घरभन्दा सुन्दर शौचालय बनेपछि दङ्ग लहानको दलित समुदाय
सिरहा । सिरहाको लहान नगरपालिका–५ स्थित बालुवाटोलका दलित समुदायका शौचालय घरभन्दा सुन्दर बनेपछि सो समुदायका सदस्य दङ्ग छन् । गैरसरकारी संस्था वाटर एड नेपालको प्राविधिक सहयोग र लहान नगरपालिका, दलित जनकल्याण युवा क्लब लहान, नेपाल खानेपानी संस्थान लहान शाखाको संयुक्त साझेदारीमा सञ्चालित ‘विकन परियोजना’अन्तर्गत टोलमा चारवटा सामुदायिक शौचालय निर्माण भएका छन् । घर नजिकै शौचालय बनेपछि टोलका करिब डेढ सयभन्दा बढी दलित घरपरिवारका सदस्य दङ्ग छन् । खुट्टीखोलाको वारि र पारि दुवै किनारमा मुसहर समुदायको बसोवास छ । त्यहाँ सुविधासम्पन्न अपाङ्गतामैत्री शौचालय बनेको छ । दलितबस्तीका सदस्य विजय सदाय ‘घरभन्दा राम्रो शौचालय बन्छ भनेर हामीले कल्पाना पनि गरेका थिएनौँ । चर्पी बनेसँगै खुट्टीखोलाको वरिपरि जताततै दिसा–पिसाब गर्ने कार्य रोकिएको छ । यसले वरिपरिको वातावरणमा समेत सुधार आउँदा हामी टोलवासी निकै खुसी छौँ’, भन्छन् । शौचालय र खोपानीको अभाव देखेपछि आफ्नो क्लबले विकन परियोजनाअन्तर्गत लहानका विभिन्न वडामा रहेका दलित समुदाय र विद्यालयमा खानेपानी, सरसफाइ र स्वच्छता अभियान सञ्चालन गरी समतामूलक समाज निर्माण गर्ने उद्देश्यले गतिविधि सञ्चालन गरिएको दलित जनकल्याण युवा क्लब लहानका अध्यक्ष उमेश विसुङ्केले जानकारी दिए । उनका अनुसार हाल क्लबले २७ वटा विद्यालय र पाँचवटा दलित समुदायमा वडाको समन्वयमा शौचालय मर्मत तथा निर्माण गरिएको छ । शौचालय निर्माणपछि सरसफाइ र स्वच्छतासम्बन्धी समुदाय तथा बालबालिकामा परिवर्तन देखापरेको परियोजनाका निर्देशक महेश ढुङ्गानाले बताए । स्वच्छ खानेपानी र उचित सरसफाइ व्यक्ति वा वर्गविशेषका लागि मात्र नभई सबैलाई नभई अपरिहार्य भएको भन्दै निर्देशक ढुङ्गानाले लहान नगरपालिकाको २७ वटा सामुदायिक विद्यालयमा चार वर्षमा नौ हजार आठ सय ९९ विद्यार्थी र दुई सय आठ जना शिक्षक शिक्षिका यस परियोजनाबाट लाभान्वित भएका जानकारी दिए । नगरपालिकासँग समन्वय गरी विभिन्न वडाका दलित बस्ती तथा विद्यालयमा खानेपानी र शौचालय निर्माण गरेर विकन परियोजनाले प्रशंसनीय काम गरेको लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले बताए। उनले नगरपालिकाका तर्फबाट उक्त आयोजनाको व्यवस्थापनमा ध्यान दिई दिगोपनाका लागि जोड दिने प्रतिबद्धत व्यक्त गरे । रासस
अटो बजारमा शाओमीको धमाकेदार ‘इन्ट्री’, लन्च गरेको २७ मिनेटमै ५० हजार अर्डर
एजेन्सी । चिनियाँ स्मार्टफोन निर्माता शाओमीले आफ्नो पहिलो इलेक्ट्रिक कार लन्च गरेको छ । कम्पनीले आफ्नो पहिलो इलेक्ट्रिक कार लन्च गरेको २७ मिनेटभित्रै ५० हजार अर्डर प्राप्त गरेको बताएको छ । विश्वव्यापी रूपमा कारको बिक्री घटिरहेका बेला शाओमी विद्युतीय कार लिएर बजारमा प्रवेश गरेको छ, जसले विद्युतीय कार बजारमा नयाँ प्रतिस्पर्धाको संकेत दिएको छ । एक कार्यक्रममा कम्पनीका सिइओ लेई जुनले कम्पनीको स्ट्यान्डर्ड सु सेभेन मोडलको मूल्य २ लाख १५ हजार ९ सय युआन (२९ हजार ८ सय ७२ अमेरिकी डलर) र म्याक्स भर्सनको मूल्य २ लाख ९९ हजार ९ सय युआन हुने बताए । शाओमीले यतिबेला विश्वबजारमा कारको ठूलो हिस्सा ओगटेका टेस्ला र बीवाईडीसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । चीनमा टेस्लाको मोडेल ३ को सुरुवाती मूल्य २ लाख ४५ हजार ९ सय युआन रहेको छ । शाओमीका सिइओ लेई जुनका अनुसार सुसेभेन एकपटक चार्ज गर्दा ७ सय किलोमिटरसम्म दौडन सक्छ । यो टेस्लाको मोडेल ३ भन्दा राम्रो छ, जुन एकपटक चार्ज गर्दा ५ सय ६७ किलोमिटरसम्म दौडन सक्छ । कम्पनीले एसयु सेभेनमा फोन, ल्यापटप र अन्य डिभाइसमा प्रयोग हुने अपरेटिङ सिस्टम प्रयोग गर्नेछ, जसलाई उपभोक्ताले रुचाउने अपेक्षा गरिएको छ । रिसर्च कम्पनी काउन्टरपोइन्टका अनुसार शाओमी विश्वव्यापी रूपमा स्मार्टफोन बेच्ने तेस्रो ठूलो कम्पनी हो । अन्तर्राष्ट्रिय बजारमा यसको हिस्सा १२ प्रतिशत छ । विगत एक वर्षदेखि नै शाओमीले सुसेभेन लन्च गर्ने संकेत दिएको थियो । यसलाई पोर्शको ट्याकन र पानामेरा स्पोर्ट्स कार मोडेलहरूसँग तुलना गरिएको थियो । चुनौती र बढ्दो प्रतिस्पर्धा शाओमीको यो नयाँ कार सरकारी स्वामित्वको बीएआईसी ग्रुपको कारखानामा उत्पादन हुनेछ । यो फ्याक्ट्री बेइजिङमा छ र यस कम्पनीले एक वर्षमा कम्तिमा दुई लाख कार बनाउने लक्ष्य राखेको छ । अटोमेसनसँग सम्बन्धित बिल रुसोले बीबीसीसँग भनेका छन्, ‘कम्पनी अहिलेसम्म जुन स्तरमा पुगेको छ, त्यो आफैंमा ठूलो सफलता हो । तर, सबैभन्दा ठूलो सफलता त्यो हुनेछ जब शाओमी इलेक्ट्रिक कार बजारमा उपभोक्तामाझ आफ्नो स्थान बनाउन सक्षम हुनेछ ।’ यद्यपि, यस प्रविधिको क्षेत्रमा चुनौती भने निकै नै रहेको छ । यस तथ्यबाट पनि स्पष्ट हुन्छ कि आईफोन निर्माता एप्पलले गत महिना इलेक्ट्रिक कारहरू बनाउने आफ्नो योजना रद्द गरेको थियो । शाओमीले आगामी १० वर्षमा इलेक्ट्रिक कार व्यवसायमा १० अर्ब डलर लगानी गर्ने बताएको छ । रिस्टाड इनर्जी नामक रिसर्च कम्पनीसँग आबद्ध अभिषेक मुरलीले भनेका छन्, ‘चीनमा इलेक्ट्रिक कारहरू धेरै परिपक्व छन् र यसले एक स्थिर इकोसिस्टम सिर्जना गरेको छ जसले कार निर्माताहरूलाई धेरै मद्दत गर्दछ ।’ उदाहरणका लागि, यहाँ ब्याट्री आपूर्ति श्रृंखला धेरै बलियो छ र इलेक्ट्रिक कारहरूको बढ्दो माग पूरा गर्न ठूलो चार्जिंग नेटवर्क निर्माण गरिएको छ । शाओमीको पहिलो कार चीनमा यस क्षेत्रमा प्रतिस्पर्धा बढिरहेका बेला लन्च गरिएको हो । हालैका महिनाहरूमा टेस्लाका अर्बपति मालिक एलन मस्कले चीनमा आफ्ना कारको मूल्यमा कयौं हजार डलरले कटौती गरेका छन् । यसको कारण के हो भने विश्वव्यापी रूपमा बिक्री हुने सबैभन्दा ठूलो विद्युतीय कार कम्पनी बीवाईडीले पनि आफ्नो कारको मूल्य घटाएको छ । चीन विद्युतीय कारका लागि विश्वको सबैभन्दा ठूलो बजार हो । सो सन्दर्भमा चीनमा नयाँ प्रतिस्पर्धी शाओमी हो । पछिल्लो साता बीवाईडीले आफ्नो वार्षिक नाफामा नयाँ रेकर्ड कायम गरेको छ । यद्यपि कम्पनीले यो वर्षको अन्त्यतिर यो गति केही सुस्त भएको पनि बताएको छ । त्यस्तै, सांघाईस्थित कार निर्माता कम्पनी नियोले अर्थतन्त्रमा आएको मन्दीका बीच उपभोक्ताले खर्च घटाएको बताएको छ । अर्को साता अमेरिकी इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाले पनि जनवरीदेखि मार्चसम्मको बिक्रीको तथ्यांक सार्वजनिक गर्ने भएको छ ।
एचआइडीसीएलको पौने २ करोड कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) ले पौने २ करोड बढी कित्ता बढी संस्थापक सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक सेयरधनी समूह क उप समूह क–२ को अन्य संस्थापकअन्तर्गत लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री नभएको १ करोड ७८ लाख ४० हजार १४० कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो । कम्पनीले आगामी चैत २५ गतेदेखि उक्त सेयरको बिक्री आवेदन खुलाउने जनाएको छ । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति, कम्पनी वा संघसंस्थाले आवेदन दिन सक्नेछन् । कम्पनीका अनुसार सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बालकबोल पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेस गर्न सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटलको कार्यालय र ग्लोबल आइएमई बैंकको शाखा कार्यालयहरू नयाँ बानेश्वर, विर्तामोड, विराटनगर,जनकपुर, वीरगञ्ज, हेटौडा, चितवन, पोखरा, बुटवल, बाग्लुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महनेन्द्रनगर शाखा कार्यालयहरूमा बोलपत्र आवेदन पेस गर्नुपर्नेछ । बोलपत्र आवेदन पेस गर्ने अन्तिम मिति आगामी वैशाख ९ गते रहेको छ ।
पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध
लमजुङ । पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ । लमजुङ र मनाङलाई जोड्ने एकमात्र यस सडकखण्डअन्तर्गत मस्र्याङ्दी गाउँपालिका वडा नं ४ श्रीचौरमा वर्षासँगै पहिरो जाँदा सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईँले पहिरोका कारण सवारीसाधन सञ्चालन हुन नसक्दा यात्रुलाई समस्या भएको बताए । पहिरोबारे डुम्रे-बेँसीसहर-चामे सडक योजना कार्यालयलाई खबर गरिएको तथा अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए ।
समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । संस्थाको आगामी चैत २९ गते आयोजना हुन लागेको १०औं वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले सोमबार बुक क्लोज गर्दैछ । आजसम्म कायम सेयरधनीहरू मात्रै संस्थाद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य ठहरिनेछन् । संस्थाको सञ्चालक समितिको बैठकले आव २०७९/८० का लागि ५.४२२२ प्रतिशत बोनस सेयर र ०.२८५४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरणको प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश पारित गर्न कम्पनीको सभा चैत्र २९ गते बिहीबार नमोबुद्ध बैंक्वेट एण्ड इभेन्ट, बनेपा-७, काभ्रेपलाञ्चोकमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ ।
प्रभु बैंक र स्वावलम्बन लघुवित्तको संस्थापक सेयर बिक्रीमा
काठमाडौं । । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा राखिने भएको छ । आगामी चैत २५ गतेदेखि प्रभु बैंकको संस्थापक समूहको ६१ हजार ७ सय ६२ कित्ता र स्वावलम्बन लघुवित्तका संस्थापक समूहको १४ हजार ७ सय १० कित्ता गरी कुल ७६ हजार ४ सय ७२ कित्ता सेयर बिक्रीमा राखिने भएको हो । यो सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरू तथा अन्य व्यक्ति,कम्पनी तथा संघ संस्थाहरूले बोलपत्र आवेदन पेस गर्न सक्नेछन् । प्रभु बैंकको संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ र स्वावलम्बन लघुवित्तको सेयरमूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकिएको छ । बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । सेयरको बिक्री प्रबन्धक एलएस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या तथा मूल्य खुलाई वैशाख १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।
जसले अरब सागरको दृश्य हेर्न सवा अर्बमा घर किनिन्
काठमाडौं । रेखा झुनझुनवाला भारतको तेस्रो धनी महिला हुन् । उनको कुल सम्पत्ति करिब ८ अर्ब डलर (लगभग ६ खर्ब ६० अर्ब भारु) छ। उनी स्वर्गीय राकेश झुनझुनवालाकी श्रीमती हुन् । उही राकेश झुनझुनवाला जसलाई भारतको ‘वारेन बफेट’ भनिन्थ्यो । धनी कसलाई भनिन्छ भन्ने कुराको झलक राकेशकी श्रीमती रेखाबाट देख्न सकिन्छ । आफ्नो घरबाट समुद्री दृश्य हेर्न उनले १ अर्ब १८ करोड रुपैयाँमा घर किनेकी छिन् । रेखा झुनझुनवालाको घर मुम्बईको पोस मालाबार हिलमा छ । उनको घरबाट समुद्रको सुन्दर दृश्य देखिन्छ । मिडिया रिपोर्टका अनुसार उनले एक भवनका लगभग सबै फ्ल्याट १ अर्ब १८ करोडमा किनेकी हुन् । उनको घरबाट अरब सागरको दृश्य देख्न कुनै प्रकारको अवरोध नहोस् भनेर यस्तो गरिएको हो । रेखा झुनझुनवालाको अथाह सम्पत्तिको रहस्य राकेश झुनझुनवालाको सन् २०२२ मा निधन भएको थियो । यसपछि रेखाले राकेशको करोडौंको स्टक पोर्टफोलियो विरासतमा पाइन् । यसले उनलाई देशकै धनी महिलामध्ये एक बनायो । उनको लगानी पोर्टफोलियोमा टाइटन, मेट्रो ब्रान्ड, स्टार हेल्थ, टाटा मोटर्स र क्रिसिललगायत २९ कम्पनीमा सेयर रहेको छ । भवनका लगभग सबै अपार्टमेन्टहरू किनिन् झुन्झुनवालाको रेर विला हाउस रकसाइड सीएचएस फेसिंग समुद्रको पछाडि अवस्थित छ । रकसाइड सीएचएस पुनः निर्माण गरिने थियो । वाल्केश्वरमा रकससाइड र अन्य ६ वटा भवनहरू क्लस्टर योजना अन्तर्गत पुनर्विकासका लागि छुट्ट्याइएका थिए । प्रख्यात विकासकर्ता शापुरजी पल्लोनजीले प्रत्येक घरमालिकका लागि नवीकरण गरिएको लुकमा लगभग ५० प्रतिशत अतिरिक्त कार्पेट क्षेत्रका लागि व्यावसायिक प्रस्तावलाई अन्तिम रूप दिएका थिए। पुनर्विकास पछि, रेर विला हाउसले समुद्रको दृश्यमा बाधा पुर्याएको थियो । यसैलाई ध्यानमा राख्दै रेखा झुनझुनवालाले १ अर्ब १८ करोड भारुमा करिब ९ वटा अपार्टमेन्ट किनेकी छिन् । झुनझुनवाला परिवारले भवनमा रहेका २४ वटा अपार्टमेन्टमध्ये १९ वटा किनेका छन् । एजेन्सी
कालीगण्डकी करिडोरको तिप्ल्याङ-पोखरेबगर खण्ड कालोपत्र
म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तिप्ल्याङ–पोखरेबगर खण्डमा कालोपत्र गरिएको छ । तिप्ल्याङ–महभिर–भिरकाटे–बैसरी–रातोपानी–पोखरेबगर– भुरुङ तातोपानी खण्डमा थप छ किलोमिटर सडक कालोपत्र गरिएको हो । विसं २०७४ मा शर्मा युनाइटेड जेभीले म्याग्दीको रघुगगंगा गाउँपालिका–३ राहुघाटबाट अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको नागढुंगासम्मको १९ किलोमिटर सडकखण्ड कालोपत्र गर्न बेनी–जोमसोम–कोरला सडक आयोजनासँग रु ६६ करोडमा ठेक्का सम्झौता गरेको थियो । ठेकेदार कम्पनी शर्मा–युनाइटेडका ‘साइट इञ्चार्ज’ रमेश सुवेदीले बेगखोला, महभिर, बैसरी, रातोपानी, पोखरेबगर र तातोपानी बजार क्षेत्रमा दोस्रो चरणको कालोपत्रको काम सकिएको बताए । ‘तिप्ल्याङ–बेगखोला खण्डमा थप दुई किलोमिटर सडक पनि यही चैतभित्रमा कालोपत्र गर्न तयारी गरेका छौँ,’ उनले भने, ‘बेगखोलाबाट तलको खण्डमा पहिरो खसेका बाहेकका ठाउँमा चालु आर्थिक वर्षभित्रै कालोपत्र गरिसक्ने लक्ष्य छ ।’ पहिलो चरणको चिप्स र बिटुमिन बिछ्याइएको तिप्ल्याङबाट कालीओडारसम्म दोस्रो चरणमा बिछ्याउने र कालीओडार–बेगखोलातर्फ पहिलो चरणमा बिटुमीन बिछ्याउने तयारी गरिएको साइट इञ्चार्ज सुवेदीले बताए । बेगखोलाबाट राहुघाट गलेश्वरतर्फको खण्डको आठ किलोमिटरमध्ये कुनौटो–बैसरी खण्डमा दुई वर्षअघि तीन किलोमिटर कालोपत्र भएको थियो । सडकलाई ११ मिटर फराकिलो बनाएर पानीको निकासका निम्ति नाली, पर्खाललगायत संरचना तयार भएपछि कालोपत्र गरिएको हो । बेनी–जोमसोम–कोरला सडक योजनाका इन्जिनियर अच्युतविलास पन्तका अनुसार राहुघाट–तातोपानी खण्डमा ९३ प्रतिशत भौतिक प्रगति भएको छ । मुख्य ठेकेदारले काम नगरेर सहायकलाई ठेक्का दिएको, प्रतिकूल भूगोल, विपद् र कोरोना महामारीका कारण यो खण्डमा सडक निर्माणले २०७७ हिउँददेखि गति लिएको थिएन । धरौटी जफत, ठेक्का तोड्ने र कालोसूचीमा राखेर कारबाही गर्ने प्रक्रिया अघि बढाएपछि ठेकेदार काममा फर्किएर कालोपत्र गर्ने कामलाई गति दिएको बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख ध्रुवकुमार झाले बताए । यो खण्डमा विभिन्न स्थानमा करिब चार किलोमिटर पहिरोस्थल भएकाले ग्राभेल गर्ने, महभिरमा कडा पहाड भएकाले सुरुङ निर्माण गर्ने योजना बनाएको र तातोपानी कुण्डको केही भागमा वैकल्पिक सडक निर्माण गर्नुपर्ने भएकाले ठेक्काबाट हटाइको छ । कालोपत्र भइसकेको बैसरी र सिरुवारी क्षेत्रमा ठूलो पहिरो खसेकाले जोखिम बढाएको छ । भारत र चीनलाई जोड्ने चार सय ३५ किलोमिटर दूरीको कालीगण्डकी करिडोर सडकलाई गण्डकी प्रदेशको लाइफ लाइन (भाग्यरेखा) मानिएको छ । पर्वतको मालढुंगाबाट म्याग्दी हुँदै मुुस्ताङस्थित चीनको सिमाना कोरलानाका जोड्ने दुई सय दुई किलोमिटर दूरीको सडक दुुई लेनको कालोपत्र र ग्राभेल बनाउन विसं २०७३÷७४ देखि सुरु भएको योजनाको हालसम्म ७८ प्रतिशत भौतिक प्रगति भएको छ । करिडोरअन्तर्गत छवटा खण्डमा ८५ किलोमिटर ग्राभेल र ४८ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको छ । यस सडकमा १३ वटा पक्की पुल र तीनवटा बेलीब्रिज निर्माण भएका छनभने छ स्थानमा मोटर सञ्चालन गर्न मिल्ने पुल निर्माणाधीन छन् ।