विकासन्युज

राष्ट्रिय सहकारी दिवस : ५० हजारलाई प्रत्यक्ष रोजगारी, वित्तीय पहुँचमा १५ प्रतिशत योगदान

काठमाडौं । सहकारी क्षेत्रले ५० हजारलाई प्रत्यक्ष तथा पाँच लाख नागरिकलाई अप्रत्यक्ष रोजगारी सिर्जना गरेको छ । कुल गार्हस्थ्य उत्पादनमा ३ प्रतिशत र वित्तीय पहुँचमा १५ प्रतिशत योगदान सहकारी क्षेत्रले गरेको बताइन्छ । सहकारी क्षेत्रमा सङ्ख्यात्मक विकास भए पनि सहकारीको गुणस्तर बढ्न नसक्दा तथा विविध विकृति र विसङ्गतिका कारण यसको लोकप्रियता पछिल्लो समय खस्कँदै गइरहेको छ । आम नागरिकले जम्मा गरेको बचतको केही स्वार्थ समूहले गरेको अपचलनका कारण पनि पछिल्लो समय सहकारी क्षेत्र बदनाम बनेको छ,धेरै बचतकर्ता पीडित छन् । सहकारी संस्थाको कारोबार जोखिमपूर्ण देखिएको छ । ६७ औँ राष्ट्रिय सहकारी दिवस मंगलबार विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । २०१३ साल चैत्र २० गते चितवनको शारदानगरमा बखान सहकारी स्थापना भएको दिनको स्मरणमा आज ‘सहकारीमा सुशासन प्रविधि र एकीकरण’ नाराका साथ दिवस मनाउन लागिएको हो । राष्ट्रिय सहकारी महासङ्घ लगायतका सरोकारवाला निकायले दिवसको सन्दर्भ पारेर मंगलबार विविध अन्तरक्रियात्मक कार्यक्रमहरु आयोजना गर्ने भएका छन् ।  देशभर अहिले करिब ३० हजारको सङ्ख्यामा सहकारी रहेको तथ्याङ्क छ । यो क्षेत्रमा झन्डै ६० लाख सदस्य छन् ।  

आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको छ : उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको बताएका छन् । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् । उनले आगामी आर्थिक वर्षको लागि १८ खर्बको बजेट सिलिङ तय भएको बताए । उनले गत वर्षको तुलनामा ४९ अर्ब बजेटको सिलिङ बढेको भए पनि वास्तविक बजेट १६ खर्ब ९४ अर्बको मात्रै भएको दाबी गरे । उपाध्यक्ष डा.श्रेष्ठले १८ खर्बको बजेट सिलिङमा १ खर्ब ६ अर्ब आगामी वर्ष सरकारले तिर्नुपर्ने ऋणको साँवा ब्याज तिर्नुपर्ने हुँदा वास्तविक बजेट १६ खर्ब ९४ अर्बको मात्रै मन्त्रालयहरुलाई बाँडफाँड गर्ने बजेट भएको बताए । सरकारले मन्त्रालयहरुलाई वितरण गर्दा केही मन्त्रालयहरुको धेरै र केहीको कमले बजेट घटेको जानकारी दिए । उनले बजेट घटाउनुपर्ने अवस्था भएपनि कामहरु धेरै गर्नुपर्ने भएको बताए । उपाध्यक्ष श्रेष्ठले बजेटलाई तीन समूहमा विभाजन गरी प्रश्ताव गरिएको बताए । उनले स्रोतको कमी भएको कारण बजेटको सिलिङ कम गरिएको बताए । सरकारले राजश्व कर छलीको हकमा केही सुधार गरी राजश्व वृद्धि गर्नेगरी कामको थालनी भएको बताए । सरकारको पुँजीगत खर्च गर्ने रकम अहिले ५ खर्ब भएपनि खर्च गर्ने क्षमता कम भएको कारण पुँजीगत खर्च बढाउनको लागि केही संरचनागत र विधिगत व्यवस्थाहरु अगाडी बढाएको बताए । पुँजीगत खर्च हुने र वैदेशिक अनुदान पनि परिचालन हुने बजेटको सिलिङ बढ्ने सम्भावना रहेको बताए । अहिले अर्थतन्त्र सहज अवस्थामा नभएको तर पछिल्लो अर्थतन्त्रमा सुधारका संकेतहरु देखापरेको जानकारी दिए । ‘राष्ट्रिय योजना आयोगले चालु आर्थिक वर्षको बजेटको सिलिङ १७ खर्ब ५१ अर्ब दिएका थियौं । कार्यान्वयन भइरहेको छ । यो बढेको नभएर १ खर्ब ६ अर्ब आगामी वर्ष साँवा ब्याज बढी तिर्नुपर्ने हुँदा नेटमा १६ खर्ब ९४ अर्बको मात्रै मन्त्रालयहरुलाई बाँडफाँड गर्ने बजेट हो । त्यसकारण ५७ अर्ब यो वर्षको भन्दा आगामी वर्षको बजेट घटेको छ । त्यही अनुसार मन्त्रालयहरुलाई वितरण गर्दा केही मन्त्रालयहरुको धेरै र केहीको कमले घटेको छ । १६ योजनामा विगतका योजनालाई निरन्तरता भन्दा पनि उत्पादन र रोजगारीमा प्राथमिकता दिने र पूर्वाधार निर्माण गर्दा पनि उत्सादनसँग जोडिने र विकासको मोडललाई नयाँ मोडलमा लैजाने खाजेका छौं’, उनले भने । उपाध्यक्ष श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट १६ औं योजनाको पहिलो वर्ष भएकाले केही इन्टरभेन्टरका कार्यक्रमहरु अगाडि बढाएको बताए । उनले १६ योजनामा विगतका योजनालाई निरन्तरता दिनेभन्दा पनि उत्पादन र रोजगारीका कार्यक्रमलाई प्राथमिकता दिइएको दाबी गरे । सरकारले पूर्वाधार निर्माण गर्दा पनि उत्सादनसँग जोड्ने र विकासको मोडललाई नयाँ मोडलमा लैजान खाजिएको उल्लेख गरे ।

होण्डाले नेपाली बजारमा भित्र्यायो एनएक्स २००

काठमाडौं । दुई पाङ्ग्रे सवारीसाधनमा नेपालमा सर्वाधिक विक्री हुने होण्डाले आफ्नो नयाँ बाइक एनएक्स २०० नेपाली बजारमा ल्याएको छ । एनएक्स २०० बाइक सिटी राइडिङ र लामो दुरीको यात्रा दुबैका लागि उपयुक्त भएको कम्पनीले जनाएको छ । यसको ‘अप-राइट पोजिशन’ र टायरको ‘टफ ट्रेड प्याट्रन’ले आरामदायी यात्रा सुनिश्चित गर्ने कम्पनीको दाबी छ। एनएक्स २०० मा उपलब्ध ‘वाइण्ड भाइजर’ र ‘एलईडी विङ्कर’ सहितको ‘नकल कभर’ले सुरक्षा फिचरलाई बढाउनुको साथै बाइकलाई झनै आकर्षक बनाएको छ । ‘लिक्युइड क्लियर’ डिजिटल मिटर र चालकलाई पायक पर्ने गरी चाबी हाल्ने ठाउँ ट्याङ्कीमै हुनु पनि यसको थप विशेषता हो । यसमा रहेको ‘फ्रन्ट ए बी एस सिस्टम’ र ‘डूअल पेटल डिस्क ब्रेक’ले चाहेको बेला रोक्न सक्ने क्षमता राख्दछ, जुन स्वतन्त्र र निस्फिक्री यात्राको लागि अत्यावस्यक हुन्छ। १० वर्ष सम्मको वारेन्टी प्याकेजमा हाललाई विभिन्न चार रङ्गहरुमा उपलब्ध यो बाइकको सुरुवाती विक्री मूल्य ४,७९,९०० मात्र तोकिइएको छ । औपचारिक बिक्री वितरण यही चैत्र १५, २०८० बाट सुरु गरिसकेको छ ।

मार्कीचोक-नयाँ भरतपुर २२० केभी प्रसारण लाइन निर्माण सक्न ताकेता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत तनहुँको आँबुखैरनी गाउँपालिकाको मार्कीचोकबाट चितवनको भरतपुर महानगरपालिका आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनसम्मको लाइन निर्माण छिट्टो सम्पन्न गर्न ताकेता गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उपकार्यकारी निर्देशक प्रदीप कुमार थिके सम्मिलित टोलीले प्रसारण लाइन र सबस्टेसन निर्माणको अनुगमन गरी वर्षायामको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका लागि मार्कीचोक–नयाँ भरतपुर प्रसारण लाइन महत्वपूर्ण रहेकाले निर्माणलाई तिब्रता दिन आग्रह गर्यो । टोलीले आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग छलफल गरी निर्माणको अवस्था, बेहोरिरहेका समस्या, निर्माण सम्पन्न हुन समयतालिकालगायतका विषयमा जानकारी लिएको थियो । आयोजनाकातर्फबाट वन क्षेत्रको जग्गा प्रयोग र रुख कटान स्वीकृतिका रहेको कानूनी लामो प्रक्रिया, निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भइरहेको जानकारी गराइएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले मार्कीचोक–नयाँ भरतपुर खण्ड आगामी असारभित्रमा निर्माण सम्पन्न गर्न नसकिएमा २/३ सय मेगावाट विद्युत् प्रवाह गर्न नसकी खेर फाल्नु पर्ने अवस्था आउन सक्ने बताए । ‘अहिले चालू रहेको मस्र्याङ्दी भरतपुर र दमौली–भरतपुर १३२ केभी प्रसारण लाइन सिङ्गल सर्किट मात्र छन्, जसबाट करिब ८०/८० मेगावाट मात्र विद्युत् प्रवाह गर्न सकिन्छ, मार्कीचोकबाट विद्युत् काठमाडौं ल्याउन त सकिन्छ तर प्रसारण लाइनको क्षमताले नथान्ने हुँदा काठमाडौंबाट हेटौंडातर्फ थप विद्युत् पठाउन पनि सकिंदैन, यसबाट भारतर्फको विद्युत् निर्यात पनि प्रभावित हुनेछ’, कार्यकारी निर्देशक घिसिङले भने । ‘त्रिशूली करिडोरबाट माथिल्लो त्रिशूली ३ ए, रसुवागढी, साञ्जेनलगायतका जलविद्युत् आयोजनाहरुको विद्युत् काठमाडौं आउँछ, मार्कीचोक–नयाँ भरतपुर प्रसारण लाइन निर्माण सम्पन्न भएमा मात्र उक्त विद्युत्लाई भरतपुरबाट हेटौंडातर्फ र बुटवलतर्फ प्रवाह गर्न सकिन्छ, नत्र विद्युत् कतै प्रवाह गर्न नसकी ह्यागिङ हुने अवस्था आउने देखिएको छ ।’ घिसिङले चितवनका प्रमुख जिल्ला अधिकारी र डिभिजन वन कार्यालयका प्रमुखलाई फोन गरी वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानमा स्वीकृति प्रक्रियामा सहजीकरण गरिदिएर महत्वपूर्ण प्रसारण लाइनको निर्माण जतिसक्दो छिट्टो सम्पन्न गर्न आवश्यक सहयोग गरिदिन आग्रह गरे । आयोजनाअन्तर्गत लमजुङको उदीपुरबाट गोरखा, तनहुँ हुँदै नयाँ भरतपुरसम्मको प्रसारण लाइन निर्माणका लागि ६९.६९ हेक्टर राष्ट्रिय वन प्रयोग र त्यहाँ रहेका १० हजार २ सय २५ रुख कटान गर्नु पर्नेछ । मन्त्रिपरिषद्को गत २५ माघको बैठकले वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानका लागि स्वीकृति दिएको थियो । वन क्षेत्रको जग्गा प्रयोग गरेबापत सोही बराबरको जग्गा उपलब्ध गराउनु पर्ने वन नियमावली, २०७९मा भएको व्यवस्था बमोजिम आयोजनाले गत १३ फागुनमा निजी जग्गा खरिदका लागि सार्वजनिक सूचना जारी गरेको थियो । नियमावलीमा भएको व्यवस्था बमोजिम सम्बन्धित जिल्लाभित्र सम्भव भएसम्म आयोजनास्थल नजिक पर्ने राष्ट्रिय वन क्षेत्रसँग जोडिएको र समान भौगोलिक परिस्थितिकीय क्षेत्रमा पर्ने तथा वन विकास गर्न सकिने भू–बनोट भएको निजी जग्गा बिक्रीका लागि प्रस्ताव आह्वान गरिएको थियो । तर, जग्गा बिक्रीका लागि प्रस्ताव नै नपरेको आयोजना प्रमुख नारायण रेग्मीले बताए । अब प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने जग्गा प्राप्ति सहजीकरण समितिले जग्गा प्राप्त नभएको सिफारिस वन तथा भू–संरक्षण विभागमा गरिदिनु पर्नेछ । त्यसपछि आयोजनने वन क्षेत्रको जग्गा प्रयोग गरेबापत तोकिएको रकम वन विकास कोषमा जम्मा गरेपछि मात्र विभागसँग सम्झौता हुने छ । त्यसपछि मात्र वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानको प्रक्रिया अगाडि बढ्ने छ । प्राधिकरणको टोलीले जग्गा प्राप्ति सहजीकरणको बैठक तत्काल राखी विभागमा सिफारिस गरिदिन आग्रह गरेको हो । मार्कीचोक–नयाँ भरतपुर खण्डमा ८० वटा टावर निर्माण गर्नु पर्ने छ । त्यसमध्ये ३५ वटा टावरको जग हालिएको छ । ५ वटा टावर खडा गरिएको छ । मस्र्याङदी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका चारवटा सबस्टेसनहरुको निर्माण हुँदैछन् । चितवनमा नयाँ भरतपुर सबस्टेसनको निर्माण सम्पन्न भइसकेको छ । लमजुङको उदीपुर तथा खुदी र मनाङको धारापानीमा सबस्टेसन निर्माणाधीन छन् । मस्र्याङ्दी र त्यसका सहायक नदीहरुबाट उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार ६ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिने छ । आयोजनाअन्तर्गत चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको ११३ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माणाधीन छ । आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ । दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदीपुर सबस्टेसन निर्माण गरिएको छ । तेस्रो प्याकेजअन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुई वटा सबस्टेसन निर्माण भइरहेका छन् । नेपाल सरकारको लगानी र युरोपेली लगानी बैक (इआइबी)को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रुपैयाँ छ ।

गृहमन्त्री लामिछाने र श्रममन्त्री अर्याल सहकारी ठगीमा जोडिएको भन्दै कारबाही गर्न कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेका नाम सहकारी ठगीका विषयमा जोडिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने माग दोहोर्याएको छ । कांग्रेसले सो समितिलाई सहकारीको रकम ठगीका सम्बन्धमा विभिन्न विषय अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउने अख्तियारी दिनुपर्ने समेत माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको सुरुमै सो पार्टी सबै सांसदहरु आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले कांग्रेसका सांसद रामकृष्ण यादवलाई समय दिए । सांसद यादवले सरकार पुनःगठनसँगै लामिछानेमाथिको छानबिन रोकिएर विश्वासको सङ्कट उत्पन्न भएकाले संसदीय छानबिन हुनुपर्ने आवश्यकता औँल्याए । उनले लामिछाने सञ्चारकर्मीका रुपमा आवद्ध हुँदाका बखत गोर्खा मिडिया प्रालिमा हुँदा सहकारीबाट ८० करोड रुपैयाँ ऋण लिएको र नतिरिएको विषयमा नैतिकताका आधारमा गृहमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने माग गरे । सांसद यादवले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्याल पनि सहकारी विवादमा मुछिएकाले छानबिन हुनुपर्ने माग गरे। उनले गृहमन्त्री र सहकारी जोडिएको विषयबाहेक सदन चल्न आफ्नो पार्टीले अवरोध नगर्ने पनि स्पष्ट गरे । उनले सदनमा सांसदले उठाएका विषयमा सरकारले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने आग्रह गर्दै दण्डहीनताको अन्त्य, कानुनी राज्यको पालना र सुशासन कायम गरेर आम नागरिकप्रति आशा सिर्जना गर्न आग्रह गरे । तत्पश्चात सभामुख घिमिरेले उठेका विषयमा आफ्नो र संसदको ध्यान गएको अवगत गराए । रासस

म्याग्दीका वनपाखामा लालीगुराँस हेर्नेको भीड

गलेश्वर । वसन्त ऋतुको सुरुवातसँगै हिमाली जिल्ला म्याग्दीको उच्च र मध्य लेकाली क्षेत्रका वनपाखा रङ्गीविरङ्गी लालीगुराँसले रङ्गिएपछि लालीगुराँसको छेकोबाट सेता हिमाल हेर्दै रमाउन पर्यटकहरु लेकाली क्षेत्रमा उक्लिएका छन् । विगतका वर्षमा भन्दा यसवर्ष पाखैभरी ढकमक्क गुराँस फुलेपछि गुराँससँग रमाउन आन्तरिक तथा बाह्य पर्यटक र स्कुल तथा कलेजका विद्यार्थी घोडेपानी, पुनहिल, टोड्के, बेलढुङ्गा जस्ता लालीगुराँसका जङ्गलमा उक्लिएका हुन् । राउण्ड अन्नपूर्ण पदमार्गको प्रमुख आकर्षण मानिएको घोडेपानीमा ढकमक्क फुलेका लालीगुराँस हेर्न आउनेको भीड नै लाग्ने गरेको छ । यस याममा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुने गरेको छ । अहिले यहाँको जङ्गलमा लालीगुराँस फुलेर ढकमक्क भएकाले अझ बढी आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको स्थानीयवासीले बताएका छन् । आन्तरिक पर्यटक बढ्न थालेपछि स्थानीय होटेल व्यवसायी खुसी भएका छन् । घोडेपानीका होटल व्यवसायी मीना गुरुङले पर्यटकले गर्दा प्रायः सबै होटल आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ भएको बताइन् । वसन्त ऋतुको आगमनसँगै प्रकृतिले पनि नयाँस्वरुप धारण गरेको छ । राताम्यै फुलेका लालीगुराँस र वन जङ्गलको हरियालीले प्रकृति मुस्कुराइरहेको जस्तो देखिन थालेको छ । उत्तरपट्टी चाँदी जस्तै सेता हिमाल हेर्दै गुराँससँग रमाउन आन्तरिक तथा बाह्य पर्यटक म्याग्दीका पर्यटकीयस्थल घोडेपानी, पुनहिल, मोहरेडाँडा, फुलबारी, खोप्रा, बयली, मालिका गाउँपालिकाको सोले, बेनी नगरपालिका–३ भकिम्लीको स्वर्गाश्रम, धवलागिरि गाउँपालिकाको जलजला, देउराली, मङ्गलाको टोड्के, झाँक्रीपानी, रघुगङ्गाको रुइसेमा पुग्न थालेका छन् । यी ठाउँहरुमा गुराँसको ठूला जङ्गल छन् । नेपालमा पाइने ३२ प्रजातिकामध्ये घोडेपानी क्षेत्रको जङ्गलमा रातो, सेतो, गुलावी, चिमालीलगायत नौ प्रकारका गुराँस पाइने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ । पृष्ठभूमिका हिमाल र लालीगुराँसको जङ्गलको प्राकृतिक सौन्दर्यलाई नियाल्दै आन्तरिक तथा बाह्य पर्यटक मख्ख परेको स्थानीय युवा सञ्चारकर्मी सुरेन गुरुङले जानकारी दिए । समुद्री सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा अवस्थित घोडेपानीमा ४५ घरधुरीको बसोबास छ । अधिकांश घर पर्यटकस्तरका होटल हुन् । पर्यटकहरु आउन थालेपछि होटल व्यवसायी पनि खुसी भएका छन् । घोडेपानीको लालीगुराँसको जङ्गलको पृष्ठभूमिमा धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, नीलगिरि हिमालको साथै सूर्योदय अवलोकन गर्न सकिन्छ । अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय केन्द्र मानिने घोडेपानी क्षेत्रको गुराँसको जङ्गललाई समेटेर समुदायस्तरमा अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग सञ्चालन भएको छ । घोडेपानीका बासिन्दाले गुराँस बचाउन गुराँसका रूख नकाट्ने नियम बनाएका छन् । जथाभावी रूपमा काठ, दाउराका लागि रूख काट्दा गुराँसको जङ्गल मासिएपछि यस्तो नियम बनाएका हुन् । एक्यापको सहयोगमा तारबार लगाएर जङ्गलको घेराउ गरिएको घोडेपानीका बासिन्दा अन्नपूर्ण गाउँपालिकाका पूर्व अध्यक्ष एवम् स्थानीय होटल व्यवसायी डमबहादुर पुनले बताए । त्यसैगरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखको जङ्गलमा राताम्मे फुलेको लालीगुँरासँग रमाउन विद्यार्थी र पर्यटक पुगेका छन् । गाउँमा रहेको शिख मावि वरपर नै गुराँस फुलेपछि लोभलाग्दो देखिएको छ । घोडेपानी, पुनहिल जाने पदमार्गमा पर्ने शिख क्षेत्रमा पदमार्ग र सडक आसपासमै गुराँसले जङ्गल राताम्मे बनेका छन् । लालीगुराँस नेपालको राष्ट्रिय फूल हो । लालीगुराँस साधारणतया फागुन, चैत र वैशाखमा फुल्ने गर्दछ । म्याग्दीका वनमा अहिले ढकमक्क गुराँस फूलेर जङ्गलनै हराभरा भएका छन् । बोटभरी ढकमक्क फुलेको गुराँस हेर्दै आकर्षित हुने भएकाले हरेकको मन तान्ने गरेको छ । वनैभरी ढकमक्क लालीगुराँस फुलेपछि गाउँबस्ती नै सुन्दर देखिएको छ । वनभरि फुलेका लालीगुराँसका फूल यहाँको प्राकृतिक वरदान मात्र होइन सुकाएर फूलको पत्र जडीबुटीका रूपमा व्यापार गरी आयआर्जन गर्न सकिने भए पनि यसतर्फ ध्यान जान नसकेको वन तथा वनपैदावर र वातावरणको क्षेत्रमा सक्रिय वन डिभिजन कार्यालय म्याग्दीका प्रमुख चन्द्रमणि सापकोटाले बताए । जण्डिस, आउँ, खोकी, कलेजो सुन्निएको, मुखको गन्ध हटाउनसमेत औषधि हुने लालीगुराँस वातावरणीय तथा पर्यटकीय दृष्टिलेसमेत महत्वपूर्ण मानिएको छ म्याग्दीका करिब ८० प्रतिशतभन्दा बढी वनमा यसरी लालीगुराँस फुलेको पाइन्छ,। लालीगुराँसको बोटदेखि फुलसम्म विभिन्न औषधि निर्माणको लागि प्रयोग हुँदै आएको छ । म्याग्दीमा प्रशस्त लालीगुराँसको जङ्गल रहेकोले आगामी दिनमा प्रशस्त आम्दानीको स्रोत जुट्ने देखिन्छ । जिल्लाका विभिन्न स्थानमा लालीगुराँको जुस बनाउने उद्योग स्थापना गर्ने क्रम पनि बढ्दै गएको छ । प्रचारप्रसारको कमीको कारण यहाँका सामुदायिक वनमा फुलेका गुराँसका फुल बिक्री हुन सकेको छैन । गाउँघर गुराँसले सजिएसँगै गाउँमा पुग्ने जो कसैको पनि मन लोभ्याउने गरेको स्थानीयवासीले बताएका छन् । रासस

सहकारीमा पनि बिग मर्जरको आवश्यकता, पूर्ण डिजिटाइजमा लैजाने सरकारको तयारी

काठमाडौं । आज (मंगलबार)देशभर ६७औं राष्ट्रिय सहकारी दिवस भव्यताका साथ मनाइँदैछ । ‘सहकारीमा सुशासन प्रविधि र एकीकरण’ भन्ने नाराका साथ देशभर आज ६७औँ राष्ट्रिय सहकारी दिवस मनाइँदैछ । सरकारले पनि विभिन्न कार्यक्रमको आयोजना गरेर सहकारी दिवस मनाउँदैछ भने अभियानको तर्फबाट पनि विभिन्न कार्यक्रम आयोजना हुँदैछन् । २०१३ साल चैत्र २० गते चितवनको शारदानगरमा बखान सहकारी स्थापना भएको दिनको स्मरणमा हरेक वर्ष दिवस मनाइने गरिन्छ । सहकारी क्षेत्रलाई पूर्ण डिजिटाइज गर्ने उद्देश्यका साथ अगाडि बढ्ने योजना सरकारले बनाएको छ भने सहकारी संंस्थाहरू बढी भएको भन्दै मर्जर तथा एक्विजिसनलाई पनि प्राथमिकतामा राखेर अगाडि बढ्ने रणनीति बनाएको छ । सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले अब सहकारीलाई मर्जर तथा एक्विजिसनमा लैजाने बताए । उनका अनुसार हाल सहकारीको संख्या बढी भएकोले तयसलाई व्यवस्थित ढंगबाट मर्जर गरेर लैजानु पर्ने धारणा राखे । सहकारीको संख्यात्मक विकास भए पनि गुणस्तर बढ्न सकेको छैन । त्यसका लागि पनि मर्जरको नीति विभागले अघि सारेको हो । ‘अहिले ३१ हजार बढी सहकारी संस्था छन्, ती सहकारीको मर्जर तथा एक्विजिसन आवश्यक छ, सोही योजनाअनुसार हामीले सहकारी संस्थाहरूको मर्जरलाई प्राथमिकता दिएका छौं, ६७औं सहकारी दिवसको नारा पनि मर्जर नै राखेका छौं,’ उनले भने । पछिल्लो समय सहकारीमा मर्जर सुरु भइसकेको छ । अधिकांश ठूला सहकारी पनि मर्जरमा गइसकेका छन् । त्यसलाई निरन्तरता दिने पक्षमा सरकार छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संख्या बढी भएको भन्दै बिग मर्जरको नीति अघि सारिरहेको छ । सोही किसिमले सहकारी विभागले पनि सहकारीमा बिग मर्जरको नीति अगाडि सार्न आवश्यक छ । उनले अब सहकारी क्षेत्रलाई प्रविधिमा पनि फोकस गर्ने धारणा राखे । सहकारी क्षेत्रलाई व्यवस्थित ढंगबाट सञ्चालन गर्न, सदस्यलाई सरल र सहज सेवा दिन र यकिन तथ्यांक संकलनका लागि सहकारीमा प्रविधि आवश्यक रहेको उनको भनाइ छ । हाल मुलुकभर ३१ हजार ३ सय बढी सहकारी छन् । सहकारीमा करिब ७३ लाख बढी सदस्य छने भने करिब ६ खर्ब बचत छ । कुल गार्हस्थ्य उत्पादनमा ३ प्रतिशत र वित्तीय पहुँचमा करिब २० प्रतिशत योगदान सहकारीको छ । पछिल्लो समय सहकारी क्षेत्रले ठूलो समस्या भोगिरहेको छ । प्रभावकारी नियमन हुन नसक्दा सहकारीका सञ्चालकले मनलाग्दी हिसाबले बचतको प्रयोग गर्दा बचतकर्ताले पैसा फिर्ता पाउन सकेका छैनन् । सरकारले २० वटा सहकारीलाई समस्याग्रस्त् पनि घोषणा गरिसकेको छ । पछिल्लो समय सरकार दोस्रो तहको नियामक स्थापना गर्नेसँगै कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायधिकरण र निक्षेप तथा कर्जा सुरक्षण कोष स्थापनाको तयारी गरिरहेको छ । त्यसका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ ।

प्रतितोला ४ सयले घट्यो सुनको मूल्य, चाँदीको भने बढ्यो

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा चार सय रूपैयाँले घटेको छ । सोमबार तोलामा एक लाख ३१ हजार छ सय रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ३१ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ । यस्तै, तेजावी सुन सोमबार तोलामा एक लाख ३० हजार नौ सय ५० रुपैयाँमा कारोबार भएकामा आजका लागि एक लाख ३० हजार पाँच सय ५० रुपैयाँ निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य पनि सामान्य रुपमा बढेको छ । सोमबार प्रतितोला एक हजार पाँच सय ३५ रुपैयाँ मूल्यमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार पाँच सय ४५ रुपैयाँ निर्धारण गरिएको छ ।