प्रदेशको ०१–००६ ख ३८७९ नम्बरको यात्रुवाहक बस निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना हुँदा सात जनाको घटनास्थलमा र दुई जनाको अस्पतालमा निधन भएको थियो । बस सडकबाट अन्दाजी एक सय ५० मिटर तल खस्दा भएको दुर्घटनामा परेर २८ जना घाइते भएका छन् । घाइतेको हाल बाग्लुङ, पोखरा र काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । गत पुस २७ गते बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै भे१ख ३९१२ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा १२ जनाको ज्यान गयो । राति १० बजेको समयमा दाङ देउखुरीको राप्ती गाउँपालिका–१ भालुवाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा ती व्यक्तिहरूले ज्यान गुमाएका थिए । सोही दुर्घटनामा परेर १७ जना घाइते भएका छन् । यसैगरी गत पुस २८ गते काठमाडौंको चन्द्रागिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुली सेतो पहरानजिक कार दुर्घटना हुँदा एकै परिवारका पाँच जनाले ज्यान गुमाए । प्रदेश ३–०१–२३ च ६९८५ नम्बरको कार दुर्घटना हुँदा काठमाडौंको लाजिम्पाट बस्ने वरिष्ठ चिकित्सक महेशकुमार गौतम, उनका ससुरा ओमकारनिधि तिवारी, सासू कल्पना तिवारी, छोरा प्रियान्स र छोरी स्मारिकाको ज्यान गयो । उक्त दुर्घटना बाटोको दुरावस्थाका कारण भएको काठमाडौं प्रहरीले जनाएको छ । माथि उल्लेखित दुर्घटना केवल प्रतिनिधिमूलक घटनामात्र हुन् । नेपालमा सवारी दुर्घटनाका कारण वार्षिक हजारौँ व्यक्तिले अकालमा ज्यान गुमाउँदै आएका छन् भने हजारौँ व्यक्तिहरु अङ्गभङ्ग तथा घाइते हुने गरेका छन् । सडक दुर्घटनाबाट गत पाँच वर्षमा ११ हजार तीन सय पाँच जनाले अकालमा ज्यान गुमाएका छन् भने २७ हजार सात सय २६ व्यक्ति गम्भीर घाइते भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म दुर्घटनाका कारण नेपालमा एक हजार तीन सय तीन जनाले अकालमा ज्यान गुमाएका छन् । यसमध्ये सबैभन्दा धेरै मधेस प्रदेशमा रहेको छ । मधेस प्रदेशमा मात्र साउनदेखि माघ मसान्तसम्म दुई सय ९० जनाले ज्यान गुमाएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल बताउँछन् । यस्तै, लुम्बिनी प्रदेशमा दुई सय ६१, कोशी प्रदेशमा दुई सय १९, बागमती प्रदेशमा एक सय ७३, सुदूरपश्चिम प्रदेशमा एक सय चार, गण्डकी प्रदेशमा एक सय, काठमाडौं उपत्यकामा ९६ र कर्णाली प्रदेशमा ६० जनाले सवारी दुर्घटनाबाट ज्यान गुमाएका छन् । सोही अवधिमा २३ हजार पाँच दुर्घटना भएका छन् । दुर्घटना भएकामध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा ११ हजार छ सय १९, मधेस प्रदेशमा पाँच हजार ८०, कोशी प्रदेशमा दुई हजार आठ सय ३०, बागमती प्रदेशमा एक हजार दुई सय २१, लुम्बिनी प्रदेशमा नौ सय २९, कर्णाली प्रदेशमा आठ सय छ, गण्डकी प्रदेशमा दुई सय ९२ र सुदूरपश्चिम प्रदेशमा दुई सय २८ दुर्घटना भएको प्रहरी प्रवक्ता ढकाल बताउँछन् । चालु आवको साउनदेखि माघ मसान्तसम्म सवारी दुर्घटनाबाट तीन हजार छ सय ४३ यात्रु गम्भीर घाइते भएका छन् भने १५ हजार सात जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार आव २०७६र७७ मा दुई हजार दुई सय ५१, आव २०७७र७८ मा दुई हजार पाँच सय, आव २०७८र७९ मा दुई हजार आठ सय ८३ र आव २०७९र८० मा दुई हजार तीन सय ६८ ले सवारी दुर्घटनाबाट ज्यान गुमाएका छन् । यस्तै आव २०७६र७७ मा चार हजार छ सय १५, आव २०७७र७८ मा छ हजार चार सय ४८, आव २०७८र७९ मा सात हजार दुई सय ८२ र आव २०७९र८० मा पाँच हजार सात सय ३८ जना सवारी दुर्घटनाबाट गम्भीर घाइते भएका छन् । उपत्यकामा मात्र सवारी दुर्घटनाबाट एक सय १७ को मृत्यु सवारी दुर्घटनाबाट देशभर हजारौँ व्यक्तिले अकालमा ज्यान गुमाउँदा काठमाडौं उपत्यकामा मात्र एक सय १७ जनाले ज्यान गुमाएका छन् । काठमाडौंं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले दिएको जानकारीअनुसार चालु आवको साउनदेखि फागुन मसान्तसम्म काठमाडौं, भक्तपुर र ललितपुरमा भएका विभिन्न दुर्घटनामा परेर एक सय १७ जनाले अकालमा ज्यान गुमाएका हुन् । कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठ उपत्यकामा चालकको लापरवाहीका कारण बढी दुर्घटना हुने गरेको बताउँछन् । ‘साँघुरो सडकमा चालकले लापरवाही गरेर सवारीसाधन चलाउँदा बढी दुर्घटना हुने गरेको देखिन्छ’, उनी भन्छन् । कार्यालयका अनुसार चालु आवमा चालकको लापरवाहीबाट चार हजार तीन सय ४५, तीव्रगतिका कारण एक हजार नौ सय ४८, मादक पदार्थ सेवनका कारण चार सय ७५, यान्त्रिक गडबढीका कारण ६४, ओभरटेकका कारण ७६, सडकको अवस्थाका कारण १३ र अन्य कारण ९७ दुर्घटना भएका छन् । सडक दुर्घटनाका मुख्य कारण सडक सञ्जाल थपिएसँगै नेपालमा पछिल्लो समय सवारी दुर्घटनासमेत बढ्दै गएको छ । सवारी दुर्घटना र यातायात क्षेत्रलाई व्यवस्थित बनाउनका लागि सरकारले नेपाल सरकारका पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा ‘यातायात सुधार सुझाव कार्यदल’ गठन गरेको थियो । उक्त कार्यदलले एक वर्ष लगाएर यातायात क्षेत्रको सुधारका लागि अध्ययन गरेर गत माघमा सरकारसमक्ष प्रतिवेदनसमेत बुझाइसकेको छ । उक्त प्रतिवेदनले सडक दुर्घटनाका प्रमुख कारण पाँचवटा रहेको बताएको छ । सडक दुर्घटनाका कारणमा मानवीय कारण, सवारीसाधनको अवस्था, सडकको अवस्था, सडक प्रयोगकर्ता र मौसमको कारण रहेको बताइएको छ । नेपालमा हुने सवारी दुर्घटनाका कारणमध्ये सवारी चालकको कारण ८८ दशमलव ३५ प्रतिशत दुर्घटना हुने गरेको छ । यस्तै सवारीसाधनको कारण दुई दशमलव ५९ प्रतिशत, यात्रुको कारण चार दशमलव २० प्रतिशत, सडकको अवस्थाका कारण चार दशमलव १२ प्रतिशत र मौसमका कारण शून्य दशमलव ७४ प्रतिशत दुर्घटना हुने गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला सवारी चालकको शारिरीक र मानसिक अवस्था, ट्राफिक नियमको पालना गर्ने प्रवृत्ति र चालकको दक्षता र सीप दुर्घटनासँग प्रत्यक्ष सम्बन्धित रहने बताउँछन् । ‘दक्ष र सीपालु चालक अनुशासित भएर सवारी चलाउँदा दुर्घटनामा कमी आउँछ’, उनी भनरछन् । यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरु दुर्घटना न्यूनीकरणका लागि सरकारले पूर्वसचिव धनबहादुर तामाङको संयोजकत्वमा ‘सडक दुर्घटना अध्ययन कार्यदल’ गठन गरेर अध्ययन गरिरहेको बताउँछन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको मन्त्रीस्तरीय निर्णयबाट गत पुस २९ गते गठन भएको उक्त कार्यदलमा सडक विभाग, यातायात व्यवस्था विभाग, नेपाल प्रहरीलगायत सरोकारवाला निकाय सदस्य छन् । उक्त कार्यदलले विगत एक–दुई महिनाभित्र नेपालका विभिन्न भागमा भएका दुर्घटनालाई विस्तृत अध्ययन गरेर अध्ययनको प्रतिवेदन र दुर्घटना न्यूनीकरणका लागि आवश्यक सुझाव सरकारलाई बुझाउनेछ । रासस