विकासन्युज

झिनो अकंले घट्यो नेप्से परिसूचक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । मंगलबार नेप्से परिसूचक एक दशमलव ८५ प्रतिशतले घटेर दुई हजार १० दशमलव २१ को बिन्दुमा कायम भएको हो । आज तीन सय १२ कम्पनीको ६१ लाख ३१ हजार छ सय २१ कित्ता शेयर ४६ हजार दुई सय ३५ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब २९ करोड १६ लाख ४५ हजार पाँच सय ८५ बराबरको कारोबार भएको छ । आजको कारोबारमा वित्त समूह शून्य दशमलव ०३, लगानी शून्य दशमलव ०४, जीवन बीमा शून्य दशमलव १९, लघुवित्त एक दशमलव ८९, म्युचुअल फन्ड शून्य दशमलव ३० र व्यापार समूह शून्य दशमलव ३२ प्रतिशतले बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेको छ । आज बैंकिङ शून्य दशमलव १८, विकास बैंक शून्य दशमलव १६, होटल तथा पर्यटन शून्य दशमलव ५७, जलविद्युत् शून्य दशमलव ७९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३३, निर्जीवन बीमा शून्य दशमलव १७ र अन्य समूह शून्य दशमलव ७५ प्रतिशतले घटेको छ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने गणपत्ति लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ९५ र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आठ दशमलव ६४ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने ज्योति विकास बैंक बण्ड–२०८७ को शेयर मूल्य सात दशमलव ५० प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै गुर्खाज फाइनान्स लिमिटेडको रु १४ करोड ९८ लाख ८४ हजार नौ सय एक बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने प्रभु सेलेक्ट फण्डको तीन लाख २० हजार तीन सय ६४ कित्ता शेयर किनबेच भएको छ ।

भारतमा हुने निर्वाचनका कारण नेपाल इन्टरनेशनल टुरिजम एक्स्पोको मिति परिवर्तन

काठमाडौं ।  समिट इभेन्ट्स एण्ड मार्केट्सको आयोजना, नेपाल पर्यटन बोर्डको प्रर्वद्धन एवंं विभिन्न संघ संस्थाहरुको सहकार्यमा काठमाडौंमा आयोजना हुन गइरहेको नेपाल इन्टरनेशनल टुरिजम एक्स्पो नाइट २०२४ को मिति परिवर्तन गरिएको छ । भारतमा हुन  लागेको आसन्न निर्वाचनको कारण आवागमन बन्द रहने तथा कतिपय नेपाल भारत सीमा समेत बन्द रहने हुनाले भारत तथा भारत हुँदै नेपाल आउने विभिन्न देशका क्रेता तथा अन्य सहभागीहरुलाई नेपाल  आउन कठिनाई हुने देखिएपछि आयोजकले मिति परिर्वतन गरेको हो । आगामी जुन १ मा भारतको  कोलकाता, वाराणसी र बिहारमा निर्वाचन रहेको र मे २९ तारिखबाट सीमा नाका बन्द रहने भएकोले सबै सरोकारवालाहरूको सहभागिता र सुविधा सुनिश्चित गर्न कार्यक्रमको मिति परिर्वन गरिएको समिट इभेन्ट्स एण्ड मार्केट्सका संस्थापक विष्णु पाण्डेले जानकारी दिए । मे ३१ र जुन १ तारिखमा काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने भनिएको उक्त कार्यक्रम अब जुन १४र १५ माआयोजना हुनेछ । नेपाल इन्टरनेशनल टुरिज्म एक्स्पोले नेपालको समृद्ध प्राकृतिक र सांस्कृतिक सम्पदालाई हाइलाइटगर्दै विश्वपर्यटन समुदायभित्र अर्थपूर्ण सम्बन्ध र सहकार्यलाई प्रवर्द्धन गर्दै एउटा प्रमुखकार्यक्रम हुने लक्ष्य लिएको छ । नाइट एस्कपोमा २५० भन्दाबढी होस्ट गरिएका खरीदकर्ताएहरू, एक हजार भन्दा बढि ट्रेड आगन्तुकहरू, र १३० भन्दाबढी प्रदर्शकहरू सहित नेपाल, भारत, चीन, हङकङ, श्रीलंका, भुटान, बंगलादेश, माल्दिप्स, भियतनाम, थाइल्याण्ड, इन्डोनेसिया, मलेसिया, दुवई, टर्की, फिलिपिन्स र अजरबैजान गरि १६ भन्दाबढी देशहरूका प्रदर्शकहरूको सहभागिता रहने छ । एक्स्पोमा ट्राभल एजेन्सी, होटल, एयरलाइन्स, टुर अपरेटर लगायतका विभिन्न क्षेत्रका प्रदर्शकहरुको सहभागिता रहने पाण्डेले जानकारी दिए ।

प्रभु महालक्ष्मी लाइफको ब्राण्ड एम्बेसडर मनोज गजुरेल

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो ब्राण्ड एम्बेसडरमा प्रसिद्ध कलाकार मनोज गजुरेललाई नियुक्त गरेको छ । कलाकारिता क्षेत्रमा लामो समय बिताइ छुट्टै पहिचान बनाइसकेका गजुरेललाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ब्राण्ड एम्बेसडरको रुपमा सम्झौता गरेको छ । मंगलबार एक कार्यक्रम आयोजना गर्दै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । सम्झौता पत्रमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई तथा कलाकार गजुरेलले हस्ताक्षर गरे । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले कला र हास्यव्यंग्य क्षेत्रका नक्षत्रलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ‘ब्राण्ड एम्बेसडर’ नियुक्त गर्न पाउँदा निकै गौरवान्वित भएको बताए । कलाकारिताको माध्यमबाट जनमानसमा बस्न सफल गजुरेलज्यूको कम्पनीसँगको आवद्धताले कम्पनीको प्रचार प्रसारमा विशेष उचाइ लिने विश्वास व्यक्त गरे । कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बेसडर मनोज गजुरेलले जीवन बीमा जस्तो पवित्र कार्यमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्ससँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे । सम्झौतापछि ब्राण्ड एम्बेसडर गजुरेलले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सेवाहरुको प्रचारात्मक कार्य, कार्पोरेट ब्राण्ड प्रबर्धन तथा संरक्षण, सभा गोष्ठीहरुलाई सम्बोधन सम्बन्धी कार्यहरु गर्ने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले जनाएको छ । उक्त सम्झौता हाललाई एक वर्ष कायम रहने इन्स्योरेन्सले जनाएको छ ।

पाँच तारा सहकारीको आयोजनमा खुल्ला रक्तदान

काठमाडौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाले ६७औं राष्ट्रिय सहकारी दिवस तथा संस्थाको १६औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । भक्तपुर रेडक्रस सोसाइटीको प्रावधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा १२१ जनाले रक्तदान गरेका छन् । रक्तदाताहरुलाई प्रोत्साहनस्वरुप संस्थाले टिसर्ट र प्रमाणपत्र प्रदान गरेको छ । संस्थाले हरेक बर्ष सहकारी दिवसको अवसर पारेर रक्तदान गर्दै आएको अध्यक्ष भोला नाथ पाठकले जानकारी दिए । संस्थाले २०६७ सालदेखि निरन्तर सहकारी दिवसको अवसरमा रक्तदान गर्ने गरेको र सयौं सदस्यहरुले रक्तदानमा सहभागि हुने गरेको उनले बताए । संस्थाले र्याली समेत आयोजना गरेर समुदायलाई रक्तदानको महत्व र आवश्यकताको बारेमा जानकारी गराएको उनले बताए । ‘लाखौं पूजा करोडौ दान, त्यो भन्दा पुण्य रक्तदान’ भन्ने नाराका साथ पाँच ताराले रक्तदान गर्दै आएको अध्यक्ष पाठकको भनाई छ । कसैको घरमा विरामी नपर्दा र दुर्घटना नहुँदासम्म रक्तदानको मर्म थाहा नहुने उनले जनाए । सदस्यहरुमा रक्तदान गर्नुपर्छ भन्ने सचेतना संस्थाले दिन सकेको उनको भनाई छ । संस्थाले ५ पटकसम्म रक्तदान गर्ने रक्तदातालाई चाँदीको सिक्का प्रदान गर्दै आएको छ । कतिपय रक्तदाताले स्वयसेवी रुपमा नियमित रक्तदान गर्दै आएका छन् । १० पटकसम्म रक्तदान गर्ने सदस्यहरुलाई संस्थाले विशेष सम्मान गर्ने गरेको छ । संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागि भइ रक्तदान गर्ने सदस्यहरुलाई रेडक्रससँग समन्वय गरेर रगत आवश्यक परेको बेलामा सहजिकरण गर्दै आएको छ । आफुहरुलाई आवश्यक पर्दा संस्थाले सहजिकरण गरिदिन्छ भन्ने भावना विकास गर्न सकेकाले पनि धेरै सदस्य कार्यक्रममा सहभागि हुने गरेका छन् । जतिखेर रगत चाहियो, त्यतिखेर मात्र रगत खोज्ने परम्परा विद्यमान रहेको र त्यो परम्परालाई चिर्नुपर्छ भन्ने मान्यताले रक्तदान कार्यक्रम सुरु गरिएको उनले बताए । २०४५ सालदेखि नियमित रुपमा आफुले रक्तदान गर्दै आएको र एउटा बच्चाले रगत नपाएर मृत्युवरण गर्नु परेको कुराबाट अभिप्रेरित भएर यस अभियानमा लागेको अध्यक्ष पाठकले सुनाए । संस्थाले मानवीय र सामाजिक कार्यको रुपमा लिएर लामोसमय देखि रक्तदान गर्दै आएको छ । अहिले पनि विरामीले सजिलै रगत पाउन सकिराखेका छैनन । रक्तदान गर्ने गराउने संघ संस्थालाई राज्यले पहिचान गर्न नसकेको उनको भनाई छ । सहकारी लगायत अन्य सामाजिक संघसंस्थाले रक्तदानमा उलेख्य योगदान गर्दै आएको भए पनि त्यसको उचित कदर हुन नसकेको उनको भनाई छ । रक्तदान गर्ने संस्था र रक्तदाताहरुलाई समेटेर बर्षमा एक पटक सरकारले रक्तदाता सम्मेलन गर्नुपर्नेमा उनको जोड छ । संस्थाले स्थापना दिवसको अवसरमा साताव्यापी कार्यक्रम तय गरेको छ । जसअनुसार जेष्ठ नागरिकहरुलाई फलफुल वितरण, फुटसल प्रतियोगिता, सहकारी सम्बन्धी अन्तरक्रिया, ज्येष्ठ सदस्य समितिको आयोजनामा कविता वाचन प्रतियोगिता, कर्मचारीहरु बीचमा सहकारी अन्तक्र्रिया, बागमती प्रोस्कूनले सञ्चालन गरेको कोसिस कार्यक्रममा सम्झौता र अन्तिम दिन रक्तदाता र ज्येष्ठ सदस्यलाई सम्मान कार्यक्रम गर्ने भएको छ ।

१ खर्ब ६ अर्ब ऋण दायित्व थपिँदा मन्त्रालयहरूको बजेट घट्ने

काठमाडौं । आगामी आर्थिक वर्षमा संघीय मन्त्रालयहरुको बजेट सिलिङ घट्ने भएको छ । राष्ट्रिय योजना आयोगकाअनुसार सरकारको ऋण दायित्वका कारण संघीय मन्त्रालयहरुको बजेट आगामी आर्थिक वर्षमा घट्ने भएको हो । आर्थिक विकास तथा सुशासन समितिको मंगलबार बसेको बैठकमा बजेट पूर्वको छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठले बजेटको आकार बढेपनि सरकारको ऋण दायित्वका कारण संघीय मन्त्रालयहरुले प्राप्त गर्ने बजेट सिलिङ भने घट्ने बताए । आगामी आर्थिक वर्षमा ४९ अर्बले बजेटको आकार बढाएर १८ खर्बको बनाउँदा पनि १ खर्ब ६ अर्ब ऋण दायित्व थपिने हुँदा बाँडफाँट गरिने बजेट ५७ अर्बले घट्ने उनको भनाइ छ । त्यस्तै बैठकमा आगामी बजेटका लागि योजना आयोगले गरेका कामको सन्दर्भमा विषय प्रस्तुत गर्दै राष्ट्रिय योजना आयोगका सहसचिव महेश भट्टराईले संघीय मन्त्रालयहरुले आगामी आर्थिक वर्षका लागि २४ खर्ब १९ अर्ब ६३ करोड बराबरको बजेट अर्थात चालु आर्थिक वर्षको बजेटको तुलनामा ३८.१६ प्रतिशत बढी बजेट माग गरेको बताए । स्रोत अनुदान समितिले सबै संघीय मन्त्रालय र विभागसँग छलफल गरेर सिलिङ तयार गरिएको उनको भनाइ छ । सरकारले चालु आर्थिक वर्षमा १७ खर्ब ५१ अर्बको बजेट कार्यान्वयन गरिरहेको छ । जसमध्ये चालु खर्चतर्फ ११ खर्ब ४१, पुँजीगत खर्चतर्फ ३ खर्ब र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब बजेट विनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा संघीय स्तरका भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायतका मन्त्रालयहरुले विगतको तुलनामा बजेट प्राप्त गर्न नसकेको भन्दै गुनासो गरेका थिए । आगमी आर्थिक वर्षमा पनि संघीय मन्त्रालयहरुको बजेट सिलिङ थप घट्ने भएपछि सरकारका धेरै कार्यक्रम प्रभावित हुने देखिन्छ । उपाध्यक्ष रायमाझीले मागलाई सम्बोधन गर्नको लागि प्रधानमन्त्रीको नेतृत्वमा पहल भइरहेको समेत बताएका छन् । त्यसका लागि राजस्व चुहावट कम गर्ने, पुँजीगत खर्च संरचनामा सुधार गर्ने र दातृ निकायले दिने कार्यक्रमको खर्चमा सुधार गर्नसक्दा बजेटको आकारमा वृद्धि गर्न सकिने उनले बताए । उनले ती विषयहरु कार्यान्वयन गर्न सकिएमा बजेटको सिलिङ बढेर आउनपनि सक्ने बताए । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका उपाध्यक्ष बालानन्द पौडेलले बजेटको पूर्वानुमान गरेर बजेट प्रस्तुत गरिने अभ्यास भएकोमा पूर्वानुमान गर्ने क्षमतामा पनि विकास गर्न आवश्यक रहेको बताएका छन् । साथै उनले खर्च वृद्धि गर्ने प्रसंग उठिरहेको सन्दर्भ राख्दै खर्चको वृद्धि भन्दा पनि प्रभावकारितामा वृद्धि गर्नुपर्ने बताए । पौडेलले संघीय सरकारको तर्फबाट योजना र बजेट तोकेर शसर्त रुपमा दिने अनुदान बन्द हुनुपर्ने समेत धारणा राखेका छन् । अर्थसचिव डा कृष्णहरि पुष्करले अर्थमन्त्रालयले प्रधानमन्त्रीको प्रतिबद्धताअनुसार मन्त्रालयले काम गरिरहेको बताए । ‘अहिले सरकारको मुख्य विषय भनेको निराशा चिर्दै भरोसा जगाउँदै भन्ने छ’, उनले भने, ‘रसिया-युक्रेन, इजरायल-गाजा युद्ध, कोभिड महामारीको कारणले समस्या भएपनि देशको अर्थतन्त्र स्थिर भएको र विगतको भन्दा राम्रो भएको छ ।’ अर्थसचिव पुस्करले अर्थमन्त्रालयले अर्थतन्त्रको साझेदार निजी क्षेत्रसँग परामर्श लिएर र दिगो विकाससँग सम्बन्धित विषयहरुमा राष्ट्रिय योजना आयोगसँग मिलेर काम गरिरहेको बताएका छन् ।

लगानीका लागि बाधक ठानिएका ऐनमा सुधार हुन्छ : अर्थमन्त्री

काठमाडाैं । अर्थमन्त्री वर्षमान पुन अनन्तले लगानी सम्मेलनअघि लगानी वातावरण निर्माणका लागि बाधक ठानिएका करिब दर्जन कानून संशोधन गरिने बताएका छन् । नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की आवासीय प्रतिनिधि टेरेसा डबान सान्चेजसँग मंगलबार मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले लगानी प्रवद्र्धनका लागि बाधक ठानिएका प्रावधान संशोधन गरी लगानीमैत्री कानून बनाउने तयारी अन्तिम चरणमा पुगेको बताए । लगानी सम्मेलनको तयारी तीव्र रुपमा अघि बढेको उनको भनाइ थियो । लगानी वातावरण बनाउन संघीय संसदका दुवै सदनले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धनसम्बन्धी विधेयक पारित गरेको र बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक सरकारले संसदमा प्रस्तुत गरिसकेको जानकारी उनले दिए । मन्त्री पुनले सन् २०२६ भित्र नेपाल अति कम विकसित मुलुक (एलडीसी) बाट मध्यम आययुक्त विकासशील मुलुकमा स्तरोन्नति हुने तयारीमा रहेको भन्दै विकास साझेदार संस्थासँग सहुलीयतपूर्ण कर्जा लिने नीतिमा रहेको बताए । मन्त्री पुनले कोभिड–१९ महामारी र रुस–युक्रेन युद्धको प्रभावका कारण शिथिल भएको नेपाली अर्थतन्त्र क्रमशः सुधारको बाटोमा रहेको उल्लेख गरे । सरकारले राजश्व चुहावट नियन्त्रणका लागि विशेष कार्ययोजना बनाएर काम अघि बढाएको जनाए । कर प्रणाली सुधार सुझावसम्बन्धी समितिले हालै मात्र बुझाएको प्रतिवेदन अध्ययन चरणमा रहेको भन्दै उनले समितिको सुझावका आधारमा कर नीतिमा सुधार गर्ने बताए । विगतमाजस्तो ट्रेड युनियन समस्या नरहेको, राजनीतिक कारणले हुने बन्द, हड्तालको स्थिति अन्त्य भएको तथा नेपालका दुवै छिमेकी मुलुकले गरिरहेको तीव्र आर्थिक वृद्धिको सकारात्मक प्रभावका कारण नेपाल वैदेशिक लगानीका लागि उयपुक्त गन्तब्य भएको दाबी मन्त्री पुनको थियो । पुँजीगत खर्चको स्थिति सन्तोषजनक नरहेको स्वीकार गर्दै मन्त्री पुनले सरकारी निकायहरुको खर्च गर्ने क्षमता वृद्धि गरिने उल्लेख गरे । भेटमा आईएमएफकी आवासीय प्रतिनिधि सान्चेजले नेपालको पछिल्लो आर्थिक सूचक राम्रो रहेको बताइन् । नेपालको आर्थिक प्रणाली स्थिर रहेकामा पनि उनले प्रशंसा गरिन् । यस्तै उनले आगामी १६ र १७ वैशाखमा काठमाडौँमा हुने लगानी सम्मेलनमा आईएमएफका तर्फबाट उच्चस्तरको प्रतिनिधित्व हुने जानकारी मन्त्री पुनलाई गराइन् ।

पर्यटकीय राजधानी पोखरा भित्रने पर्यटकको तथ्याङ्क नै छैन

गण्डकी । पर्यटकीय राजधानी पोखरा भित्रने विदेशी पर्यटकको सङ्ख्या यकिन हुन सकेको छैन । नेपाल घुम्न आउने पर्यटकमध्ये आधा पर्यटक पोखरा भित्रने आङ्कलन गरिए पनि वास्तविक तथ्याङ्क कुनै निकायसँग पनि छैन । पर्यटकको विवरण राख्ने संरचना र प्रणाली नहुँदा पोखरा आउने पर्यटकको सङ्ख्या यकिन हुन नसकेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । ‘बर्सेनि पर्यटकको आवागमन वृद्धि हुँदै आएको छ तर हामी पहिलेकै अनुमानका भरमा छौँ’, उनले भने, ‘दैनिक, मासिक या वर्षमा कति विदेशी पर्यटक पोखरा प्रवेश गरे भन्ने आधिकारिक तथ्याङ्क अहिलेसम्म कसैले राख्न सकेको छैन ।’ पर्यटकको स्पष्ट तथ्याङ्क राख्न सकिएमा पर्यटनसम्बन्धी योजना तथा कार्यक्रम निर्माणमा सहजता हुने उनको भनाइ छ । यस सम्बन्धमा नेपाल पर्यटन बोर्डलगायत राज्यका निकायसँग पटकपटक माग गर्दा पनि सुनुवाइ नभएको अध्यक्ष श्रेष्ठले बताए । ‘पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेको अवस्थामा अब पर्यटकको तथ्याङ्क सङ्कलनका लागि तुरुन्त आवश्यक व्यवस्था गर्नुपर्छ’, उनले भने, ‘विमानस्थल र सडक नाकामा सूचना केन्द्रसहितका पर्यटक डेस्क राख्नुपर्छ ।’ अध्यक्ष श्रेष्ठले गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पोखरा भित्रने नाकामा पर्यटक डेस्क स्थापनाका लागि चासो लिए पनि कार्यान्वयन हुन नसकेको बताए । हवाई यात्राबाट आउने पर्यटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भएर पोखरा भित्रन्छन् । स्थलमार्गबाट भित्रने पर्यटक पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग र मध्यपहाडी लोकमार्ग हुँदै पोखरा आइपुग्छन् । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख नवीन पोखरेलले पर्यटकीय राजधानी आउने पर्यटकको यथार्थ विवरण राख्न नसक्नु कमजोरी रहेको बताए । बोर्डको पहलमा विमानस्थल र पर्यटक बसपार्कमा पर्यटकको तथ्याङ्क लिन आवश्यक तयारी गरिएको उनको भनाइ छ । ‘माइक्रोलगायत अन्य निजी सवारीसाधनबाट पर्यटक आइरहेका हुन्छन्, पोखरा जोडिने सडक नाका पनि धेरै छन्’, प्रमुख पोखरेलले भने, ‘पोखरामा रहेका पर्यटकस्तरीय होटलले सफ्टवेयर प्रणालीमार्फत पर्यटकको विवरण राख्न सकेमा मोटामोटी तथ्याङ्क आउँछ ।’ होटल व्यवसायीलाई दैनिक बास बसेका पर्यटकको विवरण दिन आग्रह गरिए पनि व्यवसायीले उपलब्ध नगराएको उनको भनाइ छ । तथ्याङ्क अन्दाज गर्ने विषय नभएको भन्दै उनले सम्बद्ध सबै पक्ष यसमा जिम्मेवार र जवाफदेही हुनुपर्ने बताए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख डा रबिन कडरियाले ‘एक्याप’ प्रवेश गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरिएको बताए । पोखरा आएकामध्ये झन्डै आधा पर्यटक मात्र ‘एक्याप’ को भ्रमण गर्छन् । ‘यस क्षेत्रमा सबैभन्दा बढी भारतीय पर्यटकीय आउँछन्, अन्नपूर्ण क्षेत्र पदयात्राका लागि विश्वमै आकर्षक गन्तव्य मानिन्छ’, उनले भने, ‘एक्यापले ठाउँठाउँमा चेकपोष्ट र पर्यटक सूचना केन्द्रमार्फत विदेशी पर्यटकको विवरण सङ्कलन गर्छ ।’ पर्यटकीय राजधानी पोखरा भित्रने पर्यटकको सङ्ख्यालाई तथ्याङ्क प्रणालीमा राख्न अब ढिलाइ गर्न नहुने डा कडरियाले बताए । पछिल्लो समय पोखरा आसपासका गन्तव्यमा भारतीय पर्यटकको सङ्ख्या उल्लेख्य वृद्धि भएको उनको भनाइ छ । प्राकृतिक सुन्दरता, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदिले यस क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको डा कडरियाले बताए । प्राचीन संस्कृति, कला र सभ्यताका दृष्टिले पनि पोखरा र सिङ्गो गण्डकी प्रदेश अगाडि छ । यहाँका जातीय पर्व, परम्परा र रीतिरिवाजले पनि पर्यटकलाई लोभ्याउने गर्छ । परम्परा झल्काउने गीत, नाच र झाँकी पोखराका सांस्कृतिक धरोहर हुन् । आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, स्तरीय आतिथ्यता र सेवासुविधालाई आधार मानेर पोखरालाई हालै पर्यटकीय राजधानी घोषणा गरिएको थियो । फ्रान्सेली नागरिक मौरिस हर्जगले सन् १९५० मा पहिलोपटक अन्नपूर्ण हिमाल आरोहण गरेसँगै पर्यटनमा बामे सरेको पोखरा अहिले विश्व पर्यटन बजारको ‘ब्रान्ड’ बनेको छ । रासस

कोशी प्रदेशमा भयावह सडक दुर्घटना, न्यूनीकरण गर्न के गर्ने ? 

धरान । उदयपुरको बेलका नगरपालिका—७ मैनामैनीमा यही चैत १ गते को १ ज २५९३ नम्बरको जीप दुर्घटनामा पर्यो । १७ जना यात्रु लिएर भोजपुरतर्फ जाँदै गरेको जीप कच्ची बाटोबाट चार सय मिटर तल खस्दा चालकसहित सातजनाको घटनास्थलमै ज्यान गयो भने एकजनाको उपचारका क्रममा अस्पतालमा ज्यान गयो । मैनामैनी दुर्घटनामा घाइते भएका नौजनामध्ये केहीको अहिले पनि उपचार भइरहेको छ । सोही दिन धरानबाट बराहक्षेत्रको चक्रघटी जाँदै गरेको बा २ ख २००० नम्बरको बस तीन ढ्वाङ्गे भन्ने ठाउँमा सडक नजिकैको रुखमा ठोक्किए दुर्घटनामा पर्यो । घटनामा कसैको ज्यान नगए पनि करिब १२ यात्रु घाइते भए । गम्भीर घाइतेलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएर उपचार गरियो । मैनामैनी र तीन ढ्वाङ्गेमा दुर्घटना हुनुभन्दा केही दिनअघि मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–७ मा पश्चिमबाट पूर्व जाँदै गरेको स १ ख ८१६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–०१६ प ४६७ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक सुर्योदय नगरपालिका–३ इलामका २४ वर्षीय प्रगति राईको मृत्यु भयो । पछिल्लो समय कोशी प्रदेशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनाका केही उदाहरण मात्र हुन् यी । प्रदेशका विभिन्न जिल्लामा हरेक दिनजसो यस्ता दुर्घटना भइरहेका छन् । यस्ता दुर्घटनामा परेर वर्षेनी सयौंले ज्यान गुमाइरहेका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको तथ्याङ्क अध्ययन गर्ने हो भने कोशी प्रदेशमा सवारी दुर्घटनामा परेर दैनिक एक जनाभन्दा बढिको ज्यान गइरहेको छ । चालू आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्म आठ महिनाको तथ्याङ्कअनुसार पुरुष २०६, महिला ४० र बालबालिका १६ सहित दुई सय ६२ जनाको ज्यान गइसकेको छ । यो तथ्याङ्कलाई विश्लेषण गर्दा सरदर मासिक ३३ जना अर्थात दिनमा एक जना भन्दा बढीको मृत्यु भएको छ । चालू आवको फागुनसम्ममा जम्मा दुई हजार एक सय ४२ वटा अर्थात दैनिक सरदर नौ वटा दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्याङ्क छ । ती दुर्घटनामा पाँच सय ५८ जना गम्भीर घाइते र तीन हजार ३५ जना साधारण घाइते भएका थिए ।  अघिल्ला आवहरुको अवस्था पनि उस्तै छ । अघिल्लो आव २०७९/८० मा प्रदेशभर तीन हजार पाँच सय १० वटा अर्थात दैनिक १० वटाको हाराहारीमा दुर्घटना भएका थिए । ती दुर्घटनामा परेर एक सय १९ पुरुष, ६८ महिला र २५ बालबालिका गरी जम्मा चार सय १४ जनाले ज्यान गुमाएका थिए भने गम्भीर घाइते आठ सय १० र साधारण घाइते हुनेको संख्या चार हजार सात सय ९७ थियो । आव २०७८/७९ मा तीन हजार आठ सय २० दुर्घटनामा जम्मा पाँच सय ३१ जनाको मृत्यु भएको थियो । त्यस वर्ष एक हजार दुई सय तीनजना गम्भीर र पाँच हजार चार सय ४५ जना साधारण घाइते भएका थिए । त्यस्तै, आव २०७७÷७८ मा तीन हजार एक सय ३१ वटा दुर्घटनामा परी चार सय ४४ जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको तथ्याङ्कमा उल्लेख छ । त्यस वर्ष एक हजार ८३ गम्भीर र तीन हजार सात सय ९३ जना साधारण घाइते भएका थिए । सवारी दुर्घटनाका विविध कारणमध्ये प्रमुख कारण मानवीय लापरबाही नै रहेको विभिन्न अध्ययनहरुले देखाएका छन् । ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको अध्ययन अनुसार कोशी प्रदेशमा भएका दुर्घटनामध्ये  ५३ प्रतिशत तीव्र गतिका कारण दुर्घटना भएको देखिएको छ । त्यस्तै चालकको लापरबाहीले १६ प्रतिशत, सडक प्रयोगकर्ताको असावधानीले १२ प्रतिशत, मादकपदार्थ सेवनका कारण १० प्रतिशत, लाइसेन्स बिनाका चालकले चलाएका सात प्रतिशत रहेको पाइन्छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेल पहाडी क्षेत्रमा लगातार भइरहेका दुर्घटनाको अध्ययन गर्दा गाउँपालिकाहरुले जथाभावी सडक खन्ने प्रवृत्ति पनि जिम्मेवार देखिएको बताउँछन् । उनी भन्छन्, ‘पहाडी क्षेत्रमा स्थानीयवासीले सडक माग गर्छन् तर स्थानीय तहहरुले कस्तो ठाउँमा कस्तो सडक निर्माण गर्ने भनेर अध्ययन नगरी जथाभावी सडक खन्ने गरेको पाइन्छ । ती सडकका कस्ता गाडी चलिरहेका छन् भनेर नियन्त्रण गर्ने संयन्त्र पनि छैन ।’ प्रहरी उपरीक्षक पौडेल सडकमा सवारी चालकको प्रतिस्पर्धाको भावनाले पनि दुर्घटना बढिरहेको बताउँछन् । माघ, फागुन जस्ता धेरै विवाह हुने महिनामा धेरै दुर्घटना हुने गरेको पाइएको उनको भनाइ छ । विवाहमा क्षमताभन्दा बढी मान्छे चढाउने प्रवृत्ति बढिरहेका कारण पनि दुर्घटनाको जोखिम बढेको उनी बताउँछन् । उनी भन्छन्, ‘दुर्घटना बढिरहनु चिन्ताको विषय हो । यसलाई शून्यमै झार्न त सकिँदैन तर सचेतना अपनाउने हो भने न्यूनीकरण गर्न सकिन्छ ।’ नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राई सडक दुर्घटना बढ्नुमा चालकलाई मात्र दोष दिने प्रवृत्ति रहेको बताउँदै समग्रमा चालक मात्र नभई सडक प्रयोग गर्ने सबै जनाको त्रुटि रहेको दाबी गर्छन् । भौतिक, मानवीय, यान्त्रिक र पर्यावरणीय गरी दुर्घटनाका प्रमुख चार कारण रहेको बताउँदै उनी भन्छन्, ‘सडक सुरक्षा मापदण्ड अनुसार बनेका छैनन् । सडक निर्माणमा ढिलासुस्ती हुँदा पनि दुर्घटना बढेको छ । यी सबै कुरालाई ख्याल गर्नु आवश्यक छ ।’ डेढ दशकदेखि नेपालमा ट्राफिक व्यवस्थापनका लागि अभियान सञ्चालन गर्दै आउनु भएका विष्णुकुमार राई नेपालमा दुर्घटना बढिरहनुको प्रमुख कारण चालकहरुमा प्रशिक्षण र परीक्षणको कमी रहेको र लाइसेन्स दिने तरिका नै गलत भएको बताउँछन् । ‘यातायात सञ्चालनको नियम संसारमा एउटै हुनुपर्छ तर नेपालमा चालकले गाडी नियन्त्रण गर्न सक्यो भने ठीक छ भनेर लाइसेन्स दिने चलन छ, त्यो गलत हो,’ विदेशमा लामो समय ट्राफिक व्यवस्थापनको अनुभव बटुल्नु भएका अभियन्ता राई भन्छन्, ‘चालकलाई राजमार्गमा, बस्ती भएका ठाउँमा र भत्किएको सडकमा कसरी चलाउने भनेर छुट्टाछुट्टै प्रशिक्षण दिनुपर्छ अनि कसरी चलाउँछ भनेर राम्रो परीक्षण गर्नुपर्छ ।’ न्यूनीकरण गर्न के गर्ने ?  सवारी दुर्घटनाका कारणहरुमा चालकको लापरबाही, मादकपदार्थ सेवनजस्ता सदाबहार कारणसँगै केही मौसमी कारण पनि देखिन्छन् । विवाहको मौसममा हुने लापरबाही, हुस्सु लाग्ने महिनामा अगाडिको गाडी नदेख्दा ठोक्किने घटना पनि हुने गरेका छन् । यसको न्यूनीकरणका लागि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरेको छ । मादकपदार्थ सेवन र लागुऔषध सेवन परीक्षण गर्ने काम पनि गरिरहेको प्रहरी उपरीक्षक पौडेल बताउँछन् । उनी भन्छन्, ‘लापसे (लागुपदार्थ सेवन) परीक्षण गर्न किट महँगो छ । यसको परीक्षणको कानुनी मान्यता पनि प्राप्त नभएकाले समस्या छ । दुर्घटना न्यूनीकरण गर्न आवश्यक प्रयास गरिरहेका छौँ ।’ नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई सडक दुर्घटनामा मानवीय त्रृटि कम गर्न स्कुलदेखि कलेजसम्म सडक दुर्घटनासम्बन्धी पाठ्यक्रम बनाएर पठनपाठन गराउनुपर्ने बताउँछन् । ट्राफिक प्रहरीको ध्यान राजस्व सङ्कलनमा मात्र गएको तर सचेतनामा कम रहेको बताउँदै उनी भन्छन्, ‘हामीले आफ्नो तर्फबाट यातायात मजदुरलाई दुर्घटना न्यूनीकरणका लागि संवेदनशील बन्न सचेत गराउँदै आएका छौँ । सबै क्षेत्रबाट न्यूनीकरणको पहल हुन जरुरी छ । दुर्घटना न्यूनीकरणका लागि राज्यले विशेष संयन्त्र बनाउनु आवश्यक छ ।’ ट्राफिक व्यवस्थापन अभियन्ता विष्णुकुमार राई नेपालमा लाइसेन्स दिने प्रक्रिया लापरबाहीपूर्ण र सजिलो भएकाले चालकहरु दक्ष नभई सडकमा आउने गरेकाले दुर्घटना धेरै हुने गरेको भन्दै त्यस्तो प्रचलन रोक्नुपर्ने बताउँछन् । विदेशमा पनि नेपालीहरु दुर्घटना धेरै पर्ने कारण नेपालको प्रशिक्षण र परीक्षण कमजोर रहेको बताउँदै भन्छन्, ‘गाडी चलाउनु भनेको आफू र धेरै मानिसको जीवन हातमा राखेर हिँड्नु हो । राम्रो प्रशिक्षण बिना सडकमा गाडी चलाउन रोक लगाउन सके मात्र दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ।’ रासस