विकासन्युज

बम्पर लाभांश घोषणा गरेको सूर्यज्योतिको सर्वाधिक कारोबार, सेयर मूल्य पनि बढ्यो

काठमाडौं । बुधबारको सेयर बजारमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । बम्पर लाभांश घोषणा गरेसँगै कम्पनीको सेयर कारोबारमा उछाल आएको हो । कम्पनीले बुधबार मात्रै सेयरधनीलाई कूल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । त्यसको सकारात्मक प्रभाव दोश्रो बजारमा देखिएको हो । बजारमा कम्पनीको २५ करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अन्य कम्पनीको तुलनामा बढी हो । कारोबार मात्रै नभई कम्पनीको सेयर मूल्य पनि बढेको छ । कम्पनीको सेयर मूल्य ६.७४ प्रतिशतले बढेर प्रतिकित्ता ५१८ रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ३२.७० रुपैयाँले बढी हो । यससँगै कम्पनीको घोषित लाभांशले लगानीकर्ताहरु कम्पनीको सेयरमा आकर्षित भएको बुझिने जानकारहरु बताउँछन् । इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को नाफाबाट चुक्ता पुँजीको १०.२६ प्रतिशत बोनस र २४.७४ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । समग्रमा बुधबारको बजार तीव्र उतारचढावकाबीच नेप्से परिसूचक ३.४३ अंंकले घटेर २००६.७८ बिन्दुमा बन्द भएको छ । सेयर कारोबार भने अघिल्लो दिनको तुलनामा बढेको छ । बुधबारको बजारमा २ अर्ब ५३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा तीन लघुवित्तको सेयर मूल्यमा सर्किट लागेको छ । गुराँस लघुवित्त वित्तीय संस्था, विन नेपाल लघुवित्त वित्तीय संस्था र मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य क्रमशः १०, ९.९७ र ९.९१ प्रतिशतले बढेका छन् । बुधबार जीवन बीमा, लघुवित्त र म्यूचुअल फण्ड समूह बढेका छन् भने बाँकी समूह घटेका छन् ।

भरतपुर भ्रमण वर्षको प्रभाव : होटलहरू भरिभराउ, व्यवसायी उत्साहित

चितवन । यतिबेला भरतपुर महानगरपालिकाले आयोजना गरेको ‘भरतपुर भ्रमण वर्ष २०२४’ महाअभियान चलिरहेको छ । देशका शिर्ष नेतृत्वको उपस्थितिमा नारायणी किनारबाट फागुन १८ गते भ्रमण वर्षको औपचारिक उद्घाटन गरिएको थियो । भ्रमण वर्षले यहाँका व्यवसायमा विस्तारै सकारात्मक प्रभाव देखिन थालेको छ । भरतपुरको राप्ती तटिय क्षेत्रसँग जोडिएका ठुला होटलहरुमा यति बेला पर्यटक खचाखच व्यवसायीहरु बताँउछन् । पर्यटकहरु भरिभराउ भएपछि अन्य ठाँउमा रिफर तथा वेटिङमा राख्नु परेको एक व्यवसायीले बताए । भ्रमण वर्षको अवसरमा आन्तरिक पर्यटक आउने क्रममा दोब्बरले बढेको छ भने सार्क राष्ट्रबाट आउनेको संख्या पनि राम्रो रहेको कसरा होटल व्यवसायी संघका अध्यक्ष सञ्जिव दास श्रेष्ठले जानकारी दिए । सन् २०१८ अर्थात् कोभिड अगाडिको समयमा आउने पर्यटकको संख्या अहिले देखिन थालेको छ । मार्च महिनामा ६ वर्षपछि पहिलो पटक ठुलो संख्यामा पर्यटक यहाँका होटलहरुमा आएका छन् । भरतपुरका तटिय क्षेत्रमा जोडिएर ११ वटा ठुला र ५० वटा साना होटलहरु छन् । चितवन राष्ट्रिय निकुञ्ज र राप्तीसँगै जोडिएकाले वाईल्ड टुरिजमका लागि विदेशी पर्यटक यहाँ आउने गर्दछन् । भरतपुरमा सार्क राष्ट्र बाहेका देशबाट आउने पर्यटकको संख्या सबैभन्दा धेरै छ । केही वर्षदेखि पर्यकीय गतिविधि बढ्दै गएको यो क्षेत्रमा ठूला, साना होटलमा गरेर ५ सय पर्यटकलाई राख्न सक्ने क्षमता छ। बाराही, सेराई, सारङ्ग, नारायणी सफारी, इन द वाईल्ड, कसरा रिर्सोट, रिभर बैंक, सोल्टी वेस्टर्न, जङ्गल भिल्ला, अन्नपूर्ण (जगतपुर लज), टाईगर ल्याण्ड यहाँका प्रमुख होटलहरु हुन् । हात्ती सफारी, जङगल सफारी, बोटिङ, जङगल वाक, विभिन्न जातिको संस्कृति प्रस्तुतीहरु तथा पर्यटन सम्बन्धी धेरै गतिविधिहरु यहाँ आउने पर्यटकले गर्न सक्छन् । कसरा पर्यटन व्यवसायी समितिका सचिव एवम् सोल्टी वेस्टर्नका म्यानेजर केशव ढकालले भरतपुरमा रुम फुल भएपछि विदेशी पर्यटकलाई पोखरा गएर यहाँ आउन आग्रह गरेको बताए । बुकिङ विना आउने दर्जन बढी पर्यटकलाई अन्य ठाँउमा पठाउनुपरेको उनले बताए । मार्च महिनामा सोल्टीमा सार्क राष्ट्रबाहेकका देशबाट ७६० जना, सार्कबाट ९६ र आन्तरिक १२० जना पर्यटकलाई सेवा दिएको उनले बताए । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकाले भ्रमण वर्ष आयोना गर्न खोजेको उदेश्य पुरा हुँदै गईरहेको बताईन् । यो अभियान एक वर्षसम्म मात्र होईन सधैका लागि हुने गरी भरतपुरको ब्राण्ड स्थापित गरिने उल्लेख गरिन ।भरतपुरको गोलाघाटदेखि पहिटानीसम्म रहेका होटलसँगै यहाँका वस्तीहरुमा १०० वटा होमस्टेहरु खुलेका छन् । भ्रमण वर्षको सन्दर्भमा थोरै लगानीमा गुणस्तरीय सेवा दिने गरी खुलेको होमस्टेहरुमा पर्यटक आउने क्रम जारी रहेको महानगरका पर्यटन विज्ञ विश्वराज सुवेदीले जानकारी दिए । भ्रमण वर्षको अवसरमा यहाँका होटलहरुले २५देखि ३० प्रतिशतसम्म छुटसहितको प्याकेजको घोषणा पनि गरेका छन् । भरतपुर महानगरपालिकाले मेघौली, पटिहानी, देवघाट, ज्ञानेवर ब्लक, चौकी डाँडा, नारायणी सि बिच मोडललाई प्रमुख ७ पर्यटकीय गन्तव्यमा राखेको छ । यसबाहेक ३५ वटा स्थानलाई पर्यटकीय गन्तव्यमा समावेश गरेको छ । भ्रमण वर्षको अवसरमा सञ्चालनमा आएको पाटेबाघ हेर्ने सुविधासहित वन्यजन्तु उद्धार केन्द्रमा पर्यटकको घुइचो छ । निकुञ्जका अनुसार दैनिक २ हजार जना बाघ अवलोकनका लागि आएपनि सबैलाई देखाउन सकिएको छैन । यस्तै शीतकालिन दरबारको रुपमा रहेको ऐतिहासिक दियालो बंगला वैशाख १५ गतेदेखि सर्वसाधारणका लागि खुल्ला गर्न लागिएको छ ।

बेचिनबाट जोगिए ५ महिला, होटलबाट उद्धार

काठमाडौं । वैदेशिक रोजगारीका नाममा बेचिन लागेका पाँच महिलाको उद्धार गरिएको छ । मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले विदेश जाने बहानामा बेचिनबाट जोगिएका ती महिलालाई उद्धार गरी अहिले आवश्यक परामर्श गरिरहेको र उक्त घटनाको अनुसन्धान पनि थालिएको जनाएको छ । ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले उनीहरुलाई गिरोहले विदेश पठाउने भनेर काठमाडौंको गौशालास्थित एक होटलमा राखिएको अवस्थाबाट उद्धार गरिएको जानकारी दिए । बहाना वैदेशिक रोजगारीको भए पनि उनीहरुलाई तेस्रो मुलुक लगेर बेचबिखन गर्न लागिएको पत्ता लागेपछि उद्धार गरिएको उनले बताए । प्रारम्भिक अनुसन्धानमा आकर्षक तलब पाउने लोभ देखाएर उनीहरुलाई विदेशमा बेचबिखन गर्न लागिएको पाइएको प्रहरीले जनाएको छ । उक्त घटनामा संलगन रहेको आरोपमा प्रहरीले दुई जनामाथि अनुसन्धान गरिरहेको छ । ती गिरोहले यसअघि पनि केही महिलालाई विदेश पठाउने बहानामा बिक्री गरेको पाइएपछि उनीहरुलाई उद्धार गरिएको हो । महिला बेचबिखनमा संलग्नमध्येका गणेशबहादुर कटुवाललाई यही चैत २ गते काठमाडौंको टोखा नगरपालिका– ५ बाट ब्यूरोले पक्राउ गरेको थियो । उनीसँग सोधपुछ तथा अनुसन्धानका क्रममा सोही घटनामा संलग्न रहेको पाइएपछि फरार भएका आरोपीमध्ये ५८ वर्षका लक्ष्मीप्रसाद निला सिटौलालाई मङ्गलबार चैत २० गते काठमाडौंबाटै पक्राउ गरिएको हो । उनीहरुसँगको बयानका तथा थप अनुसन्धान गर्दै जाँदा त्यसरी विदेश पठाउने लोभ देखाएर थप पाँच महिलाहरुलाई पनि बेचबिखनमा संलग्न गराउनका लागि होटलमा राखेर आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी प्राप्त भएपछि प्रहरी टोली गौशालाको होटलमा पुगेको थियो । ‘सिटौलालाई पक्राउ गर्ने क्रममा उनले भ्रमण भिसामा दुबई हुँदै खाडी मुलुकहरुमा घरेलु कामदारको रुपमा आकर्षक तलब सुविधाको काममा लगाइदिने प्रलोभन देखाइ थप पाँच जना महिलाहरुलाई लैजाने तयारी गरेको पाइएपछि तत्कालै होटलबाट उनीहरुलाई उद्धार गरिएको हो’, प्रहरी उपरीक्षक फुँयालले भने । उद्धार गरिएकाहरुसँग आज थप जानकारी लिने तथा घटनाको थप अनुसन्धानका काम जारी रहेको ब्यूरोले जनाएको छ । रासस

बागलुङको माथिल्लो क्षेत्रमा लालीगुराँससँग रमाउनेको चहलपहल

  ढोरपाटन । वसन्त ऋतु सुरु भएसँगै बोटबिरुवामा नयाँ पालुवा पलाउन थालेका छन् । वनजङ्गलमा अनेक थरीका फूल फूलेर ढकमक्क भएका छन् । यतिबेला बागलुङको माथिल्लो क्षेत्रमा लालीगुराँसले वनपाखा रङ्गीचङ्गी बनेका छन् । शीतलता प्रदान गर्ने सिरसिर हावा र मनलाई आनन्दित तुल्याउने चराचुरुङ्गीको आवाजले आगन्तुकलाई निम्तो दिइराखेका छन् । बढ्दो गर्मीका कारण तल्लो क्षेत्रबाट घुमफिरका लागि पहाड घुम्न उक्लने पनि बढ्दै छन् । पछिल्लो केही दिनयता बागलुङको पर्यटकीय क्षेत्र बेलढुङ्गा, पातिहाल्ने, सोलेडाँडालगायत क्षेत्रमा घुम्न आउनेको चहलपहल बढेको छ । लामो समयको खडेरीपछि केही दिनदेखि परेको सिमसिमे वर्षाले गुराँस फूल वनैभरि फुलेका छन् । त्यसले पर्यटकलाई आकर्षित गरिरहेको छ । वनैभरि फूलेका गुराँससँग रम्न तल्लो क्षेत्रबाट लेक उक्लने बढिरहेका छन् । बागलुङ, रोल्पा र रुकुमको सिमानामा रहेको पातिहाल्ने तथा बागलुङ र म्याग्दीको सिमानामा रहेको सोलेडाँडा र बेलढुङ्गामा दैनिक आन्तरिक पर्यटक पुग्ने गरेका छन् । बाह्रै महिना पर्यटकले पुग्ने यी क्षेत्रमा यो बेला अझ बढी आएको स्थानीय बताउँछन् । सडक सञ्जालले गर्दा सहज रुपमा पुग्न सकिने र ती स्थानमा पुगेपछि शीतलासँगै रमाइलो हुने हुँदा धेरैको रोजाइमा जङ्गल क्षेत्रका पर्यटकीयस्थल रोजाइमा परेका हुन् । पातिहाल्ने मध्यपहाडी लोकमार्गमा पर्छभने सोलेडाँडा र बेलढुङ्गा दुवै जिल्लाबाट सडक पुगेको छ । त्यसले पर्यटकलाई सहज बनाइदिएको छ । कतिपय गाडी लिएर त कतिपय पैदल यात्रामार्फत यहाँ घुम्न आउने गरेका छन् । यस वर्ष यी तीनवटै पर्यटकीय क्षेत्रमा पुस र माघमा हिउँ परेको थियो । पुस र माघ महिनामा हिउँ खेल्न नपाएका पर्यटक यतिबेला गुराँस फूलसँग रमिरहेका छन् । पातिहाल्ने र सोलेडाँडा बुर्तिबाङ बजार नजिक पर्छभने बेलढुङ्गा बागलुङबजार नजिकै छ । बजारबाट गाडीमा एक/डेढ घण्टामै पुग्न सकिने हुँदा धेरै पर्यटक पुग्ने गरेका छन् । निसीखोला गाउँपालिका–६ का ओमबहादुर बुढा मगरले कात्तिकपछि पातिहाल्ने घुम्न आउनेको सङ्ख्या कम भएको भन्दै गुराँस फुल्न थालेपछि बढेको बताए । माघ महिनामा हिउँ पर्दा एकै दिन पाँच सय बढी पर्यटक आउने गरेको जनाउँदै त्यसपछि चैत पहिलो सातादेखि बढेको उनको भनाइ छ । उनले भने, ‘पहिला–पहिला यहाँ चोरबास, पातिहाल्ने र रिगताल क्षेत्रमा धेरै गुराँस फुल्ने गथ्र्यो तर कोही पनि घुम्न आउँदैन्थे, अहिले मोटरबाटोले गर्दा होला मान्छे नआएको दिनै छैन, दिनदिनै गाडी लिएर घुम्न आउँछन्, घण्टौँसम्म यहीँका डाँडापाखासँग रमाएर जान्थे, हामीहरुलाई पनि नौलो लाग्यो, पहिले हामीहरुले गाईबाख्रा चराउने, घाँस दाउरा गर्ने ठाउँमा अहिले मान्छे आउँदै गुराँस टिप्ने फोटो खिच्ने र रमाउने गर्छन्, यस वर्ष हिउँ परेर होला पहिलेको तुलनामा गुराँस कम फुलेको छ ।’ पातिहाल्ने समुन्द्री सतहदेखि तीन हजार दुई सय मिटरको उचाइमा छभने सोलेडाँडा दुई हजार छ सय ३० मिटरको उचाइमा छ । बेलढुङ्गा दुई हजार छ सयको उचाइमा पर्छ । उच्च पहाडी क्षेत्रमा रहेका यी पर्यटकीय क्षेत्रमा अन्य समयमा पनि पर्यटक आउने गर्छन् । सोलेडाँडामा बागलुङ र म्याग्दीबाट बढी पर्यटक आउने गरेको स्थानीय रेमबहादुर विकले बताए । सोलेडाँडा वरपर लालीगुराँस फुलेर राताम्य बनेको उनको भनाइ छ । बिदाका दिन सबैभन्दा बढी पर्यटक आउने गरेको उनको भनाइ छ । ‘हाम्रो पालामा गुराँस फुल्दा त्यत्ति महत्व दिँदैन्थ्यौँ, अहिले त घुम्न आउने मान्छेको भीड लाग्छ, रूखमा चढेर फोटो खिच्छन्, भिडियो बनाउँछन्, साँझ फर्कने बेला टिपेर पनि लैजाने गर्छन्, शनिबारका दिन धेरै आउँछन्”, उनले भने, “मान्छेहरु धेरै घुम्न रुचाउन थाले, पाँच÷सात वर्ष पहिले यो ठाउँ सुनसान थियो, अहिले निकै चलहलपहल बढ्यो, लालीगुराँसले पनि पर्यटकलाई आकर्षित ग¥यो, हामी गाउँका मान्छेलाई त्यति महत्व लाग्दैन ।” पहाडमा भन्दा तराई क्षेत्रमा अझ बढी गर्मी छ । गर्मी छल्न र लालीगुराँससँग रमाउनका लागि कपिलवस्तुबाट एक साता बिदा लिएर घुम्न आएको विकास गौडेलले बताए । करिब १३ वर्षअगाडि अर्घाखाँचीबाट बसाइँसराइ गरी कपिलवस्तु गएको सुनाउँदै यो समयमा पहाडमा गुराँस फुल्ने हुँदा १० जनाको समूह भएर घुम्न आएको उनले बताए । दुई दिन अर्घाखाँचीमा बिताएको भन्दै तेस्रो दिन मध्यपहाडी लोकमार्ग हुँदै पातिहाल्ने पुगेको उनले सुनाए । पातिहाल्ने क्षेत्रमा फुलेको लालीगुराँसले आफूहरुलाई लोभ्याएको उनको भनाइ छ । गौडेलले भने, ‘यो बेला पहाडमा यात्रा गर्न निकै रमाइलो हुन्छ, वनपाखामा रङ्गीचङ्गी फूलहरु फुलेका हुन्छन्, तराईमा जस्तो गर्मी हुँदैन, सिरसिर हावा चलिराख्दा गर्मीयाम अवधिभर यतै बसौँजस्तो लाग्छ, खर्बाङदेखि लोकमार्ग हुँदै आएका हौँ, निसीखोलाको माथि–माथि त निकै धेरै गुराँस फुलेका रहेछन्, रातमा पनि यतै बसौँ बसौँ भयो, अब गलकोटको टेउवामा रहेको मूर्तिकला अवलोकन गरे फर्किने योजना छ ।’ रासस

ताइवानमा शक्तिशाली भूकम्पपछि चार देशमा सुनामीको चेतावनी

टोकियो । ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधबार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण ताइवानसँगै चीन, जापान र फिलिपिन्समा सुनामी आउन सक्ने प्रारम्भिक चेतावनी जापानको मौसम पुर्वानुमानसम्बन्धी निकायले जारी गरेको छ । ताइवानको ख्वालिएन शहरदेखि करिब १८ किलोमिटर टाढा केन्द्रबिन्दु बनाई भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन निकाय (यूएसजीएस) ले जनाएको छ । ताइवानी अधिकारीहरूका अनुसार यो भूकम्प ताइवानमा २५ वर्षयताकै सबैभन्दा शक्तिशाली रहेको बताएका छन् । चीनको दक्षिण-पूर्वी फुजिएन प्रान्तका कतिपय हिस्सामा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबारको भूकम्पपछि अहिलेसम्म ४ म्याग्निच्युड अथवा सोभन्दा ठूला नौवटा परकम्प गएका अधिकारीहरूले बताएका छन् । भूकम्पका कारण भएको क्षतिको विवरण सङ्कलन भइरहेको बताइएको छ । आवासीय भवनहरू भत्केका र मानिसहरूलाई उनीहरूका घर एवम् विद्यालयबाट उद्धार गर्दै गरिएका दृश्य देखिने भिडियो तथा तस्वीर स्थानीय सञ्चारमाध्यमले देखाएका छन् । ताइवानमा भूकम्पका कारण पहाडी भेगमा निकै ठाउमा पहिरो गएको बताइएको छ । जापानको दक्षिण-पश्चिमी क्षेत्रको ठूलो हिस्सामा सुनामीले ३ मिटर उचाइसम्म छाल निम्त्याउन सक्ने अनुमान गरिएको त्यहाँको मौसमसम्बन्धी निकायले जनाएपनि पछि यसलाई संशोधन गर्दै कुनै ठूलो सुनामीको जोखिम नरहेको बताएको छ । चीनको दक्षिण-पूर्वी फुजिएन प्रान्तका कतिपय हिस्सामा भूकम्पको धक्का महसुस गरिएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।सन् १९९९ को सेप्टेम्बरमा ताइवानमा ७.६ म्याग्निट्यूडको विनाशकारी भूकम्प जाँदा दुई हजार ४०० व्यक्तिको ज्यान गएको थियो । रासस/सिन्ह्वा

एसईईमा वञ्चित विद्यार्थीलाई तत्काल परीक्षा दिने व्यवस्था मिलाइन्छ : शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित भएका कुनैपनि विद्यार्थीलाई तत्काल परीक्षा दिन पाउने व्यवस्था गर्ने बताएकी छन् । फि तिर्न नसकेर पनि कतिपय विद्यार्थीहरुले सो परीक्षा दिन छुटेको चर्चा भइरहेका बेला उनले परीक्षा दिन नपाएका कुनैपनि विद्यार्थीलाई परीक्षामा तत्काल सहभागी गराउने भन्दै सूचना दिन समेत आह्वान गरिन् । बुधवार प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले कुनैपनि विद्यार्थीले कक्षा कोठामा ७५ प्रतिशत सहभागी नभए परीक्षा दिन नपाउने कानूनी व्यवस्था भएपनि सरकारले उनीहरुलाई पनि सो परीक्षामा तत्काल सहभागी गराउन सक्ने स्पष्ट पारिन् । ‘एसर्ईई परीक्षामा कतिपय विद्यार्थी फि तिर्न नसकेर परीक्षा दिनबाट बञ्चित हुने समाचारको कुरा आएको थियो । यो गम्भिर छ । यसमा एक्च्युअल कानून कस्तो छ भन्दा कुनैपनि विद्यार्थीले ७५ प्रतिशत पनि कक्षामा उपस्थित भएन भने चाहीँ उहाँहरुले जाँच दिन पाउनुहुन्न । त्यो कानून छ । तर को विद्यार्थीले यो नपाएको हो ? त्यसको हामीलाई सूचना आयो भने यसमा तुरुन्तै हामी काम गरिहाल्छौं । त्यसमा काम भईसकेको छ ।’ मन्त्री श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको सबै कामलाई सरकारले अनलाईन प्रणालीमा लैजानका लागि टेण्डर आह्वान गरिएको र सो काम छिट्टै सम्पन्न हुने दाबी समेत गरिन् ।

बालेनले एक अर्ब खाएको आरोप लगाउने महानगरका कर्मचारीविरुद्ध मुद्दा दायर

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले एक अर्ब रुपैयाँ खाएको आरोप लगाएका महानगरका एक कर्मचारीविरुद्ध मुद्दा दायर भएको छ । महानगरकै स्वास्थ्य विभागमा कार्यरत कर्मचारी ५० वर्षीय रामप्रसाद पौडेलविरुद्ध मुद्दा दायर भएको हो । मेयर शाहले एक अर्ब रुपैयाँ खाएको आरोप लगाउँदै सामाजिक सञ्जालमा लेखेका कर्मचारी पौडेलविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा (साइबर) अपराधमा मुद्धा चलाइएको छ । ताप्लेजुङको मौवाखोला गाउँपालिका-१ घर भएका पौडेल विगत २१ वर्षदेखि महानगरपालिकको स्वास्थ्य विभागमा काम गर्दै आएका थिए । उनले सामाजिक सञ्जाल फेसबुकमा मेयर शाहले सयौं कर्मचारी करारमा नियुक्त गरेको र एक अर्ब रुपैयाँ खाएको भन्दै लेखेका थिए । ‘मेयर बालेनले नियुक्ति गरेका १६६ जना र उनीहरूले २ वर्षसम्म खाएको करिब एक अर्ब फिर्ता गर्नुपर्छ, यो नगरवासीले तिरेको कर हो’ पौडेलले सामाजिक सञ्जालमा लेखेका थिए । मेयर शाहविरुद्ध लेखेपछि पौडेल गत पुस १६ गते निलम्बनमा परेका थिए । मेयर शाहमाथि झुटा आरोप लगाएर अपमान गरेको भन्दै सस्मित पोखरेलले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।