नयाँ वर्षको अवसरमा जिडब्लुएमका गाडीमा आकर्षक अफर, १० लाखसम्म फाइदा
काठमाडौं । विश्वव्यापी रुपमा प्रसिद्ध ब्रान्ड जिडब्लुएमको नेपालका लागि आधिकारिक वितरक भि.जि.इम्पेक्स प्रा.लिले ‘शानदार नववर्ष २०८१’ योजना ल्याएको छ । योजना अन्तर्गत जिडब्लुएमका लोकप्रिय मोडेलहरु हाभल–एच् सिक्स, जोलायन, इलेक्ट्रिक ओरा ०३ र पावर पिकअप गाडीहरुमा विशेष अनि आकर्षक अफरहरु प्रवर्द्धन गरिएको छ । जि.डब्लु.एमका मोडेलहरुमा ल्याइएका यी अफर मार्फत ग्राहकहरूले विभिन्न लाभहरू पाउन सक्नेछन् । ओरा ०३ ईभीमा भारि नगद छुट, फ्री एसेसरीज, एक वर्ष सम्मको व्यापक बीमा र फास्ट चार्जर सहित रु ५ लाखसम्मको फाइदा पाउन सकिने कम्पनीले जनाएको छ । हाभलका एच् सिक्स, र जोलायनमा ८.५ लाख सम्मको फाइदा सहित नगद छुट, एक वर्ष सम्मको व्यापक बीमा, एक्सचेन्ज बोनस र फ्री एसेसरीज साथै, पावरमा १० लाख सम्मको फाइदा सहित इलेक्ट्रिक सनरुफ, लेदर सिट्स, सिक्स एयरब्याग र रिभर्स पार्किङ क्यामेरा समावेश छन् । यी सुविधाहरू मार्फत अटोमोटिभ उत्साहीहरुले उत्कृष्ट ड्राइभिङ अनुभवका साथ नयाँ वर्ष अविष्मरणीय बनाउन सक्नेछन् । ओरा ०३ इभी : ५ लाखसम्मको फाइदा नयाँ वर्षमा ईलेक्ट्रिक गाडी उत्साहीहरुले जिडब्लुएमको प्रीमीयम ईभी ओरा ०३ मा ५ लाखसम्मको फाइदा पाउन सक्नेछन् । फ्री एसेसरीज, आकर्षक नगद छुट, १ वर्ष सम्मको व्यापक बीमा, एक्सचेन्ज बोनस को सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले यसको स्टाइल र लक्जरीको साथ, निशुल्क ७ किलोवाट फास्ट चार्जर र पावर ब्याट्री ड्राइभ मोटर र मोटर कन्ट्रोलरमा ८ वर्षसम्म १ लाख ५० हजार किमी वारेन्टी लगायतका सुविधा प्राप्त गर्न सक्नेछन् । हाभल एच सिक्स, र जोलायन ८.५ लाखसम्मको फाइदा हाभल– एच् सिक्स, र जोलायनमा ग्राकहरुले पावर र लक्जरीको उत्कृष्ट मिश्रणको अनुभव लिई ८.५ लाख सम्मका फाइदाहरू लिन सक्नेछन् । साथै आकर्षक नगद छुट, १ वर्ष सम्मको व्यापक बीमा, एक्सचेन्ज बोनस र फ्री एसेसरीज जस्ता प्रभावशाली सुविधाहरुको साथ यो प्रस्तावले नयाँ वर्षको एसयूभी यात्रालाई उत्कृष्ट बनाउनेछ । पावर : १० लाखसम्मको फाइदा जिडब्लुएमकोे पावर पिक–अपको साथ एन्डुरेन्स र क्यापाबिलिटीको अनुभव तथा १० लाख रुपैयाँ सम्मको फाइदाहरू लिन सकिनेछ । इलेक्ट्रिक सनरुफ, लेदर सिट, उत्कृष्ट सुरक्षा सुविधाहरू र रिभर्स पार्किङ क्यामेरा सुविधा रहेको पावर पिक–अपले हरेक यात्रामा आत्मविश्वास सुनिश्चित गर्दै, साहसिक कार्यलाई अविस्मरणीय बनाउनेछ ।
निम्छरो नियामक, ठग सञ्चालक
२०८० सालमा ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, अवैधरूपमा ६० किलोग्राम सुन आयात प्रकरण, बालयौन शोषण गरेको कसुरमा रामबहादुर बमजम पक्राउ प्रकरण जति चर्चित भए, त्यत्तिकै मात्रामा देउराली सहकारी, शिवशिखर सहकारी र सिभिल सहकारी ठगी प्रकरण पनि उत्तिकै चर्चित बने । अर्थात् देशका ठूल्ठूला अपराधको घट्नाकै तहमा सहकारी ठगी प्रकरणले तरङ्ग ल्यायो । आर्थिक संकट गहिरिँदै जाँदा, ऋण भुक्तानी गर्न नसकेर, व्यवसाय असफल भएको व्यवसायीहरूले आत्महत्या गर्ने क्रम पनि बढेको छ । मिटरब्याज पीडित, लघुवित्त पीडित, सहकारी पीडित, बैंक ऋण पीडितहरूको आन्दोलनले पनि धेरै ठूलो तरङ्ग पैदा गरेको छ । संङ्घीय सरकार मातहत दर्ता भएका २० वटा सहकारी संस्थाले मात्रै बचतकर्ताको १७ अर्ब १९ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको पाइएको छ । देशभरिका पाँच सयभन्दा बढी सहकारी सङ्कटग्रस्त स्थितिमा छन् । सात हजार ६३५ बचतकर्ताले सहकारीमा बचत गरेको रकम फिर्ता माग गर्दै सरकारी निकायहरूमा हारगुहार गरिरहेका छन् । सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहमा झण्डै ३१ हजार बढी सहकारी संस्था दर्ता भएका छन् । १४५ वटा सहकारी संस्था सङ्घमा दर्ता भएका छन् । तीमध्ये २० वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरी व्यवस्थापनका लागि सिफारिस गरिएको छ । स्ट्यान्डर्ड सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, प्यासिफिक सेभिङ एन्ड इन्भेस्टमेन्ट कोअपरेटिभ, सोसाइटल बचत तथा ऋण सहकारी संस्था, प्रभु बचत तथा ऋण सहकारी संस्था, चार्टर्ड सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था, ओरेन्टल कोअपरेटिभ, कन्जुमर बचत तथा ऋण सहकारी संस्था, कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, भेगास बचत तथा ऋण सहकारी संस्था, पशुपति सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, तुलसी बहुमुखी सहकारी संस्था र गौतम श्री सहकारी बहुउद्देश्यीय सहकारी संस्था समस्याग्रस्त घोषणा भएका छन् । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थामा मात्र ११ अर्ब रुपैयाँ अपचलन भएको छ । उक्त सहकारीमा तीन हजार दुई सय जना बचतकर्ताले ११ अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना भएको दाबी गरेका छन् । कमजोर नियमनको फाइदा उठाउँदै सहर केन्द्रीत केही सहकारीहरूले सदस्यको बचत दुरुपयोग गर्ने क्रम बढ्दै गएपछि सरकारले दोस्रो तहको नियामक गठन गर्ने प्रक्रिया अघि बढाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सैद्धान्तिक सहमतिका लागि अर्थ र कानून मन्त्रालयमा पठाएको छ । सहकारीहरूलाई नियमन गर्न शक्तिशाली नियामक गठनको माग हुँदै आएको छ । २०६० को दशकदेखि नै सहकारीहरू फैलँदै गएका थिए । २०७२ सालको संविधानले सरकार, निजी र सहकारी गरी तीन खम्बे अर्थनीति लियो । त्यसपछि सहकारीहरू झनै उत्साहित भए । सहकारीको उपस्थिति र कारोबार दुबै बढ्दै गयो । तर, सहकारीलाई नियमन गर्ने निकाय भएन । कमजोर नीति र नियामकीय अनुपस्थितिको फाइदा लिँदै व्यापारिक शैली अपनाएका सहकारीका सञ्चालकहरूले यस क्षेत्रलाई बदनाम गरेका छन् । राजनीतिक पहुँचमा रहेका ठूला सञ्चालकले सहकारीको नाममा संस्थागत ठगी धन्दा नै चलाएका रहेछन् । सहकारीको आवरणमा हुने ठगी र व्यापारलाई नियन्त्रण गर्न प्रभावकारी नीति र संयन्त्रको जरूरी रहेको विषय उठान भएको दुई दशक बितिसक्दा पनि कार्यान्वयन हुन सकेको छैन । जसरी स्वेच्छिक तथा खुला सदस्यता, सदस्यद्धारा प्रजातान्त्रिक नियन्त्रण, सदस्यको आर्थिक सहभागिता, स्वायत्तता र आत्मनिर्भरता, शिक्षा, तालिम र सूचना, सहकारी संस्थाहरुका बीच सहयोग र सहकारीप्रति चासोलाई सहकारीका सिद्धान्त भनेर अघि सारियो । यी सिद्धान्तहरूको कार्यान्वयन ठूला सहकारीहरूले गरेका छैनन् । सहकारीहरू ठग हुन् र क्षणिक समय र सीमित व्यक्तिले पैसा कमाएर भाग्ने संस्था हुन् भन्ने छाप आम जनमानसमा बसिसकेको छ । सहकारी सेवामूलक व्यवसाय हो, सहकारीका सबै सदस्य यसका सेयरधनी हुन् । सहकारीबाट आर्जित नाफालाई सदस्यहरूकै हितका लागि प्रयोग गर्नुपर्छ । तर, सहकारीका केही सञ्चालकहरू मिलेर सहरमा घरघडेरी खरिद गर्ने एउटा माध्यमका रूपमा सहकारी संस्थाहरू प्रयोग हुँदा आमजनमानस तथा सर्वसाधारणमा सहकारीप्रतिको विश्वास टुट्दै गएको छ । सहकारीको सिद्धान्तले सहकारी संस्थाहरूबीच आपसी सहयोग तथा समन्वयको अपरिहार्यता महसुस गरेको छ । सदस्यहरूको सीप विकास तथा क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रममार्फत् स्वस्थ प्रतिस्पर्धा गरेर सहकार्य गर्नु पर्ने अवस्थामा सहकारीका सञ्चालकहरू कसले बढी पैसा कमाउने, सहरमा कसले बढी घडेरी जोड्ने र कसले छोराछोरीलाई विदेश पठाउन सक्ने भन्ने प्रतिस्पर्धामा छन् । सदस्य र समुदायप्रति सहकारी जिम्मेवार, उत्तरदायी र बफादार हुनु पर्नेमा पछिल्लो समय सहकारीहरूमा सेवाकेन्द्र विस्तारको नाउँमा छरछिमेकका सर्वसाधारणबाट पैसा उठाएर भाग्ने भगुवाको रूपमा परिचित छन् । परिणामस्वरूप बचतकर्ताले बचत फिर्ताको माग गर्दा फरार हुनु पर्ने वातावरण उनीहरू आफैंले सिर्जना गरेका छन् । सहकारी क्षेत्रमा स्वनियमन र अनुशासन महत्वपूर्ण विषय हो । तथापि, सहकारी क्षेत्रको नियमन तथा सुपरीवेक्षणका लागि सहकारी विभागले काम गर्दै आएको छ । तर, विभागले जुन गतिमा आफूलाई स्तरोन्नति, विवेकशील र नियमन क्षमता बढाउनु पर्ने हो, त्यो अवस्था सहकारीका सदस्यले हालसम्म महसुस गर्न सकेका छैनन् । सहकारी विभागले जनशक्ति अभावको समस्या देखाउँदै प्रभावकारी नियमन हुन नसकेको वाहियात तर्क लामो समयदेखि दिँदै आएको छ । सहकारी अभियान तथा सहकारीका सञ्चालकसामू सहकारी विभाग लम्पसार छ । देशमा हालसम्म कति सहकारी सञ्चालन छन् भनेर यकिन तथ्यांक समेत राख्न नसकेको विभागले ती सहकारीको प्रभावकारी नियमन गर्छ भनेर सोच्नु बुझ्नु दिवास्वप्न हो । आफूले काम गर्न नसकेको स्वीकार्दै विभागले नियमनका लागि नेपाल राष्ट्र बैंकलाई गुहारिरहेको छ । राष्ट्र बैंकले सहकारीको नियमन तथा सुपरीवेक्षण गर्न नसक्ने भनेपछि अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय नियामक स्थापनाको प्रक्रियामा छ । तर, २० वर्षदेखि बन्न नसकेको सहकारीको नियामक अब चाँडै बन्छ भनेर आशा गर्नु पनि हतार हुनसक्छ । सहकारी विभागको सुस्तता र सहकारी अभियानको मनपरितन्त्रलाई नामेट पार्नका लागि सहकारी क्षेत्रमा प्रभावकारी र बलियो नियामक निकायको खाँचो छ । त्यो महसुस सरकारले पनि गरोस् । मंगलबार सरकारले ‘सहकारीमा सुशासन प्रविधि र एकीकरण’ भन्ने नाराका साथ ६७औं राष्ट्रिय सहकारी दिवस मनाउँदैछ । यो दिवसमा सरकार र अभियानको मुहारमा मात्रै खुसी होइन, वर्षौंदेखि बचत फिर्ता नपाएर संघर्ष गरिरहेका बचतकर्ताको मुहारमा पनि खुसी मिलोस् । सबैलाई सहकारी दिवसको शुभकामना ।
एनसेल बन्यो आरएनजीसी स्क्र्याम्बल गल्फ प्रतियोगितामा तेस्रो रनर अफ
काठमाडौं । एनसेलले शनिबार काठमाडौंको रोयल नेपाल गल्फ क्लबमा सम्पन्न आरएनजीसी स्क्र्याम्बल गल्फ प्रतियोगितामा तेस्रो रनर अपको उपाधि जितेको छ । प्रो सञ्जय लामाको नेतृत्वमा रहेको एनसेल ‘ए’ टोलीले–१२ अन्डर स्कोर गर्दै तेस्रो रनर अप अर्थात चौथो स्थान हासिल गरेको हो । यस एकदिवसीय प्रतियोगितामा कूल २९ कर्पोरेट हाउसहरुका सहभागीहरुले प्रतिस्पर्धा गरेका थिए । प्रत्येक टोलीमा एक व्यवसायिक गल्फर र तीन एमेच्योर गल्फरहरू रहेका थिए र प्रतियोगिता १८–होलमा खेलाइएको थियो । एनसेल ‘ए’ समुहमा व्यवसायिक गल्फर सञ्जय लामा र अन्यतीन एमेच्योर गल्फरहरु श्री जय आचार्य (एनसेल–सिङ्गल ह्याण्डीक्याप), इन्द्रधारा विष्ट (हाई ह्याण्डीक्याप) र सञ्जय पौड्याल (मिड ह्याण्डीक्याप) रहेका थिए । लामाले तेस्रो रनर अप बनेकोमा १०,००० रूपैयाँ नगद पुरस्कार जितेका थिए । व्यवसायिक गल्फर सन्तोष रोक्काको नेतृत्व रहेको कैलाश हेलिकप्टरको समुहले प्रतियोगिताको उपाधी जित्न सफल भएको थियो । कैलाश हेलिकप्टरले १४ अन्डर ५४ स्कोर हासिल गर्दै प्रतियोगिताको उपाधि जितेको हो । रोक्काले रु. ५०,००० नगद पुरस्कार पनिजितेका छन् । मातृका आई सेन्टर ‘ए’ १३ अन्डर ५५ स्कोरका साथ रनर अप अर्थात उपविजेता बनेको थियो । यसकालागि खड्काले ३०,००० रूपैयाँ नगद पुरस्कार पनि जितेका थिए । त्यसैगरी व्यवसायिक गल्फर भीमसेन चौलागाईको नेतृत्वमा रहेको सपोर्ट नेपाल फाउण्डेशनको टोलीले एनसेल ‘ए’ लाई काउन्ट ब्याकमा जित्दै १२ अन्डर ५६ स्कोरका साथ दोस्रो रनर अप बनेको थियो । चौलागाईले २०,००० नगद पुरस्कार जितेका थिए। सपोर्ट नेपालकामिथुन राईले स्ट्रेट ड्राइभ र रोड हाउस क्याफे प्रा.लिका स्वदेश गुरुङले क्लोजेस्ट टु द पिनको उपाधि जितेका थिए । उनीहरुलाई ट्रफी र गिफ्ट ह्याम्पर प्रदानगरिएको थियो । यो गल्फ प्रतियोगिता रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) ले आयोजना गरेको थियो । यस प्रतियोगिताको मुख्य उद्देश्य सबै कर्पोरेट हाउसहरूलाई एउटै छानामुनि जम्मा गरेर गल्फको प्रवर्द्धन गर्नु रहेकाे थियो । प्रतियोगितामा हिमालयन बैंक, साल्ट ट्रेडिङ, हाइडेलबर्ग, अर्शिया कउचर, क्रिएशन्स सफ्ट नेपाल, एईडीए, डाइनेस्टी एयर, सहारा बिल्डर्स, इन्टिग्रेटेड सोलुसन, अल्टिच्युड एयर, सान सोजु, भाटभटेनी इन्टरनेशनलप्रा.लि, लामा एक्सकर्सन प्रा.लि, जावलाखेल गु्रपअफ इन्डिष्ट्रीज् (जेजीआई), विजयमोटर्स, विजडम ल सोलुसन्स, ब्याड ब्वाइजगु्रप, लियोन मोटर्स, प्रिमियर अर्गानिक्स र सालिकोको सहभागिता रहेको थियो ।
ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी
काठमाडौं । ग्लोबल आइएमई बैंकले ग्रिन फाइनान्सिङ प्रवर्द्धनन गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । यस समझदारीपछि ग्लोबल आइएमई बैंकले अलोइको कर्जा अनुगमन प्रणालीलाई प्रयोग गरी विभिन्न क्षेत्रका कर्जासँग सम्बन्धित सेवाहरूको प्रभावकारीरूपमा कार्यान्वयन गर्न सक्नेछ । यस समझदारीले वातावरण मैत्री क्षेत्रमा कर्जा प्रवाह र प्रवद्र्धन गर्न थप मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन् । ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
इजिप्टले कुखुरा र अण्डाको मूल्य १५ प्रतिशतसम्म घटाउने
काठमाडौं । इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले सोमबार कुखुरा र अण्डाको मूल्य १० प्रतिशतदेखि १५ प्रतिशतसम्म घटाउने पहल शुरु गरेका छन् । इजिप्टका कृषि र भूमिमन्त्रीले यो पहल राजनीतिक नेतृत्वको निर्देशनका साथै सरकारको पहल र वस्तुको मूल्य घटाउने प्रयासको प्रतिक्रियामा आएको बताए । यस पहलको फलस्वरूप, फार्ममा एक किलोग्राम कुखुराको मूल्य ८५ इजिप्टियन पाउण्ड र टेबुल अण्डाको डिब्बाको मूल्य १३५ पाउण्ड तोकिएको छ । मन्त्रीले यी घोषित मूल्यबारे प्रकाश पार्दै उपभोक्तालाई कुखुराको लागि अधिकतम ९५ पाउण्ड र अण्डाको लागि १४५ पाउण्ड मूल्य निर्धारण गर्ने पुष्टि गरे ।
फिलिपिन्सको निर्यात एक खर्ब अमेरिकी डलरभन्दा बढी
मनिला । फिलिपिन्सको व्यापार तथा उद्योग विभाग (डीटीआई) का अनुसार सन् २०२३ मा पहिलो पटक फिलिपिन्सको निर्यात १ खर्ब ३ अर्ब अमेरिकी डलर पुगेको छ । यो सन् २०२२ को तुलनामा ४.८ प्रतिशत बढी हो । देशको केन्द्रीय बैंक बांको सेन्ट्रल एनजी पिलिपिनास (बीएसपी) को तथ्यांक उद्धृत गर्दै डीटीआई सचिव अल्फ्रेडो पास्कुएलले सूचना प्रविधि र व्यापार प्रक्रिया व्यवस्थापन क्षेत्रको बलियो प्रदर्शन र पर्यटन राजस्वमा आएको सुधारले वृद्धिलाई बढावा दिएको बताए । बढ्दो पर्यटन सञ्जाल र प्रवर्द्धनात्मक प्रयासका कारण फिलिपिन्सले १५ वर्षमा पहिलो पटक पर्यटन राजस्वमा अधिशेष रेकर्ड गरेको छ । सन् २०२३ मा फिलिपिन्सको पर्यटन राजस्व सन् २०२२ को स्तरभन्दा दोब्बरभन्दा बढी अर्थात् ९.१ अर्ब डलर पुगेको छ । डीटीआईका अनुसार, निर्यात वृद्धिको अधिकांश भाग देशको सेवा निर्यातमा १७.४ प्रतिशतको उल्लेखनीय विस्तारबाट प्रेरित थियो भने पर्यटन सेवाहरूले २०२३ मा वृद्धिभएका सेवाहरू निर्यात प्राप्तिको लगभग ७० प्रतिशत योगदान पुर्याएको थियो । तथापि, वस्तु क्षेत्रको कमजोर बाह्य मागले आर्थिक वृद्धिमा निर्यातको समग्र योगदानलाई कमजोर बनायो । सन् २०२३ मा कुल निर्यातले देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को २७ प्रतिशत हिस्सा ओगटेको थियो । सन् २०२२ को तुलनामा इलेक्ट्रोनिक्समा ३.४ प्रतिशत अर्थात् ९५ करोड ५० लाख डलरको गिरावट आएको छ । ‘यो गिरावटले निर्यात राजस्व संकलनको विविधीकरण र प्रमुख क्षेत्रहरूमा प्रतिस्पर्धात्मकता बढाउने महत्वलाई उजागर गर्दछ,’ पास्कुएलले भने । एजेन्सी
व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी
कैलाली । पैसा कमाउन जागिर गर्नैपर्छ वा विदेश जानुपर्छ भन्ने मान्यतालाई कैलालीको जानकी गाउँपालिका वडा नं ५ का उद्यमी एन्जिल चौधरीले गलत साबित गरेकी छन् । व्यावसायिक च्याउखेतीमा लागेकी चौधरीले गाउँमा नमुना किसानको परिचय बनाएका छिन् । विसं २०७६ मा सुरु गरेको च्याउखेतीले उनलाई सफल किसान बनाएको छ । उनले व्यवसायलाई बढाउँदै लगेकी छिन् । ‘मैले सिजनअनुसार ६ किसिमका च्याउको खेती गर्दै आएको छु, बेमौसममा उत्पादन भएको च्याउले बजारको मागलाई पूरा गर्न सकिएको छैन । उत्पादन भएको च्याउ बिक्रीका लागि बजार पुग्नै पर्दैन । घरबाटै सबै बिक्री हुन्छ,’ उनी भन्छिन् । चौधरीले हिउँदमा कन्यालगायत प्रजातिको च्याउ उत्पादन गर्दै आएकी छन् । गर्मीमा ब्लुक्याप, पिङ्की च्याउ उत्पादन गर्दै आएकी उनले बर्खामा दुधेच्याउ लगाउँदै आएकी छन् । लगानीका हिसाबले तेब्बरभन्दा बढी आम्दानी लिन सकिने व्यवसायबाट वार्षिक सात लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनी बताउँछिन् । ‘लगानीको तुलनामा आम्दानी अधिक छ । त्यसैले व्यवसाय विस्तार गरेको छु,’ उनी भन्छिन्, ‘परिवारका अन्य सदस्यलाई पनि व्यवसायमा जोडेर काम गरिरहेको छु ।’ उनले च्याउखेतीमात्रै नभई बेमौसमी तरकारीखेती र तरकारीको बेर्ना पनि उत्पादन गर्दै आएकी छन् । अहिले उनको तरकारी बारीमा बेमौसमी तरकारी उत्पादन भइरहेको छ । ‘च्याउखेतीबाट बचेको समय बेमौसमी तरकारीमा लगाउने गरेको छु । तरकारीका बेर्नाबाट पनि प्रशस्त आम्दानी हुन्छ, तरकारी र तरकारीको बेर्नाबाट वार्षिक रु चारदेखि पाँच लाख आम्दानी हुन्छ,’ उनले भनिन् । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइबाट बीउमा अनुदान पाएकी उनलाई गाउँपालिकाले प्राविधिक सहयोग गर्दै आएको छ । जानकी गाउँपालिका–४ कञ्चनपुरका श्रीराम कठरिया २०७२ सालदेखि च्याउखेतीमा छन् । उनले च्याउखेतीमा करिब ५० लाख लगानी गरिसकेका छन् । व्यवसायबाट अहिलेसम्म भएको आम्दानी उनले व्यवसाय वृद्धिमा नै लगाएका छन् । ‘मैले नौ वर्ष गरेको आम्दानी यही व्यवसायमा भएको लगानी हो । करिब रु ५० लाख लगानी भइसकेको छ, आजसम्म भएको आम्दानी लगानीमा सकियो । अबको आम्दानी बचतमा जान्छ,’ उनी भन्छन् । च्याउखेतीका लागि उनले एसी प्लान्ट जोडेका छन् । जहाँ एकैपटक एक हजारभन्दा बढी च्याउ राख्न मिल्छ । च्याउखेतीसँगै केरा, तरकारी र मकैखेती गर्दै आएका कठरिया अहिले सबै छाडेर च्याउ उत्पादनमा व्यस्त भएका छन् । उनले गाउँका अन्य युवालाई पनि व्यावसायिक खेतीका निम्ति प्रेरित गर्दै आएका छन् । जानकी गाउँपालिकाकै ममता चौधरीले स्नातक तहको अध्ययनसँगै च्याउखेती सुरु गरिन् । पढ्दै खेतीमा लागेकी उनलाई एन्जिल चौधरीले सिकाएका थिए । साथीहरूबाट सिकेको ज्ञानसँगसँगै स्नातक तहको अध्ययन सक्नुभयो भने व्यवसायलाई विस्तार गर्दै त्यसको निरन्तरतामा लागिन् । परिवारको दबाबले एक वर्ष कानुन पढ्न धनगढीमा बिताएकी ममतालाई व्यवसायबाट हुने गरेको मनग्य आम्दानीले धनगढीबाट घर फिर्ता गर्यो । उनी भन्छिन्, ‘अब स्नातकोत्तर गर्छु । व्यवसायलाई पनि निरन्तरता दिनेछु ।’ बाह्र महिना च्याउ उत्पादनमा लागेकी उनले ठूलो धनराशि लगानी गरेकी छैनन् । यो वर्ष एक लाख लगानी गरेको उनको च्याउ खेतीबाट ६ लाख आम्दानी भएको छ । ‘च्याउखेतीमा खासै लगानी छैन । त्यही प्लास्टिक र पराल हो चाहिने, पराल आफैँसँग हुन्छ प्लास्टिक किन्नुपर्छ । लगानीभन्दा आम्दानी तेब्बर छ,’ उनी भन्छिन् । उनको पाँचजना परिवारका पाँच जना च्याउखेतीमा नै व्यस्त छन् ।
गोर्खाज फाइनान्सको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले ६२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । मंगलबार कम्पनीले सूचना जारी गर्दै संस्थापक सेयरधनीको उक्त सेयर मंगलबारदेखि बिक्रीमा राखिएको जनाएको हो । सेयर खरिदका लागि जोसुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरूले खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले काठमाडौं डिल्लीबजारमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क गरी आवश्यक कागजातसहित निवेदन पेस गर्नुपर्नेछ । लगानीकर्ताले सेयर खरिदका लागि सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।