सञ्चय कोष र लगानी कोषको महँगो ब्याजको पैसा चाँडै फिर्ता गर्छौं : अध्यक्ष अधिकारी
काठमाडौं । नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीले अन्तर्राष्ट्रिय निकायहरुसँग सस्तो ब्याजमा कर्जा लिएर सञ्चय कोष र लगानी कोषको महँगो ब्याजको पैसा फिर्ता गरिने बताएका छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै अध्यक्ष अधिकारीले यस्तो बताएका हुन् । उनले निगमले २०७५ असार १४ गते र २०७५ साउन ११ गते गरी दुईवटा वाइडबडी र न्यारोबडी जहाज नेपाल ल्याउनको लागि सरकारको जमानीमा कर्मचारी सञ्चय कोषबाट १२ अर्ब र नागरिक लगानी कोषबाट पनि १२ अर्ब रुपैयाँ महँगो ब्याजमा ऋण लिएर जहाज खरिद गरेको जानकारी दिए । उनले आफू नेतृत्वमा आएपछि जहाजहरुको सदुपयोग गर्नुको विकल्प भएको बताए । निमगले महँगो ब्याजदर घटाउनको लागि अन्तर्राष्ट्रिय निकायहरुसँग १ खर्ब ३५ अर्बको ऋण सहयोग माग गरेको बताए । उक्त लोन २ वा ४ प्रतिशतमा पाइयो भने मँहगो ब्याजदरको पैसा र्फिता गर्ने बताए । अध्यक्ष अधिकारीले नेपाल वायुसेवा निगमको काठमाडौंको न्युरोडमा १४ रोपना ७ आना,सिनामंगलमा ३४ रोपना १३ आना जग्गा तथा अन्य १३ जिल्लामा पनि जग्गा रहेको जानकारी दिए । उनले न्युरोड र सिनामंगलका जग्गाहरुमा निगमको आधुनिक भवनहरु बनाउने योजना रहेको बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५० वर्ष पुरानो घामपानी छेक्ने मात्रै ह्याङ्गर भएकाले आइका र आइकाओको मापदण्डअनुसार निगमल अत्याधुनिक प्रविधिको आफ्नै ह्याङ्गर बनाउनुपर्ने आवश्यकता रहेको बताए । त्यसको लागि निगमले डिपीआर गरेर सरकारलाई पेश गरेर आर्थिक सहयोग जुटाईदिन माग समेत गरेको जानकारी दिए । उनले यो विषयमा लगानीबोर्ड पनि चासो राखेको पनि बताए । दुवैतिरको भवन बनाउँदा करिव १० अर्ब भन्दा बढी रकम लाग्ने अनुमान रहेको बताए । निमगको ह्याङ्गर बनाउनको लागि मात्र ५ अर्ब बढी रकम लाग्ने अनुमान रहेको जानकारी दिए । ‘नेपाल वायुसेवा निगमको १३ जिल्लाका २३ ठाउँमा जग्गा रहेको छ । जसमा काठमाडौंको न्युरोडमा १४ रोपना ७ आना,सिनामंगलमा ३४ रोपना १३ आना जग्गा छ । दुवैतिरको भवन बनाउँदा करिव १० अर्ब भन्दा बढी रकम लाग्छ । जसमा ह्याङ्गरको लागि ५ अर्ब बढी लाग्छ । विमानस्थलको उत्तरपश्चिम साइडमा नागरिक उड्डयन प्राधिकरणले दिएको जग्गामा ह्याङ्गर बनाउने भनेर डिपीआर बनाएका छौं । पछि यात्रु वृद्धि हुन थाल्ने र जहाज लिजमा आएपछि भैरहवा कोल्बोको लागि योजना बनाएका छौं । यसले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा पनि टेवा पुग्छ । गौतम बुद्धको प्रचारप्रसारमा पनि टेवा पुग्छ’, उनले भने । उनले निगम सुधारको लागि निगम व्यवस्थापनले सरकारलाई रसरकारले निगमलाई आरोप प्रत्यारोप गरेर जिम्मेवारीबाट पन्छिने प्रवृत्ति देखापरेको बताए । निगम सुधारको लागि व्यवसायिक योजनाहरु बनाउने चरण रहेको भन्दै बुद्धिष्ट सर्किटको लागि जहाजहरु लिजमा लिएर भए पनि काठमाडौं–ब्याङ्गलोर,कोल्बो–काठमाडौं उडान गर्ने योजना रहेको बताए । जहाज लिजमा आएपछि भैरहवा—कोलम्बो उडानको लागि पनि योजना बनाएको दाबी गरे ।
हिउँ रहे पो हिमालचुली !
गण्डकी । ‘जाडोको खासै महसुस गर्न नपाई हिउँद बित्यो’, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीका डमबहादुर पुनले भने, ‘पोहोर र अहिले घोरेपानी–पुनहिलमा हिउँ नै परेन ।’ ३२ सय १० मिटर उचाइको पुनहिल केही वर्षअघिसम्म हिउँले छपक्कै ढाकिने गरेको उनले सुनाए । पुनहिलबाट आँखैअघि देखिने हिउँचुचुरा पनि पहिले झैँ सेताम्मे देखिन छाडेको पुनको भनाइ छ । ‘हिउँदमा हल्काफुल्का हिउँले ढाकेपनि वर्षात्मा त हिमाल पनि फुस्रा र काला देखिन्छन्’, ७० वर्षीय उनले भने, ‘हामीले हेर्दाहेर्दै हिमालबाट हिउँ घटिरहेको छ, यसरी हिउँ निथ्रिदै गए हिमाल कसरी जोगिएलान् र ? हिउँबिनाको हिमाल के हिमाल !’ पुनले भने झैँ हिउँ छ र पो हिमालहरु छन् । हिउँबिना त ति केबल नाङ्गा र उजाड कालापत्थर न हुन् । पर्यटन व्यवसायी जुली पुनका भनाइमा हावापानीमा आएको फेरबदलले घोरेपानी–पुनहिलको पर्यटन क्षेत्रलाई पनि असर पुर्याइरहेको छ । ‘केही दिनयता तुँवालो मडारिएर हिमाल खुलेको छैन, दोस्रो मुख्य पर्यटकीय याम भएर पनि पर्यटकीय चहलपहल कम छ’, उनले भनिन्, ‘पहिलेपहिले हिउँ खेल्न पर्यटक आउँथे, पछिल्लो समय हिउँ पनि पर्न छोड्यो, फासफुस परिहाल्यो भने पनि उतिखेरै बिलाउँछ ।’ स्वच्छ र शान्त वातावरणमा हिमाल नियाल्न पर्यटक पुनहिल आउने गरेको जुलीले बताइन् । ‘विश्वका दस अग्ला हिमालमध्येमा पर्ने अन्नपूर्ण, धवलागिरि, मनाश्लुलगायत एकैसाथ दर्जनौँ हिमाल यहाँबाट देख्न सकिन्छ, घारेपानी–पुनहिलको पर्यटन नै प्रकृति र हिमालका कारण टिकेको छ’, उनले भने, ‘हिमालको सौन्दर्य र शोभा हराउँदै गए त्यसको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा पनि पर्छ।’ जलवायु विज्ञ डा बिमल रेग्मीले विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमालय क्षेत्रमा सङ्कट गहिरिँदै गएको बताए । अहिलेकै गतिमा हिउँ पग्लिँदै गएमा आउँदा केही दशकमा नेपालका हिमालहरु कालापत्थरमा परिणत हुने उनको भनाइ छ । विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित पार्दा पनि यही शताब्दीको अन्त्यसम्ममा हिन्दुकुश–हिमालय क्षेत्रको ३६ प्रतिशत हिउँ भण्डार रित्तिने अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द (इसिमोड)को अध्ययनले देखाएको डा रेग्मीले बताए। ‘अहिले नै विश्वव्यापी तापक्रम १.१ डिग्री सेल्सियसले वृद्धि भएकामा पृथ्वीको तापमान दुई डिग्रीले बढ्ने हो भने हिमालय क्षेत्रको आधा हिउँ सकिने उक्त अध्ययनको निचोड छ’, डा रेग्मीले भने, ‘हरित ग्यास उत्सर्जनलाई नियन्त्रण गर्न विश्वले कदम उपयुक्त नचाल्ने हो भने हिमालय क्षेत्रमा गम्भीर सङ्कट निम्तने खतरा छ, कुनै दिन हिमालको अस्तित्व नै नासिन सक्छ ।’ उनका अनुसार सन् २०१५ मा भएको पेरिस सम्झौतामा संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धीका पक्ष राष्ट्रहरुले विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित पार्ने र २ डिग्री सेल्सियसभन्दा बढ्न नदिने सहमति गरेका थिए । पृथ्वीको तापमान बढ्नुको मुख्य कारण हरित ग्याँसको उत्सर्जन रहेको डा रेग्मीको भनाइ छ । ‘कार्बनडाइअक्साइड, मिथेन जस्ता मानवउत्सर्जित हरितगृह ग्यासले सूर्यको तापक्रम सोसेर राख्ने हुँदा पृथ्वीको तापक्रम बढ्छ’, उनले भने, ‘विश्वव्यापी तापमान वृद्धिका कारण निम्तिएको जलवायु सङ्कटको ठूलो मार हिमालय क्षेत्रमा परिरहेको छ ।’ हिमालय क्षेत्रको तापक्रम अन्य क्षेत्रको भन्दा पाँच गुणा बढी अर्थात् बर्सेनि ०.००६ प्रतिशतले बढिरहेको डा रेग्मीले बताए । ‘जलवायुजन्य प्रकोपका घटना हिमालय क्षेत्रमा बढी भइरहेका छन्, हिउँ पुग्लेर हिमताल बन्ने क्रम बढ्दो छ, हिमनदी सुक्दै गएका छन्, हिमालको पारिस्थितिकीय प्रणालीमा उथलपुथल भइरहेको छ’, उनले भने, ‘जलवायु परिवर्तनका कारण पानीको चक्र फेरिएको छ, मनसुन ढिलो हुने, हिउँ नपर्ने, कुनैबेला हाँडीघोप्टे वर्षा हुने जस्ता समस्या देखिइरहेका छन् ।’ डा रेग्मीले हिमालबाट हिउँ हराउँदै गएमा पानीमा आधारित कृषि र जनजीवनमा ठूलो असर पर्ने बताए । हिमालय क्षेत्र दक्षिण एसियाका झण्डै दुई अर्ब मानिसको पानीको स्रोत रहेको उनको भनाइ छ । ‘हिमालमा हिउँ नरहे, नदीका स्रोत सुक्छन्, त्यसले तल्लो तटीय क्षेत्रका बासिन्दाको जीविकोपार्जनदेखि खानेपानी, सिँचाइ, कृषि आदिमा भयानक सङ्कट निम्तिन्छ’, डा रेग्मीले भने । जलवायुजन्य घटना र हानीनोक्सानीका कारण नेपालको कुल ग्राहस्थ उत्पादनमा वार्षिक दुई दसमलव पाँच प्रतिशतले ह्रास आइरहेको डा रेग्मीले बताए । ‘यो शताब्दीको अन्त्यसम्ममा १० देखि १२ प्रतिशतसम्म ह्रास हुने वन तथा वातावरण मन्त्रालयको अध्ययनले देखाएको छ’, उनले भने । डा रेग्मीले प्राकृतिक स्रोतमाथिको मानवीय अतिक्रमणका कारण विश्वले जलवायु सङ्कटको सामना गरिरहेको बताए । ‘हाम्रो पूर्वाधार विकास जलवायु र वातावरणमैत्री छैन, विकासको लगानी सुरक्षित छैन, विनाशकारी विकासले पु¥याएको असर भयाभह छ’, उनले भने, ‘जलवायु सङ्कटसँग जुध्न सरकारले छुट्टै संस्थागत संरचना खडा गर्नुपर्छ, नीति र कानुनको प्रभावकारी कार्यान्वयनको खाँचो छ ।’ जलवायु न्यायको विषय रहेको भन्दै उहाँले पर्यावरण संरक्षणमा अन्तर्राष्ट्रिय स्रोत जुटाउन सरकारले पहल लिनुपर्ने बताए । ‘अन्तर्राष्ट्रियस्तरका जलवायु तथा वातावरण कोषमा नेपालले पहुँच पु¥याउनु आवश्यक छ, जलवायुको विषयलाई सरकारले आफ्नो नीति तथा कार्यक्रममा मूल प्रवाहीकरण गर्नुपर्छ’, उनले भने । विकसित देशका कारण नेपालले जलवायु सङ्कटको सामान गरिरहनुपरेको डा रेग्मीको भनाइ छ । संरक्षणविद् डा घनश्याम गुरुङले पृथ्वीको तापक्रम वृद्धि र धुवाँधूलोका कारण हिमाल पग्लिरहेको बताउनुभयो । ‘हिमालहरु यसरी नै पग्लँदै गए माउण्टेन क्लाइम्बिङ कुनै दिन रक क्लाइम्बिङमा फेरिन सक्छ’, उनले भने, ‘जलवायु परिवर्तनको असर न्यूनीकरणका उपाय अपनाउनु र यससँग अनुकूलन हुनुको विकल्प हामीसँग छैन ।’ पृथ्वीको बढ्दो तापमानलाई रोक्न स्वच्छ उर्जाको प्रयोग बढाउनुपर्ने उनको भनाइ छ । डा गुरुङले कार्बन उत्सर्जनमा नेपालको योगदान नभए पनि जलवायु परिवर्तनको विश्वव्यापी असरबाट बच्न स्थानीय तवरबाटै योजना बनाउनुपर्ने धारणा राखे । ‘जलवायु परिर्तनमा विकसित देशको मात्र दोष छ, नेपालको केही भूमिका छैन भनेर हामी चुप लागेर बस्नुहुँदैन’, उनले भने, ‘अन्तर्राष्ट्रिय समुदायमा आवाज उठाउन पनि हामीसँग नैतिक धरातल चाहिन्छ ।’ नेपालले खनिज तेलको खपत घटाएर स्वच्छ उर्जाको प्रयोगलाई बढाउनुपर्ने उनको भनाइ छ । जीविकोपार्जन तथा बसाइसराइँविद् डा अमिना महर्जनले जलवायु परिवर्तनले नेपालमा मात्र नभएर सिङ्गो हिन्दुकुश क्षेत्रकै हिमालहरु सुख्खा बन्दै गएको बताइन् । ‘जलवायु परिवर्तनले पर्यावरण, कृषि, पर्यटन, स्वास्थ्यलगायत यावत क्षेत्रमा प्रत्यक्ष/अप्रत्यक्ष असर पुर्याइरहेको छ’, उनले भनिन्, ‘जलवायु परिवर्तनको प्रभाव अझ बढ्दै जान्छ, घट्दैन तसर्थ यससँग अनुकूलन हुनुबाहेक अर्को विकल्प छैन।’ पृथ्वीको तापमान वृद्धि हुँदै जानुमा नेपालको कुनै भूमिका नभए पनि यसको परिणाम भने भोग्नुपरिरहेको डा महर्जनले बताए । केही महिनाअघि मुस्ताङको कागबेनीमा आएको बाढी, सन् २०१२ मा हिमपहिरोका कारण सेती नदीमा आएको बाढी त्यसकै उदाहरण भएको उनले बताए । ‘जलवायु परिवर्तनका कारण स्वास्थ्य क्षेत्रमा परेको प्रभावबारे कम बहस हुने गरेको छ, खासै अनुसन्धान पनि भएको छैन’, डा महर्जनले भने, ‘नयाँनयाँ जनस्वास्थ्यका समस्या निम्तिरहेका छन्, रोग विस्तार भएका छन् ।’ उनले जलवायु अनुकूलन योजनाका लागि सरकार र अन्तर्राष्ट्रिय क्षेत्रबाट न्यून मात्र मद्दत आउने गरेको उल्लेख गरे । ‘जति प्रयास स्थानीय समुदायबाट भएको छ, सरकारबाट त्यति हुन सकेको छैन, ‘लस एण्ड ड्यामेज फण्ड’का लागि पनि नेपाल सरकारले अन्तर्राष्ट्रियस्तरमा आवाज उठाउनुपर्छ’, डा महर्जनले भने । जलवायु परिवर्तन र खाद्य सुरक्षामा अनुसन्धानरत डा जगन्नाथ अधिकारीले हिमालको सम्बन्ध नेपाली संस्कृतिसँग पनि जोडिएको बताए । ‘बिहानै हिमाल हेर्यो भने दिन पवित्र हुन्छ भन्ने मान्यता छ, विभिन्न देवीदेउताका नामबाट पनि हिमाललाई पुकारिन्छ’, उनले भने, ‘हिमालय क्षेत्र मानिसको जनजीवन र संस्कृतिसँग प्रत्यक्ष जोडिएको छ, हिउँ नरहे हाम्रा सांस्कृतिक परम्परा पनि हराउन सक्छन् ।’ हिउँ पग्लँदै गएपछि पोखराबाट देखिने हिमालको सुन्दरता पनि विस्तारै खस्कँदै गएको डा अधिकारीले बताए । हावापानीमा आएको परिवर्तनका कारण कृषि उत्पादन कम हुने, बालीनालीमा रोगकिराले सताउने जस्ता समस्या बढीरहेको उनले बताए । ‘कृषि उत्पादन घट्दा खाद्य सुरक्षामा पनि असर पुग्छ, मुस्ताङ, मनाङ जस्ता हिमाली जिल्लामा त हिउँ नपरेसम्म खेती बाली नै हुँदैन’, डा अधिकारीले भने, ‘प्राकृतिक विपद्को पनि उस्तै जोखिम छ, जलवायु परिर्वतनका बहुअसर छन् ।’ उहाँले जलवायु परिवर्तनसँग जुध्न नेपालले अन्तर्राष्ट्रिय सहयोग जुटाउनुपर्ने धारणा राखे । ‘कालीगण्डकी बचाऔँ अभियान’का संयोजक आरके अदीप्त गिरीले हिन्दुकुश–हिमालय क्षेत्र विश्वमै पानीको तेस्रो ठूलो स्रोत रहेको बताए । ‘पृथ्वीको बढ्दो तापक्रमलाई नियन्त्रण गर्न नसकिए हिमनदी नै हराउने चेतावनी वैज्ञानिक र भूगर्भविद्हरुले दिएका छन्’, उनले भने, ‘हाम्रा हिमालहरुले झेलिरहेको सङ्कट डरलाग्दो छ, हिमपहिरो, बाढीजस्ता अतिशय घटना भइरहेका छन् ।’ संयोजक गिरीले हरितगृह ग्यासको उत्सर्जनले पर्यावरण चक्रमा गम्भीर असर पुर्याएको बताए । हिउँ पग्लेर बनेका हिमताल फुटेमा तल्लोतटीय क्षेत्रका बासिन्दाले अकल्कपीय क्षति र सङ्कट व्यहोर्नुपर्ने उनको भनाइ छ । ‘जलवायु सङ्कटलाई सामान्य आँकेर बस्नुहुँदैन’, संयोजक गिरीले भने, ‘नेपाल पर्वतीय संवेदनशीलता बोकेको भूगोलमा अवस्थित रहेकाले प्राकृतिक स्रोतको उचित सदुपयोग र व्यवस्थापन हुन नसके अकल्पनीय प्राकृतिक विपत्ति निम्तन सक्छ ।’ वन विज्ञान अध्ययन संस्थान पोखराका उप–प्राध्यापक एवं जलाधार विज्ञ राजन सुवेदीले नेपालको प्राचिन सभ्यता हिमाल र खोलानालासँग जोडिएको बताए । ‘पानीको स्रोत नरहे पृथ्वी र प्राणीको अस्तित्व नै सकिन्छ, पृथ्वीलाई सन्तुलित गरेर राख्ने भूमिका पानीले खेलेको हुन्छ’, सुवेदीले भने, ‘पानीका स्रोत जोगाऔँ, नदीनाला सफा र स्वच्छ राखौँ ।’ रासस
फेरि राजनीतिमा फर्किन लागेका गोविन्दाको सम्पत्ति कति छ ?
काठमाडौं । बलिउडका ‘हिरो नम्बर–१’ अर्थात अभिनेता गोविन्दा एकपटक फेरि राजनीतिक चहलपहलमा देखिन थालेका छन् । सन् २००४ मा कांग्रेसबाट चुनाव लडेर सांसद बनेर संसदमा पुगेका थिए गोविन्दा । अब दुई दशकपछि उनी पुनः राजनीतिक संसारमा प्रवेश गर्न लागेका छन् । र, रिपोर्टहरूको विश्वास गर्ने हो भने उनी यस पटक शिवसेनाको टिकटमा लोकसभा चुनाव २०२४ लड्न सक्छन् । गएको बिहीबार गोविन्दाको महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देसँगको भेटपछि उनी फेरि राजनीतिमा प्रवेश गर्न सक्ने चर्चा चुलिएको हो । गोविन्दाले फिल्मदेखि ब्रान्ड एन्डोर्समेन्टका माधयमाबाट करोडौं कमाउँछन् । कति छ उनको सम्पत्ति ? बलिउड अभिनेता गोविन्दा वर्षौंपछि राजनीतिमा फर्किने चर्चाले तीव्रता पाएको छ । उनले शिवसेनाको टिकटमा २०२४ को लोकसभा चुनाव लड्न लागेको खबर छ । लामो समय राजनीति र चलचित्रबाट टाढा रहेका अभिनेता गोविन्दाको सम्पत्ति करोडौं छ । माइनेता डट इन्फोमा मा साल २००४ का लागि निर्वाचन आयोगमा दायर गरिएको शपथपत्र अनुसार गोविन्दाले आफ्नो कुल सम्पत्ति १४ करोड भारु घोषणा गरेका थिए । रिपोर्टका अनुसार अब २० वर्षपछि उनको सम्पत्ति करिब १८ मिलियन डलर वा करिब १५० करोड रुपैयाँ पुगेको छ । सन् २००४ मा गोविन्दा कांग्रेसको टिकटमा चुनाव जितेर संसदमा पुगेका थिए । वार्षिक १२ करोड आम्दानी गोविन्दालाई बलिउडको ‘हिरो नम्बर १’ पनि भनिन्छ । आफ्नो अभिनयको बलमा दर्शकलाई फ्यान बनाएका गोविन्दाले फिल्मबाट हुने आम्दानीमा ठूलो हिस्सा राख्छन् भने ब्राण्ड एन्डोर्समेन्टबाट पनि मनग्य आम्दानी गर्छन् । यी सबैबाट गोविन्दाले वार्षिक करिब १२ करोड रुपैयाँ कमाउँछन् भने उनको मासिक आम्दानी करिब १ करोड रुपैयाँ छ । मुम्बईमा करोडौंको सम्पत्ति गोविन्दा लक्जरी जीवन बिताउँछन् भन्ने अनुमान उनको मुम्बईमा रहेको विलासी घर हेरेर लगाउन सकिन्छ। यदि रिपोर्टहरूको विश्वास गर्ने हो भने अभिनेताका मुम्बईमा दुई विलासी र महँगा सम्पत्तिहरू छन् । यीमध्ये एउटा जुहूको रुइया पार्कमा छ भने अर्को मड आइल्याण्डमा छ । उनको घरको अनुमानित मूल्य करिब १६ करोड रुपैयाँ अनुमान गरिएको छ । यसबाहेक उनले धेरै घरजग्गा सम्पत्तिमा ठूलो लगानी गरेका छन् । एक फिल्मका लागि कति लिन्छन् पारिश्रमिक ? गोविन्दाले एउटा फिल्मका लागि करिब ५ देखि ६ करोड रुपैयाँ पारिश्रमिक लिन्छ भने ब्रान्डको एन्डर्सिङका लागि उनले करिब २ करोड रुपैयाँ लिन्छन् । उनको लक्जरी लाइफस्टाइल (गोविन्द लाइफस्टाइल) को झलक उनको कार कलेक्शन हेर्दा पनि देख्न सकिन्छ । रिपोर्टका अनुसार उनीसँग धेरै लक्जरी र महँगो कारहरू छन्, जसमा मित्सुबिशी ल्यान्सर, फोर्ड एन्डेभर जस्ता कार समावेश छन् । एजेन्सी
पेट्रोलियम पदार्थ उत्खनन गर्ने उपकरणसहितका सामान दैलेख पुर्याइयो
दैलेख । दैलेखको पेट्रोलियम पदार्थ उत्खननको अन्तिम अन्वेषणको कार्यका लागि पहिलो चरणमा उत्खननमा प्रयोग हुने उपकरणसहितका सामान यहाँ पुर्याइएको छ । चीनदेखि कोलकत्ता हुँदै रुपैडिया नाकाबाट सामानसहितका पाँच वटा साना ट्रक पहिलो चरणमा दैलेख पुगेका छन् । पेट्रोलियम पदार्थ उत्खननका लागि चीनबाट कोलकत्ता हुँदै ल्याइएका उपकरण दैलेख पुग्नासाथ चौबिसै घण्टा काम अगाडि बढाइने बताइएको छ । ठूला ट्रकहरुका लागि भने कर्णाली राजमार्गको केही खण्ड र मध्यपहाडी सडकसम्म जोड्ने खण्डमा मोड नपुगेका कारण कर्णाली राजमार्गमै रोकिएका छन् । रोकिएका ट्रक पास गर्न सडकको मोड व्यवस्थापन गर्ने कार्य तीव्र पारिएको छ । भारतको रुपैडिया नाकाबाट करिब एक सय ५० बढी ट्रक दैलेखका लागि हिँडिसकेको जनाइएको छ । अगाडि आएका सामान अनलोड गर्दै धमाधम जडानको काम सुरु गरिएको छ । सुरक्षा व्यवस्थालगायतका अन्य कामका बारेमा दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले आयोजनास्थलको अनुगमन गरेका छन् । कामले तीव्रता लिएको र तोकिएकै समयमा कामसक्नेगरी सबै सुरक्षा व्यवस्थाका काम सुरु गरिसकेको प्रमुख जिल्ला अधिकारी भुसालले बताए । स्थानीयले जग्गा प्रदान गर्ने बेलादेखि नै रोजगारी दिनुपर्ने, समस्या परेका घरहरुलाई थप सहयोग गर्नुपर्नेलगायतका माग सम्बोधनको चरणमा रहेको र पेट्रोलियम पदार्थको प्रशोधन दैलेखमै हुनुपर्ने दैलेखका बासिन्दाको माग रहेको भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र थापाले जानकारी दिए । आइतबारदेखि नै स्थानीय ११ युवा रोजगारी पाएसँगै काममा लागेका छन् । भैरवी–१ जलजलेका स्थानीय जनक थापासहित ११ जना काममा लागेका छन् । आफूहरुले स्थानीयस्तरमै रोजगारी पाए भारत नजाने थापाले बताए । नेपाल सरकार र चीन सरकारसँग भएको ‘जिटुजी’ सम्झौताअनुसार सुरु गरिएको पेट्रोलियम अन्वेषणको नतिजा सकारात्मक आए नेपालमा समृद्धिको नयाँ ढोका खुल्ने दैलेख उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलबहादुर विकले बताए । अन्तिम अन्वेषणका लागि करिब चार किलोमिटर जमिन मुनिसम्म ‘ड्रिलिङ’ गरिनेछ । ड्रिलिङपश्चात् पेट्रोलियम पदार्थ र ग्यास भण्डारण कति छ भन्ने पत्ता लाग्नेबित्तिकै अर्को प्रक्रियामा जाने तयारी हुने खानी तथा भूगर्भ विभागका अन्वेषण परियोजना प्रमुख दिनेशकुमार नापितले जानकारी दिए । रासस
सामाजिक सञ्जाल लिंक्डइनले आफ्नो सेवामा गेमिङ थप्ने
नयाँ दिल्ली । लाखौं व्यक्तिले पछिल्लो समय रोजगारीका अवसरहरु खोज्नका लागि सामाजिक सञ्जाल लिंक्डइनको प्रयोग गर्न थालेका छन् । माइक्रोसफ्टको स्वामित्वमा रहेको उक्त सामाजिक सञ्जालमा केही रमाइला सुविधा (फिचर)हरु थप्न तयारी भइरहेको उक्त समूहले जनाएको छ । जागिर खोजीमा रहेका व्यक्तिलाई अब गेमिङको सुविधा पनि थप्न लागिएको टेकक्रन्चले कम्पनीको स्रोतलाई उद्धृत गर्दै समाचार छापेको छ । वर्डल नामको गेमले पनि लाखौं व्यक्तिलाई जोड्नेजस्तो पजल–म्यानिया ( मस्तिष्कलाई चुनौती दिने क्लासिक पजलहरूको सङ्ग्रहको एक किसिमको खेल ) ले लोकप्रियता हासिल गर्न थालेको छ । माइक्रोसफ्टले अगाडि सारेका तीन वटा खेल ‘क्वीन्स’, ‘इन्फरेन्सन’ र ‘क्रसक्लिम्ब’ हुन् । लिंक्डइनका एक जना प्रवक्ताले ‘हामीले गेमिङमा काम गरिरहेको छौं तर अझैसम्म कुन मितिमा प्रारम्भ गर्ने भनेर तयारी भई सकेको छैन’, भने । उनले लिंक्डइनमा ‘पजल–आधारित’ खेलहरु रमाइलो गर्न र सम्बन्धलाई गहिरो बनाउनका लागि प्रयोगमा ल्याउन थालेका बताए । धेरै अन्य सामाजिक सञ्जालमा पहिले नै आफ्ना प्रयोगकर्ताहरूलाई मनोरञ्जनका लागि गेमहरू समावेश गरिसकेका छन् । लिंक्डइनमा अब यो गेमिङ फिचर कहिले थपिने हो हेर्न बाँकी छ । रासस
वैदेशिक रोजगारीमा जानेहरुको पारिश्रमिक एक लाख रुपैयाँ तोक्न माग
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद रामकुमार राईले वैदेशिक रोजगारीमा जानेहरुको मासिक पारिश्रमिक एक लाख रुपैयाँ तोक्नुपर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद राईले नेपालबाट वैदेशिक रोजगारीमा जानेहरुको मासिक पारिश्रमिक एक लाख रुपैयाँ तोकिनुपर्ने बताएका हुन् । उनले फ्रि भिसा फ्रि टिकट भनिएपनि दुई लाख रुपैयाँसम्म लिएर विदेश पठाउने गरिएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले देशभरका पालिकाबाट सदरमुकाम जोड्ने सडक कालोपत्रे गर्न माग पनि गरे । उनले भने- ‘पालिकाबाट सदरमुकाम जोड्ने सडक कालोपत्रे गर्न माग गर्दछु । वैदेशिक रोजगारीमा फ्रि भिसामा जानेलाई डेढ लाख देखि दुई लाख लिएर पठाइरहेको छ । कतिले काम पाइरहेको छैन । भनेको कम्पनी पाइरहेको छैन । बेरोजगार भएर जेलमा बस्नुपरेको छ । सरकारले यसमा पहलकदमी लिओस् । विदेश पठाउँदा नेपाली दाजुभाईलाई महिनाको एक लाख तलव तोकियोस् ।’ सांसद राईले २०७२ सालको भूकम्पपछि राहतस्वरुप घर पुनःनिर्माणको लागि रकम दिने भनेपनि पहिलो किस्ता पछिका किस्ता नदिइएको भन्दै तुरुन्तै पीडितहरुलाई भुक्तानी दिन माग गरे ।
बीवाईडी एसिया प्यासिफिक २०२४ डिलर कन्फ्रेन्समा साइमेक्स इंक सम्मानित
काठमाडौं । नेपालमा बीवाईडी अटो इन्डस्ट्री कम्पनीको आधिकारिक वितरक साइमेक्स इंक सम्मानित भएको छ । चीनको सियानमा आयोजित बीवाईडी एसिया प्यासिफिक २०२४ डिलर कन्फ्रेन्समा सम्मानित भएको हो । साइमेक्सले एसिया प्यासिफिक मेजर कन्ट्रीब्युसन डिष्ट्रिब्युटर अवार्ड र सेल्स कन्ट्रीब्युसन अवार्ड गरी दुई पुरस्कार पाएको हो । उल्लेखनीय बिक्री कार्यमा अगाडि बढ्दै साइमेक्स इंक एसिया प्यासिफिक क्षेत्रकै प्रमुख वितरक बनेको हो । अन्तर्राष्ट्रिय मञ्चहरूमा प्राप्त उल्लेखनीय उपलब्धिसँगै साइमेक्स इंकले चीनको सियानमा नेपाल एनुअल डिलर्स मिट २०२४ समेत आयोजना गरेको छ । नेपालमा बीवाईडी डिलरहरुको बीचमा आपसी सहयोग बढाउन, ज्ञान आदानप्रदान गर्न र सहकार्यलाई बलियो बनाउनका लागि सो इभेन्टले सहयोग गर्ने बताइएको छ । साइमेक्सले सन् २०२४ को योजनामार्फत यसको नेटवर्क विस्तारलाई प्रस्तुत गरिएको छ । हाल विभिन्न १५ स्थानमा बीवाईडी शोरुम स्थापना गरिएका छन् । भने, थप ३ शोरुम स्थापित हुने क्रममा रहेका छन् । साइमेक्स इंकले हाल विभिन्न स्थानमा २३ डीसी फास्ट चार्जर स्थापना गरेको छ । ‘हामी बीवाईडीबाट सम्मानित भएका छौं । यी प्रतिष्ठित पुरस्कार ग्रहण गरेका छौ ।’, साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले भने, ‘यो पहिचान हाम्रो टिमको कडा परिश्रम र समर्पणका साथै मूल्यवान ग्राहक र साझेदारहरूको अटुट समर्थनको प्रमाण हो । हामी नवप्रवर्तनतिर अगाडि बढ्ने, दिगोपन प्रवर्द्धन गर्ने र हाम्रा सबै सरोकारवालाहरूमा अनुपम मूल्य प्रदान गर्ने हाम्रो प्रतिबद्धतामा सदैव अडिग छौं ।’
कनिका छरेजस्तो गरी बजेट नछर्न मन्त्रीहरुलाई सांसद ढकालको आग्रह
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले आगामी आर्थिक वर्षको बजेट कनिका छरेजसरी नछर्न मन्त्रीहरुलाई आग्रह गरेका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद ढकालले आगामी आर्थिक वर्षको बजेट विगतको जस्तैगरी कनिका छरेजसरी नछर्न आग्रह गरेका हुन् । उनले पहुँचको आधारमा आफ्नो क्षेत्रमा बजेट लान दिनु नहुने पनि बताए । सांसदहरुको लेटरप्याडलाई चिर्कटोको संज्ञा दिँदै चिर्कटोमा लेखेर दिएको भरमा आयोजनामा बजेट दिनु नहुने बताए । बजेट विनियोजनमा विगतको निरन्तरता दोहोर्याउनु नहुने जानकारी दिए । ‘मन्त्रालयहरुमा बजेटको सिलिङहरु तय हुँदै गर्दा मन्त्रालयहरुमा हाट, बजार लागेको जस्तो भएको छ, योजना माग्न जानेहरुको । ति योजनाहरु कुनै प्रक्रिया पुगेर गएका छैनन् । योजना छनौटका सन्दर्भमा पहुँचका आधारमा लैजाने हुन आगामी आर्थिक वर्षमा हुन नदिऔँ । हाम्रो पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीज्यु यही गरिमामय सदनमा हुनुहुन्छ, म आग्रह गर्दछु, कनिका छरेको जस्तो बजेट यसपटक कृपया नछरिदिनु होला’, उनले भने । उनले पूर्वी चितवनमा आगामी आर्थिक वर्षसम्म इलाका प्रशासन कार्यालय लानका लागि माग गरे ।