विकासन्युज

अमेरिकी चेम्बरका लगानीकर्ता नेपालको लगानी सम्मेलनमा आउने

काठमाडौं । अमेरिकी चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डल आगामी वैशाखमा हुने लगानी सम्मेलनमा सहभागी हुने भएको छ । सोमबार अर्थमन्त्री वर्षमान पुन अनन्तलाई भेट्न मन्त्रालय आएका नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले उक्त जानकारी दिएका हुन् । लगानी सम्मेलन सफल पार्न आफूहरूको तर्फबाट सहयोग हुने उनको भनाइ थियो । भेटमा द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको थियो । भेटमा अमेरिकी सहयोगमा नेपालमा सञ्चालित विकास विभिन्न विकास परियोजना पूर्वनिर्धारित समयमै सम्पन्न गर्नेबारे छलफल भयो । भेटमा अर्थमन्त्रीले लगानी सम्मेलनको राम्रो तयारी भएको भन्दै लगानीमैत्री वातावरण निर्माणका लागि गरिनुपर्ने कानूनी र प्रक्रियागत सुधारको तयारी भइरहेको बताए । ‘सम्माननीय प्रधानमन्त्रीले हामी मन्त्रीहरूलाई मन्त्रिपरिषद बैठकमै सबै खाले तयारी गर्न निर्देशन दिनुभएको छ’, पुनले भने, ‘लगानीको वातावरण निर्माण हुने भएकाले बढीभन्दा बढी अमेरिकी लगानीकर्ता ल्याइदिन यहाँ र दूतावासबाट सहयोगको अपेक्षा गरेका छौं ।’ राजदूत थम्प्सनले लगानी सम्मेलनको पूर्वसन्ध्यामा लगानी वातावरण रहेको सन्देश दिए मन्त्री पुनलाई आग्रह गरेका थिए । नेपालले लगानी वातावरण सुधारका लागि क्रेडिट मूल्याङकन (कन्ट्री रेटिङ) को काम अघि बढेको जानकारी पनि मन्त्री पुनले राजदूत थम्प्सनलाई दिए । सरकारले अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ गर्ने संस्था फिचमार्फत नेपालको क्रेडिट मूल्याङकन लागि प्रक्रिया अघि बढाएको छ । बेलायती सहयोग नियोगअन्तर्गतको ‘फरेन कमनवेल्थ एण्ड डेभलपमेन्ट अफिस (एफसीडीओ) ले नेपालको आग्रहमा कन्ट्री रेटिङ गर्दा लाग्ने सेवा शुल्क फिचलाई भुक्तानी गर्ने प्रतिबद्धता जनाएको छ । चालु आर्थिक वर्षको बजेटमामार्फत सरकारले कन्ट्री रेटिङ गर्ने घोषणा गरेको थियो । यस्तै मन्त्री पुनले संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाले सम्पत्ति शुद्धीकरण (मनी लाण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी विधेयक पारित गरिसकेकाले सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय छाता संगठन ‘वित्तीय कारबाही कार्यदल फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटीएफ) को सम्भावित कालो सूचीमा पर्ने सम्भावना टारेको जानकारी पनि राजदूत थम्प्सनलाई दिए । सम्पत्ति शुद्धीकरणसम्बन्धी विभिन्न १९ वटा कानुनका व्यवस्था संशोधन गरिएको उक्त विधेयक हाल राष्ट्रपतिमार्फत प्रमाणीकरणको चरणमा छ ।

पर्सामा सवारी जरिवानाबाट डेढ करोड राजस्व उठ्यो

वीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा सवारीसाधनको जरिवानावापत डेढ करोडभन्दा धेरै राजस्व संकलन गरेको छ । कार्यालयले साउनदेखि फागुन मसान्तसम्मको अवधिमा ट्राफिक नियम उल्लंघन गरेका १५ हजार ५ सय ९१ सवारीसाधनबाट उक्त राजस्व संकलन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख भाष्कर खतिवडाले आठ महिनाको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनबाट एक करोड ५७ लाख ६९ हजार ६ सय ६ रुपैयाँ राजस्व संकलन गरेको बताए । ‘‘गत आवको तुलनामा चालु आवको आठ महिनामा जरिवानावापतको राजस्वको रकम केही घटेको छ,’ उनले भने, ‘अहिले नयाँ टिभिआरएस सिस्टम लागू गरेका छौँ, विगतमा अधिकतम जरिवानाबाट सुरुवात गर्ने गरिन्थ्यो, तर अहिले न्यूनतमबाट जरिवाना गर्दा केही राजस्व घटेको हो ।’ ट्राफिक प्रहरीले जनचेतनाको कार्यक्रमलाई तीव्रता दिँदा पनि ट्राफिक नियम उल्लंघन गर्ने सवारीचालकको संख्यामा केही कमी आएको उनको भनाइ छ । कार्यालयका अनुसार ट्राफिक नियम उल्लंघन गर्ने ट्रकको संख्या ६ हजार चार सय २५ रहेको छ । ट्रकबाट ८८ लाख १९ हजार दुई राजस्व संकलन भएको छ । कार्यालयले ट्राफिक नियम उल्लंघन गर्ने एक सय ३२ बस कारबाहीमा परेका छन् । कारबाहीमा पर्ने बसबाट रु एक लाख ३० हजार पाँच सय राजस्व संकलन भएको छ । त्यस्तै गरी ट्राफिक नियम उल्लंघन गर्ने कार/जीप/भ्यानको संख्या एक हजार तीन सय २४ जना रहेको छ । ती सवारीसाधनबाट १२ लाख २ हजार ५ सय पाँच रकम राजस्व संकलन भएको छ । त्यस्तै गरी ट्राफिक नियम उल्लंघन गर्ने दुई पाङग्रे सवारीसाधनको संख्या सात हजार १२ रहेको छ । ती सवारीसाधनबाट ४९ लाख ८० हजार ५९ रकम राजस्व संकलन भएको छ । कार्यालयले गत आव भरिमा भने ट्राफिक नियम उल्लंघन गर्ने ३५ हजार पाँच सय ३४ सवारीसाधनलाई कारबाही गरेर तीन करोड ४२ लाख ६५ हजार रकम राजस्व संकलन गरेको थियो ।

सञ्चालकको निर्वाचन रोक्न नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई सर्वोच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबी)को सञ्चालक समितिको निर्वाचन प्रक्रिया रोक्न अल्पकालीन आदेशन दिएको छ । सर्वाेच्च अदालतले आइतबार आदेश दिएसँगै बैंकको निर्वाचन प्रक्रिया रोकिएको हो । बैंकले संस्थापक सेयरधनीसमूहबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्तावसहित चैत २० गते ३७औं वार्षिक साधारण सभा आह्वान गरेको थियो । उम्मेदवारको योग्यतामा प्रश्न उठाउँदै उम्मेदवार समेत रहेका वरिष्ठ अधिवक्ता एवं प्राध्यापक ताराप्रसाद सापकोटाले निर्वाचन अधिकृतसमक्ष दाबी विरोध निवेदन पेस गरेका थिए । निर्वाचन अधिकृतले दाबी विरोध निवेदनको सुनुवाई नगरी अयोग्य भनिएका उम्मेदवारको नामसमेत राखेर अन्तिम नामावली प्रकाशन गरेपछि विवाद उत्पन्न भएको थियो । सापकोटाले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले तत्काल निर्वाचन प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी भएको हो । सर्वाेच्च अदालतको अर्काे आदेश नआएसम्मका लागि निर्वाचन प्रक्रिया स्थगित भएको कम्पनी सचिव मनिष कुमार सिंहले जानकारी दिए । सर्वोच्च अदालतमा निवेदकका तर्फबाट निवेदक स्वयं सापकोटा, वरिष्ठ अधिवक्ताहरू गुणानिधि न्यौपाने, उपेन्द्रराज पौडेल, दिनेश त्रिपाठी, गोपालकृष्ण घिमिरे, अधिवक्ताहरू केशरमणि अर्याल, अवतार न्यौपानेसमेतले बहसपैरवी गरेका थिए । निर्वाचन अधिकृत शिव कुमार श्रेष्ठका अनुसार बैंकको सञ्चालक बन्न संस्थापक सेयरधनीहरूको समूहबाट ११ जना र सर्वसाधाण सेयरधनीहरूको समूहबाट ३ जना गरी १४ जनाले उम्मेदवारी दिएका हुन् । बैंकको संस्थापक सेयरधनीहरूको समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै पृथ्वी बहादुर पाँडे, मुक्ति राम पाण्डे, मदन कुमार आचार्य, डा. इन्द्र बहादुर मल्ल ठकुरी, केयुपि इन्भेष्टमेण्ट प्रालिको प्रतिनिधित्व गर्दै प्रजन्य राजभण्डारीले उम्मेदवारी दिएका छन् । यस्तै, सोफिया इन्भेष्टमेण्ट प्रालिको प्रतिनिधित्व गर्दै वरुण श्रेष्ठ, नागरिक लगानी कोषको प्रतिनिधित्व गर्दै पर्वत कुमार कार्कीले उम्मेदवारी दिएका छन् । भिम प्रसाद पन्त, डा.तारा प्रसाद सापकोटा, रवि महर्जन, सुशिल गौचनले सञ्चालक बन्न उम्मेदवारी दिएको निर्वाचन अधिकृत श्रेष्ठको भनाइ छ । सर्वसाधाण सेयरधनीहरूको समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न कवि कुमार टिवरेवाला, चक्र बहादुर थापा र विकाश थापाले आवेदन दिएका छन् ।

सरकारलाई काँग्रेसको चेतावनी : काँग्रेसले बाध्य भएर संसद अवरुद्ध गर्न नपरोस्

काठमाडौं । नेपाली काँग्रेसकी सचेतक सुशीला थिङले सहकारी ठगी प्रकरणमा काँग्रेस पछि नहटेको बताएकी छन् । सोमबार संसद भवन परिसरमा बोल्दै उनले यस्तो बताएकी हुन् । आफ्ना मागहरु यथावत राखेर सरकारलाई समय दिएको उनको भनाइ छ । उनले सदनमा आएका धेरै विधेयकहरुलाई असर पर्नेगरी काँग्रेस जस्तो पार्टीले अवरुद्ध गरेर जानु हुँदैन भन्ने भावले मात्रै संसद सुचारु भइरहेको बताइन् । सरकारले आफ्ना माग र धारणाहरुमा जवाफदेही नबनेको दिन खरो रुपमा उत्रिने बताइन् । काँग्रेस जस्तो पार्टीले विधेयकलाई नै अलपत्र पारेर सदन महिनौ दिनसम्म संसद अवरुद्ध गर्न नमिल्ने बताइन् । दिएको समयसम्म पनि सरकारले बेवास्ता गरेको खण्डमा बाध्य भएर संसद अवरुद्ध पार्ने जानकारी दिइन् । ‘हाम्रो मागमा ब्याक भएको भन्न मिल्दैन । हामीले त सरकारलाई केही समय दिएका हौ । हामीले हाम्रो कुराहरु यथावत उठाइराखेका छौं । दैनिक उठाएर सदनमा आएका धेरै विधेयकहरुलाई असर पर्नेगरी काँग्रेस जस्तो पार्टीले अवरुद्ध गरेर जानुहुँदैन । हामीले सरकारलाई दिएको समयमा पनि बेवास्ता गर्यो भने हामीले बाध्य भएर सदन अवरुद्ध गर्नेछौँ । त्यो अवस्था सरकारले नबनोओस् सरकारलाई समय दिएको मात्रै हो । अब पनि संसद अवरुद्ध पार्न बाध्य पारियो भने त्यसको जवाफ सरकार आफैंले दिनुपर्छ’, उनले भनिन् । उनले बजेट विगतको परिपाटी भन्दा फरक तरिकाले ल्याइनुपर्ने बताइन् । संघीय बजेट ३ करोड भन्दा कमको बनाउनु नहुने बताउनु भयो । पार्टीका कार्यकर्तालाई भर्ती गर्ने ठाउँमा झैँ टुक्रे बजेट ल्याउनु नहुने बताइन् ।

स्किल वीक् पाँचौं संस्करण हुँदै

काठमाडौं । ग्लोकल आफ्टर स्कुलले स्किल विक कार्यक्रमको पाँचौं संस्करण गर्ने भएको छ । यो कार्यक्रमले रोजगारीमा चाहिने सीपका लागि इको सिस्टम निर्माणको लागि कडा उद्देश्य रादख्छ । स्किल वीक एक हप्ते कार्यक्रम हो । जसमा विभिन्न सीपमूलक तालिमहरु लगायत सीपयुक्त कार्यशाला, तालिम, केस अध्ययन लगायत मनोरन्जनलाई मध्यनजरमा राख्दै सीपलाई विभिन्न आयामबाट प्रस्तुत गर्ने कोसिस गरिने आयोजकले जनाएको छ । कार्यक्रम मार्च ३१ देखि अप्रिल ८ सम्म सन्चालन हुनेछ । १५ देखि ३० वर्षकाले कार्यक्रममा सहभागीता जनाउन सक्नेछन र सोहि कार्यक्रमबाट सिपबिकासको बारे जानकारी लिन सक्ने आयोजकले जनाएको छ । यो युवाहरुका लागि एक खुल्ला मन्च रहेको आयोजकको भनाइ छ । यस कार्यक्रममा ४ फरक सीप क्षेत्रहरूमा प्रदर्शन गरिनेछ । कार्यक्रममा ४ फरक सीप क्षेत्रमा प्रदर्शन गरिनेछ । यसमा कला र संस्कृति, उद्दमशीलता, पर्यटन तथा आतिथ्य विज्ञान र प्रविधि रहेका छन् । कार्यक्रमका मुख्य विशेषताहरु छलफल, सीपमूलक प्रस्तुति, केस अध्ययन प्रतियोगिता, प्रतिस्पर्धा, कार्यशाला तथा मनोरञ्जन छन् । कार्यक्रममा विभिन्न संघसंस्थाद्वारा अनलाइन तथा अफलाइन तालिम एवम कार्यशाला प्रदान गरिने आयोजकले जनाएको छ ।

सिटिजन्स बैंकले संचालन गर्यो निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । सिटिजन्स बैंकले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । बैंकले आउदै गरेको १७ औं बार्षिकोत्सवलाई मध्यनजर गर्दैे शनिबार निःशुल्क स्वास्थ्य शिविरहरु संचालन गरेको छ । बैशाख ७ गते बैंकको बार्षिकोत्सव हो । बैंकले गण्डकी प्रदेश अन्तर्गत बेनी शाखा र कर्णाली प्रदेश अन्तर्गत सुर्खेत शाखाको सक्रियतामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले गण्डकी प्रदेश बेनी नगरपालिका वडा नं ६ अर्थुङेमा स्थानिय बेनी सञ्जिविनी हेल्थ क्लिनिक संगको सहकार्यमा निःशुल्क स्वास्थ्य परिक्षणका साथै निःशुल्क औषधी वितरण गरको छ । यसैगरी कर्णाली प्रदेशको सुर्खेत जिल्ला, बराहताल गिरीघाटमा स्थानिय जि.पि.मेमोरियल नर्सिङ होम संगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त स्वास्थ्य शिविरहरुमा करिब ३०० जना भन्दा बढी व्यक्तिहरुले सेवा प्राप्त गर्नुभएको थियो । बैंकले निःस्वार्थ भावले विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ । गाउँ गाउँमा शिविरको आयोजना गरी रोगको उपचार मात्र नभएर रोगको रोकथाम गर्ने उद्देश्य अनुरुप शिविरको आयोजना गरिएको हो । निकट भविष्यमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत यस्ता स्वास्थ्य शिविर प्रदेशका अन्य शाखाहरु मार्फत पनि संचालन गर्ने योजना रहेको जनाएको छ । सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेको यस बकैंले आगामी दिनहरुमा अन्य सशक्त ढंगबाट सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको जनाएको छ । बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ३८ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ । हाल ५५ जिल्लामा आप्mनो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ५ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने छ ।

महँगो उडान, पर्यटकको घुइँचो

काठमाडौं । चाँदी झैं टल्कने सेता हिमाल आँखै अगाडि हेर्ने रहर कसलाई हुँदैन र ! तर, रहरले मात्रै ती सुन्दर हिमाल हेरेर आनन्दित हुन पाइन्छ भन्ने छैन । नेपालका अग्ला हिमालका मनोरम दृश्यका मजा लिन नेपालका वायुसेवा कम्पनीहरूले ‘माउन्टेन फ्लाइट’ गराउँदै आएका छन् । दैनिक सयौंको संख्यामा स्वदेशी तथा विदेशी पर्यटक हिमाल हेर्न माउन्टेन फ्लाइट जाने गरेको वायुसेवा कम्पनीहरू बताउँछन् । हिमालै हेर्नका लागि हजारौं पर्यटक नेपाल आउँछन् । हिमाल घुम्ने स्वदेशी तथा विदेशी पर्यटक बढ्दै जान थालेपछि वायुसेवा कम्पनीहरू पनि माउन्टेन फ्लाइट गराउन आकषिर्त हुँदै आएका छन् । निजी वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स र श्री एयरलाइन्सले दैनिक माउन्टेन फ्लाइट गराउँदै आएका छन् । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्ण बुद्धले दैनिक माउन्टेन फ्लाइट गराइरहेको बताए । उनका अनुसार बुद्धले दैनिक ३ देखि ७ वटासम्म माउन्टेन फ्लाइट गराउँदै आएको छ । ‘कहिलेकाहीँ बादलले हिमाल ढाकिदिएका हुन्छन्,’ उनले भने, ‘त्यस्तो अवस्थामा हामी उडान क्यान्सिल गर्छौं, अर्को दिन यात्रुलाई रिक्वेस्ट गरेर रि-सेड्युल गर्छौं, केही यात्रुले हुँदैन भने रिफन्ड गर्छौं ।’ माउन्टेन फ्लाइटमा वायुसेवाले यात्रुले जहाजको झ्यालबाट बाहिर हिमाल हेर्नुपर्ने भएकाले झ्यालको सिट (विन्डो सिट) मा मात्रै यात्रु राख्ने गरेका छन् । यसरी माउन्टेन फ्लाइट गर्नेमा धेरै विदेशी पर्यटक हुन्छन् । ‘दैनिक कति उडान माग छ, त्यसैअनुसार हामीले उडान थप्ने गरेका छौं,’ कर्ण भन्छन्, ‘हाम्रो ७२ सिटको एटीआर–७२ जहाज हो, तर माउन्टेन फ्लाइटमा हरेकलाई विन्डो सिट दिएका हुन्छौं, एउटा फ्लाइटमा ३३ देखि ३४ जना यात्रु हुन्छन् ।’ उनले सबै पर्यटक व्यक्तिगत रूपमा हिमाल चढ्न नसक्ने र हिमाल हेर्न चाहना राख्नेले १४ हजार फिटमाथिका ८ अग्ला हिमाल एकसाथ हेर्न पाउने बताए । माउन्टेन फ्लाइट गर्न कति शुल्क लाग्छ ? अहिले नेपाली र भारतीय यात्रुलाई माउन्टेन फ्लाइटको भाडादर एउटै तोकिएको छ । नेपाली र भारतीयलाई १४ हजार ७८ रुपैयाँ तोकिएको छ भने अन्य विदेशी मुलुकका यात्रुलाई ३१ हजार ९ सय २० रुपैयाँ अर्थात् २ सय ४० अमेरिकी डलर तोकिएको छ । माउन्टेन फ्लाइट महँगो हुने हुँदा यसले राजस्व संकलनमा पनि महत्वपूर्ण योगदान पुर्याइरहेको छ । अहिले माउन्टेन फ्लाइटका लागि सिजन नै भनेर ठ्याक्कै भन्न नमिल्ने पनि बुद्धका सूचना अधिकारी कर्ण बताउँछन् । ‘नेपाल आउने जोसुकै पर्यटकलाई नेपालका मनमोहक हिमालका चुचुराहरूले लोभ्याउँछन्,’ उनी भन्छन्, ‘जो अशक्त हुन्छन्, ट्रेकिङ जान सक्दैनन्, उनीहरूका लागि माउन्टेन फ्लाइट उपयुक्त अवसर हो ।’ मौसमसँग सम्बन्धित उडान भएकाले मौसम राम्रो भएका बेला दैनिक माउन्टेन फ्लाइट गर्नेको संख्या उल्लेख्य नै हुन्छ । कर्णका अनुसार प्रायः सफा मौसम भएको समय यो त्यो सिजन भन्ने हुँदैन, जुनसुकै बेला पनि माउन्टेन फ्लाइट हुन्छ । हिउँ परेको, मौसम सफा नभएको समयमा माउन्टेन फ्लाइट नहुने उनको भनाइ छ । उनका अनुसार पर्यटकले एकै फ्लाइटमा १७ भन्दा धेरै हिमालको प्रत्यक्ष दृश्य हेरेर मजा लिन सक्छन् । विश्वको सर्वाेच्च शिखर सगरमाथा, गौरिशंकर, दोर्जे ल्हाक्पा, नम्बुर, अमादब्लम, फुर्बी घ्याचु, पिगफारगो, पुमोरी, कार्येलुङ, चोबाभामरे, छुगीमागो लोहोत्से, मकालुलगायत अन्य हिमाल माउन्टेन फ्लाइटबाट प्रत्यक्ष देख्न सकिन्छ । अहिले बुद्धले काठमाडौं र पोखराबाट माउन्टेन फ्लाइट गर्दै आइरहेको छ । काठमाडौंबाट दैनिक र पोखराबाट मागअनुसार फ्लाइट गरिने सूचना अधिकार कर्णले बताए । यस्तै यती एयरलाइन्सले पनि दैनिक २ देखि ३ वटा माउन्टेन फ्लाइट गरिरहेको एयरलाइन्सका बिजनेस चिफ युवराज विष्टले बताए । अहिलेको अवस्थामा नेपालीभन्दा विदेशी पर्यटकहरूको रोजाइमा माउन्टेन फ्लाइट परेको विष्टले बताए । ‘हाम्रा ९९ प्रतिशत यात्रुहरू विदेशी पर्यटक हुन्,’ उनले भने, ‘डिमान्ड हेरेर कहिलेकाहीँ ४ देखि ५ वटा फ्लाइट गराउँछौं ।’ अहिलेको अवस्थामा माउन्टेन फ्लाइटको भाडादर महँगो भए पनि पर्यटक संख्यामा कमी नआएको उनको भनाइ छ । ‘माउन्टेन फ्लाइटको निश्चित भाडादर तोकिएको नै छ,’ उनी भन्छन्, ‘हामीले पर्यटकलाई केही डिस्काउन्ट पनि दिने गरेका छौं ।’ यतिले भने काठमाडौंबाट मात्रै माउन्टेन फ्लाइट गराइरहेको छ । यसैगरी श्री एयरलाइन्सले पनि हेलिकोप्टरबाट दैनिक एउटा माउन्टेन फ्लाइट गराइरहेको छ । कहिलेकाहीँ जहाजबाट पनि १–२ फ्लाइट गराउँदै आएको श्रीका कर्पोरेट म्यानेजर अनिल मानन्धरले बताए । ‘हामीले पनि डिमान्डअनुसार काठमाडौंबाट मात्रै उडान गराइरहेका छौं,’ उनले भने, ‘यति नै हुन्छ भन्ने छैन, माउन्टेन फ्लाइटमा विदेशी नै धेरै हुन्छन् ।’ विदेशी पर्यटकमा कस्तो छ प्रभाव ? नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने नेपालको उत्कृष्ट पर्यटन प्रडक्टमध्ये माउन्टेन फ्लाइट एक रहेको बताउँछन् । उनका अनुसार नेपालमा माउन्टेन फ्लाइट नै गर्ने भनेर पर्यटक आउँदैनन् । ‘अरू प्याकेज टुरमा आउने पर्यटकले सप्लिमेन्टका रूपमा लिइरहेको देखिन्छ,’ उनी भन्छन्, ‘सेट प्रोग्राममा आएका मेजर टुरिस्टहरूले प्याकेजमा भएका कारण माउन्टेन फ्लाइट गर्छन्, ट्रेकिङ गइरहेकाहरूले यो नगरेको पनि पाइछ ।’ कल्चरल टुरमा आएकाहरूले भने माउन्टेन फ्लाइट गर्ने उनको भनाइ छ । २–४ दिनका लागि आउनेहरू वा धेरै घुम्न नपाउनेहरूले माउन्टेन फ्लाइट गर्ने उनी बताउँछन् । माउन्टेन फ्लाइट एक घन्टाको हुन्छ । तर, एक घन्टाको माउन्टेन फ्लाइट नै गर्ने भनेर पर्यटक भने नआउने निर्देशक लामिछाने बताउँछन् । ‘ट्रेन्ड भनेको हेलिकोप्टर मगाएर पूर्वदेखि पश्चिमसम्म घुम्ने भन्ने छ,’ उनी भन्छन्, ‘त्यसका लागि भने धेरै संख्यामा मान्छे आउँछन्, ट्रेकिङ जाने भनेजस्तै माउन्टेन फ्लाइट गर्छु तर पूर्वदेखि पश्चिमसम्मै गर्छु भन्ने धेरै छन् ।’ विदेशमा हुने विभिन्न टुरिज्म मार्टहरूमा पनि माउन्टेन फ्लाइटको प्रचारप्रसार गरिने लामिछाने बताउँछन् । ‘हामीसँगै एयरलाइन्स कम्पनीहरू पनि कार्यक्रममा सहभागी हुन्छन्,’ उनी भन्छन्, ‘त्यसमा उनीहरूले बढी प्रचार माउन्टेन फ्लाइटकै गर्छन् ।’ माउन्टेन फ्लाइट काठमाडौंमा मात्रै सीमित नराखेर पोखराबाट पनि नियमित रूपमा गर्न सके अझै राम्रो हुने देखिन्छ । श्रीले नेपालगञ्जबाट माउन्ट कैलाश फ्लाइट गराइरहेको छ । त्यहाँबाट ती पर्यटकलाई काठमाडौं ल्याई पशुपति दर्शन गराउने पनि श्रीको योजना छ । यो उडान पोखराबाट भारतीय पर्यटकलाई लक्षित गरेर गराउन पनि सकिन्छ । यसबाट पर्यटकले नयाँखालको अनुभूति लिन पाउनेछन् ।

नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठले लिए शपथ

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठले पद तथा गोपनियताको शपथ लिएका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले अध्यक्ष श्रेष्ठलाई सोमबार पद तथा गोपनियताको शपथ गराएका हुन् । उक्त कार्यक्रममा प्राधिकरणका अध्यक्ष सिलवालले नेपालभर लघुबीमाको पहुँचलाई विशेष गरी दुर्गम र पिछडिएका क्षेत्रमा अगाडि बढाउनमा जोड दिन कम्पनीका पदाधिकारीहरुलाई निर्देशन दिए । शपथग्रहण कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल तथा नेपाल माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारीहरुको उपस्थित थियो ।