विकासन्युज

आर्थिक मन्दीले हजारौं सवारीसाधन वीरगञ्ज भन्सारमा थन्किए

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयमा एक हजार दुई सयभन्दा बढी सवारीसाधन जाँचपास नभएर भन्सार ‘यार्ड’मा थन्किएका छन् । अटोमोबिल व्यवसायीले शोरुममा भएका सवारीसाधन बिक्री भएपछि मात्रै भन्सार यार्डमा रोकिएका सवारीसाधनको जाँचपास गराउने गर्दै आएकाले यार्डमा सवारीसाधन थन्किने प्रवृत्ति बढेको हो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले कार्यालयमा मात्रै जाँपपास नभएका एक हजार दुई सयभन्दा धेरै इन्धनबाट चल्ने सवारीसाधन रहेका बताए । ‘यहाँ एक हजार दुई सयभन्दा बढी सवारीसाधन जाँचपास नभई रोकिएका छन् । व्यवसायीहरूले शोरुममा भएका सवारीसाधन बिक्री भएसँगै वा ग्राहकको माग बढेपछि भन्सार जाँचपास गराउने प्रवृत्ति छ ।’ कार्यालयका अनुसार भन्सार यार्डमा बस, ट्रक तथा च्यासिस र बडीलगायत छन् । भन्सार कार्यालयका अनुसार २०७९ चैतमा भन्सारमा जाँचपास नभएका सवारीसाधनको सङ्ख्या दुई हजार दुई सयभन्दा बढी थियो । त्यसैगरी २०८० को साउनमा भन्सारमा थन्किएका सवारीसाधनको सङ्ख्या घटेर एक हजार आठ सयमा झरेको थियो । २०८० चैत १५ गतेसम्म भन्सारमा थन्किएका सवारीसाधनको सङ्ख्या एक हजार दुई सय छ । अटोमोबिल्स एशोसिएसन अफ नेपालका पूर्वअध्यक्ष ध्रुव थापा आर्थिक मन्दीले दुई वर्षअघिदेखि नै सवारीसाधन भन्सारमा जाँचपास नभई थन्किरहेको बताउँछन् । ‘पहिला वीरगञ्ज भन्सार कार्यालयमा झण्डै दुई हजार दुई सय सवारीसाधन भन्सार जाँचपास नभई थन्किएकामा अहिले व्यवसायीले विदेशबाट सवारीसाधनको आयात घटाएर भन्सारमा भएको सवारीसाधन छुटाउँदा रोकिएका सवारीसाधनको सङ्ख्या केही घटिरहेको छ’, उनले भने, ‘आर्थिक मन्दी र बैंक तथा वित्तीय संस्थाले सहज ढङ्गले सवारीसाधनमा लागनी नगर्दा पनि सवारीसाधन भन्सारमा नै रोकिएका हुन् ।’ पूर्वअध्यक्ष थापाले भन्सारमा रोकिएका इन्धनबाट चल्ने सवारीसाधन खरिद मूल्यभन्दा धेरै रकम भन्सार महसुल तथा राजस्वबापत तिर्नुपर्ने भएकाले पनि विस्तारै छुटाउने नीति लिँदै आएको बताए । प्रमुख भन्सार प्रशासक पन्थीले भन्सार यार्डमा सवारीसाधन जाँचपास नगरिकनै थन्किनुले सवारीसाधनको बजार सुस्ताएको सङ्केत गर्ने बताउँछन् । ‘अहिले इन्धनबाट चल्ने सवारीसाधनको माग कम छ । त्यसैले पनि भन्सारमा रोकिरहेका सवारीसाधनको सङ्ख्या केही बढी देखिएको हो’, उनले भने, ‘भन्सार यार्डमा रोकिएका एक हजार दुई सय सवारीसाधनको जाँचपास हुने हो भने कम्तीमा पनि १० अर्ब रुपैयाँ हाराहारीको राजस्व सङ्कलन हुनेछ ।’ वीरगञ्ज भन्सार कार्यालयमा भन्सार जाँचपास नभई रोकिएका सवारीसाधनमध्ये अधिकांश व्यावसायिक प्रयोजनका लागि ल्याइएका छन् । भाडाका बस, पिकअपलगायत छन् । ‘अहिले यहाँका मान्छेको क्रय क्षमता निकै घटेको छ । अहिले आर्थिक मन्दीका कारण गाडी किन्ने क्षमतामा मान्छे पुगिसकेका छैनन्’, पूर्वअध्यक्ष थापाले भने, ‘अहिले व्यावसायिक गाडीबाट खासै कमाइ छैन । त्यही कारणले पनि व्यावसायिक प्रयोजनका सवारीसाधनको खरिद गर्न व्यवसायी अनिच्छुक छन् ।’ पूर्वअध्यक्ष थापाका अनुसार बैंक तथा वित्तीय संस्थाले पनि निश्चित प्रकृतिका सवारीसाधनबाहेक अन्यमा फाइनान्सिङ गर्न हिच्किचाइरहेका छन् । ‘नयाँ सवारीसाधन खरिद गर्नेले अहिले ५० प्रतिशत नगद लगानी गर्नुपर्ने हुन्छ’, उनले भने, ‘बैंक तथा वित्तीय संस्थाले सवारीसाधनमा ५० प्रतिशत लागनी गर्नसमेत आनाकानी गरिहेकाले केही समस्या भएको हो ।’ विगतमा इन्धनबाट चल्ने सवारीसाधनमा सवारीसाधनको कुल लागतको ७०–८० प्रतिशतसम्म ‘फाइनान्सिङ’ गर्ने व्यवस्था थियो । त्यसबेला ‘डाउनपेमेन्ट’ भने २०–३० प्रतिशत तिरेमात्रै पुग्ने गथ्र्यो । यद्यपि अहिले पनि विद्युतीय सवारीसाधनमा भने बैंक तथा वित्तीय संस्थाले ७० प्रतिशतसम्म फाइनान्सिङ गर्दै आइरहेका छन् । रासस

कीचक वध उत्खनन् : २२०० वर्ष पुरानो भवनको संरचना भेटियो

झापा । भद्रपुर नगरपालिका-३ पृथ्वीनगरस्थित महाभारतकालीन कीचक वधमा दुई हजार दुई सय वर्ष पुराना पाँचवटा भवनका संरचना भएको पुष्टि भएको छ । उक्त स्थानमा पुरातत्व विभागको उत्खननपछि त्यसको पुष्टि भएको हो । परातत्वविद् उद्धव आचार्यले उत्खननबाट उत्तरपूर्वमा एउटा बहुतले ठूलो भवन, ठूलो भवनकै केही दक्षिणमा अर्को भवन, सोही भवनकै उत्तरपश्चिम छेउमा सेन्ट्री बस्नेसहितको अर्को भवन, सोही भवनको केही पश्चिम दक्षिण अर्को बहुतले भवन फेला परेको जानकारी दिए । उनले चारवटै भवनको दक्षिणमा करिब दुई सय फिटको दूरीमा दुईतले अर्को सुरक्षाकर्मीका प्रमुख र सुरक्षाकर्मी बस्ने भवन गरी पाँच भवनका संरचना फेला परेका बताए । पुरातत्वविद् आचार्यले यस स्थलको मूल भवनको उत्खनन अर्को वर्ष पूरा हुने बताउँदै भने, ‘सायद अर्को सालसम्ममा उत्खनन पूरा हुन्छ । अझ गहिराइसम्म उत्खनन गर्दा यस स्थानको ऐतिहासिकता बुद्धकालभन्दा अगाडि जाने सङ्केत पाइएको छ ।’ उनले हाल उत्खनन् गरिएको क्षेत्रमा रुखहरू भएकाले तिनलाई हटाउनुपर्ने, कीचकलाई मारेको मूर्ति स्थानान्तरण गर्नुपर्ने, कीचक वधस्थलभित्र सवारीसाधन प्रवेश रोक्नुपर्ने तथा त्यहाँका सम्पदाको संरक्षण गर्नुपर्नेमा जोड दिए । पुरातत्व विभागले कीचक वधमा २०५८ सालमा पहिलोपटक उत्खनन् गरेको थियो । यो पुरातत्वविद् आचार्यकै नेतृत्वमा भएको थियो । यसपटकको  उत्खनन सातौँ हो । यसअघि २०३५ सालमा मेची बहुमुखी क्याम्पसका इतिहासका प्राध्यापक घनश्याम खनालको अगुवाइमा उत्खनन् भएको थियो । विराट राजाको सेनापति एवं सालो कीचकले सैरन्ध्रीको भेषमा रहेकी द्रोपदीको सतीत्व लुट्ने धृष्टता गर्दा भीमद्वारा मारिएका थिए । रासस

बङ्गलादेशी उद्यमीलाई आकर्षित गर्न ढाकामा कार्यशाला

काठमाडौं । आगामी वैशाखमा यहाँ आयोजना हुने तेस्रो लगानी सम्मेलनमा बङ्गलादेशका उद्यमी–व्यवसायीलाई लगानीका निम्ति आकर्षित गर्ने उद्देश्यले शनिबार ढाकास्थित नेपाली राजदूतावासमा कार्यशाला आयोजना गरियो । त्यस अवसरमा बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले जलविद्युत्, भौतिक पूर्वाधार, होटललगायत सेवा क्षेत्रका पूर्वाधार, औषधिजन्य उद्योग, सूचना तथा सञ्चार प्रविधिलगायत क्षेत्रमा बङ्गलादेशी लगानीकर्तालाई नेपालमा पुँजी परिचालन गर्न आह्वान गरेकाे ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ । उनले ती क्षेत्रमा लगानी गर्दा प्रशस्त प्रतिफल प्राप्त हुने जानकारी दिँदै ढुक्क भएर पुँजी परिचालन गर्न आग्रह गरे। कार्यक्रमका प्रमुख अतिथि बङ्गलादेशका ऊर्जा तथा प्राकृतिक स्रोत राज्यमन्त्री नसरुल हमिदले नेपालसँग लगानीका माध्यमबाट दुई देशबीचको पारस्परिक सम्बन्धलाई अझ सुदृढ तुल्याउन बङ्गलादेश इच्छुक रहेको बताए । उनले ऊर्जा क्षेत्रमा नेपालसँग भएको सहकार्यबारे जानकारी दिँदै आफ्नो देशको बढ्दो ऊर्जाको मागलाई सम्बोधन गर्न आपसी साझेदारी अपरिहार्य रहेको बताए । लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालमा लगानीका अवसरबारे जानकारी दिनुभएको थियो भने बोर्डका सहसचिव बाबुराज अधिकारीले लगानी सम्मेलनका विविध पक्षलाई समेटेर तयार पारिएको सामग्री प्रस्तुत गर्दै नेपाल आकर्षक गन्तव्यका रुपमा विकसित भएको बताए । त्यस अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री वर्षमान पुनले बङ्गलादेशी लगानीकर्तालाई लगानी सम्मेलनमा सहभागी हुन आह्वान गरेको भिडियो सन्देश प्रस्तुत गरिएको थियो । गोष्ठीमा बङ्गलादेशका सांसद, उच्च पदस्थ सरकारी अधिकारी, विद्वत् संस्थाका प्रतिनिधि, उद्योग वाणिज्य क्षेत्रका प्रभावशाली व्यक्ति तथा सञ्चारकर्मीसहित ८० जनाभन्दा बढीको उपस्थिति रहेको उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

भारतको विदेशी मुद्रा सञ्चिति बढेर ६४२.६३१ बिलियन अमेरिकी डलर पुग्यो

काठमाडौं । भारतको विदेशी मुद्रा विनिमय (विदेशी मुद्रा) सञ्चिति मार्च २२ मा समाप्त हप्तामा १३९ मिलियन अमेरिकी डलरले बढेर ६४२.६३१ बिलियन डलर पुगेको छ । देशको केन्द्रीय बैंक, भारतीय रिजर्भ बैंक (आरबीआई) द्वारा जारी गरिएको तथ्याङ्कमा यसबारेमा उल्लेख गरिएको छ । यो लगातार पाँचौं हप्तामा पनि बढेको हो । गत सातामा विदेशी मुद्रा सञ्चिति ६४२.४९ अर्ब डलर रहेको थियो । आरबीआईको साप्ताहिक तथ्याङ्कले सुनको सञ्चिति ३४७ मिलियन डलरले बढेर ५१ अर्ब ४८७ अर्ब डलर पुगेको जनाएको छ भने विदेशी मुद्रा सञ्चितिको प्रमुख घटक विदेशी मुद्रा सम्पती १२३ मिलियन डलरले घटेर ५६८.२६४ अर्ब डलर पुगेको आरबीआईको साप्ताहिक तथ्यांकले देखाएको छ । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँको मूल्य ८३.३१ र ८३.४० को बीचमा रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

आइजीआई प्रुडेन्सियलको बीमा अभिकर्ताको तालिम सम्पन्न

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले बीमा अभिकर्ताको तालिम सम्पन्न गरेको छ । इन्स्योरेन्सद्वारा मिति २०८० साल चैत्र १३ देखि १६ गते सम्म बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुको लागि निर्जीवन बीमा अभिकर्ताको तालिम सम्पन्न गरेको हो । उक्त तालिममा विभिन्न जिल्लाहरुबाट ३१ जना व्यक्तिहरुको उत्साहजनक सहभागिता रहेको थियो । उक्त तालिम पश्चात कम्पनीसँग आवद्ध भई कार्य गर्ने बीमा अभिकर्ताहरुले कम्पनी र ग्राहकहरु बीच आफ्नो योग्यता तथा कम्पनीबाट प्राप्त ज्ञानको आधारमा बीमा कम्पनी र ग्राहकहरुको बीचमा राम्रो भूमिका निर्वाह गरी कार्य गर्ने अपेक्षा सहित अभिकर्ता तालिममा सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको छ । यस तालिमबाट निर्जीवन बीमाको क्षेत्रमा नेपाल बीमा प्राधिकरणले निर्देशन गरे बमोजिम निर्जीवन बीमा गर्नका लागि ग्राहक महानुभावहरुले सहज रुपमा बीमा सेवा प्राप्त गर्ने अपेक्षा कम्पनीले लिएको छ ।

छोरीलाई स्वावलम्बी बनाउन बागलुङ ‘नगरकी छोरी’ कार्यक्रम

बागलुङ । छोरीहरूको संरक्षण, छोरीलाई गरिने विभेदको अन्त्य, बालविवाहको उन्मूलनसहित छोरीलाई शिक्षित र स्वावलम्बी बनाउने उद्देश्यले बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयन गरेको छ । नगरमा जन्मेका छोरीहरूको सम्मान र आर्थिक भविष्यका लागि चालु आर्थिक वर्षमा विशेष योजनाका रूपमा घोषणा भएको कार्यक्रम कार्यान्वयनमा आएको हो । बागलुङ नगरपालिका-२ की द्विका क्षेत्रीको नाममा बैंक खाता खोलेर नगरले कार्यक्रम शुभारम्भ गरेको हो । प्रभु बैंकसँग सम्झौता गरी २०८० असारपछि जन्मिएका छोरीको नाममा खोलिएको खातामा नगरपालिकाको तर्फबाट रु पाँच हजार २० वर्षसम्म मुद्दती खातामा जम्मा गरिने नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए । नगरप्रमुख श्रेष्ठले छोरीको जन्मपश्चात् उनको नाममा नगरपालिकाले पाँच हजार मुद्दती खाता खोलेर जम्मा गरिदिने र उक्त खातामा अभिभावकले पनि रकम थप गर्न पाउनेगरी नगरकी छोरी कार्यक्रम अगाडि बढाएको बताए । नगरपालिकाले बैंकसँग सम्झौता गरी उक्त खातामा चक्रीय रूपमा उच्चतम ब्याज प्राप्त हुने र उक्त खाताको रकम कम्तीमा २० वर्षसम्म झिक्न नमिल्ने कार्यविधि निर्माण गरेको छ । नगरका छोरी २० वर्ष पुग्दा ब्याजले नै राम्रो रकम जम्मा हुने र छोरीको नाममा खाता खोलेपछि बचत गर्न अभिभावक प्रेरित हुने उनले बताए । रासस

सिद्धार्थ बैंकद्वारा विद्यार्थीलाई वित्तीय शिक्षा प्रदान

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विद्यार्थीहरूलाई वित्तीय शिक्षा प्रदान गरी आर्थिक रूपमा सचेत र सशक्त बनाउने उद्देश्यले ग्लोबल मनी विकमा विभिन्न कार्यक्रम गरेको छ । बैंकले मार्च १८ देखि २४ सम्म ‘प्रोटेक्ट योर मनी, सेक्योर योर फ्युचर’ नाराका साथ सातै प्रदेशमा विद्यालय एवं क्याम्पस गरी ३४ स्थानमा विद्यार्थीलक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । बैंकले प्रदान गर्ने सेवा, डिजिटल कारोबार र यसमा अपनाउनुपर्ने सावधानीका विषयमा सचेत गराई विद्यार्थीहरूमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति तथा व्यवहारमा सुधार ल्याउने उद्देश्यले सञ्चालन गरिएको थियो । कार्यक्रममा १ हजार ७ सय ६० जना विद्यार्थीको सहभागिता थियो । विद्यार्थीहरूलाई बैंकको आधारभूत बैंकिङ सञ्चालन र विभिन्न बैंकिङ माध्यमसम्बन्धी व्यावहारिक शिक्षा प्रदान गर्ने उद्देश्यले ३२४ जना विद्यार्थीलाई बैंकका विभिन्न शाखा भ्रमण कार्यक्रम पनि आयोजना गरिएको थियो ।

विद्यालयलाई ‘थ्री स्टार’ घोषणा गर्ने जनप्रतिनिधिको प्रतिबद्धता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिकाका जनप्रतिनिधिले विद्यालयमा सरकारले तोकेका खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी कार्यविधिका १० मापदण्ड पूरा गराई सबै सामुदायिक विद्यालयलाई ‘थ्री स्टार’ (तीन तारा) घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् । बागमती प्रदेशमा पहिलोपटक उक्त गाउँपालिकामा मापदण्ड पूरा गरेका पाँचवटा सामुदायिक विद्यालयलाई गत फागुन अन्तिम साता तीन तारा घोषणा गरिएको थियो । ‘भविष्यका लागि आधार परियोजना’ सञ्चालनपछि सरसफाइ तथा स्वच्छता मापदण्ड कार्यान्वयन भएका विद्यालयलाई तीन तारा घोषणा गर्न थालिएको हो । परियोजनाको समीक्षा कार्यक्रममा गाउँपालिका अध्यक्ष रेणुका चौलगाईँले गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा तीन तारा घोषणा गर्नेगरी कार्यक्रम केन्द्रित गरी आगामी आर्थिक वर्षको बजेटमा रकम विनियोजन गर्ने बताए । उनले भने, ‘प्रदेशमै पहिलोपटक यस गाउँपालिकाका पाँच विद्यालयलाई तीन तारा घोषणापछि गाउँभर सकारात्मक सन्देश प्रवाह भएको छ, आउँदो वर्षदेखि गाउँपालिकाका बाँकी सबै विद्यालयमा तीन तारा घोषणा गर्नेगरी कार्यक्रमलाई अघि बढाइने छ ।’ परियोजना कार्यान्वयन गर्न सिविक फोरम नामक संस्थाले समन्वय गरिरहेको छ । उक्त कार्यक्रममा गाउँपालिका–३ का वडाध्यक्ष चित्रप्रसाद चौलागाईँ, ५ का वडाध्यक्ष कृष्णप्रसाद गौतम, ८ का वडाध्यक्ष धनबहादुर तामाङ र ९ का वडाध्यक्ष रामबहादुर लामाले बाँकी विद्यालयमा तीन तारा घोषणाका लागि केही मापदण्ड पूरा गर्न बाँकी रहेकाले तीव्ररुपमा खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी कार्य भइरहेको र पूरा भएपछि तीन तारा घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरे । गाउँपालिकामा हाल ३३ विद्यालयमा सञ्चालमा छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महानदास लामाले बालबालिकाका लागि खानेपानी तथा स्वच्छता कार्यक्रम प्रभावकारी भएको बताए । गाउँपालिकाका शिक्षा शाखा प्रमुख कालिप्रसाद शर्माले कार्यक्रम निरन्तरताका लागि विद्यालयमा आवश्यक पूर्वाधारका विषयमा अनुगमन निरीक्षण एवं प्रतिवेदन सङ्कलन भइरहेको बताए । फोरमका प्रमुख कार्यकारी अधिकृत वसन्त कुँवरले वाटर एडको आर्थिक तथा प्राविधिक सहयोगमा २०२२ देखि सहजीकरण गरिरहेको उक्त कार्यक्रम गाउँपालिकामा रहेका सबै विद्यालयमा पूरा गराउनेगरी कार्य भइरहेको बताए । उहाँका अनुसार यसअघि पाँचै विद्यालयले खानेपानी, सरसफाइ तथा स्वच्छताका १० मापदण्डअन्तर्गत स्वच्छ खानेपानी, व्यवस्थित शौचालय, स्वच्छ वातावरण, छात्रा–महिनावारी स्वच्छता व्यवस्थापन सुविधा, संस्थागत व्यवस्था र दिगोपना, विपद् जोखिम व्यवस्थापन र अनुगमन तथा जवाफदेहिता पूरा गरेका हुन् । यी १० सूचक पूरा गरेपछि तीन तारा घोषणा गरिएको हो । गाउँपालिकाको वडा नं ६ स्थित प्रभा माध्यमिक विद्यालय, वडा नं ७ को सिर्जनशील जनता मावि, वडा नं ५ स्थित अरनिको मावि र जागृति मावि तथा वडा नं ३ को बुद्ध हिमालय माविले सरकारले तोकेका १० मापदण्ड पूरा गरेका थिए । यी विद्यालयलाई थ्री स्टार बनाउन वाटर एडको सहयोग र सिविक फोरमको साझेदारी थियो । नेपालको संविधानको धारा ३५ को उपधारा ४ ले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक सुनिश्चित गरेको छ भने राष्ट्रसङ्घीय दिगो विकास लक्ष्य (एसडिजी)को ४ र ६ नं अन्तर्गत सबै विद्यालयमा सुरक्षित  खानेपानी र सरसफाइमा विशेष जोड दिइएको छ । रासस