इजिप्टले कुखुरा र अण्डाको मूल्य १५ प्रतिशतसम्म घटाउने
काठमाडौं । इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले सोमबार कुखुरा र अण्डाको मूल्य १० प्रतिशतदेखि १५ प्रतिशतसम्म घटाउने पहल शुरु गरेका छन् । इजिप्टका कृषि र भूमिमन्त्रीले यो पहल राजनीतिक नेतृत्वको निर्देशनका साथै सरकारको पहल र वस्तुको मूल्य घटाउने प्रयासको प्रतिक्रियामा आएको बताए । यस पहलको फलस्वरूप, फार्ममा एक किलोग्राम कुखुराको मूल्य ८५ इजिप्टियन पाउण्ड र टेबुल अण्डाको डिब्बाको मूल्य १३५ पाउण्ड तोकिएको छ । मन्त्रीले यी घोषित मूल्यबारे प्रकाश पार्दै उपभोक्तालाई कुखुराको लागि अधिकतम ९५ पाउण्ड र अण्डाको लागि १४५ पाउण्ड मूल्य निर्धारण गर्ने पुष्टि गरे ।
फिलिपिन्सको निर्यात एक खर्ब अमेरिकी डलरभन्दा बढी
मनिला । फिलिपिन्सको व्यापार तथा उद्योग विभाग (डीटीआई) का अनुसार सन् २०२३ मा पहिलो पटक फिलिपिन्सको निर्यात १ खर्ब ३ अर्ब अमेरिकी डलर पुगेको छ । यो सन् २०२२ को तुलनामा ४.८ प्रतिशत बढी हो । देशको केन्द्रीय बैंक बांको सेन्ट्रल एनजी पिलिपिनास (बीएसपी) को तथ्यांक उद्धृत गर्दै डीटीआई सचिव अल्फ्रेडो पास्कुएलले सूचना प्रविधि र व्यापार प्रक्रिया व्यवस्थापन क्षेत्रको बलियो प्रदर्शन र पर्यटन राजस्वमा आएको सुधारले वृद्धिलाई बढावा दिएको बताए । बढ्दो पर्यटन सञ्जाल र प्रवर्द्धनात्मक प्रयासका कारण फिलिपिन्सले १५ वर्षमा पहिलो पटक पर्यटन राजस्वमा अधिशेष रेकर्ड गरेको छ । सन् २०२३ मा फिलिपिन्सको पर्यटन राजस्व सन् २०२२ को स्तरभन्दा दोब्बरभन्दा बढी अर्थात् ९.१ अर्ब डलर पुगेको छ । डीटीआईका अनुसार, निर्यात वृद्धिको अधिकांश भाग देशको सेवा निर्यातमा १७.४ प्रतिशतको उल्लेखनीय विस्तारबाट प्रेरित थियो भने पर्यटन सेवाहरूले २०२३ मा वृद्धिभएका सेवाहरू निर्यात प्राप्तिको लगभग ७० प्रतिशत योगदान पुर्याएको थियो । तथापि, वस्तु क्षेत्रको कमजोर बाह्य मागले आर्थिक वृद्धिमा निर्यातको समग्र योगदानलाई कमजोर बनायो । सन् २०२३ मा कुल निर्यातले देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को २७ प्रतिशत हिस्सा ओगटेको थियो । सन् २०२२ को तुलनामा इलेक्ट्रोनिक्समा ३.४ प्रतिशत अर्थात् ९५ करोड ५० लाख डलरको गिरावट आएको छ । ‘यो गिरावटले निर्यात राजस्व संकलनको विविधीकरण र प्रमुख क्षेत्रहरूमा प्रतिस्पर्धात्मकता बढाउने महत्वलाई उजागर गर्दछ,’ पास्कुएलले भने । एजेन्सी
व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी
कैलाली । पैसा कमाउन जागिर गर्नैपर्छ वा विदेश जानुपर्छ भन्ने मान्यतालाई कैलालीको जानकी गाउँपालिका वडा नं ५ का उद्यमी एन्जिल चौधरीले गलत साबित गरेकी छन् । व्यावसायिक च्याउखेतीमा लागेकी चौधरीले गाउँमा नमुना किसानको परिचय बनाएका छिन् । विसं २०७६ मा सुरु गरेको च्याउखेतीले उनलाई सफल किसान बनाएको छ । उनले व्यवसायलाई बढाउँदै लगेकी छिन् । ‘मैले सिजनअनुसार ६ किसिमका च्याउको खेती गर्दै आएको छु, बेमौसममा उत्पादन भएको च्याउले बजारको मागलाई पूरा गर्न सकिएको छैन । उत्पादन भएको च्याउ बिक्रीका लागि बजार पुग्नै पर्दैन । घरबाटै सबै बिक्री हुन्छ,’ उनी भन्छिन् । चौधरीले हिउँदमा कन्यालगायत प्रजातिको च्याउ उत्पादन गर्दै आएकी छन् । गर्मीमा ब्लुक्याप, पिङ्की च्याउ उत्पादन गर्दै आएकी उनले बर्खामा दुधेच्याउ लगाउँदै आएकी छन् । लगानीका हिसाबले तेब्बरभन्दा बढी आम्दानी लिन सकिने व्यवसायबाट वार्षिक सात लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनी बताउँछिन् । ‘लगानीको तुलनामा आम्दानी अधिक छ । त्यसैले व्यवसाय विस्तार गरेको छु,’ उनी भन्छिन्, ‘परिवारका अन्य सदस्यलाई पनि व्यवसायमा जोडेर काम गरिरहेको छु ।’ उनले च्याउखेतीमात्रै नभई बेमौसमी तरकारीखेती र तरकारीको बेर्ना पनि उत्पादन गर्दै आएकी छन् । अहिले उनको तरकारी बारीमा बेमौसमी तरकारी उत्पादन भइरहेको छ । ‘च्याउखेतीबाट बचेको समय बेमौसमी तरकारीमा लगाउने गरेको छु । तरकारीका बेर्नाबाट पनि प्रशस्त आम्दानी हुन्छ, तरकारी र तरकारीको बेर्नाबाट वार्षिक रु चारदेखि पाँच लाख आम्दानी हुन्छ,’ उनले भनिन् । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइबाट बीउमा अनुदान पाएकी उनलाई गाउँपालिकाले प्राविधिक सहयोग गर्दै आएको छ । जानकी गाउँपालिका–४ कञ्चनपुरका श्रीराम कठरिया २०७२ सालदेखि च्याउखेतीमा छन् । उनले च्याउखेतीमा करिब ५० लाख लगानी गरिसकेका छन् । व्यवसायबाट अहिलेसम्म भएको आम्दानी उनले व्यवसाय वृद्धिमा नै लगाएका छन् । ‘मैले नौ वर्ष गरेको आम्दानी यही व्यवसायमा भएको लगानी हो । करिब रु ५० लाख लगानी भइसकेको छ, आजसम्म भएको आम्दानी लगानीमा सकियो । अबको आम्दानी बचतमा जान्छ,’ उनी भन्छन् । च्याउखेतीका लागि उनले एसी प्लान्ट जोडेका छन् । जहाँ एकैपटक एक हजारभन्दा बढी च्याउ राख्न मिल्छ । च्याउखेतीसँगै केरा, तरकारी र मकैखेती गर्दै आएका कठरिया अहिले सबै छाडेर च्याउ उत्पादनमा व्यस्त भएका छन् । उनले गाउँका अन्य युवालाई पनि व्यावसायिक खेतीका निम्ति प्रेरित गर्दै आएका छन् । जानकी गाउँपालिकाकै ममता चौधरीले स्नातक तहको अध्ययनसँगै च्याउखेती सुरु गरिन् । पढ्दै खेतीमा लागेकी उनलाई एन्जिल चौधरीले सिकाएका थिए । साथीहरूबाट सिकेको ज्ञानसँगसँगै स्नातक तहको अध्ययन सक्नुभयो भने व्यवसायलाई विस्तार गर्दै त्यसको निरन्तरतामा लागिन् । परिवारको दबाबले एक वर्ष कानुन पढ्न धनगढीमा बिताएकी ममतालाई व्यवसायबाट हुने गरेको मनग्य आम्दानीले धनगढीबाट घर फिर्ता गर्यो । उनी भन्छिन्, ‘अब स्नातकोत्तर गर्छु । व्यवसायलाई पनि निरन्तरता दिनेछु ।’ बाह्र महिना च्याउ उत्पादनमा लागेकी उनले ठूलो धनराशि लगानी गरेकी छैनन् । यो वर्ष एक लाख लगानी गरेको उनको च्याउ खेतीबाट ६ लाख आम्दानी भएको छ । ‘च्याउखेतीमा खासै लगानी छैन । त्यही प्लास्टिक र पराल हो चाहिने, पराल आफैँसँग हुन्छ प्लास्टिक किन्नुपर्छ । लगानीभन्दा आम्दानी तेब्बर छ,’ उनी भन्छिन् । उनको पाँचजना परिवारका पाँच जना च्याउखेतीमा नै व्यस्त छन् ।
गोर्खाज फाइनान्सको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले ६२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । मंगलबार कम्पनीले सूचना जारी गर्दै संस्थापक सेयरधनीको उक्त सेयर मंगलबारदेखि बिक्रीमा राखिएको जनाएको हो । सेयर खरिदका लागि जोसुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरूले खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले काठमाडौं डिल्लीबजारमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क गरी आवश्यक कागजातसहित निवेदन पेस गर्नुपर्नेछ । लगानीकर्ताले सेयर खरिदका लागि सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
सूर्यज्योति लाइफको सेयरको ‘लकइन’ अवधि आज सकिँदै
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लकइन समयावधि मंगलबार सकिने भएको छ । मंगलबार कम्पनीले एक सूचना जारी गर्दै साविकको ज्योति लाइफ इन्स्योरेन्सको संस्थापक सेयरधनीहरू तथा कर्मचारीको कुल १ करोड ४२ लाख ६६ हजार ३२३.५ कित्ता लकइनमा राखिएको सेयरको अवधि चैत आज सकिएको जनाएको हो । जसमा साविकको ज्योति लाइफ इन्स्योरेन्सको संस्थापकको स्वामित्वमा रहेको १ करोड १ लाख ७५ हजार ९७९ कित्ता, संस्थापक समूहबाट सर्वसाधारणमा परिणत भएको ३७ लाख ९१ हजार ५१ कित्ता र कर्मचारीको स्वामित्वमा रहेको ९ लाख ९९ हजार २९३.५० कित्ता रहेको छ । साविकको ज्योति लाइफ र सूर्या लाइफ एकापसमा गाभिएर २०७९ पुस ७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु भएको छ । सूर्या लाइफसँग मर्जरमा जानुअघि नै साविकको ज्योति लाइफले तीन वर्ष पहिले सर्वसाधारणलाई आइपीओ ल्याएको थियो । लकइन पिरियड समाप्त भएपछि यी सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् । तर, कम्पनीका सञ्चालक, कार्यकारी प्रमुख, कम्पनी सचिव, उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारी र लेखासम्बन्धी प्रत्यक्ष कार्यमा संलग्न कर्मचारीको हकमा भने सेयर रोक्का नै रहने कम्पनीले जनाएको छ ।
हिमालयन बैंकको १३ लाख २७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । हिमालयन बैंक लिमिटेडले १३ लाख २७ हजार ८ सय ६७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले मंगलबार सूचना प्रकाशन गरेर ८ जना संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखिएको जनाएको छ । सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीका लागिमात्रै खरिद आवेदन दिन सक्नेछन् । सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । इच्छुक संस्थापक सेयरधनीहरूले काठमाडौं कमलादीमा रहेको बैंकको केन्द्रीय कार्यालयको कानुन तथा सेयर विभागमा आवश्यक कागजातसहित निवेदन पेस गर्नुपर्नेछ । संस्थापक सेयरहरूको मूल्य बिक्रेताअनुसार फरक–फरक भएकाले रहेकाले मूल्यसम्बन्धी जानकारीका लागि बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न बैंकको आग्रह छ । बैंकका अनुसार तोकिएको समयभित्र संस्थापक सेयरधनीहरूबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने छ ।
म्याद नाघेका खाद्य सामग्री जफत
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका ग्रामीण भेगमा उपभोगको म्याद नाघेका खाद्य तथा पेय पदार्थ बिक्री भएको भेटिएपछि तिनलाई जफत गरिएको छ । सोमबार अन्नपूर्ण–६ घार र खिवाङ क्षेत्रका पसलहरूमा गरिएको अनुगमनको क्रममा म्याद नाघेका सामान बिक्री भएको पाइएपछि ती जफत गरिएको हो । गाउँपालिकाका उपाध्यक्ष एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक दिवाकुमारी तिलिजा पुनको नेतृत्वमा गाउँपालिकाका कर्मचारी, पर्यटन तथा उद्योग कार्यालय, प्रहरी, उद्योग वाणिज्य संघ अन्नपूर्ण इकाईका प्रतिनिधि, पत्रकारलगायत संलग्न टोलीले घार र खिवाङ क्षेत्रका पसलको अनुगमन गरेको थियो । अनुगमन टोलीले उपभोगको म्याद नाघेका खाने तेल, मैदा, सुजी, मसला, चियापत्ति, चाउचाउ, बिस्कुट, कोक, फेन्टा, स्प्राइट, बियरलगायत ७५ हजार रुपैयाँभन्दा बढीका खाद्य र पेय पदार्थ जफत गरेको गाउँपालिकाका उपाध्यक्ष पुनले बताए । उपाध्यक्ष पुनका अनुसार मूल्यअभिवृद्धि कर (भ्याट) र व्यक्तिगत खाता नम्बर (प्यान) नलिइकन व्यवसाय सञ्चालन गरेका तथा अनुमतिबिना मदिरा र सुर्तीजन्य पदार्थको बिक्री गरेकाहरूलाई सचेत गराइएको छ ।
यी दुई प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाहाले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । मंगलबार दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।