विकासन्युज

प्रस्तावित महालेखापरीक्षक रायाको सुनुवाइ प्रक्रिया सुरु

काठमाडौं । प्रस्तावित महालेखापरीक्षक तोयम रायाको संसदीय सुनुवाइ प्रक्रिया अघि बढेको छ । संसदीय सुनुवाइ समितिको सोमबारको बैठकले रायासँग सम्बन्धित कुनै गुनासा वा उजुरी भएमा १० दिनभित्र समितिमा बुझाउन सर्वसाधारणलाई सूचना जारी गर्ने निर्णय गरेको सङ्घीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । संवैधानिक परिषद्को आइतबारको बैठकले राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी रायालाई उक्त पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

रुसी युक्रेन युद्धमा मृत्यु भएका परिवारको सदस्यले न्याय माग्दै गरे प्रर्दशन (तस्बिरहरु)

काठमाडौं । रुसी युक्रेन युद्धमा मृत्यु भएका परिवारको सदस्यले सोमबार सिंहदरबार दक्षिण गेटमा न्याय माग्दै प्रर्दशन गरेका छन् । प्रर्दशन गर्ने क्रममा १२ जना पक्राउ परेका छन् ।  

विश्वासको मत लिँदै मुख्यमन्त्री जम्कट्टेल, सरकार टिकाउन ५६ मत चाहिने

मनहरी । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज दिउँसो १ बजे विश्वासको मत लिँदै छन् । आइतबार बसेको प्रदेशसभाको कार्यव्यवस्था समितिको बैठकले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावलाई आज बागमती प्रदेशसभामा छलफल गराउने निर्णयसहित कार्यसूची तय गरेको थियो । प्रदेशसभाका सचिव कृष्णहरि खड्काका अनुसार उक्त बैठकले मुख्यमन्त्री जम्कट्टेलले आज बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची तय भएको छ । बैठकले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावलाई छलफल गरी निर्णायार्थ प्रस्तुत गर्ने कार्यसूची छ । प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि विभिन्न दलका प्रदेशसभा सदस्यले धारणा राख्ने सचिव खड्काले बताए । नेपाली कांग्रेसले प्रदेशसरकारबाट समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था बनेको हो । सोहीअनुसार उनले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव सचिवालयमा दर्ता गराएका थिए । सरकार टिकाउन मुख्यमन्त्री जम्कट्टेललाई प्रदेशसभाका ५६ सदस्यको मत आवश्यक पर्छ । प्रदेशसभामा एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका सात, हाम्रो नेपाली पार्टीका दुई, कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका तीन सदस्य छन् । रासस

भारतीय सेयर बजारले कायम गर्यो एतिहासिक रेकर्ड

एजेन्सी । आज भारतीय सेयर बजार ठूलो उछालका साथ सुरुवात भएको छ । शेयर बजार खुल्ने बित्तिकै ७४ हजार १०१ को उच्च विन्दुमा पुगेको छ । बजार खुलेको २० मिनेटभित्रै सेन्सेक्स र निफ्टीले नयाँ रेकर्ड बनाएका छन् । यी दुवै सूचक अहिलेसम्मकै उच्च विन्दुमा पुगेका छन् । सेन्सेक्स र निफ्टी ऐतिहासिक उचाईमा सेयर बजारले आजदेखि नयाँ आर्थिक वर्षको सुरुवात गरेको छ र बजार खुल्ने बित्तिकै सेन्सेक्स र निफ्टीले अहिलेसम्मकै उच्च रेकर्ड पार गरेर नयाँ ऐतिहासिक तह पार गरेका छन् । नेशनल स्टक एक्सचेन्ज (एनएसई) को निफ्टी २२,५२९.९५ अंकको नयाँ उच्च बिन्दुमा पुगेको छ भने बीएसई सेन्सेक्स ७४,२५४.६२ को नयाँ उचाइमा पुगेको छ । यी दुवै सूचकहरुले अहिले आ-आफ्नो सर्वकालिक उच्च क्षेत्रको दायराभित्र रहेर कारोबार गरिरहेका छन् । यस्तो रह्यो बजारको शुरुवात ? भारतीय बजारको आजको शुरुवात ३१७.२७ अंक वा ०.४३ प्रतिशतको उचाईका साथ ७३,९६८ को स्तरमा भएको थियाे भने एनएसई निफ्टी १२८.१० अंक वा ०.५७ प्रतिशतको उछालका साथ २२,४५५ को स्तरमा खुलेको थियाे । सेन्सेक्स पुग्यो ७४,२०८ को बिन्दुमा बिएसई सेन्सेक्स आज ५५७ अंकका साथ आज ७४,२०८ बिन्दुमा पुगेको छ । सेन्सेक्सका ३० मध्ये २ कम्पनीको सेयर मात्र ओरालो लागेको छ भने २८ वटा कम्पनीको सेयरमा पनि हरियो चिन्हमा कारोबार भइरहेको छ । सेन्सेक्समा जेएसडब्लु स्टिल २ प्रतिशत र टाटा स्टिलमा १.७० प्रतिशतले वृद्धि भएको छ । कोटक बैंक १.५५ प्रतिशत र एचडीएफसी बैंक १.२५ प्रतिशतले बढेको छ । बजाज फिनसर्व १.१५ प्रतिशत र एशियन पेन्ट्स १.११ प्रतिशतले बढेको छ । निफ्टी स्टकको अवस्था बीएसई सेन्सेक्ससँगै आज एनएसई निफ्टी पनि उच्चतम स्तरमा झूलिरहेको छ। ५० मध्ये ४८ वटा कम्पनीको शेयरमा उछाल आएको छ भने २ वटाको मात्र गिरावट आएको छ । जेएसडब्ल्यू स्टील, टाटा स्टील, श्रीराम फाइनेंस, अपोलो हॉस्पिटल्स र एलएन्डटीको सेयर कारोबार गर्नेहरुले सबैभन्दा धेरै कमाइरहेका छन् ।

नारायणी डेभलपमेन्ट बैंकले तोक्यो बुक क्लोजको मिति

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको आगामी बैशाख १० गते बुक क्लोज हुने भएको छ । चैत १५ गते बसेको सञ्चालक समितिको बैठकले २०८१ बैशाख १० गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । बैंकले वार्षिक साधारण सभामा जाने प्रयोजनको लागि बुक क्लोज गर्न लागेको हो । बैंकको २२औं वार्षिक साधारण सभा बैशाख १८ गते हुँदै छ । उक्त सभा चितवनमा टाँडीमा रहेको होटल स्टार चितवनमा सो दिन बिहान ११ः३० बजे हुँदैछ । बैंक सञ्चालक समितिले गत आर्थिक वर्षका लागि कुनै प्रकारको लाभांश प्रदान गर्ने प्रस्ताव सभामा लगेको छैन । सभामा बैंकको केन्द्रीय कार्यालय (रजिष्टर्ड कार्यालय) को ठेगाना परिवर्तन गर्ने, अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्तिरसमाहित हुने सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने, सञ्चालक समिति वा सञ्चालक समितिले तोकेका व्यक्तिलाई अख्तियारी दिन स्वीकृति दिने, सञ्चालकहरूको मनोनयनरनिर्वाचन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन गर्न नियमनकारी नियकाबाट निर्देशन भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै,आव २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गरिनेछ । लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, इक्वीटीमा भएको परिवर्तन र वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरूमाथि छलफल गरि पारित गरिनुका साथै बैंकको सहायक कम्पनी कोष व्यवस्थापक कम्पनी र गोबर ग्यास कम्पनीको आव २०७९/८० को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गरिनेछ । सभामा आव २०८०/८१ को लागि महालेखापरीक्षकको कार्यालयबाट लेखापरीक्षक नियुक्तीको लागि परामर्श प्राप्त भएका लेखापरीक्षकलाई बैंकको लेखापरीक्षकमा नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

बजेट लेखनमा जुट्यो अर्थमन्त्रालय, भन्यो : अनावश्यक मन्त्रालय नआउनू

काठमाडौं । अर्थ मन्त्रालय आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट लेखनमा जुटेको छ । मन्त्रालयले बजेटका लागि सुझाव माग गर्दै अनावश्यक मन्त्रालय प्रवेश नगर्न पनि अनुरोध गरेको छ । बजेट निर्माणका लागि मन्त्री र कर्मचारीहरू व्यस्त हुने भएकाले अत्यावश्यकबाहेक भेटघाटका लागि नआउन मन्त्रालयले अनुरोध गरेको हो । मन्त्रालयले बजेटका लागि विभिन्न संघ, संस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारजगत तथा आम नागरिकहरुलाई सुझाव माग गरेको हो । मन्त्रालयको वेबसाइटमा रहेको ‘बजेट सजेसन‘मा गएर वा इमेल पठाएर सुझाव दिन मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयका कर्मचारी बजेट लेखनका व्यस्त रहेकोले मन्त्रालयको मुख्य ढोका पनि बन्द गरिएको छ । विनियोजन विधेयकको प्राथमिकता र सिद्धान्तमा यसअघि नै संसदमा छलफल पनि भइसकेको छ । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्बको बजेट सिलिङ दिएको छ । अर्थ मन्त्रालयले त्यही सिलिङलाई टेकेर नयाँ बजेट निर्माण प्रक्रिया अघि बढाएको हो । मन्त्रालयका प्रवक्ता उत्तम खत्रीले बजेट लेखनमा जुट्दा भीडभाड नहोस् र गोपनीयता कायम रहोस् भन्ने उद्देश्यले अर्थ मन्त्रालयको ढोका बन्द गरिएको बताए । अतिआवश्यक काम हुनेलाई अनुमति दिएर प्रवेश दिइने उनको भनाइ छ । अर्थमन्त्री वर्षमान पुनले गत शुक्रबार सहसचिव धनिराम शर्माको नेतृत्वमा बजेट मस्यौदा लेखन समिति गठन गरेका थिए । समितिमा सहसचिवहरू रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन् ।

भेरी करिडोरको सतह चाँडै छिचोलिने

काँक्रेविहार । भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको ठेक्का लाग्न बाँकी रहेको ६२ किलोमिटर सतह चाँडै छिचोलिने भएको छ । करिडोरको एक सय ११८ किलोमिटरमध्ये ५६ किलोमिटरमा कालेपत्रको काम भइरहेको छ भने तल्लुदेखि दुनैसम्मको ६२ किलोमिटरमा नेपाली सेनाले खोलेको ट्र्याकमाथि नै यातायातका साधन सञ्चालन भइरहेका छन् । भेरी करिडोर आफैँले सतह काट्न लागेको करिडोरका प्रमुख सुनिल रञ्जितकारले जानकारी दिए । दुनैदेखि ल्यासिक्यापसम्मको सडकमा निर्माण व्यवसायीले काम सुरु गरेका छन् । बीचमै काम छाडेर अधुरै रहेको यो सडक खण्डमा पुनः काम प्रारुरम्भ भएको हो । डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहाल तथा सुरक्षा निकायको टोलीले उक्त सडक खण्डको अनुगमन गरेर काममा तीव्रता दिन निर्देशन दिएको छ । बीचैमा काम छाडेमा ठेक्का तोडिने आयोजना प्रमुख रञ्जितकारले बताए । तल्लुस्थित भेरी नदीको बेलिब्रिज पुल निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । उक्त पुल निर्माण हप्ता दिनभित्रै पूरा हुने आयोजनाले जनाएको छ । सो क्षेत्रमा अन्य पाँच पुलको काम भने बाँकी नै छ । भेरी करिडोरको ६२ किलोमिटरमा कालोपत्र गर्न हाललाई बजेट अभाव भएको आयोजना प्रमुख रञ्जितकारले बताए । ‘चालु आर्थिक वर्ष २०८०/८१ मा रु ५० करोडको बजेटमार्फत काम भइरहेको छ’, उनले भने । ठेक्का लिने तर बीचमै काम छाड्ने गरेका कारण करिडोरको काम समयमै सम्पन्न हुन नसकेको हो । सडक जतिसक्दो चाँडो निर्माण हुनेछ, त्यति नै छिटो जाजरकोट र डोल्पामा निर्माणाधीन विकास निर्माणका कामले गती पाउने छन् । यसबाट जगदुल्ला जलविद्युत् आयोजना, नलगाड जलविद्युत् आयोजना, ताक्सुगाड जलविद्युत् आयोजनालगायतको काममा सहज हुने बताइएको छ । रासस

हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेत्री भुसाल, ‘सानोमा पढ्न पाइँन, अब पढ्छु’

पर्वत । पढ्नका लागि उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण पर्वतकी एक महिला नेतृले देखाएकी छिन् । दक्षिणी पर्वतको बिहादी गाउँपालिका-४ वहाकीकी ५० वर्षीया खगिसरा भुसालले एसइई परीक्षामा सहभागी भएर उक्त उदाहरण प्रमाणित गरेर देखाएकी हुन् । उनले दुई छोरा र एक छोरी जन्माएर, हुर्काएर विवाहसमेत गराइसकेकी छिन् । बूढेसकालमा सुख सयलका साथ जीवन बिताउने बेला भए पनि सानो उमेरमा पढाइ पूरा गर्न नपाएको धोको भुसालले हजुरआमा बनेपछि पूरा गर्नतर्फ लागेकी छिन् । भुसाल स्थानीय वहाकी उच्च मावि परीक्षा केन्द्रबाट एसइई परीक्षामा सहभागी भएकी छिन् । विसं २०४६ मा उनको विवाह भयो । कक्षा ९ को वार्षिक परीक्षा दिने बेला हुँदै थियो । त्यही बेला उनी सुन्त्केरी भएर छोरा जन्माइन् । सुत्केरी भएपछि परीक्षा दिन त पाइनन् नै भुसालको त्यसपछिको पढाइसमेत रोकियो । पढाइ छाडेको ३२ वर्षपछि अघिल्लो वर्ष उनी गाउँकै लक्ष्मीभवन माविमा कक्षा ९ मा भर्ना भइन् । कक्षा ९ उत्तीर्ण गरेर नियमित कक्षा १० अध्ययन पूरा गरेपछि अहिले भुसाल एसइईमा सहभागी भएकी हुन् । पढ्नै पर्छ भन्ने कुनै बाध्यता नभए पनि आफूले थप शिक्षित बन्नका लागि ३२ वर्षपछि पुनः विद्यालय पढ्न थालेको परीक्षार्थी भुसालले बताइन् । उनले कक्षा ८ सम्म बिहादी गाउँपालिका-५ उरामको चन्द्र माविमा अध्ययन गरेकी थिइन् । पाको उमेरमा भर्खरका केटाकेटीसँग बसेर अध्ययन गर्दा पनि आफूलाई असहज महसुस नभएको उनको भनाइ छ । भुसालका छोरा र छोरीबाट तीन नाती नातीनासमेत छन् । ‘छोराबुहारीको कमाइबाट सुखसयलमा बसेको भए पनि हुन्थ्यो, तर सानैमा धेरै पढ्न नपाएकोमा पछुतो लागिरहेकाले पुनः पढ्न थालेकी छु’, उनले भनिन्, ‘एसइईपछि पनि कक्षा ११ र १२ अध्ययन गर्ने योजना छ ।’ भुसाल बिहादी गाउँपालिकाकी पूर्वजनप्रतिनिधि हुन् । उनी पहिलो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेर गाउँ कार्यपालिका सदस्य बनेकी थिइन् । भुसालले अहिले सक्रिय राजनीति गर्दै आएकी छिन् । उनी नेपाली कांग्रेस बिहादी गाउँ कार्यसमितिको सदस्य तथा नेपाल महिला सङ्घ बिहादीको कोषाध्यक्षसमेत रहेकी छिन् । भुसालले १७ वर्ष महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा पनि काम गरिसकेकी छिन् । कार्यपालिका सदस्यमा विजयी भएपछि उनले स्वयंसेविका छाडेकी हुन् । उनले २०४८ सालबाटै नेपाल विद्यार्थी सङ्घको जिल्ला सदस्य भएर राजनीति गर्दै आएकी हुन् । ‘राजनीति होस् वा अन्य क्षेत्रमा पढाइको ज्ञानसँगै प्रमाणपत्रसमेत आवश्यक पर्ने भएकाले पनि मलाई विद्यालय जान रहर जागेको हो’, उनले भनिन् । घरमा छोराछोरीको जिम्मेवारी पूरा गरेपछि पढ्न सहज भएको उनले बताइन् । भुसालका श्रीमान् तिलक भुसाल नेपाली कांग्रेसका नेता हुन् । उनी नेपाली कांग्रेस पर्वतको सहसचिव तथा सङ्गठन विभाग प्रमुख रहेका छन् । ‘सानै उमेरमा विवाह भएपछि पढाइ रोकिएको थियो, अहिले पुनः विद्यालय गएर पढ्न थालेकी छिन्’, श्रीमान् तिलकले भने, ‘उनको इच्छाअनुसार जहिलेसम्म पढ्छिन्, त्यति बेलासम्म पढ्ने वातावरण मिलाउँछु ।’ श्रीमतीको पठनपाठन प्रभावित नहोस् भनेर आफूले घरायसी काममा सहजीकरण गरिदिने गरेको तिलकले बताए । शिक्षा विकास तथा समन्वय एकाइ पर्वतले पर्वतमा एसइई दिने दुई हजार २८ विद्यार्थीमध्ये खगिसरा भुसाल सबैभन्दा पाको उमेरको विद्यार्थी रहेको जनाएको छ । कार्यालय प्रमुख उद्धिमराज पौडेलले भुसाल ५० वर्ष नाघेको विद्यार्थी रहेको भन्दै उनी जिल्लामै सबैभन्दा बढी उमेरको विद्यार्थी भएको बताए । पर्वतकै पैंयु गाउँपालिकास्थित जनसेवा संस्कृत माविबाट १२ वर्षका शक्ति अधिकारीले पनि एसइई परीक्षा दिएका छन् । अधिकारी जिल्लाकै सबैभन्दा कान्छो उमेरका विद्यार्थी हुन् ।  रासस