सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ३३ हजार पुग्यो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधबार प्रतितोला १ हजार ८ सय रुपैयाँले सुनको मूल्य वृद्धि भएको हो । नेपाली सुनचाँदी व्यवसायीका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले बढेर तोलमा १ लाख ३३ हजार रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य पनि बढेर तोलमा १ लाख ३२ हजार ३५० रुपैयाँमा कारोबार भएको छ । साथै, बुधबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । नेपाली सुनचाँदी व्यवसायीका अनुसार बुधबार चाँदीको मूल्य ६५ रुपैयाँले बढेर १६ सय १० रुपैयाँमा कारोबार भएको छ ।
विश्वका अर्बपतिको सूचीमा ११७ स्थान तल झरे चौधरी, एक वर्षमा बढ्न सकेन सम्पत्ति
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद विनोद चौधरी विश्वको १७६४ औं अर्बपतिको सूचीमा रहन सफल भएका छन् । फोब्र्सले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपालका उद्योगी चौधरी विश्वका अर्बपतिहरुको सूचीमा सो स्थान हासिल गर्न सफल भएका हुन् । तर, चौधरी अघिल्लो वर्षको विश्वका अर्बपतिहरुको सूचीको तुलनामा भने ११७ स्थान तल झरेका छन् । सन् २०२३ मा चौधरी विश्वका अर्बपतिहरुको सूचीमा १६४७ औं स्थानमा रहेका थिए । फोब्र्स पत्रिकाकाअनुसार चौधरीको सम्पत्ति सन् २०२३ को तुलनामा वृद्धि भने भएको छैन । सन् २०२३ मा चौधरीको कुल सम्पत्ति १.८ बिलियन अमेरिकी डलर बराबर रहेको थियो भने सन् २०२४ मा आइपुग्दा पनि उनको सम्पत्ति सोही अवस्थामा रहेको छ । सन् २०१९ मा चौधरीको सम्पत्ति १.७ बिलियन अमेरिकी डलर रहेकोमा २०२० र २०२१ मा घटेर १.४ बिलियन पुगेको थियो । फेरि पछि सन् २०२२ बाट चौधरीको सम्पत्तिमा वृद्धि हुँदै गएको फोब्र्स पत्रिकाको तथ्यांकले देखाएको छ । पत्रिकाकाकाअनुसार सन् २०२२ मा उनको सम्पत्तिमा केही वृद्धि भएर १.५ बिलियन अमेरिकी डलर पुगेको थियो । त्यसपछि भने चौधरीको सम्पत्ति स्थिर अवस्थामा रहेको छ । फोब्र्स पत्रिकाकाअनुसार पछिल्लो तथ्यांकअनुसार सन् २०२४ मा अर्बपतिको पहिलो नम्बरमा फ्रान्सका एलभीएमएच मोइस हेनेसी लुईस भुइटनका सिइओ बर्नार्ड अर्नाल्ट रहेका छन् । उनको कुल सम्पत्ति २३३ बिलियन अमेरिकी डलर रहेको छ । उनको सम्पत्ति सन् २०२३ सम्म २११ बिलियन अमेरिकी डलर रहेको थियो । त्यसैगरी विश्वको दोस्रो ठूलो अर्बपतिमा टेस्लाका सिइओ एलन मस्कको रहेको छ । मस्कको सम्पत्ति सन् २०२४ मा १९५ बिलियन अमेरिकी डलर पुगेको छ ।
बारामा दुई लाख ७१ हजार मेट्रिक टन धान उत्पादन
कलैया । बारा जिल्लाका किसानले यस वर्ष ६२ हजार २० हेक्टर क्षेत्रफलमा अग्हनी, भदैया र चैते धान रोपेर दुई लाख ७१ हजार ६२ मेट्रिक टन उत्पादन गरेका छन् । कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायणप्रसाद साहका अनुसार चालु आर्थिक वर्षमा अग्हनी धान ३४ हजार एक सय २० हेक्टरमा लगाइएकामा एक लाख ३३ हजार आठ सय ९२ मेट्रिक टन उत्पादन भएको थियो । त्यसैगरी, भदैया धान ११ हजार नौ सय हेक्टरमा रोपेर ५१ हजार एक सय ७० मेट्रिक टन फलाइएको थियो । सोह्र हजार हेक्टरमा गरिएको चैते धान ८० हजार मेट्रिक टन उत्पादन भएको थियो । अधिकांश किसानले खेतबाट नै धान बेचेका थिए । अग्हनी प्रतिक्विन्टल रु तीन हजार चार सय, भदैया प्रतिक्विन्टल दुई हजार नौ सय र चैते धान प्रतिक्विन्टल तीन हजारमा बिक्री भएको थियो । गत वर्ष दुई लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । रासस
सूर्यज्योति लाइफले ३५ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले सेयरधनीलाई ३५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को नाफाबाट चुक्ता पुँजीको १०.२६ प्रतिशत बोनस र २४.७४ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो । चैत २० गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । जसलाई नेपाल बीमा प्राधिकरणले स्वीकृत तथा कम्पनीको साधारण सभाले पारित गर्नुपर्ने हुन्छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी ४ अर्ब ५४ रुपैयाँ छ । १०.२६ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ नाघ्ने छ ।
एनसेल र महिला उद्यमी महासंघ नेपालबीच महिला उद्यमीको क्षमता अभिवृद्धि गर्न सहकार्य
काठमाडौं । एनसेल र महिला उद्यमी महासंघ नेपालले देशव्यापी रुपमा महिला उद्यमीहरुको क्षमता अभिवृद्धि गर्न हातेमालो गर्ने प्रतिवद्धता जनाउँदै सहकार्यको थालनी गरेका छन् । यो सहकार्यले महिला सशक्तीकरण र नेपालको सामाजिक–आर्थिक विकासमा योगदान पुर्याउने उदेश्य राखेको छ । सातौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०८० को अवसरमा पारी एनसेल र महिला उद्यमी महासंघले महिला उद्यमीहरूको विकास, दिगो व्यापार वृद्धिका लागि सहजीकरण र जीविकोपार्जनमा सहयोग पुर्याउन एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । चैत १६ गते ललितपुरको हेरिटेज गार्डेन, सानेपामा आयोजित सातौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन समारोहमा महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवाली र एनसेलकी कर्पोरेट कम्युनिकेसन तथा सीएसआर हेड विशाखा लक्ष्मी खड्काले सो समझदारीपत्र आदानप्रदान गरेका थिए । नेपालको अग्रणी दूरसञ्चार सेवा प्रदायक कम्पनीका रुपमा, एनसेलले महिला उद्यमी महासंघसँग आबद्ध ५ हजार भन्दा बढी महिला उद्यमीहरूको क्षमता अभिवृद्धि र डिजिटल साक्षरताका लागि सहयोग गर्ने उदेश्य राखेको छ । यस सहकार्यले विभिन्न पहलहरु मार्फत महिला नेतृत्वमा रहेका उद्यमहरूको बिजनेश भायबिलिटी बढाउन मद्दत पुर्याउने अपेक्षा राखिएको छ ।
टेलिकमको आईपीटीभी सेवामा आलाकार्टा प्रणाली लागु
काठमाडौं । नेपाल टेलिकमले भीएएस सेवाको रुपमा सञ्चालन गरेको आईपीटीभी सेवामा आलाकार्टा प्रणाली लागु गरेको छ । सरकारले आलाकार्टा शुल्क प्रणाली लागु गर्न दिएको निर्देशन अनुसार टेलिकमले आफ्नो टेलिभिजन सेवा ग्राहकका लागि एनटीटीभी आलाकार्टा शुल्क प्रणाली लागु गरेको जनाएको छ । आफूले हेर्न चाहेको टेलिभिजन च्यानलको मात्र शुल्क तिर्न पाउने गरी नेपाल टेलिकमले आलाकार्टा शुल्क प्रणाली लागु गरेको जनाएको हो । सो प्रणाली अनुसार ग्राहकले बेसिक प्याकेज वा प्रिमियम प्याकेज वा बेसिक प्याकेजमा आवश्यकता अनुसार बुके प्याकेज थप गरी प्याकेजहरू खरिद गर्न सकिने व्यवस्था मिलाएको कम्पनीले जनाएको छ । बेसिक प्याकेज लिएका ग्राहकहरूले हालका लागि आफ्नो आवश्यकता अनुरुप बुके प्याकेजहहरू खरिद गर्न सक्नेछन् । सुरुको ३ महिनाभित्र सम्पूर्ण प्रिमियम प्याकेज सहितको वार्षिक प्याकेज सब्स्क्रिप्सन गर्ने ग्राहकका लागि अफरको रुपमा ३६० रूपैयाँ प्रति महिनाको दरमा प्रिमिय प्याकेज उपलब्ध हुने कम्पनीले जनाएको छ । ग्राहकले बेसिक एवम् प्रिमियम प्याकेज खरिद गर्न नेपाल टेलिकमको काउन्टरमा भिजिट गर्नुपर्नेछ । बेसिक प्याकेज लिएका ग्राहकले थप बुके प्याकेज खरिद गर्न टीभीको मेनुमा गएर आफैं खरिद गर्न सक्नेछन् । यस आलाकार्टा शुल्क प्रणालीमा आफ्नो रुची बमोजिमका प्याकेज खरिद गरी सोको मात्र भुक्तानी गर्न सकिन्छ । जसले ग्राहकलाई फाइदा पुग्ने विश्वास कम्पनीको छ ।
नेपालको अर्थतन्त्रमा सुधार, ३.३ प्रतिशतले वृद्धि हुने
काठमाडौं । न्यून निजी लगानीबीच पनि नेपालको वृद्धिमा सुधार भएकाे छ । आर्थिक वर्ष २०२४ मा नेपालको अर्थतन्त्र ३.३ प्रतिशतले वृद्धि हुने विश्व बैंकको अनुमान छ । जसलाई पर्यटन पुनरुत्थान र जलविद्युत निर्यातको बढ्दो गतिले मुख्य रूपमा डोर्याउने विश्व बैंकले उल्लेख गरेको छ । विश्व बैंकले अर्धवार्षिक रुपमा अद्यावधिक गर्ने ‘कन्ट्री डेलभपमेन्ट अपडेट’का अनुसार विप्रेषण आप्रवाहमा देखिएको उल्लेख्य वृद्धिले निजी उपभोग समेत बढ्नेछ । ‘सुधारको बाटोमा नेपालको अर्थतन्त्र, तर न्यून निजी लगानी’ शीर्षक तय गरिएको पछिल्लो नेपाल डेभलपमेन्ट अपडेटले आर्थिक बर्ष २०२५ मा थप ४.६ प्रतिशतको वृद्धि हासिल गर्ने प्रक्षेपण गरेको छ । यद्यपि यो प्रक्षेपण बहुचुनौतिसहितको छ, जसमध्ये भारत, खाडी मुलुक र मलेसियाजस्ता साझेदार मुलुकहरुको सुस्त वृद्धि पर्दछ, जसका कारण विपे्रषण र पर्यटनमा गिरावट आउन सक्ने उल्लेख छ । त्यसका लागि व्यावसायिक वातावरणमा सुधारको उद्देश्यसहित धेरै निजी लगानी आकर्षित गर्न जरुरी हुनेछ, जसले मध्यकालीन वृद्धिलाई सहायता पुर्याउनेछ । ‘पुँजीगत खर्च कार्यान्वयनको सबलीकरण, व्यावसायिक मनोबल बढाउनु र नेपालको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता सबल बनाउनु आर्थिक वृद्धि र गरिबी न्यूनीकरणको सवालमा महत्वपूर्ण छन्’ माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फरिस हदाद जर्भोसले भने । नेपाल डेभलपमेन्ट अपडेट साउथ एसिया डेभलपमेन्ट अपडेटसँग समानान्तर रूपमा तयार गरिएको हो। यसले दक्षिण एसियाली क्षेत्रको आर्थिक विकास र दृष्टिकोणको परीक्षण र मुलुकहरूले बेहोर्नुपरेका नीतिगत चुनौतीहरूको विश्लेषण गर्छ। ‘उत्थानशीलताका लागि रोजगारी’ शीर्षकको अप्रिल २०२४ को यस संस्करणले विश्वका कुनै पनि उदाउँदा बजारहरू र विकासशील मुलुकहरूमध्ये दक्षिण एसियाको वृद्धि सबैभन्दा उच्च देखाएको छ । सन् २०२४ मा दक्षिण एसियाको वृद्धि ६ प्रतिशत र सन् २०२५ मा ६.१ प्रतिशत हुने अनुमान गरिएको छ । तर, प्रतिवेदनले यो दृष्टिकोण (अनुमान) झुक्काउने खालको पनि हुन सक्ने जनाएको छ । विश्व बैंकका अनुसार धेरै मुलुकहरूको वृद्धि अझै पनि महाव्याधि पूर्वको तहभन्दा अझै कम रहेको र सार्वजनिक खर्चमा बढी निर्भर रहनुपरेको छ । यसै समय, सबै दक्षिण एसियाली मुलुकहरूमा निजी लगानी वृद्धिमा सुस्तता आएको छ र यस क्षेत्रले तीव्र रूपमा बढ्दो काम गर्ने उमेरको जनसंख्याका लागि पर्याप्त जागिरहरू सिर्जना गर्न सकेको छैन । ‘आफ्नो जनसांख्यिक लाभलाई पूर्ण रुपमा उपयोग गर्न दक्षिण एसिया अहिले असफल भएको छ । यो अवसर गुमेको छ’ दक्षिण एसियाका लागि विश्व बैंकको प्रमुख अर्थशास्त्री फ्रान्जिस्का ओह्न्सोर्जले भनिन् ‘यदि यो क्षेत्रले अन्य उदाउँदा बजारहरु र विकासशील अर्थतन्त्रहरुले जस्तै आफ्नो काम गर्न योग्य उमेर समूहको ठूलो जनसंख्यालाई रोजगार बनाउन सकेको भए त्यसको नतिजा १६ प्रतिशतभन्दा बढी हुन सक्थ्यो ।’ तीव्र रोजगारी सिर्जना गर्न र वृद्धिलाई बढावा दिन साउथ एसिया डेलभपमेन्ट अपडेटले केही नीतिगत सुझावहरु पनि दिएको छ, जस अन्तर्गत व्यापारमा खुलापनको वृद्धि, व्यावसायिक वातावरण र संस्थाहरुको सुधार, वित्तीय क्षेत्रको प्रतिबन्ध फुकुवा, शैक्षिक सुधार र महिला अधिकारको कानुनी संरक्षणको सुदृढीकरण रहेका छन् । यी उपायहरुले रोजगारी वृद्धि र उत्पादन बढाउन तथा जलवायु अनुकूलनमा सार्वजनिक लगानीको लागि आधार तयार गर्न सहयोग पुर्याउने उल्लेख छ ।
बाँझो जमिनमा खेती गराउँदै कुश्मा नगरपालिका
पर्वत । बढ्दो युवा पलायन, जनशक्तिको अभाव, बाँदर आतङ्कलगायत कारणले जमिन बाँझो रहने क्रम बढेपछि त्यसलाई रोक्न कुश्मा नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई त्यसतर्फ केन्द्रित गरेको छ । नगरपालिकाले बढी बाँझो जमिन रहेका वडाहरूमा प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएका युवायुवतीलाई अन्नबाली लगाउन सघाएको छ । वडा नं १४ आर्थर डाँडाखर्कमा रहेको दुई सय रोपनी बाँझो जग्गामा न्यूनतम रोजगारीमा संलग्न हुन चाहेका वडाका १५ जना सूचीकृत बेरोजगारलाई कोदो र मकैखेतीका माध्यमबाट रोजगारी प्रदान गरेको हो । नगरपालिकाका रोजगार संयोजक अमृत सुवेदीका अनुसार राज्यले प्रदान गरेको सशर्त अनुदानलाई स्थानीय तहले कार्यक्रमको उद्देश्यअनुरुप बेरोजगारलाई रोजगार प्रदान गर्दै बाँझो जग्गाको सदुपयोग थालेको छभने उत्पादित कृषि उपजको बिक्री गरेर पालिकाको आयमा टेवा पुगेको छ । पालिकाका अन्य वडामा पनि प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सुचीकृत भएका बेरोजगारलाई बाँझो जमिन सदुपयोगमा लगाइने नगरपालिकाले जनाएको छ । कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले पालिकाकको नीति तथा कार्यक्रमअनुसार यो कार्यको थालनी भएको बताए । उनले गाउँमा खेतीपाती गर्ने जनशक्तिको अभाव रहेको अवस्थामा यो कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे । प्रधानमन्त्री रोजगार कार्यक्रम र युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनाले सात सय ५३ वटै पालिकामा रोजगार सिर्जना शीर्षकमा प्रत्येक आर्थिक वर्षमा सशर्त अनुदान प्रदान गर्दै आएको छ । रासस