विकासन्युज

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालको राजीनामा स्वीकृत

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा उनले पदबाट दिएको राजीनामा स्वीकृति गरिएको बताएका हुन् । उपाध्यक्ष अर्यालले बिहीबार अध्यक्ष दाहालसमक्ष पदबाट राजीनामा दिएकी थिइन् । अध्यक्ष दाहालले भने,‘राष्ट्रिय सभाका माननीय उपाध्यक्षले पदबाट दिनुभएको राजीनामा सनाखत गराई स्वीकृत भएको व्यहोरा सभा समक्ष जानकारी गराउँदछु ।’ नेकपा (माओवादी केन्द्र) को तर्फबाट उपाध्यक्ष रहेकी अर्यालले नयाँ सत्ता समिकरणसँगै उपाध्यक्ष पद अन्य दलको भागमा परेपछि राजीनामा दिएकी हुन् । राजीनामा पत्रमार्फत उनले पदीय जिम्मेवारीमा रहँदा साथ दिएको भन्दै राष्ट्रिय सभाका अध्यक्ष, सांसदहरु र संसद सचिवालयका पदाधिकारीसहित सहयोगी सबैलाई धन्यवाद समेत दिइन् ।

उद्योगी व्यवसायीले अर्थतन्त्र सकारात्मक छ भन्ने सन्देश दिन जरुरी छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी व्यवसायीहरुले अर्थतन्त्रको सकारात्मक सन्देश दिनसके अर्थतन्त्र तत्काल लयमा आउने बताएका छन् । शुक्रबार नेपाल निर्माण व्यवसायी महासंघको हेटौँडामा भएको २५ औं वार्षिक साधरण सभामा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले उद्योगी व्यवसायीहरुले मनोवल कमजोर भयो, व्यवसायी वातावरण भएन भन्दा पनि सकारात्मक रुपमा सोच्न आवश्यक रहेको बताए । उनले मुलुकभरका उद्योगी व्यवासायीहरुलाई मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा रहेको सन्देश दिनसके छोटो समयमा व्यवसायीहरुले चाहेको जस्तो आर्थिक विकास हुनसक्ने विश्वास व्यक्त गरे । अब उद्योगी व्यवसायीहरुले निरासको मात्रै कुरा गरेर, व्यवसायिक वातावरण छैन भनेर निरास हुन आवश्यक नभएको बताए । मुलुकको वाह्य अर्थतन्त्र विदेशी विनिमय सञ्चिति, रेमिट्यान्स, पर्यटक वृद्धि र बैंकमा तरलता सकारात्मक रहेको जानकारी दिए । अध्यक्ष ढकालले सरकारले आगामी बजेट र मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाले निर्माण क्षेत्रमा निश्चित प्रतिशत लगानी गर्नुपर्ने अनिवार्य व्यवस्था गर्न माग गरे । बैंक तथा वित्तीय संस्थाहरुले कृषि, जलविद्युत लगायत अन्य क्षेत्रमा जस्तै निर्माण क्षेत्रमा पनि प्राथमिकताका साथ लगानी गर्ने व्यवस्था गर्दा विकास निर्माण चलायमान हुनसक्ने जानकारी दिए । ‘बैंक तथा वित्तीय संस्थाहरुले लगानी गर्ने प्राथमिक क्षेत्रहरु छन् । ती क्षेत्रहरु बाहेक निर्माण क्षेत्रलाई पनि प्राथमिकतामा राख्नुपर्छ । बैंकहरुले कृषिमा १५,जलस्रोतमा १० प्रतिशत भन्ने छ । त्यस्तै निर्माण क्षेत्रमा पनि लगानी गर्नको लागि बैंक र बीमाहरुको फण्डहरु छ । मुलुकको वाह्य अर्थतन्त्र विदेशी विनिमय सञ्चिती, रेमिट्यान्स, पर्यटक वृद्धि र बैंकमा तरलता सकारात्मक रहेको छ । व्यवसायीहरुले नकारात्मक भन्दा पनि सकारात्मक सन्देश दिनसक्दा मात्रै व्यवसायीहरुले चाहेको आर्थिक विकास हुनसक्छ’, उनले भने । नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको वाह्य अर्थतन्त्रमा सुधार आएपनि आन्तरिक अर्थतन्त्रमा सुधार हुन नसकेको बताए । उनले मागमा वृद्धि र निजी क्षेत्रको मनोवल पनि माथि उठ्न नसकेको अवस्थाले उद्योगी व्यवसायीहरुले नयाँ लगानीका योजनाहरु अघि बढ्न नसकेको जानकारी गराए । उनले निजी क्षेत्रको मनोबल बढाउन र अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति थप लचिलो बनाउनुपर्ने आवश्यकता रहेको बताए । सरकारले पुँजीगत खर्च बढाएर अर्थतन्त्रलाई गतिशिलता दिन आवश्यकता रहेको उल्लेख गरे । अर्थतन्त्र चालयमान बनाउन सक्ने उपाय प्रभावकारी बजेट कार्यान्वयन भएको भन्दै प्रभावकारी बजेट कार्यान्वयनबाट पुँजीगत खर्च बढ्ने र अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्ने धारणा राखे । उपाध्यक्ष पाण्डेले सरकारले पुँजीगत खर्च बढाउन नसक्दा विकास निर्माणका काम अघि बढ्न नसकेको दाबी गरे । उनले चालु आर्थिक वर्षको ८ महिना पूरा हुँदा पनि पुँजीगत खर्च ३० प्रतिशत भन्दा माथि नगएको बताए । ‘मुलुकको वाह्य अर्थतन्त्रमा सुधार आएको छ । तर वाह्य अर्थतन्त्रमा सुधार आएपनि आन्तरिक अर्थतन्त्रमा सुधार हुनसकेको छैन । अर्थतन्त्र चालयमान बनाउन सक्ने उपाय भनेको प्रभावकारी बजेट कार्यान्वयन हो । सरकार आगामी वर्षको बजेट बनाउन जुटेको छ । आगामी बजेटले स्वदेशी उद्योगहरुलाई प्रवद्र्धन गर्ने रणनीति लिनुपर्छ । स्वदेशी उद्योगहरुको प्रवद्र्धन गर्दै स्वदेशी उत्पादनमा आत्मनिर्भर हुन आगामी बजेट कोषेढुङ्गा सावित हुनेगरी आउनुपर्छ’, उनले भने । उनले निर्माण व्यवसायीहरुले पाउनुपर्ने रकम भुक्तानी भए अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । सरकार आगामी वर्षको बजेटमा स्वदेशी उद्योगहरुलाई प्रवद्र्धन गर्ने रणनीति लिनुपर्नेमा जोड दिए । स्वदेशी उद्योगहरुको प्रवद्र्धन गर्दै स्वदेशी उत्पादनमा आत्मनिर्भर हुन आगामी बजेट कोषेढुङ्गा सावित हुनुपर्ने परिसंघको माग रहेको बताए ।

७ सयभन्दा बढी बैंकिङ कसुरका उजुरी

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म सात सय ५३ बैंकिङ कसुरका उजुरी परेका छन् । कार्यालयको बैंकिङ कसुर शाखाका वरिष्ठ प्रहरी नायब निरीक्षक राम कार्कीका अनुसार विसं २०७९ मङ्सिरदेखि शाखा स्थापना भई बैंकिङ कसुरका निवेदन दर्ता गर्न थालिएको हो । चालु आवमा परेका निवेदनमध्ये एक सय ६५ मुद्दा दर्ता भइसकेको उनले जानकारी दिए । शाखामा परेका उजुरीमध्ये २० प्रतिशत आपसी मेलमिलाप हुने गरेको कार्कीले बताए । उनले भने, ‘करिब २० प्रतिशतमा आपसी मेलमिलाप हुने गरेको छ । केही छलफलकै क्रममा छन् ।’ निवेदन परिसकेपछि कार्यालयले सम्बन्धित व्यक्तिलाई छलफलका क्रममा बोलाउने गरेको प्रहरी नायब निरीक्षक कार्कीले बताए । छलफलमा सहमति भएर पीडितले आफ्नो रकम पाउने सुनिश्चित भएसँगै मिलापत्र हुने उनको भनाइ छ । कार्कीका अनुसार यस शाखामा ५० हजारदेखि एक करोड रुपैयाँसम्मका उजुरीहरु आएका छन् । नौ लाख मुनिका निवेदनलाई आर्थिक कारोबारको प्रमाण आवश्यक नपर्ने भन्दै त्यसभन्दा माथिका निवेदनको हकमा आर्थिक कारोबारको प्रमाणसमेत आवश्यकपर्ने उनले बताए । रासस

काठमाडौंको कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले चलाएको गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रणसम्बन्धी अभियानका क्रममा पेस्तोलसहित ताप्लेजुङको फुङ्लिङका २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बूलाई शुक्रबार पक्राउ गरेको हो । परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले कपन क्षेत्रमा पछिल्लो समयमा गुण्डागर्दी गर्ने र समाजमा भय त्रास सृजना गर्ने गरेको अभियोगमा लिम्बूलाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीले पक्राउ परेका लिम्बूसँग कटुवा पेस्तोल एक थान, धारिलो चक्कु दुई थान, फलामको हम्बर एक थान, मोबाइल दुई थान र आइफोन एक थान बरामद गरेको छ । पक्राउ परेका लिम्बूसँग आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए ।

भैरहवाको सिद्धार्थ भिलासालाई पाँच तारे होटलको मान्यता

भैरहवा । सिद्धार्थ हस्पिटालिटी ग्रुपले सन्चालन्मा ल्याएको भैरहवाको ‘सिद्धार्थ भिलासा’ले पाँच तारे होटल स्तरको मान्यता पाएको छ । ‘भिलासा’ सिद्धार्थ ग्रुपको लग्जरी ब्राण्ड हो । पर्यटन विभागले हालै होटलको स्थलगत अनुगमन तथा निरीक्षण गरी स्तरउन्नति गरेको हो । ‘लुम्बिनी प्रदेशमा सञ्चालित उक्त होटललाई पर्यटन ऐन अनुसार पाँच तारा स्तरको होटलमा स्तर वर्गीकरण गरी यो इजाजतपत्र दिइएको छ’ पर्यटन विभागले भनेको छ । करिब ५ बिगाहा क्षेत्रफलमा विस्तारित होटलमा एउटा भिलासा भिएक्जुकेटिभ स्विट, २ वटा स्विट, ५ वटा जुनियर स्विट र ७७ एक्जुकेटिभ डिलक्स गरि ८५ वटा रुम रहेका छन् । होटलमा साना ठूला गरी पाँच वटा कन्फ्रेरेन्स हल र पाँच वटै रेस्टुरेन्ट आउटलेट रहेका छन् । होटलमा पन्ध्र सय जना क्षमताको ब्याङ्क्वेट हल रहेको छ जुन नेपालकै ठूलो ब्याङ्क्वेट हल भएको सिध्दार्थ हस्पिटालिटीका ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए । स्थापनाको छोटो समयमै ‘डेस्टिनेसन वेडिङ’ र अन्य पर्यटक गरि त्यस क्षेत्रमा उच्च सङ्ख्यामा भारतीय पर्यटक भित्र्याउन होटल सफल भएको र लुम्बिनी घुम्न आउने विभिन्न देशका पर्यटकहरु बिच लोकप्रिय भैरहेको यो होटलले पाँच तारा स्तरको मान्यता पाएसँगै सो ब्यापारमा अझ राम्रो गर्ने आशा गरिएको न्यौपानेले बताए । होटलमा जिम, ज्याकुजी, स्टिम, स्पा लगायत वेल्नेस सुबिधा उपलब्ध छन् । हाल २ सय जनाले रोजगारी पाएकोमा अब केही समयमै क्यासिनो सन्चालन पस्चात झण्डै ५ सय जनालाई रोजगारी मिल्ने सिईओ न्यौपानेले बताए । नेपालकै उत्कृष्ट क्यासीनो सन्चालन गर्न सकिने गरी क्यासीनोको लागी संरचना समेत निर्माण भैसकेको छ । यस्तै यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा यस होटलले ठूलो भुमिका निर्वाह गर्ने कम्पनीका अध्यक्ष लक्ष्मण न्यौपानेले बताए ।  

निर्माण व्यवसायीको रकम चाडैं भुक्तानी हुनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निर्माण व्यवसायीको रकम चाडैं भुक्तानी हुनुपर्ने धारणा व्यक्त गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघ को २५औ वार्सिकोत्सवमा बोल्दै अध्यक्ष ढकालले निर्माण व्यवसायीहरुले सरकारबाट आफ्नो भुक्तानी चाडैं पाउनुपर्ने धारणा व्यक्त गरेका हुन् । नेपाल निर्माण व्यवसायी महासंघ को २५औ वार्सिकोत्सव शुक्रबार हेटौडामा आयोजना भएको थियो । अध्यक्ष ढकालले देशको विकासका लागि पूर्वाधार विकास सबैभन्दा महत्त्वपूर्ण पक्ष हो भन्ने कुरा सरकारले बुझ्नु पर्ने धारणा व्यक्त गरे। सरकारले भुक्तानीमा ढिलाइ गर्नु हुँदैन किनकि यसले परियोजनाहरूमा ढिलाइ हुन सक्छ भनी जानकारी दिए । ‘हाल राज्यबाट व्यवसायीहरुलाई निर्माण कार्यको अरबौं रकम भुक्तानी गर्न नसकेको हुँदा व्यवसायीहरुले सप्लाई चेन, बैंक किस्ता एवं श्रमिकहरु लगायत करको ठूलो रकम भुक्तानी गर्न नसकी व्यवसायीहरु आर्थिक रुपमा समस्याग्रस्त छन्’, उनले भने । उनले तर स्तिथि आउने दिनहरुमा सुधार उन्मुख हुने छ भनी आफ्नो विस्वास व्यक्त गरे । कार्यक्रममा बोल्दै ढकालले निर्माण व्यवसायीहरुलाई बैंकहरु बाट सजिलै संग ऋण प्रवाह हुनसक्ने संयन्त्र बनाउनु पर्नेमा पनि जोड दिए । अन्तमा, नेपाल निर्माण व्यवसायी महासंघलाई नेपालमा पूर्वाधार विकासको लागि अटल प्रतिबद्धताको लागि धन्यवाद दिए । सो कार्यक्रमको उद्घाटन प्रधानमन्त्री पुष्प कमल दाहालले गरेका थिए ।

मिटर ब्याजका ५ मुद्दामा मिलापत्र

चितवन । अनुचित लेनदेन (मिटर ब्याज)का मुद्दा जिल्ला प्रहरी कार्यालयबाट हेर्न थालेसँगै चार निवेदनमा मिलापत्र गराइएको छ । जिल्ला प्रशासन कार्यालयबाट गत माघ ११ गते प्रहरी कार्यालयमा आएका ६३ निवेदनमध्ये चार र सोही मितिपछि परेका दुई मुद्दामध्ये एउटाको मिलापत्र भएको हो । अन्य मुद्दामाथि समेत दुई पक्षलाई बोलाएर छलफल भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए । उनकाअनुसार माघ ११ गतेदेखि गृह मन्त्रालयको निर्देशनअनुसार अनुचित लेनदेनका निवेदन प्रहरीले हेर्न थालेको हो । सो क्रममा १६ लाख बराबरका निवेदनमा मिलापत्र भएको उनले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयमा ८६ निवेदनमध्ये २३ निवेदन कार्यालयले प्रहरीमा नआउँदै मिलापत्र गरेको थियो । भण्डारीका अनुसार अहिले प्रहरीले अनुचित लेनदेनका निवेदन नियमित लिने गरेको छ । निवेदनमाथि छलफल गराउँदा अनुचित ठहरिए सोहीअनुसार अघि बढ्ने र छलफलका क्रममा मिलापत्र भए मिलापत्र गर्ने गरेको उनले बताए । प्रहरीमा निवेदन आएसँगै अहिलेसम्म कुनै पनि मुद्दा अदालतमा नगएको उनले जानकारी दिए । ‘हामी छलफलबाट समस्या समाधानका लागि लाग्छौँ, नमिलेको खण्डमा मात्रै मुद्दा दर्ता प्रक्रियामा अघि बढाउँछौँ’ उनले भने । बाँकी रहेका निवेदनमा समेत वादी र प्रतिवादी बोलाएर छलफल गराउने क्रम जारी रहेको उनले बताए । रासस

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको पनि स्टल राखिने

काठमाडौं । आगामी वैशाखमा हुने तेश्रो लगानी सम्मेलनका क्रममा प्रदेशस्तरीय योजनाहरु पनि ‘शो केस’ मा राखिने भएको छ । अर्थमन्त्री एवं लगानी सम्मेलन निर्देशक समिति संयोजक वर्षमान पुन अनन्तले प्रदेशका योजना पनि समावेश गरिने जानकारी दिए । अर्थमन्त्री पुनले बिहीबार साँझ निर्देशक समिति सचिवालयमा रहेका आधा दर्जन बढी मन्त्री र मुख्यमन्त्रीहरुसँग अन्तरक्रिया गरेका थिए । त्यस क्रममा उनले हाल तयारी अवस्थामा रहेका वा नयाँ योजना छनौट गरी लगानी सम्मेलनमा समावेश गर्न मुख्यमन्त्रीहरुलाई आग्रह गरे । त्यस क्रममा प्रदेश तहबाट हुने सहभागिता र सम्मेलनमा लगानीका लागि समावेश गर्न सकिने प्रादेशिक स्तरका आयोजनाहरुको तयारीबारे अन्र्तक्रिया भएको थियो । छलफलमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादव र कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले आफ्ना प्रदेशमा लगानीका लागि सम्भाव्य आयोजनाहरुबारे जानकारी गराए । जलविद्युत, सूचना प्रविधि, कृषि, पर्यटन, उद्योगलगायत क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्न सकिने उनीहरुले बताए । निजी क्षेत्रका प्रतिनिधि संस्थाहरुले औंल्याएका विद्यमान केही कानूनमा संशोधन तथा विदेशी लगानीकर्तालाई मुनाफा लैजान सकिने आधार तय गर्नुपर्ने सुझाव मुख्यमन्त्रीहरुको थियो । उनीहरुले प्रदेशस्तरका केही ठूला आयोजना लगानी सम्मेलनमा राख्ने उल्लेख गरे । उपप्रधान र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साह, उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, वन तथा वातावरणमन्त्री नवलकिशोर साह, कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादव, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, मुख्यसचिव बैकुण्ठ अर्याल, अर्थसचिव कृष्णहरि पुस्कर, बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्याय, अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मालगायत सहभागी थिए । कार्यक्रममा मन्त्री पुनले लगानी वातावरण सुधारका लागि आवश्यक कानूनमा परिमार्जनको प्रक्रिया अघि बढेको जानकारी दिए । उनले गैरआवासीय नेपालीलाई पनि लगानी सम्मेलनमा आउन आह्वान गरिएको बताए । ‘गैरआवासीय नेपालीहरुलाई पनि लगानी सम्मेलनमा आमन्त्रण गरेका छौं’, उनले भने, ‘परिस्थितिबस अरु देशको नागरिकता लिएको भए पनि उहाँहरु नेपाली नै हुनुहुन्छ । आफ्नो मातृभूमिमा आएर लगानी गर्न इच्छुक पनि हुनुभएको मैले पाएको छु ।’