कोशी प्रदेशमा भयावह सडक दुर्घटना, न्यूनीकरण गर्न के गर्ने ?
धरान । उदयपुरको बेलका नगरपालिका—७ मैनामैनीमा यही चैत १ गते को १ ज २५९३ नम्बरको जीप दुर्घटनामा पर्यो । १७ जना यात्रु लिएर भोजपुरतर्फ जाँदै गरेको जीप कच्ची बाटोबाट चार सय मिटर तल खस्दा चालकसहित सातजनाको घटनास्थलमै ज्यान गयो भने एकजनाको उपचारका क्रममा अस्पतालमा ज्यान गयो । मैनामैनी दुर्घटनामा घाइते भएका नौजनामध्ये केहीको अहिले पनि उपचार भइरहेको छ । सोही दिन धरानबाट बराहक्षेत्रको चक्रघटी जाँदै गरेको बा २ ख २००० नम्बरको बस तीन ढ्वाङ्गे भन्ने ठाउँमा सडक नजिकैको रुखमा ठोक्किए दुर्घटनामा पर्यो । घटनामा कसैको ज्यान नगए पनि करिब १२ यात्रु घाइते भए । गम्भीर घाइतेलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएर उपचार गरियो । मैनामैनी र तीन ढ्वाङ्गेमा दुर्घटना हुनुभन्दा केही दिनअघि मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–७ मा पश्चिमबाट पूर्व जाँदै गरेको स १ ख ८१६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–०१६ प ४६७ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक सुर्योदय नगरपालिका–३ इलामका २४ वर्षीय प्रगति राईको मृत्यु भयो । पछिल्लो समय कोशी प्रदेशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनाका केही उदाहरण मात्र हुन् यी । प्रदेशका विभिन्न जिल्लामा हरेक दिनजसो यस्ता दुर्घटना भइरहेका छन् । यस्ता दुर्घटनामा परेर वर्षेनी सयौंले ज्यान गुमाइरहेका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको तथ्याङ्क अध्ययन गर्ने हो भने कोशी प्रदेशमा सवारी दुर्घटनामा परेर दैनिक एक जनाभन्दा बढिको ज्यान गइरहेको छ । चालू आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्म आठ महिनाको तथ्याङ्कअनुसार पुरुष २०६, महिला ४० र बालबालिका १६ सहित दुई सय ६२ जनाको ज्यान गइसकेको छ । यो तथ्याङ्कलाई विश्लेषण गर्दा सरदर मासिक ३३ जना अर्थात दिनमा एक जना भन्दा बढीको मृत्यु भएको छ । चालू आवको फागुनसम्ममा जम्मा दुई हजार एक सय ४२ वटा अर्थात दैनिक सरदर नौ वटा दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्याङ्क छ । ती दुर्घटनामा पाँच सय ५८ जना गम्भीर घाइते र तीन हजार ३५ जना साधारण घाइते भएका थिए । अघिल्ला आवहरुको अवस्था पनि उस्तै छ । अघिल्लो आव २०७९/८० मा प्रदेशभर तीन हजार पाँच सय १० वटा अर्थात दैनिक १० वटाको हाराहारीमा दुर्घटना भएका थिए । ती दुर्घटनामा परेर एक सय १९ पुरुष, ६८ महिला र २५ बालबालिका गरी जम्मा चार सय १४ जनाले ज्यान गुमाएका थिए भने गम्भीर घाइते आठ सय १० र साधारण घाइते हुनेको संख्या चार हजार सात सय ९७ थियो । आव २०७८/७९ मा तीन हजार आठ सय २० दुर्घटनामा जम्मा पाँच सय ३१ जनाको मृत्यु भएको थियो । त्यस वर्ष एक हजार दुई सय तीनजना गम्भीर र पाँच हजार चार सय ४५ जना साधारण घाइते भएका थिए । त्यस्तै, आव २०७७÷७८ मा तीन हजार एक सय ३१ वटा दुर्घटनामा परी चार सय ४४ जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको तथ्याङ्कमा उल्लेख छ । त्यस वर्ष एक हजार ८३ गम्भीर र तीन हजार सात सय ९३ जना साधारण घाइते भएका थिए । सवारी दुर्घटनाका विविध कारणमध्ये प्रमुख कारण मानवीय लापरबाही नै रहेको विभिन्न अध्ययनहरुले देखाएका छन् । ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको अध्ययन अनुसार कोशी प्रदेशमा भएका दुर्घटनामध्ये ५३ प्रतिशत तीव्र गतिका कारण दुर्घटना भएको देखिएको छ । त्यस्तै चालकको लापरबाहीले १६ प्रतिशत, सडक प्रयोगकर्ताको असावधानीले १२ प्रतिशत, मादकपदार्थ सेवनका कारण १० प्रतिशत, लाइसेन्स बिनाका चालकले चलाएका सात प्रतिशत रहेको पाइन्छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेल पहाडी क्षेत्रमा लगातार भइरहेका दुर्घटनाको अध्ययन गर्दा गाउँपालिकाहरुले जथाभावी सडक खन्ने प्रवृत्ति पनि जिम्मेवार देखिएको बताउँछन् । उनी भन्छन्, ‘पहाडी क्षेत्रमा स्थानीयवासीले सडक माग गर्छन् तर स्थानीय तहहरुले कस्तो ठाउँमा कस्तो सडक निर्माण गर्ने भनेर अध्ययन नगरी जथाभावी सडक खन्ने गरेको पाइन्छ । ती सडकका कस्ता गाडी चलिरहेका छन् भनेर नियन्त्रण गर्ने संयन्त्र पनि छैन ।’ प्रहरी उपरीक्षक पौडेल सडकमा सवारी चालकको प्रतिस्पर्धाको भावनाले पनि दुर्घटना बढिरहेको बताउँछन् । माघ, फागुन जस्ता धेरै विवाह हुने महिनामा धेरै दुर्घटना हुने गरेको पाइएको उनको भनाइ छ । विवाहमा क्षमताभन्दा बढी मान्छे चढाउने प्रवृत्ति बढिरहेका कारण पनि दुर्घटनाको जोखिम बढेको उनी बताउँछन् । उनी भन्छन्, ‘दुर्घटना बढिरहनु चिन्ताको विषय हो । यसलाई शून्यमै झार्न त सकिँदैन तर सचेतना अपनाउने हो भने न्यूनीकरण गर्न सकिन्छ ।’ नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राई सडक दुर्घटना बढ्नुमा चालकलाई मात्र दोष दिने प्रवृत्ति रहेको बताउँदै समग्रमा चालक मात्र नभई सडक प्रयोग गर्ने सबै जनाको त्रुटि रहेको दाबी गर्छन् । भौतिक, मानवीय, यान्त्रिक र पर्यावरणीय गरी दुर्घटनाका प्रमुख चार कारण रहेको बताउँदै उनी भन्छन्, ‘सडक सुरक्षा मापदण्ड अनुसार बनेका छैनन् । सडक निर्माणमा ढिलासुस्ती हुँदा पनि दुर्घटना बढेको छ । यी सबै कुरालाई ख्याल गर्नु आवश्यक छ ।’ डेढ दशकदेखि नेपालमा ट्राफिक व्यवस्थापनका लागि अभियान सञ्चालन गर्दै आउनु भएका विष्णुकुमार राई नेपालमा दुर्घटना बढिरहनुको प्रमुख कारण चालकहरुमा प्रशिक्षण र परीक्षणको कमी रहेको र लाइसेन्स दिने तरिका नै गलत भएको बताउँछन् । ‘यातायात सञ्चालनको नियम संसारमा एउटै हुनुपर्छ तर नेपालमा चालकले गाडी नियन्त्रण गर्न सक्यो भने ठीक छ भनेर लाइसेन्स दिने चलन छ, त्यो गलत हो,’ विदेशमा लामो समय ट्राफिक व्यवस्थापनको अनुभव बटुल्नु भएका अभियन्ता राई भन्छन्, ‘चालकलाई राजमार्गमा, बस्ती भएका ठाउँमा र भत्किएको सडकमा कसरी चलाउने भनेर छुट्टाछुट्टै प्रशिक्षण दिनुपर्छ अनि कसरी चलाउँछ भनेर राम्रो परीक्षण गर्नुपर्छ ।’ न्यूनीकरण गर्न के गर्ने ? सवारी दुर्घटनाका कारणहरुमा चालकको लापरबाही, मादकपदार्थ सेवनजस्ता सदाबहार कारणसँगै केही मौसमी कारण पनि देखिन्छन् । विवाहको मौसममा हुने लापरबाही, हुस्सु लाग्ने महिनामा अगाडिको गाडी नदेख्दा ठोक्किने घटना पनि हुने गरेका छन् । यसको न्यूनीकरणका लागि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरेको छ । मादकपदार्थ सेवन र लागुऔषध सेवन परीक्षण गर्ने काम पनि गरिरहेको प्रहरी उपरीक्षक पौडेल बताउँछन् । उनी भन्छन्, ‘लापसे (लागुपदार्थ सेवन) परीक्षण गर्न किट महँगो छ । यसको परीक्षणको कानुनी मान्यता पनि प्राप्त नभएकाले समस्या छ । दुर्घटना न्यूनीकरण गर्न आवश्यक प्रयास गरिरहेका छौँ ।’ नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई सडक दुर्घटनामा मानवीय त्रृटि कम गर्न स्कुलदेखि कलेजसम्म सडक दुर्घटनासम्बन्धी पाठ्यक्रम बनाएर पठनपाठन गराउनुपर्ने बताउँछन् । ट्राफिक प्रहरीको ध्यान राजस्व सङ्कलनमा मात्र गएको तर सचेतनामा कम रहेको बताउँदै उनी भन्छन्, ‘हामीले आफ्नो तर्फबाट यातायात मजदुरलाई दुर्घटना न्यूनीकरणका लागि संवेदनशील बन्न सचेत गराउँदै आएका छौँ । सबै क्षेत्रबाट न्यूनीकरणको पहल हुन जरुरी छ । दुर्घटना न्यूनीकरणका लागि राज्यले विशेष संयन्त्र बनाउनु आवश्यक छ ।’ ट्राफिक व्यवस्थापन अभियन्ता विष्णुकुमार राई नेपालमा लाइसेन्स दिने प्रक्रिया लापरबाहीपूर्ण र सजिलो भएकाले चालकहरु दक्ष नभई सडकमा आउने गरेकाले दुर्घटना धेरै हुने गरेको भन्दै त्यस्तो प्रचलन रोक्नुपर्ने बताउँछन् । विदेशमा पनि नेपालीहरु दुर्घटना धेरै पर्ने कारण नेपालको प्रशिक्षण र परीक्षण कमजोर रहेको बताउँदै भन्छन्, ‘गाडी चलाउनु भनेको आफू र धेरै मानिसको जीवन हातमा राखेर हिँड्नु हो । राम्रो प्रशिक्षण बिना सडकमा गाडी चलाउन रोक लगाउन सके मात्र दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ।’ रासस
सरकारले निजी क्षेत्रलाई प्राथमिकतामा राखेर जलविद्युतमा काम गरिरहेको छ : मन्त्री बस्नेत
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले स्वदेशी निजी क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर जलविद्युत क्षेत्रमा काम गरिरहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा सांसद प्रेम सुवालले राख्नु भएको जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् । मन्त्री बस्नेतले नेपालको जलविद्युत क्षेत्रमा स्वदेशी तथा विदेशी निजी क्षेत्रको संलग्नता रहेको उल्लेख गर्दै विशेष प्राथमिकता भने स्वदेशी निजी क्षेत्रलाई दिइएको स्पष्ट पारे । नेपालको संविधानले समृद्धिका लागि निजी क्षेत्र, सहकारी क्षेत्र र सरकारको भुमिकाको स्पष्ट व्यवस्था गरेकाले सोही अनुसार लगानीको व्यवस्था गरिएको पनि स्मरण गराए । ‘संविधानले गरेको व्यवस्था नै हो हरेक सरकारका लागि संविधानले व्यवस्था गरे बमोजिम संविधानले व्यवस्था गरेको नीति, निर्देशन, निर्देशक सिद्धान्तहरु, अन्य कानूनी व्यवस्थाहरु जे छन्, त्यो द्धारा नै सरकार निर्देशित हुने हो । अब अहिले हाम्रो संविधानले हामीलाई गरेको मार्गदर्शन, अहिलेको संवैधानिक व्यवस्था भनेको सरकार, सार्वजनिक क्षेत्र, निजी क्षेत्र, सहकारी क्षेत्रको साझेदारीमा आर्थिक विकास र समृद्धिको यात्रा गर्ने र समृद्धि हासिल गर्ने जो हाम्रो संवैधानिक व्यवस्था छ । त्यो संवैधानिक व्यवस्थाको मार्गदर्शनमा नै सरकारले काम गर्दछ पहिलो । सरकारले स्वदेशी निजी क्षेत्रलाई फेरि विशेष प्राथमिकतामा राखेर व्यवहार गर्ने गरिराखेको छ । यो कुरा म राख्न चाहन्छु’, उनले भने । मन्त्री बस्नेतले जलविद्युतको विकासमा नेपालले केही वर्ष भित्र फड्को मार्ने दाबी समेत गरे ।
मेरोमाइक्रोफाइनान्सद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले एक दिने केन्द्र प्रमुख तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको मधेसा अनुगमन कार्यालय, सुनसरी अन्तर्गतका शाखा कार्यालयहरु मधेसा र लौकही, सुनसरीले १५० भन्दा बढी सदस्यहरुको सहभागिता रहेको थियो । इनरुवा नगरपालिकाको नगर प्रमुख केदार भण्डारीको प्रमुख आतिथ्यतामा संस्थाको परिचय, संस्थाले प्रदान गर्दै आएको सेवा सुविधामा उठेका जिज्ञासाहरुको समाधान गर्दै वित्तीय साक्षरता अभिबृद्धिका माध्यमले विवेकशिल वित्तीय जागरण गराउने कार्यक्रमको उद्धेश्य रहेको मधेसा अनुगमन कार्यालयका प्रमुख सागर भण्डारीले बताए । त्यस्तै वित्तीय साक्षरता तालिममा ग्राहक सदस्यलाई बचतको महत्व, कर्जाको उपयोगिता, विमा, रेमिटान्स, आधुनिक बैंकिङ प्रणालीको विकास सगै बढ्दो बैंकिङ जालसाझी बारेजानकारी गरिएको थियो । उत्त कार्याक्रममा उत्कृट समुह जमानी मार्फत संस्था सगं वित्तीय कारोबार गर्ने केन्द्रहरुलाई समेत पुरुस्कृत गरिएको संस्थाले जनाएको छ । सो कार्यक्रम भोक्राहा नरसिह गाउँपालिकाको उपमेयर सुनिता कुमारी उराउ र इनरुवा नगरपालिका वडा नं ६ को वडाध्यक्ष सुमन थापा बिशेष आतिथ्यता रहेको थियो । उहाहरुले संस्थाहरुले जनताको घरदैलोमा पुगेर सहज र सरल रुपमा वित्तीय सेवा प्रदान गरिरहेकोमा शुभकामना ब्यक्त गरेका थिए । मेरोमाइक्रफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रही देशका ७ वटै प्रदेशमा १४९ शाखा कार्यालयमार्फत लघुवित्त सेवा प्रदान गरिरहेको छ ।
पर्सामा सवारीसाधनको जरिवानाबाट उठ्यो डेढ करोड रुपैयाँ
वीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षको आठ महिनामा सवारीसाधनको जरिवाना बापत एक करोड ५० लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले फागुन मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गरेका १५ हजार पाँच सय ९१ सवारीसाधनबाट सो राजस्व सङ्कलन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख भाष्कर खतिवडाले सो अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनबाट एक करोड ५७ लाख ६९ हजार छ सय छ रकम राजस्व सङ्कलन गरेको बताए । “गत आर्थिक वर्षको तुलनामा चालु आवको आठ महिनामा जरिवानाबापतको राजस्वको रकम केही घटेको छ”, उनले भने, “अहिले नयाँ टिभिआरएस सिस्टम लागू गरेका छौँ । विगतमा अधिकतम जरिवानाबाट सुरुवात गर्ने गरिन्थ्यो । तर, अहिले न्यूनतमबाट जरिवाना गर्दा केही राजस्व घटेको हो ।” ट्राफिक प्रहरीले जनचेतनाको कार्यक्रमलाई तीव्रता दिँदा पनि ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकको सङ्ख्यामा केही कमी आएको उनको भनाइ छ । कार्यालयका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने ट्रकको सङ्ख्या ६४ सय २५ छ । ट्रकबाट ८८ लाख १९ हजार रुपैयाँ दुई राजस्व सङ्कलन भएको छ । कार्यालयले ट्राफिक नियम उल्लङ्घन गर्ने एक सय ३२ बस कारबाहीमा परेका छन् । कारबाहीमा पर्ने बसबाट एक लाख ३० हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन भएको छ । त्यस्तैगरी ट्राफिक नियम उल्लङ्घन गर्ने काररजीपरभ्यानको सङ्ख्या एक हजार तीन सय २४ रहेको छ । ती सवारीसाधनबाट १२ लाख दुई हजार पाँच सय पाँच रकम राजस्व सङ्कलन भएको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने दुई पाङग्रे सवारीसाधनको सङ्ख्या सात हजार १२ रहेको छ । ती सवारीसाधनबाट ४९ लाख ८० हजार ५९ रकम राजस्व सङ्कलन भएको छ । कार्यालयले गत आर्थिक वर्षमा ट्राफिक नियम उल्लङ्घन गर्ने ३५ हजार पाँच सय ३४ सवारीसाधनलाई कारबाही गरेर तीन करोड ४२ लाख ६५ हजार रकम राजस्व सङ्कलन गरेको थियो । रासस
ह्याम्स अस्पतालले पायो ‘बेष्ट म्यानेज्ड हस्पिटल अफ दि इयर’ अवार्ड
काठमाडौं । ह्याम्स अस्पताल ‘बेष्ट म्यानेज्ड हस्पिटल अफ दि इयर’ अवार्डबाट सम्मानित भएको छ । न्यू बिजनेस एज प्रालिले आयोजना गरेको ‘न्यू बिज बिजनेस कन्क्लेभ एण्ड अवार्ड’को आठौं संस्करणमा ह्याम्स अस्पताललाई उक्त अवार्ड प्रदान गरिएको हो । अवार्ड ह्याम्सका अध्यक्ष आरएस भण्डारी तथा कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्मालाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा १० वटा संस्थागत र एउटा लाइफटाइम एचिभमेन्ट विधा गरी कूल ११ विधामा अवार्ड प्रदान गरिएको थियो । अन्य विधामा ‘बेष्ट म्यानेज्ड कम्पनी अफ दि इयर’, ‘बेष्ट म्यानेज्ड होटल अफ दि इयर’, ‘बेष्ट म्यानेज्ड हस्पिटल अफ दि इयर’, ‘बेष्ट म्यानेज्ड कमर्सियल बैंक अफ दि इयर’, ‘बेष्ट डेभलपमेन्ट बैंक अफ दि इयर’, ‘बेष्ट फाइनान्स कम्पनी अफ दि इयर’, ‘बेष्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ दि इयर’ र ‘बेष्ट ननलाइफ इन्स्योरेन्स कम्पनी अफ दि इयर’ विधामा अवार्ड वितरण गरिएको थियो ।
वाणिज्य बैंकमा ४५ हजारलाई जागिर, नयाँलाई सरकारी बैंकमा बढी अवसर
काठमाडौं । जागिर गर्ने भनेपछि कुनै पनि व्यक्तिको पहिलो रोजाईको क्षेत्र बैंकिङ हुन्छ । बैंकिङ क्षेत्र प्रतिष्ठित भएकाले रोजगारीका लागि अधिकांशको रोजाइमा पर्न थालेको हो । साथै, यस क्षेत्रमा काम अनुसारको सम्मान र पारिश्रमिक पाइने भएकाले पनि बैंकमा काम गर्न इच्छुक हुन्छन् । बैंकहरूले कर्मचारीलाई समय सापेक्ष सेवा सुविधा बढाउँदै जान्छन् । सोही अनुरूप कर्मचारीहरूले पारदर्शी ढंगले स्तरवृद्धि गर्नुका साथै दक्ष जनशक्ति नियुक्ति, पदस्थापना, सरुवा, वृत्ति विकास, कार्यसम्पादन मूल्याङ्कन, पुरस्कार तथा सजायका लागि आवश्यक नीति तयार पारी प्रभावकारी ढङ्गले कार्यान्वयन गर्दै आएका हुन्छन् । एक वर्षको अवधिमा साढे ७ हजार बढीलाई बैंकहरूले रोजगारीका रूपमा भित्र्याएका छन् । वाणिज्य बैंकहरूको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९/८० मा ४४ हजार ९४६ जना कर्मचारी बैंकमा कार्यरत छन् । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ३७ हजार १३० जना कर्मचारी कार्यरत थिए । अघिल्लो आर्थिक वर्षको तुलनामा गन वर्ष बैंकिङ क्षेत्रमा ७ हजार ८१६ जना नयाँ कर्मचारी थपिएका हुन् । राष्ट्रिय वाणिज्य बैंकले २३.८७ प्रतिशत अर्थात् ५१० जना थपेर २ हजार ६४६ जना कर्मचारी काम गरिरहेका छन् । यस्तै, नेपाल बैंकले १२.१८ प्रतिशत अर्थात् २९६ जना थपेर २ हजार ७२५ जना कर्मचारी, नबिल बैंकले ४.९२ प्रतिशत अर्थात् १०५ जना बढाएर २ हजार २३५ जना, सिद्धार्थ बैंकले ४.०६ प्रतिशत अर्थात् ७७ जना बढाएर १ हजार ९७० जना कार्यरत रहेका छन् । एभरेष्ट बैंकले ३.७८ प्रतिशत अर्थात् ४० जना थपेर १ हजार ९७ जना, सानिमा बैंकले २.४४ प्रतिशत अर्थात् ३१ जना बढाएर १ हजार ३०१ जना, प्राइम बैंकले २.४३ प्रतिशत अर्थात् ३९ जना बढाएर १ हजार ६३९ जना, कृषि विकास बैंकले २.३५ प्रतिशत अर्थात् ५५ जना थपेर २ हजार ३९१ जना कर्मचारी कार्यरत छन् । नेपाल एसबिआई बैंकले १.४२ प्रतिशत अर्थात् १३ जना थपेर ९२३ जना, एनएमबि बैंकले ०.९६ प्रतिशत अर्थात् १९ जना थपेर १ हजार ९८० जना काम गरिरहेका बैंकले जनाएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक, कुमारी बैंक, प्रभु बैंक र ग्लोबल आइएमई बैंकमा कर्मचारीको संख्या दोब्बर वृद्धि भएको देखिन्छ । यी बैंक मर्जरमा सामेल भएका कारण कर्मचारीको संख्या बढ्न पुगेको हो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)मा १११.५० प्रतिशत अर्थात् १ हजार ६९६ जना थपिएर ३ हजार २१७ जना कर्मचारी कार्यरत छन् । यस्तै, लक्ष्मी सनराइज बैंकमा ९३.४३ प्रतिशत अर्थात् १ हजार ३१० जना थपिएर २ हजार ७१२ जना कार्यरत छन् । हिमालयन बैंकमा ११२.६३ प्रतिशत अर्थात् ९१६ जना थपिएर १ हजार ९३५ जना कर्मचारी, कुमारी बैंकमा ७८.६४ प्रतिशत अर्थात् १ हजार ४५१ जना थपिएर ३ हजार २९६ जना कमर्चारी, प्रभु बैंकमा ४३.६६ प्रतिशत अर्थात् १ हजार ४५१ जना थपिएर ३ हजार ४८१ जना र ग्लोबल आइएमई बैंकमा २३.९७ प्रतिशत अर्थात् ७११ जना थपिएर ३ हजार ६७७ जना कर्मचारी कार्यरत रहेको तथ्याङ्क छ । तर, गत आर्थिक वर्ष विभिन्न ४ वटा वाणिज्य बैंकमा भने कर्मचारी संख्या घटेको तथ्याङ्क घटेको देखिन्छ । जसमध्ये सबैभन्दा धेरै एनआईसी एशिया बैंकमा कर्मचारी बाहिरिएका छन् । एनआईसी एशियाबाट १० प्रतिशत अर्थात् ४४२ जना कर्मचारी बाहिरिएर ३ हजार ९४३ जना मात्रै कर्मचारी कार्यरत छन् । यस्तै, सिटिजन्स बैंकले २.३८ प्रतिशत अर्थात् ४२ जना घटाएर १ हजार ७१६ जना, माछापुच्छ्रे बैंकले १.६४ प्रतिशत अर्थात् २६ जना घटाएर १ हजार ५५८ जना र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ०.१९ प्रतिशत अर्थात् १ जना कर्मचारी घटाएर ५०४ जना मात्रै कार्यरत रहेको तथ्याङ्क छ ।
लक्ष्मी सनराइज बैंकको बोनस सेयर सूचीकृत
काठमाडौं । लक्ष्मी सनराइज बैंकको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । बैंकको आज (चैत २० गते) मात्रै ७ प्रतिशत अर्थात एक करोड ५१ लाख ६९ हजार १६६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै, बैंकको बोनस सेयर सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पनि पाइने छ ।
सहकारी प्रकरणमा रास्वपाका नेताहरु मुछिएपछि गृहमन्त्री भन्छन् : प्रश्न उठ्दैमा आत्तिनु पर्दैन
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रश्न उठ्दैमा आत्तिहाल्नु नपर्ने बताएका छन् । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सञ्चारमाध्ययमा पार्टी सपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र पार्टी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको नाम पनि सहकारी प्रकरणमा मुसिएको बारेमा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै प्रश्न उठ्दैमा आत्तिन आवश्यक नरहेको जिकिर गरे । उनले समाचामा आउने सबै सत्य नहुने भन्दै उनले सत्य के हो त्यसको खोजि गरेर समाचार प्रकाशन एवं प्रशारण गर्न आग्रह गरे । एक जना पत्रकार र पत्रिकामा समाचार छापिने बित्तिकै दोष प्रमाणित नहुने बताए । प्रमाणित भएको कुरा र प्रचारबाजीमा फरक रहेको जिकिर गरे । ‘समाचार आएपछि पुग्यो, तपाईहरुले त्यसलाई हेर्नुपर्ने, प्रमाण खोज्नुपर्ने, सही हो की होइन, भन्नेकुरा । हेडलाइनमा एउटा क्वेशन राखेर ठगीमा ? भनेर क्वेशन राखिदिएको हो की, हत्कडी लगाएर प्रमाणित गरिदिएको हो की ? भन्नु नपर्ने ? छापिदिएपछि पुग्यो । साथीहरु त पत्रकार नै हुनुहुन्छ जस्तो लाग्छ, सबैजना । एउटा पत्रकारले, पत्रिकाले कतै लेखिदिएपछि त्यो प्रमाणित नै भन्ने मान्यता हामीले बनाउने हो भनेत सकिहाल्यो । प्रमाणित भएको कुरा र हल्ला, प्रचारबाजीमा फरक छ । प्रश्न उठ्दैमा आत्तिनुपर्ने कुरा छैन । सदनमा उठेका कुरा मैले सदनमा उभिएर बोल्न पाउनुपर्छ’, उनले भने । उनले सदनमा उठेका कुरामा आफूले जवाफ दिन पाउनुपर्ने माग गरे ।