गल्फ लुब्रिकेन्ट्सद्वारा फ्याक्ट्रीका मेकानिक्सलाई टेक्निकल प्रशिक्षण सञ्चालन
काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयलले अमलेखगंजस्थित आफ्नो फ्याक्ट्रीमा मेकानिक्सहरुलाई टेक्निकल प्रशिक्षण सञ्चालन गर्नुको साथै फ्याक्ट्री भिजिट कार्यक्रम सञ्चालन गरेको छ । सुदुरपश्चिम क्षेत्रका ३० भन्दा धेरै मेकानिक्सहरुले सहभागिता जनाएको सो कार्यक्रममा सिप विकाश गर्नका लागि चाहिने सान्दर्भिक टेक्निकल तालिम प्रधान गर्नुको साथै उनीहरुको गल्फ लुब्रिकेन्ट्सप्रतिको मनोबल अझै वृद्धि गर्ने उद्देश्यले फ्याक्ट्री भिजिट पनि गराएको थियो । नेपालकै अत्याधुनिक फ्याक्ट्रीहरु मध्ये एक यो फ्याक्ट्रीको उत्पादन प्रक्रिया र यहाँ प्रयोग हुँने उच्चस्तरिय टेक्नोलोजीहरुको बारेमा पनि विस्तृत जानकारी गराईएको थियो । नेपाल ल्यूब आयलको ल्याबमा भएको विभिन्न डिजिटल उपकरण लब्रिकेंट्सको १७ थरी भन्नदा बढ़ी पैरामीटर मापदंडमा गुणस्तरको माप गरेर मात्र वस्तुहरू बिक्रीमा पठाईने गरेको थाहा पाउदा, सही वस्तु उपयोग गरिएको रहेछ भनेर सर्बै ढुक्क भएको अवलोकनमा सहभागी एक मैकनिक्सले बताए । नेपालमै एक मात्र कम्पनि जसले उच्च गुणस्तरको ग्रेड बेस आयल मात्र प्रयोग गरेको र विगत ५ बर्ष भन्दा धेरै देखि सो भन्दा निम्न स्तरको आयल इम्पोर्ट नै नगरेको थाहा पाउँदा, गल्फ लुब्रिकेन्ट्सप्रति अझै धेरै विश्वास बढेको खुशी मेकानिक्सहरुले व्यक्त गरेका छन् । सहभागी सबैलाई सर्टिफिकेट सर्टिफिकेट र खादा ओडाएर सम्मान गरी समापन गरिएको सो कार्यक्रममा बोल्दै नेपाल ल्यूब आयलका नायब महाप्रबन्धक हिरालाल रावतले भने,’मेकानिक्स साथीहरुको सिप बिकाशमा हामी हरदम प्रतिबद्ध छौँ र येही अनुरुपको कार्यक्रम आगामी दिनहरुमा पनि संचालन हुनेछन्। गल्फ लुब्रिकेन्ट्सको अन्तर्राष्ट्रिय मापदण्डको पालना, उत्पादनको हरेक चरणमा लागुगरिएको क्वालिटी कन्ट्रोल र यहाँ प्रयोग हुने अत्याधुनिक प्रविधिको वास्तविक आँखा अगाडि जानकारी दिनु पाउँदा गल्फ लुब्रिकेन्ट्स प्रतिको विश्वास बढेको हामीले यो कार्यक्रममा अनुभूति गरेका छौँ ।’ नेपालयुब आयल लिमिटेडका आधिकारिक विक्रेता सयपत्री स्टोर्सको सहकार्यमा संचालित कार्यक्रममा नेपाल ल्युब आयल लिमिटेडका प्रादेशिक बजार व्यवस्थापक राजन रावलले गल्फका विभिन्न उत्पादनहरूको बारेमा जानकारी गराएका थिए । उनले नेपाल ल्युब आयलको अटोमोबाइल देखि उद्योगहरूमा प्रयोग हुने सबै सेग्मेंट्स र ग्रेडका लुब्रिकेन्ट्स, ग्रीजको बारेमा विस्तृतमा जानकारी गराएका थिए । त्यस्तै उनले नेपाल ल्युब आयलले बिक्री गरिरहेको ब्याट्रीको बारेमा पनि प्रस्तुतीकरण दिएका थिए । फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ । नेपालमा गल्फ ब्राण्ड बिगत ३८बर्ष देखि लगातार ग्राहकवर्गको रोजाईमा पर्दै आएको छ ।
फिल्म ‘चिसो मान्छे’ र सर्ट फिल्म ‘घुर्रा’ लाई उत्कृष्ट अवार्ड
काठमाडौं । पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा ‘चिसो मान्छे’ले उत्कृष्ट चलचित्र र ‘घुर्रा’ले उत्कृष्ट लघुचलचित्रको अवार्ड प्राप्त गरेको छ । चलचित्र चिसो मान्छेको लेखन तथा निर्देशन दिपेन्द्र के खनालले गरेका हुन् । चिसो मान्छेबाटै नायिका स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छिन् । एक सटमा खिचिएको बालमनोविज्ञानमा आधारित लघुचलचित्र ‘घुर्राको लेखन तथा निर्देशन रंगकर्मी मोहन अभिलाषीले गरेका छन् । चलचित्र ‘महापुरुष’बाट हरिवंश आचार्यले उत्कृष्ट अभिनेता र प्रदिप भट्टराईले उत्कृष्ट निर्देशकको अवार्ड पाएका छन् । हरिवंश अवार्ड लिन स्वयं उपस्थित भएका थिए भने निर्देशक भट्टराई कार्यक्रममा देखिएनन् । त्यस्तै चलचित्र ‘छक्का पन्जा चार’बाट दीपक राज गिरीले उत्कृष्ट लेखक र दीपाश्री निरौलाले छक्का पन्जा चारबाटै जुरी मेन्सन अवार्ड पाएकी छिन् । दीपकराज गिरी छक्का पन्जा पाँचको स्कृप्टमा व्यस्त भएकोले कार्यक्रममा आउन नसकेको भन्दै दुवै अवार्ड दीपाश्रीले नै लिएको थिईन् । राष्ट्रियतर्फ उत्कृष्ट सांस्कृतिक चलचित्रमा ‘थिम’, वातावरणीय चलचित्रमा ‘दिअर ईज नो टुमारो’, उत्कृष्ट डकुमेन्ट्रीमा ‘मकै विवाह’, उत्कृष्ट महिला चलचित्र ‘द गोर्खा गर्ल’, उत्कृष्ट बाल चलचित्रमा ‘ईअर्ली होम’ले अवार्ड पाएको छ भने स्पेशल जुरी मेन्सन अवार्ड ‘जर्ना’ र ‘युवराज’ले प्राप्त गरेको छ । लघुचलचित्र ‘साउण्ड अफ ड्रिमिङ’बाट चिन्तनराज भण्डारीले उत्कृष्ट छायाँकारको अवार्ड पाए । प्रमुख अतिथिका रुपमा नेपाली कांग्रेसका प्रदिप पौडेल उपस्थित रहेको थिए । मिथिला शर्मा, भुवन चन्द, हरिवंश आचार्य, दीपाश्री निरौला, सुश्मा कार्की, आर्यन सिग्देल, मोहन निरौला लगायत थुप्रै कलाकारहरुको उपस्थित थिए । चलचित्र महोत्सवमा विभिन्न विधाका उत्कृष्ट राष्ट्रिय चलचित्रतर्फ १५ र अन्तराष्ट्रिय चलचित्रतर्फ उत्कृष्ट १५ अवार्ड वितरण गरिएको थियो । अन्तरास्ट्रियतर्फ उत्कृष्ट चलचित्र भारतको ‘मुझे स्कुल नही जाना’ र लघुचलचित्रमा बेलायतको ‘नो फ्रिडम नो आर्ट’ले अवार्ड पाएको छ । बंगलादेशको प्रशुन रहमानले चलचित्र ‘डियर सत्यजित’बाट उत्कृष्ट निर्देशक अवार्ड पाए । उत्कृष्ट महिला चलचित्रमा पाकिस्तानको ‘ईन्टरभल’, डकुमेन्ट्रीमा बहराइनको ‘शैख अल तानवीर’, बाल चलचित्रमा भारतको ‘शट बुट थ्री’, वातावरणीय चलचित्रमा साउथ अफ्रिकाको ‘द लाष्ट सीड’, मानव अधिकार चलचित्रमा बेल्जियमको ‘ह्वेर ह्याभ अल द स्माईल्स गन’ले अवार्ड प्राप्त गरेको छ । उत्कृष्ट अभिनेतामा बंगलादेशको चलचित्र ‘जुद्धो जोएर किशोर नायक’बाट अतिक्युर रहमान शिहान, अभिनेत्रीमा क्यानडाको चलचित्र ‘जेन’बाट जोभान्ना बुर्की, उत्कृष्ट लेखकमा चेक रिपब्लिकको ‘सेक्रेट्स अफ एन वर्ल्ड गन टु’बाट ईभो मचारेक, उत्कृष्ट छायाँकारमा अमेरिकाको ‘द ट्रु समिट’बाट कोर्बन रबीले अवार्ड पाएका छन् । जुरी मेन्सन अवार्ड नेपालमा छायांकन गरिएको जर्मनीको ‘नमस्ते हिमालय’ र स्पेसल मेन्सन अवार्ड फ्रान्सबाट ‘ईमाकुलेट’ र पाकिस्तानको ‘समटाईम्स ईभन द सोर ड्रन्स’ले पाएको छ । विदेशबाट धेरैजसो विजेताहरु कार्यक्रममा स्वयं सहभागी भएरै अवार्ड लिएका थिए । चलचित्र विकास बोर्डको हलमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव भईरहँदा विकास बोर्डकै अध्यक्ष भुवन केसी भने अनुपस्थित रहेका थिए । चलचित्रलाई माया गरेर विदेशबाट धेरै चलचित्रकर्मीहरु नेपाल आइरहँदा चलचित्र विकास बोर्डकै अध्यक्षले बेवास्ता गरेको धेरै सहभागीहरूले गुनासो व्यक्त गरेका थिए । पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवको राष्ट्रिय निर्णायकको रूपमा नायिका आँचल शर्मा, कलाकार मोहन निरौला, अभिनेत्री सुष्मा कार्की, चलचित्रकर्मी मोहन राई, पत्रकार शान्ती प्रिय, जय निशान्त र सुवास प्रधान रहेका थिए । त्यस्तै अन्तराष्ट्रिय निर्णायकमा पोल्याण्डकी म्याग्डालेना जुज्जिक, जर्मनीकी डर्क गिल्सन, सर्बियाकी ल्जुबिन्का स्टोजानोभिक, जर्मनीका जान स्लेंक, भारतका मुश्ताक अली अहमद खान, क्रोएसियाका इभा गालोभिक, कोरियाकी मिरियम ग्लेजर छन् । भारतका मुश्ताक अलि, जर्मनीका जान स्लेक, सर्बियाकी ल्जुबिन्का, पोल्यान्डकि म्याग्डालेना महोत्सवमा उपस्थित रहेका थिए । सबैले नेपालीमा बोल्ने प्रयास गरेर महोत्सवको माहोललाई तताएका थिए । तीन दिने महोत्सवको उद्घाटन नेपाल पर्यटन बोर्डमा गरिएको थियोे भने समापन चलचित्र विकास बोर्डको हलमा गरिएको थियो । महोत्सवमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म प्रदर्शनसँगै प्यानल डिस्कशन र मास्टर क्लास समेत भएको थियो । चलचित्र विकास बोर्डमा सर्बियाकी लजुबिन्का स्टोजानोभिकले चलचित्र सम्बन्धी कार्यशाला दिएकी थिईन् भने अन्तिम दिन भारतका मुश्ताक अली अहमद खानले मास्टर क्लास गरेका थिए । चलचित्र महोत्सवको समापन गर्दै महोत्सव निर्देशक सन्तोष सुवेदीले देश तथा विदेशबाट चलचित्र क्षेत्रलाई माया गरेर महोत्सवमा उपस्थित सबैलाई धन्यवाद ज्ञापन साथै अतिथिहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।
काठमाडौंमा भारत-नेपाल शिल्प मेला आयोजना हुँदै
काठमाडौं । भारत-नेपाल लोक शिल्प मेला २०२४ मार्च २८ देखि अप्रिल ०१ सम्म हुने भएको छ । मेला छाया सेन्टर ठमेल हरेक दिन १०ः०० बजे देखि ७ः०० बजे सम्म आयोजना हुने छ । भारत-नेपाल शिल्प मेला (आईएनसीएफ) दक्षिण एसिया फाउन्डेशन (एसएफ) को एक पहल हो । जसले शिल्पमा आधारित द्विपक्षीय सम्बन्धहरूको प्रोत्साहन गर्दछ । भारत र नेपालबीचको शिल्प र संस्कृतिको आदान-प्रदान कार्यक्रमलाई बढाउँछ । मेलाको अवलोकन निःशुल्क गर्न पाइने छ । मेलामा विभिन्न शिल्पको लाइभ प्रदर्शनीको साथै ५ दिने अनौपचारिक प्रदर्शनीका साथ, भारत र नेपालका शिल्पकर्मीहरूद्वारा बनाइएका अनौपचारिक आर्टिफेक्टहरू हुनेछ । मेलाका आकर्षणहरूमा व्यापार सुविधा, सांस्कृतिक कार्यक्रमहरू, शिल्प प्रदर्शनको लाइभ डेमन्स्ट्रेशन, डिजाइन वर्कसपहरू, भारत र नेपालका लोक कला र शिल्प, र साथमा वाराणसीको आकर्षक शिल्प समेत रहनेछन् । शिल्प मेला (आईएनसीएफ-२०२४) भारतको राजदूतावास, काठमाडौं, नेपालको राजदूतावासको प्रायोजनमा साथै विभिन्न नेपाली प्रायोजकहरू द्वारा प्रयोजन गरिएको छ । दक्षिण एसिया फाउन्डेशन र एसएएफ-नेपालको आयोजना र फेडरेशन अफ ह्याण्डिक्राफ्ट एसोसिएसन अफ नेपाल (एफएचएएन) र सार्क व्यापार संघको घरेलु काममा आधारित कामदारहरूको नेपाल च्याप्टर एसएबीएएच नेपालले आईएनसीएफ-२०१६मा संयुक्त सहकार्य गर्दै छन् । यस प्रदर्शनी एवं बिक्री मेलामा ३५ भन्दा बढी शिल्पकर्मी/शिल्प सहित नेपालका विभिन्न भागहरूबाट २० भन्दा बढी शिल्पकर्मीहरू सहभागी हुनेछन् ।
गुराँस लघुवित्त र माई खोलामा लाग्यो सर्किट, सर्वोत्तमको सर्वाधिक कारोबार
काठमाडौं । सोमबारको सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । गुराँस लघुवित्त वित्तीय संस्था र माई खोला हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । जसमध्ये गुरासँ लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १४८५ रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा प्रतिकित्ता १३५ रुपैयाँले बढी हो । त्यस्तै, माइ खोलाको पनि सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४३४.५० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ३९.५० रुपैयाँले बढी हो । यता माहुली लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९ प्रतिशत बढी अर्थात ९.४४ प्रतिशतले बढेर प्रतिकित्ता १०५९.४० रुपैयाँ पुगेको छ । समग्रमा सोमबारको नेप्से परिसूचक ६.२६ अंकले घटेर २०१२.०७ बिन्दुमा पुगेको छ । दिनभर तीव्र उतारचढाव देखिएको बजारमा परिसूचक अघिल्लो दिनको तुलनामा ०.३१ प्रतिशतले घटेको हो । घटेको बजारमा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन तीन अर्ब माथिको सेयर कारोबार भएको बजारमा सोमबार २ अर्ब ८७ करोडमा सीमित भएको छ । आइतबार जस्तै सोमबार पनि सवोत्तम सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ४७ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, कम्पनीको सेयर मूल्य घटेर प्रतिकित्ता ९४१ रुपैयाँमा झरेको छ । आइतबारको तुलनामा सोमबार कम्पनीको सेयर मूल्य ३३.५० रुपैयाँले घटेको हो । यससँगै कम्पनीको सेयर मूल्य घटेको आज दोश्रो दिन हो । बजारमा रिभर फल्स पावरको सबैभन्दा बढी अर्थात ९.९८ प्रतिशतले सेयर मूल्य घटेर प्रतिकित्ता ४०८.५० रुपैयाँमा झरेको छ । सोमबार होटल्स एण्ड टुरिजम र ट्रेडिङ समूह बाहेक सबै समूह राताम्मे देखिएका छन् । होटल्स समूह भने ५९.७६ अंक र ट्रेडिङ समूह ५.५१ अंकले बढेको छ ।
दलीय राजनीतिकरणको अन्त्य नभएसम्म शिक्षा क्षेत्रको सुधार हुन सक्दैन : शिक्षामन्त्री
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय र विश्वविद्यालयहरुमा दलीय राजनीतिकरणको अन्त्य नभएसम्म शिक्षामा सुधार हुन नसक्ने बताएकी छन् । सोमबारको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले विद्यालय र विश्ववद्यालयबाट दलीय राजनीति अन्त्य गर्नको लागि आफूले काम थालिसकेको बताइन् । शिक्षा ऐन, २०२८ को दफा १६ ङ को उपदफा ५ मा शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाएमा शिक्षक वा कर्मचारीलाई पदबाट हटाइने उल्लेख गरिएको भन्दै आफूले सोही ऐनअनुसार काम अघि बढाइसकेको जानकारी दिइन् । शिक्षा क्षेत्रबाट दलीय राजनीतिकरण हटाउनसके सरकारले अघि बढाएका कार्यक्रमहरु सफल हुने विश्वास व्यक्त गरिन् । ‘जबसम्म दलीय राजनीति जताततै हाबी हुन्छ, त्यो कहिल्यै पनि सुधिँदैन । त्यसकारण हिजो मैले आह्वान गरेको छु, हाम्रो शिक्षा ऐन, २०२८ को दफा १६ ङ को उपदफा ५ मा स्पष्ट लेखेको छ । शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाएमा शिक्षक वा कर्मचारीलाई पदबाट हटाइनेछ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४ उपदफा २ खण्ड गमा पनि स्पष्ट लेखिएको छ । नराम्रो काम गर्ने मान्छे पनि राजनीतिक प्रश्रयमा परेकाले जतिसुकै राम्रो काम गरेपनि चित्त बुझ्दैन’, उनले भनिन् । मन्त्री श्रेष्ठले देशमा शिक्षाको व्यापारीकरण भएको दाबी गरिन् । उनले शिक्षामा भइरहेको व्यापारको अन्त्य नगरेसम्म शिक्षा क्षेत्रका विकृति हट्न नसक्ने बताइन् । शिक्षामा भइरहेको व्यापारको नियन्त्रण र नियमनका लागि मन्त्रालयले कार्यदल बनाएर अघि बढिसकेको बताइन् । अबका दिनमा निःशुल्क शिक्षासँगै गुणस्तरीय शिक्षाको नारा अघि बढाउन आवश्यक रहेको जानकारी दिइन् । ‘हामीले हाम्रो देशको शिक्षाको व्यापारीकरण अति नै भएको छ । यो हाम्रो वैदेशिक अफिलिएटेड कलेजेजहरुबाट पनि दखिन्छ । निजी उच्च शिक्षा सेवा प्रदान गर्ने, सामुदायिकमा उहाँहरुको प्रतिष्पर्धा अब निजी र आंगिकमा मात्रै छैन, उहाँहरुले अब विदेशी अनुमति लिएकोबाट पनि छ । शिक्षकहरुमा दरबन्दीको धेरै नै पदपूर्ति गर्नुपर्नेछ । तर भएको दरबन्दीले पनि नतिजा सोचेको जस्तो छैन’, उनले भनिन् । मन्त्री श्रेष्ठले शिक्षामा राजनीतिकरण भएका कारणले सामुदायिक विद्यालयहरुबाट आउनुपर्ने जति नतिजा आउन नसकेको जिकिर गरिन् । शिक्षक दरबन्दीको पदपूर्ति धेरै नै रहेको बताइन् ।
सञ्चय कोष र लगानी कोषको महँगो ब्याजको पैसा चाँडै फिर्ता गर्छौं : अध्यक्ष अधिकारी
काठमाडौं । नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीले अन्तर्राष्ट्रिय निकायहरुसँग सस्तो ब्याजमा कर्जा लिएर सञ्चय कोष र लगानी कोषको महँगो ब्याजको पैसा फिर्ता गरिने बताएका छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै अध्यक्ष अधिकारीले यस्तो बताएका हुन् । उनले निगमले २०७५ असार १४ गते र २०७५ साउन ११ गते गरी दुईवटा वाइडबडी र न्यारोबडी जहाज नेपाल ल्याउनको लागि सरकारको जमानीमा कर्मचारी सञ्चय कोषबाट १२ अर्ब र नागरिक लगानी कोषबाट पनि १२ अर्ब रुपैयाँ महँगो ब्याजमा ऋण लिएर जहाज खरिद गरेको जानकारी दिए । उनले आफू नेतृत्वमा आएपछि जहाजहरुको सदुपयोग गर्नुको विकल्प भएको बताए । निमगले महँगो ब्याजदर घटाउनको लागि अन्तर्राष्ट्रिय निकायहरुसँग १ खर्ब ३५ अर्बको ऋण सहयोग माग गरेको बताए । उक्त लोन २ वा ४ प्रतिशतमा पाइयो भने मँहगो ब्याजदरको पैसा र्फिता गर्ने बताए । अध्यक्ष अधिकारीले नेपाल वायुसेवा निगमको काठमाडौंको न्युरोडमा १४ रोपना ७ आना,सिनामंगलमा ३४ रोपना १३ आना जग्गा तथा अन्य १३ जिल्लामा पनि जग्गा रहेको जानकारी दिए । उनले न्युरोड र सिनामंगलका जग्गाहरुमा निगमको आधुनिक भवनहरु बनाउने योजना रहेको बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५० वर्ष पुरानो घामपानी छेक्ने मात्रै ह्याङ्गर भएकाले आइका र आइकाओको मापदण्डअनुसार निगमल अत्याधुनिक प्रविधिको आफ्नै ह्याङ्गर बनाउनुपर्ने आवश्यकता रहेको बताए । त्यसको लागि निगमले डिपीआर गरेर सरकारलाई पेश गरेर आर्थिक सहयोग जुटाईदिन माग समेत गरेको जानकारी दिए । उनले यो विषयमा लगानीबोर्ड पनि चासो राखेको पनि बताए । दुवैतिरको भवन बनाउँदा करिव १० अर्ब भन्दा बढी रकम लाग्ने अनुमान रहेको बताए । निमगको ह्याङ्गर बनाउनको लागि मात्र ५ अर्ब बढी रकम लाग्ने अनुमान रहेको जानकारी दिए । ‘नेपाल वायुसेवा निगमको १३ जिल्लाका २३ ठाउँमा जग्गा रहेको छ । जसमा काठमाडौंको न्युरोडमा १४ रोपना ७ आना,सिनामंगलमा ३४ रोपना १३ आना जग्गा छ । दुवैतिरको भवन बनाउँदा करिव १० अर्ब भन्दा बढी रकम लाग्छ । जसमा ह्याङ्गरको लागि ५ अर्ब बढी लाग्छ । विमानस्थलको उत्तरपश्चिम साइडमा नागरिक उड्डयन प्राधिकरणले दिएको जग्गामा ह्याङ्गर बनाउने भनेर डिपीआर बनाएका छौं । पछि यात्रु वृद्धि हुन थाल्ने र जहाज लिजमा आएपछि भैरहवा कोल्बोको लागि योजना बनाएका छौं । यसले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा पनि टेवा पुग्छ । गौतम बुद्धको प्रचारप्रसारमा पनि टेवा पुग्छ’, उनले भने । उनले निगम सुधारको लागि निगम व्यवस्थापनले सरकारलाई रसरकारले निगमलाई आरोप प्रत्यारोप गरेर जिम्मेवारीबाट पन्छिने प्रवृत्ति देखापरेको बताए । निगम सुधारको लागि व्यवसायिक योजनाहरु बनाउने चरण रहेको भन्दै बुद्धिष्ट सर्किटको लागि जहाजहरु लिजमा लिएर भए पनि काठमाडौं–ब्याङ्गलोर,कोल्बो–काठमाडौं उडान गर्ने योजना रहेको बताए । जहाज लिजमा आएपछि भैरहवा—कोलम्बो उडानको लागि पनि योजना बनाएको दाबी गरे ।
हिउँ रहे पो हिमालचुली !
गण्डकी । ‘जाडोको खासै महसुस गर्न नपाई हिउँद बित्यो’, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीका डमबहादुर पुनले भने, ‘पोहोर र अहिले घोरेपानी–पुनहिलमा हिउँ नै परेन ।’ ३२ सय १० मिटर उचाइको पुनहिल केही वर्षअघिसम्म हिउँले छपक्कै ढाकिने गरेको उनले सुनाए । पुनहिलबाट आँखैअघि देखिने हिउँचुचुरा पनि पहिले झैँ सेताम्मे देखिन छाडेको पुनको भनाइ छ । ‘हिउँदमा हल्काफुल्का हिउँले ढाकेपनि वर्षात्मा त हिमाल पनि फुस्रा र काला देखिन्छन्’, ७० वर्षीय उनले भने, ‘हामीले हेर्दाहेर्दै हिमालबाट हिउँ घटिरहेको छ, यसरी हिउँ निथ्रिदै गए हिमाल कसरी जोगिएलान् र ? हिउँबिनाको हिमाल के हिमाल !’ पुनले भने झैँ हिउँ छ र पो हिमालहरु छन् । हिउँबिना त ति केबल नाङ्गा र उजाड कालापत्थर न हुन् । पर्यटन व्यवसायी जुली पुनका भनाइमा हावापानीमा आएको फेरबदलले घोरेपानी–पुनहिलको पर्यटन क्षेत्रलाई पनि असर पुर्याइरहेको छ । ‘केही दिनयता तुँवालो मडारिएर हिमाल खुलेको छैन, दोस्रो मुख्य पर्यटकीय याम भएर पनि पर्यटकीय चहलपहल कम छ’, उनले भनिन्, ‘पहिलेपहिले हिउँ खेल्न पर्यटक आउँथे, पछिल्लो समय हिउँ पनि पर्न छोड्यो, फासफुस परिहाल्यो भने पनि उतिखेरै बिलाउँछ ।’ स्वच्छ र शान्त वातावरणमा हिमाल नियाल्न पर्यटक पुनहिल आउने गरेको जुलीले बताइन् । ‘विश्वका दस अग्ला हिमालमध्येमा पर्ने अन्नपूर्ण, धवलागिरि, मनाश्लुलगायत एकैसाथ दर्जनौँ हिमाल यहाँबाट देख्न सकिन्छ, घारेपानी–पुनहिलको पर्यटन नै प्रकृति र हिमालका कारण टिकेको छ’, उनले भने, ‘हिमालको सौन्दर्य र शोभा हराउँदै गए त्यसको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा पनि पर्छ।’ जलवायु विज्ञ डा बिमल रेग्मीले विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमालय क्षेत्रमा सङ्कट गहिरिँदै गएको बताए । अहिलेकै गतिमा हिउँ पग्लिँदै गएमा आउँदा केही दशकमा नेपालका हिमालहरु कालापत्थरमा परिणत हुने उनको भनाइ छ । विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित पार्दा पनि यही शताब्दीको अन्त्यसम्ममा हिन्दुकुश–हिमालय क्षेत्रको ३६ प्रतिशत हिउँ भण्डार रित्तिने अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द (इसिमोड)को अध्ययनले देखाएको डा रेग्मीले बताए। ‘अहिले नै विश्वव्यापी तापक्रम १.१ डिग्री सेल्सियसले वृद्धि भएकामा पृथ्वीको तापमान दुई डिग्रीले बढ्ने हो भने हिमालय क्षेत्रको आधा हिउँ सकिने उक्त अध्ययनको निचोड छ’, डा रेग्मीले भने, ‘हरित ग्यास उत्सर्जनलाई नियन्त्रण गर्न विश्वले कदम उपयुक्त नचाल्ने हो भने हिमालय क्षेत्रमा गम्भीर सङ्कट निम्तने खतरा छ, कुनै दिन हिमालको अस्तित्व नै नासिन सक्छ ।’ उनका अनुसार सन् २०१५ मा भएको पेरिस सम्झौतामा संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धीका पक्ष राष्ट्रहरुले विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित पार्ने र २ डिग्री सेल्सियसभन्दा बढ्न नदिने सहमति गरेका थिए । पृथ्वीको तापमान बढ्नुको मुख्य कारण हरित ग्याँसको उत्सर्जन रहेको डा रेग्मीको भनाइ छ । ‘कार्बनडाइअक्साइड, मिथेन जस्ता मानवउत्सर्जित हरितगृह ग्यासले सूर्यको तापक्रम सोसेर राख्ने हुँदा पृथ्वीको तापक्रम बढ्छ’, उनले भने, ‘विश्वव्यापी तापमान वृद्धिका कारण निम्तिएको जलवायु सङ्कटको ठूलो मार हिमालय क्षेत्रमा परिरहेको छ ।’ हिमालय क्षेत्रको तापक्रम अन्य क्षेत्रको भन्दा पाँच गुणा बढी अर्थात् बर्सेनि ०.००६ प्रतिशतले बढिरहेको डा रेग्मीले बताए । ‘जलवायुजन्य प्रकोपका घटना हिमालय क्षेत्रमा बढी भइरहेका छन्, हिउँ पुग्लेर हिमताल बन्ने क्रम बढ्दो छ, हिमनदी सुक्दै गएका छन्, हिमालको पारिस्थितिकीय प्रणालीमा उथलपुथल भइरहेको छ’, उनले भने, ‘जलवायु परिवर्तनका कारण पानीको चक्र फेरिएको छ, मनसुन ढिलो हुने, हिउँ नपर्ने, कुनैबेला हाँडीघोप्टे वर्षा हुने जस्ता समस्या देखिइरहेका छन् ।’ डा रेग्मीले हिमालबाट हिउँ हराउँदै गएमा पानीमा आधारित कृषि र जनजीवनमा ठूलो असर पर्ने बताए । हिमालय क्षेत्र दक्षिण एसियाका झण्डै दुई अर्ब मानिसको पानीको स्रोत रहेको उनको भनाइ छ । ‘हिमालमा हिउँ नरहे, नदीका स्रोत सुक्छन्, त्यसले तल्लो तटीय क्षेत्रका बासिन्दाको जीविकोपार्जनदेखि खानेपानी, सिँचाइ, कृषि आदिमा भयानक सङ्कट निम्तिन्छ’, डा रेग्मीले भने । जलवायुजन्य घटना र हानीनोक्सानीका कारण नेपालको कुल ग्राहस्थ उत्पादनमा वार्षिक दुई दसमलव पाँच प्रतिशतले ह्रास आइरहेको डा रेग्मीले बताए । ‘यो शताब्दीको अन्त्यसम्ममा १० देखि १२ प्रतिशतसम्म ह्रास हुने वन तथा वातावरण मन्त्रालयको अध्ययनले देखाएको छ’, उनले भने । डा रेग्मीले प्राकृतिक स्रोतमाथिको मानवीय अतिक्रमणका कारण विश्वले जलवायु सङ्कटको सामना गरिरहेको बताए । ‘हाम्रो पूर्वाधार विकास जलवायु र वातावरणमैत्री छैन, विकासको लगानी सुरक्षित छैन, विनाशकारी विकासले पु¥याएको असर भयाभह छ’, उनले भने, ‘जलवायु सङ्कटसँग जुध्न सरकारले छुट्टै संस्थागत संरचना खडा गर्नुपर्छ, नीति र कानुनको प्रभावकारी कार्यान्वयनको खाँचो छ ।’ जलवायु न्यायको विषय रहेको भन्दै उहाँले पर्यावरण संरक्षणमा अन्तर्राष्ट्रिय स्रोत जुटाउन सरकारले पहल लिनुपर्ने बताए । ‘अन्तर्राष्ट्रियस्तरका जलवायु तथा वातावरण कोषमा नेपालले पहुँच पु¥याउनु आवश्यक छ, जलवायुको विषयलाई सरकारले आफ्नो नीति तथा कार्यक्रममा मूल प्रवाहीकरण गर्नुपर्छ’, उनले भने । विकसित देशका कारण नेपालले जलवायु सङ्कटको सामान गरिरहनुपरेको डा रेग्मीको भनाइ छ । संरक्षणविद् डा घनश्याम गुरुङले पृथ्वीको तापक्रम वृद्धि र धुवाँधूलोका कारण हिमाल पग्लिरहेको बताउनुभयो । ‘हिमालहरु यसरी नै पग्लँदै गए माउण्टेन क्लाइम्बिङ कुनै दिन रक क्लाइम्बिङमा फेरिन सक्छ’, उनले भने, ‘जलवायु परिवर्तनको असर न्यूनीकरणका उपाय अपनाउनु र यससँग अनुकूलन हुनुको विकल्प हामीसँग छैन ।’ पृथ्वीको बढ्दो तापमानलाई रोक्न स्वच्छ उर्जाको प्रयोग बढाउनुपर्ने उनको भनाइ छ । डा गुरुङले कार्बन उत्सर्जनमा नेपालको योगदान नभए पनि जलवायु परिवर्तनको विश्वव्यापी असरबाट बच्न स्थानीय तवरबाटै योजना बनाउनुपर्ने धारणा राखे । ‘जलवायु परिर्तनमा विकसित देशको मात्र दोष छ, नेपालको केही भूमिका छैन भनेर हामी चुप लागेर बस्नुहुँदैन’, उनले भने, ‘अन्तर्राष्ट्रिय समुदायमा आवाज उठाउन पनि हामीसँग नैतिक धरातल चाहिन्छ ।’ नेपालले खनिज तेलको खपत घटाएर स्वच्छ उर्जाको प्रयोगलाई बढाउनुपर्ने उनको भनाइ छ । जीविकोपार्जन तथा बसाइसराइँविद् डा अमिना महर्जनले जलवायु परिवर्तनले नेपालमा मात्र नभएर सिङ्गो हिन्दुकुश क्षेत्रकै हिमालहरु सुख्खा बन्दै गएको बताइन् । ‘जलवायु परिवर्तनले पर्यावरण, कृषि, पर्यटन, स्वास्थ्यलगायत यावत क्षेत्रमा प्रत्यक्ष/अप्रत्यक्ष असर पुर्याइरहेको छ’, उनले भनिन्, ‘जलवायु परिवर्तनको प्रभाव अझ बढ्दै जान्छ, घट्दैन तसर्थ यससँग अनुकूलन हुनुबाहेक अर्को विकल्प छैन।’ पृथ्वीको तापमान वृद्धि हुँदै जानुमा नेपालको कुनै भूमिका नभए पनि यसको परिणाम भने भोग्नुपरिरहेको डा महर्जनले बताए । केही महिनाअघि मुस्ताङको कागबेनीमा आएको बाढी, सन् २०१२ मा हिमपहिरोका कारण सेती नदीमा आएको बाढी त्यसकै उदाहरण भएको उनले बताए । ‘जलवायु परिवर्तनका कारण स्वास्थ्य क्षेत्रमा परेको प्रभावबारे कम बहस हुने गरेको छ, खासै अनुसन्धान पनि भएको छैन’, डा महर्जनले भने, ‘नयाँनयाँ जनस्वास्थ्यका समस्या निम्तिरहेका छन्, रोग विस्तार भएका छन् ।’ उनले जलवायु अनुकूलन योजनाका लागि सरकार र अन्तर्राष्ट्रिय क्षेत्रबाट न्यून मात्र मद्दत आउने गरेको उल्लेख गरे । ‘जति प्रयास स्थानीय समुदायबाट भएको छ, सरकारबाट त्यति हुन सकेको छैन, ‘लस एण्ड ड्यामेज फण्ड’का लागि पनि नेपाल सरकारले अन्तर्राष्ट्रियस्तरमा आवाज उठाउनुपर्छ’, डा महर्जनले भने । जलवायु परिवर्तन र खाद्य सुरक्षामा अनुसन्धानरत डा जगन्नाथ अधिकारीले हिमालको सम्बन्ध नेपाली संस्कृतिसँग पनि जोडिएको बताए । ‘बिहानै हिमाल हेर्यो भने दिन पवित्र हुन्छ भन्ने मान्यता छ, विभिन्न देवीदेउताका नामबाट पनि हिमाललाई पुकारिन्छ’, उनले भने, ‘हिमालय क्षेत्र मानिसको जनजीवन र संस्कृतिसँग प्रत्यक्ष जोडिएको छ, हिउँ नरहे हाम्रा सांस्कृतिक परम्परा पनि हराउन सक्छन् ।’ हिउँ पग्लँदै गएपछि पोखराबाट देखिने हिमालको सुन्दरता पनि विस्तारै खस्कँदै गएको डा अधिकारीले बताए । हावापानीमा आएको परिवर्तनका कारण कृषि उत्पादन कम हुने, बालीनालीमा रोगकिराले सताउने जस्ता समस्या बढीरहेको उनले बताए । ‘कृषि उत्पादन घट्दा खाद्य सुरक्षामा पनि असर पुग्छ, मुस्ताङ, मनाङ जस्ता हिमाली जिल्लामा त हिउँ नपरेसम्म खेती बाली नै हुँदैन’, डा अधिकारीले भने, ‘प्राकृतिक विपद्को पनि उस्तै जोखिम छ, जलवायु परिर्वतनका बहुअसर छन् ।’ उहाँले जलवायु परिवर्तनसँग जुध्न नेपालले अन्तर्राष्ट्रिय सहयोग जुटाउनुपर्ने धारणा राखे । ‘कालीगण्डकी बचाऔँ अभियान’का संयोजक आरके अदीप्त गिरीले हिन्दुकुश–हिमालय क्षेत्र विश्वमै पानीको तेस्रो ठूलो स्रोत रहेको बताए । ‘पृथ्वीको बढ्दो तापक्रमलाई नियन्त्रण गर्न नसकिए हिमनदी नै हराउने चेतावनी वैज्ञानिक र भूगर्भविद्हरुले दिएका छन्’, उनले भने, ‘हाम्रा हिमालहरुले झेलिरहेको सङ्कट डरलाग्दो छ, हिमपहिरो, बाढीजस्ता अतिशय घटना भइरहेका छन् ।’ संयोजक गिरीले हरितगृह ग्यासको उत्सर्जनले पर्यावरण चक्रमा गम्भीर असर पुर्याएको बताए । हिउँ पग्लेर बनेका हिमताल फुटेमा तल्लोतटीय क्षेत्रका बासिन्दाले अकल्कपीय क्षति र सङ्कट व्यहोर्नुपर्ने उनको भनाइ छ । ‘जलवायु सङ्कटलाई सामान्य आँकेर बस्नुहुँदैन’, संयोजक गिरीले भने, ‘नेपाल पर्वतीय संवेदनशीलता बोकेको भूगोलमा अवस्थित रहेकाले प्राकृतिक स्रोतको उचित सदुपयोग र व्यवस्थापन हुन नसके अकल्पनीय प्राकृतिक विपत्ति निम्तन सक्छ ।’ वन विज्ञान अध्ययन संस्थान पोखराका उप–प्राध्यापक एवं जलाधार विज्ञ राजन सुवेदीले नेपालको प्राचिन सभ्यता हिमाल र खोलानालासँग जोडिएको बताए । ‘पानीको स्रोत नरहे पृथ्वी र प्राणीको अस्तित्व नै सकिन्छ, पृथ्वीलाई सन्तुलित गरेर राख्ने भूमिका पानीले खेलेको हुन्छ’, सुवेदीले भने, ‘पानीका स्रोत जोगाऔँ, नदीनाला सफा र स्वच्छ राखौँ ।’ रासस
फेरि राजनीतिमा फर्किन लागेका गोविन्दाको सम्पत्ति कति छ ?
काठमाडौं । बलिउडका ‘हिरो नम्बर–१’ अर्थात अभिनेता गोविन्दा एकपटक फेरि राजनीतिक चहलपहलमा देखिन थालेका छन् । सन् २००४ मा कांग्रेसबाट चुनाव लडेर सांसद बनेर संसदमा पुगेका थिए गोविन्दा । अब दुई दशकपछि उनी पुनः राजनीतिक संसारमा प्रवेश गर्न लागेका छन् । र, रिपोर्टहरूको विश्वास गर्ने हो भने उनी यस पटक शिवसेनाको टिकटमा लोकसभा चुनाव २०२४ लड्न सक्छन् । गएको बिहीबार गोविन्दाको महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देसँगको भेटपछि उनी फेरि राजनीतिमा प्रवेश गर्न सक्ने चर्चा चुलिएको हो । गोविन्दाले फिल्मदेखि ब्रान्ड एन्डोर्समेन्टका माधयमाबाट करोडौं कमाउँछन् । कति छ उनको सम्पत्ति ? बलिउड अभिनेता गोविन्दा वर्षौंपछि राजनीतिमा फर्किने चर्चाले तीव्रता पाएको छ । उनले शिवसेनाको टिकटमा २०२४ को लोकसभा चुनाव लड्न लागेको खबर छ । लामो समय राजनीति र चलचित्रबाट टाढा रहेका अभिनेता गोविन्दाको सम्पत्ति करोडौं छ । माइनेता डट इन्फोमा मा साल २००४ का लागि निर्वाचन आयोगमा दायर गरिएको शपथपत्र अनुसार गोविन्दाले आफ्नो कुल सम्पत्ति १४ करोड भारु घोषणा गरेका थिए । रिपोर्टका अनुसार अब २० वर्षपछि उनको सम्पत्ति करिब १८ मिलियन डलर वा करिब १५० करोड रुपैयाँ पुगेको छ । सन् २००४ मा गोविन्दा कांग्रेसको टिकटमा चुनाव जितेर संसदमा पुगेका थिए । वार्षिक १२ करोड आम्दानी गोविन्दालाई बलिउडको ‘हिरो नम्बर १’ पनि भनिन्छ । आफ्नो अभिनयको बलमा दर्शकलाई फ्यान बनाएका गोविन्दाले फिल्मबाट हुने आम्दानीमा ठूलो हिस्सा राख्छन् भने ब्राण्ड एन्डोर्समेन्टबाट पनि मनग्य आम्दानी गर्छन् । यी सबैबाट गोविन्दाले वार्षिक करिब १२ करोड रुपैयाँ कमाउँछन् भने उनको मासिक आम्दानी करिब १ करोड रुपैयाँ छ । मुम्बईमा करोडौंको सम्पत्ति गोविन्दा लक्जरी जीवन बिताउँछन् भन्ने अनुमान उनको मुम्बईमा रहेको विलासी घर हेरेर लगाउन सकिन्छ। यदि रिपोर्टहरूको विश्वास गर्ने हो भने अभिनेताका मुम्बईमा दुई विलासी र महँगा सम्पत्तिहरू छन् । यीमध्ये एउटा जुहूको रुइया पार्कमा छ भने अर्को मड आइल्याण्डमा छ । उनको घरको अनुमानित मूल्य करिब १६ करोड रुपैयाँ अनुमान गरिएको छ । यसबाहेक उनले धेरै घरजग्गा सम्पत्तिमा ठूलो लगानी गरेका छन् । एक फिल्मका लागि कति लिन्छन् पारिश्रमिक ? गोविन्दाले एउटा फिल्मका लागि करिब ५ देखि ६ करोड रुपैयाँ पारिश्रमिक लिन्छ भने ब्रान्डको एन्डर्सिङका लागि उनले करिब २ करोड रुपैयाँ लिन्छन् । उनको लक्जरी लाइफस्टाइल (गोविन्द लाइफस्टाइल) को झलक उनको कार कलेक्शन हेर्दा पनि देख्न सकिन्छ । रिपोर्टका अनुसार उनीसँग धेरै लक्जरी र महँगो कारहरू छन्, जसमा मित्सुबिशी ल्यान्सर, फोर्ड एन्डेभर जस्ता कार समावेश छन् । एजेन्सी