विकासन्युज

८ महिनामा राजस्व विभागले उठायो ३ खर्ब १० अर्ब, लक्ष्य भन्दा ७२ अर्ब कम

काठमाडौं । आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्षको ८ महिनामा लक्ष्यभन्दा ७२ अर्ब राजस्व कम आम्दानी गरेको छ । विभागका सूचना अधिकारी आनन्दप्रसाद गुप्ताका अनुसार विभागले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ३ खर्ब १० अर्ब ९४ करोड २९ लाख ५८ हजार राजस्व संकलन गरेको हो । जुन सो अवधिसम्मको लक्ष्यको तुलनामा ७२ अर्ब ६१ करोड १७ लाख ७१ हजारले कमि हो । विभागले चालु आर्थिक वर्षको ८ महिनामा ३ खर्ब ८३ अर्ब ५५ करोड ४७ लाख २९ हजार राजस्व आम्दानी गर्ने लक्ष्य राखेको थियो । विभागले राजस्व आम्दानी अन्तर्गत आयकरमार्फत १ खर्ब ३७ अर्ब ६५ करोड ८५ लाख ७३ हजार, घरभाडा करमार्फत १ अर्ब ५७ करोड १४ लाख ३२ हजाार, ब्याजकरमार्फत २७ अर्ब २ करोड २१ लाख ३३ हजार, र भ्याटमार्फत ७५ अर्ब ३३ करोड ४६ लाख ८५ हजार आम्दानी भएको जनाएको छ । त्यस्तै, विभागले अन्तःशुल्कबापत ६२ अर्ब ८१ करोड ४ लाख ९० हजार, स्वास्थ्य सेवा करमार्फत ४ अर्ब ३१ करोड ८५ लाख ९१ हजार, शिक्षा सेवा करमार्फत २ अर्ब ७ करोड ७१ लाख २४ हजार र अन्य शिर्षकमा १४ करोड ९९ लाख ३० हजार रुपैयाँ आम्दानी गरेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ३० हजार पुग्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार प्रतितोला २ हजार एक सय रुपैयाँले सुनको मूल्य वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज झनै वृद्धि भएको हो । बिहीबार प्रतितोला एक लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबारका लागि १ लाख ३० हजार रुपैयाँनिर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख २७ हजार तीन सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज एक लाख २९ हजार चार सय रुपैयाँ निर्धारण गरिएको छ । यस्तै चाँदीको मूल्य समेत वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार पाँच सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज  एक हजार पाँच सय २५ रुपैयाँ पुगेको छ ।

ग्रीन डेभलपमेन्ट बैंकको सेयर संरचना परिवर्तन हुने

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको सेयर संरचना परिवर्तन हुने भएको छ । चैत १५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले संस्थाको सेयर अनुपात परिवर्तन गर्ने प्रस्ताव गरेको हो । उक्त बैठकले बैंकको सेयर अनुपात ५१ः४९ कायम गर्ने निर्णय गरेको छ । यससँगै संस्थापक सेयर २६ लाख ४६ हजार ९०० र साधारण सेयर २५ लाख ४३ हजार १०० कित्ता कायम हुने छ । हाल संस्थाको संस्थापक र साधारण सेयरको अनुपात ५५ः४५ रहेको छ । सञ्चालक समितिको उक्त प्रस्तावलाई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गर्ने छ । बैंकको दशौं तथा एघारौं सभा आगामी चैत २७ गते बस्दै छ ।

कामना सेवा विकास बैंकका ग्राहकले गौतम होटलमा छुट पाउने

काठमाडौं । कामना सेवा विकास बैक र गौतम होटल बर्दीबास प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । बैंकले मिथिला, धनुषा स्थित गौतम होटल बर्दीबास प्राइभेटसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको हो । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले होटलको लजिङ र बिलमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकको ग्राहकहरुले बैंक सँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आवद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चीनले अघि सारेको वैश्विक विकास प्रयास (जिडिआइ) का लाागि चिनियाँ नेतृत्वको प्रशंसा गर्दै यसबाट नेपालले पनि प्रसस्त मात्रामा लाभ लिन सक्ने बताएका छन् । चीनको हाइनान प्रान्तमा जारी बोआओ फोरम फर एसिया (बिएफए) लाई बिहीबार सम्बोधन गर्दै उनले चीनले गरिबी न्यूनीकरण, खाद्य सुरक्षा, जलवायु परिवर्तन, डिजिटल विकासजस्ता प्राथमिकताका साथ (ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ, जिडिआइ) अवधारणा ल्याएको र यसबाट नेपालले पनि लाभ लिनसक्ने बताएको उनको सचिवालयले जनाएको छ । उपाध्यक्ष पौडेलले नेपालको आफ्नै विकास प्राथमिकतासँग मिल्दोजुल्दो यस अवधारणाको उद्देश्यलाई समर्थन गर्ने देशहरूको बढ्दो सङ्ख्यामा नेपाल पनि सामेल रहेको र यसप्रतिको प्रतिबद्धता कायम गर्दै नेपाल सरकारले हालै जिडिआइ समूहमा सामेल हुने निर्णय गरेको जानकारी पनि दिए । जिडिआइको मूल सिद्धान्त चिनियाँ राष्ट्रपति सि चिनफिङको मानवजातिको साझा भविष्यको दृष्टिकोणसँग मिल्दोजुल्दो रहेको र यसले विश्व शान्ति र अन्तर–सम्बन्धलाई जोड दिएको प्रसङ्ग उल्लेख गर्दै उनले भने, ‘एक साँच्चै साझा भविष्य तब मात्र साकार हुनसक्छ जब सबै विकसित र विकासशील राष्ट्रहरूले प्रगति र समृद्धिका लागि समान अवसर प्राप्त गर्दछन् ।’ पूर्वअर्थमन्त्री पौडेलले भने, ‘चीनको नजिकको छिमेकी नेपालले पनि जिडिआइको सफलताबाट उल्लेखनीय लाभ उठाउन सक्छ । पूर्वाधार विकास, प्रविधि हस्तान्तरण र क्षमता विकासजस्ता क्षेत्रमा बढ्दो सहयोगले नेपालको राष्ट्रिय विकास प्रयासलाई गति दिनेमा हामी विश्वस्त छौँ । हामी पनि हाम्रो अर्थतन्त्रमा परिवर्तन ल्याउने र नेपालको विशिष्ट विकास आवश्यकतालाई सम्बोधन गर्नेगरी परियोजनाहरू अघि बढाउन तत्पर छौँ ।’ जिडिआइको दिगो र समतामूलक विकासका लक्ष हासिल भएको सुनिश्चित गर्न, यसका चुनौतीहरु स्वीकार गर्न र सम्बोधन गर्न आवश्यक रहेको चर्चा गर्दै उनले यसको पारदर्शिता र ऋण दिगोपनका चिन्तलाई भने दूर गर्न जरुरी रहेको बताए । त्यसैगरी, सहुलियतपूर्ण वित्तीय सहायता, ज्ञान आदानप्रदान र विकासोन्मुख देशहरूको विशेष आवश्यकता अनुरूप निर्माण हुने परियोजनाहरूले जिडिआइको उद्देश्य, आपसी विश्वास र समावेशीतालाई थप बलियो बनाउने उनको धारणा थियो । नेपालले बहुपक्षीयतालाई महत्व दिने र जिडिआई ढाँचा र अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा हुने छलफलमा सक्रियरूपमा योगदान गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो । उनले भने, ‘हामी सार्वभौमिक र सबैका लागि लाभदायक विकास एजेन्डालाई थप प्रवद्र्धन गर्न चीन र समान विचारधाराका साझेदारहरूसँग काम गर्न इच्छुक छौँ । विश्वमा थप समृद्धि, शान्ति र दिगो भविष्य निर्माण गर्न जिडिआइ एक शक्तिशाली माध्यम बन्न सक्छ भन्ने कुरामा नेपाल विश्वस्त रहेको छ ।’ बोआओ फोरमले एसिया र समग्र विश्वको विकासका लागि आवश्यक मुद्दाहरूमा संवादका लागि महत्वपूर्ण अवसर दिएको उनको भनाइ छ । यस वर्षको विषयवस्तु ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभः प्रमोटिङ वल्र्ड पिस’ समयसापेक्ष रहेको र यसले विश्वको विकास र शान्तिको आगामी मार्गका लागि सहयोग पुग्ने पनि उनले बताए । रासस

महिलालाई नसमेटी चम्किलो धर्तीको कल्पना गर्न सकिँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आधा आकाश ओगट्ने महिलालाई नसमेटिकन चम्किलो धर्तीको कल्पना गर्न नसकिने बताएका छन् । शुक्रबार ललितपुरमा महिला उद्यमी महासंघ, नेपालको आयोजनामा सञ्चालन भएको ७ औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले महिलाहरु आर्थिक हिसावले सशक्त नभइ साँचो अर्थमा सशक्तिकरण हुन नसक्ने जिकिर गरे । उनले शुक्रबारको संसारमा महिला सशक्तिकरणका लागि सबैभन्दा पहिला आर्थिक पहुँचलाई सशक्त बनाउन आवश्यक रहेको बताए । महिलालाई आर्थिक रुपले सबल र सम्पन्न बनाउन नसकेसम्म साँचो अर्थमा महिला सशक्तिकरण हुन नसक्ने बताए । प्रधानमन्त्री दाहालले महिला उद्यमशिलता विकासको माध्यमबाट नेपाली महिलाको सामाजिक तथा आर्थिक सशक्तिकरण गरी राष्ट्र निर्माणमा सहयोग गर्ने परिकल्पनालाई सार्थक तुल्याउन महिला उद्यमी कोष स्थापना गर्नुपर्ने महासंघको मागलाई आफूले सकारात्मक रुपमा लिएको बताए । महिला उद्यमीहरुलाई विगतमा दिइएको सुविधा पनि गत सालदेखि झिकिएको कुरा सुन्न आएको भन्दै त्यसलाई फेरि जोडिने भन्ने प्रतिवद्धता व्यक्त गरे । ‘आजको संसारमा महिला सशक्तिकरणका लागि सबैभन्दा पहिलो आर्थिक पहुँचलाई सशक्त बनाउने कुरा नै हो । आधा आकाश ओगट्ने महिलालाई नसमेटिकन चम्किलो धर्तीको कल्पना गर्न सकिँदैन । मैले राजनीतिक नेतृत्वमार्फत महिला सशक्तिकरणका लागि सबै क्षेत्रमा महिलाको आत्मसम्मान, पहिचान र प्रतिनिधित्व सुनिश्चित गर्नको निम्ति निकै ठूलो संघर्षको नेतृत्व गर्ने अवसर मैले प्राप्त गरेको छु । महिला उद्यमीको नेतृत्वमा सञ्चालन भइरहेका उद्योगहरुलाई प्रवद्र्धन गर्न, कर छुटदेखि केके सुविधा उपलब्ध गराउन सकिन्छ, मैले सोच विचार गरेर पहल लिने विश्वास पनि दिलाउन चाहन्छु’, उनले भने । प्रधानमन्त्री दाहालले महिला उद्यमीको नेतृत्वमा सञ्चालन भइरहेका उद्योगहरुलाई प्रवद्र्धन गर्न, कर छुट लगायतका सुविधा उपलब्ध गराउन पहल लिने विश्वास व्यक्त गरे ।

व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय

गलेश्वर । विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको एक विद्यालयका विद्यार्थीले यस वर्ष दुई लाख ५० हजार आम्दानी गरेका छन् । जिल्लाको एकमात्र प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित पनि गरेको छ । पश्चिम म्याग्दीको  मालिका गाउँपालिका–७ बिमस्थित क कृषि प्राविधिक शिक्षालयका विद्यार्थीले पढाइका अतिरिक्त मौसमी तथा बेमौसमी तरकारी खेती र मौरीपालन गर्दै आएका छन् । शिक्षालयमा बाली विज्ञान विषयमा अध्ययन गर्ने ४० जना विद्यार्थीले तरकारी खेती गर्नुका साथै मौरीपालन गरेका छन् । विद्यालय परिसरमा मौरीका छ वटा घार छन् । विद्यार्थीले मह उत्पादन प्रक्रिया,  चाका सङ्कलन, मौरीको घारको रेखदेख र मह निकाल्ने सम्पूर्ण प्रक्रिया सिकेका छन् । वर्षमा दुईपटक मह निकालेर स्थानीयलाई बिक्री गर्ने गरिएको शिक्षालयका प्राचार्य जङ्गबहादुर गर्बुजाले जानकारी दिए । प्राचार्य गर्बुजाका अनुसार पहिलो चरणमा छ वटा घारबाट मौरीपालनको अभ्यास गरेका विद्यार्थीले अहिले आफ्नो घरमा घार राख्न थालेका छन् । विद्यार्थीलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्देश्यले गरिएको मौरीपालनलाई तोरी फुल्ने समयमा मौरीको चरन क्षेत्र, वर्षा याममा स्थानीय प्रजातिका फूलमा चराउन कसरी लैजाने भन्नेसम्मको ज्ञान विद्यालयमा सिकेपछि विद्यार्थी  उत्साहित छन् । मौरीपालनसँगै शिक्षालयले विद्यार्थीको प्रत्यक्ष सहभागिता हुनेगरी अन्य कृषि कर्म पनि गर्दै आएको छ । व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै बाली विज्ञान, पशु चिकित्सा पद्धतिबारे पढाइ हुने यस शिक्षालयमा विद्यार्थीको आकर्षण बढेको छ । यो शिक्षालयमा २०६८ सालमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी २९ महिने जेटिए, २०७२ सालदेखि तीन वर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) र तीनवर्षे पशु विज्ञान पाठ्यक्रम सुरु गरेको हो । हाल शिक्षालयमा ११ जिल्लाका विद्यार्थी अध्ययनरत रहेका शिक्षालयका प्राचार्य गर्बुजाले बताए । ‘पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यार्थीलाई आत्मनिर्भर हुन प्रेरित गरिरहेका छौँ’, उनले भने । विद्यार्थीले उत्पादन गरेको तरकारी बिक्रीबाट आएको नाफा ७५ प्रतिशत विद्यार्थीलाई उपलब्ध गराउने र २५ प्रतिशत चाहिँ विद्यालयले शैक्षिक भ्रमणसहितका कार्यमा प्रयोग गर्दै आएको प्राचार्य गर्बुजाले जानकारी दिए । विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीले नयाँ उत्पादनका लागि तत्काल आवश्यक परेमा विद्यालयले ऋणको सुविधासमेत दिने गरेको उनको भनाइ छ । ‘पढ्दै–कमाउँदै’ गर्न चाहने विद्यार्थीका लागि ऋण दिनुका साथै आवश्यक संरचना पनि उपलब्ध गराउने गरेको प्राचार्य गर्बुजाले बताए । “विद्यार्थीले च्याउ, आलु, धान, किबीलगायत मौसमी र बेमौसमी तरकारीका साथै फलफूल उत्पादन गरेर वार्षिक दुई लाख ५० हजारभन्दा बढीको आम्दानी लिएका छन्’, उनले भने । कृषि पढ्ने विद्यार्थीलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्देश्यले किसानका खेतबारीमा नै पुगेर प्रयोगात्मक अभ्यास गराउनाका साथै फलफूल खेती, तरकारी खेती, दलहन बाली र रैथाने कृषिउपज  बिक्री गर्ने गरिएको कृषि प्राविधिक शिक्षालयका  संयोजक विष्णु सुवेदीले जानकारी दिए । ‘विद्यार्थीका लागि नयाँ सिकाइमा केन्द्रित छौँ । यहाँबाट पढेर गएका सबै विद्यार्थी आत्मनिर्भर छन् । लोभलाग्दो कमाइ गरिरहेका छन्’, सुवेदीले भने । संयोजक सुवेदीका अनुसार यहाँबाट वार्षिक छ क्विन्टल च्याउ बिक्री गर्ने गरिएको छ । विद्यार्थीले विभिन्न प्रजातिका फलफूल, तरकारीको बेर्ना बेचेर राम्रो कमाइ गर्ने गरेका छन् । विद्यालयले २० रोपनीभन्दा बढी जग्गा भाडामा लिएर विद्यार्थीलाई व्यावहारिक शिक्षा दिँदै आएको छ । शिक्षालयका धानखेत, च्याउ र तरकारी गरी आठ वटा ‘टनेल’सँगै व्यवस्थित कृषि फार्म भएकाले विद्यार्थीलाई उत्पादन र बिक्रीमा सहज हुन्छ । खेतबारीमा नै पुगेर किसानसँगै अभ्यास गर्दा अझ व्यावहारिक बन्न सहज भएको बागलुङबाट बाली विज्ञान पढ्न आएकी सिर्जना विकले बताइन् । रासस

स्नातक छोरी बुहारीलाई सूर्योदय नगरपालिकाले रोजगारी दिने

इलाम । सूर्योदय नगरपालिका–१, बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक पढाएको नगरपालिकाले रोजगारी पनि दिन्छ भन्ने लागेको थिएन । ‘कक्षा १२ पास भएपछि कसरी ब्याचलर पढ्ने भन्ने चिन्ता थियोे । नगरपालिकाले पढायो’, शाहले भनिन्, ‘जागिरको खोजीमा थिएँ, पालिकाले नै शिक्षकको जागिर दिएको छ । आजदेखि पढाउन थालेँ ।’ बिहीबारदेखि महेन्द्रोदय विद्यालयमा अध्यापन सुरु गरेको उनले सुनाइन् । शाह मात्र होइन नगरपालिकाको शतप्रतिशत छात्रवृत्तिमा स्नातक उत्तीर्ण गरेकाले बिहीबारदेखि रोजगारी पाएका छन् । ‘नगरको इच्छा,छोरीबुहारीलाई शिक्षा’ नाराका साथ कर्फोक क्याम्पसमा निःशुल्क स्नातक पढाइ सुरु भएको पाँच वर्ष भएको छ । ‘हालसम्म १५३ छोरीबुहारीले स्नातक तहको अध्ययन गरिसकेका छन् भने तीमध्ये २३ जनाले उत्तीर्ण गरेका छन्’, नगरप्रमुख रणबहादुर राईले भने, ‘उत्तीर्ण भएकालाई नगरपालिकामा रोजगारी दिन निवेदन माग गरेकोमध्ये १५ जनाको आवेदन प्राप्त भयो । उहाँहरुलाई बिहीबारदेखि एक सय दिनको रोजगारीका लागि यहाँका विभिन्न विद्यालय र अन्य कार्यालयमा खटाइएको छ ।’ विद्यार्थीले पढेको विषय र उनीहरूको योग्यताअनुसार नगरपालिकाले रोजगारी दिएको हो । दुई जनालाई वडा कार्यालय, एक जनालाई नगरको शिक्षा, युवा तथा खेलकुद शाखा, एक जनालाई प्रसूति तथा बाल क्लिनिक र बाँकी सबैलाई विभिन्न विद्यालयमा खटाइएको छ । उनीहरूले खटाइएका ठाउँमा सय दिन काम गर्नेछन् । नगरप्रमुख राईले छात्रवृत्तिमा स्नातक उत्तीर्ण महिलालाई प्रोत्साहन गर्न छोटो समयका लागि भए पनि रोजगारी दिइएको बताए । ‘बुहारीलाई पनि पढाउनुपर्छ भन्ने सोच विकास गर्न नगरपालिकाले यो कार्यक्रम ल्याएको हो’, प्रमुख राईले भने, ‘छात्रवृत्तिमा अध्ययन गरेका छोरीबुहारीलाई थप प्रोत्साहन गर्न र उनीहरूका माध्यमबाट अरू छोरीबुहारीलाई पनि पढाइमा हौसला थप्न रोजगारीको कार्यक्रम ल्याइएको छ ।’ राईले रोजगारीको अवसर छोटो समयका लागि भए पनि उनीहरूलाई थप सिकाइ र क्षमता प्रस्फुटनमा सहयोग गर्न सहयोगी बन्ने बताए । ‘स्नातक गरेका छोरीबुहारीलाई रोजगारीका कार्यक्रमले थप मद्दत पुग्नेछ,’ उनले भने, ‘उनीहरूको दक्षता र क्षमताबाट नगरपालिकाले पनि सहयोग पाउने छ ।’ नगरपालिकामा बसोवास गर्ने परिवारका छोरी र यहाँ विवाह भएर आएका बुहारीलाई नगरपालिकाले छात्रवृत्तिमा स्नातक अध्ययन गराइरहेको नगर प्रमुख राईले बताए । ‘कानुनी रूपमा उमेर पुगे पनि २०–२२ वर्षका छोरीहरु विवाह होइन पढाइप्रति नै ध्यान दिनुपर्छ । उनीहरुलाई पढाइप्रति नै आकर्षित गर्नुपर्छ भनेर यो कार्यक्रम कार्यक्रम कार्यान्वयन गरिएको हो,’ उनले भने । नगरका शिक्षा शाखा प्रमुख योगनिधि भट्टराईले शिक्षा, मानविकी, व्यवस्थापन, कम्प्युटरलगायत विद्यार्थीको जुन विधामा योग्यता छ, त्यसैमा रोजगारी दिइएको बताए । ‘कलेजमा पढेको विषयसँग सम्बन्धित मात्र होइन, जोसँग जे क्षमता छ, त्यसैअनुसार काम विभाजन गरेका छौं,’ उनले भने । यस वर्ष यहाँ छात्रवृत्तिमा अध्ययन गर्ने छोरीबुहारीको सङ्ख्या दुई सय पुगेको करफोक क्याम्पस प्रमुख गोपाल कट्टेलले बताए । नगरपालिकाबाट छात्रवृत्ति पाएका छोरीबुहरी करफोक क्याम्पसमा विविध विषयमा अध्ययन गरिरहेका छन् । क्याम्पस प्रमुख कट्टेलले नगरपालिकाको छात्रवृत्ति कार्यक्रमका माध्यमबाट ग्रामीण भेगका छोरीबुहारीले क्याम्पस पढ्न पाएका बताए । ‘आर्थिक अवस्था सबल नभएका गाउँका छोरीबुहारीलाई छात्रवृत्ति कार्यक्रमले क्याम्पससम्म ल्याएको छ’, उनले भने, ‘छात्रवृत्तिमा अध्ययन गर्न पाउने र थप सय दिनको रोजगारी पनि हुने भएपछि छात्राहरूलाई प्रोत्साहन मिलेको छ ।’ करफोक क्याम्पसमा छात्रवृत्ति पाएका विद्यार्थीले बिबिए, बिबिएच र बिएड अध्ययन गरिरहेका छन् । स्नातक तह उत्तीर्ण गरेकामध्ये धेरैजसो स्नात्तकोत्तर अध्ययन गर्न जिल्ला बाहिर रहेकाले १५ जनाले मात्र सय दिनको रोजगारी लिएका नगरपालिकाको शिक्षा शाखा प्रमुख भट्टराईले बताए । शिक्षा क्षेत्रमा नगरपालिकाले गरेको लगानी परिणाममुखी भएको विद्यार्थीले बताएका छन् । गोर्खेकी सुजता बजगाईंलाई २०७४ सालमा कक्षा १२ उत्तीर्ण गरेपछि कसरी स्नातक गर्ने भन्ने चिन्ता थियो तर उनलाई नगरपालिकाले पढायो । गाउँकै हिमालय माध्यमिक विद्यालयबाट १२ कक्षा उत्तीर्ण गरेकी सुजता ‘नगरको इच्छा छोरीबुहारीलाई शिक्षा’ कार्यक्रमअन्तर्गत पालिकाको शतप्रतिशत छात्रवृत्तिमा नै स्नातक उत्तीर्ण भइन् । हाल उनी स्नात्तकोत्तर अध्ययन गरिरहेकी छन् । ‘परिवारको सामान्य आर्थिक अवस्थाका कारण उच्च शिक्षा अध्ययनमा धेरैलाई समस्या छ’, सुजताका बुबा प्रेमले भने, ‘हाम्रो नगरपालिकाले छोरीबुहारीलाई स्नातक तहमा पढाइरहेको छ, पैसाको अभावमा पढाइ छोड्नुपर्ने, पढाइ छोडेकै कारण कम उमेरमा विवाह गर्नुपर्नेलगायत समस्याबाट मुक्त हुन पालिकाको यो काम उदाहरणीय मात्र होइन प्रशंसनीय छ ।’ रासस