ग्लोबल आइएमई लघुवित्तको संस्थापक सेयर बिक्रीमा
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्री राखेको छ । संस्थाले बुधबार एक सूचना जारी गर्दै संस्थाको विद्यमान संस्थापक सेयरधनीका नाममा रहेको ८ हजार ७ सय ११ कित्ता सेयर बिक्रीमा राखेको जनाएको हो । इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात र आफूले लिन चाहेको सेयर संख्या खुलाई पोखरामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ । संस्थाका अनुसार तोकेको मितिसम्म सेयर खरिदका लागि कुनै आवेदन नआएमा विद्यमान संस्थापक बाहेक अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने छ ।
प्रभु बैंकको १ लाख ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने
काठमाडौं । प्रभु बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको १ लाख कित्ता बढी सेयर बिक्री राखेको छ । बैंकले बुधबार सूचना प्रकाशन गरी संस्थापक सेयरधनीहरू चिरञ्जीवी श्रेष्ठ, गोविन्दप्रसाद ज्ञवली र भारतीकुमारी आचार्यको स्वामित्वमा रहेको १ लाख ६० हजार २०९ कित्ता संस्थापक सेयर बिक्रमा राखिएको जनाएको छ । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरू वा अन्य जोसुकै व्यक्ति वा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र बबरमहलमा रहेको बैंकको केन्द्रीय कार्यालयमा नेपाल राष्ट्र बैंकले तोके बमोजिमको फिट एण्ड टेष्टको मापदण्ड पुरा हुने कागजातसहित आवेदन दिनुपर्नेछ ।
स्वीस उद्यमीलाई नेपालमा लगानी गर्न आह्वान
काठमाडौं । सरकारले स्वीटजरल्याण्डका उद्यमी–व्यवसायीलाई नेपालमा लगानीका निम्ति प्रोत्साहित गर्न स्वीस सरकारसँग अनुरोध गरेको छ । आगामी महिना यहाँ आयोजना हुने लगानी सम्मेलनमा उनीहरूको सक्रिय सहभागिताका निम्ति प्रोत्साहन गर्न स्वीस सरकारलाई सरकारले अनुरोध गरेको हो । नेपाल–स्वीटजरल्याण्ड परामर्श संयन्त्रको मङ्गलबार बेर्नमा सम्पन्न बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकालले उक्त आह्वान गरेको जेनेभास्थित नेपालको राजदूतावासले जनाएको छ । बैठकमा नेपाल–स्वीटजरल्याण्ड सम्बन्धका समग्र पक्षका साथै आर्थिक, विकास साझेदारी, बहुपक्षीय मञ्चमा सहयोग आदानप्रदान, मानवअधिकार तथा जलवायु परिवर्तनलगायत विश्वले सामना गर्नुपरेका सामयिक विषयमा पनि विचारविमर्श भएको थियो । दुवै देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदान, अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नतिका निम्ति नेपालले गरेका प्रयास, दिगो विकास लक्ष्य हासिलमा भएका प्रगति, नेपाल–स्वीटजरल्याण्ड व्यापार, लगानी, पर्यटन, विज्ञान तथा प्रविधि र व्यावसायिक तालिमबारे बैठकमा छलफल भएको उक्त दूतावासले जनाएको छ । नेपाली प्रतिनिधिमण्डलका प्रमुख सहसचिव ढकालले स्वीस सरकारको प्राथमिकतामा नेपाललाई राखिएकामा आभार व्यक्त गरे भने स्वीस सरकारका प्रतिनिधि हेनरिच सेलेनवर्गले नेपालको विकास प्रयासमा स्वीस सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । पारस्परिक सहायताका सम्बन्धमा छलफल गर्न सन् २०१५ मा उक्त संयन्त्र स्थापना भएको हो । संयन्त्रको अर्को बैठक दुवै पक्षलाई अनुकूल हुने समयमा काठमाडौंमा हुने छ ।
प्रहरीले जुवाडेबाट उठायो २ करोड ६३ लाख जरिवाना
काठमाडौं । नेपाल प्रहरीले चालु आर्थिक वर्षको आठ महिनामा देशका विभिन्न स्थानमा जुवातास खेल्ने १ हजार ८ सय १७ व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार चालु आवको साउनदेखि फागुन मसान्तसम्म देशका विभिन्न भागमा जुवातास खेल्नेलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौं उपत्यकाबाट ७ सय ७९, कोशी प्रदेशबाट १ सय १५, बागमती प्रदेशबाट १ सय १३, गण्डकी प्रदेशबाट २ सय ९९, लुम्बिनी प्रदेशबाट ९४, कर्णाली प्रदेशबाट १ सय ४ र सुदूरपश्चिम प्रदेशबाट ३ सय १३ जना रहेका छन् । उक्त अवधिमा प्रहरीले उनीहरूको साथबाट २ करोड ६३ लाख ४५ हजार ४ सय १७ रुपैयाँ बरामद गरेको केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । उक्त अवधिमा प्रहरीले जुवातास खेल्नेबाट ५ सय ५४ बुक तास र २ सय ५० थान कौडा बरामद गरेको छ । ‘जुवा खेलेको विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेका हौँ,’ प्रवक्ता ढकालले भने । मुलुकी अपराध संहिता, २०७४ ले जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने दफाअन्तर्गत पहिलोपटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिवाना गर्ने कानुनी व्यवस्था रहेको छ । यसैगरी दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसुरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था रहेको छ । जुवा खेल्न प्रयोग भएको साधन र जुवाबाट प्राप्त सम्पूर्ण चलअचल सम्पत्ति जफत हुने कानुनी प्रावधान समेत छ ।
पेट्रोलियम पदार्थ अन्वेषणका लागि ‘ड्रिलिङ सर्भे’ सुरु
सुर्खेत । दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि ‘ड्रिलिङ सर्भे’को काम सुरु भएको छ । ड्रिलिङ सर्भेका लागि आवश्यक उपकरण चीनबाट अन्वेषण स्थलसम्म ल्याइसकिएको छ । विसं २०७६ असोजदेखि पेट्रोलियम पदार्थ अन्वेषणको काम सुरु गरिएको थियो । अब अन्तिम ड्रिलिङ सर्भेको काम सुरु भएको हो । त्यसका लागि नेपालगञ्ज नाका रुपैडियामा रोकिएका ठूला उपकरण ल्याउन थालिएको छ । ती उपकरण राख्ने फाउण्डेशन तयारी भइसकेको छ । मेशिन चीनबाट कलकत्ता हुँदै अन्वेषण स्थलमा ल्याइएको हो । शनिबार साँझ उपकरण बोकेको तीन वटा ट्रक दैलेख आएसँगै दैनिक तीन चरण समय मिलाएर काम सुरु भएको छ । अन्वेषण परियोजनाले २४सै घण्टा तीन चरणमा समय विभाजन गरी काम गर्ने जनाएको छ । काम सुरु भएपछि सशस्त्र प्रहरी बलले सुरक्षा दिने व्यवस्था मिलाएको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए । ‘चीनबाट सामान आउन थालिसकेका छन्,’ प्रजिअ भुसालले भने, ‘काम दिनरात गर्ने कार्य योजनाअनुसार सशस्त्र प्रहरीलाई सुरक्षा जिम्मेवारी दिएका छौँ ।’ तत्कालका लागि चिनियाँ टोलीसँगै स्थानीय १२ जनालाई अन्वेषण परियोजनाले रोजगारी दिएको छ । काम अघि बढेपछि थप स्थानीयले रोजगारी पाउने परियोजनाले जनाएको छ । अब अन्तिम परिणाम सहितको अन्वेषण भएकाले दैलेखमा कति क्षमता (भण्डारण) को पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लाग्ने र गहिराइ पनि मापन हुने भूगर्भ विभागका पेट्रोलियम अन्वेषण परियोजना प्रमुख दिनेश नापितले बताए। ‘ड्रिलिङ हुने स्थानमा फाउण्डेशनलगायत सबै तयारी पूरा भएको छ,’ परियोजना प्रमुख दिनेश नापितले भने, ‘मेशिन आइपुगेपछि ड्रिलिङ गर्ने काम सुरु हुन्छ ।’ उनका अनुसार ड्रिलिङ भएको चारदेखि पाँच महिनाभित्र अन्वेषणको काम सकिनेछ । उपकरण ल्याउनकै लागि सडक डिभिजन सुर्खेतले सडकको मोड फराकिलो पार्न ४ करोड ३६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरी सडकका मोड चौडा बनाएको छ । १५ मिटर लम्बाइ र ४० देखि ४५ टनको ठूलो ड्रिलिङ मेसिन ल्याउन सडक साघुँरो हुँदा फराकिलो बनाउनु परेको हो । नेपाल र चीनको प्राविधिक टोलीले पहिलो चरणअन्तर्गत ‘सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे’ गरी चार वटा सर्भे गरिसकेका छन् । दैलेखको पेट्रोलियम पदार्थको अन्वेषणका लागि खानी तथा भूगर्भ विभाग र चिनियाँ जिओलोजिकल सर्भे कम्पनीसँग २ अर्ब ४० करोड रुपैयाँको आर्थिक तथा प्राविधिक सहयोगमा खानी अन्वेषण र उत्खननको काम सम्पन्न गर्ने सम्झौता भएको थियो । भैरवी गाउँपालिका–१ जलजलेका २७ घरपरिवारको ४५ रोपनी जग्गाको मुआब्जा विवाद समाधान गरी सरकारले प्रतिरोपनी १ लाख ७५ हजार रुपैयाँका दरले मुआब्जा दिइ अधिग्रहण गरिसकेको छ ।
अन्नपूर्ण क्षेत्रमा भित्रिए ३० हजार पर्यटक
गण्डकी । एक महिनामा ३० हजार १ सय ९९ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार दक्षिण एसियाली मुलुकका १४ हजार ६ सय ६८ र अन्य देशका १५ हजार ५ सय ३१ जना पर्यटकले गत मार्चमा उक्त क्षेत्रको भ्रमण गरेका हुन् । अन्नपूर्ण चक्रीय पदमार्ग विश्वभरका पदयात्री पर्यटकको रोजाइमा रहेकाले चिसो याम समाप्त भएसँगै पर्यटक आगमन बाक्लिएको एक्यापका प्रमुख डा. रविन कडरियाले बताए । ‘वैशाखको अन्त्यसम्ममा यस क्षेत्रमा भित्रने पर्यटकको सङ्ख्या अझ बढ्छ,’ उनले भने, ‘असोज–कात्तिक र चैत–वैशाख पदयात्रा पर्यटनका लागि उत्तम मानिन्छ ।’ यी दुवै याममा अन्नपूर्ण क्षेत्रको पदयात्राका लागि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको उनले बताए । अघिल्लो वर्ष १ सय ७३ देशका १ लाख ९१ हजार ५ सय ५८ पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका थिए । यो संख्या हालसम्मकै बढी भएको आयोनजा उनले जानकारी दिए । त्यसअघि सबैभन्दा बढी सन् २०१९ मा एक लाख ८१ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । सन् २०२१ मा १६ हजार १ सय पाँच पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । सन् २०२२ मा १ लाख २९ हजार ७ सय ३३ पर्यटक आएका थिए । पछिल्लो समय यो क्षेत्रको भ्रमणमा आउने भारतीय पर्यटकको सङ्ख्यामा वृद्धि भए पनि तेस्रो मुलुकका पर्यटकको आगमन भने घट्दै गएको आयोजना प्रमुख कडरियाले बताए । ‘पुराना पदमार्ग विस्थापित हुँदै जाँदा पदयात्राका लागि आउने युरोप–अमेरिकाका पर्यटकको संख्यामा केही कमी आएको देखिन्छ,’ उनले भने । अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायत गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । सात हजार ६ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता र संस्कृतिका कारण पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
बढ्न थाले कोरोनाका बिरामी, सातामै २८ जनामा देखियो सङ्क्रमण
काठमाडौं । मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन् । मौसम परिवर्तनसँगै व्यक्तिमा रुघाखोकी, ज्वरो, फ्लु देखिन थालेको चिकित्सकले बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार विगत एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । ती सङ्क्रमितमा सुदूरपश्चिम प्रदेशमा भारतबाट आएका रहेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. युवानिधि बसौला कोरोना सङ्क्रमित फाट्टफुट्ट उपचारका लागि अस्पतालमा आउने गरेको बताउँछन् । ‘मौसममा आएको परिवर्तनसँगै रुघाखोकी र ज्वरोका बिरामी आउने गरेका छन्’, उनले भने, ‘तर बाहिर हल्ला गरेजस्तो कोरोना सङ्क्रमित अस्पतालमा छैनन् ।’ निर्देशक डा बसौलाका अनुसार अहिले तीन सङ्क्रमितले सघन उपचार कक्ष (आइसीयु) र दुई जनाले श्ययामा उपचार गराइरहेका छन् । अन्य अस्पतालमा आइसोलेसन नभएर टेकु अस्पतालमा बिरामी आउने गरेको उनले बताए । मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले भारतमा पुस महिनामा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन-१ देखिएसँगै नेपालमा पनि कोरोनाका बिरामी देखिएको बताए । ‘भारतमा देखिएपछि नेपालमा पनि फाट्टफुट्ट बिरामी देखिएका हुन’, उनले भने, ‘तर अहिले भने बाहिर हल्ला गरेजस्तो कोरोना सङ्क्रमित छैनन् । अहिले मौसम परिवर्तनसँगै फ्लुका बिरामी देखिएका हुन् ।’ नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन-१ पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले कोरोना भाइरसविरुद्धको खोप नलगाएका व्यक्ति, दीर्घरोगी र ज्येष्ठ नागरिक अझै पनि जोखिममा रहेको बताए । कोरोनाबाट बच्नका लागि स्वास्थ्य सतर्कता अपनाउनुपर्नेमा उनले जोड दिए । रासस
एक जना प्राविधिकको भरमा ६० वटा योजना, कार्यान्वयन र अनुगमनमा समस्या
म्याग्दी । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले चालु आर्थिक वर्षमा ६० वटा सिँचाइका योजना सञ्चालन गरेको छ । ती सबै योजनाको प्राविधिक जिम्मेवारी एकजना सब इन्जिनियरलाई तोकिएको छ । सर्वेक्षण, लागत अनुमान तयार, नापजाँच, अनुगमन र मूल्याङ्कन गर्ने जिम्मेवारी सब इन्जिनियर अञ्जन खत्रीलाई तोकिएको हो । म्याग्दी भौगोलिक रुपमा विकट र दुर्गम हिमाली जिल्ला हो । ‘नमिलेको भूगोल र अधिकांश कच्ची सडक भएको म्याग्दीका सबै सिँचाइ योजनाको जिम्मेवारी मेरै काँधमा छ,’ इन्जिनियर खत्रीले भने- ‘सबै काम एक्लै गर्नुपर्दा योजना कार्यान्वयनमा समस्या छ ।’ सो कार्यालयको सिँचाइ तर्फ एकजना इन्जिनियर, एकजना छैटौँ तहका र एकजना पाचौँ तहका सब इन्जिनियरको दरबन्दी भएकोमा अधिकृत छैटौँ तहका खत्री बाहेक दुई वटा दरबन्दी रिक्त छ । प्राविधिक जनशक्तिको कमी र योजनाको सङ्ख्या धेरै हुँदा कार्यान्वयन र अनुगमनमा समस्या भएको खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय प्रमुख झलकमोहन ओझाले बताए । एकजना प्राविधिकको भरमा ६० वटा सिँचाइका योजना कार्यान्वयन गर्नुपर्दा समस्या भएको प्रमूख ओझाको भनाइ छ । उनका अनुसार एक्लै प्राविधिक भए पनि राति, साँझ, बिहानको समयमा काम गरेर सिँचाइका ६० मध्ये ५० वटा योजनाको सम्झौता भइ कार्यान्वयनको चरणमा छन् । चालु आर्थिक वर्षमा खानेपानी, सिँचाइ र नदी नियन्त्रणसम्बन्धी एक सय २० वटा योजनाका लागि पुँजीगत तर्फ १६ करोड ६८ लाख १० हजार रुपैयाँ बजेट विनियोजन भएको थियो । चैत दोस्रो सातासम्म १४ प्रतिशत अर्थात दुई करोड ३० लाख रुपैयाँ खर्च भएको लेखा शाखाका प्रमुख नारायण सुवेदीले जानकारी दिए । ९० वटा योजना सम्झौता भएकोमा १५ वटा योजना निर्माण सम्पन्न भएका छन् । विकास योजनालाई गुणस्तरीय र प्रभावकारी रुपमा कार्यान्वयन गर्न टुक्रे योजना कटौती गरेर ठूला आयोजनामा बजेट केन्द्रित गर्न नीतिगत सुधार गर्नुपर्ने गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताए । रासस