कम्प्युटर विज्ञान पढाउन प्रवासीको सहयोग
म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख नमूना आवासीय माध्यमिक विद्यालयमा कम्प्युटर विज्ञान पढाउन प्रवासमा रहेका म्याग्दीवासीले १३ लाख रुपैयाँ सहयोग जुटाएका छन् । आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा कम्प्युटर विज्ञान पठनपाठन गर्न स्थायी ठेगाना शिख भई हाल बेलायत बसोबास गर्नुहुने दानबहादुर गर्बुजाको संयोजनमा सहयोग जुटाइएको हो । विद्यालयका प्रअ केदार कार्कीले प्रवासमा रहेकाहरू मिलेर २० थान डेक्सटप कम्प्युटर सहयोग गरेको बताए । ‘ग्रामीण क्षेत्रको विद्यालयमा प्रविधिमैत्री आधुनिक शिक्षा प्रदान गर्न कम्प्युटर विज्ञान विषय पढाउने तयारी गरेका छौँ,’ उनले भने, ‘विदेशमा रहनुभएका विद्यालयका पूर्वविद्यार्थी, अभिभावक र शुभचिन्तकले सहयोग रकम जुटाउनु भएको छ ।’ घनश्याम तिलिजा, लालबहादुर पाइजाका परिवारले शुक्रबार चार थान कम्प्युटर विद्यालयलाई हस्तान्तरण गरे । १६ थान कम्प्युटर केही दिनमै विद्यालयमा ल्याउने तयारी छ । शिख उपल्लोस्वारा घर भई हाल बेलायत निवासी घनश्याम तिलिजाको परिवारले तीन थान डेक्सटप कम्प्युटरका लागि एक लाख ९५ हजार, विद्यालयको अतिरिक्त क्रियाकलाप कोषलाई दुई लाख नगदसहित चार थान भलिबल, बास्केटबल र एक थान भलिबलको नेट गरी कूल दुई लाख ३६ हजार रुपैयाँ सहयोग गरेका छन् । शिख मूलपानी घर भई हाल बेल्जियम निवासी लालबहादुर पाइजाको परिवारबाट एक थान डेक्सटप कम्प्युटर, आमा समूहलाई २० हजार, छात्राबासका लागि १० हजार गरी ९५ हजार रुपैयाँ सहयोग गरेको विद्यालयले जनाएको छ । कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयले गण्डकी प्रदेश सरकारको सहयोगमा छात्राबास सुविधा प्रदान गरेको छ । हाल ३० जना विद्यार्थीले छात्राबासको सुविधा लिएका छन् । प्रदेश सरकारले प्रतिविद्यार्थी दैनिक ६५ रुपैयाँका दरले आवासीय विद्यार्थीलाई सहयोग गरेको छ । अपुग रकम दाताहरुको सहयोगमा जुटाइएको छ । विद्यालयमा एक सय ६७ विद्यार्थी अध्ययनरत छन् । रासस
एक महिनाभित्र सुनकोशी मरिणको सुरुङ ‘ब्रेक थ्रू’ गरिने
सिन्धुली । राष्ट्रिय गौरव आयोजनाको सुनकोशी मरिण डाइभर्सनको मुख्य सुरुङ एक महिनाभित्र ‘ब्रेक थ्रू’ हुने भएको छ । आयोजनाका प्रमुख मित्र बरालका अनुसार कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङको अब सात सय ९० मिटर मात्र खन्न बाँकी छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, सिँचाइ सचिव सुशीलचन्द्र तिवारी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक चन्द्रबहादुर ओलीलगायतको टोलीले आज सिन्धुलीको कमलामाई नगरपालिका कुसुमटारमा रहेको आयोजनास्थलमा निरीक्षण गरेका छन् । निरीक्षण अवलोकनपछि ऊर्जामन्त्री बस्नेतले तोकिएको समयभित्र काम सम्पन्न गर्न आयोजनाका लागि स्रोत साधनको अभाव हुन नदिने बताए । ‘यो आयोजना सरकारको विशेष प्राथमिकतामा छ । आयोजनामा स्रोत साधनको कुनै समस्या आउन दिँदैनौँ,’ उनले भने । अहिलेसम्मको कामको प्रगति सन्तोषजनक रहेको बताउँदै उनले तोकिएको समयभित्रै काम सक्न निर्देशन दिए । ऊर्जामन्त्री बस्नेतसहितको उच्चस्तरीय टोलीले शुक्रबार आयोजनाको बाँधस्थल निरीक्षण गरेको थियो । यसअघि ऊर्जामन्त्री बस्नेतले आयोजना प्रमुखलगायत अधिकारीलाई आयोजनास्थल नछाड्न र हरेक १५ दिनमा आयोजनाको प्रगति अवस्थाबारे मन्त्रालयलाई जानकारी दिन निर्देशन दिएका थिए । तराई मधेसमा वर्षैभरि सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ सुरु गरिएको उक्त आयोजनालाई सरकारले प्राथमिकताका साथ अघि बढाइरहेको छ । सुरुङ खन्ने काममा कुनै भौगोलिक जटिलता नआएको खण्डमा एक महिनाभित्र ‘ब्रेक थ्रू’ भइसक्ने आयोजना प्रमुख बरालले जानकारी दिए । आयोजनाको सुरुङ निर्माण चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङले गरिरहेको छ । बाँध निर्माणका लागि नेपालको रमण समूहसँग भारतीय कम्पनी पटेल इन्जिनियरिङको संयुक्त उपक्रमले जिम्मा पाएको छ । बाँध र विद्युत् गृह निर्माणमा केही ढिलाइ भए पनि तोकिएको समयभित्रै पूरा गर्ने निर्माण व्यवसायीको भनाइ छ । विसं २०८४ को असोजमा सो आयोजना पूर्णरुपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सुनकोशी नदीको पानी मरिण खोलामा झारेर विद्युत् उत्पादन गर्ने र तराईको एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु गरिएको उक्त आयोजनाको सुरुङ निर्माणमा अपेक्षितभन्दा बढी प्रगति भए पनि अन्य काममा भने सोहीअनुसार भएको छैन । सो आयोजनाको ‘कफर ड्याम’ निर्माण भइरहेको जनाइएको छ । निर्माण व्यवसायीले काम गरिरहेको भए पनि बाँध निर्माणमा अपेक्षित प्रगति देखिँदैन । विद्युत् गृह र प्रसारण लाइन निर्माणका लागि आवश्यक तयारी भइरहेको छ । प्रसारण लाइनका लागि वातावरणीय प्रभाव मूल्यांकन सकिएको छ । त्यो स्वीकृतिको अन्तिम चरणमा छ । यस्तै हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलतर्फको काम पनि अगाडि बढाउन लागिएको आयोजना प्रमुख बरालले जानकारी दिए । सुनकोशी मरिण डाइभर्सन आयोजनाबाट हाल सञ्चालनमा रहेको बिपी राजमार्गको केही भाग प्रभावित हुनेछ । हाल सञ्चालनमा रहेको राजमार्गलाई नौ सय मिटर डाइभर्सन गर्नुपर्ने हुन्छ । आगामी वैशाखसम्म बाँध निर्माणलाई एउटा स्तरमा पु¥याउने लक्ष्य राखिएको छ । वैशाखपछि नदीमा जलसतह बढ्ने भएकाले काम गर्न समस्या हुनेछ । यस्तै, विद्युत् गृह निर्माण हुने स्थानमा मुआब्जा वितरण सम्पन्न भइसकेको छ । आयोजनाका लागि सुनकोशी गाउँपालिका–७ कानढुङ्गीस्थित सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदीमा पथान्तरण गरिनेछ । सुनकोशीको करिब ६७ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ । त्यसपछि बागमती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य राखिएको छ । त्यस्तै सो आयोजनाबाट ३१ मेगावाट बिजुली उत्पादन हुनेछ । विसं २०७९ असोज २८ गतेदेखि निर्माण सुरु गरिएको सो आयोजनामा कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङ निर्माण हुनेछ । नेपालका विद्युत् तथा अन्य सिँचाइका आयोजनामा सुरुङ निर्माण भए पनि सो आयोजनामा टनेल बोरिङ मेसिन ९टिबिएम० प्रयोग गरेर खनिएको छ । यसअघि भेरी–बबई डाइभर्सन आयोजनामा पनि टिबिएमको प्रयोग गरिएको थियो । रासस
तल्लो डुङ्गेश्वर-पालेतडा सडक जीर्ण
सुर्खेत । कर्णाली राजमार्गअन्तर्गत दैलेखको तल्लो डुङ्गेश्वरदेखि पालेतडासम्मको सडकखण्ड जीर्ण भएको छ । नियमितरूपमा सवारीसाधन सञ्चालन हुने जीर्ण सडकमा दुर्घटनाको जोखिम बढेको छ । यो सडकमा दैनिक गाडी चलाउँदै आएका रमेश शाही सडकका खाल्डा तत्काल पुर्नुपर्नेमा जोड दिँदै अविलम्ब मर्मतसम्भारका निम्ति सम्बन्धित निकायको ध्यान जानुपर्ने बताउँछन् । बाङ्गेसिमलदेखि दहीखोलाको बीच भाग डुङ्गेश्वर–पालेतडासम्मको झण्डै ३० किलोमिटर सडक तत्काल मर्मत गर्नुपर्ने उनको भनाइ छ । सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर टोप नारायण पौडेलका अनुसार उक्त खण्डको लागि चालु आर्थिक वर्षमा स्तरोन्नति गर्न बजेट नभएको जानकारी दिए ।
लालीगुराँसले ढकमक्क घोडेपानी पर्यटकको पर्खाइमा (फोटो फिचर)
काठमाडाैं । घोडेपानी अहिले लालीगुराँसले ढकमक्क भरिएको छ । समुद्री सतहदेखि तीन हजार दुई सय मिटर उचाइमा रहेको घोडेपानी– पुनहिल चक्रिय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्य हो । पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृष्यको दृश्यावलोकन गर्न पाइन्छ। पोखरादेखि नयाँ पुल, उल्लेरी भएर एकै दिन र घान्द्रुक भएर दुई दिनमा घोडेपानी पुग्न सकिन्छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको गुराँसको जंगल गण्डकी प्रदेशकै ठूलो मानिन्छ। नेपालमा पाइने ३२ मध्ये यहाँ १६ प्रजातिका लालीगुराँस पाइन्छ । वसन्त ऋतुमा पाखाभरी ढकमक्क फुल्ने लालीगुराँसले मनमोहक देखिन्छ । घोडेपानीमा बसेका पर्यटक बिहानै करिब ४० मिनेट उकालो हिँडेर पुनहिलमा दृष्य अवलोकन गर्न पुगिन्छ । पुनहिलबाट धौलागिरि, सिस्ने, गुर्जा, मानापाथी, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनासलु हिमालको अवलोकन गर्न सकिन्छ । घोडेपानी र पुनहिलमा घुम्न आउने पर्यटकको बसाइँ लम्ब्याउने उद्देश्यले गुराँसे जंगलबीचमा रहेको कालीसारमा डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा लालीगुराँस पार्क निर्माण पनि गरिएको छ ।
लगानी सम्मेलनको तयारी तीव्र : अर्थमन्त्रीद्वारा ४० बढी देशका राजदूत र नियोग प्रमुखसँग भर्चुअल बैठक
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले विदेशस्थित ४० बढी नेपाली राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूसँग भर्चुअल बैठक गरेका छन् । आगामी १६ र १७ वैशाखमा तय भएको लगानी सम्मेलन तयारीस्वरूप मन्त्री पुनले राजदूतहरुसँग छलफल गरेका हुन् । जुम बैठकका लागि मन्त्री पुन शुक्रबार साँझ अबेर परराष्ट्र मन्त्रालय गएका थिए । बैठकमा मुख्यसचिव बैठकुण्ठ अर्याल, परराष्ट्रसचिव सेवा लम्साल र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुशील भट्टलगायत सहभागी थिए । मन्त्री पुनले राजदूत र नियोग प्रमुखहरूलाई अबको एक महिना लगानी सम्मेलन केन्द्रित भएर काम गर्न प्रधानमन्त्रीका तर्फबाट निर्देशन दिए । ‘लगानी सम्मेलन राष्ट्रको इज्जत, प्रतिष्ठा, गौरबको विषयसँग जोडिएको छ’, पुनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूकै तर्फबाट म यहाँहरुलाई आग्रह गर्छु कि अबको एक महिना सबै काम छाडेर यसैमा लाग्नुस् ।’ मन्त्री पुनले विदेशी विकास साझेदार, ठूला लगानीकर्ता, सम्भावित लगानीकर्ता, कार्यक्रमका वक्ता र उच्च पदस्थ सरकारी व्यक्तित्वहरुलाई यसअघि नै निम्ता पठाइसकिएको स्मरण गर्दै सम्मेलनमा आउन निश्चित भएकाहरूको सूची तयार पारेर पठाउन पनि भनेका छन् । लगानीमैत्री वातावरण बनाउन सरकारले नीतिगत, प्रक्रियागत र कानूनी सुधारको काम अघि बढाएको उनले बताए । त्यसका लागि एक दर्जन बढी कानुनमा संशोधनमार्फत सुधारको प्रक्रिया अघि बढाइएको विषयमा आफू रहेको देशका लगानीकर्ता र सरकारी एजेन्सीलाई जानकारी गराउन पनि मन्त्री पुनले आग्रह गरे । ‘१२ वटा कानून र कतिपय द्विपक्षीय समझदारीहरू गर्ने कुरामा पनि छलफ चलिरहेको छ, लगानीत्रैकी कानून बनाउन भइहरेका प्रयासबारे लगानीकर्ता र सरकारी एजेन्सीहरूलाई भन्नुस्’, उनले भने । यस्तै मन्त्री पुनले सरकारको मुल नेतृत्व उही रहेको र एकाध मन्त्रीहरु मात्र फेरिएकाले लगानी सम्मेलन र लगानीसम्बन्धी नीतिमा कुनै फेरबदल नभएको विषयमा समेत अनतर्राष्ट्रिय समुदालयलाई आश्वस्त तुल्याउन प्रयास गर्नुपर्ने बताए । मन्त्री पुनले गैरआवासीय नेपालीले आर्जन गरेका ज्ञान, सिप र प्रविधिलाई मातृभूमिमा प्रयोग गर्ने विषयलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिँदै सो समुदायमा यो सन्देश प्रवाह गर्न राजदूतहरू र नियोग प्रमुखहरूलाई अनुरोध गरे । भारत, चीन, कोरिया र खाडीसहित विभिन्न मुलुकहरुमा भइरहेका पूर्वतयारीका कामलाई थप तीव्रता दिन मन्त्री पुनले निर्देशन दिए । बैठकमा संयुक्त राज्य बेलायत, अष्ट्रेलिया, जर्मनी, बंगलादेश, भारत, ओमान, दक्षिण कोरिया र मलेसियाका राजदूत तथा नियोग प्रमुख सहभागी थिए ।
पूर्वी नाकाबाट पेट्रोलियम पदार्थको आयात घट्यो
झापा । पूर्वी नाका काँकरभिट्टाबाट पेट्रोलियम पदार्थको आयात घटेको छ । आर्थिक वर्ष २०८०/०८१ को आठ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १ अर्ब २८ करोड ८४ लाख १० हजार रुपैयाँको पेट्रोलियम पदार्थको आयात कम भएको मेची भन्सार कार्यालयले जनाएको छ । काँकरभिट्टाबाट आयात हुने पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा स्थानीय पेट्रोल पम्पमार्फत बिक्री वितरण हुँदै आएको छ । मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा १३ अर्ब ३३ करोड १६ लाख ३३ हजार रुपैयाँको पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास आयात भएको छ । अघिल्लो आवको सोही अवधिमा १४ अर्ब ६२ करोड ४३ हजार रुपैयाँबराबरको पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास भारतबाट आयात भएको थियो । पूर्वी नाका हुँदै आयात हुने पेट्रोलियम पदार्थमध्ये डिजेलको आयातमा भारी गिरावट आएको छ । प्रमुख भन्सार अधिकृत रेग्मीका अनुसार आव २०८०/०८१ को आठ महिनामा ४ अर्ब ८७ करोड ६९ लाख ९६ हजार रुपैयाँको ४५ हजार १४० किलोलिटर डिजेल आयात भएको छ । आव २०७९/०८० को सोही अवधिमा ५ अर्ब ७३ करोड १८ लाख १७ हजारको डिजेल आयात भएको थियो । गत आवको फागुन मसान्तसम्मको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ८५ करोड ४८ लाख २१ हजार मूल्यबराबरको डिजेलको आयात घटेको छ । पेट्रोल, हवाई इन्धन, मट्टितेल र एलपी ग्यासको आयातमा पनि गिरावट आएको छ ।
कञ्चनजंघा क्षेत्रमा आउन थाले पर्यटक
फुङ्लिङ । पर्यटक आगमनको याम प्रारम्भ भएसँगै विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघा क्षेत्रमा पर्यटक आउन थालेका छन् । कञ्चनजंघा हिमाल क्षेत्रमा वर्षमा दुई याममा पर्यटक आउने गरेका छन् । पहिलो याम सकिएर दोस्रो ‘सिजन’ सुरु भएको छ । चैतदेखि जेठ तेस्रो सातासम्म कञ्चनजंघा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको छन् । गत बुधबार ६० जना विदेशी पर्यटक कञ्चनजंघा क्षेत्रको घुन्सा बस्तीमा आइपुगेका कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ । पर्यटक आगमन सुरु भएसँगै कञ्चनजंघा जाने पदमार्गमा रहेको होटल खुलिसकेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का पर्यटन सहायक टासी तेन्जिङले बताए । पहिलो सिजनमा कञ्चनजंघा क्षेत्रमा ६ सय ५० जान बाह्य पर्यटक आएका उनले बताए । आन्तरिक पर्यटक आगमनको अभिलेख भने नगरिएको उनले जानकारी दिए । गत वर्ष चार सय ३९ जना बाह्य पर्यटकले मात्र कञ्चनजंघा क्षेत्रको भ्रमण गरेका थिए । कञ्चनजंघा क्षेत्रमा आउने पर्यटकलाई लक्ष्य गरेर यो क्षेत्रमा सानाठूला ५२ वटा होटल सञ्चालनमा छन् । फक्ताङलुङ गाउँपालिका–६ ग्याप्लामा सात करोड लगानीमा सिङ्गी नामजोग होटल पनि सञ्चलनमा आएको छ ।
मकैको घोगामा लागेन दाना, चिन्तामा किसान
सर्लाही । उन्नत जातको मकैमा दाना नलागेपछि सर्लाहीका किसान चिन्तित भएका छन् । जिल्लाको बागमती, बरहथवालगायत स्थानमा सयौँ किसानले लगाएको उन्नत जातको मकैमा दाना नलागेपछि किसानलाई चिन्ताले सताएको हो । मकैमा आकर्षक घोगा लागे पनि दाना भने नलागेको स्थानीय किसान चन्द्रबहादुर जिम्बाले गुनासो गरे । प्रति किलो ६५० रुपैयाँ किलोमा किनेर सात कट्ठामा लगाएको मकैमा दाना नलागेपछि लगानी डुबेको बागमती नगरपालिका–४, का किसान राम विश्वास महतोले बताए । ‘धेरै फल्ने आशमा महँगो मूल्यमा बीउ किनेर रोपियो,’ उनले भने, ‘अहिले सबै लगानी डुब्यो ।’ बागमती र बरहथवाका किसानले लगाएको बिघौँबिघा क्षेत्रफलको हाइब्रिड मकैमा दाना नलागेको किसानको दाबी छ । यस क्षेत्रमा उत्पादन राम्रो हुने भएपछि किसानले वर्षको दुई यामसम्म उन्नत जातको मकै रोप्ने गरेका छन् । प्रशस्त फल्ने विश्वासमा ऋण गरेर रोपेको मकैमा दाना नलागेपछि आफू बर्बाद भएको अर्का किसान रञ्जित महतोले गुनासो गरे । उनले गत मंसिरमा तीन बिघा क्षेत्रफलमा उन्नत जातको मकै लगाएको बताए । उनका अनुसार घोगा ठूलो लागे पनि दाना लागेको छैन । महँगो बीउसँगै विशेष किसिमले मलखाद हालेर लगानी गरेको मकै नफलेपछि किसान छागाँबाट खसेजस्तै भएका छन् । र किसानलाई गुणस्तरहीन मकैको बीउ बिक्री गरेर ठगी गरेको बरहथवा–५ कि ललिता साहको आरोप छ । मकैमा दाना नलागे पछि आफूहरू संकटमा परेको उनले गुनासो गरिन् । उन्नत जातको मकै खेतीका लागि प्रतिकट्ठा तीन हजारदेखि तीन हजार पाँच सय रुपैयाँसम्म खनजोत, मलखाद र कामदार खर्च लागेको किसानहरूले बताएका छन् । जग्गा भाडामा लिएका किसानको लगानी अझ बढी छ । उत्पादन बिग्रिएका अधिकांश किसानले भारतीय बीउ उत्पादन कम्पनी नुजिभिडु सिड्सले उत्पादन गरेको ‘विनर’ नामको मकै लगाएको बताएका छन् । मङ्सिरका पहिलो साताअघि लगाइएको अन्य कम्पनीका हाइब्रिड जातको मकैमा समस्या देखिएको बागमती नगरपालिकाका कृषि प्राविधिक हिमाल साहीले जानकारी दिए । बीउ उत्पादक कम्पनीले भने मौसम अनुकूल नभएका कारण मकैमा दाना नलागेको जनाएको छ । नुजिभिडु सिड्सका नेपाल प्रतिनिधि श्रीप्रसाद पालिखेलले किसानले समयअगावै मकै रोपेका कारण समस्या भएको दाबी गरे । मकैको परागसेचनको समयमा धेरै चिसो भएको उनले दाबी छ । ‘किसानले मकै रोप्न हतार गर्नुभयो,’ उनले भने, ‘कम्पनीले मकै रोप्ने समय जानकारी गराउँदा अटेर गर्नुभएको देखियो ।’ मङ्सिर पहिलो सातादेखि रोप्नुपर्ने मकै कात्तिकतिरै रोपिएको उनको दाबी छ । दाना नलागेका किसानको विवरण संकलन गरेर भारतस्थित कम्पनीमा जानकारी गराइएको उनले बताए । किसानलाई कसरी राहत पुर्याउन सकिन्छ भनेर आफूहरूले अनुगमन गरिरहेको उनले बताए । नगरपालिकास्थित कृषि शाखाले क्षतिको विवरण संकलन गरिरेहेको छ । किसानलाई अनुदानमा वितरण गरेको मकै उत्पादन नभएको गुनासोपछि आफूहरूले विवरण संकलन सुरु गरेको र एक दुई दिनभित्रमा पूर्ण विवरण सार्वजनिक गरिने नगर कृषि शाखा अधिकृत अवधेशकुमार झाले जानकारी दिए । अत्यधिक मकै उत्पादन हुने यस क्षेत्रमा नगरपालिकाले ‘मकै क्षेत्र’ विकासका लागि ६ सय किलो विनर मकैको बीउ अनुदानमा वितरण गरेको थियो । जिल्लाको कर्मैया, ढुङ्ग्रेखोला, शंकरपुर, राजघाट, हजरिया, मुर्तियालगायत स्थानमा हाइब्रिड मकै उत्पादन हुने गरेको छ । जिल्लामा बर्सेनि १२ हजार हेक्टर क्षेत्रफलमा मकै लगाउने गरिको छभने यहाँ ५ दशमलव ३ लाख मेट्रिक टन मकै उत्पादन हुने गरेको जिल्ला कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत देवानन्द यादवले बताए । रासस