महिनामै साढे तीन प्रतिशतले घट्यो ब्याज, यी हुन् सस्तोमा ऋण पाइने बैंक
काठमाडौं । वाणिज्य बैंकको ब्याज घट्दै गएको छ । बैंकहरूले प्रकाशित गरेको तथ्यांकअनुसार फागुनको तुलनामा चैतमा बैंकहरूको आधारदर ३.२४ प्रतिशतले घटेको छ । फागुनमा १०.१३ प्रतिशत रहेको बैंकको आधारदर चैतमा घटेर ९.८५ प्रतिशत रहेको छ । बिन्दुगत आधारमा भने ०.३०४ प्रतिशत आधारदर घटेको छ । तथ्यांकअनुसार सबैभन्दा कम आधादर स्ट्याण्डर्ड चार्टर्ड बैंकको रहेको छ । यस बैंकको ७.५२ प्रतिशत रहेको छ । आधारदर कम भएको बैंकको ब्याजदर पनि कम हुन्छ । हाल बैंकको स्प्रेडदर ४ प्रतिशत कायम गर्नु पर्ने राष्ट्र बैंकको व्यवस्था छ । यस्तै, प्रभु बैंकको आधारदर ९.०६ प्रतिशत, एभरेष्टको ८.३९ प्रतिशत, सानिमाको ८.९७ प्रतिशत, माछापुच्छ«को ९.२६ प्रतिशत, सिटिजन्सको ९.५८ प्रतिशत, नेपाल बैंकको ८.५७ प्रतिशत, कुमारी बैंकको १०.०१ प्रतिशत, एनआईसी एसियाको ९.१३ प्रतिशत, लक्ष्मी सनराइजको ९.६४ प्रतिशत आधारदर रहेको छ । यस्तै, कृषि विकास बैंकको ९.३६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ७.६२, ग्लोबल आइएमई बैंकको ९.०९ प्रतिशत, नबिलको ८.६१ प्रतिशत, नेपाल एसबिआईको ९.११ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८.८१ प्रतिशत, सिद्धार्थको ८.९८ प्रतिशत, प्राइमको १०.०५ प्रतिशत, एनएमबिको ९.४१ प्रतिशत, हिमालयनको ९.८५ प्रतिशत र हिमालयनको आधारदर ९.८५ प्रतिशत रहेको छ ।
नेपाल लाइफ क्यापिटलले इन्स्योरेन्ससंगको समन्वयमा गर्यो लगानी व्यवस्थापन सम्बन्धी कार्यक्रम
काठमाडौं । नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा १८ मार्च देखि २४ मार्च सम्म विश्वभर चल्ने ‘ग्लोबल मनी वीक’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । धितोपत्र बजार, लगानी र जोखिम न्यूनीकरण विषयमा कम्पनीले विभिन्न ५ स्थानमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । ‘उज्वल भविष्यका लागि लगानी’ विषयमा सर्वसाधारण माझ वित्तीय साक्षरता प्रदान गर्ने मुख्य उद्देश्यका साथ चैत्र ५ गते नेपालगंज, चैत्र ६ गते कोहलपुर, चैत्र ७ गते धनगढी, चैत्र ८ गते महेन्द्रनगर बजार र कन्चन क्याम्पस गरी उपत्यका बाहिरका ५ स्थानमा कार्यक्रम संचालन गरिएको थियो । सेयर बजार, जोखिम र यसको प्रतिफलको प्रभावबारे सर्वसाधारणलाई साक्षर गराउनु कार्यक्रमको मुख्य लक्ष्य रहेको थियो । विभिन्न स्थानमा गरिएको कार्यक्रममा सहभागीलाई लगानीका विधी, सानै उमेरबाट लगानी गर्दा भविष्यमा हुने लाभ र लगानीका जोखिमका विषयमा जानकारी प्रदान तथा अन्तरक्रिया कार्यक्रम गरिएकोे थियो । कार्यक्रमबाट ५०० जना सहभागीहरु लाभान्वित भएका थिए । नेपाल लाइफ क्यापिटल, व्यक्ति वा कम्पनीहरुको लगानी योग्य बचतलाई नेपालको पुँजीबजार मार्फत परिचालन गरि उक्त लगानीमा समय सापेक्ष मूल्य सिर्जना गराउने मुख्य उदेश्यका साथ नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैकिंङको कार्य अनुमति प्राप्त पब्लिक लिमिटेड कम्पनी हो । कम्पनीले पुँजी बजारका असिमित संभावनाहरु तथा यसको बहु–आयामिक पक्षहरुको अध्ययन गरि नेपाली लगानीकर्ताहरुलाई सुरक्षित तथा लाभदायक लगानीका अवसरहरु प्रदान गर्न लगानी व्यवस्थापन सेवा, तथा डिम्याट खाता संचालन सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रकाशशरण महतले अघि बढाएका राम्रा काम रोक्दिन : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा। प्रकाशशरण महत छँदै तय भएका सकारात्मक कार्यक्रममा परिवर्तन नहुने बताएका छन् । विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलङ्का देशीय निर्देशक फेरिस हदाद जर्भोससँग शुक्रबार मन्त्रालयमा भएको भेटमा उनले मन्त्री फेरिँदैमा सरकारको नीतिमा तात्विक परिवर्तन नहुने बताए । महतले संसदमा प्रस्तुत गरेको आगामी बजेटको सिद्धान्त र प्राथमिकताको स्वामित्व लिएर आफूले त्यो सन्देश दिइसकेको उनको भनाइ थियो । ‘मन्त्री फेरिँदैमा नीतिमा धेरै परिवर्तन गर्नु हुँदैन । राज्यको नीतिमा स्थायित्व चाहिन्छ’, पुनले भने, ‘कतिपय कोणबाट मलाई सिद्धान्त र प्राथमिकतामा हेरफेर गर्न सुझाव पनि आएको हो । तर, मैले त्यसो गर्नु उपयुक्त ठानिन ।’ सिद्धान्त र प्राथमिकताबारे संघीय संसदका दुवै सदनमा सांसदले हरेक प्रश्नको जवाफ दिएको र जस्ताको तस्तै पारित भएको स्मरण मन्त्री पुनले गरे । आगामी १६ र १७ वैशाखमा निर्धारण गरिएको तेश्रो लगानी सम्मेलन र असारमा काठमाण्डौंमा हुने विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडा) बैठक तोकिएकै समयमा हुने जानकारी पनि उनले दिए । मन्त्री पुनले पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै ती कार्यक्रम हुने सन्देश विश्व बैंक मुख्यालयसम्म पु¥याइदिन आग्रह गरे । फरक प्रसंगमा मन्त्री पुनले एमसीए नेपालमार्फत हाल सञ्चालित आयोजना पाँच वर्षभित्रै सक्ने प्रतिबद्धता जनाए । त्यस क्रममा मन्त्री पुनले नेपाल पुँजिँगत खर्च बढाउन प्रयासरत रहेको बताए । बिहीबारसम्म चालु आर्थिक वर्षको ३० प्रतिशत पुँजीगत खर्च भएको उल्लेख गर्दै अर्थमन्त्रीले राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुुँजीगत खर्च बढाउन मन्त्रीहरु र प्रशासनिक नेतृत्वलाई निर्देशन दिएको जानकारी दिए । ‘प्रधानमन्त्रीले स्पष्ट रुपमा हामी सबै मन्त्री र सम्वद्ध निकायलाई निर्देशन दिनुभएको छ’, मन्त्री पुनले भने, ‘मैले पनि सम्वद्ध एजेन्सीहरुलाई भनेको छु कि तपाईंहरु पुँजीगत खर्च बढाउनुस् । श्रोत नपुगे मलाई भन्नुस् ।’ आगामी सन् २०२६ भित्र नेपालले संयुक्त राष्ट्रसंघले आह्वान गरेको सहश्राब्दी विकास लक्ष्यअनुसार मध्यमस्तरको विकासशील राष्ट्रमा स्तरोन्नति हुने विश्वास दिलाए । त्यसका लागि आवश्यक योजना, नीति तथा कार्यक्रम तय गर्नुका साथै कानूनी सुधार र लगानीका नयाँ ढोकाहरु खोल्न क्रियाशिल रहेको मन्त्री पुनको भनाइ थियो । पुनले नेपालको आन्तरिक श्रोतले मात्र विकासमा फड्को मार्न नसकिने भएकाले आफूहरुको जोड सहुलीयतपूर्ण कर्जामा रहेको स्पष्ट गरे । ‘हाम्रो जोड कन्सिसनल श्रोतमै हो’, पुनले भने । फरक प्रसंगमा मन्त्री पुनले गेमचेन्जर आयोजनाका रुपमा रहेको १२ सय मेगावाटको जलासययुक्त बुढीगण्डकी जलविद्युत आयोजना आन्तरिक श्रोतबाटै निर्माण गर्ने तयारी अघि बढाएको जनाए । जवाफमा नेपालको विकास प्रयासमा विश्व बैंकले वितगदेखि नै सहायता गर्दै आएको उल्लेख गर्दै सहयोगले निरन्तरता पाउने प्रतिबद्धता जनाए । माथिल्लो अरुण अर्धजलासययुक्त जलविद्युत आयोजना र दूधकोशी जलासययुक्त आयोजनामा विश्व बैंक र एसियाली विकास बैंकले लगानीको प्रतिबद्धता जनाएको भन्दै उनले छिट्टै वित्तीय व्यवस्थापन टुंग्याउने गरी काम अघि बढाउनुपर्नेमा जोड दिए ।
नेशनल हर्टिकल्चर एक्स्पो सुरू (फोटो फिचर)
काठमाडौं । नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरण सहित आय र रोजगार’ भन्ने नारासहित शुक्रबारदेखि भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा नेशनल हर्टिकल्चर एक्स्पो २०८० सुरू भएको छ। आज देखि सुरु भएको १९ गते सम्म चल्ने मेलामा देशभरिबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी तथा जडिबुटी प्रदशनि तथा विक्री वितरणको लागि राखिएको छ।
त्रिविको लापरवाहीले तनावमा विद्यार्थी, भन्छन्- पढेको बिर्सिसकियो अब के लेख्ने ?
काठमाडौं । अछामको कमलबजार नगरपालिका ७ सेराका चन्द्र भाट स्नातक तह दोस्रो वर्षमा अध्ययन गर्दैछन् । प्रथम वर्षको नतिजा नआउँदै उनी दोस्रो वर्षको परीक्षाको तयारीमा थिए । किनकि त्रिभुवन विश्वविद्यालयले स्नातक दोस्रो वर्षको परीक्षा चैत २८ गते गर्नु भनेर कलेजहरूलाई निर्देशन दिइसकेको थियो । पहिलो वर्षको परीक्षाफल नआउँदै दोस्रो वर्षको तयारीमा रहेका उनले फेरि पहिलो वर्षको ‘फाउन्डेसन अफ एजुकेसन ४१२’ विषयको परीक्षा दिनुपर्ने भयो । किनकि परीक्षा नियन्त्रण कार्यालयबाटै उत्तरपुस्तिका गायव भए । उत्तरपुस्तिका नै नपाएपछि परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले कलेजहरूलाई पुनः परीक्षा दिन निर्देशन दियो । चन्द्र अहिले फेरि ‘फाउन्डेसन अफ एजुकेसन ४१२’ परिक्षाको लागि तयारी गर्दैछन् । ‘नतिजा आएर विषय लागेको भए परीक्षा दिन पनि खुसी नै लाग्थ्यो तर, एक वर्षसम्म पर्खाइमा बसेका हामीलाई नतिजा नै प्रकाशन नगरी परीक्षा दिन लगाउनु त्रिविको लापरवाही हो,’ उनी भन्छन्, ‘यो त्रिविले हामी विद्यार्थीमाथि गरेको खेलबाड हो, एक समयमै परीक्षाफल प्रकाशन हुँदैन, फेरि त्यही विषयको परीक्षा हामीले पटक पटक कति दिने ?’ परीक्षा नियन्त्रणको लापरवाहीले मानसिक तनाव थपिएको चन्द्र बताउँछन् । ‘पहिलो वर्ष परीक्षा दिएका विद्यार्थी अहिले सबै घरमा छैनन्, कोही काम विशेषले भारत गएका छन् । अहिलेको छोटो समयमा सबै विद्यार्थीलाई घर फर्केर परीक्षा दिन पनि समस्या रहेको उनको भनाइ छ । अछाम भौगोलिक रुपमा विकट छ । सबै ठाउँमा सञ्चारको राम्रो सुविधा छैन । कतिपय विद्यार्थी कलेजमा भर्ना हुने, भारत गएर कमाउने र परीक्षामा मात्र सहभागी हुने गर्छन् । यो उनीहरूको बाध्यता हो ।’ चिन्तित हुँदै उनी भन्छन्- ‘कतिपयलाई फेरि परिक्षा हुँदैछ भन्ने नै थाहा नै छैन होला, पढेको सबै बिर्सिसकियो अब परीक्षा हुँदा के लेख्ने ?’ अछामको परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन गरिएको स्नातक तह प्रथम वर्षको ‘फाउन्डेसन अफ एजुकेसन ४१२’ विषयको उत्तरपुस्तिका हराएको हो । उक्त परीक्षा केन्द्रका १७६ थान उत्तरपुस्तिका नै हराएको त्रिवि स्रोतले जनाएको छ । अछाम बहुमुखी क्याम्पसका प्रमुख छत्र बिष्ट उत्तरपुस्तिका हराउनु दुःखद भएको बताउँछन् । उनी त्रिविको यस्तो लापरवाहीले विद्यार्थीलाई समेत असर गरेको बताउँछन् । रिजल्टको पर्खाइमा बसेका विद्यार्थीलाई फेरि परीक्षा दिनुपर्दा मानसिक रुपमा समेत समस्या भएको छ,’ उनी भन्छन्, ‘परीक्षा दिएका विद्यार्थी कोही कतै, कोही कतै छन्, पनिकाले चाँडै परीक्षा लेउ भनेको छ, यस्तो हुँदा धेरै विद्यार्थी छुट्छन् की भन्ने पीर छ ।’ पनिकाको सूचना पाए लगत्तै सामाजिक सञ्जाल, पत्रपत्रिका, रेडियोमा सूचना प्रशारण गरेर परीक्षाको तयारीमा लाग्न भनिएको क्याम्पस प्रमुख बिष्ट बताउँछन् । अछामकै कमलबजार बहुमुखी क्याम्पस प्रमुख पूर्ण धमला पनि त्रिविको यो ठूलो लापरबाही भएको बताउँछन् । एक पटक परीक्षा दिइसकेका विद्यार्थीलाई पटक पटक परीक्षा दिन लगाउँदा सबै परीक्षार्थी सहभागी हुन सक्ने अवस्था छैन । उनी भन्छन्, ‘अब हामीसँग परीक्षा लिनुको विकल्प छैन, जे माथिबाट निर्देशन आयो हामीले त्यही पालना गर्नुपर्छ यसो नगरे विद्यार्थीलाई पनि समस्या, तर यो त्रिविको लापरबाही हो ।’ यही कारणले त्रिविप्रतिको विश्वास घट्दै गएको धमला बताउँछन् । चितवनको रत्ननगरमा रहेको शहिद स्मृती बहुमुखी क्याम्पसका १७ विद्यार्थीले दिएको उत्तरपुस्तिका पनि हराएको छ । २०८० वैशाख महिनामा सञ्चालित बीए प्रथम वर्षको परीक्षा अन्तर्गत ‘पीओपी-४२२’ विषयको उत्तर पुस्तिका हराएको भन्दै फेरि परीक्षा गर्न भनेकाले अहिले त्यसैको तयारीमा क्याम्पस लागेको छ । क्याम्पस प्रमुख बुद्धिराज सेढाइले पनिकाको लापरवाहीले विद्यार्थीलाई पुनः परीक्षाको तयारी गर्नुपर्ने हैरानी भएको बताउँछन् । उनी भन्छन्- ‘अब निर्देशन आइसकेपछि हामीले परीक्षा गर्नैपर्छ, अहिले विद्यार्थीलाई सूचना दिने, जानकारी गराउने काम गरिरहेका छौं, अब परिक्षाको विकल्प छैन ।’ भावी दिनमा त्रिविले ध्यान दिनुपर्ने सेढाइ बताउँछन् । पटक पटक लापरवाही त्रिभुवन विश्वविद्यालयले गएको बैशाखमा लिएको ‘फाउन्डेसन अफ एजुकेसन ४१२’ र ‘पपुलेशन एण्ड हेल्थ ४२२’ को उत्तरपुस्तिका हराएका छन् । परीक्षा लिएको एक वर्षसम्म पनि परीक्षाफल सार्वजनिक नभएपछि उत्तरपुस्तिका नै हराएको रहस्य बाहिर आएको हो । उत्तरपुस्तिका हराउनु परीक्षा नियन्त्रण कार्यालयको यो पटकको मात्रै लापरवाही हैन । गएका वर्षहरूमा पनि धेरै पटक उत्तरपुस्तिका हराएका उदाहरण छन् । गएको वर्ष बीबीएस चौथो वर्षको एक विषयको उत्तरपुस्तिका फेला नपरेपछि २०७९ पुसमा फेरि परीक्षा सञ्चालन गरिएको थियो । २०७८ पुसमा सञ्चालित परीक्षाको उत्तरपुस्तिका हराउँदा एक वर्षपछि करिब साढे २ सय विद्यार्थीले फेरि परीक्षा दिएका थिए । त्यतिबेला झापाको दमक बहुमुखी क्याम्पसका परीक्षार्थीको उत्तरपुस्तिका हराएको थियो । २०७४ सालमा पनि यस्तै भएको थियो । तत्कालिन समयमा बीबीएस तेस्रो वर्षको नतिजा प्रकाशन गर्ने बेलामा सिन्धुली बहुमुखी क्याम्पसका ६९ जना विद्यार्थीको उत्तरपुस्तिका हराएको थियो । ती विद्यार्थीले पनि फेरि परीक्षा दिनुपरेको थियो । यस्ता थुप्रै गल्तीहरु परीक्षा नियन्त्रण कार्यालयले पटक पटक गर्दै आएको छ । एउटै गल्ती पटक पटक दोहोरिँदा पनि त्रिविले पनिकालाई कारबाही गरेको रेकर्ड भने खासै भेटिन्न । प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन, नतिजा प्रकाशन र लब्धांकपत्र वितरणको जिम्मा परीक्षा नियन्त्रण कार्यालयलाई हुन्छ । यति काम गर्दा वर्षेनी केही न केही त्रुटी गरिरहेकै हुन्छ । परीक्षा नियन्त्रण कार्यालयका सहायक परीक्षा नियन्त्रक पवन बराल उत्तरपुस्तिका हराएको स्वीकार्दै यो विषयमा छानविन भइरहेको बताउँछन् । कसरी हरायो, के भयो भन्ने विषयमा छानविन समिति बनाएर अनुसन्धान गरिरहेको उनले बताए । उनले भने– ‘हामीले हराएका विषयको फेरि परीक्षा लिने तयारी गरिरहेका छौं, सूचना निकालेर सम्बन्धित कलेजलाई परीक्षा गर्न भनिसकेका छौं अब चैत्र २१ गते पुनः परिक्षा हुन्छ ।’ यसमा संलग्न व्यक्तिलाई कस्तो कारबाही हुन्छ भन्ने प्रश्नमा बरालले भने- ‘हामी यसको लागि आन्तरिक छलफल गरिरहेका छौं बाँकी सबै पछि प्रतिवेदनमा आउँछ ।’ विद्यार्थीको समय बर्वाद र मानसिक तनाव त्रिभुवन विश्वविद्यालय नेपालका विश्वविद्यालय भन्दा सबैभन्दा जेठो हो । मुलुकको उच्च शिक्षामा करिब ८० प्रतिशत हिस्सा ओगटेको त्रिविको शाख भने गुम्दै गएको छ । त्रिविले पटक पटक गर्ने यस्ता लापरवाहीले विश्वास गुम्दै गएको शिक्षाका जानकारहरू बताउँछन् । त्रिभुवन विश्वविद्यालयका पूर्व प्राध्यापक कपिल श्रेष्ठ परीक्षा नियन्त्रण कार्यालयले पटक पटक गैर जिम्मेवार काम गर्दै आएको बताए । उनी यस्तो लापरवाही गर्नेलाई कारवाही गर्नुपर्ने बताउँछन् । विद्यार्थीलाई पटक पकट एकै विषयमा जाँच दिन लगाउनु भनेको यातना दिनुजस्तै हो,’ उनी भन्छन्- ‘यातना दिनुलाई अपराधिक कार्य मानिन्छ, उत्तरपुस्तिका हराएर विद्यार्थीलाई यातना दिनेमाथि कारवाही हुनै पर्छ । विद्यार्थीको समय बर्वाद गरी मानसिक तनाव दिएको भन्दै श्रेष्ठ पहिले यो कार्यमा संलग्नलाई कारवाही गरेर मात्र त्यसपछि छलफल गर्नुपर्ने बताउँछन् । त्रिभुवन विश्वविद्यालयका प्रोफेसर डा. विदुर फुयाल यो पनिकाको गम्भीर लापरवाही र त्रुटी भएको बताउँछन् । उनले यस्तो लापरवाहीले त्रिविको विश्वास र शाखमै आँच पुगेको बताए । ‘पटक पटक यस्तै अवस्था दोहोरियो, यसको मतलब अब बल्खुले मात्र सबै धान्न सक्ने अवस्था रहेन,’ उनी भन्छन्- ‘अब बल्खुले अधिकार अरूलाई पनि दिन सक्नुपर्यो, ६० वटा आंगिक र १ हजार बढी क्याम्पसको जिम्मा अब एक्लै बल्खुले लिन सक्दैन उसले आफ्नो अधिकार दिन सक्नुपर्छ ।’ साथै, लाखौं विद्यार्थीको भविष्यको जिम्मा लिएको त्रिविले यस्तो गैर जिम्मेवारीपन देखाउनु विद्यार्थीको भविष्यमाथि खेलबाड भएको विज्ञहरू बताउँछन् ।
टर्किस एयरलाइन्सद्वारा १० वर्षपछि लिबियामा पुनः उडान शुरु
काठमाडौं । टर्किस एयरलाइन्सले १० वर्षको अन्तरालपछि लिबियाको राजधानी त्रिपोलीको मिटिगा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडानहरू पुनः शुरु गरेको छ । लिबियाका यातायात मन्त्री मोहम्मद अल–शोहोबीले एक पत्रकार सम्मेलनमा घोषणा गरे । मिटिगा अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको उडानको आगमन सबै अन्तर्राष्ट्रिय उड्डयन एजेन्सीहरूलाई ग्यारेन्टीको सन्देश भएको बताए । यो कदमले (लिबियामा) सुरक्षा अवस्थाको स्थिरता पुष्टि गरेको र नागरिक उड्डयन सुरक्षाको मापदण्डहरू लागू गर्ने आफ्नो प्रतिवद्धतालाई समर्थन गरेको बताए ।
अर्थमन्त्री पुनले गठन गरे धनिराम शर्माको नेतृत्वमा बजेट लेखन मस्यौदा समिति
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट लेखनका लागि मस्यौदा समिति गठन गरेका छन् । मन्त्री पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्य लेखनका लागि शुक्रबार समिति गठनको निर्णय गरेका हुन् । अर्थमन्त्रालयका सहसचिव धनीराम शर्माको संयोजकत्वमा गठित समितिमा सहसचिवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन् । शर्मा, शाक्य, आचार्यद्वय र अर्याल अर्थ मन्त्रालयमा कार्यरत छन् भने शर्मा आन्तरिक राजश्व कार्यालयका उपमहानिर्देशक हुन्। समितिका संयोजक शर्माले शनिबार नै बैठक बसेर कामको सुरुवात गर्ने जानकारी दिएका छन् । विषयगत मन्त्रालयहरुसँग समन्वय गरेर तत्काल बजेट लेखनको काम थालिने उनको भनाइ छ ।
प्रसाईंलाई हतियार राख्न दिएको अनुमतिबारे छानबिन हुने
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हतियार राख्न दिएको अनुमतिबारे छानबिन हुने भएको छ । यसका लागि गृह मन्त्रालयले समिति गठन गरेको छ । सहसचिव राजेन्द्रदेव पाण्डेको नेतृत्वमा समिति गठन गरिएको छ । समितिमा उपसचिव ऋषि पौडेल, नेपाल प्रहरीका उपरीक्षक सन्तोष भट्टराई र मन्त्रालयका उपसचिव एकदेव अधिकारी सदस्य सचिव रहेको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सचिवालयले जनाएको । सर्वोच्च अदालतले यो विषयमा छानबिनका लागि आदेश दिएको थियो । त्यही आदेश अनुसार समिति गठन गरिएको जनायएको छ । सर्वोच्चले गोलीसहित पक्राउ परेका प्रसाईका बडिगार्डलाई रिहा गर्न आदेश गर्दै हतियारको अनुमति शंकास्पद देखिएकाले छानविन गर्न भनेको थियो । प्रसाईंका दुईजना व्यक्तिगत सुरक्षागार्ड चैत ५ मा सर्वोच्च अदालत परिसरबाट जर्मन स्पोर्ट गन ‘जिएसजी–५’ सहित पक्राउ परेका थिए । यस्तै व्यक्तिगत रुपमा इजाजतपत्र प्राप्त हातहतियारको प्रयोग सम्बन्धी मापदण्ड बनाउन पनि समितिलाई कार्यादेश दिइएको छ ।