आगामी वर्षको बजेटमार्फत् करको दर घट्ला ?
काठमाडौं । सरकार अहिले बजेट निर्माणको प्रक्रियामा छ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट लेखनका लागि मस्यौदा समिति पनि गठन गरिसकेको छ । अर्थमन्त्रालयका सहसचिव धनीराम शर्माको संयोजकत्वमा बजेट लेखन समिति बनेको छ । समितिमा सहसचिवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन् । योसँगै सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् करका दरमा ठूलो हेरफेर गर्न सक्ने सम्भावना पनि देखिएको छ । सरकारले ६ महिना अगाडि गठन गरेको कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिले करका दर घटाउनु पर्ने सुझाव दिएसँगै सरकारले करको दर घटाउन सक्ने सम्भावना देखिएको हो । सरकारले बजेटमार्फत् करका दर हेरफेर गर्दै आएको छ । समितिले करको दर बढाउनेभन्दा पनि दायरा बढाउनु पर्ने र आगामी दिनमा करको दर घटाउँदै जानु पर्ने सुझाव दिएको छ । पछिल्लो दशकमा राजश्व वृद्धि हुन नसक्नुमा छुट पनि एउटा कारण रहेको भन्दै आगामी दिनमा छुटलाई प्राथमिकता दिनेभन्दा पनि करको दर घटाएर दायरा बढाउनु पर्ने सुझाव समितिले दिएको हो । समितिले आइतबार अर्थमन्त्री वर्षमान पुनसमक्ष प्रतिवेदन बुझाउँदै आर्थिक वृृद्धिमा संकुचनको प्रमुख कारण राजश्व संकलन क्षमतामा वृद्धि हुन नसक्नु रहेको ठहर प्रतिवेदनमा उल्लेख गरेको छ । करको जोखिमभार हेर्न छुट्टै निकाय जरुरी रहेको तथा राजश्व न्यायाधीकरणको विद्यमान संरचनामा परिवर्तन जरुरी रहेको निस्कर्ष पनि प्रतिवेदनले निकालेको छ । प्रतिवेदनले राजश्व परिचालनमा वृद्धि, नयाँ रोजगारी सिर्जना तथा सार्वजनिक वित्तको सवलीकरण हुने विश्वास लिएको छ । प्रतिवेदनमा करसम्बन्धी कानून, करका दर, कर प्रशासन, राजश्व संरचनासहित अर्थतन्त्रका विविध विषयमा सुझाव उल्लेख छ । समितिका संयोजक विद्याधर मल्लिकले मुलुकको कर प्रशासन, आर्थिक वृद्धि र समग्र अर्थतन्त्रको विकासका लागि प्रतिवेदन कोशेढुंगा साबित हुने विश्वास व्यक्त गरे । कम्तिमा आगामी ५ देखि २० वर्षसम्मका लागि राजश्व परिचालनसम्बन्धी नीति निर्माण गर्दा काम लाग्ने सुझावहरू प्रतिवेदनमा समेटिएको उनको भनाइ छ । अर्थमन्त्री वर्षमान पुनले पनि समितिले दिएका सुझावहरू आगामी वर्षको बजेटदेखि नै लागू हुने बताएका छन् । उनले प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रसतिबद्ध रहेको बताउँदै साधारण खर्च धान्न पनि धौधौ परेको र देशभित्र र बाहिरका लगानीकर्ता आकर्षित गर्नुपर्ने समयमा प्रतिवेदन आउँदा थप प्रभावकारी काम गर्न सक्ने धारणा राखे । उनले सांकेतिक रूपमा आगामी वर्षमा करको दर घट्न सक्ने भनाइ पनि राखेका छन् । ‘बजेटको पूर्वसन्धामा केही गर्छु भनेर लागेको समयमा राम्रो प्रतिवेदन हात परेको छ’, मन्त्री पुनले भने, ‘प्रतिवेदनले सरकारको आर्थिक सुधारको प्रयासलाई सहयोग पुग्ने विश्वास छ ।’ पछिल्लो समय आर्थिक वृद्धिदर र मुद्रा स्फितिको अवस्थाबाट समग्र अर्थतन्त्र क्रमशः सुधारको लयमा फर्किन थालेको निष्कर्ष प्रतिवेदनको छ । यस्त,ै विगतमा लिइएका कतिपय संकुचनकारी नीतिका कारण आर्थिक वृद्धिदर, रोजगारी सिर्जना र सार्वजनिक वित्त परिचालनमा अपेक्षित सुधार हुन नसकेको प्रतिवेदनले औंल्याएको छ । ‘विगतमा लिइएका कतिपय संकुचनकारी नीतिका कारण आर्थिक वृद्धिदर, रोजगारी सिर्जना र सार्वजनिक वित्त परिचालनमा अपेक्षित सुधार हुन सकेको छैन,’ प्रतिवेदनमा भनिएको छ, ‘प्रभावकारी माग र लगानीको वातावरण सुधार नहुँदा आर्थिक वृद्धिदरमा सुस्तता आएको छ ।’
लक्ष्मी सनराइज बैंकको महिला सशक्तिकरण कार्यक्रम सम्पन्न
काठमाडौं । लक्ष्मी सनराइज बैंकले समावेशीता, समानता र सशक्तिकरणको संस्कृतिलाई बढावा दिने आफ्नो प्रतिबद्वतालाई जोड दिँदै लैङ्गिक समानता र महिला सशक्तिकरणको कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका माननीय सदस्य लिली थापा, अन्तराष्ट्रिय मुद्रा कोषका आवासीय प्रतिनिधि टेरेसा दबान सान्चेज, एफ वान सफ्ट ग्रुपका पियुष पौड्याल तथा भायनेट कम्युनिकेसन्सकी प्रमुख कार्यकारी अधिकृत सेवा पाठक लगायतका वक्ताहरुले महिला नेतृत्व र सशक्तिकरणको बारेमा आफ्ना महत्वपूर्ण धारणाहरु राखेका थिए । कार्यक्रमको समापन मन्तव्यमा लक्ष्मी सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले बैंकका महिला कर्मचारीहरूको व्यवसायिक विकास तथा मानसिक एवं शारिरिक सुस्वास्थ्य सुनिश्चित गर्न बैंक प्रतिबद्ध रहेको बताए । यस पहलमा वृहत मेन्टरसिप कार्यक्रम, लक्षित नेतृत्व प्रशिक्षण, गर्भावस्थाको समयमा लचिलो कार्य व्यवस्थाहरू र महिला कर्मचारी भएका कार्यालयहरूमा स्याहार केन्द्र तथा स्तनपान कक्षहरूको व्यवस्था लगायतका योजनाहरू समावेश छन् । उनले महिलाहरूलाई व्यक्तिगत र व्यवसायिक रूपमा सक्षम बनाउने वातावरण निर्माण गर्न बैंक प्रयत्नशील रहेको उल्लेख गर्दै उत्पीडन र भेदभावका मामलामा शून्य सहनशीलता कायम गर्ने नीति मार्फत सबैका लागि मनोवैज्ञानिक रूपमा सुरक्षित र सम्मानजनक कार्यस्थल बनाउने प्रतिबद्धता जाहेर गरे । साथै उनले बैंकमा लैङ्गिक प्रतिनिधित्त्व वृद्धि गर्नुपर्ने आवश्यकतालाई स्वीकार गर्दै सक्षम र योग्य महिला जनशक्तिको व्यावसायिक वृद्धि र उन्नतिलाई प्रेरित गर्ने उद्देश्यले विभिन्न पहलहरू कार्यान्वयन गर्न जारी राख्दै भविष्यमा कर्मचारीहरुको निम्ति संस्थाले प्रदान गर्नुपर्ने हेरचाह र उपयुक्त समयको व्यवस्थापनमा तयार रहने बताए । पछिल्लो तथ्यांक अनुसार नेपाली बैंकहरूको समग्र महिला कर्मचारी ७ प्रतिशत रहेकोमा लक्ष्मी सनराइज बैंकको १ प्रतिशतभन्दा कम हुनुले समावेशी र सहयोगी कार्यस्थलको वातावरण सिर्जना गर्ने बैंकको प्रयासको सकारात्मक परिणामहरू झल्काउँछ। हाल बैंकको ३६ प्रतिशत जनशक्ति महिला छन् भने महानगरहरूमा सो अनुपात ४५ प्रतिशत रहेको छ। काठमाडौं उपत्यका भित्रका बैंकका करिब ४० प्रतिशत शाखामा महिला शाखा प्रबन्धकहरू रहेका छन् भने बैंकको २५ प्रतिशत विभागको नेतृत्त्व महिलाहरुले गरिरहेका छन् । सो कार्यक्रमको अन्त्यमा लैगिंक समावेशीता, समानता र सशक्तिकरण झल्काउन सबै सहभागीहरू मिली आधुनिक मिथिला पेन्टिङ पनि बनाइएको थियो ।
मेडिकल सामान आपूर्तिकर्तासहित स्वास्थ्यका निर्देशकविरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग आयोगले स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहता, लेखा अधिकृतलगायत मेडिकल उपकरण आयातकर्ता कम्पनीका सञ्चालकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरका लागि एचडीयू उपकरण खरिद गर्दा भ्रष्टाचार गरेको पाइएको आयोगको भनाइ छ । आयोगले स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक मेहता, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका इञ्जिनियर कुशल दाहाल, स्वास्थ्य निर्देशनालय धनकुटाका लेखा अधिकृत डण्डरसिंह विश्वकर्मा, स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत उदेशकुमार श्रेष्ठ भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ । यस्तै, हस्पिटेक इन्टरप्राइजेज काठमाडौंका सञ्चालक विशाल पण्डित र सोही कम्पनीका व्यवस्थापक मनोजकुमार आचार्यविरुद्ध समान रु दुई करोड ८९ लाख ६६ हजार ५० बराबरको बिगो दावी गरिएको छ । रासस
नयाँ समीकरणपछि अर्थतन्त्रमा उत्साह देखिएको छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ समीकरणसँगै अर्थतन्त्रमा उत्साह पैदा भएको बताएका छन् । मधेश प्रदेशका केन्द्रीय सदस्य एवं वैकल्पिक केन्द्रीय सदस्य र सल्लाहकारहरूको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय अर्थतन्त्रले सकारात्मक लय लिएको बताए । ‘पछिल्लो समय अर्थतन्त्रले सकारात्मक लय लिएको छ, उद्योगी व्यवसायीहरू सकारात्मक भएका छन्,’ अध्यक्ष प्रचण्ड भने, ‘अर्थतन्त्र चलयमान र दबाबमुक्त पनि भएको छ ।’ नीति तथा कार्यक्रम एवं वार्षिक बजेट बनाउने परम्परागत ढाँचा परिवर्तन गरिएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले अब प्रभावकारी कार्यक्रम तयार गर्न र नतिजा आउनेगरी बजेट विनियोजन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको स्पष्ट पारे । उनले आगामी आर्थिक वर्षदेखि तीन करोडभन्दा साना आयोजनामा केन्द्रले बजेट नराख्ने बताए । आगामी आर्थिक वर्षमा मधेस प्रदेशका लागि नयाँ र विशेष ‘प्याकेज’ तयार गर्न आफूले निर्देशन दिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘मधेस प्रदेशको भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा र रोजगारीजस्ता आधारभूत विषयलाई केन्द्रित गरेर प्याकेज तयार गर्न मैले निर्देशन दिएको छु, यस पटक मधेसमा नयाँ हुन्छ ।’ माओवादी केन्द्रले सरकारको नेतृत्व गरेसँगै सुशासनका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धी भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार विरुद्ध सरकारले चालेका कदमबाट जनतामा सकारात्मक सन्देश प्रवाह भएको बताए । ‘मिटरब्याज पीडितका समस्या समाधानतर्फ गएको छ, नागरिकतासम्बन्धी समस्या समाधान भएका छन् र भूटानी शरणार्थी एवं सुनकाण्डजस्ता विषयमा छानबिन गरी दोषीमाथि कारबाही गरिएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने । उनले सरकारको सकारात्मक अभियानलाई जनतासम्म लैजान पार्टीलाई निर्देशन दिए ।
पोखरा-मुग्लिन सडक निर्माण सुस्त गतिमा, सर्वसाधारण दुई वर्षदेखि सास्ती भोग्दै
पोखरा । पर्यटकीय राजधानी पोखरा प्रवेश गर्ने पोखरा–मुग्लिन सडक विस्तार र स्तरोन्नतिको काममा ढिलाइ हुँदा पर्यटक र सर्वसाधारण दुई वर्षदेखि सास्ती भोग्न बाध्य छन् । घाम लाग्दा धुलो र पानी पर्दा हिलोको समस्याबाट यात्रु हैरान भएका छन् । विसं २०७८ वैशाखदेखि सुरु भएको सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो समय थोरै गति लिन थालेको छ । स्थानीयले निर्माण सुस्त भएकाले अझै गति बढाउनुपर्ने बताउँदै आएका छन् । आयोजनाको पूर्वी सडकखण्ड (मुग्लिन–जामुने)मा हालसम्म भौतिक प्रगति ५१ र पश्चिम खण्ड (जामुने–पोखरा) मा १७ प्रतिशत पुगेको छ । पूर्वी खण्डका इञ्जिनियर एवं सूचना अधिकारी विष्णुप्रसाद पाण्डेका अनुसार १४ किमी दूरीमा दुईतर्फी (चार लेन) र १२ किमिमा एकतर्फी (दुई लेन) सडक कालोपत्र भइसकेको छ । उक्त खण्डमा पर्ने १७ साना–ठुला पक्की पुलमध्ये १४ वटा बनिसकेको र तीन वटा निर्माणाधीन अवस्थामा छन् । मादीमा बन्ने ‘सिग्नेचर’ पुल छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको इन्जिनियर पाण्डेले बताए । ‘कोभिड महामारीलगायतका कारण सुरुको चरणमा काम गर्न ढिलाइ भएको हो । अहिले कामले गति लिएको छ, निर्माण कम्पनीले उपकरण र मजदुर थपेर काम गरिरहेका छन्’, उनले भने, ‘कालोपत्रका लागि बेस हाल्नेदेखि, कल्भर्ट, नाली, पर्खाललगायत पूर्वाधार तयारीका काम धमाधम भइरहेका छन् ।’ पूर्वी खण्डको ४१ दशमलव ४५ किमिको काम विसं २०७८ वैशाखदेखि चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले सुरु गरेको थियो । उक्त खण्डको ठेक्काको म्याद आगामी वैशाखसम्म छ । ‘छ महिना म्याद थपका लागि प्रक्रिया अगाडि बढेको छ, सोही अवधिभित्र कामसक्ने लक्ष्य आयोजनाको छ’, इञ्जिनियर पाण्डेले भने । पूर्वी खण्डमा पर्ने तनहुँको दमौली र डुम्रे बजारमा छ लेन र बाँकी खण्डमा चार लेनको सडक बन्ने उनको भनाइ छ । निर्माण कम्पनीले रु छ अर्ब २१ करोड ३१ लाखमा उक्त खण्डको ठेक्का लिएको थियो । आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने)का प्रमुख राजेशप्रसाद पौडेलले काम सकिन अझै दुई वर्ष लाग्ने बताए । ‘हालसम्म पश्चिम खण्डको भौतिक प्रगति १७ प्रतिशत छ, कुनै अवरोध आएन भने दुई वर्षभित्र काम सकिन्छ’, उनले भने, ‘सडक निर्माणलाई तीव्रता दिन पश्चिम खण्डमा अहिले इञ्जिनियर र पाँच सय बढी मजदुर खटिएका छन् ।’ सडक विस्तारसँगै पुल, कल्भर्ट, नालीलगायत पूर्वाधार निर्माणको काम तीव्र गतिमा भइरहेको उनले जानकारी दिए । ‘कतिपय ठाउँमा सडक दायाँबायाँका भौतिक संरचना, विद्युत् खम्बा, खानेपानी र सिँचाइका पूर्वाधार व्यवस्थापनको काम बाँकी छ’, प्रमुख पौडेलले भने, ‘आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा वितरणको प्रक्रिया सँगै अगाडि बढाएका छौँ ।’ पश्चिम खण्डमा हालसम्म पाँच किमी सडक कालोपत्र भइसकेको छ । तनहुँको थर्पु, तुरतुरे, कास्कीको तल्लो गगनगौँडालगायत खण्डमा कालोपत्रको तयारी गरिएकामा वर्षाले अवरोध पुर्याएको आयोजना प्रमुख पौडेलले बताए । १९ प्रतिशत भौतिक प्रगति हुनुपर्नेमा वर्षाकै कारण १७ प्रतिशतमात्र पुगेको उनको भनाइ छ । प्रमुख पौडेलले आगामी असारभित्र ३० प्रतिशत भौतिक प्रगति हासिल गर्ने लक्ष्यसहित आयोजनाको कामलाई गति दिइएको बताए । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्म ३८ दशमलव ८८ किमी दूरी रहेको पश्चिम खण्डको आधा सडक छ लेन र आधा चार लेनको बन्ने पौडेलले जानकारी दिए । आयोजनासँग हाल २० किमी कालोपत्र गर्न आवश्यक सामग्री तयारी अवस्था छ । निर्माण सामग्रीको अभाव हुन नदिन आयोजनाले कास्की र तनहुँका स्थानीय तहसँग समन्वय गरिरहेको छ । आयोजनाको पश्चिम खण्ड निर्माण पूर्वी खण्डको भन्दा छ महिना पछि सुरु भएको थियो । सडकको अधिकार क्षेत्रभित्रका संरचना, विद्युत् खम्बा, खानेपानीका पूर्वाधार आदि हटाउन समय लागेकाले आयोजना निर्माणमा ढिलाइ भएको प्रमुख पौडेलले बताए । पश्चिम खण्डमा विसं २०७८ भदौदेखि काम सुरु गरेकोमा ठेक्काको म्याद आगामी भदौसम्म रहेको आयोजना कार्यालयले जनाएको छ । सो अवधिमा निर्माण सम्पन्न नहुने भएपछि म्याद थपको प्रक्रिया अगाडि बढाइएको आयोजना प्रमुख पौडेलले जानकारी दिए । पश्चिम खण्डअन्तर्गत दुलेगौँडा र मुख्य बजार क्षेत्रको सडकको चौडाइ ४६ मिटर हुनेछ । जामुनेदेखि कुम्लेखोलासम्म १८ मिटर र बाँकी खण्डमा २३ मिटर सडक कालोपत्र हुने जनाइएको छ । पश्चिम खण्डमा १२ वटा पक्की पुल र एक सयको हाराहारीमा कल्भर्ट बनिरहेको आयोजना कार्यालयले जनाएको छ । पोखराको सेती नदीमा ‘सिग्नेचर’ पुल निर्माणाधीन अवस्थामा छ । ‘केबल–स्टेड’ प्रविधिको उक्त पुलको ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको छ । भ्याटबाहेक रु ९४ करोडमा ठेक्का लागेको पुल आकर्षक हुने आयोजनाले जनाएको छ । चिनियाँ निर्माण कम्पनी ‘यनहुई काइयुयान हाइवे’ एण्ड ब्रिज कन्सट्रक्सनलले रु सात अर्ब ४० करोड ४६ लाखमा पश्चिम खण्डको निर्माण ठेक्का लिएको हो । कूल ८१ किमी दूरीको सो सडक एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम भइरहेको छ । सडक विस्तार भइरहेकाले प्रदेश राजधानी पोखरा प्रवेश गर्ने मुख्य सडकको यात्रामा सर्वसाधारणले सास्ती खेप्न बाध्य छन् । घाम लाग्दा सडक धुलाम्मे र वर्षात्मा हिलाम्ये हुँदा यातायात सञ्चालनमा कठिनाइ भएको छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पहिलेको तुलनामा पछिल्लो समय सडक निर्माणले गति लिएकामा सन्तोष व्यक्त गरे । ‘सडक निर्माण सुस्त भएपछि हामीले दबाबमूलक कार्यक्रम गर्नुपरेको थियो, अहिले सडकको प्रगति हेर्दा सन्तोषजनक देखिन्छ’, उनले भने, ‘पर्यटकीय राजधानी जोड्ने मुख्य सडकमार्ग भएकाले चाँडो निर्माण सम्पन्न गर्न सम्बन्धित पक्षको ध्यान जानु जरुरी छ । यो सडक पोखराको पर्यटनका लागि कोसेढुङ्गा हो ।’ पोखरा–मुग्लिन सडकस्तरीय नहुँदा पोखरा र आसपासको पर्यटन क्षेत्र मारमा परेको छ । पर्यटकीय राजधानी प्रवेश गर्न घण्टौँको सास्तीपूर्ण यात्रा गर्नुपर्ने अवस्था अन्त्य हुनेमा विश्वस्त रहेको अध्यक्ष श्रेष्ठले बताए । रासस
स्पेसएक्सद्वारा २३ वटा भूउपग्रह प्रक्षेपण
लस एन्जलस । संयुक्तराज्य अमेरिकाको निजी क्षेत्रको स्पेस–एक्स कम्पनीले शनिबार २३ वटाभन्दा बढी स्टारलिङ्क भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ । स्पेस–एक्सका अनुसार, अमेरिकाको फ्लोरिडास्थित केप कानाभारल स्पेस फोर्स स्टेसनबाट उक्त भूउपग्रह प्रक्षेपण गरिएको हो । कम्पनीले फाल्कन ९ नामक रकेट मार्फत् २३ वटा स्टारलिङ्क उपग्रह प्रक्षेपण गरेको जनाएको छ । स्टारलिङ्क भूउपग्रहहरुले पृथ्वीका दुर्गम क्षेत्र र इन्टरनेटको पहुँच कमजोर भएका क्षेत्रहरुमा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने कम्पनीको भनाई छ । रासस
विकल र सुनिललाई २१ दिन थुनामा राख्न अनुमति
काठमाडौं । विशेष अदालतले विकल पौडेल र सुनिल पौडेललाई थप २१ दिन थुनामा राख्न अनुमति दिएको छ । गैरकानूनी सम्पत्तिआर्जनको उजुरीको अनुसन्धानमा पक्राउ परेका उनीहरूलाई थप २१ दिन थुनामा राख्न अनुमति दिएको हो । विकल पौडेलमाथि सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा अनियमितता र सुनिलमाथि पेमेन्ट गेट–वे अनियमिततामा मुद्दा चलेको छ । नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई गत माघ १० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको थियो । माघ ११ गते विशेष अदालतले ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । त्यसपछि फागुन २ गते पुनः उनीहरुमाथि १० दिन म्याद थप भएको थियो ।
१७ अंकले घट्यो नेप्से परिसूचक, सर्वोत्तम सिमेन्टको सर्वाधिक कारोबार
काठमाडौं । आइतबारको नेप्से परिसूचक १७ अंकले घटेको छ । कारोबार खुलेदेखि ओरालोको यात्रा तय गरेको नेप्सेले बजार बन्द हुँदा १७.३० अंकले घटेर २०१८.३३ बिन्दुमा पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ०.८५ प्रतिशतले घटी हो । बजारमा परिसूचक घट्दा कारोबार रकम भने बढेको छ । दिनभरको बजारमा ३ अर्ब २० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जबकी अघिल्लो कारोबारमा २ अर्ब ६५ करोडको मात्रै सेयर किनबेच भएको थियो । ३१६ वटा स्क्रीप्सको कारोबार भएको बजारमा सर्वोत्तम सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन २८ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कम्पनीको सेयर मूल्य भने ९.९९ प्रतिशतले घटेर प्रतिकित्ता ९७४.५० रुपैयाँमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा प्रतिकित्ता १०८.२० रुपैयाँले कम हो ।