विकासन्युज

उपनिर्वाचन : इलाम-२ मा मुख्य निर्वाचन अधिकृत तोकियो

इलाम । आगामी वैशाख १५ मा हुने इलाम क्षेत्र–२ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मङ्गलबार मुख्य निर्वाचन अधिकृत तोकेको हो । यही चैत २२ मा इलाम सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । उपनिर्वाचन कार्यतालिकाअनुसार चैत २४ मा उम्मेदवारी मनोनयन हुनेछ । उपनिर्वाचन भाग लिन आयोगमा २० दल दर्ता भएका छन् । निर्वाचनका लागि केन्द्रबाट आवश्यक सामग्री चैत २३ सम्ममा आइपुग्ने उक्त कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयले निर्वाचनमा खटिने कर्मचारीको नामावली सङ्कलन गरिसकेको छ । इलाम २ मा ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहनेछन् । यी केन्द्रमा आठ सय ९४ जना कर्मचारी परिचालन हुनेछन् । निर्वाचन आयोगकाअनुसार चैत २७ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने छ ।

७ दिनभित्र नेपालीपन झल्कने गरी विद्यालयको नाम नराखे भर्ना रोक्ने काठमाडौं महानगरको चेतावनी

काठमाडौं । काठमाडौं महानगरभित्रका संस्थागत विद्यालयहरूलाई नेपाली नाम राख्न निर्देशन दिएको काठमाडौं महानगरपालिकाले सात दिनभित्र नेपालीपन झल्कने गरी विद्यालयको नामकरण नगरे भर्ना प्रक्रिया रोक्ने चेतावनी दिएको छ । बुधबार एक सूचना जारी गर्दै महानगरले आफ्नो मातहतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न समय सीमा तोकेको हो । महानगरले शिक्षा नियमावली, २०५९ को नियम १५४ (१) तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था रहेको स्मरण मौलिक नामकरणको प्रक्रिया अगाडि नबढाए विद्यार्थी भर्ना प्रक्रियामा रोक लगाउने चेतावनी दिएको हो । महानगरले विद्यालयको मौलिक नामकरणका लागि विद्यालय व्यवस्थापन समितिबाट प्रस्तावित नाम निर्णय गराएर ३५ दिनभित्र निवेदन पेस गर्न पनि निर्देशन दिएको छ ।

एशियन लाइफ १७औं वर्षमा प्रवेश, पर्यटनदेखि जलविद्युतसम्म लगानी विविधिकरण

काठमाडौं । विसं २०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको एशियन लाईफ इन्स्योरेन्स १६ वर्ष पूरा गरी १७ वर्षमा प्रवेश गरेको छ । कम्पनी ऐनबमोजिम २०६४ साल कात्तिक २७ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको यस कपनीले नेपाल बीमा प्राधिकरण (तत्कालीन बीमा समिति)बाट बीमा ऐन, २०४९, को दफा १० (३) तथा बीमा नियमावली २०४९ को नियम ८ (१) बमोजिम बीमकका रूपमा जीवन बीमा व्यवसायको कारोबार गर्न स्वीकृति पाएको थियो । बैंकिङ, फाइनान्स, इन्स्योरेन्स, ट्रेडिङ, उत्पादन, व्यापार तथा विभिन्न व्यावसाय क्षेत्रमा लामो समयदेखि आबद्ध रहेका तथा अनुभव हासिल गरेका व्यक्ति/संस्थाले यस कम्पनीको संस्थापना गरेका हुन् । १७ वर्षको अवधिमा यस कम्पनीले देशरैभरि १३९ वटा शाखा कार्यालयमार्फत बीमासम्बन्धी सेवा दिइरहेको छ । १ लाख १३ हजारभन्दा बढी अभिकर्ताले सर्वाधिक, अग्रिम भुक्तानी, बालबालिका, म्यादी, लघु, वैदेशिक रोजगारी म्यादी बीमा योजना बिक्री गरिरहेका छन् । जीवन बीमा सेवा प्रवाह गर्दै बीमित र सेयरधनीलाई उच्च प्रतिफल प्रदान गर्न कम्पनी कटिबद्ध रहेको कम्पनीको भनाइ छ । पछिल्लो तथ्यांकअनुसार कम्पनीले जीवन बीमाकोष ४१ अर्ब ३० करोड रुपैयाँ पुर्याएको छ । फागुन मसान्तसम्मको तथ्यांकअनुसार कम्पनीले ४९ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । साथै, चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ५ अर्ब १५ करोड ८७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको कम्पनीले जनाएको छ । लगानी विविधिकरण हवाई, होटल तथा पर्यटन, जलविद्युत, बैंक लगायतका क्षेत्रमा कम्पनीले हालसम्म ४६ अर्ब १० करोड रुपैयाँ कुल लगानी गरेको जनाएको छ । बीमा कम्पनीहरूमा क्यापिटल कम्पनी, हवाई तथा होटल क्षेत्रमा लगानी गर्ने एशियन लाइफ पहिलो कम्पनी हो । होटल क्षेत्रका दुई वटा चार तारे होटलमा लगानी रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विभिन्न ५ वटा जलविद्युत आयोजना र निर्जीवन बीमा कम्पनी (नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स)मा समेत लगानी गरेको छ । यस्तै, वाणिज्य बैंकहरूमा प्रभु बैंकको समेत सेयर खरिद गरेर आफ्नो लगानी विविधिकरण गरेको छ । कम्पनीमा ४३६ जना कर्मचारी कार्यरत छन् । जसमध्ये ३५ प्रतिशत अर्थात् १५८ महिला कर्मचारी रहेको कम्पनीले जनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ छ । बीमा प्राधिकरणले तोकेको पुँजी पुर्याउन कम्पनीले ४२ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने छ । हकप्रद सेयर निष्काशनपश्चात् कम्पनीको पुँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।  

म्याग्दीको विकट गाउँ सडक सञ्जालमा जोडियो

म्याग्दी । म्याग्दीको विकट क्षेत्रमा अवस्थित धवलागिरि गाउँपालिका–४ को खिवाङगाउँ सडक सञ्जालमा जोडिएको छ । धवलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाको लगानीमा खिवाङगाउँ सडक सञ्जालमा जोडिएको हो । धवलागिरि गाउँपालिका–४ का वडाध्यक्ष याम घर्तीमगरले लामो छहरा केङ्कीबाट खिवाङ जोड्ने करिब तीन किलोमिटर सडक निर्माण भएको बताए । ‘खाम्ला–केंकी–नाउरा हुँदै बगर जोड्ने मूल सडक निर्माण भइरहेको छ,’ उनले भने, ‘केंकबाट खिवाङ जोड्ने शाखा सडक निर्माण हालै पूरा भएको हो ।’ सडक निर्माण भएपछि खिवाङका १ सय ८० घरपरिवार लाभान्वित भएका उनले बताए । उक्त सडकमा मोटरसाइकल, जिप र ट्रयाक्टर चल्न थालेका छन् । ६५ मेगावाट क्षमताको म्याग्दीखोला, ५३ मेगावाटको अपर म्याग्दी (१) र ३७ मेगावाटको अपर म्याग्दीखोला जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनीको संयुक्त लगानीमा खिवाङलाई सडक सञ्जालले जोडिएको गाउँपालिकाले जनाएको छ । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले हालसम्म सडक नपुगेको खिवाङ गाउँलाई यातायात सञ्जालमा जोड्न निर्माणाधीन जलविद्युत आयोजनासँग समन्वय गरिएको बताए । अपर म्याग्दी जलविद्युत् आयोजनाका संयोजक सुरेश घलेले सामाजिक सहयोग कार्यक्रमअन्तर्गत विकट गाउँ खिवाङ जोड्ने सडक निर्माण गरेको बताए । गाउँपालिकाको सक्रियतामा खाम्ला हुँदै खिवाङ जोड्ने सडक पनि निर्माणाधीन छ । जलविद्युत आयोजनाले नाउरा हुँदै बगरगाउँ जोड्ने सडकको ट्र्याक खोल्ने कामलाई पनि अन्तिम चरणमा पुर्याएका गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए ।

अमेरिकामा विद्यार्थी भिसा स्वीकृति दर ५३ प्रतिशत

काठमाडौं । अमेरिका संसारका अधिकांश देशका मानिसको सपनाको देश हो । अमेरिकामा राम्रो आम्दानी, सामाजिक सुरक्षा, सुरक्षित आवास, स्थायी बसोबासका लागि वार्षिक लाखौं मानिसले भिसा आवेदन दिने गर्छन् । अमेरिकामा नाम, दाम र बसोबास मात्र होइन त्यहाँका उत्कृष्ट कलेज र विश्वविद्यालयमा उच्च शिक्षा अध्ययन गर्न संसारका लाखौं विद्यार्थीले भिसा आवेदन गरिरहेका हुन्छन् । अमेरिकी विदेश मन्त्रालयको तथ्यांकअनुसार सन् २०२३ मा विद्यार्थी भिसा आवेदन दिएकामध्ये ५२.९६ प्रतिशतको ‘एफ–१’ भिसा स्वीकृत भएको थियो । तीमध्ये ६३.७४ प्रतिशतको डिपेन्डेन्ट (आश्रित) ‘एफ–२’ भिसा स्वीकृत भएको थियो । त्यसैगरी एफ–१ भिसा आवेदन दिएकामध्ये ४७.०४ प्रतिशतको आवेदन अस्वीकृत भएको थियो भने ३६.२६ प्रतिशतको एफ–२ भिसा अस्वीकृत भएको थियो । सन् २०२२ मा ५५.४० प्रतिशत एफ–१ भिसा र ६५.०७ प्रतिशत एफ–२ भिसा स्वीकृत भएको थियो । सोही वर्ष ४४.६० प्रतिशत एफ–१ भिसा र ३४.९३ प्रतिशत एफ–२ भिसा अस्वीकृत भएको थियो । त्यसैगरी २०२१ मा ६७.६६ प्रतिशत एफ–१ भिसा र ८०.१६ प्रतिशत एफ–२ भिसा स्वीकृत भएको थियो । सोही वर्ष ३२.३४ प्रतिशत एफ–१ भिसा र १९.८४ प्रतिशत एफ–२ भिसा अस्वीकृत भएको थियो । त्यस्तै, २०२० मा ६७. १७ प्रतिशत एफ–१ भिसा र ६८.८१ प्रतिशत एफ–२ भिसा स्वीकृत भएको थियो । त्यही वर्ष ३२.८३ प्रतिशत एफ–१ भिसा र ३१.१९ प्रतिशत एफ–२ भिसा अस्वीकृत भएको थियो । सन् २०१९ मा भने ७०.३७ प्रतिशत एफ–१ भिसा र ७४.६२ प्रतिशत एफ–२ भिसा स्वीकृत भएको थियो । सोही वर्ष २९.६३ प्रतिशत एफ–१ भिसा र २५.३८ प्रतिशत एफ–२ भिसा अस्वीकृत भएको थियो । अमेरिकाले एफ–१ भिसा प्राप्त गर्ने विद्यार्थीको श्रीमान वा श्रीमती र २१ वर्षभन्दा कम उमेरका अविवाहित छोराछोरीका लागि एफ–२ भिसा दिने गर्छ । अमेरिकाले संसारभरिका योग्य लाखौं विद्यार्थीलाई एफ–१ भिसा उपलब्ध गराउँदै आएको छ । अमेरिका पढ्न जान चाहने विद्यार्थी संख्या ठूलो रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।  

ग्लोबल आइएमई लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्री राखेको छ । संस्थाले बुधबार एक सूचना जारी गर्दै संस्थाको विद्यमान संस्थापक सेयरधनीका नाममा रहेको ८ हजार ७ सय ११ कित्ता सेयर बिक्रीमा राखेको जनाएको हो । इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात र आफूले लिन चाहेको सेयर संख्या खुलाई पोखरामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ । संस्थाका अनुसार तोकेको मितिसम्म सेयर खरिदका लागि कुनै आवेदन नआएमा विद्यमान संस्थापक बाहेक अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने छ ।

प्रभु बैंकको १ लाख ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

काठमाडौं । प्रभु बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको १ लाख कित्ता बढी सेयर बिक्री राखेको छ । बैंकले बुधबार सूचना प्रकाशन गरी संस्थापक सेयरधनीहरू चिरञ्जीवी श्रेष्ठ, गोविन्दप्रसाद ज्ञवली र भारतीकुमारी आचार्यको स्वामित्वमा रहेको १ लाख ६० हजार २०९ कित्ता संस्थापक सेयर बिक्रमा राखिएको जनाएको छ । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरू वा अन्य जोसुकै व्यक्ति वा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र बबरमहलमा रहेको बैंकको केन्द्रीय कार्यालयमा नेपाल राष्ट्र बैंकले तोके बमोजिमको फिट एण्ड टेष्टको मापदण्ड पुरा हुने कागजातसहित आवेदन दिनुपर्नेछ ।

स्वीस उद्यमीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं । सरकारले स्वीटजरल्याण्डका उद्यमी–व्यवसायीलाई नेपालमा लगानीका निम्ति प्रोत्साहित गर्न स्वीस सरकारसँग अनुरोध गरेको छ । आगामी महिना यहाँ आयोजना हुने लगानी सम्मेलनमा उनीहरूको सक्रिय सहभागिताका निम्ति प्रोत्साहन गर्न स्वीस सरकारलाई सरकारले अनुरोध गरेको हो । नेपाल–स्वीटजरल्याण्ड परामर्श संयन्त्रको मङ्गलबार बेर्नमा सम्पन्न बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकालले उक्त आह्वान गरेको जेनेभास्थित नेपालको राजदूतावासले जनाएको छ । बैठकमा नेपाल–स्वीटजरल्याण्ड सम्बन्धका समग्र पक्षका साथै आर्थिक, विकास साझेदारी, बहुपक्षीय मञ्चमा सहयोग आदानप्रदान, मानवअधिकार तथा जलवायु परिवर्तनलगायत विश्वले सामना गर्नुपरेका सामयिक विषयमा पनि विचारविमर्श भएको थियो । दुवै देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदान, अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नतिका निम्ति नेपालले गरेका प्रयास, दिगो विकास लक्ष्य हासिलमा भएका प्रगति, नेपाल–स्वीटजरल्याण्ड व्यापार, लगानी, पर्यटन, विज्ञान तथा प्रविधि र व्यावसायिक तालिमबारे बैठकमा छलफल भएको उक्त दूतावासले जनाएको छ । नेपाली प्रतिनिधिमण्डलका प्रमुख सहसचिव ढकालले स्वीस सरकारको प्राथमिकतामा नेपाललाई राखिएकामा आभार व्यक्त गरे भने स्वीस सरकारका प्रतिनिधि हेनरिच सेलेनवर्गले नेपालको विकास प्रयासमा स्वीस सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । पारस्परिक सहायताका सम्बन्धमा छलफल गर्न सन् २०१५ मा उक्त संयन्त्र स्थापना भएको हो । संयन्त्रको अर्को बैठक दुवै पक्षलाई अनुकूल हुने समयमा काठमाडौंमा हुने छ ।