हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेत्री भुसाल, ‘सानोमा पढ्न पाइँन, अब पढ्छु’
पर्वत । पढ्नका लागि उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण पर्वतकी एक महिला नेतृले देखाएकी छिन् । दक्षिणी पर्वतको बिहादी गाउँपालिका-४ वहाकीकी ५० वर्षीया खगिसरा भुसालले एसइई परीक्षामा सहभागी भएर उक्त उदाहरण प्रमाणित गरेर देखाएकी हुन् । उनले दुई छोरा र एक छोरी जन्माएर, हुर्काएर विवाहसमेत गराइसकेकी छिन् । बूढेसकालमा सुख सयलका साथ जीवन बिताउने बेला भए पनि सानो उमेरमा पढाइ पूरा गर्न नपाएको धोको भुसालले हजुरआमा बनेपछि पूरा गर्नतर्फ लागेकी छिन् । भुसाल स्थानीय वहाकी उच्च मावि परीक्षा केन्द्रबाट एसइई परीक्षामा सहभागी भएकी छिन् । विसं २०४६ मा उनको विवाह भयो । कक्षा ९ को वार्षिक परीक्षा दिने बेला हुँदै थियो । त्यही बेला उनी सुन्त्केरी भएर छोरा जन्माइन् । सुत्केरी भएपछि परीक्षा दिन त पाइनन् नै भुसालको त्यसपछिको पढाइसमेत रोकियो । पढाइ छाडेको ३२ वर्षपछि अघिल्लो वर्ष उनी गाउँकै लक्ष्मीभवन माविमा कक्षा ९ मा भर्ना भइन् । कक्षा ९ उत्तीर्ण गरेर नियमित कक्षा १० अध्ययन पूरा गरेपछि अहिले भुसाल एसइईमा सहभागी भएकी हुन् । पढ्नै पर्छ भन्ने कुनै बाध्यता नभए पनि आफूले थप शिक्षित बन्नका लागि ३२ वर्षपछि पुनः विद्यालय पढ्न थालेको परीक्षार्थी भुसालले बताइन् । उनले कक्षा ८ सम्म बिहादी गाउँपालिका-५ उरामको चन्द्र माविमा अध्ययन गरेकी थिइन् । पाको उमेरमा भर्खरका केटाकेटीसँग बसेर अध्ययन गर्दा पनि आफूलाई असहज महसुस नभएको उनको भनाइ छ । भुसालका छोरा र छोरीबाट तीन नाती नातीनासमेत छन् । ‘छोराबुहारीको कमाइबाट सुखसयलमा बसेको भए पनि हुन्थ्यो, तर सानैमा धेरै पढ्न नपाएकोमा पछुतो लागिरहेकाले पुनः पढ्न थालेकी छु’, उनले भनिन्, ‘एसइईपछि पनि कक्षा ११ र १२ अध्ययन गर्ने योजना छ ।’ भुसाल बिहादी गाउँपालिकाकी पूर्वजनप्रतिनिधि हुन् । उनी पहिलो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेर गाउँ कार्यपालिका सदस्य बनेकी थिइन् । भुसालले अहिले सक्रिय राजनीति गर्दै आएकी छिन् । उनी नेपाली कांग्रेस बिहादी गाउँ कार्यसमितिको सदस्य तथा नेपाल महिला सङ्घ बिहादीको कोषाध्यक्षसमेत रहेकी छिन् । भुसालले १७ वर्ष महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा पनि काम गरिसकेकी छिन् । कार्यपालिका सदस्यमा विजयी भएपछि उनले स्वयंसेविका छाडेकी हुन् । उनले २०४८ सालबाटै नेपाल विद्यार्थी सङ्घको जिल्ला सदस्य भएर राजनीति गर्दै आएकी हुन् । ‘राजनीति होस् वा अन्य क्षेत्रमा पढाइको ज्ञानसँगै प्रमाणपत्रसमेत आवश्यक पर्ने भएकाले पनि मलाई विद्यालय जान रहर जागेको हो’, उनले भनिन् । घरमा छोराछोरीको जिम्मेवारी पूरा गरेपछि पढ्न सहज भएको उनले बताइन् । भुसालका श्रीमान् तिलक भुसाल नेपाली कांग्रेसका नेता हुन् । उनी नेपाली कांग्रेस पर्वतको सहसचिव तथा सङ्गठन विभाग प्रमुख रहेका छन् । ‘सानै उमेरमा विवाह भएपछि पढाइ रोकिएको थियो, अहिले पुनः विद्यालय गएर पढ्न थालेकी छिन्’, श्रीमान् तिलकले भने, ‘उनको इच्छाअनुसार जहिलेसम्म पढ्छिन्, त्यति बेलासम्म पढ्ने वातावरण मिलाउँछु ।’ श्रीमतीको पठनपाठन प्रभावित नहोस् भनेर आफूले घरायसी काममा सहजीकरण गरिदिने गरेको तिलकले बताए । शिक्षा विकास तथा समन्वय एकाइ पर्वतले पर्वतमा एसइई दिने दुई हजार २८ विद्यार्थीमध्ये खगिसरा भुसाल सबैभन्दा पाको उमेरको विद्यार्थी रहेको जनाएको छ । कार्यालय प्रमुख उद्धिमराज पौडेलले भुसाल ५० वर्ष नाघेको विद्यार्थी रहेको भन्दै उनी जिल्लामै सबैभन्दा बढी उमेरको विद्यार्थी भएको बताए । पर्वतकै पैंयु गाउँपालिकास्थित जनसेवा संस्कृत माविबाट १२ वर्षका शक्ति अधिकारीले पनि एसइई परीक्षा दिएका छन् । अधिकारी जिल्लाकै सबैभन्दा कान्छो उमेरका विद्यार्थी हुन् । रासस
उपप्रधानमन्त्री श्रेष्ठ आज स्वदेश फर्कँदै
चीन । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्कँदै छन् । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी) का अध्यक्ष वाङ हुनिन, चिनियाँ समकक्षी वाङ यीलगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए । भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श भएको थियो । सो क्रममा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल तीव्र आर्थिक विकासको यात्रामा अघि बढिरहेको जानकारी दिँदै त्यसका लागि छिमेकी मुलुक चीनको सहयोग महत्वपूर्ण हुने बताएका थिए । उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री सुन हाइयानसँग पनि भेट गरेका थिए । सो भेटवार्तामा उनीहरुबीच नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई प्रगाढ बनाउनेबारेमा छलफल भएको थियो । उपप्रधानमन्त्री श्रेष्ठ माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्ष एवं विदेश विभाग प्रमुखसमेत हुन् । बेइजिङमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठले नेपाली दूतावासमा आयोजित पूर्वलगानी सम्मेलनलाई सम्बोधन गरेका थिए । सो क्रममा उनले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान गरेका थिए । सोही दौरान उनले चीनकै दक्षिण पश्चिमी सहर छोनछिन नगरपालिकाको अवलोकन भ्रमण गरेका थिए । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ कम्युनिष्ट पार्टी छोनछिन कमिटीका सचिव युयान जाइजुनबीच प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता भएको थियो । उक्त भेटमा उपप्रधामन्त्री श्रेष्ठले नेपाल र चीन आर्थिक समृद्धिको यात्रामा सँगसँगै अघि बढ्नुपर्ने बताएका थिए । यसैगरी उपप्रधानमन्त्री श्रेष्ठले चीनको सिजाङ्ग स्वायत्त क्षेत्रका पार्टी सचिव वाङ झुङहेङसँग भेट गरी नेपाल–चीन सीमा क्षेत्रका नागरिकले व्यहोर्नुपरेको समस्या समाधान गर्न आग्रह गरेका थिए । उनले ल्हासास्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन गरी आर्थिक कूटनीतिमा ध्यान दिन निर्देशन दिएका थिए । उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले तिब्बतमा रहेको कैलाश मानसरोवर क्षेत्रको अवलोकनसमेत गरेको थियो । भ्रमणका क्रममा सिचुवान प्रान्तको छेन्दु आइपुगेका उनले सिचुवान जनसरकारका गभर्नर हुवाङ सियाङसँग पनि भेट गरी नेपालमा चिनियाँ लगानीका लागि आग्रह गरेका थिए । नेपाली प्रतिनिधिमण्डलमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, परराष्ट्र मन्त्रालयको उत्तर पूर्व एसिया महाशाखाका प्रमुख एवं सहसचिव कृष्ण ढकाल, बेइजिङस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन सुरेन्द्र यादव, उपप्रधानमन्त्रीका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, नायब शिष्टाचार महापाल उत्तमकुमार शाही, परराष्ट्र मन्त्रालयका उपसचिव अरुणा घिसिङलगायत सहभागी थिए । उपप्रधानमन्त्री श्रेष्ठ चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा यही चैत १२ गते चीनको भ्रमणमा आएका हुन् । रासस
चांगनको डीपल एस०७ नेपाली बजारमा सार्वजनिक, के-के छन् फिचर्स ?
काठमाडौं । नेपालका लागि चांगानको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्प प्रालिले नेपाली ईभी क्षेत्रलाई रूपान्तरण गर्ने ‘इन्टेलिजेन्ट’ र ‘लक्जरियस’ विद्युतीय एसयूभी दीपल एस०७ सार्वजनिक गरेको छ । यसको ट्यागलाइन ‘टच द फ्युचर’ले सुझाएजस्तै नयाँ दीपल एस०७ मा नेपाली अटोमोबाइलमा पहिलो पटक प्रयोग भएका दर्जनौँ विशेषताहरू छन् । यो कारमा भएको विशेषताहरुले ‘विद्युतीय मोबिलिटी’मा केसम्म सम्भव छ भन्ने देखाउने दाबी कम्पनीले गरेको छ । दीपल १ सय ६० वर्षभन्दा लामो विरासत बोकेको चिनियाँ अटो ग्रुप चांगानको सब ब्रान्ड हो जसले चांगानका लागि ‘न्यु इनर्जी भेहिकल’को विकास र उत्पादन गर्छ। नेपाली अटो क्षेत्रले लामो समयदेखि प्रतिक्षा गरेको यो ‘इन्टेलिजेन्ट विद्युतीय’ एसयूभीलाई आइतबार नेपालका लागि चिनियाँ राजदूत सेन सङ, चांगान अटोका डेप्युटी जनरल म्यानेजर गुआन सिन, एमएडब्लू ग्रुपका कार्यकारी निर्देशक विष्णु अग्रवाल र एमएडब्लू वृद्धिका कार्यकारी निर्देशक विवेक सिकारियाले संयुक्त रूपमा सार्वजनिक गरेको हुन्। दीपल एस०७ को सार्वजनिकीकरण नेपालमै पहिलो पटक कारमाथि ‘थ्री डी म्यापिङ प्राजेक्सन’ गरी गरिएको हो । १५ भन्दा बढी ‘फस्र्ट टाइम इन नेपाल’ विशेषता दीपल एस०७ मा ईभी डेडिकेटेड ‘ईपीए१ प्ल्याटफर्म’ र ‘रियर ह्वील ड्राइभ सिस्टम’ रहेको छ जसको माथि ६६.८ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ र यसले सिंगल चार्जमा ४ सय १० किलोमिटरको रेन्ज (डब्लूएलटीपी) दिन्छ। अटोमोबाइकल डिजाइनको ‘हेरिटेज’ मानिने इटालीको टुरिनमा डिजाइन भएको दीपल एस०७ मा नेपालमै पहिलो पटक प्रयोग भएका दर्जनौँ विशेषता छन् । संगीत, फोन कल र फोटो खिच्नेलगायतका लागि एस०७ को ‘जेस्चर कन्ट्रोल’को माध्यमबाट हातको संकेतबाट कमान्ड लिनसक्छ। साथै यसमा ‘अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले’ (एआर एचयूडी) रहेको छ जसले ‘रियल टाइम नेभिगेसन’ लगायत अन्य महत्वपूर्ण सूचना दिन्छ जसले ड्राइभिङलाई सहज मात्र बनाउँदैन सुरक्षित पनि बनाउँछ । साथै क्याबिनको बीचमा १५.६ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ रहेको छ जुन टचस्क्रिनलाई ‘इन्टर्याक्ट’ गर्ने यात्रुतिर आफैं फर्कन्छ । दीपल ०७ मा ‘वेलकमिङ सिट’ पनि रहेको छ जसले डङाइभरलाई गाडीभित्र छिर्न सहज बनाउनुका साथै उसको उचाइअनुसार सिटको पोजिसनलाई आफैं मिलाइदिन्छ । दीपलमा पछाडि मात्र होइन अगाडि बोनेटमा पनि सामान राख्नका लागि १ सय २५ लिटरको ‘फ्रंक’ स्पेस रहेको छ। यसमा रहेको २० इन्चको विशाल टायरले ईभीलाई आकर्षक मात्र बनाउँदैन यसको पर्फमेन्समा पनि सुधार ल्याउँछ । त्यस्तै नेपालमै पहिलो पटक, कुनै पनि ईभीमा चार ‘ड्राइभिङ मोड’ (इको, कम्फर्ट, स्पोर्ट र कस्टमाइज) रहेको छ जसले ड्राइभरलाई चाहेको जस्तो ड्राइभिङ अनुभव दिलाउँछ । दीपल एस०७ मा प्रयोग भएको ‘फ्रेमलेस डोर’ र ‘फ्लस ह्यान्डल’ले यो ई एसयूभीको आकर्षण र ‘एरोडाइनामिक्स इफिसेन्स’लाई बलियो बनाएको छ। साथै यसमा ‘हेडरेस्ट स्पिकर’ र ‘आउटडोर स्पिकर’सहित १४ वटा हाइ क्वालिटी सोनी स्पिकर छन्। कारभित्रको वातावरणलाई ‘कस्टमाइज’ गर्न ‘न्याप, क्याम्प, बेबी केयर, म्युजिक लाइट सो’ जस्ता ‘इन्टेलिजेन्ट सिनेरियो मोड’हरु छन्। साथै पछाडिको सिटबाट अगाडिको सिट ‘एड्जस्ट’ गर्न मिल्ने र ‘सनसेद’लाई खोल्न र बन्द गर्न सकिने टचस्क्रिन रहेको छ। सुरक्षाका लागि दीपल एस०७ मा ‘इन्टरेक्टिभ एडाप्टिभ क्रुज कन्ट्रोल’सहितको ‘इन्टेलिजेन्ट एडास २.५’, ६ वटा एअर ब्याग, ‘अटोमेटिक इमर्जेन्सी ब्रेकिङ’, ‘ड्राइभर फ्याटिग मनिटरिंग सिस्टम’, ‘सेफ डिस्टेन्स वार्निङ’, ‘ट्रान्सपेरेन्ट च्यासिस’सहितको ३६० क्यामेरा, ‘ड्राइभ भिडियो रेकर्डर’, ‘डिस्ट्रयाक्स वार्निङ’ लगायत धेरै व्यवस्था रहेको छ। विद्युतीय मोबिलिटीमा नयाँ अध्याय कार्यक्रममा एमएडब्लू ग्रुपका कार्यकारी निर्देशक विष्णु अग्रवालले दीपल एस०७ एउटा ईभी मात्र नभएर नेपालमा स्वच्छ मोबिलिटीको भविष्य कस्तो हुनसक्छ भन्ने दृश्तान्त भएको बताए। ‘हामीलाई गर्व छ कि हामीले पर्फमेन्स र लक्जरीको सीमालाई फराकिलो पार्ने मात्र होइन नेपालमा पहिले कहिल्यै नदेखिएको र अनुभव नगरिएको इन्टेलिजेन्स र इनोभेसनले भरिएको कार ल्याएका छौँ,’ उनले भने। त्यसैगरी चांगान अटोका डेप्युटी जनरल म्यानेजर गुआयन सिनले चांगानका लागि नेपाली बजार महत्वपूर्ण र भरपर्दो भएको बताए। ‘हामी नेपाली बजारमा अझ धेरै चांगानका गुणस्तरीय, सुरक्षित र उच्च प्रविधिका गाडीहरु ल्याउने लक्ष्य लिएका छौँ। साथै ग्राहकको अनुभव र बिक्रीपछिको सेवालाई पनि हामी उत्तिकै महत्व दिएका छौँ किन कि चांगानको पहिलो प्राथमिकता ग्राहकको सन्तुष्टि नै हो,’ उनले भने। नेपालमा दीपल एस०७ को सुरुवाती मूल्य ७१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यो ६ आकर्षक कलरमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
कालोसूचीका २६ कम्पनीले सात दिनभित्र लिखित स्पष्टीकरण दिनुपर्ने
काठमाडौं । कालोसूचीका लागि सिफारिसमा परेका २६ ठेकेदार कम्पनीहरूले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई अटेरी गरेका छन् । कार्यालयले २६ कम्पनीलाई कालोसूचीमा राख्न नपर्ने आधार भए ३० दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो । तर, उनीहरूले हालसम्म कुनै जवाफ नपठाएको कार्यालयले जानकारी दिएको छ । कार्यालयले अर्को सूचना जारी गर्दै सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।
इजरायलले चौथो पटक बढायो इन्धनको मूल्य
जेरुसेलम । इजरायलले इन्धनको मूल्य ७.५१ शेकेलको तुलनामा ७.७२ शेकेल (करिब २.०९ अमेरिकी डलर) वृद्धि भएको घोषणा गरेको छ । इजरायली ऊर्जा मन्त्रालयले आइतबार एक वक्तव्य जारी गर्दै सोमबारदेखि लागू गरेको मूल्य वृद्धि एक महिनामा चौथो पटकको वृद्धि हो । सोमबारदेखि लागु हुने मूल्य वृद्धि गत वर्षको डिसेम्बरको भन्दा ११.२ प्रतिशतले वृद्धि भएको छ र सन् २०२२ जुलाई पछिको उच्चतम स्तरमा पुगेको छ । मन्त्रालयका अनुसार हालको वृद्धि भूमध्यसागरीय देशहरूमा औसत इन्धनको मूल्यलाई आधार बनाएर निर्धारित गरिएको हो । सन् २०२४ को बजेटमा उल्लेखित इन्धनको मूल्य निर्धारणको महत्वपूर्ण तत्व अन्तःशुल्क करका लागि अनुदान बन्द गर्ने सरकारको निर्णयबाट निरन्तर मूल्य वृद्धिको एउटा प्रमुख कारण हो । यसले जारी द्वन्द्वको बीचमा अन्य खर्चहरू घटाउँदै रक्षा खर्चलाई प्राथमिकता दिन्छ । ‘येदिओथ अहरोनोथ’ दैनिक पत्रिकाका वरिष्ठ विश्लेषक गड लिओरले सिन्ह्वालाई बताएअनुसार इन्धनको मूल्य वृद्धिले गर्दा इजरायलमा विद्युत् र पानीको मूल्यमा पनि छिट्टै वृद्धि हुन सक्छ र मुद्रास्फीति दरमा देखिएको घट्दो प्रवृत्तिलाई उल्टाउन सक्छ । एजेन्सी
प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा, क-कसले दिन पाउँछन् आवेदन ?
काठमाडौं । प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । प्राइम कमर्सियल बैंकको सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक तथा अन्य व्यक्ति तथा कम्पनीहरूले आवेदन दिन सक्ने बैंकले जनाएको छ । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ । सेयर खरिदका लागि लगानीकर्ताले बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्नुपर्नेछ ।
साना किसान लघुवित्तको संस्थापक सेयर बिक्रीमा
काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । सोमबार एक सूचना प्रकाशन गरेर साना किसान कृषि सहकारीले आफ्नो स्वामित्वमा रहेको साना किसान लघुवित्तको ३० हजार कित्ता संस्थापक सेयर बिक्री राखिएको जनाएको छ । यो सेयर खरिदका लागि साना किसान सहकारी संस्था तथा अन्य विद्यमान संस्थापकहरूले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य ३३० रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार बोलकबोल पेस गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा ४ हजार कित्ताका लागि खरिद आवेदन पेस गर्न सकिने छ । आगामाी वैशाख २३ गतेसम्म बोलपत्र पेस गर्न सकिने छ । लगानीकर्ताले एनआईशी एशिया क्यापिटलको कार्यालय र साना किसान विकास लघुवित्तको शाखा कार्यालयहरू झापा, इटहरी, बर्दिवास, हेटौंडा, गजुरी, पोखरा, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, बबरमहल, लहान र अत्तरिया शाखा कार्यालयमा बोलपत्र आवेदन पेस गर्नुपर्नेछ ।
यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सोमबार देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। भोलि मंगलबार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।