विकासन्युज

नेपालमा मकैको आवश्यकता प्रत्येक वर्ष बढ्दै गएको छ : अध्यक्ष ढकाल

काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा मकैको आवश्यकता प्रत्येक वर्ष बढेर गएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित मकै सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मकै नेपालको प्रमुख खाद्यान्न भएको हिसावले अहिले औद्योगिक उत्पादनमा माग र महत्व बढ्दै गइरहेको जिकिर गरे । नेपालमा खासगरी पशुजन्य खाद्यान्नका लागि मकैको महत्व झनै बढेर गएको बताए । नेपालमा आवश्यकताको २० प्रतिशत मात्रै स्वदेशी मकै उत्पादनले धानेको बताए । गत आर्थिक वर्ष २०२१/२०२२ मा दाना उद्योगको लागि नेपालले १९ अर्ब ६५ करोडको मकै आयात गरेको बताए । मकैको उत्पादन वृद्धिका लागि केही पहलहरु भएपनि पर्याप्त नभएको जिकिर गरे । ‘मकै नेपालको प्रमुख खाद्यान्न भएको हिसावले अहिले औद्योगिक उत्पादनमा पनि दाना उत्पादनदेखि लिएर विभिन्न प्रकारले मकैको महत्वपूर्ण भुमिका छ । पछिल्लो तथ्यांकअनुसार ९ सय ८० हजार हेक्टर जमिनमा ३० लाख मकै उत्पादन भइरहेको छ । नेपालमा खासगरी पशुजन्य प्रोडक्टहरु छ । नेपालको निजी क्षेत्रको वार्षिक करिव ६ लाख मेट्रिक्टन मकै आवश्यक पर्ने र १४० फिड मिलमा करिव ४० अर्ब जति लगानी गरेको तथ्यांक छ । मकैको उत्पादन वृद्धिका लागि केही पहलहरु भएपनि पर्याप्त छैनन्’, उनले भने । अध्यक्ष ढकालले सरकार र निजी क्षेत्रको सहकार्य र समन्वय आउने दिनमा अझै प्रभावशाली हुने विश्वास व्यक्त गरे । आन्तरिक मागलाई धान्नसक्ने गरी कृषिजन्य उत्पादन बढाउनुपर्नेमा जोड दिए ।

महँगा अस्पताललाई भ्याइनभ्याई

काठमाडौं । यो साताको पहिलो दिन आइतबार धुम्बारहीमा रहेको ह्याम्स अस्पतालमा थेगिनसक्नुको भीड देखियो । अस्पतालमा लाइन लागेका र डाक्टरको पखाईमा रहेका बिरामीहरूको संख्या ठूलो थियो । हुन त अन्य दिनको तुलनामा आइतबार ह्याम्स अस्पतालमा बिरामीको संख्या बढ्ने गरेको अस्पताल बताउँछ । तर, गत आइतबारको संख्याले भने हालसम्मकै रेकर्ड तोड्यो । आइतबार अघिसम्म प्रतिदिन साढे पाँच सयको हाराहारीमा आउने बिरामीको संख्या आइतबार भने सात सय नाघ्यो । अस्पतालका सूचना अधिकारी सागरराज दुलालले आइतबार एकैदिन सात सय बिरामी उपचाको लागि अस्पताल आएको जानकारी दिए । उनकाअनुसार जुन हालसम्मकै बढी संख्या हो । उनकाअनुसार अहिले अस्पताल आउने धेरै जसो बिरामी सामान्य रुघाखोकी ज्वरोदेखि गम्भिर प्रकृतिका रहेका छन् । ह्याम्स अस्पतालमा ओपीडी टिकटको मूल्य नयाँ बिरामीको लागि ८ सय ५० पर्छ भने पुराना बिरामीको लागि ८ सय रुपैयाँ लाग्छ । अस्तालमा छुट्टै विशेषज्ञ सेवाका लागि शुल्क नलाग्ने उनको भनाइ छ । त्यस्तै, चावहिलमा रहेको ओम अस्पताल पनि महँगो निजी अस्पतालमध्येमा पर्छ । अस्पताल महँगो भएपनि बिरामीको चाप भने यो अस्पतालमा पनि थेगिनसक्नु छ । ओम अस्पतालका अनुसार अहिले दैनिक ५ सय बिरामी उपचारका लागि आउने गरेका छन् । अहिले मौसम बदली हुँदा अस्पताल आउने बिरामीको संख्या बढेको अस्पतालले बताएको छ । तर, ओम अस्पतालमा पहिले पनि बिरामीको संख्या बढी नै रहेको जानकारी अस्पतालका सूचना अधिकारी बिपिन जंगमले जानकारी दिए । ‘अहिले रुघाखोकी, भाइरल ज्वरोका बिरामी बढी छन्, ‘उनी भन्छन्, ‘कोभिडको समयमा अस्पतालमा भर्ना हुने बिरामीको संख्या निकै बढी थियो । तर, अहिले भर्ना हुनेको संख्या घटेको छ । तर, चेकजाँचको लागि अस्पताल आउने बिरामीको संख्या भने बढेको नै छ ।’ उनकाअनुसार ओम अस्पतालमा नयाँ बिरामीका लागि ओपीडी टिकटको शुल्क ८ सय र पूराना बिरामीको लागि ७ सय रुपैयाँ तोकिएको छ । ललितपुरको भैंसेपाटीमा रहेको मेडिसिटी अस्पतालमा पनि अहिले बिरामीको चाप बढ्दो छ । अस्पतालका अनुसार अहिले दैनिक ७ सय देखि ८ सय बिरामी उपचारका लागि आउने गरेका छन् । यो स्पतालले अस्पतालमा आउने बिरामीका लागि ओपीडी टिकट नयाँका लागि ८ सय ७५ रुपैयाँ र पुरानाको लागि ८ सय २५ रुपैयाँ तोकिएको छ । अस्पतालमा विशेषज्ञ शुल्क पनि सोही बराबरको रहेको अस्पतालका मिडिया संयोजक सरिता श्रेष्ठले बताइन् । उनका अनुसार मानसिक स्वास्थ्य विशेषज्ञको शुल्क भने फरक छ । यसका लागि समय पनि बढी लाग्ने भएकाले अरु सेवाभन्दा यो सेवा महँगो रहेको उनको भनाइ छ । देशको सबैभन्दा महँगो अस्पतालमा पर्छ ग्राण्डी अस्पताल । काठमाडौँको धापासीमा रहेको यो अस्पतालमा अहिले दैनिक ५ सयभन्दा बढी बिरामी आउने गरेका छन् । यो अस्पतालमा ओपीडी टिकटको शुल्क ८ सय २५ रुपैयाँ तोकिएको अस्पतालले बताएको छ । नयाँ बनेश्वरमा रहेको एभरेष्ट अस्पतालमा पनि अहिले दैनिक दुई सय बढी बिरामी चेकजाँचका लागि आउने गरेका छन् । एभरेष्ट अस्पतालमा भने शुल्क फरक–फरक रहेको छ । रोगको प्रकृति र विशेषज्ञ हेरेर शुल्क निर्धारण गरिएको छ । अस्पतालका अनुसार सबैभन्दा महँगो शुल्क ७ सय ५० तोकिएको छ । न्यूनतम पाँच सय रुपैयाँ तोकिएको छ । यस्तै, काठमाडौंको प्रदर्शनी मार्गमा रहेको काठमाडौं मोडल अस्पतालमा पनि दैनिक दुई सयभन्दा बढी बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन् । अस्पतालका अनुसार फलोअपका लागि आउने र अन्य उपचारका लागि आउने बिरामी संख्या दैनिक करिब चार सय छ । काठमाडौंका अन्य अस्पतालको तुलनामा यो अस्पतालमा ओपीडी शुल्क केही कम छ । अस्पतालका अनुसार यो अस्पतालमा बिहान चार सय र दिउँसो १ बजेपछि ५ सय रुपैयाँ शुल्क लाग्ने गरेको छ । दिउँसो पछि बाहिरका डाक्टर ल्याउनुपर्ने भएकाले शुल्क महँगो हुने गरेको अस्पतालले बताएको छ । निजी अस्पतालमा उपचार खर्च महँगो हुन्छ । सरकारी अस्पतालभन्दा दोब्बर खर्च यी अस्पतालहरूमा लाग्ने गरेको छ । विगतमा निजी अस्पतालमा बिरामीको खासै ठूलो भीड हुँदैनथ्यो । तर, पछिल्लो समय भने महँगो अस्पतालमा पनि सर्वसाधारणको भीड लाग्न थालेको हो । कुनै बेला हुने खाने, धनिमानी व्यक्ति पुग्ने भनिएका अस्पतालमा पछिल्लो समय सर्वसाधारणको चाप बढ्दा अब महँगो अस्पतालमा पनि सर्वसाधारणको पहुँच बढेको बुझ्न सकिन्छ । अहिले चिसो सकेर गर्मियाम सुरू हुने समय हो । यो सिजनमा अघिपछि भन्दा बिरामीको संख्या बढी हुन्छ । मौसम परिवर्तनको बेला रुघाखोकी र ज्वरोको बिरामीको संख्या बढी हुने चिकित्सकहरू बताउँछन् । उसो त सरकारी अस्पतालमा पनि बिरामीको भीड उस्तै छ । काठमाडौं उपत्यकामा सबैभन्दा बढी भीड हुने अस्पतालमा वीर र टिचिङ अस्पताल पर्छन् । त्यहाँ दैनिक हजारौंको संख्यामा बिरामी पुग्ने गर्छन् । तर, सरकारी अस्पतालमा समयमा पालो नपाउँदा नागरिक निजी अस्पताल जान बाध्य भएका हुन् । सरकारी अस्पतालमा पालो नपाउँदा वा समयमै सेवा नपाउँदा रुघाखोकी लाग्दा समेत बिरामीले निजी अस्पताल जानु परेको छ । जहाँ नागरिकले महँगोमा उपचार गरिरहनु परेको छ । सरकारी अस्पतालभन्दा निजी अस्पतालमा मा टिकट शुल्कदेखि विशेषज्ञ शुल्क समेत महँगो पर्ने गरेको छ । यस कारण निजीमा चाप छिटो र सहजरुपमा सेवा पाउने भएकाले ऋण निकालेर पनि मान्छे निजी अस्पताल जाने गरेको जानकारहरू बताउँछन् । मान्छेलाई चेतना हुँदै जाँदा र सरकारी अस्पतालमा सहज सेवा नपाउँदा निजी अस्पतालमा बिरामीको चाप बढ्न थालेको हो । नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्की उपचार गर्ने कुरा मान्छेको नैसर्गिक अधिकार भएकाले आफ्नो रुचि लागेको अस्पतालमा जाने तर्क दिन्छन् । निजी अस्पतालमा छिटो, छरितो र राम्रो सेवा पाउन सक्ने भएर त्यतातिर गएको हुन सक्ने उनको भनाइ छ । व्यक्ति आफ्नो उपचारको लागि कोही भारत, कोही विदेश जान्छन,’ उनी भन्छन, ‘स्वास्थ्यको लागि जति खर्च गर्न सक्छन्, त्यही अनुसारको सेवा लिन्छन्, यो उनीहरूको अधिकारको कुरा हो ।’ डा.अनिल नेपालका सरकारी अस्पतालले जनशक्ती अनुरूप राम्रो सेवा दिरहेको बताउँदै सरकारी अस्पतालमा जनशक्ति नहुँदा नागरिकले निजी अस्पतालको जस्तै सेवा नपाएको बताउँछन् ।

नेपालका थप १७ सहरमा सेवा बिस्तार गर्दै पठाओ, बाइक राइडरको दर्ता सुरु

काठमाडौं । राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी पठाओले मुलुकभर थप १७ सहरमा ‘बाइक राइड’ सेवा बिस्तार गर्ने भएको छ । मुलुकभर सेवा बिस्तार गर्ने नीतिअनुसार बागमती प्रदेशको काठमाडौं उपत्यका र चितवनमा मात्रै सीमित पठाओको सेवा छिट्टै थप सहरमा उपलब्ध गराउन लागिएको पठाओ नेपालका प्रबन्ध निर्देशक असिम मान सिंह बस्न्यातले जानकारी दिए । बस्न्यातका अनुसार राइड सेयरिङ सेवाको पर्याय बनेको पठाओको सेवा अब कोशी प्रदेशका नौ सहरहरु बिराटनगर, दमक, उर्लाबारी, बिराटचोक, इटहरी, इनरुवा, धरान, बिर्तामोड, भद्रपुरमा उपलब्ध हुनेछ । मधेस प्रदेशको वीरगञ्ज र जनकपुरमा पनि सेवा उपलब्ध कम्पनीले जनाएको छ । त्यसैगरी बागमती प्रदेशको हेटौँडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, नेपालगञ्ज र भैरहवा तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा पठाओको सेवा बिस्तार हुन लागेको हो । भविष्यमा अन्य सहरमा पनि सेवा बिस्तार गर्ने कम्पनीको योजना छ । ‘नजिकैको एक सहरबाट अर्को सहरमा जान इन्टर सिटी बुकिङ समेत गर्न मिल्ने गरी पठाओको सेवा बिस्तार गर्न लागेका छौँ’, बस्न्यातले भने । बस्न्यातका अनुसार सेवा बिस्तार गर्न लागिएका सहरमा बाइक राइडर दर्ताको प्रक्रिया पनि सुरु भएको छ । ‘राइडर बन्न इच्छुकले नविकरण भएको लाइसेन्स, बिलबुक र इन्स्योरेन्स कागजात सहित आबद्धताका लागि आवेदन दिन सक्नुहुनेछ । कागजी प्रक्रिया पूरा भएपछि उनीहरुलाई अनलाइनमार्फत तालिम पनि दिइन्छ’, बस्न्यातले भने, ‘इच्छुकले आबद्धताका लागि पठाओको सामाजिक सञ्जाल वा ०१–५९७००९९ मार्फत सम्पर्क गर्न सक्नेछन् ।’ राइडर बन्नेहरुले प्ले स्टोरबाट ‘पठाओ ड्राइभ’ एप डाउनलोड गर्नुपर्ने हुन्छ । हाल पठाओको विभिन्न सेवामा दुई लाख बढी ब्यक्ति आबद्ध छन् । एक लाख ९० हजारभन्दा बढी बाइक राइडर, १० हजारभन्दा बढी क्याप्टेन ९ट्याक्सी चालक० र फुड डेलिभरीमा ५ हजार बढी दर्ता भइसकेका छन् । पठाओले राइडसँगै पठाओ फूड, बजार र पार्सल सेवा पनि उपलब्ध गराउँदै आएको छ । नेपालकै पहिलो र सबैभन्दा बढी रकमको राइड सेयरिङ बीमा भएको पठाओले दुर्घटना भइ मृत्यु भए वा अंगभंग भएमा १० लाख रुपैयाँसम्म र उपचार लागि एक लाख रुपैयाँसम्मको बीमाको व्यवस्था गरेको छ । कम्पनीले सेवाग्राहीको हितमा ध्यानमा राख्दै २४सै घण्टा कस्टमर केयर सेवा उपलब्ध गराउँदै आएको छ । सेवाग्राहीले कुनै पनि समय सम्पर्क गरी आफ्नो उजुरी, गुनासो तथा सुझाव दर्ता गराउन सक्छन् । एन्ड्रोइड र आइफोन दुवै प्रयोगकर्ताले मोबाइलमा पठाओको एप डाउनलोड गरी विभिन्न सेवा दिन र लिन सक्छन् । कम्पनीका अनुसार हाल कम्पनीको एप ५० लाखभन्दा बढी पटक डाउनलोड भइसकेको छ ।

नेपालमा लगानी बढाउन जापानी लगानीकर्तालाई व्यवसायीको आग्रह

काठमाडौं । जापान र नेपालका व्यवसायीहरूले जापानको श्रम बजारमा बढ्दो नेपाली जनशक्ति माग र त्यसको आपूर्ति तथा जापान जाने नेपालीहरूलाई सीपमूलक तालिमका विषयमा छलफल गरेका छन् । एरु एकेडेमी ओसाका र क्योउदाइ रेमिटेन्स तथा आइएमईको संयुक्त आयोजनामा भएको दोस्रो जापान-नेपाल शैक्षिक तथा औद्योगिक व्यापार अन्तरक्रियामा जापानमा उपलब्ध अवसरहरूलाई उपयोग गर्ने विषयमा छलफल भएको हो । कार्यक्रममा टोकियो स्थित नेपाली दूतावास,फुकुओका अबैतानिक बाणिज्य दूतावास,मोरिकोसान कम्पनी,ओसाका पर्यटन ब्युरो, मानव संसाधन विकास र एसिया औद्योगिक व्यापार निर्माण प्लेटफर्म, कान्साइ अर्थ, व्यापार तथा उद्योग ब्युरो, ओसाका चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, ओसाका बिजनेस डेभलपमेन्ट एजेन्सी, स्टडी अब्रोड कन्सोर्टियम ओसाका, क्लब हाउस ग्लोबल रिपब्लिक, नान्काइ रेल्वे कम्पनी लगायतको सहभागिता थियो । अनलाइन र प्रत्यक्ष उपस्थितिमा भएको छलफल कार्यक्रममा जापानबाट ९५ र नेपालबाट ६० भन्दा बढी कम्पनीहरू सहभागी भएका थिए । कार्यक्रमलाई जापानको तर्फबाट एरु एकेडेमीका अध्यक्ष केईइची हासेगावा र माकोतो साकिमुरा, कान्साइ अर्थ, व्यापार तथा उद्योग ब्यूरोका प्रोजेक्ट म्यानेजर हागीहारा दाइसाकुले सम्बोधन गरेका थिए भने नेपालको तर्फबाट जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुबेदी, आईएमई ग्रुपका संस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकालले सम्बोधन गरेका थिए। दुई चरणमा गरिएको कार्यक्रमको पहिलो चरणमा जापान-नेपाल सम्बन्ध, जापानको श्रम बजारमा बढ्दो नेपाली कामदारको माग र त्यसको आपूर्तिका बारेमा छलफल भएको थियो । त्यसै गरी पछिल्लो समय आक्रामक रूपमा बढिरहेको नेपालीहरूको जनसंख्या संगै आउने सम्भावित समस्या र त्यसको निराकरणको लागि चाल्नु पर्ने कदम लगायतको विषयमा वक्ताहरूले आफ्नो विचार प्रस्तुत गरेका थिए। दोस्रो सत्रमा नेपालबाट अनलाइन मार्फत सहभागी कम्पनीहरूलाई जापानमा विविध क्षेत्रमा नेपाली जनशक्ति भित्र्याउन चाहने कम्पनीहरू सँगै ब्यवसायिक रूपमा जोड्न सहयोग गर्ने विषयमा केन्द्रित थियो । पर्यटन, होटल, रेस्टुरेन्ट उद्योग, दक्ष जनशक्ति, सूचना प्रविधि, उत्पादन उद्योग, घरजग्गा व्यवसाय तथा मानव संसाधन जस्ता विभिन्न ग्रुपमा विभाजन गरी परिचयात्मक अन्तर्क्रिया कार्यक्रम अनि नेपालबाट जापानमा विद्यार्थी लगायत विविध क्षेत्रका कामदारहरू पठाउन चाहने र नेपालको विभिन्न क्षेत्रमा व्यवसाय प्रवर्द्धन तथा अभिवृद्धि गर्न चाहने जापनिज कम्पनीहरूलाई व्यावसायिक छलफल र व्यापारिक साझेदारीको सम्भावना लगायतको विषयमा अन्तर्क्रिया गराइएको थियो। कार्यक्रममा जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुबेदीले जापान-नेपालको लामो दौत्य सम्बन्धको चर्चा गर्दै यो कार्यक्रम मार्फत नेपाल र जापानको व्यापार व्यवसाय प्रवर्द्धनमा र जापानी लगानीकर्ताहरूलाई नेपालमा लगानीको लागि सक्दो सहयोग गर्न सदैव तत्पर रहेको बताए । कार्यक्रममा आईएमई ग्रुपका संस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकालले जापानले नेपालबाट भाषा विद्यार्थी, सामान्य कामदार मात्रै नभएर सूचना प्रविधि लगायतका क्षेत्रमा दक्ष जनशक्ति लिन सक्ने भएकाले त्यसतर्फ प्रयास गर्नु पर्ने बताए । यसै गरी नेपालमा ठुला परियोजनाहरूमा वैदेशिक लगानीको माग रहेकोले नेपालमा लगानी गर्न पनि प्रबन्ध निर्देशक ढकालले जापानी कम्पनीहरूलाई आग्रह गरे । यही अप्रिलमा आयोजना हुन गइरहेको नेपाल लगानी सम्मेलन २०२४मा सहभागिताका लागि ढकालले जापानी लगानीकर्ताहरुलाइ आग्रह गरे । एरु एकेडेमीका अध्यक्ष केईइची हासेगावाले नेपाल र जापानको लगानी सम्बन्धलाई मजबुत बनाउन छलफल कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रमलाई सन्देश मार्फत क्योउदाइ रेमिट्यान्सका अध्यक्ष तथा नेपाली दूतावास जापान फुकुओकाका वाणिज्यदूत किमोतो युइचिरोले नेपाल सँगको लामो ब्यवसायिक सहकार्य बढाउन तत्पर रहेको बताए । एरु एकेडेमिक प्रमुख म्यानेजर निशिमुरा कोउजिले प्रत्यक्ष र अनलाइन मार्फत जोडिएका जापानी कम्पनीहरूलाई नेपालबाट सहभागी भएका कुनै कम्पनी या निकायहरू सँगै जोडिएर काम गर्न सहजीकरण र सहयोग गरिने जानकारी गराएका थिए ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ३३ हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधबार प्रतितोला १ हजार ८ सय रुपैयाँले सुनको मूल्य वृद्धि भएको हो । नेपाली सुनचाँदी व्यवसायीका अनुसार बुधबार छापावाल सुनको मूल्य  प्रतितोला १८ सय रुपैयाँले बढेर तोलमा १ लाख ३३ हजार रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य पनि बढेर तोलमा १ लाख ३२ हजार ३५० रुपैयाँमा कारोबार भएको छ । साथै, बुधबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । नेपाली सुनचाँदी व्यवसायीका अनुसार बुधबार चाँदीको मूल्य ६५ रुपैयाँले बढेर १६ सय १० रुपैयाँमा कारोबार भएको छ ।

विश्वका अर्बपतिको सूचीमा ११७ स्थान तल झरे चौधरी, एक वर्षमा बढ्न सकेन सम्पत्ति

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद विनोद चौधरी विश्वको १७६४ औं अर्बपतिको सूचीमा रहन सफल भएका छन् । फोब्र्सले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपालका उद्योगी चौधरी विश्वका अर्बपतिहरुको सूचीमा सो स्थान हासिल गर्न सफल भएका हुन् । तर, चौधरी अघिल्लो वर्षको विश्वका अर्बपतिहरुको सूचीको तुलनामा भने ११७ स्थान तल झरेका छन् । सन् २०२३ मा चौधरी विश्वका अर्बपतिहरुको सूचीमा १६४७ औं स्थानमा रहेका थिए । फोब्र्स पत्रिकाकाअनुसार चौधरीको सम्पत्ति सन् २०२३ को तुलनामा वृद्धि भने भएको छैन । सन् २०२३ मा चौधरीको कुल सम्पत्ति १.८ बिलियन अमेरिकी डलर बराबर रहेको थियो भने सन् २०२४ मा आइपुग्दा पनि उनको सम्पत्ति सोही अवस्थामा रहेको छ । सन् २०१९ मा चौधरीको सम्पत्ति १.७ बिलियन अमेरिकी डलर रहेकोमा २०२० र २०२१ मा घटेर १.४ बिलियन पुगेको थियो । फेरि पछि सन् २०२२ बाट चौधरीको सम्पत्तिमा वृद्धि हुँदै गएको फोब्र्स पत्रिकाको तथ्यांकले देखाएको छ । पत्रिकाकाकाअनुसार सन् २०२२ मा उनको सम्पत्तिमा केही वृद्धि भएर १.५ बिलियन अमेरिकी डलर पुगेको थियो । त्यसपछि भने चौधरीको सम्पत्ति स्थिर अवस्थामा रहेको छ । फोब्र्स पत्रिकाकाअनुसार पछिल्लो तथ्यांकअनुसार सन् २०२४ मा अर्बपतिको पहिलो नम्बरमा फ्रान्सका एलभीएमएच मोइस हेनेसी लुईस भुइटनका सिइओ बर्नार्ड अर्नाल्ट रहेका छन् । उनको कुल सम्पत्ति २३३ बिलियन अमेरिकी डलर रहेको छ । उनको सम्पत्ति सन् २०२३ सम्म २११ बिलियन अमेरिकी डलर रहेको थियो । त्यसैगरी विश्वको दोस्रो ठूलो अर्बपतिमा टेस्लाका सिइओ एलन मस्कको रहेको छ । मस्कको सम्पत्ति सन् २०२४ मा १९५ बिलियन अमेरिकी डलर पुगेको छ ।

बारामा दुई लाख ७१ हजार मेट्रिक टन धान उत्पादन

कलैया । बारा जिल्लाका किसानले यस वर्ष ६२ हजार २० हेक्टर क्षेत्रफलमा अग्हनी, भदैया र चैते धान रोपेर दुई लाख ७१ हजार ६२ मेट्रिक टन उत्पादन गरेका छन् । कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायणप्रसाद साहका अनुसार चालु आर्थिक वर्षमा अग्हनी धान ३४ हजार एक सय २० हेक्टरमा लगाइएकामा एक लाख ३३ हजार आठ सय ९२ मेट्रिक टन उत्पादन भएको थियो । त्यसैगरी, भदैया धान ११ हजार नौ सय हेक्टरमा रोपेर ५१ हजार एक सय ७० मेट्रिक टन फलाइएको थियो । सोह्र हजार हेक्टरमा गरिएको चैते धान ८० हजार मेट्रिक टन उत्पादन भएको थियो । अधिकांश किसानले खेतबाट नै धान बेचेका थिए । अग्हनी प्रतिक्विन्टल रु तीन हजार चार सय, भदैया प्रतिक्विन्टल दुई हजार नौ सय र चैते धान प्रतिक्विन्टल तीन हजारमा बिक्री भएको थियो । गत वर्ष दुई लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । रासस

सूर्यज्योति लाइफले ३५ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले सेयरधनीलाई ३५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को नाफाबाट चुक्ता पुँजीको १०.२६ प्रतिशत बोनस र २४.७४ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो । चैत २० गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । जसलाई नेपाल बीमा प्राधिकरणले स्वीकृत तथा कम्पनीको साधारण सभाले पारित गर्नुपर्ने हुन्छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी ४ अर्ब ५४ रुपैयाँ छ । १०.२६ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ नाघ्ने छ ।