विकासन्युज

पहाडी भू-भागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। आइतबार अहिले बिहान कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भू-भागमा आंशिक देखि मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ। दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । देशको पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी तथा कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सुक्खा बन्दरगाह र तेस्रो मुलुकबाट आयात निर्यातको माग

महोत्तरी । यहाँका उद्योगी, व्यवसायी र जनप्रतिनिधिहरुले जलेश्वर भन्सार कार्यालयमार्फत सुक्खा बन्दरगाह र तेस्रो मुलुकबाट आयात निर्यात सुविधाको माग गर्दै शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ज्ञापन–पत्र बुझाएका छन् । विसं २०२६ मा जलेश्वर नगरपालिका–३ मा निर्माण गरिएको उक्त भन्सार कार्यालय भौतिक पूर्वाधार, क्षेत्रफल र जनशक्तिको दृष्टिकोणले मधेस प्रदेशको वीरगञ्जपछिको दोस्रो ठूलो भन्सार कार्यालय रहेको भन्दै यस भन्सार कार्यालयलाई स्तरोन्नति गरी यहाँ सुक्खा बन्दरगाह र तेस्रो मुलुकबाट आयात निर्यातको सुविधा सञ्चालन गराउनुपर्ने उनीहरूको माग छ । यस भन्सार कार्यालयमार्फत सुुक्खा बन्दरगाह र तेस्रो मुलुकसँग आयात निर्यातको सुविधा प्रदान गरिएमा मधेस प्रदेशका महोत्तरी, धनुषा, सिरहा, सर्लाही, सप्तरीसहित पहाडी जिल्ला सिन्धुली, रामेछाप, उदयपुरलगायत जिल्लाका उद्योगी, व्यापारीलाई भारतबाट सामान आयात निर्यात गर्न सहज हुने र कम खर्चिलो हुने र विभिन्न दृष्टिकोणले व्यापारिक विकासमा योगदान पुग्ने ज्ञापनपत्रमा उल्लेख छ । भन्सारमा सुक्खा बन्दरगाह सञ्चालनका लागि ६५ बिघा जग्गा अधिग्रहण गरिसकिएको, चार दशमलव पाँच बिघा क्षेत्रफलमा यार्डहरू निर्माण भइसकेको, खाद्य परीक्षण प्रयोगशाला सञ्चालनमा रहेको र आवश्यक जनशक्ति पनि कार्यरत रहेको अवस्थामा सजिलै सुक्खा बन्दरगाह र तेस्रो मुलुकबाट आयात निर्यातको सुविधा प्रदान गर्न सकिने अवस्था रहेको जनाइएको छ । आर्थिक वर्ष २०७९/८० मा नेपाल सरकारको नीति तथा कार्यक्रममा जलेश्वर भन्सार कार्यालयमा बन्दरगाह सञ्चालनको विषय उल्लेख भएको, गत भदौमा इन्टरमोडल यातायात विकास समितिले स्थलगत सर्वेक्षण गरी नेपाल सरकारलाई प्रतिवेदन बुझाइसकेको र सो प्रतिवेदन अध्ययन गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भन्सार विभागसँग राय मागी प्रक्रियाअघि बढिरहेकाले सजिलै यहाँ सुक्खा बन्दरगाह सञ्चालन र तेस्रो मुलुकबाट आयात निर्यात सुविधा सञ्चालनमा ल्याउन सकिने ज्ञापनपत्रमा उल्लेख गरिएको छ । प्रधानमन्त्री दाहाललाई उद्योग वाणिज्य संघ महोत्तरीका अध्यक्ष जितेन्द्र चौधरी, जलेश्वर उद्योग वाणिज्य संघका अध्यक्ष लवराजा सिंह, गौशाला उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामराजाप्रसाद साह, बर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णुबहादुर खड्का, जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनार, मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलसहित जिल्लाका विभिन्न राजनीतिक दलका नेतालगायतले प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगी ज्ञापनपत्र बुझाएका हुन् ।

फेरि वामपन्थी एकतातर्फ फर्किएका छौं : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू फेरि वामपन्थी शक्ति एकताबद्ध हुने बाटोमा फर्किएको बताएका छन् । २४ औं जेलब्रेक स्मृति दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले अहिलेको सत्ता समीकरण निर्माणलाई वामपन्थी एकताको बाटोतिर फर्किएको रुपमा ब्याख्या गरेका हुन् । ‘अस्ति २०७४ को चुनाव अगाडि देशभक्त र वामपन्थीहरू एक भएर चुनाव लडौं भनेर प्रस्ताव मैले नै गरेको हो । त्यो कुरा तपाईंहरू सबैलाई थाहा छ । त्यसले झण्डै दुई तिहाईमा वामपन्थीलाई पुर्‍याइ पनि दियो । तर, दुर्भाग्य जसरी हामीले माओवादी पार्टीलाई एकीकृत राख्न सकेनौं, त्यसैगरी त्यो एकतालाई पनि बचाइराख्न सकेनौं । तर आज हामी फेरि त्यतैतिर फर्कंदैछौं र मैले भन्ने गरेको छु–देशलाई समाजवादको बाटोमा लैजान सकिन्छ,’ उनले भने । वामपन्थी एकताका लागि सबैले पहल गर्नुपर्ने प्रचण्डले बताए । ‘यो कुराको गहिराइलाई आत्मसात गरौं । एकताको निम्ति सबैले आ–आफ्नो ठाउँबाट वातावरण बनाऔं । हामी फेरि साँच्चै एउटा नयाँ इतिहास रचना गर्नसक्छौं,’ उनले भने ।

जनताको मन छुने र सबैले अपनत्व लिने बजेट ल्याउँछु : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आमजनता र सबै सरोकारवालाले स्वामित्व लिन सक्ने खालका कार्यक्रम बजेटमा समेट्न निर्देशन दिएका छन् । आर्थिक वर्ष २०८१/०८२ को बजेट तर्जुमासम्बन्धी मन्त्रालयमा शनिबार भएको एक कार्यक्रममा उनले अर्थसचिव कृष्णहरि पुष्कर, राजस्व सचिव रामप्रसाद घिमिरे, बजेट लेखन समितिका सहसचिवहरू, मन्त्रालयका सबै महाशाखा प्रमुख, विभागीय प्रमुख तथा महानिर्देशक र उपमहानिर्देशकहरूलाई राखेर बजेटको प्राथमिकताबारे सामुहिक निर्देशन दिएका हुन् । उत्पादन वृद्धिमार्फत रोजगारी सिर्जना गर्ने, आयात प्रतिस्थापन गरी वैदेशिक व्यापार घाटा कम गर्नेमा आफ्नो जोड रहने उनले बताए । त्यसका लागि उत्पादनमूलक उद्योग प्रवर्द्धनमा लगानी र निर्यात प्रवर्द्धनलाई जोड दिनुपर्ने उनको भनाइ थियो । अर्थमन्त्री पुनले बजेट निर्माण गर्दा सत्ता साझेदार दलहरूबीचको न्यूनतम साझा कार्यक्रमभित्र रही विषयगत मन्त्रालयहरूसँग समन्वय गर्न जोड दिए । सरकारको नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिबीच तालमेल हुनुपर्नेमा जोड दिँदै उनले त्यसका लागि सम्बद्ध निकायहरूबीच अन्तरसम्बन्ध स्थापनामा निरन्तर संवाद हुनुपर्ने बताए । मन्त्री पुनले भने, ‘बजेट विनियोजन गर्दा ‘बहुजन हिताय’ भन्ने मान्यताका आधारमा बढीभन्दा बढी जनतालाई छुने र उनीहरूले स्वामित्व लिनसक्ने हुनुपर्छ भन्ने प्रधानमन्त्रीज्यूको स्पष्ट निर्देशन छ । मैले तपाईंहरूलाई भन्ने पनि यही नै हो ।’ कृषिजन्य उपज र बजारबीच लिंकेज हुने कार्यक्रम बजेटमा राखिने बताउँदै उनले बजारको स्थायित्वका लागि उत्पादनको आकारमा वृद्धि जरुरी रहेकोमा जोड दिए । मन्त्री पुनले मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्ग आसपास क्षेत्रहरूमा नयाँ बजार र आर्थिक केन्द्र स्थापना गर्ने विषयलाई बजेटमा समावेश गर्न निर्देशन दिए । स्थानीय तहमा जाने समानीकरण अनुदानलाई आर्थिक वर्षको बीचमा संशोधन गर्न नमिल्ने व्यवस्था गर्न तथा सशर्त अनुदानका कार्यक्रम घटाउन निर्देशन दिँदै उनले राजस्वको अनुमान र परिचालनबीचको दूरी कम गर्ने तथा सार्वजनिक संस्थान सुधारलाई जोड दिने आफ्नो नीति रहेको उल्लेख गरे । अर्थमन्त्री पुनले यो वर्षको बजेट निजी क्षेत्र र लगानीमैत्री हुने बताए । निजी क्षेत्रलाई प्रोत्साहित हुने खालको बजेटले मात्र आर्थिक क्रियाकलाप विस्तार हुने उनको विश्वास थियो । ‘यो वर्षको बजेट निजी क्षेत्र र लगानीमैत्री हुनेछ’, उनले भने, ‘निजी क्षेत्रका जेन्युइन लगानीकर्ताका लागि ‘रेड कार्पेट’ बिछ्याउने नीति लिइने भएकाले यसकै वरिपरि रहेर बजेट बनाउनुपर्नेछ ।’ मन्त्री पुनले अर्थ मन्त्रायका सहसचिव धनीराम शर्माको नेतृत्वमा शुक्रबार सहसचिवहरू रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य रहेको बजेट लेखन समिति गठन गरेका थिए । १२ वर्षअघि बाबुराम भट्टराई नेतृत्वको सरकारमा पहिलोपटक अर्थमन्त्री हुँदा पुनले विपक्षीको अवरोधका कारण बजेट ल्याउन पाएका थिएनन् ।

घुम्नैपर्ने शैलुङका सय थुम्का

दोलखा । दोलखाको शैलुङस्थित ‘सय थुम्का’ देशकै रमणीय पर्यटकीयस्थलका रूपमा परिचित छ । समुन्द्री सतहबाट करिब तीन हजार चार सय मिटर उचाइमा अवस्थित ‘सय थुम्का’ जिल्लाको दक्षिण, पश्चिममा पर्छ । शैलुङ डाँडा प्रकृतिका हिसाबले मात्रै सुन्दर नभई धार्मिकस्थलका रूपमा पनि प्रसिद्ध छ । यहाँ जनैपूर्णिमा, बालाचतुर्दशी, बाह्रवर्षे मेलाजस्ता चाडपर्वमा दर्शनार्थीको भीड लाग्ने गर्दछ । शैलुङ डाँडामा एक सय वटा मनमोहक थुम्का छन् । तिनै थुम्काथुम्कीलाई सय थुम्की भनेर पर्यटकीय गन्तव्यका रूपमा विकास गरिएको हो । ती प्रत्येक थुम्काबाट पर्यटकले आकर्षक दृश्यावलोकन गर्न पाउँछन् । शैलुङ नाम तामाङ भाषाबाट राखिएको हो । स्थानीयका अनुसार तामाङ भाषामा ‘शै’ भनेको सय र ‘लुङ’ भनेको थुम्का भन्ने बुझिन्छ । शैलुङ डाँडाबाट मनमोहक गौरीशङ्कर, सगरमाथा, माछापुच्छ्रे, गणेश हिमाललगायतका हिमाल र काठमाडौं उपत्यकासँगै तराईका केही भाग देखिन्छ । यिनै सुन्दर दृश्यावलोकन गर्ने ठाउँका रूपमा सय थुम्का पर्यटकीय गन्तव्य बनेको स्थानीय सोभित उप्रेतीले बताए । धेरै आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइमा हिजोआज सय थुम्का पर्न थालेको छ । यहाँ १२ वर्षमा एकपटक खुल्ने शैलुङ्गेश्वर महादेवको मन्दिर, गोदावरीजस्ता धार्मिकरूपले चर्चित गुफा छन् । चारैतिर देखिने मनोरम हिमशिखरहरू, वनैभरि नाच्ने डाँफेमुनाल, चौंरी र विभिन्न जातजातिका चराचुरुङ्गी एवं जङ्गली जनावरले शैलुङका डाँडाकाँडामा जोकोही रमाउन सक्छन् । सय थुम्कामा हिउँदका बेला सेताम्मे हिउँ पर्ने भएकाले हिउँ खेल्नेको भीड लाग्ने गर्दछ । हिउँ खेल्नकै लागि टाढाटाढाका पर्यटकसमेत आउँछन् । उनीहरू हिउँमा खेल्ने र सेताम्मे शैलुङको दृश्यसँगै प्राकृतिक स्वाद लिने गर्दछन् । शैलुङको कोसेली के ? शैलुङको अर्को महत्वपूर्ण विशेषता भनेको यहाँको चौँरीको दूधका परिकार हुन् । यहाँका प्रायः सबै स्थानीयले चौँरीपालन गर्छन् । चौँरीको दूधबाट उनीहरूले मीठो छुर्पी, चिज उत्पादन गर्छन् । ती उत्पादन विभिन्न ठाउँमा लगेर बिक्री गरिन्छ । यहाँको चर्चित मुडेको आलु बिक्री केन्द्र मुडे भए पनि उत्पादित क्षेत्र शैलुुङ हो । स्थानीयले भेडाबाख्रा पाल्ने गरेका छन् । शैलुङमा व्यावसायिक तरकारीखेती गरिन्छ । लेकको चिसो हावापानीमा उत्पादित आलुु, काउली, बन्दा, केराउ, मटरकोसा गाडीमा काठमाडौं लगेर बिक्री गरिन्छ । बारीबाटै अग्र्यानिक कोसेलीका रूपमा आफन्तलाई तरकारी लैजाने चलन छ । घुम्न आउने पर्यटकले काउली र बन्दाको गुन्द्रुक कोसेलीका रूपमा लैजाने गर्छन् । ग्रेटवालाको झल्को शैलुङडाँडा पुुग्न नपाउँदै दोलखाको कालापानीबाट चीनको ग्रेटवालको झल्को दिने ढुुङ्गाको सिँढीसहितको पर्खाल बनाइएको छ । यो सिंढीबाट शैलुुङका थुम्कामा जान सहज हुने स्थानीयको भनाइ छ । सिँढी नहुँदा विगतमा पर्यटकले बाटो भुल्ने गरेका थिए । बाटो भुल्दा निकै कष्टकर यात्रा गर्नुपर्ने बाध्यता थियो । तर अहिले त्यो बाध्यता छैन । कसरी पुग्ने शैलुङ सय थुम्का ? शैलुङ क्षेत्र पुुग्न काठमाडौंबाट मुडेसम्म पुगेपछि चरिकोटतर्फका लागि दायाँबाट बाघखोरतर्फ जानुपर्छ । लामोसाँघुु जिरी सडक खण्डअन्तर्गत तामाकोसी बजार हुँदै चर्णावतिधाम पुगेर फस्कु हुँदै पनि शैलुुङ डाँडामा पुुग्न सकिन्छ । रामेछापको दोरम्बाबाट शैलुङ पुग्ने अर्को बाटो छ । सबैभन्दा सजिलो र सहज यात्रा भने काठमाडौंबाट दोलखा जाने बाटोमा पर्ने मुडेबाट चरिकोट जाने सडक छोडेर दायाँको सडक भएर जान सकिन्छ । करिब एक सय ३० किलोमिटर सडक पार गरेपछि शैलङको सय थुम्का पुुग्न सकिन्छ । यहाँ बास बस्नका लागि पर्यटक लक्षित होटल प्रशस्त खुलेका छन् । यहाँ पाइने जडीबुटी शैलुङका सय थुम्कामा विभिन्न किसिमका खानी हुनसक्ने स्थानीयको अनुमान छ । तर, हालसम्म कुनै अनुसन्धान र उत्खनन भएको छैन । यहाँ बहुमूल्य जङ्गली जडीबुटीका रूपमा पाइने पाँचऔँले, चिराइतो, मझिठो, च्यातुलगायत प्रशस्तमात्रामा पाइन्छ । पर्यटक सुरक्षा सय थुम्का क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटक बढ्न थालेपछि स्थानीयको अगुवाइमा प्रहरी चौकी माग गरिएको छ । जिल्ला प्रशासन कार्यलय दोलखाले प्रहरी चौकीका माग भए पनि निर्णय भईनसकेको जनाएको छ । यहाँ घुम्न आउने पर्यटकलाई स्थानीयले सहज वातावरणमा डुल्न घुम्नका लागि सहजीकरण गर्ने गरेका छन् । रासस

जनताको विकासको चाहना पूरा गर्न सबै एकजुट हुनुपर्छ : राष्ट्रपति पौडेल

चितवन । राष्ट्रपति रामचन्द्र पौडेलले समयअनुसार नेपाली जनताको विकासको चाहना पूरा गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् । चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका–५ घिन्टार जोड्ने त्रिशूली नदीमा बनेको पुलको शनिबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले केही भएन होइन, केही भएको छ र केही हुँदैन होइन, केही हुँदैछ भन्ने आश र विश्वासको जगमा नेपाली जनताको समयअनुसारको विकासको चाहना पूरा गर्न सबै एक भएर जुट्नुपर्नेमा जोड दिए । उनले देशको समृद्धिको मुख्य आधार कृषि क्रान्ति, पर्यटनको विस्तार र ऊर्जा शक्तिको विकाससँगै सुशासनको खाँचो औँल्याए । लोकतन्त्रप्राप्तिसँगै क्रमशः भएको विकासको गति र त्यसको स्तरोन्नतिलाई यस्ता पूर्वाधारका कामले भविष्यको बृहत्तर विकासको आयामलाई बढावा दिन आशा एवं भरोसा जगाएको उनको भनाइ थियो । राष्ट्रपति पौडेलले माथिल्लो जिम्मेवारीमा बसेकाहरूबाट काम सम्पन्न भएको छ कि स्थानीय जनताको मेहनतबाट मात्रै काम सम्पन्न भएको छ भन्ने कुराको अब मूल्यांकन गर्नुपर्ने बेला भएको बताए । ‘सरकारले धेरै योजनामा धेरै ठाउँमा धेरै बजेट राखेको छ, तर ती योजना अलपत्र छन्, तर जहाँ स्थानीय जनताले मेहनत गरेका छन्, त्यहाँ मात्रै काम सम्पन्न भएका छन्,’ उनले भने, ‘त्यसैले अब मूल्यांकन हुनुपर्छ कि माथिल्लो जिम्मेवारीमा बसेकाले काम सम्पन्न गरेका छन् कि स्थानीय जनताको मेहनतबाट मात्र काम सम्पन्न भएका छन् ।’ ठूलो त्याग, बलिदान र संघर्षबाट हामीले नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले आत्मनिर्भर नेपाली र समृद्धिसहित विकसित आधुनिक नेपाल निर्माण नै संघीय लोकतान्त्रिक गणतन्त्रको मुख्य लक्ष्य भएको बताए । ‘सफल राजनीतिक आन्दोलनको कार्यभार पूरा गरेपछि अब हाम्रो ध्यान सुशासन, विकास र समृद्धितर्फ केन्द्रित हुनुपर्छ, यसमा कहीँकतै द्विविधा हुनुहुँदैन,’ उनले भने । उत्पादन, रोजगारी, उद्योगधन्दासहितका आर्थिक क्रियाकलाप र निर्यातमुखी अर्थतन्त्रको विकास समयको माग भएको राष्ट्रपति पौडेलको भनाइ थियो । मुलुककै महत्वपूर्ण केन्द्र मानिएको चितवन, नवलपरासी र तनहुँको संगमस्थल पवित्र तपोभूमि देवघाटमा उपस्थित भएर यस क्षेत्रका बासिन्दासँग भेटघाट गर्न पाउँदा आफूलाई खुसी लागेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यहाँसम्म आइपुग्दा गर्नुपरेका संघर्ष र अनेक अवरोध तपाईहरूबाट छिपेको छैन भने । उनले दामोदर कुण्डबाट बगेर आएको कृष्णा (कालीगण्डकी) र गोसाइँकुण्डबाट बगेर आएको त्रिशूलीजस्ता पवित्र नदीको संगम देवघाटधाम क्षेत्रको व्यापक प्रचार गरी यसलाई राष्ट्रिय गौरवको योजनामा समेटेर यहाँको विकास गर्न आवश्यक भएको धारणा व्यक्त गरे । रासस

बनेपामा शुक्रबारे हाटबजार

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–४ नालाका रिया श्रेष्ठले पहिलो दिन करिब ८० किलोभन्दा बढी ब्रोकाउली बिक्री गरिन् । नगरपालिकाको कृषि शाखाले पहिलोपटक शुक्रबारदेखि सञ्चालनमा ल्याएको हाटबजारमा बिक्रीका लागि राखिएको ब्रोकाउली देखाउँदै उनले भनिन्, ‘दुस्ख गरी उत्पादन गरेको तरकारी आफैँले बेच्न पाएपछि धेरै आम्दानी गर्न सकिने रहेछ ।’ उत्पादन राम्रो हुने गरेको नालाका किसान श्रेष्ठले ठेकेदारलाई उनीहरूको भाउमा दिनुभन्दा आफैँले बेच्न पाएमा धेरै आम्दानी गर्न सकिने अनुभूति सुनाइन् । ‘बजारमा बेच्न लगेपछि ठेकेदारले जति दियो, त्यति नै थापेर जानुपर्ने हुन्थ्यो, यहाँ ल्याएर आफैँले बिक्री गर्दा त्यहाँको भन्दा निकै फाइदा हुँदोरहेछ’, उनले भनिन् । ठेकेदारलाई बेच्दा लगानीको केही खर्च उठ्ने गरे पनि धेरैजसो घाटामा बेच्नुपर्ने भएको उनले बताइन् । यसरी सधैँजसो आफैंले सिधै बेच्ने ठाउँ पाएमा धेरै फाइदा लिन सकिने उनको भनाइ छ । लप्सीका क्यान्डीहरु उत्पादन गरी बिक्री गर्दै आएकी नालाकी उद्योगी महालक्ष्मी श्रेष्ठले लप्सीबाट बन्ने विभिन्न परिकारको बिक्री गरी आम्दानी गरेकी छन् । जागरण लप्सी क्यान्डी उद्योग सञ्चालन गर्दै आएकी उनले किसानले आफ्ना उत्पादनहरू सिधैँ उपभोक्तामाझ बिक्री गरेर आम्दानी लिन सकोस् भनेर हाटबजार सञ्चालन गरेपछि बिक्री गर्ने अवसर मिलेको बताइन् । यसअघि उनीहरुले सिधै पसलहरूलाई बिक्री गर्ने र विदेशसम्म पनि पठाउने गरेको थियो । हाटबजारमा भने पहिलोपटक बिक्री गर्न ल्याएको उनले बताइन् । बेथानचोक गाउँपालिका–५ कामीडाँडाका निरमाया तामाङले मौरीपालन गरी उत्पादन गरेको महलाई हाटबजारमा बिक्री गर्न ल्याएकी छन् । दुई वर्षदेखि मौरीपालन व्यवसायमा लागेकी उनले उत्पादन भएको मह बिक्री गर्न खासै समस्या नभएको सुनाइन् । निरमाना मौरी कृषि तथा पशुपन्छी फार्म सञ्चालन गरी ५०र६० घार मौरी पालन गरेकी उनले यस्ता बजारहरू सञ्चालन गर्नाले व्यवसायमा लाग्न थप ऊर्जा प्राप्त हुने बताइन् । उनले तोरी, चिउरीलगायत फलफूलको रसबाट मह उत्पादन गरी बिक्री गर्दै आएकी छन् । नगरपालिकाले बजार सञ्चालनमा ल्याएपछि यहाँका किसानले उत्पादन गरेको विभिन्न वस्तुलाई बिक्रीका लागि सहज भएको बताएका छन् । बजारमा व्यापारीले बिक्री गरेको तरकारीभन्दा किसानले उत्पादन गरी सिधै बेच्न ल्याएको तरकारीमा मूल्यमा कम हुनुका साथै सहज रूपमा किन्न पाइएको उपभोक्ताहरूको भनाइ छ । नगरपालिकाका कृषि शाखाका कृषि प्राविधिक कमला हुमागाईंले किसानले दुःख गरी उत्पादन गरेको वस्तुहरू आफैँले सिधै उपभोक्तालाई बिक्री गर्न पाउने गरी हाटबजार सञ्चालनमा ल्याएपछि उत्साहित बनेका बताइन् । बजारमा किन्नुभन्दा यहाँ थोरै भए पनि सस्तोमा पाउने भएकाले उपभोक्ता र कृषक दुवैलाई फाइदा पुग्ने उनको भनाइ छ । हाटबजारमा सस्तो, ताजा, गुणस्तर र कम मूल्यमा सामान किन्न पाउने गरी सञ्चालनमा ल्याएको हाटबजारबाट उपभोक्ता र कृषक दुवैका लागि फाइदा पुग्ने अपेक्षा गरिएको छ । किसानको घरबारीमा जेजति उत्पादन हुन्छ, त्यो सबै यहाँ ल्याएर बिक्री गरी आम्दानी लिन पाउने व्यवस्था गर्न हाटबजार सञ्चालनमा ल्याएको नगरपालिकाले जनाएको छ । सञ्चालनमा ल्याएको बजार व्यवस्थापनका लागि व्यवस्थापन समितिले कृषकबाट सरसफाइ शुल्क मात्रै लिने गरी आवश्यक ठाउँ मिलाउने जनाइएको छ । महोत्सवका बेला दुई सय ५०–तीन सय वटासम्म स्टल राख्ने गरेको बनेपा नगरपालिकाको पुरानो बजार क्षेत्रको खुल्ला ठाउँ लायकु मञ्चमा कृषि शाखाले उक्त हाट सञ्चालनमा ल्याएको हो । नगरपालिकाले हरेक शुक्रबार सो ठाउँमा सञ्चालन गर्नेगरी ‘स्थानीय उत्पादन उपभोग गरौँ, स्थानीय उत्पादन बढाऔँ, दैनिक उपभोग्य वस्तु किनमेलका लागि लायकु हाटबजार जाऔँ’ भन्ने नाराका साथ हाटबजार सञ्चालनमा ल्याएको हो ।

सुस्तामा ५ करोडको शीतभण्डार उपयोगविहीन

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । पश्चिम नवलपरासीको सुस्तामा पाँच करोड रुपैयाँ लागतमा निर्माण गरिएको शीतभण्डार (चिस्यान केन्द्र) उपयोगविहीन भएको छ । जिल्लाको सुस्ता गाउँपालिका–४ नर्सहिमा निर्माण गरिएको शीतभण्डार प्राविधिक समस्याले प्रयोगविहीन भएको हो । सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनरायण उपाध्ययले उक्त शीतभण्डारमा केही प्राविधिकतर्फको काम बाँकी रहेकाले प्रयोगमा नआएको बताए । ‘शीतभण्डारलाई ठेकेदारले निर्माण सम्पन्न गरेर गाउँपालिकालाई हस्तान्तरण गरे पनि भित्र तथा बाहिरका केही प्रविधिक काम अधुरा छन्’, उनले भने । शीतभण्डार भित्र राखिने काठ (भुइँमा काठ बिछ्याइएको) नभएकाले प्रयोगमा ल्याउन तत्काल नसकिएको उनको भनाइ छ । उक्त काठ नराखेमा भण्डारण गरिएका आलु, प्याज तथा फलफूलहरू कुहिने भएकाले अहिलेसम्म सञ्चालनमा नआएको अध्यक्ष उपाध्ययले बताए । विद्युत नभएको, सुरक्षाको दृष्टिकोणले गार्ड बस्ने कोठा, तारबार तथा पर्खाल कम्पाउण्डलगायतका काम बाँकी रहेकाले सञ्चालनमा ढिलाइ भएको उनको भनाइ छ । अध्यक्ष उपाध्ययका अनुसार उक्त शीतभण्डारमा एक हजार मेट्रिकटनसम्म भण्डारण गर्न सकिन्छ । अहिले पाँच सय मेट्रिकटनबाट सञ्चालनको तयारी भइरहेको उनले जानकारी दिए । ‘शीतभण्डारलाई यही चैत मसान्तभित्र सञ्चालन गर्ने तयारी गरिरहेका छौँ । सके किसानलाई सञ्चालन गर्न भन्ने हो, सकेनन् भने सहकारीमार्फत वा सूचना निकालेर कुनै संस्थालाई जिम्मेवारी दिनेछौँ’, उनले भने । लुम्बिनी प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको उक्त शीतभण्डारमा अहिले पनि ३५ लाख रुपैयाँ खर्च भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले जानकारी दिए । सञ्चालनका लागि बाँकी प्राविधिक तथा केही पूर्वाधार निर्माण भइरहेको उनको भनाइ छ । भुसालका अनुसार निर्माण कम्पनीले शीतभण्डार सम्पन्न गरेर करिब तीन वर्षअघि नै गाउँपालिकालाई हस्तान्तरण गरेको थियो । तीन वर्षअघि सम्पन्न भएको उक्त शीतभण्डार सञ्चालनमा आउन नसकेपछि स्थानीय किसानलाई समस्या हुँदै गएको बताउँछन् । यहाँका केरा उत्पादक र अन्य किसानलाई कृषिजन्य उत्पादन भण्डारणमा चुनौती थपिएको केरा उत्पादक सङ्घ नवलपरासीका अध्यक्ष लख्खु यादवले बताए । किसानका लागि निर्माण गरिएको शीतभण्डार तत्काल सञ्चालनमा आउनुपर्ने उनको भनाइ छ । रासस