विवरण उपलब्ध गराउन क्रसर उद्योगको अटेरी
राँझा । बाँकेको राप्ती सोनारी गाउँपालिकामा सञ्चालित क्रसर उद्योगले विवरण उपलब्ध गराउन अटेरी गरेका छन् । गाउँपालिकाअन्तर्गतको राप्ती नदी र विभिन्न खोलाबाट हुनसक्ने नदीजन्य पदार्थको अवैध उत्खनन कार्य रोक्ने उद्देश्यले क्रसर उद्योगले विवरण उपलब्ध गराउन भने पनि अटेरी गरिरहेका जनाइएको छ । नदी र विभिन्न खोलाबाट हुनसक्ने नदीजन्य पदार्थको अवैध उत्खनन रोक्नका लागि विवरण सङ्कलन गर्ने उद्देश्यले पटक पटक ताकेता गर्दा पनि क्रसर उद्योगले विवरण उपलब्ध नगराएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले बताए । ‘क्रसर उद्योगको क्षमतासहितको विवरण र नदीजन्य पदार्थको स्टक प्रमाणित गराउन पटक पटक पत्र काटिसकेका छौँ, अहिलेसम्म एउटा उद्योगले मात्र विवरण उपलब्ध गराएको छ,’ उनले भने, ‘अब क्रसर उद्योगको अनुगमन गरेर अवैध रुपमा नदीजन्य पदार्थ स्टक गरेको पाइएमा कारबाही गर्नेछौं ।’ राप्ती सोनारी गाउँपालिकामा छवटा क्रसर उद्योग सञ्चालनमा रहेका छन् । तीमध्ये महालक्ष्मी क्रसर उद्योगले मात्रै क्षमतासहितको विवरण उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत देवकोटाले जानकारी दिए । सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर सञ्चालनका लागि अनुमति मागेका क्रसर उद्योगलाई गाउँपालिकाले निश्चित राजस्व लिएर सञ्चालन अनुमति दिने गरेको उनको भनाइ छ । अधिकांश क्रसर उद्योगले कानुनी प्रक्रिया पूरा नगरेकाले विवरण उपलब्ध गराउन अटेरी गरेको हुनसक्ने आशंका बढ्दै गएको देवकोटाले बताए । उनको अनुसार पछिल्लो पटक यही चैत ७ गते गाउँपालिकाअन्तर्गत विभिन्न स्थानमा रहेका क्रसर उद्योगलाई सात दिनभित्र आ–आफ्नो उद्योगको विवरण उपलब्ध गराउन आग्रह गरिएका थियो । गाउँपालिका अध्यक्ष तप्त पौडेलले नदीजन्य पदार्थको चोरी–निकासी रोक्न जनप्रतिनिधिसहितको टोलीले केही दिनअगाडि घाटगद्दीको निरीक्षण तथा अनुगमन गरेको बताए । ‘नदीजन्य पदार्थ उत्खननको ठेक्का पाएको कम्पनीले गरेको उत्खनन र घाटगद्दीको अनुगमन गरिएको छ,’ उनले भने, ‘गाउँपालिका क्षेत्रभित्र रहेका सबै क्रसर उद्योगको अनुगमन गर्ने तयारीमा छौं । अनुगमनका क्रममा कुनै कैफियत पाइएमा कानुनबमोजिम कारबाही गरिनेछ ।’ क्रसर उद्योगले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्दै आएको जनगुनासो आएको उनको भनाइ छ । नदीजन्य पदार्थ उत्खननको ठेक्का पाएका कम्पनीलेसमेत जथाभाबी रूपमा उत्खनन र पायक पर्ने स्थानमा भण्डारण गर्ने गरेको पाइएकाले सचेत गराइएको अध्यक्ष पौडेलले बताए । विगतका वर्षमा नदीजन्य पदार्थको ठेक्का नलाग्दा अवैध उत्खनन तथा चोरी–निकासी भई राजस्व संकलनमा कमी भए पनि राप्ती सोनारी गाउँपालिकाले गत आर्थिक वर्षदेखि ठेक्का प्रक्रियाबाट राजस्व संकलन गर्दै आएको छ । चालु आवमा गाउँपालिकाअन्तर्गत पर्ने विभिन्न पाँचवटा घाटमा नदीजन्य पदार्थको एकमुष्ट ठेक्का लागाइएको छ । नवलपरासीको सरवल गाउँपालिका–१ स्थित चुर कन्स्ट्रक्सन एन्ड ढकाल सप्लायर्सले पाँचवटै घाटको नदीजन्य पदार्थको एकमुष्ट ठेक्का सम्झौता गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवकोटाले जानकारी दिए । उनका अनुसार राप्ती सोनारी–२, ४, ५, ६ र ९ मा पर्ने बग्दैलाघाट, सिधनियाघाट, आलिनगरी, खल्लाटपरी घाट र जलालाघाटको ठेक्का सम्झौता भएको हो । चालु आवमा नदीजन्य पदार्थ उत्खननका लागि समयमै बोलपत्र आह्वान गरी ८ करोड ६७ लाख ९६ हजार ९ सय रुपैयाँमा ठेक्का सम्झौता भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवकोटाले जानकारी दिए ।
प्रभावकारी बन्दै ‘दिगो सडक’ कार्यक्रम
बलेवा । स्थानीय तह गठनपछि पहिलो कार्यकालको तेस्रो वर्षमा मात्रै जैमिनी नगरपालिका–८ छिस्ती सडक सञ्जालले जोडिएको थियो । अहिले यहाँका अधिकांश बस्तीमा बाह्रै महिना सवारीसधान सञ्चालन हुन थालेका छन् । नगरले कालीगण्डकी करिडोर र कृषि सडकलाई मूल मार्ग मानेर अन्य सडक सञ्जाल विस्तार गरेको हो । यसअघि पूर्वाधार विकासको पहिलो खुड्किला मानिएको सडक नपुगेकाले अन्य पूर्वाधारको विकासका लागि नगरसँग चुनौतीका चाङ थिए । अहिले जैमिनीका सबै गाउँ सडक सञ्जालले जोडिएका छन् । सबै वडा कार्यालयमा बाह्रै महिना सवारी सञ्चालन हुने गरी सडक सञ्जाल विस्तार भए पनि अझै पर्याप्त नभएको जैमिनी–८ छिस्तीका नारायण पौडेलको भनाइ छ । पालिका सदरमुकाम कुश्मीशेरा बजार जिल्ला सदरमुकाम बागलुङ बजारसँग कालोपत्र सडकले जोडिएको छ । कुश्मीसेराबाट वडाहरू जोड्ने सडकका नाकामा कालोपत्र र ढलानको काम सुरु भएको छ । नगरले सडक विस्तारमा नयाँ रणनीति लागू गरेको छ । जैमिनीले सडक बनाउने मात्रै नभई बनेका सडकलाई टिकाउन प्रयत्न गरिरहेको जनाएको छ । पहिलो कार्यकालमा सुरु भएको दिगो सडक कार्यक्रमलाई जैमिनीले नमूनाका रूपमा कार्यान्वयन गरिरहेको नगर उपप्रमुख हरिहर शर्माले बताए । उनका अनुसार १० वडा रहेको नगरमा १३ दिगो सडकका योजना छन् । यी सडक स्तरोन्नति भइसक्दा जैमिनीका सबै वडामा बाह्रै महिना सवारीसाधन सहजै पुग्ने नगर उपप्रमुख शर्माले बताए। ‘जैमिनी–१, ५, ६, ७ र ८ लाई छोएर राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर उत्तरबाट दक्षिण लाग्छ,’ उनले भने, ‘वडा नं १, २, ४, ९ र १० लाई छोएर बागलुङ शान्तिपुर कृषि सडक बनेको छ ।’ यिनै दुईवटा मुख्य सडकलाई आधार बनाएर जैमिनीले हरेक वडा जोड्न दिगो सडक कार्यक्रम सञ्चालनमा ल्याएको हो । ‘दिगो सडक कार्यक्रम हरेक वडामा क्रमबद्ध रूपमा पक्की सडक पुर्याउने लक्ष्यका साथ सञ्चालनमा ल्याइएको कार्यक्रम हो,’ शर्माले भने, ‘हामीले गौरव गर्न सकिने गरी १३ सडक तयार गर्दैछौँ ।’ हरेक वर्ष दिगो सडकका लागि बजेट विनियोजन हुने गरेको उनले जानकारी दिए । पक्की नाली तयार, ग्राभेल गर्ने, पर्खाल लगाउने र सडक टिकाउने काममा नगर लागेको छ । टुक्रे योजनामा गरेको लगानी खेर जाने भएकाले पनि दिगो सडक कार्यक्रम ल्याइएको शर्माको भनाइ छ । दिगो सडकले सर्वसाधारणलाई आवतजावतमा सहज मात्रै होइन, कृषि उपजको बजारीकरण र पर्यटनमा समेत सहयोग गर्ने बुझाइ नगरको छ । हरेक दिगो सडकसँग नगरभित्रका कुनै न कुनै पर्यटकीय क्षेत्र जोडिएका छन् । ‘घुम्न आउनेहरूका सवारी सडककै कारण भनेको ठाउँमा पुग्दैनन्, हामीले दिगो सडक तयार गरे त्यो समस्या हट्छ,’ नगर उपप्रमुख शर्माले भने, ‘सडकमा लगानी गर्नु भनेको आर्थिक क्षेत्रमा जोडिनु पनि हो ।’ जैमिनीधाम, हाँडिकोट टापु, गाजाको दहजस्ता धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र जोड्न दिगो सडक प्रयोगमा आउने उनले बताए । बजारीकरण र पर्यटनमा सडकले राहत भूगोलका हिसाबले दूरदराजमा रहेका गाउँमा उत्पादित कृषि उपज तथा पशुधनलाई बजार पुर्याउन अहिले पनि ढुवानीमा समस्या हुने गरेको छ । ठूला साधन नपुग्ने र साना सवारी तथा मानव श्रमशक्ति महँगो पर्ने भएकाले किसान निराश छन् । उत्पादनभन्दा ढुवानी लागतका कारण मर्कामा परेका किसानलाई दिगो सडकले सहयोग गर्ने नगर उपप्रमुख शर्माले बताए । रासस
सहकारी र लघुवित्तको रकम ठगी गर्नेहरूलाई सरकारले संरक्षण गरिरहेको छ : केसी
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सहकारी र लघुवित्तको रकम ठगी गर्नेहरूलाई सरकारले संरक्षण गरिरहेको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा आयोजति एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । केसीले अहिले देशव्यापी रूपमा सहकारी र लघुवित्त ठगी खाने भाँडो भएको बताए । उनले अहिल राष्ट्रिय परिस्थिति दिनप्रतिदिन चुनौतीतर्फ अघि बढिरहेको जिकिर गरे । केसीले नागरिकहरूमा निराशा छाएको बताए । उनले जनतामा निराशा र असन्तुष्टि आइरहेको भन्दै बिस्तारै समाज विद्रोह र अराजकतातिर उन्मुख भइरहेको बताए । केसीले भने, ‘अहिले देशव्यापी रूपबाट सहकारी र लघुवित्त ठगी खाने भाँडो भएको छ । राज्य त्यसलाई संरक्षण गर्ने, कारबाही भन्दा संरक्षण गर्नेतिर लागेको छ । यो किसिमको परिस्थितिमा यो संस्था, जुन संस्थामा हामी सबै आबद्ध छौँ, यसलाई एकदम निष्कलंक बनाउँदै एउटा लक्ष्यमा पुग्नुपर्छ ।’ उनले अहिले सरकार सरकार जसरी र संसद् संसद् जसरी सञ्चालन हुन नसकेको बताए ।
अल्लो उद्योगमा ३५ बढी महिलालाई रोजगारी
दाङ । तिलकुमारी पुनले घोराही उपमहानगरपालिका–१३ मा अल्लो व्यवसाय सञ्चालन गरेकी छन् । ‘विश्वासिलो अल्लो धागो तथा कपडा उद्योग’मार्फत उनले व्यवसाय गर्दै आएकी छन् । ४० वर्षिया पुनको घरमा बुवा, आमा, दाई र आफूसहित दुई दिदीबहिनी छन् । आफ्नै खुट्टामा उभिएर स्वरोजगार बन्दै जाँदा बिहे गर्नुपर्छ भन्ने सोचसमेत नआएको उनले बताइन् । विसं २०५७ मा पूर्वी रुकुमबाट दाङ बसाइँ सरेर आएकी पुनले घोराही–१३ मा सञ्चालन गरेको व्यवसायबाट प्रशस्त आम्दानी गर्दै आएकी छन् । सानै उमेरदेखि अल्लो उद्यममा लागे पनि व्यावसायिकरूपमा विसं २०७३ देखि लागेको पुनले जानकारी दिइन् । उनका अनुसार अहिले उद्योगमा ३५ जना बढी स्थानीय महिलाले रोजगार पाएका छन् । उद्योगमा आबद्ध महिला आजभोलि सेवार खोलामा घरेलु प्रविधिबाट प्रशोधन गर्नका लागि जङ्गलमा पाइने अल्लोलाई पानीमा पकाउने, कमेरो माटो लगाउने, घाममा सुकाउने, पिट्नेलगायत काम गर्दै आएका छन् । यी सबै प्रक्रिया पूरा गरेपछि मात्रै धागो काट्नका लागि भुवा तयार हुन्छ । उद्योगमा काम गर्दै आएका महिलालाई उद्योगका प्रमुख तिलकुमारीले आठ घण्टा काम गरेबापत दैनिक ५ सय रुपैयाँ दिने गरेको बताइन् । आवश्यक कच्चापदार्थ दार्चुला, अछाम, बाजुराबाट ल्याउने गरेको उनको भनाइ छ । आफ्नो व्यवसायबाट पूर्ण सन्तुष्टि रहेको बताउँदै उनले वार्षिक ५ लाख रुपैयाँ आम्दानी गर्दै आएको जानकारी दिइन् । अल्लोको कपडामात्रै हैन धागो बेचेर पनि राम्रो आम्दानी भएको उद्यमी पुनले बताइन् । ‘कपडा तयार गर्नसके थोरै धागोबाट राम्रै आम्दानी हुन्छ,’ उनले भनिन्, ‘धागो दाङसहित जिल्ला बाहिर बिक्ने गरेको छ ।’ तयारी कपडा पनि राम्रो बिक्री हुने गरेको भन्दै अल्लोको धागो काठमाडौं र भारतसम्म पठाउने गरिएको उनले जानकारी दिइन् । ‘पहिले घरधन्दामै दिन बित्थ्यो,’ अर्का उद्यमी मनमाया रोकाले भनिन्, ‘अहिले घरको सबै काम सकेर पनि उद्यमले दिएको रोजगारले राम्रो आम्दानी भइरहेको छ ।’ ७० वर्षीया मनमायाले आफूजस्ता धेरै महिलाले फुर्सदको समय सदुपयोग गर्दै आएको बताइन् । बसेर काम गर्दा धेरै दुःख नहुने उनको अनुभव छ । घरमै खाली बसिरहनुभन्दा आफ्नो खर्च आफैँ काम गरेर जुटाउन सफल भएको भन्दै रोकाले खुसी व्यक्त गरिन् । उनका अनुसार उद्योगमा अल्लोबाट कोट, ब्याग, जुत्ता, सललगायत सामग्री पनि उत्पादन हुने गरेको छ । अल्लोको धागोलाई सुकाउने र पकाउने सबै काम मिलेर गर्ने गरेको अल्लो उद्योगमा काम गर्दै आएकी घोराही–१८ का भूमिका रोकाले बताइन् । आजभोलि छोराछोरीको वार्षिक परीक्षा सकिएको हुँदा खाली समयमा यही उद्योगमा काम गर्दै आएको उनको भनाइ छ । खाली समयको पनि सदुपयोग हुने र कमाइ हुने हुँदा आफूजस्ता धेरै स्थानीय महिलालाई सहज भएको रोकाले बताइन् । उनका अनुसार देशका विभिन्न सहरमा सञ्चालन हुने मेला महोत्सवमा प्रदर्शनीका लागि पनि यहाँका उद्यमीले अल्लोका कपडा लैजाने गर्छन् । उद्योगमार्फत अन्य दिदीबहिनीलाई पनि खाली समयको सदुपयोग गर्दै स्वरोजगारमा जोड्न पाएका पुनको भनाइ छ । उद्योगमा काम गर्दा आर्थिक आम्दानी हुनुका साथै खाली समयको समेत सदुपयोग भइरहेको उद्योगमा सहभागी महिलाको भनाइ छ । अर्काको देशमा दुःख पाउनुभन्दा स्वदेशमा स्वरोजगार बन्न आवश्यक रहेको पुनले बताइन् । महिलालाई स्वरोजगार बनाउन स्थानीय सरकारले विशेष योजना तथा कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिइन् ।
दबाब र प्रभावबिना काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन
इलाम । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कुनै पनि दबाब र प्रभावमा नपरी काम गर्न इलामस्थित सुरक्षा निकायलाई निर्देशन दिएका छन् । इलामस्थित प्रमुख जिल्ला अधिकारी तथा जिल्लाका सुरक्षा प्रमुखसँग शनिबार गरिएको छलफलमा उनले जनताले अनुभूत गर्ने खालको काम गर्न निर्देशन दिएका हुन् । गृहमन्त्री लामिछानेले शान्ति, सुरक्षा तथा सुव्यवस्था कामय राख्न एवं अपराध नियन्त्रणमा कुनै सम्झौता नगर्न निर्देशन दिए । ‘तपाईंहरू कोही कसैको दबाब र प्रभावमा नपरी काम गर्नुहोला, कानुन पल्टाउँदा जे भन्छ त्यही गर्नुहोला, कानुबमोजिम काम गर्न गृहमन्त्रीको निर्देशन र आदेश पर्खिरहन पर्दैन,’ उनले भने, ‘तपाईंहरूको अबको प्रगति विवरण कागजमा होइन, तथ्यांकमा आउनुपर्यो ।’ सेवा प्रवाहमा नागरिकको गुनासो नआउने गरी काम गर्न गृहमन्त्री लामिछानेले निर्देशन दिए । उनले पीडितको पक्षमा राज्य छ भन्ने अनुभूत हुनेगरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए । ‘तपाईंहरूले कानुनको पालना गराउनुहोस्, कानुनविपरीत काम गर्ने छुट कसैलाई छैन,’ उनले भने । गृहमन्त्री लामिछानेले आफूहरु जनताका लागि काम गर्न सरकारमा सहभागी भएको उल्लेख गर्दै मन्त्रालय मातहतका निकायले प्रगति विवरण कागजले बोल्ने, मन्त्रीले अनुभूत गर्ने खालको नभई जनताले परिवर्तन भयो भन्ने प्रत्यक्षरुपमा महसुस हुने गरी काम गर्न निर्देशन दिए । उनले सुशासन, सेवा प्रवाह, भ्रष्टाचार नियन्त्रण, लागुऔषध एवं अवैध चोरीनिकासी नियन्त्रणमा विशेष ध्यान दिएर काम गर्नुपर्नेमा जोड दिए । इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट औपचारिकरुपमा उम्मेदवारी घोषणा गर्ने कार्यक्रममा सहभागी हुन गृहमन्त्री लामिछाने इलाम आएका हुन् । रास्वपाले उक्त क्षेत्रमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यसअघि उनी आजै किराँत धर्मगुरु आत्मानन्द लिङ्देनलाई भेट्न माङ्सेबुङ–५ लारुम्बा पुगेका थिए ।
महोत्तरीको समग्र विकासमा सरकारले पहल गर्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महोत्तरी जिल्लाको समग्र विकासका लागि आफूले निरन्तर पहल गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई जारी राख्ने बताएका छन् । महोत्तरीका सांसद, स्थानीय जनप्रतिनिधि एवं उद्योग वाणिज्य संघ र राजनीति दलका प्रतिनिधिमण्डलले शनिबार बालुवाटारमा गरेको भेटमा प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमा पनि महोत्तरीलाई प्राथमिकतामा राख्ने बताए । जलेश्वर नगरको कार्यक्रममा सरकारको सहयोग रहने र जलेश्वर–जनकपुर–ढल्केवर करिडोरको स्तरोन्नतीलगायत विषयमा आफूले ध्यान दिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासन केन्द्रमा राखेर देशको समग्र विकासमा सरकार निरन्तर लागिपरेको स्पष्ट पारे ।
जापानमा फस्टाउँदै नेपाली रेष्टुरेन्ट व्यवसाय
टोकियो । जापानमा नेपाली मौलिक खानाको परिकारसहित सञ्चालनमा आएका रेष्टुरेन्ट व्यवसाय फस्टाउँदै गएको पाइएको छ । राजधानी टोकियोका अधिकांश रेल स्टेशनमा सञ्चालित रेष्टुरेन्टमा समेत दाल, भात, गुन्द्रुकको अचारसहितको खानाको स्वाद लिन पाइन्छ । जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) का पदाधिकारीसँग केही समयअघि भएको भेटमा जापानमा हाल करिब आठ हजारको सङ्ख्यामा नेपाली रेष्टुरेन्ट सञ्चालनमा रहेको जानकारी दिए । वैदेशिक रोजगारीका सिलसिलामा सुरुआती दिनमा भारतीयद्वारा सञ्चालित रेष्टुरेन्टमा भान्सेका रुपमा पुगेका नेपाली नागरिक पछिल्लो समय आफैँ उक्त व्यवसाय सञ्चालन गर्दैआएका छन् । अहिले नेपाली रेष्टुरेन्ट सञ्चालकले उल्टै ठूलो सङ्ख्यामा भारतीय र पाकिस्तानी नागरिकलाई रोजागारी प्रदान गरेको पाइएको छ । नेपालीले जापानका विभिन्न ठाउँमा कम्पनीकारुपमा रेष्टुरेन्ट खोल्ने र नेपालबाटै कामदार मगाउने क्रमसँगै जापानमा नेपाली रेष्टुरेन्टको सङ्ख्या ह्वात्तै बढेको छ । रेष्टुरेन्टमा काम गर्ने नेपाली भान्सेको मासिक सरदर न्यूनतम रु एक लाख ५० हजारसम्म कमाइ हुने गरेको छ । नेपाली व्यवसायीले लगानी र सञ्चालनका आधारमा मुनाफा प्राप्त गर्दैआएका छन् । पछिल्लो समय जापानमा एउटै नेपालीले २० वटासम्म रेष्टुरेन्ट सञ्चालन गर्दैआएको पाइएको छ । त्यसभन्दा कम रेष्टुरेन्ट सञ्चालन गर्ने नेपाली व्यवसायीको सङ्ख्या उल्लेख्य रहेको छ । रेष्टुरेन्ट व्यवसायीले नेपालबाट कामदार मगाउँदासमेत शुल्क लिने गरेकाले यो व्यवसाय दोहोरो रकम आर्जनको माध्यम बनेको छ । जापानमा रेष्टुरेन्ट व्यवसायमा देशका अरु भागको तुलनामा खासगरी बागलुङ, पर्वत, स्याङ्जा, गुल्मी, अर्घाखाँचीलगायतका जिल्लाका बासिन्दा बढी संलग्न छन् । विदेशमा रहेर पनि नेपाली परिकार खान पाइने भएकाले साँझ र बिहान त्यस्ता नेपाली रेष्टुरेन्टमा नेपालीको उपस्थिति बाक्लो देख्न पाइन्छ । नेपाली रेष्टुरेन्टमा ८० प्रतिशत ग्राहक भने जापानी नै हुने गरेको पाइएको छ । नेपाली रेष्टुरेन्टमा भारतीय खाना ‘नान’ र ‘करी’ पनि उत्तिकै लोकप्रिय छ । जापानमा अध्ययनका सिलसिलामा आएका हजारौँ विद्यार्थी पनि आफ्नो पढाइ सकिएपछि रेष्टुरेन्ट व्यवसायमा संलग्न हुने गरेका गैरआवासीय नेपाली समाजका अभियन्ता भुषण घिमिरे बताउँछन् । जापानको टोकियोमा होस् वा ओकिनावामा, यहाँ सञ्चालित रेष्टुरेन्ट व्यवसायका माद्यमबाट नेपाली कला, संस्कृति, वेशभूषा, खानपान र भाषाको प्रवर्द्धनमा उलेख्य योगदान पुगेको छ । रेष्टुरेन्टको नाम पनि रातोमाटो, नमस्ते, एभरेष्ट, गोधुली, मनकामना, लुम्बिनी, निम्तो, चिनो, आँगन, हार्दिक र चमेलीजस्ता नेपाली मौलिक नाम राखिएको पाइन्छ । त्यसो त कतिपय जापानी रेष्टुरेन्टको अग्रभागमा काम गर्नेसमेत नेपाली नै रहेका हुन्छन् । हाल जापानमा अध्ययनसहित विभिन्न पेसा व्यवसायमा रहने नेपालीको सङ्ख्या करिब एक लाख ६३ हजार रहेको छ । दालभात, तरकारीका अलवा कोदो र फापरको ढिँडो, मःमजस्ता परिकार तथा ब्यञ्जनले नेपाली खानालाई जापानमा परिचित बनाएको छ । अहिले जापानमा रेष्टुरेन्ट व्यवसायी, भान्से अथवा ‘वेटर’मात्र नभई विभिन्न क्षेत्रमा स्थापित रही ख्याति कमाउनेको सङ्ख्या पनि थुप्रै छ । टोकियो होस् वा अरु कुनै सहरका रेष्टुरेन्टमा फहराइएको नेपाली झण्डाले मुलुकको चिनारी र पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याइरहेको सहजै अनुमान गर्न सकिन्छ । नेपाली रेष्टुरेन्टमा तयार हुने चिकेन, मटन, छोइला, हल्का पेयपदार्थ जापानी युवायुवतीमाझ लोकप्रिय बन्न पुगेको छ । जापानमा अध्ययनरत नेपाली विद्यार्थीलाई पनि साँझ÷रातिको समय मिलाएर त्यस्ता रेष्टुरेन्टमा काम गर्ने अवसर मिलेको छ । उनीहरुले त्यो समयमा काम गरेबापत अतिरक्ति आम्दानीसमेत प्राप्त गर्दै आएका छन् । होकाइडोदेखि ओकिनावासम्म त्यस्ता नेपाली रेन्टुरेन्ट छयाप्छाप्ती छन् । जापानमा कुनै पनि कम्पनी खोलेपछि रेष्टुरेन्टलगायत व्यवसाय सञ्चालन गर्न सहज हुने गर्छ । कम्पनीअन्तर्गत अधिकांशले सजिलोका लागि रेष्टुरेन्टलाई नै लिने गरेको पाइएको छ । जापानमा ५० लाख रुपैयाँ ऐन धरौटी राखेपछि कम्पनी खोल्न पाइन्छ । जापानमा लगानीअनुरूप खाना खुवाएबापत रेष्टुरेन्टबाट राम्रै आम्दानी प्राप्त हुने भए पछि नेपालीहरुमा रेष्टुरेन्ट सञ्चालनको मोह बढेको हो । पछिल्लो समय यस व्यवसायमा प्रतिस्पर्धा भएसँगै खानाको गुणस्तर र दररेट भने खुम्चिएको पाइएको छ । टोकियोको सिञ्जुस्थित सिनोगुवोमा नेपाली नागरिक बसोबास गर्ने तथा रेष्टुरेन्ट सञ्चालन गरिएको क्षेत्र हो । जापानीमा भात नै रेष्टुरेन्टको एउटा मुख्य मेनु भएकाले नेपाली रेष्टुरेन्टमा दालभात तरकारी नै प्रायः खाने गरेको पाइन्छ । जापानमा सञ्चालनमा रहेका रेष्टुरेन्टमा कम्तीमा तीनदेखि पाँच जनासम्म कामदारले रोजगारीको अवसर प्राप्त गरेको पाइएको छ । जापानमा कुनै पनि कामदारलाई मासिक एक लाख ८० हजार रुपैयाँभन्दा कम तलब दिन मिल्दैन । तर, नेपालबाट भर्खर गएका र आवश्यक सीप हाँसिल गरिनसकेका ‘वेटर’ले भने सालाखाला एक लाख ३० हजार रुपैयाँ तलब सुविधा प्राप्त गरेको पाइयो । अरु स्थानका तुलनामा टोकियो महँगो सहर भएकाले यहाँका ग्रामीण क्षेत्रमा काम गर्नेको कमाइ बढी हुने गरेको छ । सिनोकुवामा रेष्टुरेन्टका सबै मेनुमा नेपाली खाना रहने गरी खोलिएको भूषण घिमिरेको नेपाली मःम रेष्टुरेन्ट पनि त्यस क्षेत्रको लोकप्रिय रेष्टुरेन्टको सूचीमा छ । नेपाली रेन्टुरेन्टमा ग्राहकले नेपाली खानाको मूल्य एक हजारदेखि दुई हजार पाँच सय रुपैयाँसम्म तिर्ने गरेको पाइयो । एउटा रेष्टुरेन्टले सामान्य हिसाबले सञ्चालन गर्न मासिक न्यूनतम ३० लाख रुपैयाँसम्मको कारोबार गर्नुपर्छ । नेपाली खानाका अतिरिक्त जापानी, भारतीय, थाईलैण्ड र भियतनामका परिकार पनि त्यस्ता रेष्टुरेन्टमा बढी पाइन्छ । ठूला महल र व्यापारिक चोकमा भाडा तथा खाना महँगो पर्छ । होटल तथा विभिन्न कम्पनीमा काम गर्ने नेपाली महिलाको सङ्ख्या पनि उल्लेख्य छ । टोकियोको मध्यभागमा नेपाली मौलिक परम्परागत काठ र रातोका सामग्रीबाट सजावट गरिएको रातोमाटो रेष्टुरेन्टका सञ्चालक शिवहरि पौडेलले आफ्नो रेन्टुरेन्टमा नेपाली परिकारको स्वाद लिन युवायुवतीको बाक्लो उपस्थिति रहने गरेको प्रतिक्रिया दिए । जापानमा पछिल्लो समय रेष्टुरेन्टलगायतका व्यवसाय बढेको र आफूले १२ नेपालीलाई रोजगारी प्रदान गरिरहेको अभियन्ता घिमिरे बताउँछन् । एक दशकअघिसम्म जापानको कमाइले नेपालका ठूला सहरमा घरजग्गा किन्न सकिने भएपनि पछिल्लो समय भने नेपालमा बढेको महँगीले सकस भएको उनको भनाइ छ । पछिल्लो समय नेपालमा भएको महँगी र बेरोजारीको समस्याले अप्ठ्यारोमा पारेको अभियन्ता घिमिरे बताउँछन् । विदेशबाट फर्केका कैयौँ नेपाली स्वदेश फर्किएपछि पुनः विदेशिन परेका प्रशस्त उदाहरण छन् । जापानमा रहेका विदेशीमध्ये छैटौं ठूलो जनसङ्ख्या नेपाली रहेको तथ्यांक छ । जापानमा रहेका नेपालीमा सबैभन्दा बढी विद्यार्थी छन् । नेपाल र जापानबीच सन् १९५६ सेप्टेम्बर १ तारिखमा औपचारिकरुपमा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । तर करिब डेढ सय वर्षअघिदेखि नै दुवै देशबीच सम्बन्ध ऐतिहासिक र प्रगाढ रहीआएको छ । नेपालको विकासमा सहयोग गर्ने मुलुकमा जापान अग्रस्थानमा पर्छ । रासस
६ महिनामै उप्कियो लोकमार्गको कालोपत्र
बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको घोडाबाँधे–गलकोट खण्डको कालोपत्र ६ महिना नबित्दै उप्किएको छ । कालोपत्र उप्किएपछि सडकमा खाल्डाखुल्डी भएको छ । एक दशकअगाडि कालोपत्र भएको घोडाबाँधे–गलकोट खण्ड जीर्ण बनेपछि मर्मत गरिएको थियो । निर्माण कम्पनीले गत असोजमा कालोपत्र गरेको सडक एक महिनापछि उप्किन थालेको थियो । अहिले लोकमार्गको बीच भागमा ठूला–ठूला खाल्डा परेका छन् । कालोपत्र उप्किएपछि सडक हिलाम्य र धुलाम्मे बन्ने गरेको छ । गुणस्तरहीन कामका कारण कालोपत्र उप्किएको स्थानीयले आरोप लगाएका छन् । विसं २०७९ असार २२ मा लोकमार्ग कार्यालयसँग सम्झौता गरी जोशी निर्माण कम्पनी काठमाडौंले मर्मतको काम गरेको थियो । निर्माण कम्पनीले कालोपत्र गरेको लोकमार्गको घोडाबाँधे भ्यूटावर, काफलठुटा, झाँक्रीस्थान नरठाँटीलगायत दर्जनौँ ठाउँमा उप्किएको छ । कालोपत्र उप्किएर खाल्डाखुल्डी बनेपछि सडकमा यात्रा जोखिमपूर्ण भएको सवारी चालक बलबहादुर सुनारले बताए । ‘ठेकेदारले सुरुमा राम्रो काम गरिरहेको थियो तर कालोपत्र गर्ने बेलामा कमसल सामान प्रयोग गरेछ, अहिले गाडी कुदाउने खालको सडक छैन, जताततै खाल्डाखुल्डी र हिलोधुलो छ,’ चालक सुनारले भने, ‘गुणस्तरहीन काम भएकाले सरकारले यस्तालाइ कारबाही गर्नुपर्छ ।’ गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले लोकमार्गअन्तर्गत गलकोट खण्डको धेरै ठाउँमा समस्या भएको बताए । नरेठाँटीदेखि भ्यू टावरसम्मको सडक कतै कालोपत्र उप्किएको, कतै नाली पुरिएको त कतै सडकको ‘लेभल’नै नमिलेको उनको भनाइ छ । लोकमार्ग मर्मतका लागि निर्माण कम्पनीले १३ करोड ९९ लाख रुपैयाँमा आगामी असोज २१ गतेसम्म सडक मर्मत सक्ने गरी ठेक्का लिएको थियो । मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका सूचना अधिकारी इञ्जिनियर पवन सुवेदीले निर्माण कम्पनीले समयमै काम सके पनि गुणस्तरीय नभएको स्वीकारे । इञ्जिनियर सुवेदीले कालोपत्र भएको एक महिना नबित्दै उप्किएको सडकलाई पुनः मर्मत गर्न लगाएको र बिग्रिएको ठाउँमा थप मर्मत गर्न आग्रह गरेको बताए । ‘निर्माण कम्पनीले जिम्मा लिएको जति स्थानमा सडक भत्किएको छ, कालोपत्र उप्किएको छ, त्यो सबै उसैले बनाउनुपर्छ, यसको जिम्मेवार निर्माण गर्ने कम्पनी नै हो, उनीहरुलाइ काम गर्नुपर्यो भनेर हामीले भनिरहेका छौँ,’ सुवेदीले भने, ‘काम गरिरहेकै बेला पनि कालोपत्र उप्किएको गुनासो आएपछि मर्मत गर्न लगाएका थियौँ । अहिले फेरि धेरै ठाउँमा उप्किएछ । त्यो निर्माण कम्पनीले जिम्मेवार भएर मर्मत गर्नुपर्छ ।’ मध्यपहाडी लोकमार्ग बागलुङ जिल्लाभित्र करिब एक सय ४२ किलोमिटर पर्छ । त्यसमध्ये बिउँ खण्डको १२ किलोमिटरबाहेक अधिकांश सडक कालोपत्र भइसकेको छ ।