विकासन्युज

समता घरेलु लघुवित्तको सेयर मूल्य समायोजन, कतिमा हुन्छ कारोबार ?

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ५.४२२ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ६६४ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ७०० रुपैयाँ थियो । यससँगै अबको बजारमा संस्थाको पहिलो कारोबार प्रतिकित्ता ६६४ रुपैयाँलाई आधार मानेर हुने छ ।

१६ बुँदे घोषणा पत्र जारी गर्दै सकियो महिला नेतृत्व कृषि सम्मेलन

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) अन्तर्गत महिला नेतृत्व फोरमको आयोजनामा प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन-२०२४ सम्पन्न भएको छ । चैत १७ र १८ गते भएको सम्मेलन कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साहको आथित्यतामा सम्पन्न भएको हो । फोरमले दुई दिनको सम्मेलनमा भएका गम्भीर छलफलका विषयलाई समेटेर निम्नानुसार चितवन घोषणापत्र जारी गरेको छ । घोषणापत्रमा आधारित छलफलको निष्कर्षको विस्तृत विवरण कृषि तथा पशुपन्छी विकास मन्त्रालय लगायतका सरोकारवाला निकाय समक्ष पेस गरी नीतिगत सुधारको लागि पैरवी गर्ने फोरमको प्रतिवद्धता छ । १. नेपालको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको कृषि क्षेत्र खाद्य तथा संस्कृति जगेर्नाको मुल विषय पनि हो । कृषिमा प्रचुर सम्भावना रहे पनि कृषि विकासले उल्लेख्य गति लिन नसकेको परिप्रेक्ष्यमा कृषिमा नवप्रवर्तन, उद्यमशीलता र दीगोपनका लागि सरकार तथा सरोकारवालानको मुख्य भूमिका खेल्नु पर्ने देखिन्छ । २. कृषि क्षेत्रमा साना किसान र महिला कृषकको संख्या र भूमिका उच्च छ । कृषि विकासमा महिला किसानको भूमिका अझै बढी रहेकाले महिलामैत्री प्रविधि, कार्यक्रम र आवश्यक कृषि सामग्रीको सुलभ उपलब्धताको ज्ञारेन्टी हुनुपर्छ । ३. नेपालमा कृषि व्यवसायीकरण र यान्त्रिकरणका अभ्यास सुरु भएका छन् भने महिला नेतृत्वको कृषि उद्यम अझै व्यवस्थित रहेको पाइएको छ। विशेषगरी कृषि व्यवसाय मूल्य श्रृंखलामा थोरै मात्र सहयोग हुने हो भने महिलाले नेतृत्व गरेको कृषि उद्यमशीलताले फड्को मार्ने भएकाले सरोकारवालाको साथ रहनुपर्छ । महिलामैत्री कृषि यान्त्रिकरणमा जोड दिनुपर्दछ। ४. संघीयतापछि कृषिमा काम गर्ने सरकारी निकायहरुको विकेन्द्रीकरणसँगै कृषि सेवामा जनताको बढाउन तीनै तहका सरकारको आवश्यक समन्वय बढाउन एक संरचना हुनुपर्ने देखिन्छ । पीपीपी मोडेलमा किसानको लागि कृषक सहायताको वृहत कार्यक्रम आवश्यक छ । स्थानीय निकायमा रहेका कृषि प्राविधिकको क्षमता अभिवृद्धि गर्नुपर्छ । ५. कृषिमा छरिएर सबैले आआफ्नो ठाउँमा काम गरिरहेको पाइएको छ । एकिकृत नीति अवलम्बन गर्दै ठुलो लगानी र बजार जोड्न करार खेती प्रवद्र्धन गर्नुपर्छ । यसका लागि सरोकारवाला पक्षको सामूहिक प्रतिवद्धता आवश्यक छ। ६. नेपालमा उत्पादित रैथाने कृषि उपजको विश्वबजारमा पनि माग उच्च रहेकाले ठुलो मात्रामा (मास प्रडक्सन) को आवश्यकता देखिन्छ । यसका लागि सरकारकारले बाँझो जमिन सदुपयोग लगायत भूमि नीति र कृषि प्रवद्र्धनका कार्यक्रमलाई यसै अनुकूल परिमार्जन गर्नुपर्दछ । वित्तीय संस्थासमेतका सरोकारवालाले यसै अनुरुपको नीति अबलम्बन गर्नुपर्दछ । ७. कृषिमा बिमा र सहुलियत ऋणको प्रभावकारीता बढानुपर्दछ । सरकारले नीति ल्याउने र कार्यान्वयनमा प्रभावकारीता बढाउन नसकेको महसुस गरिएकाले प्रभावकारीता बढाउन ढिला गरिनु हुँदैन । बैंक तथा वित्तिय संस्थामा हरेक किसानको खाता व्यवस्था गर्नुपर्छ । ८. वित्तिय संस्थाहरुले कृषि तथा पशुपन्छीजन्य क्षेत्रको प्रकृति अनुसार सहुलियत कृषि ऋणको मापदण्ड बनाउनुपर्दछ । कुनै कृषि ६ महिनामै नाफा दिने हुन्छन् भने कुनै उत्पादनको नतिजा आउन ६ वर्ष पनि लाग्न सक्ने प्रकृतिका हुने भएकाले नाफालाई मात्र केन्द्रीत गर्ने नीतिलाई परिमार्जन गरेर दीगोपनमा केन्द्रीत नीति अबलम्बन गर्नुपर्छ । ९. कृषि उद्यममा ठूलो संख्यामा स्वदेश तथा विदेशबाट फर्केर पनि युवाहरु आवद्ध भइरहेको र अझै आवद्ध हुने क्रम जारी रहेको देखिन्छ । युवाहरुले विस्तृत योजना बनाएर, कृषि विज्ञको सल्लाह अनुरुप, नेपाल तथा विश्वबजारको मागलाई पनि ख्याल गरेर लगानी गर्नुपर्ने देखिन्छ । साथै अरुले गरेको देखासिखी गर्नु भन्दा उद्यमशीलताको मर्म अनुरुप धैर्यताकासाथ योजनावद्ध तरिकाले अरु भन्दा फरक र रचनात्मक तरिकाले कृषि उद्यममा लाग्नुपर्ने देखिन्छ । १०. कृषिमा प्रयाप्त लगानीको खाँचो देखिएकाले सरकारको कृषिमा लगानी गर्ने नीति एकद्वार प्रणालीमा हनुपर्ने देखिन्छ। कृषि उद्यमलाई सम्मानपूर्वक छरितो तरिकाले नीतिगत सहजीकरण गर्नुपर्ने, खुकुलो कर नीति हुनुपर्ने, कृषि उपजको न्युनतम समर्थन मूल्य बाली लगाउनुपूर्व नै तोक्नुपर्ने, स्थानीय तहमा कृषि उपज संकलन केन्द्र तथा कोल्डस्टोरको सुलभ व्यवस्था हुनुपर्दछ । ११. लामो समय शिक्षा, स्वास्थ्य र अन्य क्षेत्रमा जागिर वा व्यवसायीक अभ्यास गरिसकेर आत्मसन्तुष्टी र अवसरको हिसाबले पनि जीवनका उत्तरार्धमा कृषिमा नै लाग्ने गरेको अभ्यास बढेको पाइएको छ । जनुसुकै क्षेत्रमा संलग्न नेपालीले कृषिको मर्म बुझेर समयमै यस क्षेत्रमा आफ्नो श्रम र आर्थिक लगानी गर्नुपर्ने देखिन्छ । १२. कृषिमा नवप्रवर्तन, उद्यमशीलता र दीगोपनको लागि विद्यालयस्तरबाटै पहल हुनुपर्ने देखिन्छ । यी विषयमा पाठ्यक्रममै व्यवस्था हुनुपर्दछ । पछिल्लो समयमा प्रभावकारी देखिएको पढ्दै कमाउदै जस्ता कार्यक्रम तीनै तहका सरकारले उच्च प्राथमिकतामा राखेर नीति निर्माण तथा कार्यान्वयनमा लैजानुपर्छ । १३. उद्यमशीलताको विकासले नारी पुरुष सामाजिक सम्बन्धसमेत थप बलियो बनेको उदाहरण प्रसस्त छन् । समाजले कृषकलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउन पनि सामामाजीक उद्यमशीलताको भूमिमा रहने देखिएकाले यसलाई आयआर्जनको विषय मात्र नभइ सामाजिक सद्भावको विषयको रुपमा पनि उठान गर्नुपर्ने देखिन्छ। १४. दीगो खेती प्रवद्र्धन गर्न जलवायु अनुकुल कृषिमा लगानी वृद्धि गर्नुपर्छ । यस सम्बन्धी अध्ययन अनुसन्धान हुनुपर्छ। कृषिलाई सामाजिक, आर्थिक र राजनितिक रुपमा दीगो बनाउनु नै दीगो कृषि विकासको मर्म रहेकाले जलवायु अनुकुलको कृषि कर्म, कृषि अनुसन्धान, प्रविधि विकास, बजारीकरणमा विकास साझेदार संस्थाले पनि प्राथमिकतामा राखेर कार्यक्रमहरु लागू गर्नुपर्छ । १५. कृषि उपजहरुको बढ्दो बजार मूल्य र उत्पादनमा गुणस्तरतामा प्रश्न उठीरहकाले उपभोक्ताको अधिकारको उच्च सम्मान गर्दै उत्पादन लागत घटाउने तथा गुणस्तरिय उत्पादन आपूर्तिका लागि सरकार वाला निकायले यसै अनुरुपको नीति अवलम्बन गर्नुपर्दछ । १६. कृषिमा नेपाली किसानमैत्री सूचना प्रविधिको प्रयोगलाई प्रोत्साहित गर्नुपर्छ । विश्वमा सूचना प्रविधिको उच्चतम विकास र प्रयोगलाई मध्यनगर गरेर कृषि मूल्य श्रंखला थप सुदृढ गर्नका लागि आर्टिफेसियल इन्टिलिजेन्स (एआई) समेतको प्रयोगका विषयमा सरकारले यथासक्य नीति निर्माण, परिमिार्जन तथा लागू गर्नुपर्छ ।

नक्कली बिल र स्टिकरको अनुगमन गरी एक्सन लिनूस् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग भइरहेको स्थितिबारे गम्भीरतापूर्वक अनुगमन गरी नियन्त्रणका लागि आवश्यक कदम चाल्न निर्देशन दिएका छन् । आइतबार दिउँसो सिंहदरबारमा आयोजित राजस्व वृद्वि तथा चुहावट नियन्त्रण सम्वन्धी बैठकमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीहरूलाई प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् । बैठकमा प्रधानमन्त्रीले भने- ‘राजस्व चुहावट र अबैध व्यापारिक कारोवारमा हुने सेटिङ्ग भत्काउने कार्यलाई प्राथमिकता दिनुहोस् । झुटा तथा नक्कली विल विजक र स्टिकरको प्रयोग भइरहेको सूचना आएको छ। त्यसको गम्भीर अनुगमन गर्नुस् र एक्सन लिनुस् ।’ प्रधानमन्त्रीले नयाँ गतिका साथ काम गर्ने अठोट लिएर सरकार पुनर्गठन गरिएको बताउँदै सोहीअनुरूप क्रियाशील हुन निर्देशन दिए । उनले भने- ‘सरकारले नयाँ गतिका साथ काम गर्ने अठोट लिएको छ । मुलुक समृद्विको बाधकका रूपमा रहेका भ्रष्टाचार, तस्करी र राजस्व छलीलाई निर्ममतापूर्वक हटाउनैपर्छ। जनतामा पैदा गरिएको निरासालाई चिनुपर्दछ । यसका लागि बिगतका परम्परागत प्रशासनिक कार्यशैली, व्यवहार र चिन्तनबाट सम्भव छैन । नयाँ सोचसहित अगाडि बढौँ ।’ आन्तरिक बजारलाई व्यवस्थित तुल्याउँदै बिल लिने दिने प्रणाली प्रभावकारी बनाउनसमेत प्रधानमन्त्रीले निर्देशन दिए । प्रधानमन्त्री प्रचण्डले भने- ‘आन्तरिक बजारमा बील लिने दिने प्रणाली प्रभावकारी भएको छैन । कारोवारलाई आवश्यकताअनुसार प्रविधिमा रूपान्तरण गर्न सकिएको छैन । यस सम्वन्धमा सम्बन्धित राजस्व कार्यालयहरूले नियमित बजार अनुगमन गर्ने र सोको रिपोर्टिङ गर्ने व्यवस्था मिलाउनुहोस् । कर प्रशासनका सबै कार्यलाई पूर्ण प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिनुहोस् ।’ बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठ, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, अर्थसचिव डा. कृष्णहरि पुस्कर, राजस्व सचिव डा. रामप्रसाद घिमिरे, गृहसचिव एकनारायण अर्याल, प्रधानमन्त्री कार्यालयका सचिवहरू, प्रहरी महानिरीक्षक वसन्त कुंवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, अर्थ मन्त्रालय मातहतका महानिर्देशकहरूको उपस्थिति थियो ।

ग्लोबल मनी वीकमा गरिमा विकास बैंकको विभिन्न कार्यक्रम सम्पन्न

काठमाडौं । गरिमा विकास बैंकले विभिन्न कार्यक्रमहरु सहित ग्लोबल मनी वीक मनाएको छ । बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिबृद्धि गर्दै ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ सन् २०१२ देखि विश्वभर मनाउने गरिएको ग्लोबल मनी वीकको १२औं शृङ्खला ग्लोबल मनी वीक २०२४ गरिमा विकास बैंकले विभिन्न कार्यक्रमहरु गरी मनाएको छ । ‘प्रोटेक्ट योर मनी, सेक्युर योर फ्युचर’ भन्ने नाराका साथ विश्वव्यापी रुपमा २०२४ मार्च १८ देखि २४ सम्म मनाईएको यस कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडले देशका ७ वटा प्रदेशमा रहेका विभिन्न स्कुल, कलेज, शैक्षिक संघ–संस्थाहरुसंगको समन्वयमा विभिन्न तहका विद्यार्थीहरुलाई लक्षित गर्दै वित्तीय साक्षरता, वित्तीय अन्तरक्रिया, शैक्षिक सामग्री वितरण, वित्तीय चेतना प्रभातफेरी लगायतका १८ वटा कार्यक्रमहरु सम्पन्न गरेको छ । विकास बैंकले काठमाडौं उपत्यकको हात्तीगौंडा, बानेश्वर संगै झापाको बुधबारे, सर्लाहीको लालबन्दी, तनहुको दमौली, गोरखाको गोरखा बजार, नवलपरासीको सुनवल, स्याङ्जाको चापाकोट, कञ्चनपुरको महेन्द्रनगरमा वित्तीय साक्षरता, मोरङ्गको विराटचोक, धनुषाको जनकपुर, मकवानपुरको हेटौडा, कैलालीको धनगणी र लम्कीमा विद्यार्थीहरुलाई शाखा कार्यलयको अवलोकन गराउनुका साथै बाराको सिमरा, सुर्खेतको बिरेन्द्रनगर, काभ्रेपलाञ्चोकको बनेपा र कपिलवस्तूको चन्द्रौ६ामा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण कार्य सम्पन्न गरेको छ । उल्लेखित कार्यक्रमहरुबाट देशभरका १३ सयभन्दा बढी विद्यार्थी प्रत्यक्षरुपमा लाभान्वित भएका छन । यस विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत समय–समयमा विभिन्न सामाजिक उत्तरदायित्वमुखी कार्यक्रमहरु गर्दै आईरहेको छ ।

हेवा खोला ए को निर्माण ५० प्रतिशत पूरा, १ वर्षभित्र सम्पन्न हुने

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको ५१ प्रतिशत लगानी रहेको हेवा खोला ए जलविद्युत आयोजनाको निर्माण करिब ५० प्रतिशत पुरा भएको छ । आयोजनाको निर्माण गत असारबाट मात्रै सुरु भएको थियो भने आगामी माघभित्र सम्पन्न हुने अनुमान गरिएको छ । ह्याविटाट पावर कम्पनी लिमिटेडले प्रवर्द्धन गरेको ९.९ मेगावाट क्षमताको आयोजना पाँचथरस्थित हेवा खोलामा निर्माणाधिन छ । आयोजनाको निर्माणकार्य सुरु भएको ९ महिना नपुग्दै करीब ५० प्रतिशत निर्माण पूरा भएको आयोजना निर्देशक मधुसूदन पौड्यालले जानकारी दिए । आयोजनाका अधिकारीहरुका अनुसार लक्ष्य भन्दा धेरै काम भएको र कुनै प्राकृतिक विपत्ति वा अन्य काबु बाहिरको परिस्थिति सृजना नभए २०८१ माघ भित्र निर्माणकार्य सम्पन्न हुनेछ । आयोजना निर्देशक पौड्यालका अनुसार आयोजनाको बाँध,विद्युत गृह लगाएतका मुख्य मुख्य संरचनाहरुको निर्माणकार्य प्रगति निर्धारित लक्ष्यभन्दा बढी भइको छ । आयोजनामा प्रयोग हुने पेनस्टक पाईप नेपाल आईसकेको र हाल निर्माणस्थलसम्म ढुवानी भैरहेको छ । विद्युतगृहमा जडान हुने उपकरणको खरिद प्रकृया अन्तिम चरणमा पुगिसकेको निर्देशक पौड्यालको भनाई छ । प्रतिमेगावाट १८ करोड ५० लाख लागतमा सम्पन्न हुने यो आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा माछापुच्छ्रे र लुम्बिनी विकास बैंकको लगानी रहेको छ ।

तीन महिनापछि लोडसेडिङ हुन्छ भन्नेमा सत्यता छैन : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले तीन महिनापछि लोडसेडिङ हुन्छ भन्ने कुरामा सत्यता नभएको बताएका छन् । आईतबार प्रतिनिधि सभा बैठकमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइ एस ए) को स्थापनासँग सम्बन्धित सौम्झौता माथिको छलफलमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री बस्नेतले तीन महिनापछि लोडसेडिङ नहुने बताएका हुन् । छलफलका क्रममा केही सांसदहरुले भारतले विद्युत बिक्री बन्द गरेमा नेपालमा लोडसेडिङ हुनसक्ने भन्दै मन्त्री बस्नेतलाई प्रश्न गरेका थिए । सोही प्रश्नको जवाफ दिँदै उनले तीन महिनापछि लोडसेडिङ नहुने स्पष्ट पारे । उनले वर्षा याममा नेपालले विद्युत बिक्री गर्ने अवस्था हुने भन्दै उनले भ्रमको पछि दौडिनु नहुने बताए । उनले भने – ‘लाभ छ । नोक्शान छैन । गठबन्धन बाहिर सहकार्य गर्न कुनै बन्देज पनि छैन । आर्थिक दायित्व सिर्जना भएको छैन । लाभ लिन सकिने प्रशस्त ठाउँहरु छन् । सौर्य वित्तको मात्र कुरा होइन, सौर्य प्रविधि, नवप्रवर्तन, क्षमता विकासको विषय पनि लाभका क्षेत्र हुन् । तीन महिनापछि लोडसेडिङ हुन्छ भन्ने चर्चाको बारेमा यो सत्यता होइन । एउटा कुरा के प्रष्ट छ त भन्दा वर्षायाममा त हामी बिक्री गर्छौं । त्यसकारणले तीन महिनापछि लोडसेडिङ हुन्छ भन्ने कुरा आफैँमा सही होइन । त्यो भ्रमको पछि दौडिनु हुँदैन ।’ उनले नेपाल अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइ एस ए) मा सहभागि हुँदा प्रशस्त लाभ लिन सकिने बताए । यो गठबन्धनमा आवद्ध भएबापत कुनै आर्थिक दायित्व समेत सिर्जना नहुने भन्दै चिन्ता लिनुपर्ने अवस्था नभएको बताए । यो गठबन्धनमा आवद्ध हुँदा गठबन्धन बाहिर सहकार्य गर्नका लागि पनि कुनै बन्देज नभएको जानकारी दिए ।

एनसेल एचआर मिट २०२४ मा दुई अवार्डबाट सम्मानित

काठमाडौं । नेपालको मानव संसाधन क्षेत्रमा उत्कृष्ट नीति अभ्यास र कार्यसम्पादन गरे वापत एनसेलले एचआर मिट २०२४ मा ‘नेशनल एचआर एक्सिलेन्स अवार्ड २०२४’ र ‘एक्सिलेन्स इन लर्निङ एन्ड डेभलपमेन्ट अवार्ड २०२४’ जित्न सफल भएको छ । स्वतन्त्र मानव संसाधन परामर्श कम्पनी ग्रोथ सेलर्स प्रा.लिले आयोजना गरेको एचआर मिट २०२४ को विशेष समारोहमा शनिबार एनसेललाई यी अवार्डहरु प्रदान गरिएका हुन् । राष्ट्रिय मानव संसाधन उत्कृष्टता सम्मान अर्थात नेशनल एचआर एक्सिलेन्स अवार्ड नेपालमा प्रदान गरिने सबैभन्दा ठूलो एचआर अवार्डको रुपमा चिनिन्छ र यसअघि एनसेलले नेशनल एचआर एक्सिलेन्स अवार्ड २०२० पनि जितेको थियो । एनसेल एचआर मिट २०२४ मा दुईवटा विधामा अवार्ड प्राप्त गर्ने एनसेल एक मात्र कम्पनी हो । यो सम्मान एनसेलले व्यवसाय सञ्चालनका हरेक पक्षमा उत्कृष्टताका लागि गरेका निरन्तरको प्रयासको प्रमाण हो । नेशनल एचआर एक्सिलेन्स सम्मानका साथै एनसेललाई ‘एक्सिलेन्स इन लर्निङ एण्ड डेभलपमेन्ट अवार्ड २०२४’ पनि प्रदान गरिएको छ । यस अवार्डले अन्तर्राष्ट्रिय सिकाइ र विकास अभ्यासहरूका साथ श्रमशक्तिको पोषण गर्ने कम्पनीको संस्कृति र प्रतिबद्धताको सम्मान गरेको छ ।

आइएमई पेबाट हवाई टिकट खरिदमा क्यास ब्याक र पुरस्कार पाइने

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्ने ग्राहकहरुलाई लक्षित गरी ‘जेट सेट रिवार्ड’ नामक अफर ल्याएको छ । यो अफर अन्तर्गत आइएमई पे एप मार्फत अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा हवाई टिकटमा १०० प्रतिशत क्यास ब्याक साथै अन्य पुरस्कारहरू पनि जित्ने मौका पाउनेछन् । यहि चैत ६ देखि जेष्ठ मसान्त सम्म तिन महिनाको लागि चल्ने सो अफरका ३ जना भाग्यशाली विजेताको नाम आइएमई पे को सामाजिक सन्जालमा सार्वजनिक गरिने छ । यसमा पहिलो भाग्यशाली विजेताले आफ्नो हवाई टिकट खरिद गरेको रकमको १०० प्रतिशत क्यास ब्याक पाउनेछन् । दोस्रो विजेताले द लेकसाइड रिट्रिट- पोखराको प्याकेज जित्न सक्नेछन भने तेश्रो विजेताले चन्द्रागिरी हिल्स रिजोर्टको प्याकेज जित्ने मौका पाउनेछन् । यसको साथै आइएमई पे मार्फत टिकट खरिद गर्ने ग्राहकहरुले हरेक हवाई टिकटमा उच्चतम रिवार्ड पोइन्ट पनि प्राप्त गर्न सक्नेछन् ।